शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८१४ - डाँका खुन

भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११

निर्णय नं. १८१४     ने.का.प. २०४० अङ्क ११

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०३९ सालको फौ.पु.नं. २८८

२०४० को फौ.सा.नं. ७९

फैसला भएको मिति : २०४०।९।१५।६ मा

पुनरावेदक/वादी : गोवर्धन कुर्मीको जाहेरीले वादी श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : जि.रूपन्देही गा.पं.ठर्की वडा नं.१ बस्ने बृक्ष अहिरसमेत

मुद्दा : डाँका खुन

(१)                अपराध गरेको हो भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभावमा दोषी कायम गर्न नमिल्ने।  

(प्रकरण नं. २४)

पुनरावेदक वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर

फैसला

न्या.धनेन्द्रबहादुर सिंह

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३९।३।२ को फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी र साधक निकासाको लागि पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२.    ०३५।४।२५ गते राति कटैया गा.पं.वडा नं.९ मर्चवारी बस्ने गोवर्धन कुर्मीको घरमा डाँका परी निजको छोरा बहादुर कुर्मीलाई कर्तव्य गरी मारी डाँकाहरू भागी गएकोले कारवाही गरिपाउँ भन्ने समेतको प्र.हं.बहादुर सिंह घर्ति मगरको प्रतिवेदन ।

३.    ०३५।४।२५ गते राति मेरो घरमा डाँकाहरू धनमाल लुटी मेरो छोरा बहादुर कुर्मीलाई घोची घर पछाडि फाले छोरा बहादुरले रामहर्ष, सूर्यबली, बृक्ष अहिर, फागु अहिर, प्रभु अहिर, हरिराम अहिर थिए भनी १ घण्टा पछि मरेकाले कारवाही गरिपाउँ भन्ने समेतको गोर्वधनको जाहेरी दरखास्त ।

४.    घाँटीको दाहिने भाग मुनी कुम देखि माथि माला जस्तो हतियार प्रयोग गरी हानेको अं.१ इन्च लामो ५ इन्च चौडाई उक्त घाउबाट रगत बगेको दाहिने छाती माथि प्वाल पारेको मल मूत्रद्वारबाट मल विज समेत निस्केको अं.२५ वर्षको बहादुर कुर्मीको लासप्रकृति मुचुल्का ।

५.    फोक्सोमा समेत चोट लागी मृत्यु भएको भन्ने डाक्टरको राय भएको पोष्टमार्टम फाराम ।

६.    वारदात हुँदाको रात १२ बजेतिर डाँका भयो भन्ने गुहार र बन्दुक फायर भएको आवाज सुनी घरमै बसे भोलिपल्ट डकैती भएको र बहादुर कुर्मीको लास देखे मैले डकैती गरेको र बहादुर कुर्मीलाई मारेको होइन भन्ने समेत फागु कहारले प्रहरीमा गरेको बयान कागज ।

७.    मृतक दाजु कसको चोटबाट मरे ख्याल गरिन वारदातमा रामहर्ष कोइरी, सूर्यवली अहिर, बृक्ष अहिर, हरेराम अहिर, फागु कहार समेतले मलाई भालाले घोचे भन्दै दाजुको मृत्यु भयो भन्ने समेतको सतनको लेखाई फाशु कुर्मीलाई लाइटको उज्यालोले चिने अरूलाई चिन्न सकिन भन्ने समेतको बुद्ध कुर्मीको लेखाई । मृतकको र सूर्यवलीको १० दिन अघि झगडा भएको थियो मौकामा नदेखेकोले वारदात गरे नगरेको भन्न सक्तैनौ भन्ने विपक्षी समेतको लेखाई, डाँका भइसकेपछि पुगेको र सतन बुद्धले रामहर्ष अहिर, सूर्यवली अहिर, बृक्ष अहिर, प्रभु अहिर, हरेराम अहिर, प्रभु कहारलाई चिनेको हुँ भनेको सुनेका हौं बहादुरको १ घण्टा पछि मृत्यु भयो भन्ने जयदेव गुप्ता समेतको लेखाई भएको सरजमीन मुचुल्का ।

८.    बहादुर अहिरको मृत्यु कर्तव्यबाट भएको देखिएकोमा यसैको चोटबाट मरेको भन्ने नदेखिएको तर वारदातमा संलग्न देखिका फागु कहार, सूर्यवली अहिर, बृक्ष अहिर, हरेराम अहिर, प्रभु अहिर, रामहर्ष कोइरी समेत उपर मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं.अनुसार सजाय भई चोरीको २१ नं.बमोजिम बिगो समेत जाहेरवालालाई भराई पाउँ भन्ने प्रहरी प्रतिवेदन ।

९.    ०३५।४।२५ गते गाउँकै सदस्य असर्फिको घरमा पालो पहराको निमित्त गएको थिएँ मैले खुनडाँका गरेको होइन भन्ने समेतको फागु कहारले अदालतमा गरेको बयान । बाली नोक्सानीका सम्बन्धमा गोवर्धनसँग झगडा भएको इवीले फसाएको हुन् म उपरको जाहेरी र सरजमीन झुठ्ठा हो वारदात हुँदाको दिन म मेरै घरमा छु भन्ने समेतको प्रभु अहिरले अदालतमा गरेको बयान ।

१०.    जाहेरवालाको गाउँमा मेरो जग्गा छ सो जग्गामा लगाएको उखुको कसानी गराई दिए सम्बन्धमा झगडा भएको कारणले मलाई फसाएका हुन मैले खुन डाँका गरेको छैन भन्ने समेतको बृक्ष अहिरले अदालतमा गरेको बयान ।

११.    गत बर्ष बाटो खन्दा म अगुवा भई गोर्वधनको गुहा खेत खनाई बाटो निकास गराई दिएको सम्बन्धमा विवाद भई झगडा भएको इवीबाट मलाई फसाएका हुन् म उपरको जाहेरी र सरजमीन झुठ्ठा हो भन्ने समेतको राजहर्ष कोइरीले अदालतमा गरेको बयान ।

१२.   सतनले मेरो गहुँमा भैंसी चराउँदा २।४ झपड दिएको कारण त्यसरी सरजमीन लेखेका हुन वारदातको दिन म मेरो नहिसा गा.पं.वडा नं.१ को घर भगद्वरीमा थिएँ भन्ने समेतको हरेराम अहिरले अदालतमा गरेको बयान ।

१३.   ०३५।४।२४ मा म मेरा बहिनीको घर गडसराही गई ऐ.२७ गते घर फर्की आएको हुँ । गत सालको सडक निकाल्न गोवर्धनसँग विवाद भएको इवी साधन मलाई फसाएका हुन् म उपरको आरोप झुठ्ठा हो भन्ने समेतको सूर्यवली अहिरले अदालतमा गरेको बयान ।

१४.   मृतक छोरा बहादुरले नसर्दै बनिया दिहका सूर्यवाली अहिर, रामहर्ष कोइरी, फागु, बहादुर, प्रभु अहिर, बृक्ष अहिर, हरेराम अहिर समेतले घाइते पारेको बताएका र सतनले पनि सूर्यवली र प्रभु अहिरलाई चिनेको भनेका र छोरा बुद्धले पनि फागु कहारलाई चिनेकोले किटानी साथ दरखास्त गरेको हँु भन्ने समेतको जाहेरवाला गोवर्धनको बकपत्र ।

१५.   गत सालको श्रावण महीना हो गते बार थाहा भएन राति १२ बजे गुहार मागी गाउँले समेत म जाँदा बहादुरका घाँटी र काखीमा घाउ लागेको देखेँ घाइतेले डिहको मानिसले मारे भनेको धनमाल कति लगे ५ फायर बन्दुक भएको थियो भन्ने समेतको सरजमीनका जगदेवको बकपत्र ।

१५.   मलाई पिट्दा फागु प्रभु अहिर, सुर्यवलीलाई लाइटको प्रकाशले चिनेको हुँ । डाँकाले पिटेका पीरले दाजु बहादुर मरेका हुन् भन्ने समेतको सरजमीनको सतन कुर्मीको बकपत्र ।

१६.    मैले फागु कहारलाई समातेकोमा निज कराएको आवाजले चिनेको पछि म गुहार माग्न गई आउँदा बहादुर घाइते अवस्थामा पल्टेको देखेँ र निज बहादुर रामहर्ष कोइरी, सूर्यवली अहिर, प्रभु अहिर, वृक्ष अहिर र प्रभु अहिर र हरेराम कहार समेतले मलाई मारेको भनी बताएका हुन् भन्ने समेत सरजमीनका बुद्ध कुर्मीको बकपत्र ।

१७.   प्रतिवादीका साक्षी रामहर्ष बाहेक सबैले प्रतिवादीहरू निर्दोष हुन् भनी किटानी साथ बकपत्र गरी लेखाई दिएकोले प्र.हरू खुन डाँका गर्न सरिक भएको संकलित मिसिल प्रमाणबाट नदेखिएकोले सफाई पाउने ठहर्छ भन्ने रूपन्देही जिल्ला अदालतको जाहेरी फैसला ।

१८.   रूपन्देही जिल्ला अदालतको फैसला उपर श्री ५ को सरकारको तर्फबाट पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

१९.    सूर्यवली अहिर, प्रभु अहिर र फागु कहारको नाम जाहेरी दरखास्तमा किटानी भएको र सो कुरा समर्थन गरी सतन कुर्मीले, प्रभु अहिरले हातमा समाते सूर्यवलीले पिटेको भनी र बुद्ध कुर्मीले फागु कहार चिने देखेको भनी सरजमीनको भनाई समर्थन गरी अदालतमा बकपत्र गरेकोले निजहरूले खुन डाँका गरेको ठहर्छ । अन्य प्रतिवादीहरूका हकमा चस्मदिद गवाह कोही देखिन नआएबाट सफाई पाउने ठहर्छ भन्ने समेतको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

२०.   प्रतिवादी बृक्ष अहिर, हरेराम अहिर र रामहर्ष कोइरीलाई दिने गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन ।

२१.   पुनरावेदक श्री ५ को सरकारतर्फबाट बहस गर्न उपस्थित विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरले यी प्रतिवादीहरूले पनि भाला घोचेको भनी सरजमीनका सतनले लेखाई दिएको मर्नेले मर्नु अघि यी प्रतिवादीहरू समेतले भालाले घोचेको भनी गोवर्धन समेत सँग भनेको गोवर्धनको बकाईबाट पुष्टि भएको हुनाले समेत सफाई दिने गरेको मिलेको छैन प्रहरी दावी बमोजिम सजाय हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

२२.   प्रस्तुत मुद्दामा सफाई दिएका प्रतिवादीहरूको सम्बन्धमा पुनरावेदन तहबाट र सजाय गरेका प्रतिवादीहरूका हकमा साधक तहबाट पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।

२३.   यसमा साधक निकासातर्फ हेर्दा प्रतिवादीहरू वारदात गरेमा इन्कार रहेको देखिन्छ । वारदातका अवस्था घटनास्थलमा रहेका सरजमीनका सतन कुर्मीले प्रभु अहिरले पाखुरा समाई राखे सूर्यवलीले तिखो हतियारले घोचे भनेको र बुद्ध कुर्मीले फागु कहारको हात समात्दा निजले बदमासहरू बोलाएकोले छाडी भागी गुहार गर्न गए भनेको पाइन्छ । जाहेरी दरखास्तमा उक्त प्रतिवादीहरूको नाम किटानी उल्लेख भएको छ । सरजमीनका निज सतन कुर्मी र बुद्ध कुर्मीले सरजमीनमा लेखी सकेको कुरालाई समर्थन गरी अदालतमा बकपत्र गरेको देखिन्छ । खून डाँका गरेको ठहराएतर्फ प्रतिवादी फागु अहिर समेतले पुनरावेदन समेत नगरी चुप लागि बसेको छ । यस अवस्थामा निजहरूले अपराध गरेको होइन भन्न सकिने तथ्ययुक्त आधार देखिन नआएको हुनाले समेत प्रतिवादी फागु अहिर, सूर्यवली अहिर र प्रभु अहिरले खुन डाँका गरेको ठहराई निजहरूलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वस्वसहित जन्मकैदको सजाय गरी साधक जाहेर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ ।

२४.   अरू प्रतिवादी रामहर्ष कोइरी, बृक्ष अहिर र हरेराम अहिरलाई सफाई दिए उपर परेको पुनरावेदनतर्फ हेर्दा घटनास्थलमा रहेका सतन कुर्मी र बुद्ध कुर्मीले निजहरू देखेको भन्नसकेको छैन । घटनास्थलमा देख्ने चस्मदिद अरू गवाहा कोही देखिँदैन । यस स्थितिमा निजहरूले अपराध गरेको हो भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभावमा दोषी कायम गर्न नमिल्ने भएकोले यसतर्फ पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । निजहरूलाई सफाई दिने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

सम्वत् २०४० साल पौष १५ गते रोज ६ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु