निर्णय नं. १८४२ - हक कायम दर्ता बदर

निर्णय नं. १८४२ ने.का.प. २०४० अङ्क १२
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको दे.पु.नं. ४३८
फैसला भएको मिति : २०४०।१०।१५।१ मा
पुनरावेदक/प्रतिवादी : का.न.पं.वडा नं.९ बत्तिसपुतली बस्ने मुरारीशमशेर ज.ब.रा.
विरूद्ध
विपक्षी : का.न.पं.वडा नं.२१ बस्ने हरहाईनेस कृष्णचन्द्रकुमारी देवी ज.ब.रा.समेत
मुद्दा : हक कायम दर्ता बदर
(१) एकपटक अधिकार प्राप्त अधिकारीका समक्ष वादीको वारेसले विवादको जग्गामा निजको स्वामित्व तथा भोग नभएको कुरा उल्लेख गरी बयान गरी सकेपछि निज वादीको दावी प्रतिवादी विरूद्ध पुग्न नसक्ने ।
(प्रकरण नं. १६)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतीकाजी स्थापित
विपक्षी वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
फैसला
न्या.बासुदेव शर्मा
१. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३८।३।१६।३ मा भएको फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने २०३८।४।१९।५ मा पर्नआएको निवेदनपत्रमा २०३८। ११।२४।१ मा अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नप्रकारको रहेछ ।
२. मेरो पति हिज हाइनेश केशरशमशेरकी विवाहिता श्रीमती शाहज्यादी राज्यलक्ष्मीदेवी राणा र म भएको, जेठी शाहज्यादीतर्फ ज.साम्राज्य शमशेर १ छोरा हुनुभएको अघि नै उहाँ र अविवाहिता पत्नी पट्टिका छोराहरू अरविन्द, मुरारीशमशेर मीहिरकला समेत आ–आफ्नो अंश लिई भिन्न बसी आउनुभएको केही जमीन अबण्डा थियो । आयस्ता अंश भाग अनुसार खान पाउने गरी हिज हाईनेश केशरशमशेरबाट ०१।१०।१९।५ मा महाराजगञ्ज गोश्वारा तहविललाई गरी दिनुभएको कागज अनुसार आयस्ता बुझी खाई आउनुभएको र महाराजगञ्ज गोश्वारा तहविल अन्तर्गतको जग्गा पनि सोही बमोजिम २९ भाग लगाई विपक्षी ज.साम्राज्य शमशेर र निजका नामको १ भाग गरी ६।६ भाग गरी १२ भाग निजको हिज हाईनेस केशरको ६ भाग र मेरो ३ भाग गरी १२ भाग बाँकी ५ भाग विपक्ष अरविन्दशमशेर मिहिरकलाको भाग हुन् । अंश मुद्दा ०२२।२।११ मा मिलापत्र पनि भएको छ । हिज हाईनेसको स्वर्गवास पछि विपक्षीले हामीहरूको समेत हक लाग्ने महाराजगञ्ज मौजे कि.नं.२२४ कित्ता २ मौजे सो ताला हा.नं.१०६ को कित्ता नं.१ मौजे साँखु हा.नं.१०१ को कित्ता केशरशमशेरका नाउँमा दर्तावालाको शेषपछि निजको ६ भाग समेत अपुतालीको २ नं.ले हामी सगोलमा बसी आएको हामीहरूको हक भएको जग्गा हामीहरूको हकै नदेखाई विपक्षीहरूले आफ्ना नाउँमा नामसारी दर्ता गराएका र सोही जग्गा मध्ये महाराजगञ्जको ४१ रोपनी जग्गा अधीकरणमा परेको रु.१,६६,०६२।५० मुआब्जा पनि लिएछन् । उक्त कुरा हाल २२४ को जग्गाधनी पूर्जा लिन विपक्षीहरूले निवेदन गरी कसैको हक भए ३० दिनभित्र उजूर गर्नुभन्ने ०३२।५।१ मा गो.प.मा सूचना प्रकाशित हुँदा थाहापाएकोले उजूर गरेको छु । उक्त जग्गामा ६ भाग म कृष्णचन्द्रकुमारी र ६ भाग हिज हाईनेसको शेषपछि अपुतालीबाट हाम्रो हक भई १२ भाग अर्थात जग्गा रोपनी १०१–१२–३ भई हाम्रो हक भएको २४६–८–२ मध्ये रोपनी १०१–१२–३ जग्गा हाम्रो हक कायम गरी विपक्षीहरूको नाम दर्ता बदर गरी लिएको मुआब्जा १,६६,०६२।५० मध्ये रु.६८,७१५।५१ हामीले पाउनुपर्ने हुँदा हाम्रो हक कायम गरी विपक्षीहरूबाट दिलाई पाउँ भन्ने समेत वादी दावी रहेछ ।
३. म मिहिरकला र अरविन्दको पिता केशरशमशेर जीवित हुँदैमा गरी दिनुभएको बन्दोबस्त अनुसार आफ्नो अंश भोगी आएको छु । हाम्रो अंश हुँदा अबण्डा रहेको जग्गा २ खण्ड गरी हामीले पाउने भाग हामीहरूको नाउँमा नभई लिखत भएको पनि छ महाराजगञ्जको जग्गा श्री ५ को सरकारले लिएको दर्ता गर्ने र मुआब्जा लिन समेत वारिस गरी पठाएका थिए के कति रकम प्राप्त भयो । कसैले दिएको छैन हामी सबैको सगोलको सम्पत्ति हुँदा विपक्षीहरूको भाग जति दिन मञ्जूर छु भन्ने समेतको प्रतिउत्तरपत्र रहेछ ।
४. फिराद नै हदम्याद गुज्रेको थामी पाएका निवेदनमा वादी ३ जना मध्ये कृष्णचन्द्रकुमारीको भाग भई अरू २ जनाको निवेदन नभएकोबाट यो फिराद खारेज हुनुपर्छ । कृष्णचन्द्रकुमारीको हकमा पनि व्यहोरा साँचो भए तारेख हदम्याद थामी दिने हु.प्र.छ । तदनुसारको वादी दावीको जग्गा ७ नं.फाँटवारी गोश्वारा तहविलबाट दाखिल भएको र कार्यालयबाट निज बुझ्दा पनि सो जग्गा वादीको हक छैन । प्रतिवादीहरूको भोग निजहरूको नाममा दर्ता होस् भनी वारेसद्वारा ०२४।३।२९ मा कागज गरी दिएअनुसार हाम्रा नाउँमा दर्ता भएकोबाट वादीलाई थाहा खबरै नभएको भन्न मिलेन । महाराजगञ्जको जग्गा श्री ५ को सरकारले लिएको सूचना राजपत्र र गोरखापत्रमा समेत सूचना प्रकाशित भएकोमा ०३२।६।२ मा जग्गा दर्ता नामसारीबारे सूचना प्रकाशित भई थाहा पाएँ भन्ने व्यहोरा झुठ्ठा हो र दावीको जग्गा ०२६।४।९ मा दर्ता भएको हो । उमेर पुगीसकेको छोराहरूलाई नावालख देखाएको समेत इत्यादि कुराबाट बिन्तिपत्रका व्यहोरा झुठ्ठा भन्ने देखिएकै छ । वादी दावीको जग्गा ७ नं.फाँटवारी बुवा समेतको महाराजगञ्ज गोश्वारा तहविलबाट पेश भएको र वादीहरू भिन्न हुनु अघि सगोल छँदैमा सो जग्गामा वादीहरूको हक छैन भनी कागज गरी दिइसकेपछि सोही जग्गाको हक कायममा दावी गर्न र दावी लाग्न सक्ने होइन । मैले ७ नं.फाराम पेश गरेको र महाराजगञ्ज गोश्वारा तहविलबाट पेश भएको फाँटवारी मध्येमा मेरो हकभोग उपत्यका भित्रको जग्गा रोपनी ११६–९–३–३ भएको भनी उल्लेख गरी दिएको समेतको आधारमा मैले दर्ता गराएको हुँदा दर्ता बदर हुने हो होइन र दावीको जग्गा वादीहरूको हक भए ७ नं.फाराम दिँदा उल्लेख गर्नुपर्ने सो नगरेको र लालपूर्जा लिइसकेपछि नाप जाँच ऐन अनुसार उजूर गरी कायम गराउन सक्नुपर्ने जग्गामा नै हक नभएको हुँदा मुआब्जा रकममा दावी लाग्ने पनि होइन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मुरारीशमशेर ज.ब.रा.को प्रतिउत्तरपत्र रहेछ ।
५. विन्तिपत्रको व्यहोरा साँचो होइन हु.प्र.बमोजिमको सुविधा वादीले पाउने नहुँदा खारेज हुनुपर्छ । वादीका जग्गालाई वादी समेतका अंशियारहरूको बीचमा सगोलमा राखिएको जग्गाहरू ०३२।८।१ मा भएको घरायसी बण्डापत्रमा वादी समेतका नाउँमा दर्ता भई मेरो भाग जति मैले भोगचलन गरी आएको हो । उक्त जग्गाको ७ नं.फाँटवारी गोश्वारा तहविल मुरारीशमशेरबाट पेश भएको छ । कारवाही हुँदा कार्यालयबाट बुझ्दा निजको वारेसले २९ भाग मध्ये १२ भागमा साम्राज्य शमशेरको र अरू बाँकी भाग प्रतिवादीहरूको भए ०२४।३।२९ मा बयान गरेकोबाट हकदैया नलाग्ने जग्गामा यो नालेश गरेको छ सो जग्गा निर्णयबाट भएको दर्ता बदर हुन नसक्ने मुआब्जा लिन जग्गा हक प्राप्त गर्न सो बारे सूचना प्रकाशित गरेको अवस्थामा दावा गर्नुपर्नेमा नगरी पछि फिराद गरेको बुँदा खारेज गरिपाउँ भन्ने साम्राज्य शमशेरको प्रतिउत्तरपत्र रहेछ ।
६. पूर्णप्रसादको नाउँको ३० दिने म्याद ०३५।७।१० मा तामेल भएकोमा हाजिर नभएको रहेछ।
७. कृष्णचन्द्रकुमारीले गौरीलाललाई ७ नं.फाँटवारी सम्बन्धमा बयान गर्न ०२४ सालमा गरी दिएको वारेसनामा भन्ने कागजमा लागेको सहिछाप वारेस दिने कृष्णचन्द्र कुमारीकै हो । जालसाजी कीर्ते गरी वारेसनामा बनाएको हुन् भन्ने समेत वादीको वा. कबराजको बयान रहेछ ।
८. जालसाजी कीर्ते गरेको होइन वारेस दिने कृष्णचन्द्रकुमारीको भनाई अनुसार वारेसनामा भएको र बयान दिएको हो भन्ने समेत गौरीलालको बयान रहेछ ।
९. वादीको हक छुट्न निजबाट कानुन बमोजिमको लिखत हुनु पछि सो प्र.बाट पेश हुनआएन मिलापत्र तथा गोश्वारा तहविलका लगत बकसपत्र समेतबाट वादीको हक कायम रहेको चिज निजको हक छुटाएको लिखत बेगर निजको हक सम्पत्ति निजहरूको हक समाप्त हुन नसक्ने निजहरूको हक समेत प्रतिवादीहरूले दर्ता मुआब्जा लिनु यी सब कानुनी भन्नु भएन । वादीको आफ्नो हक जाने र केशरशमशेरका बकसपत्र बमोजिमको सम्पत्ति वादीको हक कायम हुनेमा वादीलाई बाहेक गरी वादीको हक प्रतिवादीले दर्ता गराएको कानुनी मान्यता दिन मिलेन । वादीको हकको जग्गा प्र.हरूले लिएको मुआव्जा प्र.बाट वादीले भरी पाउने र वारेसनामा सद्दे कीर्तेतर्फ वादी प्रतिवादीमा प्रमाण उल्लेख नभएको अर्को प्रमाण मिसिलबाट वारेसनामा खिची सद्दे कीर्ते सुनाएको देखियो । अ.बं.७८ नं.को कानुन प्रतिकूल कायम हुँदा उक्त कार्य कानुनी स्थान नपाउने हुँदा सो कार्य निष्कृय समेत हुने ठहर्छ भन्ने समेत जिल्ला अदालतको फैसला रहेछ ।
१०. वादी कृष्णचन्द्रकुमारीले चढाउनुभएको बिन्तिपत्रमा निवेदकका छोराहरूको नाम छुट्टै उल्लेख नगरे पनि बिन्तिपत्रको व्यहोरामा केयुरशमशेर र लोकभक्तशमशेर भनी दुबै छोराहरूको नामाकरण गरेको देखिएकोले र दर्ताको हकमा पनि भर्खर भूमि सुधार लागू हुँदाको अवस्थाको हुँदा साविक मूल दर्ताको नम्बर हा.नं.२२४।१०१ भनी उल्लेख गरेकै र सो जग्गा मध्ये २९ खण्डको १२ खण्ड भनी खुलेकै हुनाले र उक्त बखतकै नालेश गर्न हदम्याद हु.प्र.बाट थामिएको देखिएको जग्गा सगोल गोश्वारामा रहेको अबण्डा भन्ने कुरा पनि महाराजगञ्ज गोश्वारा तहविलले मौकैमा ०२१ सालको जि.भू.सु.का.काठमाडौंमा पत्र दाखिल गरेकै फाँटवारीबाट देखिएकोले त्यसमा वारेसले गरेको अरू कागजतर्फ हेर्न नपरेकोले समेत जग्गा दर्ता तर्फमा शुरूले गरेको इन्साफ मनासिव र जग्गाको मुआब्जातर्फमा बिन्तिपत्रमा सो कुराको चर्चा नै गरेको नदेखिँदा र हाल फिराद दिँदा मात्र जग्गाको मुआब्जाको दावी लिएकोले सो मुआब्जातर्फ हदम्याद थामिएको नदेखिनाले २०२८ सालमै प्रतिवादीले मुआब्जा बुझी लिइसकेको कुरामा सो तर्फको हदम्याद थामिएको नदेखिनाले मुआब्जातर्फको वादी दावी खारेज हुने ठहर्छ । शुरूको केही सदर केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।
११. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मुरारीशमशेर ज.ब.रा.को निवेदनपत्र रहेछ ।
१२. यसमा २०२४।३।२९ मा भूमिसुधार कार्यालय काठमाडौं नै वादीको वारेस गौरीलाल रघुबंशले विवादास्पद जग्गा प्रतिवादीहरूकै हकभोग हुँदा निजहरूकै नाउँमा दर्ता भएको जग्गा बदर गरी वादीको हक कायम हुने ठहराएको काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ३४ अनुसारको विबन्धनको सिद्धान्तको प्रतिकूल भएको देखिँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अन्तर्गत पुनरावेदनको अनुमति दिइएको छ । नियमानुसार गर्नुभन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३८।११।२४।१ को आदेश रहेछ ।
१३. विवादको जग्गाको ०३६।४।९।५ तथा ०२८।५।३० को दर्ता नाउँसारीको मिसिल तथा महाराजगञ्ज गोश्वारा तहविलबाट पेश भएको ७ नं.फाँटवारीको छानबिनको सिलसिलामा कारवाही भइरहेको निर्णय सहितको मिसिल भू.प्र.कार्यालय काठमाडौं समेत जहाँ छ झिकाई आएपछि नियमबमोजिम गरी पेश गर्नुभन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४०।८।११।१ को आदेश रहेछ ।
१४. नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकको वारेसलाई पुकार गर्दा उपस्थित हुन नआएकोले विपक्षी वादीहरूको तर्फका वा.हिरालाल तण्डुकार र हिरण्य सिंहलाई रोहवरमा राखी पुनरावेदक प्रतिवादीको तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित १४ खण्ड मुरारीशमशेरको हो भनी गौरीलाल रघुबंशले बयान गरेको छ र दफा ३४ को विबन्धनको सिद्धान्त लागू हुन्छ भन्ने र ०२२ सालको लिखतबाट १२ खण्डको १ खण्ड कृष्णचन्द्रकुमारीको देखिन्छ । विबन्धनको सिद्धान्त मुरारीशमशेर ज.ब.रा.लाई किन नलाग्ने हो भनी विपक्षी वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीको बहस समेत सुनियो ।
१५. प्रस्तुत हक कायम दर्ता बदर समेत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ निर्णय दिनुपरेको छ ।
१६. यसमा जिल्ला भूमिसुधार कार्यालय काठमाडौंबाट प्राप्त मिसिलमा ७ नं.फाँटवारीको कार्यवाहीको सिलसिलामा वादी कृष्णचन्द्रकुमारीलाई म्याद दिई बुझ्दा निजको वारेस गौरीलाल रघुवंशले जिल्ला भूमिसुधार कार्यालय काठमाडौंमा मिति ०२४।३।२९ मा बयान गर्दा वास्तविक जग्गावाला कृष्णचन्द्रकुमारी होइन र सो जग्गामा निजको हक समेत छैन भन्ने संलग्न मिसिलमा उल्लेख भएको पाइन्छ । त्यसकारण भोगवालाकै नाममा दर्ता होस् भनी भनेको प्रमाण ऐन, २०३१ को दफा ३४(१) मा कुनै व्यक्तिले लेखेर बचनले वा आचरणद्वारा कुनै व्यक्तिलाई कुनै कुरा यस्तो हो भन्ने विश्वासमा पारी वा त्यस्तो विश्वासमा पर्न दिई सो व्यक्तिबाट कुनै काम गराएमा वा हुन दिएमा निज र सो व्यक्तिका बीचमा चलेको कुनै मुद्दामा सो कुरा त्यस्तो होइन वा थिएन भनी निजले खण्डन गर्न पाउने छैन भन्ने विवन्धनको सिद्धान्त उल्लेख भएको पाइन्छ। यसरी एकपटक अधिकार प्राप्त अधिकारीका समक्ष वादी कृष्णचन्द्रकुमारीको वारेसले विवादको जग्गामा निजको स्वामित्व तथा भोग नभएको कुरा उल्लेख गरी बयान गरी सकेपछि निज वादीको दावी पुनरावेदक प्रतिवादी मुरारीशमशेरको विरूद्ध पुग्न नसक्ने हुँदा पु.प्र.मुरारीशमशेरको हकसम्म मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ गल्ती ठहर्छ । तपसीलको कलममा तपसीलबमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदक प्रतिवादी मुरारीशमशेरको हकसम्म मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गरेको इन्साफ गल्ती ठहरेकोले पुनरावेदक प्रतिवादीको वारेसबाट यस अदालतमा पुनरावेदन गर्दा दाखिल गरेको कोर्टफी रु.६५।५८ पैसा पैसठ्ठी रूपैया अन्ठाउन्न पैसा देहायका विपक्षी वादीहरूबाट पुनरावेदक प्रतिवादी मुरारी शमशेर ज.ब.रा.लाई भराई दिनु भनी शुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु....................................................................................................................................१
विपक्षी वादी कृष्णचन्द्रकुमारी देवी ज.ब.रा.के रु.२१।८६ पैसा १ विपक्षी वादी लोकभक्तशमशेर ज.ब.रा.के रु.२१।८६ पैसा १ विपक्षी वादी केयुरशमशेर ज.ब.रा.के रु.२१।८६ पैसा १
ऐ ऐ.बमोजिम पुनरावेदक प्रतिवादी मुरारीशमशेर ज.ब.रा.बाट मुआब्जा सम्बन्धी म.क्षे.अ.ले भराउने गरेको रु.२५,२३४।६२ पैसाको रकमको लगत क¬ट्टा गर्न शुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु............................................................२
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल माघ १५ गते रोज १ शुभम् ।