निर्णय नं. १८५९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

(मूल किताबमा नि.नं. १८६६ लेखिएको भए तापनि बिषय सूचिमा १८५९ नै भएअनुसार गरिएको–संयोजक)
निर्णय नं. १८५९ ने.का.प. २०४० अङ्क १२
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०३९ सालको रिट नं. १२८६
आदेश भएको मिति : ०४०।१२।२४।६ मा
निवेदक : महोत्तरी जिल्ला भमरपुरा गा.पं.वार्ड नं.३ बस्ने कूलदिप राउत भूमिहार
विरूद्ध
विपक्षी : भूमिसुधार कार्यालय महोत्तरीसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) अंश मुद्दा चल्दाचल्दैको अवस्थामा बाली भराई मोही निष्काशन गरिपाउँ भन्ने मुद्दामा भूमिसुधार कार्यालय महोत्तरीबाट भएको निर्णय कानुनी त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. ११)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा विद्वान अधिवक्ता श्री कमलनारायण दास
आदेश
न्या.त्रिलोकप्रताप राणा
१. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : म फिरादीको नाममा दर्ता रहेको जि.म.भमरपुरा गा.पं.वडा नं.१(क) कि.नं.२१ कि.नं.१७१ ऐ.ऐ वडा नं.३(क) कि.नं.१८०, २०३, २४९, ३४२, ३७५ र वार्ड नं.३(ख) को कि.नं.१८२ वार्ड नं.५(क) को कि.नं.९३ वार्ड नं.५(ख) को कि.नं.१५७, १८४ को समेत गरी जम्मा जग्गा बिगहा ५–४–३ को फिरादी अधिकार प्राप्त मोही भई जग्गा जोती कमाई आएकोमा यो ०२८ सालको हुने कूत धान मन जम्मा ५५–४–० म जग्गाधनीलाई बुझाउनुपर्ने सो म्यादभित्र नबुझाइकन कुनै सम्बन्धित कार्यालयमा धरौट समेत नराखेकोले उक्त धानको निर्धारित दर रु.८०।६२ प्रति मनका दरले हुने .४,४०८।५० मात्र विपक्षीबाट दिलाई मोही निष्काशन समेत गरिपाउँ भन्ने वादीको मुख्य फिराद दावी रहेछ र वादीले दावी गरेको जग्गाको म प्रतिवादी जग्गाधनी नै थियो र अंश मुद्दा शुरू हुनुभन्दा अगावै सोरैआना बाली पनि खाइरहेको थिएँ । वादीसँग अंश छुट्याई पाउँ भन्ने वादीको नाममा मुद्दा दायर गर्दा तह तह अब सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । जो कारवाहीयुक्त अवस्थामा छ र मैले वादीको नाउँमा चलाएको अंश मुद्दाको मिति देखि उपरोक्त जग्गा जोते भोगेको छैन । वादी आफैंं जोत आवाद गरी बाली खाई रहेको छ । असत्य व्यहोराको झुठ्ठा नालेश गरी हैरानी मात्र पार्न निमित्त षडयन्त्र गरी राखेको छ । अतः वादीको दावीबाट फुर्सद गरिपाउँ भन्ने प्रतिवादी । वादीले मोही हो भनी दावी गरे तापनि प्रतिवादीले मोही नभई अंशियार भई जोती भोगी आएको भनी दावी लिएको र प्रतिवादीले मोही होइन भनी इन्कार गरेपछि मोही हो भनी बाली भराउनु न्यायसंगत नहुने हुँदा र यो मुद्दाको जग्गा अंश सम्बन्धी भएको हुँदा वादी दावी अनुसार अंश सम्बन्धी जग्गामा बाली भराई रहनुपर्ने ठहर्दैन भन्ने समेत विपक्षी भूमिसुधार कार्यालय महोत्तरीले मिति २०३९।७।१६।२ मा निर्णय गरेको रहेछ ।
२. म निवेदक जग्गाधनी र विपक्षी मोही रहेको कुरा यसै निवेदनपत्र साथ संलग्न रहेकै विपक्षीले ०२८ सालमा प्राप्त गरेको मोहियानी हकको स्थायी प्रमाणपत्रको फोटोकपीले स्पष्ट गर्दछ। कानुन बमोजिम मोहियानी हक प्राप्त गरेको विपक्षीले कूत बुझाउन पर्नेमा कूत नबुझाई एकलौटी खान थालेकोले २०३० सालदेखि सालसालै म निवेदकले कूत दिलाई पाउँ भनी दिएको उजूरी (जम्मा २०३० देखि ०३७ साल सम्मको) हालसम्म पनि प्रत्यर्थी भूमिसुधार कार्यालयमा अन्य मुद्दाको कारण मुलतवीमा रही आएको छ । अघिल्ला सालहरूको यिनै जग्गाका सम्बन्धमा परेको उजूरी भने मुलतवी रहने र २०३८ सालको कूत बाली सम्बन्धमा मात्र निर्णय हुनबाट विपक्षी भूमिसुधार अधिकारीबाट प्रवृत भई कलुषित ह्दयबाट निर्णय गर्नुभएको स्पष्टै छ ।
३. कानुन र श्रेस्ता बमोजिमको मोही विपक्षी देखिएपछि विपक्षी मोहीले कानुन बमोजिम कूत दाखिला गर्नुपर्ने हो । अंश मुद्दा परेपछि मैले जग्गा कमाएको छैन भन्ने विपक्षीको दावी झुठ्ठा हो जग्गा हालसम्म पनि विपक्षीले नै जोती आउनुभएको छ । विपक्षीलाई मोहीको हैसियतमा जग्गा कमाउन इच्छुक नभए मोहीको स्थायी प्रमाणपत्र लिनै हुन्नथ्यो । यता मोहीको स्थायी प्रमाणपत्र प्राप्त गरेपछि आफू मोही नरहेको व्यहोरा दर्शाई मोही लगत कट्टा गराउनु पर्दथ्यो । यी कुनै काम नगर्ने, गर्न नरूचाउने विपक्षीको मोही लगत कट्टा गराउनु पथ्र्यो । यी कुनै काम नगर्ने, गर्न नरूचाउने विपक्षीको मोही लगत कट्टा नभएसम्म एवं निजले जग्गा जोती खाएसम्म निजले निर्दिष्ट कूत तिर्दिन भन्न पाउने हन । मोही लगतमा नाम कायम हुँदाहुँदै जग्गा जोती जाँदा जाँदै एवं कूत पनि नबुझाएको अवस्थामा कूत पनि नभराउने मोही पनि निष्काशन नगर्ने गरी भएको निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ को प्रतिकूल छ ।
४. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नुभन्ने सिंगलबेञ्चको मिति २०३९।११।३।५ को आदेशानुसार प्राप्त हुनआएको लिखितजवाफ निम्न प्रकार छन् :
५. रिट निवेदकले जिकिर लिनु भएबमोजिम उल्लिखित जग्गाहरूको सन्दर्भमा जग्गा खिचोला मुद्दा चलेको छैन । जग्गा खिचोला मुद्दाबाट पनि निजकै ठहर भइसकेको भनी झुठ्ठा व्यहोरा दर्शाई प्रस्तुत रिट निवेदन दायर गर्नुभएको हुनाले झुठ्ठा व्यहोरा विचार नहुनुपर्ने हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रदिप राउत भूमिहार समेत ।
६. अधिकार प्राप्त अधिकारी भू.सु.अ.ले भू.सं.ऐन नियमहरू, २०२१ को परिधिभित्र रही गर्नुभएको निर्णय न्यायसंगत छ । यस निर्णयबाट निवेदकको कुनै न्यायिक तथा संवैधानिक हक हनन् नभएकोले प्रस्तुत निवेदनपत्र खारेज गरी पाउन विनम्र अनुरोध गर्दछु भन्ने समेत भूमिसुधार कार्यालय महोत्तरी ।
७. निवेदकतर्फका विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीको र विपक्षी भूमिसुधार कार्यालय महोत्तरीतर्फका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा विपक्षी प्रदिप राउत समेत तर्फका विद्वान अधिवक्ता श्री कमलनारायण दासको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा निवेदकका माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनुपरेको छ ।
८. यसमा वादीले मोही हो भनी दावी गरे तापनि प्रतिवादीले मोही नभई अंशियार भई जोती भोगी आएको भनी दावी लिएको र प्रतिवादीले मोही होइन भनी इन्कार गरेपछि मोही हो भन्न बाली भराउन न्यायसंगत नहुने हुँदा र यो मुद्दाको जग्गा अंश सम्बन्धी भएको हुँदा वादी दावी अनुसार अंश सम्बन्धी जग्गामा बाली भराई रहन पर्ने ठहर्दैन भनी विपक्षी भूमिसुधार कार्यालयले निर्णय गरेको पाइन्छ ।
९. यिनै कूलदिप राउत भूमिहारले यिनै प्रदिप राउत भूमिहार उपर कूत भराई पाउँ भनी सोही भूमिसुधार कार्यालय महोत्तरीमा २०३० सालदेखि २०३७ साल सम्म मुद्दा दिएकोमा उक्त मुद्दा अंश मुद्दाको कारणबाट मुलतवी रहेकोमा २०३८ सालको कूत भराई मोहीबाट निष्काशन गरिपाउँ भन्ने मुद्दा एकमा मात्र बाली भराई रहनुपर्ने ठहर्दैन भनी निर्णय भएको पाइन्छ । कूत भराई पाउँ भन्ने बाँकी उक्त मुद्दाहरू मुलतवी छैन भन्ने समेत भूमिसुधार कार्यालयको लिखितजवाफबाट देखिन्न ।
१०. यिनै पक्ष विपक्ष भएको अंश मुद्दा, अदालतमा चल्दै रहेको भए प्रस्तुत मुद्दा पनि अरू मुद्दा सरह मुलतवी राखी दिनुपर्नेमा भूमिसुधार कार्यालय महोत्तरीले ठहर निर्णय गरेको पाइन्छ ।
११. यिनै पक्ष विपक्ष भएको अंश मुद्दामा अंशमा विपक्षी (वादी) प्रदिप राउतको दावी झुठ्ठा ठहराएको महोत्तरी जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहरी सर्वोच्च अदालतबाट मिति २०४०।३।२४ मा फैसला भएको निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ताले बेञ्च समक्ष देखाइएको फैसलाको प्रतिलिपिबाट देखिँदा अंश मुद्दा चल्दाचल्दैको अवस्थामा प्रस्तुत २०३८ सालको बाली भराई मोही निष्काशन गरिपाउँ भन्ने मुद्दामा भूमिसुधार कार्यालय महोत्तरीबाट भएको निर्णय कानुनी त्रुटिपूर्ण देखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । अब पुनः कानुन बमोजिम निर्णय गर्नु भनी विपक्षी भूमिसुधार कार्यालय महोत्तरीका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयकहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियमबमोजिम गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४० साल चैत्र २४ गते रोज ६ शुभम् ।