निर्णय नं. १८१७ - अंश

निर्णय नं. १८१७ ने.का.प. २०४० अङ्क ११
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४० सालको दे.पु.नं. ५२६
फैसला भएको मिति : २०४०।११।८।३ मा
पुनरावेदक वादी : जि.भक्तपुर बागेश्वरी गा.पं.वडा नं.८ बस्ने नन्दकुमारी नायजु
विरूद्ध
विपक्षी प्रतिवादी : ऐ.ऐ बस्ने धनबहादुर नायजू
मुद्दा : अंश
(१) अंश मुद्दा गर्दा दावी छाडी मिलापत्र गरेको देखिन आएको अघि लोग्ने देखाई अघिल्ला लोग्ने तर्फका नावालकको सम्पत्ति जिम्मा लगाइपाउँ भनी दिएको उजूरीमा तारेख छाडी नावालकको सम्पत्ति माथवर मानिस जिम्मा लगाउने ठहर भएको तर लोग्ने कायम भएको देखिन नआएको समेतबाट वादी दावी बमोजिम प्रतिवादीबाट अंश पाउन नसक्ने ।
(प्रकरण नं. ९)
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ ।
२. २०२० सालमा विवाहिता पति र विलालको मृत्यु भएपछि ०२१ सालदेखि विपक्षीसँग यौन सम्बन्ध भई ०२३ सालमा छोरो कान्छोको जन्म भयो । ०२४ सालदेखि निकाला गरेकोले ज्यालापानी गरी खाई आएका छौं विपक्षीसँग तायदाती लिई ७ खण्डको २ खण्ड अंश दिलाई पाउँ भन्ने नन्दकुमारी नायजु र कान्छी नायजुको फिराद ।
३. विपक्षी नन्दकुमारीको विवाहिता पति मरेपछि पदमकेशर ढकालसँग पोइल गई निजको विर्यबाट कान्छोको जन्म भएको हो सो सम्बन्धमा मेरो इन्कारी बयान भई नावालकको धनमाल रघुनाथ समेत जिम्मा लगाई दिने ठहराई बा.अं.अ.बाट फैसला भयो । पदमकेशर उपर दिएको अंश मुद्दामा दावी छाडी मिलापत्र भएको छ । म उपर झुठ्ठा उजूर गरेमा विपक्षीलाई सजाय गरिपाउँ भन्ने प्र.धनबहादुर नायजुको प्रतिउत्तर ।
४. नावालकको धनमाल जिम्मा लगाई पाउँ भन्ने नन्दकुमारीले चढाएको विन्त्तिपत्रमा बा.अं.अ.बाट नावालकको धनमाल माथवर जिम्मा लगाई दिने ठहर भएको र नन्दकुमारीले पदमकेशर ढकाल उपर दिएको अंश मुद्दामा मिलापत्र भएको समेत देखिनाले अंश पाउँ भन्ने दावी झुठ्ठा ठहर्छ भन्ने समेत भक्तपुर जि.अ.को फैसला ।
५. इन्साफमा चित्त बुझेन इन्साफ पाउँ भनी वादीहरूको म.क्षे.अ.मा परेको पुनरावेदन ।
६. विपक्षी धनबहादुरको करणी विर्यबाट जन्मेको छोराको न्वारान गराई पाउँ भनी यिनै वादीले यिनै प्रतिवादी उपर दिएको न्वारान गराई पाउँ भन्ने मुद्दा दावी झुठ्ठा ठहर्याएको शुरू भ.पु.जि.अ.को इन्साफ मनासिव गरी आजै यसै बेञ्चबाट ठहर भएको पदमकेशर ढकाललाई लोग्ने देखाई अंश मुद्दा गर्दा अंशमा दावी छाड्ने गरी मिलापत्र गरेको र प्र.धनबहादुरलाई पोई देखाई नावालकको सम्पत्ति जिम्मा लगाई पाउँ भन्ने उजूरीमा तारेख छाड्दा धनबहादुरलाई पोई गराएको ठहर भएको नभई नावालकको धन जिम्मा लगाएको सम्म वा.अं.अ.बाट फैसला भएको देखिन आएकोले प्र.धनबहादुरबाट अंश पाउँ भन्ने दावी पुग्न नसक्ने ठहर्याएको शुरू भ.पु.जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेत म.क्षे.अ.को फैसला ।
७. उक्त म.क्षे.अ.को इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी नन्दकुमारी नायजुको निवेदनमा यसमा यिनै वादी प्रतिवादी भएको न्वारान गराई पाउँ भन्ने मि.नं.१५७६ को मुद्दा वादी दावी नपुग्ने ठहर्याई भ.पु.जि.अ.ले गरेको म.क्षे.अ.ले सदर गर्ने गरेको फैसला अ.बं.१३९ नं.त्रुटि भएको देखिँदा पुनरावेदनको अनुमति दिइएकोले पदमकेशर ढकाललाई बुझ्दै नबुझी वादी दावी नपुग्ने ठहर्याएको भ.पु.जि.अ.को इन्साफ मनासिव ठहर्याएको म.क्षे.अ.को निर्णयमा अ.बं.१३९ नं.को त्रुटि भएको र उक्त त्रुटि सार्वजनिक महत्त्वको विषयको हुँदा न्याय प्र.सु.ऐन, ०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत डिभिजनबेञ्चको ०४०।१।११ को आदेश रहेछ ।
८. प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरू हेरी निर्णयतर्फ विचार गर्दा म.क्षे.अ.को निर्णय मिले नमिलेको के हो निर्णय दिनुपर्ने प्रश्न उपस्थित हुनआएको छ ।
९. यसमा यिनै पुनरावेदक वादी नन्दकुमारी नायजुले यिनै विपक्षी प्र.धनबहादुर उपर न्वारान गराई पाउँ भनी दिएको मुद्दामा वादी दावी झुठ्ठा ठहराएको शुरू भ.पु.जि.अ.को इन्साफ सदर गरेको म.क्षे.अ.को निर्णय मनासिव ठहरी आजै यसै बेञ्चबाट फैसला भएको र पदमकेशर ढकाललाई लोग्ने देखाई निजसँग अंश मुद्दा गर्दा दावी छाडी २०२३।८।१६ मा मिलापत्र गरेको देखिन आएको अघि यिनै प्र.धनबहादुरलाई लोग्ने देखाई अघिल्ला लोग्ने तर्फको नाबालकको सम्पत्ति जिम्मा लगाई पाउँ भनी दिएको उजूरीमा तारेख छाडी नाबालकको सम्पत्ति माथवर मानिस जिम्मा लगाउने ठहर भएको तर धनबहादुर लोग्ने कायम भएको देखिन नआएको समेतबाट वादी दावी बमोजिम प्रतिवादीबाट अंश पाउन नसक्ने ठहर्याएको शुरू भ.जि.अ.को इन्साफ सदर गरेको म.क्षे.अ.को निर्णय मिलेको देखिन्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । कोर्टफी राखी दायर भएको हुँदा केही गरी रहन परेन । मिसिल नियमानुसार बुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४० साल फाल्गुण ८ गते रोज ३ शुभम् ।