शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८३८ - प्रतिषेध सहितको उत्प्रेषण मिश्रित आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२

निर्णय नं. १८३८     ने.का.प. २०४० अङ्क ११

 

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३९ सालको रिट नं. ९९५

आदेश भएको मिति : २०४०।१०।६।६ मा

रिट निवेदक : रूपन्देही सिद्धार्थनगर नगरपञ्चायत वडा नं.७ बस्ने ठेकेदार शिवनाथ रौनियार

विरूद्ध

विपक्षी : रूपन्देही जिल्ला सिद्धार्थ नगर, नगरपञ्चायतसमेत

विषय : प्रतिषेध सहितको उत्प्रेषण मिश्रित आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१)                नगरपञ्चायतका प्रधान अधिकृतले आफ्नो केही कर्मचारीहरू खटाएको कुराको बोधार्थ पत्रले पट्टापत्रको विपरीत असर पर्न गई आर्थिक नोक्सानी समेत हुने कुरामा रिट क्षेत्रबाट समस्याको समाधान हुनसक्दैन ।

(प्रकरण नं. ५)

आदेश

प्र.न्या.नयनबहादुर खत्री

१.     नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छन् :

२.    विपक्षी नगरपञ्चायत अन्तर्गतको सम्पूर्ण कर आर्थिक वर्ष ०३९।४० को लागि असूल गर्न ठेक्का लगाउन टेण्डर आव्हान गरेकोमा सबभन्दा बढी मेरो रकमलाई मान्यता दिई मैले उक्त कर असूल गर्न पाउने गरी मिति ०३९।३।३१ मा चलन पूर्जि पाएको र ०३९।४।८ मा रीतपूर्वक पट्टापत्र पाई ०३९।४।१ देखि नै पट्टापत्रको शर्तहरूको परिधि भित्र कार्य सञ्चालन गर्दै आइरहेको थिएँ र उक्त चलन पूर्जि तथा पट्टापत्र बमोजिमको काम सञ्चालन गरी त्यसमा हुने हानी लाभ प्राप्त गर्ने मेरो कानुनी हक छ । उक्त पट्टापत्र बमोजिम मैले दाखिल गर्नुपर्ने ५ प्रतिशत डिपोजिट रकम रु.१,४७,५५०। र पहिलो किस्ता रु.७,३७,७५०। समेत मैले विपक्षी नगरपञ्चायतमा जम्मा गरी मेरो तर्फबाट कारिन्दा कामदारहरू राखी अन्य खर्चहरू समेत लगाई पट्टापत्रकै परिधि भित्र रही काम गर्दै रहेकोमा पट्टापत्र अनुसार म ठेकेदारले असूल उपर गर्ने कर उठाउनलाई विपक्षी नगरपञ्चायतका तर्फबाट विपक्षी प्रधान अधिकृतज्यूले ०३९।५।१४ मा नगरपञ्चायतकै केही कर्मचारीहरू खटाई पठाएको व्यहोराको पत्रको बोधार्थ मिति ०३९।५।१५ मा प्राप्त भएको छ र खटाइएका मिति देखि नै निज कर्मचारीहरूले नै ठेक्का अनुसार असूल गर्नुपर्ने कर असूल गरिरहनु भई मेरो पट्टापत्र भित्र मैले सञ्चालन गर्ने काम अनुचित हस्तक्षेप गरिरहेका छन् । विपक्षीहरूको उपरोक्त क्रियाकलाप र हस्तक्षेपबाट मेरो पट्टापत्रको अधिकारको साथै नागरिक अधिकार ऐनको दफा ६(६)(७), ९ तथा संविधानको धारा १०(१), ११(२)ङ, १५ द्वारा प्रदत्त मौलिक हक हनन् भएकोले संविधानको धारा १५।७१ अन्तर्गत यस सम्मानित अदालतको असाधारण अधिकारक्षेत्र गुहार्न आएको छु । विपक्षी न.पं.र प्रधान अधिकृतद्वारा ०३९।५।१४ मा कर्मचारीहरूलाई खटाई मेरो पट्टापत्र भित्रको कर असूलीमा हस्तक्षेप गरेको पत्र र सो बमोजिमको काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ र यसको निर्णय नहुँदासम्म ०३९।४।८ को पट्टापत्र बमोजिमको कर असूलीको काम निवेदकलाई गर्नमा कुनै किसिमले हस्तक्षेप नगर्नु भनी प्रतिषेधको अन्तरिम आदेश जारी गरिपाउँ भन्ने समेत निवेदन जिकिर रहेछ ।

३.    विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने मिति ०३९।८।२७ को सिंगलबेञ्चको आदेश ।

४.    रिट निवेदकले मिति ०३९।४।८ मा पाएको पट्टापत्रको विपरीत हुने गरी यस नगरपञ्चायतले कुनै कार्य गरेको छैन । उक्त पट्टापत्रको संकेत नं.१० मो ठेक्का भोगचलन गर्दा न.पं.को निर्देशन प्रतिकूल असर पर्ने गरी गरे गराएमा न.पं.ले जुनसुकै बेलामा पनि ठेक्का बदर गर्नसक्ने छ भन्ने र शर्त नं.११ मा न.पं.कर उठाउन समस्या परेमा न.पं.सँग सम्पर्क राखी सामाधन गर्नुपर्ने छ, र सो सम्बन्धमा न.पं.ले गरेको निर्णय अन्तिम हुने छ भन्ने र शर्त नं.१५ मा न.पं.कर असूलीमा समस्या परी न.पं.बाट भएको व्यवस्था अनुसार कुनै पनि व्यक्तिले न.पं.मा धरौटी राखी कार्यालयले आदेश दिएमा, धरौटी अनुसारको मालसामान ल्याउन दिनुपर्ने छ, र ७ दिनभित्र ठेकेदारले राखेको धरौटी फिर्ता दिन नसकेको रकम समेत कार्यालयमा दाखिल गर्नुपर्नेछ, उक्त धरौटी रकम न.पं.का.बाट ठहर भएबमोजिम हुने छ भन्ने उल्लेख भएको छ । पट्टापत्रका यी शर्तहरूलाई रिट निवेदकले कबूल गरी पट्टापत्र उठाई सो अनुसार कार्य सञ्चालन समेत गर्दै आइरहेको हुँदा सो पट्टापत्रको विपरीत ठेक्केदार रिट निवेदकले कुनै कुरा भन्न पाउने होइन । उक्त पट्टापत्रको शर्त नं. ११ र १५ को अधिकार प्रयोग गरी यस नगरपञ्चायतले तत्काल यस नगरपञ्चायत अन्तर्गत रहेका कर असूली गर्ने उपशाखाहरूमा पत्र र कर्मचारी खटाई पठाई मूल्य उल्लेख नभएका मूल्यमा विवाद उठेका मालसामानमा मात्र मूल्य कायम गरी सो अनुसार धरौटीको रूपमा कर असूल गरी आएको हो यसप्रकार नगरपञ्चायत ऐन, २०१९ तथा नगरपञ्चायत (कार्य व्यवस्था) नियमावली, २०२० र मिति ०३९।४।८ को पट्टापत्र बमोजिम नगरपञ्चायतबाट भए गरेकोलाई हस्तक्षेप भयो भन्न नमिल्ने हुनाले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत सिद्धार्थनगर, नगरपञ्चायत र ऐ.नगरपञ्चायतका प्रधान अधिकृतको संयुक्त लिखितजवाफ ।

५.    प्रस्तुत रिट निवेदनमा रिट निवेदकको माग अनुसारको आदेश जारी हुने नहुने के हो भन्ने तर्फ विचार गर्दा यसमा रिट निवेदक र सिद्धार्थनगर, नगरपञ्चायत बीच मिति ०३९।४।८ मा पट्टापत्र भए अनुरूप निवेदकको कर उठाउने काममा विपक्षी नगरपञ्चायतले आफ्नो कर्मचारीहरू खटाई अनावश्यक हस्तक्षेप गरी आर्थिक नोक्सानी पुर्‍याई रहेकोले सो काम कारवाही बदर गरिपाउँ र पट्टापत्र विपरीत हस्तक्षेप नगर्नु भनी प्रतिषेधको अन्तरिम आदेश जारी गरिपाउँ भन्ने मुख्य जिकिर रिट निवेदकले लिएको देखिन्छ । यस परिस्थितिमा रिट निवेदक र विपक्षी नगरपञ्चायतको सम्बन्ध करार सम्बन्धी विषय अन्तर्गत पर्न आउने हुन्छ । विपक्षी नगरपञ्चायतका प्रधान अधिकृतले ०३९।५।१४ मा आफ्नो केही कर्मचारीहरू खटाएको कुराको बोधार्थ पत्रले पट्टापत्रको विपरीत असर पर्न गई आर्थिक नोक्सानी समेत हुने कुरामा रिट क्षेत्रबाट समस्याको समाधान हुनसक्दैन । यसको अतिरिक्त रिट निवेदक आर्थिक वर्ष ०३९।०४० सालका लागि कर असूल गर्ने सम्बन्धी विषयलाई लिएर यस अदालत समक्ष आएको देखिन्छ । तर हाल उक्त आर्थिक वर्ष ०३९।०४० व्यतीत पनि भइसकेको हुँदा विपक्षी नगरपञ्चायतले गरेको उपरोक्त काम कारवाहीलाई लिएर अहिले यहाँबाट कुनै निर्णय गर्नु निरर्थक समेत हुन जाने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमबमोजिम गर्नु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४० साल माघ ६ गते रोज ६ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु