शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८५० - लिखत बदर

भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२

निर्णय नं. १८५०     ने.का.प. २०४० अङ्क १२

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०३९ सालको दे.पु.नं. ३८४

फैसला भएको मिति : २०४०।१०।८।१ मा

पुनरावेदक/प्रतिवादी : जि.पर्सा वीरगञ्ज न.पं.वडा नं.१९ बस्ने ब्रहमनारायण शाह कानु

विरूद्ध

विपक्षी/वादी : जि.पर्सा वीरगञ्ज न.पं.वडा नं.१० गहवा बस्ने मदन कुमार रौनियारसमेत

मुद्दा : लिखत बदर

(१)                बकसपत्र सम्पत्ति निजको निजी आर्जनको अचल सम्पत्ति हुने हुँदा अंशबण्डाको १८ नं.बमोजिम आफूखुश गर्न पाउने ।

(प्रकरण नं. १२)

पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त निम्न प्रकार रहेछ ।

२.    हामी यसोदादेवी र मदनकुमार विपक्षी लक्ष्मणप्रसादको पत्नी र छोरा हौं हामीहरूको बीच बण्डा भएको छैन विपक्षी पतिका नाउँमा दर्ता भएको हाम्रो समेत हक लाग्ने नगवा पञ्चायत वडा नं.५ कि.नं.२३५ को जग्गा ०० कि.नं.२०५ चिवतन पदमपुर पं.वडा नं.७(क) कि.नं.१२९ को जग्गा १० समेत जम्मा २५ जग्गा भोगी आएको हाम्रो मञ्जूरी बेगर रु.२२,०००। मा लिनुदिनु गर्नुभएछ, ब्रहमनारायणले भोग गर्न आएपछि बुझ्दा हाम्रो समेत हक लाग्ने जग्गा किनबेच भएको राजीनामाको नक्कल लिँदा थाहा भयो । हाम्रो समेत हक लाग्ने जग्गा हाम्रो मञ्जूरी बेगर बेच्ने लक्ष्मणप्रसाद र सो कुरा जानाजान ब्रहमनारायण किन्ने भई लिनुदिनु गरेको हुँदा हाम्रो २ भागमा पर्ने जतिमा लिखत बदर गरिपाउँ भन्ने समेतको फिराद ।

३.    पारीत गराई दिएको जग्गा पैत्रिक सम्पत्ति नभई लक्ष्मणप्रसादको आर्जनको सम्पत्ति भई लेनदेनको १० नं.र अंशबण्डाको १९ नं.ले समेत लक्ष्मणले आफू खुश गर्न पाउने र घरको मुख्य भई काम गर्ने निजको भएको हुनाले रु.२२,०००। दिई राजीनामा पारित गराई लिएका हुँ विपक्षीहरूको मञ्जूरी लिनुपर्ने र दावी अनुसार लिखत बदर हुनुपर्ने होइन । त्यसको सबूत नगवा पञ्चायत वडा नं.५ कि.नं.२३५ को ०० कि.नं.२०५ को १५ जग्गा लक्ष्मणले गंगारामबाट बकसपत्र गराई लिएको आफूले आर्जेको जग्गा हो चितवन पदमपुर पञ्चायत वडा नं.७(क) कि.नं.१६ को जग्गा ४१०० मध्ये १० बाहेक गरी ११२१८ कमानसिंहबाट लक्ष्मणले राजीनामा गराई लिएको र उक्त जग्गा कित्ताकाट हुँदा कि.नं.१२९ कायम हुनआएको मध्ये १० मलाई राजीनामा गरी दिएको हुँदा आफूले आर्जेको जग्गा मलाई राजीनामा गरी दिएको भन्ने समेत ब्रहमनारायणको प्रतिउत्तर ।

४.    चितवनको जग्गाको लिखित बदरतर्फ वादीहरूको लोग्ने बाबु लक्ष्मणप्रसादको नाउँबाट जग्गा अन्यत्र नामसारी भइसकेपछि जग्गा लिने दिने उपर कानुन अनुरूपको उजूर बेगर कार्यान्वयन हुन नसकेको लिखितलाई लिखत सदर बदर भन्नुपर्ने अवस्था पर्न नआएकोले वादी दावी पुग्न नसक्ने ठहर्छ । बारा जिल्लाको जग्गा १५ को लिखत बदर गराई पाउँ भन्ने सम्बन्धमा लिखतमा वादीहरूको नाउँ र मञ्जूरी भएको समेत नदेखिएकोले अंश लाग्ने सगोलको सम्पत्ति भएपछि लेनदेन व्यवहारको १० नं.ले एकाघरको अंशियार साक्षी बसेको वा निजहरूको मञ्जूरी लिखत भएमात्र पक्का ठहर्छ भन्ने उल्लेख भएको हुँदा सो अनुसार साक्षी बसेको र मञ्जूरी लिएको समेत नहुँदा दावी बमोजिम लिखत बदर हुने ठहर्छ भन्ने पर्सा जि.अ.को फैसला।

५.    चितवनको जग्गाको राजीनामा गरेको कार्यान्वित भएको नदेखिएकोले सो बाहेक बारा जिल्लाका जग्गा बिक्री गरेकोमा सो जग्गा लक्ष्मणप्रसादको स्वआर्जनको भन्ने नदेखिएकोले वादी दावी अनुसार लिखत बदर हुने ठहर्‍याएको शुरूको इन्साफ सदर हुने ठहर्छ भन्ने समेत ना.अं.अ.को फैसला ।

६.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत ब्रहमनारायण साह कानुको म.क्षे.अ.मा परेको पुनरावेदन ।

७.    ने.का.प. ०३२ नि.नं.९०० निवेदक रामहरी भन्ने तारानाथ ढुड्डेल उपाध्याय विरूद्ध बद्रीनाथ पाध्याय समेत भएको अंश मुद्दामा फु.बे.बाट प्रतिपादित भएको सिद्धान्तमा अंशियारहरूमा कुनै एक अंशियारले बकसपत्र पाएको सम्पत्ति सगोलकै आर्जन मानिने भन्ने उल्लेख भएको देखिँदा प्रस्तुत मुद्दामा पनि बकसपत्रबाट पाएको सगोलकै मान्नुपर्ने र वादीहरूको हक लाग्ने हुँदा दावी अनुसारको लिखत बदर हुने ठहर्‍याएको शुरूको इन्साफ गर्ने गरेको ना.अं.अ.को निर्णय ठहर्छ भन्ने समेत म.क्षे.अ.को निर्णय ।

८.    उक्त म.क्षे.अ.को निर्णयमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा अंशबण्डाको १९ (१) नं.को कानुनी व्यवस्था हेर्दा पिता पुर्खाको पालाको अचल सम्पत्तिमा घर व्यवहार चलाउनु पर्दा, आधा भन्दा बढी खर्च गर्न परे २१ वर्ष नाघेका स्वास्नी छोरा र विधवा बुहारीको मञ्जूरी लिएर मात्र खर्च गर्न हुन्छ भन्ने कानुनी व्यवस्था देखिन्छ । प्रस्तुत मुद्दाको फिरादपत्र दायर गर्दा वादी मदन कुमार रौनियारको उमेर २ वर्षको देखिन्छ । यस्तो अवस्थामा वादी दावी बमोजिम ३ खण्डमा २ भागको राजीनामा लिखत बदर गरी पाउने ठहर्‍याई म.क्षे.अ.को ०३८।३।३।४ को निर्णयमा अंशबण्डाको ९(१) नं.को त्रुटि देखिएको त्यस्तो त्रुटि सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि हुने हुँदा न्याय प्र.सु.ऐन, ०३१ को दफा १३(५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत स.अ.डिभिजनबेञ्चको ०३९।४।११ को आदेश रहेछ ।

९.    वादीतर्फको वा.सुखमियाँ ठकुराईले ०४०।३।१२ को तारेख गुजारी बसेको रहेछ ।

१०.    पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्माले गंगारामबाट लक्ष्मणले बकसपत्र पाएको जग्गा निजले आफू खुस गर्न पाउँछ । पैतृक सम्पत्ति नभई बकसपत्रबाट पाएको सम्पत्ति आफ्नो निजी आर्जनको सम्पत्ति हुने र निजी आर्जनको सम्पत्ति बिक्री गर्न कसैको मञ्जूरी लिनुपर्ने होइन भन्ने समेत बहस सुनी म.क्षे.अ.को निर्णय मिले नमिलेको के हो मूलरूपमा निर्णय गर्नुपर्ने प्रश्न उपस्थित हुनआएको छ ।

११.    यसमा हाम्रो समेत हक लाग्ने जग्गा हाम्रो मञ्जूरी बेगर बेच्ने लक्ष्मणप्रसाद र किन्ने ब्रहमनारायण साह कानु भई लिनुदिनु गरेको हुँदा हाम्रो २ भागमा पर्ने जतिमा लिखत बदर गरिपाउँ भन्ने समेत दावी लिएको पाइन्छ । बकसपत्रबाट पाएको सम्पत्ति सगोलकै मान्नुपर्ने र वादीहरूको समेत हक लाग्ने हुँदा दावी अनुसार लिखत बदर हुने ठहर्‍याएको ना.अं.अ.को इन्साफ सदर गरी म.क्षे.अ.ले निर्णय गरेको देखिन्छ ।

१२.   सो निर्णय मिले नमिलेको के हो त्यस तर्फ विचार गर्दा लक्ष्मणले गंगारामबाट बकसपत्र पाएको जग्गा नै ब्रहमनारायण साह कानूलाई बिक्री गरेको देखिन्छ । अंशबण्डाको १९ नं.मा पितापूर्खाको पालाको चलअचल गैह्र सम्पत्तिको हकमा चलमा सबै र अचलमा आधासम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधवा बुहारीको मञ्जूरी नभए पनि आफूखुस गर्न पाउँछ । अचलमा आधी भन्दा बढी भने व्यवहार चलाउन परे पनि एक्काइस वर्ष नाघेका स्वास्नी, छोरा र विधवा बुहारीहरूको मञ्जूरी लिई मात्र खर्च गर्न हुन्छ मञ्जूरी नलिई गरेको सदर हुँदैन भन्ने उल्लेख गरेको पाइन्छ । तर प्रस्तुत विवादको जग्गा गंगारामबाट लक्ष्मणले ०३१।८।२१ मा बकसपत्र पाई उक्त सम्पत्ति निजको निजी आर्जनको अचल सम्पत्ति हुने हुँदा अंशबण्डाको १८ नं.बमोजिम आफू खुस गर्न पाउने देखिन्छ । यस्तो स्थितिमा दावी अनुसार लिखत बदर हुने ठहर्‍याएको ना.अं.अ.को इन्साफ सदर गर्ने गरेको म.क्षे.अ.को निर्णय मिलेको देखिएन । पुनरावेदन जिकिर बमोजिम इन्साफ उल्टी हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु।

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम म.क्षे.अ.को इन्साफ उल्टी हुने ठहर भएकोले पुनरावेदक प्र.ब्रहमनारायण साह कानुले पहिलो पुनरावेदन गरे बापत ना.अं.अ.मा राखेको कोर्टफी रु.१।५० पुनरावेदन गरे बापत म.क्षे.अ.मा राखेको कोर्टफी रु.१।५० र स.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१।५० समेत जम्मा रु.४।५० वादीहरूबाट भराई पाउँ भनी ऐनको म्यादभित्र प्रतिवादीको निवेदन परे दस्तूर केही नलिई भराई दिनु भनी बारा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु......................................................................................................१

मिसिल नियमानुसार बुझाई दिनु..................................................................................................................................२

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४० साल माघ ८ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु