शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८११ - धर्म परिवर्तन

भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११

निर्णय नं. १८११     ने.का.प. २०४० अङ्क ११

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०३८ सालको फौ.पु.नं. ३२४

फैसला भएको मिति : २०४०।११।१२।६ मा

पुनरावेदक/वादी : प्रहरी भुपाल ढकालको प्रतिवेदनले श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : जि.सुनसरी गा.पं.हासपासा वार्ड नं.२ बस्ने दलमाया राईसमेत

मुद्दा : धर्म परिवर्तन

(१)                नेपाल बाहिर अर्थात विदेशमा धर्म परिवर्तन गरेको कुरा अदलको १ नं.भित्र पर्ने देखिन नआउने ।

(प्रकरण नं. २९)

पुनरावेदक वादीतर्फबाट : विद्वान का.मु.अ.स.अ.धु्रवलाल राज

विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला

फैसला

न्या.बासुदेव शर्मा

१.     पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादी श्री ५ को सरकारको तर्फबाट निवेदन परी अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा पुनरावेदन जिकिर यसप्रकार रहेछ ।

२.    केही दिन अगाडि देखि तुलबहादुरको घरमा तपसीलका मानिसहरू लगायत २०।२२ जना भेला जम्मा भई हिन्दू धर्मको विपरीत क्रिष्चियन धर्म मानी प्रचारको गरिएको भन्ने बुझिएकाले आवश्यक कारवाईलाई प्रतिवेदन गरेको छु भन्ने समेत २०३५।६।३ को प्रहरी नारायण भगत समेतको प्रतिवेदन ।

३.    मेरो घरमा २।४ जना मानिसहरू आउँछन् मैले हिन्दू धर्मलाई छाडी क्रिश्चियन धर्म मानेको ६ वर्ष भयो भन्ने समेत प्र.तुलबहादुरले प्रहरीमा गरेको कागज ।

४.    मेरो लोग्नेले क्रिश्चियन धर्म मानेको र लोग्नेको भनाईमा लागि मैले पनि मानेकी छु । तुलबहादुरको घरमा बेला मौकामा बाहिरका मानिसहरू पनि आउँछन् । निजकै घरमा धर्मसम्बन्धी प्रवचन हुन्छ भन्ने समेत दलमायाले प्रहरीमा गरेको कागज ।

५.    मेरो लोग्नेले क्रिश्चियन धर्म मान्ने उद्योग गरेको हो, मैले मानेको र उद्योग गरेको समेत छैन भन्ने समेत देवी गिरीले प्रहरीमा गरेको कागज ।

६.    तुलबहादुर समेतका १७।१८ जनाले हिन्दू धर्मको विपरीत गरी क्रिश्चियन धर्म मानी प्रचार गरेको हो भन्ने समेत सरजमीन मुचुल्का ।

७.    प्रतिवादीहरूले हिन्दू धर्मको विपरीत क्रिश्चियन धर्म मानी प्रचार गरेको र धर्म परिवर्तन गरेको अभियोगमा मुलुकी ऐन अदलको नं.१ बमोजिम सजाय हुने र सिताराम दर्जिले इन्कारी बयान गरेकोले निज उपर मुद्दा नचलाउने भन्ने समेत आरोप पत्र ।

८.    केही पल्टन मलायामा रहँदा देखि नै हिन्दू धर्म छाडी क्रिश्चियन धर्म मानी आएको हाल यहाँ नेपालमा बसोबास गरेको ५।६ वर्ष भयो सो मानी आएको छु । अरू कसैलाई प्रचार गरेको छैन । अरू कहिलेकाहीँ सुन्न आउँछन् मैले बोलाएर ल्याएको होइन । दाखिल भएका किताप इण्डियामा किन्न पाइन्छ भन्ने समेत तुलबहादुरले अदालतमा गरेको बयान ।

९.    मैले हिन्दू धर्म छाडी १½ वर्ष अगाडि देखि क्रिश्चियन धर्म मानी आएको छु मैले यो धर्म मान्नुपरेको कारण केटाकेटीहरू बारम्बार बिरामी भई रहने गर्थे क्रिश्चिन धर्मको कितावमा सुख शान्ति पाइने लेखेको देखियो धर्म मान्न थालेपछि हाल सबै केटाकेटीहरूलाई आराम भएकोले मानी आएको छु । यो मान्नुपर्छ भनी कसैले भनेको होइन मेरो श्रीमान मकरबहादुर हाल जो मलायामा हुनुहुन्छ वहाँले मानेको देखी मैल पनि मानी आएको छु । यो धर्म मान्न कसैलाई सल्लाह दिएका र प्रचार गरेको छैन भन्ने समेत दलमाया राईले अदालतमा गरेको बयान ।

१०.    मैले हिन्दू धर्म छाडी क्रिश्चियन धर्म मानी आएको र सो धर्म प्रचार गरेको समेत छैन, मेरो पति नन्दलालले भाद्र महीनामा के कहाँबाट क्रिश्चियन धर्मको पुस्तक ल्याई पढेर सुनाउँदा सो कितावमा लेखिएको कुरा सुनेपछि क्रिश्चियन धर्ममा चाख लिएर मानेको र प्रचार गरेको छैन । पति नन्दलाल पनि क्रिश्चियन धर्म मान्दैनन् भन्ने समेत प्र.देवीमाया गिरीले अदालतमा गरेको बयान ।

११.    म समेत भई क्रिश्चियन धर्म मानेको र अरूलाई समेत मान्न प्रचार गरेको समेत होइन प्र.तुलबहादुरले क्रिश्चियन धर्म माने नमानेको मलाई थाहा छैन वाईवल किताप मसँग छैन, म पढ्न लेख्न नजान्ने भएको पढेको पनि छैन अरूले पढेको सुनेको पनि छैन भन्ने समेत पदमबहादुर विश्वकर्माले अदालतमा गरेको बयान ।

१२.   मैले हिन्दू धर्म छाडी धर्म परिवर्तन गरी क्रिश्चियन धर्म मानेको र प्रचार गरेको समेत छैन, म लेखपढ गर्न नजान्ने भएकोले आफूले पढेको र अरूले पढेको समेत सुनेकी छैन भन्ने समेत लक्ष्मीमाया विश्वकर्माले अदालतमा गरेको बयान ।

१३.   मैले परापूर्व देखि नै चली आएको हिन्दू धर्म मानी आएको छु क्रिश्चियन धर्म मानेको र प्रचार समेत गरेको छैन भन्ने समेत विद्याकुमारी विश्वकर्माले अदालतमा गरेको बयान ।

१४.   मैले हिन्दू धर्म परिवर्तन गरी क्रिश्यिन धर्म लिएको छैन र क्रिश्चियन धर्मको ग्रन्थ म निरक्षरी भएकोले पढेको छैन र प्रचार गरेको समेत छैन भन्ने समेत नन्दलाल विश्वकर्माले अदालतमा गरेको बयान ।

१५.   मैले हिन्दू धर्म छाडी क्रिश्चियन धर्म लिएको छैन म निरक्षी भएकोले ग्रन्थ पढेको र प्रचार समेत गरेको हैन भन्ने समेत चन्द्रसिलाले अदालतमा गरेको बयान ।

१६.    मैले हिन्दू धर्म परिवर्तन गरी क्रिश्चियन धर्म लिएको हुँ आज भन्दा अगाडि पाँच वर्ष पहिले नै लिएको हो मेरो एउटा छोरा हराएकोले खोज्न गएको बेला ज्वरो आई बिरामी भएको मौकामा भारतको आसाममा १ जना नेपालीले यो किताब पढ ज्वरो निको हुन्छ ईश्वरको ध्यान गर्नु भनी दिएको सो किताब पढेपछि निको भएकोले उही आसाममा नै सो धर्म लिएको हुँ भन्ने समेत नन्दलाल गिरीले अदालतमा गरेको बयान ।

१७.   मेरो विवाह पदमबहादुर राईसँग २०२० सालमा भएको सोही समयमा मेरो पति बृटिसमा नोकरीमा बसेको अवस्था देखि नै वहाँले क्रिश्चियन धर्म लिनुभएको रहेछ । त्यसकारण मैले पनि उही बेला देखि नै हिन्दू धर्म परिवर्तन गरी क्रिश्चियन धर्म लिएको छु भन्ने समेत रामप्यारी राईले अदालतमा गरेको बयान ।

१८.   मैले ब्रिटिस पल्टनमा गएको मौका २०१५ सालमा नै उही बसेको मौकामा हिन्दू धर्म परिवर्तन गरी क्रिश्चियन धर्म लिएको छु, क्रिश्चियन धर्मको ग्रन्थ २०१५ सालदेखि नै पढी आएको हुँ अहिले धर्म परिवर्तन गरेको हैन, २०१५ सालदेखि गरेको हुँ भन्ने समेत पदमहादुरले अदालतमा गरेको बयान ।

१९.    मैले परापूर्व देखि नै चली आएको हिन्दू धर्म मानी आएको छु । हिन्दू धर्म परिवर्तन गरी क्रिश्चियन धर्म लिएको हैन भन्ने समेत सितारामले अदालतमा गरेको बयान ।

२०.   मेरो पति तुलबहादुर ब्रिटिस पल्टनमा बसेको अवस्थामा नै हिन्दू धर्म परिवर्तन गरी क्रिश्चियन धर्म लिएको हुँ नेपालमा आई बसेको पनि ५।६ वर्ष भयो भन्ने समेत तुलसी राईले अदालतमा गरेको बयान ।

२१.   अदलको १ नं.मा हिन्दू धर्मका कसैले क्रिश्चियन धर्म लिएकोमा सजायको व्यवस्था गरेको नदेखिएकोले समेत प्रतिवादी तुलबहादुर राई, तुलसी राई, पदमबहादुर राई, रामप्यारी राई र नन्दलाल गिरी दलमाया समेतले कसूर गरेको ठहर्दैन भन्ने समेत सुनसरी जिल्ला अदालतको २०३५।१२।९।५ को फैसला ।

२२.   उक्त फैसलामा ऐनका व्यवस्थित शब्दको गलत परिभाषा लगाई प्रतिवादीहरूलाई सफाई दिने गरेको सुनसरी जिल्ला अदालतको निर्णयलाई बदर गरी प्रहरी प्रतिवेदन अनुसार सजाय गरिपाउँ भन्ने समेत श्री ५ को सरकारतर्फको पुनरावेदनपत्र ।

२३.   प्रतिवादी मध्येका दलमाया राई, तुलबहादुर राई, नन्दलाल गिरी र तुलसी राई समेतले अदालतमा गरेको बयानबाट प्रचलित मुलुकी ऐन लागू भएपछि क्रिश्चियन धर्म लिएमा सावित भएको देखिएकोले जिल्ला अदालतले निजहरूलाई सफाई दिएको मिलेको नदेखिँदा निजहरूलाई अ.बं.२०२ नं.बमोजिम झिकाउने भन्ने समेत क्षे.अ.को आदेश ।

२४.   नेपाल बाहिर अर्थात विदेशमा धर्म परिवर्तन गरेको कुरा अदलको १ नं.भित्र पर्ने देखिन नआएबाट शुरू सुनसरी जि.अदालतको फैसला मनासिव छ भन्नेसमेत पु.क्षे.अ.को फैसला ।

२५.   मुलुकी ऐन लागू भएपछि नेपाल अधिराज्यका हिन्दू धर्मका कसैले धर्म परिवर्तन गरी गराई लैजान नहुनेमा विदेशमा धर्म परिवर्तन गरेको अदालतको १ नं.भित्र नपर्ने भनी प्रतिवादीहरूलाई शुरूले सफाई दिने गरेको इन्साफ सदर गरी क्षे.अ.बाट भएको फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत निवेदनपत्र ।

२६.   प्रतिवादीहरूलाई अदालतको महलको १ नं.ले सजाय गर्नुपर्नेमा सो बमोजिम नगरेकोले उक्त उल्लिखित अदलको १ नं.को प्रत्यक्ष गम्भीर त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालतको आदेश ।

२७.   नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा विपक्षी वा.स.पदमबहादुर र तुलबहादुरलाई रोहवरमा राखी पुनरावेदक श्री ५ को सरकारका तर्फबाट विद्वान का.मु.अ.स.अ.धु्रवलाल राज र विपक्षीतर्फका विद्वान अधिवक्ता हरिशंकर निरौला समेतको बहस जिकिर सुनियो ।

२८.   अब शुरू जि.अ.को इन्साफ मनासिव ठहराएको पु.क्षे.अ.को इन्साफ मनासिव बेमनासिव के रहेछ भन्ने कुरामा निर्णय दिनुपर्ने हुनआएको छ ।

२९.   यसमा यी प्रतिवादीहरूले अदालतमा समेत गरेको बयानबाट आफूले आफ्नो घरमा क्रिश्चियन धर्म मानेको तर बाहिर प्रचार नगरेको भन्ने देखिन्छ । अरू व्यक्तिलाई धर्म परिवर्तन गराएको भन्ने देखिन्छ । नेपाल बाहिर अर्थात विदेशमा धर्म परिवर्तन गरेको कुरा अदलको १ नं.भित्र पर्ने देखिन नआएबाट शुरूको इन्साफ मनासिव ठहर्छ भनी क्षे.अ.ले निर्णय गरेको देखिन्छ। अतः क्षे.अ.ले प्र.तुलबहादुर राई समेतलाई सफाई दिने ठहराई जि.अ.को सदर गरेको इन्साफमा कुनै कानुनी त्रुटि नदेखिँदा उक्त फैसला मनासिव ठहर्छ श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । श्री ५ को सरकारको पुनरावेदन भएकोले केही गर्नुपरेन । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४० साल फाल्गुण १२ गते रोज ६ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु