निर्णय नं. १८२८ - नाता कायम

निर्णय नं. १८२८ ने.का.प. २०४० अङ्क ११
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३८ सालको फौ.पु.नं. ३८१
फैसला भएको मिति : २०४०।८।२६।२ मा
पुनरावेदक/प्रतिवादी : रौतहट जिल्ला धर्मपुर गा.पं.वडा नं.८ घर भई हाल सर्लाही जिल्ला गडहीया गा.पं.वडा नं.३ बस्ने तपेश्वरी यादवनीसमेत
विरूद्ध
विपक्षीवादी : रौतहट जिल्ला धर्मपुर गा.पं.वडा नं.८ बस्ने महेन्द्रराय यादव समेत
मुद्दा : नाता कायम
(१) अदालतले वादीको देवानी दावी, फौजदारी हो भनी दावी नै परिवर्तन गर्ने कानुनमा कुनै प्रावधान नदेखिने ।
(प्रकरण नं. १८)
(२) फिरादी आफैंले कानुनको रीत पुर्याई देवानीमा दायर गरेको मुद्दालाई अदालत स्वयम् आफैंले फौजदारीमा परिणत गर्न मिल्दैन ।
(प्रकरण नं. १९)
पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
विपक्षीवादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. पुनरावेदनको अनुमति पाउँ भन्ने नाता कायम मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको ०३६।५।२८।५ को निर्णय दोहोर्याई पाउँ भनी न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाएको निवेदनमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आएकोमा ०३८।१०।२।६ का फुलेबञ्चका आदेशानुसार अनुमति प्राप्त भई प्रस्तुत मुद्दामा यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।
२. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : बुटेनको ३ छोरामा जेठो हितलाल, माहिला पनिलाल र कान्छा रामशरण हितलालको छोरा कारे, पनिलालको छोरा हामीहरू हौं । कारेकी श्रीमती तपेश्वरी हाम्री भाउजू हुन् । आफ्नो अंश लिई भिन्न बसेको विधवा भाउजू तपेश्वरी गत २०३० साल मार्ग १ गते देखि गुल्टेन रायसँग लाग्ने स्वास्नीको सम्बन्ध जोडी गुल्टेन रायकै घरमा बसेकी र लोग्ने कारे रायतर्फको पाएको अंश सम्पत्ति पनि परिणाममा गुल्टेन रायकै नाउँमा कायम गराउने फरेवपूर्ण विचारबाट २०३०।८।७ मा निज भाउजूकै नाउँमा दर्ता रहेको धर्मपुरको ४–१५–९ जग्गा गुल्टेनको सहयोगी साथी महादेवका नाउँमा लिखत गरी दिई २०३१।१।१६ मा महादेवबाट गुल्टेनको नाउँमा लिखत गराएको छ । लोग्ने कारे रायको अंश सम्पत्ति निजको हक कायम रहन दिन नहुने भई हकवालाको हक कायम गराउनको लागि निज तपेश्वरी गुल्टेनको लोग्ने स्वास्नीको सम्बन्ध कायम गराई पाउँ भन्ने समेत वादी ।
३. मैले तपेश्वरीलाई स्वास्नी राखेको छैन । निज आफ्नै घरमा बसेकी छिन । प्रतिवादी तपेश्वरीसँग मेरो अघिदेखि पटक–पटक मुद्दा मामिला पनि चली आएकोले निजलाई मैले स्वास्नी बनाएको ठहर्न नसक्ने हुँदा तपेश्वरीको र मेरो बीचमा लोग्ने स्वास्नीको नाता कायम हुन नपर्ने भन्ने समेत व्यहोराको गुल्टेन राय यादवको प्रतिवादी ।
४. हकवालाको हैसियतबाट कसैले कुनै कुराको नालेश गर्ने हो भने नजिकको हकवाला रामशरण हुँदाहुँदै अरूले नालेश गर्न पाउने होइन । वादीको नालेश अ.बं.८२ नं.को विपरीत छ । मलाई खान लाउन प्रसस्त पुगेकै र ४६ वर्ष उमेर पुगेको भन्ने वादीकै लेखबाट देखिन्छ भने गुल्टेनरायसँग पोइल जानुपर्ने आवश्कता नै छैन मेरो लोग्ने र ससुरा प्रतिष्ठित मानिसहरू भएबाट आफू बसेकैं टोलमा आफू भन्दा कम खानदानमा पोइल जानुपर्ने अवस्थै नहुँदा गुल्टेन रायसँग लोग्ने स्वास्नीको सम्बन्ध गरी बसेको छैन । वादीहरूको फिराद दावी झुठ्ठा हो भन्ने समेत तपेश्वरीको प्रतिवादी ।
५. तपेश्वरीले आफ्नो लोग्नेको सत्य डगाई गुल्टेनसँग लोग्ने स्वास्नी भई बसेकी छिन भन्ने समेत अच्छेलालको बकपत्र र लोग्ने स्वास्नी भई बसेको थाहा छैन तर तपेश्वरीले आफ्नो सम्पत्ति बिक्री गरी गुल्टेनको घरमा गई बसेको सम्म देखेको हुँ भन्ने समेत जितु ठाकुरको बकपत्र, तपेश्वरी आफ्नो भएको सम्पत्ति बिक्री गरी गुल्टेनको घरमा गइबसेकी छिन भन्ने समेत रामसुरत तथा तपेश्वरी गुल्टेनसँग लोग्ने स्वास्नी भई बसेकी छिन भन्ने समेत वादीको साक्षी लक्ष्मण रायको बकपत्र ।
६. तपेश्वरी गुल्टेनरायको घरमा बसी लोग्ने स्वास्नीको सम्बन्ध राखी बसेको होइन छैन भन्ने समेत कुदल पण्डित, जगदिश राय, मुगलाल राय, अनरन्जित राय र जिनिसलाल रायको बकपत्र ।
७. स्वयम् प्रतिवादी तपेश्वरी यादवले आफैंले जन्माएकी एक मात्र छोरी भुलर यादवनीले आमा तपेश्वरी २०३० साल मार्ग महीनादेखि गुल्टेनरायसँग लोग्ने स्वास्नीको सम्बन्ध कायम गरी गुल्टेनको साथमा बसेकी छिन भनी बयान गरेकी अरू प्रमाणको अतिरिक्त यो नै प्रतिवादीहरूको विरूद्धमा ज्वलन्त प्रमाण मान्नुपर्ने र निज तपेश्वरीको उमेर पनि वृद्ध अवस्थाको नदेखिएको समेत हुँदा उपरोक्त उल्लिखित प्रमाण परिबन्दबाट प्रतिवादी तपेश्वरी प्रतिवादी गुल्टेनराय वादी दावी अनुसार २०३० साल मार्ग १ गते देखि लोग्ने स्वास्नीको सम्बन्ध कायम गरी बसेको ठहर्छ भन्ने समेत रौतहट जिल्ला अदालतको फैसला ।
८. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत तपेश्वरी यादवनी र गुल्टेनराय यादवको पृथक–पृथक पुनरावेदन ।
९. सम्पत्ति खान पाउने नजिकको हकवाला रामशरण राय यादवको उजूरी देखिन नआएकोले छलफलको निमित्त अ.बं.२०२ नं.र क्षेत्रीय अदालत नियमावली बमोजिम विपक्षहरू झिकाई सिंगलको लगत काटी डिभिजनमा दर्ता गरी नियमबमोजिम पेश गर्नुभन्ने मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको आदेश ।
१०. हक कायम गरिपाउँ भन्ने मुद्दामा तपेश्वरीको प्रतिउत्तरको पेटबोलीबाट बुझिएको हकवाला ससुरा रामशरणले तपेश्वरी २०३० साल मार्ग १ गते देखि गुल्टेनसँग लोग्ने स्वास्नीको सम्बन्ध जोडी गुल्टेनसँग पोइल गई निजको घरमा रही बसेकी छन् भनी तपेश्वरीकै विवाह भइसकेकी छोरी भुलर राय यादवनीले आमा तपेश्वरी ०३० साल मार्ग महीना देखि गुल्टेनराय यादवसँग लोग्ने स्वास्नीको सम्बन्ध कायम गरी गुल्टेनकै साथमा बसी राखेकी छन भनी बयान गरेको देखिनाले समेत प्रतिवादी तपेश्वरी गुल्टेनराय यादवसँग वादी दावी अनुसार ०३० साल मार्ग १ गते देखि लोग्ने स्वास्नीको सम्बन्ध कायम गरी बसेको ठहराई रौतहट जिल्ला अदालतबाट गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको ०३५।१।२५।२ को फैसला ।
११. पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिन मिलेन भन्ने यस अदालत डिभिजनबेञ्चको आदेश ।
१२. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३६।३।२८।५ को निर्णय दोहर्याई पाउँ भनी न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाएको निवेदनमा दोहर्याई दिनु भन्ने ०३६।११।६ मा हुकुम प्रमांगी बक्स भई आएकोमा बक्स भई आएको हुकुम प्रमांगी बमोजिम गर्न फुलबेञ्चको लगतमा दर्ता गरी पेश गर्नुभन्ने समेत सम्मानीय प्रधान न्यायाधीशज्यूको ०३७।१।३०।२ को आदेश ।
१३. प्रतिवादी गुल्टेनराय यादव र तपेश्वरीको सम्बन्धमा भएको हो भनी हक कायम गरिपाउँ भन्ने मुद्दामा भुलर र रामशरणले गरेको बयानलाई यस मुद्दामा प्रमाण लिएको प्रमाण ऐन, २०३१ को दफा १७ को विपरीत देखिएकोले न्याय प्रशासन सुधार ऐन, २०३० को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने फुलबेञ्चको ०३८।१०।२।६ को आदेश ।
१४. पुनरावेदक गुल्टेनराय यादव, तपेश्वरीको वारेस कृष्णचन्द्र विपक्षीका वारेस तेजनारायणलाई रोहवरमा राखी पुनरावेदकतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विपक्षीतर्फका विद्वान अधिवक्ता श्री कमलनारायण दासको बहस समेत सुनी आज निर्णय सुनाउने पेशी भएकोले निर्णयतर्फ विचार गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ ? सो को निर्णय दिनुपर्ने हुनआएको छ ।
१५. यसमा गुल्टेनराय यादव र तपेश्वरीको बीच लोग्ने स्वास्नीको सम्बन्ध कायम गरिपाउँ भनी वादी महेन्द्रराय समेतले रौतहट जिल्ला अदालतमा फिराद दर्ता गर्दा कोर्टफी राखी देवानीमा उक्त नाता सम्बन्धी मुद्दाको फिराद दायर दर्ता गरेकोमा रौतहट जिल्ला अदालतले फैसला गर्दा देवानीमा दर्ता भएको उक्त मुद्दालाई फौजदारीमा परिणत कायम गरी निर्णय दिएको पाइन्छ । मुलकी ऐन अदालती बन्दोबस्तको ९ नं.बमोजिम प्रस्तुत मुद्दा फौजदारी हुनेमा विवाद देखिन्न । उक्त कुरालाई विपक्षीतर्फका विद्वान अधिवक्ताले पनि स्वीकार गर्नुभएको छ । तर फिरादीले आफ्नो फिराद दायर दर्ता गर्दा कोर्टफी राखी देवानीमा मुद्दा दर्ता गरेकोले त्यस्तो दायर दर्ता हुनआएको देवानी मुद्दालाई अदालतले फौजदारीमा परिणत गर्न मिल्छ मिल्दैन मूलरूपमा प्रथमतः यो कानुनी प्रश्नमा निर्णय दिनुपर्ने हुनआएको छ ।
१६. रौतहट जिल्ला अदालतको नि.नं.६८९ ना.सु.विष्णुरमण विरूद्ध राजेश्वरीदेवी भएको निखनाई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालतबाट प्रतिपादित भएको सिद्धान्तलाई अंगाली फिरादीले देवानीमा दायर दर्ता गरेको नाता कायम मुद्दालाई फौजदारीमा परिणत गरेको देखिन्छ । तर उक्त नि.नं. ६८९ ले देवानी फौजदारी मुद्दाको एउटै फिराद दायर हुनआएकोमा सो फिरादपत्रबाट जति कुराको इन्साफ गर्न नपर्ने हो उति कुरा सोही फिरादपत्रको शीरमा लेखी दिनुपर्छ भन्दै अ.बं.७२ नं.को व्याख्या गर्दै सो बमोजिम गरी नदिएमा अदालतको गल्तीबाट पक्षलाई आघात पर्न नसक्ने भनिएको पाइन्छ ।
१७. तर प्रस्तुत मुद्दामा अ.बं.७२ नं.को विवाद उठेको नदेखिई फिरादी आफैंले प्रस्तुत नाता कायम मुद्दालाई देवानीमा दायर दर्ता गरेकोले उक्त नि.नं.६८९ को मुद्दामा प्रतिपादित भएको सिद्धान्त यसमा लाग्ने देखिएन ।
१८. फिरादी आफैंले आफूले दावी गर्दा मेरो दावी देवानी हो भनी देवानीमा दर्ता गरी इन्साफ माग्न आएमा अदालतले वादीको देवानी दावी, फौजदारी हो भनी दावी नै परिवर्तन गर्ने कानुनमा कुनै प्रावधान देखिन्न । त्यसरी दावी नै परिवर्तन गर्ने अधिकार अदालतलाई भएको पनि पाइन्न।
१९. फिरादपत्रको ऐनबमोजिमको ढाँचा नमिलेमा रीत पुर्याई ल्याउनु भनी फिरादपत्रको पीठमा लेखी दिने कुरा अ.बं.८७ नं.ले तोकेको र केरमेटको कुरामा अ.बं.२७ ले तोकेको पाइन्छ । तर उक्त कानुनले दिएको परिधि नाघेर फिरादी आफैंले कानुनको रीत पुर्याई देवानीमा दायर गरेको प्रस्तुत मुद्दालाई अदालत स्वयम् आफैंले फौजदारीमा परिणत गर्न मिल्दैन ।
२०. नि.नं.१५५० पुनरावेदक वादी प्रभुदयाल लोहिया विरूद्ध जुट विकास तथा व्यापार संस्थान मुद्दा मध्यस्थता गराई पाउँ भन्ने मुद्दामा वादी दावी त यस्तो हुनुपर्छ भनी वादी नै परिवर्तन गर्न अदालतले नपाउने प्रतिपादित भएको सिद्धान्तको आधारमा समेत वादीको फिराद खारेज हुने ठहर्छ।
२१. प्र.गुल्टेनराय यादव र प्र.तपेश्वरीको लोग्ने स्वास्नी कायम गरेको रौतहट जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय गल्ती भई दुबै फैसलाहरू बदर हुने ठहर्छ । तपसील कलममा तपसील बमोजिम गर्नु ।
तपसील
देहायका प्रतिवादीहरूके माथि इन्साफ खण्डमा लेखिएबमोजिम शुरू र क्षेत्रीय अदालतको इन्साफ बदर भएकोले म.क्षे.अ.को ०३५।१।२५।२ को फैसलाले जरिवाना गर्ने गरेको फिर्ता दिनु भनी शुरूमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु.......................................................१
तपेश्वरी यादवनी के फिर्ता गर्ने रु.१ गुल्टेनराय यादवको फिर्ता गर्ने रु.१
मिसिल नियमबमोजिम गरी बुझाई दिनु......................................................................................................................२
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल मार्ग २६ गते रोज २ शुभम् ।