शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८१३ - उत्प्रेषण

भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११

निर्णय नं. १८१३     ने.का.प. २०४० अङ्क ११

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०३९ सालको रिट नं. १२७६

आदेश भएको मिति : २०४०।१०।२०।६ मा

निवेदक : झा.जि.घाइजन गा.पं.वडा नं.२ बस्ने तिहारू धिमाल

विरूद्ध

विपक्षी : ऐ.वडा नं.५ बस्ने लुटी धिमालसमेत

विषय : उत्प्रेषण

(१)                निवेदकको हकहितमा आघात नपुगेको रिट निवेदनपत्र खारेज हुने ।

(प्रकरण नं. १०)

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला

विपक्षीतर्फबाट       : विद्वान अ.श्री विश्कान्त मैनाली र विद्वान स.अधिवक्ता श्री वलिरामकुमार

आदेश

न्या.बासुदेव शर्मा

१.     नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गराई विपक्षी नं.२ ले ०३९।७।१९ मा गर्नुभएको निर्णय बदर गरिपाउँ भन्ने व्यहोराको रिट निवेदन यस अदालतमा मिति ०३९।१०।२३।१ मा दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकारछन्ः

२.    झापा जिल्ला धाइजन गा.पं.वडा नं.५ को कि.नं.०८५, ०७६ र ११० को जग्गा बिगहा ५० को दर्तावाला मोही म रिट निवेदकको पिता फुकुण्डा हुनुभएकोमा वहाँको परलोक भई उक्त जग्गाको मोहियानी हक म र मेरा भाइ जोगलालको नाउँमा संयुक्त रूपमा मोहियानी नामसारी दर्ता गरिपाउँ भन्ने निवेदकलाई विपक्षी नं.२ ले ०३९।७।१९ मा कि.नं.११० को दक्षिणतर्फको ज.वि.२० मात्र मोहियानी नामसारी गरी दिने ठहर भयो । मिति ०३८।१०।१४ मा दिएको निवेदनमा मैले जग्गा बिगहा २० मात्र दावी गरेको र अरू बाँकी जग्गा जोतेको छैन भन्ने कुरालाई देखाउँदै यस सम्बन्धमा पञ्चायतको सिफारिश संलग्न गरी ०३८ साल चैत्रमा भूमिसुधार कार्यालय झापामा निवेदन दिएको थिए । यसरी प्रमाण ऐन, ०३१ को दफा ३,५४ र अ.बं.१८४क तथा १८५ को त्रुटि भएको छ साथै विवादको कि.नं.०८५, ०८६ को जग्गाको मोहियानी हक सम्बन्धमा केही बोलिएको छैन । अतः विपक्षी नं.२ ले ०३९।७।१९ मा गर्नुभएको निर्णय लगायतका कारवाहीहरू उत्प्रेषणको आदेश जारी गरी बदर गरिपाउँ साथै सम्पूर्ण जग्गाको मोहियानी हक दिलाई दिनु भन्ने परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने व्यहोरा उल्लेख गरी रिट निवेदकले जिकिर लिएको पाइन्छ ।

३.    विपक्षीहरूद्वारा लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने यस अदालतको सिंगलबेञ्चको मिति ०३९।१०।२४।२ को आदेशानुसार प्राप्त हुनआएको लिखितजवाफ यसप्रकार छन् ।

४.    निवेदकका बाबुका नाउँमा मोही भए पनि मर्मत खर्च बापत रकम समेत लिई जग्गा जोत्न छोडी सकेको देखिँदा जोत भोग गरी रहेको जग्गाको मात्र मोही हक नामसारी गरी दिने गरी कानुन परिधिमा रही भए गरेको उक्त फैसलाले निवेदकको संवैधानिक हक र अधिकारबाट वञ्चित नहुँदा रिट निवेदक खारेज गरिपाउँ भन्ने व्यहोराको भूमिसुधार कार्यालय झापाको लिखितजवाफ रहेछ ।

५.    विपक्षीको पिता साविक मोही फुकुण्डाको मृत्यु पश्चात निजले ४१७० जग्गाको कूतवाली मलाई नबुझाई २० को मात्र बुझाएकोले भू.सु.ऐन, २०२१ को दफा २९  (१) ले निज कादो धिमालले ०३४।०३५ सालको कूतवाली कानुन बमोजिम बुझाई भर्पाई प्राप्त गरेको छन् । तिहारू धिमालले स्थानीय धाइजन गा.पं.मा दिएको निवेदनपत्रमा ४१७० जग्गा मध्ये किटान साथ २० जग्गा मात्र कमाई आएकोले जग्गाधनी र मोहीको आपसी राय सल्लाह अनुसार २० जग्गाको मोहीको नामसारीको लागि सिफारिश पाउँ भनी उल्लेख भएपछि विपक्षको रिट निवेदन झुठ्ठा कपोलकल्पित भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने लुटी धिमालको लिखितजवाफ रहेछ ।

६.    तारेखमा रहेका रिट निवेदक तिहारु धिमालको वारेस कृष्णचन्द्र उपाध्याय, विपक्षी लुटी धिमालको वारेस माधवप्रसाद पराजुलीलाई रोहवरमा राखी रिट निवेदकतर्फका विद्वान अधिवक्ता श्री हरिशंकर निरौला, विपक्षी लुटी धिमालतर्फका विद्वान अधिवक्ता श्री विश्वकान्त मौली र भूमिसुधार कार्यालय झापाको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारको बहस समेत सुनियो ।

७.    प्रस्तुत मुद्दामा रिटनिवेदकको मागबमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनुपरेकोछ ।

८.    यसमा ०३८।१०।१४ मा दिएको निवेदनमा मैले २० माग दावी गरेको र अरू बाँकी जग्गा जोतेको छैन भन्ने कुरालाई देखाउँदैन र माग दावी गरेको र पञ्चायतको सिफारिश संलग्न गरी ०३८ साल चैत्रमा निवेदन दिएको र उक्त जग्गाको मोहियानी हक पिता फुकुण्डाको परलोक पछि म र मेरा भाइको नाममा संयुक्त नामसारी दर्ता गरिपाउँ भनी दिएको निवेदनमा विपक्षी नं.२ ले मात्र २० जग्गाको मोहियानी नामसारी गरी दिने ठहराएकोले उक्त ०३९।७।१९ मा विपक्षी नं.२ ले गरेको निर्णय बदर गरिपाउँ भन्ने व्यहोरा उल्लेख गरी रिट निवेदकले जिकिर लिएको देखिन्छ ।

९.    मिति ०३८।१०।१४ मा नामसारी गरिपाउँ भनी वादीले पञ्चायतमा जग्गा बिगहा २५ को मात्र दावी गरेको देखिएकोले पहिले नै वादीले छाडी सकेको प्रष्ट देखिएकोले सो दावी गरेको कि.नं.११० को दक्षिण दावी गरेको तर्फको ज.वि.२० को भाग हक पुग्ने देखिँदा भू.सु.ऐन दफा २६(ख) बमोजिम हक पुग्ने देखिएको घाइजन गा.पं.वडा नं.५ को कि.नं.११० को दक्षिणतर्फको ज.वि.२० जम्मा वादीको मोहियानी नामसारी गरी दिने ठहर्छ भनी मिति ०३९।७।१९।६ मा भूमिसुधार कार्यालय झापाले निर्णय गरेको पाइन्छ ।

१०.    भूमिसुधार कार्यालय झापाले मिति ०३९।७।१९।६ मा गरेको निर्णयलाई विचार गरी हेर्दा अधिकार प्राप्त अधिकारीले कानुनबमोजिम गरेको निर्णयमा कुनै त्रुटि भए गरेको नदेखिएको र उक्त निर्णयबाट रिट निवेदकको हकहितमा आघात नपुगेको हुँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । फाइल नियमबमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.पृथ्वीबहादुर सिंह

 

इतिसम्वत् २०४० साल माघ २० गते रोज ६ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु