निर्णय नं. १८४८ - उत्प्रेषण

निर्णय नं. १८४८ ने.का.प. २०४० अङ्क १२
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान
सम्वत् २०३९ सालको रिट नं. १०२४
आदेश भएको मिति : २०४०।९।२५।२ मा
निवेदक : चादमल लुमकरण फर्म विराटनगरको तर्फबाट ऐ.को साझेदार मोरङ विराटनगर नं.पं.८ बस्ने किशनलाल दुगड
विरूद्ध
विपक्षी : श्री राजश्व न्यायाधीकरण धरानसमेत
विषय : उत्प्रेषण
(१) रिट निवेदकले पेश गरेको आय विवरण, कार्यालयले प्राप्त गरेको रेकर्ड तथ्याड्ढ र कर निरीक्षकको प्रतिवेदन समेतको आधारमा कर निर्धारण गरेकोलाई हचुवा किसिमबाट कर निर्धारण गरेको भन्न मिल्ने देखिँदैन ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
आदेश
न्या.धनेन्द्रबहादुर सिंह
१. मिति ०३९।६।४ को राजश्व न्यायाधीकरण धरानको फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको रिट निवेदनको संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकारको रहेछ ।
२. कर कार्यालय विराटनगरले यस फर्मको आ.बं.२०३३।३४ को हचुवा तरीकाले खूद आय रु.५,५३,८५७।६४ कायम गरी कर रु.२,३१,७३५।९५ लगाई मिति ०३५।११।२५ मा आयकर निर्धारण आदेश पठाउनु भएकोमा चित्त नबुझी कानुन र तथ्यको त्रुटि देखाई राजश्व न्यायाधीकरण धरानमा पुनरावेदन गरेकोमा न्यायाधीकरणले हाम्रो जिकिरहरूलाई खण्डन नै नगरी अ.बं.१८४ (क) र १८५ नं.समेतको कार्यविधि सम्बन्धी कानुनको त्रुटि गरी मिति ०३९।६।४ मा फैसला गर्नुभयो ।
३. उक्त निर्णय आयकर ऐन, २०३१ को दफा ३३(५) को विपरीत हुनुको साथै आयकर नियम, २०२० को नियम ११(२) हचुवा कर निर्धारण आदेश बदर गर्नुपर्नेमा नगरिएको गैरकानुनी छ र आ.ब.२०३०।३१ मा हिसाब किताबको आधारमा रु.२,३९,३७६।०७ नोक्सानी विवरण पेश भएकोमा कानुन विपरीत कर कार्यालयले हिसाब नमानी हचुवा तबरले कर निर्धारण गर्नुभएको आदेशलाई राजश्व न्यायाधीकरणले बदर गरेपछि सो आ.ब.को हिसाब किताबबाट नोक्सानी कायम गरी आयकर निर्धारण आदेश हुन बाँकी भएको हुँदाहुँदै सो पछिका वर्षहरू ०३१।३२, ०३२।३३ र ०३३।३४ आ.ब.को आयकर निर्धारण आदेश अन्तिम गरी कायम रहन गएका उल्लिखित ०३०।३१ सालको नोक्सानी कानुन बमोजिम पछिको आयमा कट्टा हुने छ भनी आयकर ऐन, ०३१ को दफा २५ को व्यवस्था निष्कृय हुने गरी सो कानुनको विपरीत भएकोले प्रस्तुत आ.ब.०३३।३४ को आयकर निर्धारण आदेश कायम हुन नसक्ने हुँदा बदरभागी छ भन्ने समेतको रिट निवेदन जिकिर रहेछ ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने मिति ०३९।७।२१ को सिंगबेञ्चको आदेश रहेछ ।
५. विदेशी सामानको स्थानीय व्यापारमा रु.५०,०००। कायम गरेकोमा आधार प्रष्ट नभएकोले गत वर्ष सरह रु.१०,०००। मात्र बिक्री कायम गरी अरू कर कार्यालय विराटनगरको आदेश मनासिव ठहर्छ भनी न्यायाधीकरणबाट भएको फैसलामा कुनै त्रुटि छैन भन्ने समेतको राजश्व न्यायाधीकरणको लिखितजवाफ रहेछ ।
६. भेटिए सम्मको तथ्य पूर्ण प्रमाणहरूलाई अवलम्बन गरी आयकर निर्धारण भएको र उक्त निर्याय उपर राजश्व न्यायाधीकरणमा पुनरावेदन पर्दा न्यायाधीकरणबाट यस कार्यालयको निर्णयलाई आंशिक बदर गरी अरू सदर गरेकोमा कुनै त्रुटि छैन भन्ने समेतको कर कार्यालय विराटनगरको लिखितजवाफ रहेछ ।
७. निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हाले आयकर ऐन, २०३१ को दफा २(ढ) ले कूल आम्दानीमा खर्च कटाई बाँकी रहेको रकमलाई खूद आयमानी कर निर्धारण गर्नुपर्नेमा सो बमोजिम नगरी हचुवा तवरले खूद आय कायम गरी कर निर्धारण गरेको त्रुटिपूर्ण छ भन्ने र विपक्षी कार्यालयतर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले रिट निवेदकले कर कार्यालय विराटनगर समक्ष आफ्नो आय विवरण पेश गर्दा हामीसँग उक्त आर्थिक वर्षको रीतपूर्वकको हिसाब किताब नभएकोले न्यायोचित अनुमानबाट कर निर्धारण गरिपाउँ भनी विवरण पेश गरी कर निर्धारण गरिएकोमा हचुवा किसिमले कर निर्धारण भयो मिन्हा दिन पर्ने खर्च मिन्हा दिएन भनी जिकिर लिएको निरर्थक छ रिट खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
८. यसमा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा रिट निवेदकले कर कार्यालय विराटनगर समक्ष आय व्ययको विवरण पेश गर्दा आर्थिक वर्षको रीत पूर्वकको हिसाब किताब नभएकोले न्यायोचित अनुमानबाट कर निर्धारण गरिपाउँ भनी उल्लेख गरेको पाइन्छ । करदातासँग कार्यालयले बयान लिँदा रीतपूर्वकको हिसाब किताब नभएकोले प्रमाण पेश गर्नसकिन भनी आफ्नो बयानमा उल्लेख गरेको छ । सो कर निर्धारण गर्नलाई विवरण पेश भएको आ.ब.हरूको आयकर ऐन, ०३१ को दफा ३३(२) अनुसार न्यायोचित अनुमानबाट गर्नु पर्ने भएकोले सो बमोजिम गर्नु नपर्ने तपाइसँग कुनै ठोस सबूत प्रमाण भए यो पत्र प्राप्त गर्नुभएको ३ तीन दिनभित्र पेश गर्नु हुन ऐनको दफा ३३(५) अनुसारको मौका दिएको छ, भन्ने पत्र ०३५।१०।२५ मा बुझी लिई केही प्रतिवाद नगरेकोले कार्यालयमा प्राप्त रेकर्ड र तथ्याड्ढको आधारमा खूद आय कायम गरी प्रत्यर्थी कर कार्यालय विराटनगरले कर निर्धारण गरेको पाइन्छ । त्यसरी कर निर्धारण गरे उपर रिट निवेदकको चित्त नबुझी आयकर ऐनको दफा ५७ बमोजिम राजश्व न्यायाधीकरणमा पुनरावेदन गरेकोमा कर निर्धारण गरेको कर कार्यालयको आदेशमा नमिलेको कुरा सम्मलाई बदर गरी अरू कर कार्यालयले गरेको आदेश मनासिव छ भनी राजश्व न्यायाधीकरणबाट पुनरावेदन निर्णय गरेको पाइन्छ ।
१०. यसरी रिट निवेदकलाई आयकर ऐनको दफा ३३(५) अनुसारको मौका प्रदान गर्दा पनि केही प्रतिवाद नगरी रिट निवेदकले पेश गरेको आय विवरण कार्यालयले प्राप्त गरेको रेकर्ड तथ्याड्ढ र कर निरीक्षकको प्रतिवेदनसमेतको आधारमा कर निर्धारण गरेकोलाई हचुवा किसिमबाट कर निर्धारण गरेको भन्न मिल्ने देखिँदैन । अतः रिट क्षेत्रबाट तथ्य भित्र प्रवेश परी उक्त निर्णय मिलेको छ छैन भनी हेरी निर्णय गर्न नमिल्ने भएबाट निवेदकको माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४० साल पौष २५ गते रोज २ शुभम् ।