शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८३९ - उत्प्रेषण लगायत जुन चाहिने उपयुक्त रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२

निर्णय नं. १८३९     ने.का.प. २०४० अङ्क १२

 

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३९ सालको रिट नं. १४४९

आदेश भएको मिति : २०४०।९।८।६ मा

रिट निवेदक : पर्सा जिल्ला अमरपट्टी गा.पं.वडा नं.१ बस्ने महन्त ठाकूर हजाम

विरूद्ध

विपक्षी : ऐ.ऐ.वा.नं.२ बस्ने रामलोचन चौवे, भूमिसुधार कार्यालय पर्साका श्री भूमिसुधार अधिकारी

विषय : उत्प्रेषण लगायत जुन चाहिने उपयुक्त रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१)                १ नं.फाराम २ नं.लगत प्रकाशित हुने कुनै कानुनी प्रकृया अपनाएको नदेखिएको र जग्गाधनी लाई बाली बुझाएको स्वतन्त्र प्रमाण पेश गर्न नसकेको हुँदा मोही हुन नसक्ने ।

(प्रकरण नं. ११)

विपक्षीतर्फबाट       : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली

आदेश

प्र.न्या.नयनबहादुर खत्री

१.     नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२.    प्रतिरक्षी नाउँ दर्ताको जि.पर्सा, अमरपट्टी गा.पं.वडा नं.३ कि.नं.१७० को ०१५ धुर जग्गामा मेरो बाबु प्रताप ठाकुरको जीवन कालमा ऐन लागू हुनुभन्दा पच्चीसौ वर्ष पहिले देखि मोही जोती आउनु भएकोले पर्सा जिल्लामा १ नं.लगत लिनु भन्दा पहिले भएको सर्भे नापीमा नै फिल्डबुकको मोही व्यहोरामा आफ्नो नाउँ लेखाउनुभएको र ऐनको दफा २५(१) अन्तर्गतको मोहीको हैसियतले भर्नु पर्ने १ नं.लगत भराई २ नं.प्रकाशित समेत भएको थियो ।

३.    बाबुको जीवन छउञ्जेल ०२९ साल सम्म बाबुले र निजको २०३० सालमा स्वर्गवास भए देखि मैले उल्लिखित जग्गा जोती साल सालैको बाली बुझाउन जाँदा नबुझी लिनुभएको हुनाले भू.सु.का.र स्थानीय गा.पं.मा धरौट राख्दै आएको छु ।

४.    प्रतिरक्षीले मोहीबाट हटक गर्न निमित्त अनेकौं जाल प्रपञ्च गर्न लागेको हुनाले स्वर्गीय बाबु प्रताप ठाकुरको नाउँबाट मोही नामसारी गरिपाउँ भनी भू.सु.का.पर्सामा निवेदन दिँदा प्रतिरक्षीले मोहीमा इन्कारी गरी प्रतिउत्तर लगाएपछि श्री अधिकारीज्यूले १।२।४ नं. कुनै अनुसूची नभएको, कूत बुझाएको भर्पाई नभएको कूत धरौटी बुझी लिन इन्कार गरेको इत्यादि विभिन्न स्वेच्छिक तर्कहरूको उल्लेख गर्दै मोही हक ठहर्दैन भनी मिति २०३९।१०।१२ मा निर्णय गर्नुभयो ।

५.    श्री अधिकारीज्यूले निर्णय गर्नु हुँदा १ र २ नं.अनुसूची नभएको भनी आफ्नो निर्णयको मूलधार बनाउनुभएको छ । नियमावलीको नियम १०(१) मा नियम ६ बमोजिम प्रकाशित भएको लगतमा म्यादभित्र कसैको उजूरी नपरेमा सो प्रकाशित लगतकै म्यादभित्र उजूर परी जि.भू.सु.अ.को निर्णय बमोजिम सो लगतमा कुनै हेरफेर गर्न परेकोमा सो बमोजिम हेरफेर गरिएको लगत स्थानीय पञ्चायत जिम्मा राखिने छ भनी प्रावधान भएको छ । भू.सु.का.मा लगत नभएपछि नियमावलीको नियम १०(१) बमोजिम स्थानीय गाउँ पञ्चायतमा लगत रहने कुरा नियमावलीबाट देखिँदा देखिँदै स्थानीय गाउँ पञ्चायत बुझ्दै नबुझी १ र २ नं.लगत नभएको भनी अन्दाजी व्यहोरा उल्लेख गरी मेरो मोही हकलाई समाप्त गरिएको हुनाले ऐनको दफा २५(१) को समेत प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि गरी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर रहेछ ।

६.    विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने मिति ०३९।१२।९।४ को सिंगलबेञ्चको आदेश ।

७.    निवेदकले आफ्नो निवेदनमा ऐन लागू हुनुभन्दा पच्चीसौं वर्ष अगाडि देखि मेरो पिताजी प्रताप ठाकूरले जग्गा जोती आएको भनी उल्लेख गरेको तर भूमिसम्बन्धी ऐन, २०२१ लागू भएपछि भू.सु.टोली खटी जाँदा निजले १ नं.अनुसूची भराई २ नं.प्रकाशित गराई ३ नं.प्रमाणपत्र लिनुपर्नेमा सो कानुनी प्रकृया पुर्‍याएको नदेखिएबाट निज प्रमाणित मोही देखिन आएन । यसरी पच्चीसौं वर्ष देखि जोती आएका मोहीसँग बाली बुझाएको स्वतन्त्र प्रमाण हुनुपर्नेको पनि वादी निवेदकबाट पेश हुन नआएको र हुँदै नभएको प्रमाणपत्रको नक्कल भनी २०३४ सालमा कूत धरौटी राखी मिति ०३५।५।२ मा मोहियानी प्रमाणपत्र पाउँ भनी उजूरी गरेको देखिएको समेतबाट निज महन्त ठाकुरको उजूरी खारेज हुने निर्णय गरेको हो । तथर्स निज महन्त ठाकुरको निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय, पर्साको लिखितजवाफ ।

८.    विपक्षीद्वारा मोहीमा दावा गरिएको जग्गाको जग्गाधनी म लिखितजवाफवाला हुँ र कानुनी रीतपूर्वकको जग्गाधनी दर्ता प्रमाणपूर्जा प्राप्त गरेको छु । ०३१।२।१५ मा नक्कल लिएको अरू जग्गाधनी दर्ता प्रमाणपूर्जाको मोहीको पिता प्रताप ठाकुर लगायत कुनै पनि मोही नभएको प्रष्ट छ । उक्त जग्गामा आँप बगैंचा भएको कुरा जग्गाधनी दर्ता प्रमाणपूर्जा र अन्य त्यस्तै प्रमाणहरूले पुष्टी गर्दछ । ०२१।०२२ सालमा नापी नक्सा भएको बखत पनि लिखितजवाफवालाको नम्बरी र आफैंं भोगी आएको आँप बगैंचा रहेको जमीन भन्ने कुरा स्पष्ट देखिन्छ । भूमिसम्बन्धी नियमावली, २०२१ को अनुसूची १,,३ ले व्यवस्था गरेको विवरण फाराम समेतमा विपक्षीको पिता तथा निज मोही भएको व्यहोरा उल्लेख छैन । आजसम्म आफैंले भोगचलन गर्दैआएको हुनाले यस सम्बन्धमा बाली बुझेको कुनै भर्पाई समेत मैले दिएको छैन । ०३० सालमा पिताको देहावसान भइसकेपछि वास्तविक रूपमा निज मोही भएको भए समयमा नै भूमिसम्बन्धी ऐन, २०२१ ले निर्दिष्ट गरेको कार्यविधिलाई अवलम्बन गरी आफ्नो मोहियानी हकाधिकार संरक्षण गर्नुपर्नेमा ०३४ सालमा मात्र आएर बाली लुटी आफू मोही हुँ भन्ने औचित्य आउँदैन । अतः झुठ्ठा दावी लिई आएको निवेदकको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको विपक्षी रामलोचन चौवेको लिखितजवाफ ।

९.    रिट निवेदक महन्त ठाकुर हजामको वारिस मदन राय यादवको नाम पुकार्न लगाउँदा पनि अनुपस्थित रहेको र विपक्षी रामलोचन चौबेका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले गर्नुभएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन भन्ने कुरा हेर्नु परेको छ । पर्सा जिल्ला अमरपट्टी गा.पं.वार्ड नं.३ कि.नं.१७० ज.बि.०१५ प्रतिवादीका नामको जग्गामा मेरो पिताजीका नाममा मोही कायम रहेकोमा कूत बाली धरौट समेत राखेको हुँदा उक्त कित्ताको मोही नामसारी गरिपाउँ भनी भू.सु.का.पर्सामा रिट निवेदकले उजूरी गरेकोमा भू.सु.का.पर्साले मोही हक नठहर्‍याई निवेदकको उजूरी खारेज गरेको रहेछ । अब रिट निवेदकका पिता प्रताप ठाकुर विपक्षी रामलोचन चौवेको कित्ता नं.१७० को जग्गाको मोही थिए वा थिएनन् भन्ने तर्फ हेर्दा निज रिट निवेदकका पिताले भूमिसम्बन्धीको नियमावली, २०२१ को अनुसूची १ बमोजिम मोही भई फाराम भरेको, २ नं.लगत प्रकाशित भएको र ४ नं.जोताहा अस्थायी निस्सा र अनुसूची ३ नं.को प्रमाणपत्रमा कुनै पनि प्रमाणपत्र प्राप्त गरी राखेको देखिँदैन । खाली फिल्डबुक उतारको मोही महलमा प्रताप ठाकुर हजामको नाम उल्लेख भएको देखिन्छ । यसका साथै निजले जग्गाधनीलाई बाली बुझाएको भर्पाई समेत कुनै पेश गर्नसकेको देखिँदैन । निज प्रताप ठाकुरको मृत्यु ०३० सालमा मात्र भएको भन्ने कुरा रिट निवेदनमा उल्लेख भएको पाइन्छ । तर भूमिसम्बन्धी ऐन, ०२१ लागू भइसकेको ९ वर्ष सम्ममा पनि निज प्रताप ठाकुरले आफू मोही हुनाका लागि अपनाउनुपर्ने कुनै कानुनी प्रकृया अवलम्ब गरेको देखिँदैन ।

१०.    यसरी रिट निवेदकका बाबु प्रताप ठाकुर उक्त कित्ता नं.१७० को जग्गाको कानुनको रीतपूर्वकको मोही हो भन्ने कुरा देखिन आएन । निज उक्त जग्गाको मोही भएको भए निजको मृत्यु पछि निजका छोरा रिट निवेदक महन्त ठाकुरले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम आफूलाई मोही रोजाएको पनि देखिन आएन ।

११.    अतः निज प्रताप ठाकुरले १ नं.फाराम भर्ने २ नं.लगत प्रकाशित हुने कुनै कानुनी प्रकृया अपनाएको समेत नदेखिएको र जग्गाधनीलाई बाली बुझाएको स्वतन्त्र प्रमाण समेत पेश गर्न नसकेको हुँदा निज महन्त ठाकुर मोही हुन नसक्ने भनी निजको उजूरी खारेज गर्ने गरी अधिकार प्राप्त अधिकारीले मिति ०३९।१०।१२ मा गरेको निर्णयमा कुनै किसिमको कानुनी त्रुटि देखिन नआएकोले रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमबमोजिम गर्नु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इतिसम्वत् २०४० साल पौष ८ गते रोज ६ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु