शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२८६ - भ्रष्टाचार

भाग: ३८ साल: २०५३ महिना: फागुन अंक: ११

निर्णय नं. ६२८६     ने.का.प.२०५३ अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा

सम्व्त २०५२ सालको फौ.पु.नं...........१४२१

फैसला मितिः २०५३।४।२८।२

 

मुद्दाः भ्रष्टाचार

पुनरावेदक         

वादीः जि.प्र.का. सुर्खेतका प्र.जि.अ. नानी काजी विष्टको प्रतिवेदनले श्री ५ को सरकार ।

विरुद्ध

विपक्षी         

प्रतिवादीः लक्ष्मण कुमार हमाल समेत जम्मा ६ ।

 

§  कारणवाट मात्र भ्रष्टाचार गरेको भन्ने अभियोग दावी मनासिव छ भन्न नमिल्ने ।     रासन वोर्डले केरमेट भएको वोलपत्रमा कैफियत खुलार्ई मुचुल्का गर्न छुट्याएको र सच्चिएको अंक वमोजिमको अर्नेष्ट भनी वापतको रकम वैंक दाखिला नभएकै

 (प्र. नं. २५)

§  भ्रष्टाचार हुनलार्ई वदनियतसाथ कार्य गरेको हुनु पर्दछ र सो कार्यवाट कसैलार्ई फाइदा वा नोक्सान भएको देखिनु पर्ने ।     

       (प्र.नं. २५)

§  प्रस्तुत मुद्दामा वदनियत साथ सच्याउने कार्य गरेको भन्ने कुरा तथ्यगत रुपवाट शंकारहित तवरले पुष्टी हुन सकेको देखिदैन । सच्चाउने कार्यवाट के कसले के कति अनुचित लाभ प्राप्त गरेको हो सो कुरा कहि कतैवाट खुल्न आउदैन । भ्रष्टाचार जस्तो फौज्दारी अपराधमा केवल शंका र अनुमानको भरमा कसुरदार ठहराउन नमिल्ने ।              

(प्र.नं. २५)

§  सच्याएको कुरा वोलपत्र दिनेले नै स्वीकार गरेको र अन्य प्रतिवादीहरुको मिलेमतो वा दवाववाट गरेको भन्ने प्रमाणित देखिन नआएको अवस्थामा केवल सच्याएको अंकको अर्नेष्ट भनी वापतको रकम वैंक दाखिला नभएकै कारणवाट प्रतिवादीहरु कसुरदार हो भन्न नसकिने ।                    

  (प्र.नं. २५)

फैसला

      न्या.केशवप्रसाद उपाध्यायःप्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । महालेखा परीक्षकको विभाग (गृह तथा रक्षा निर्देशनालय) ले श्री सचिवज्यू गृह मन्त्रालयलार्ई लेखेको कारवाईको जानकारी दिने विषयको प.सं.२।४।७।०४०।४९।२३७।७११ मिति २०४९।१०।२८ को पत्रमा जिल्ला प्रहरी कार्यालय डोल्पाको आ.व. २०४८।०४९ को लेखा परीक्षणको सिलसिलामा २०४८ माघ १ गते देखि ०४९ साल  पौष मसान्त तकको राशन ठेक्कापटृा गर्दा प्रहरी अधिकृत र जवान गरी ५८ जनाको लागि एक र ८३ जवानको लागि १ गरी २ वेग्ला वेग्लै वोलपत्र आव्हान भएकोमा पर्न आएको छ वोलपत्र मध्ये घटी दरवाला विजय कुमार हिराचनको ५८ जवानको लागि रु.१६,८१,७७४। र ८३ जवानको लागि रु.२०,१८,९४२।७५ को वोलपत्र विना आधार प्रमाण केरमेट गरी आइटम नं. १ चामलको दर प्रति किलो रु.२६। लार्ई रु.४५। तथा रु. २१। लार्ई रु.३५। वनाई क्रमशः ५८ जवानको लागि प्रेषित वोलपत्रको जम्मा रु. २०,६२,८३४। र ८३ जवानको लागि प्रेषित वोलपत्रको जम्मा रु. २५,५०,६२०। वनाई वोलकवोल अंक वढाइएको तर अक्षरमा भने केरिएकै अंक क्रमशः रु.१६,८१,७७४। मात्र र २०,१८,९४२।७५ यथावतै देखिने र अरनेष्ट भनी वापत केरिएकै अंकको नियमानुसार हुने रकम वैंक दाखिल गरेको एवं उपरोक्त अनुसार केरमेट गरी साविक ठे. वकिल वहादुर के.सी. ले कवोल गरेको अंक ५८ जवानको लागि रु.१९,८५,७८२।५० र ८३ जवानको लागि रु.२४,८८,७५२।५० लार्ई सवैभन्दा कम दरवाला ठहराई निजसंग ठेक्का वन्दोवस्त गर्ने गरी श्री ५ को सरकारलार्ई रु.७,७३,८१८।२५ हानी नोक्सानी पारेको देखिएकोले नियमानुसार कारवाही गरी गराई सो को जानकारी यस विभागलार्ई दिने व्यवस्था गरि दिने भनी वि.प्र.वि. बाट प्राप्त प्रमाणको मिसिलवाट देखिन्छ ।

      २. राशन वोर्डको लालचवाट दर रेटवालालार्ई डरत्रास दिई टेण्डर केरमेट गर्न लगाई साविक ठेकेदार वकिल वहादुर के.सी. को टेण्डर लार्ई कम दरको टेण्डर वनाई निजकै टेण्डर स्वीकृत गरेको देखिंदा रासन वोर्ड र वकिल वहादुर के.सी. समेतको मिलेमतो भई विजय कुमार हिराचनलार्ई केही रकम दिई ठेक्का वकिल वहादुरलार्ई पारेको भन्ने वुझिन आएकोले फाइल आवश्यक कारवाहीको लागि पठाइएको भन्ने व्यहोराको क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जको मिति २०५०।२।१३ को पत्रसाथ फाइल आवश्यक कारवाहीको लागि संलग्न राखी पठाइएको भन्ने प्रहरी प्रधान कार्यालयको प.सं. २।०२ का ०६ (ख) ०४९।५०।३२ च.नं. ४३३ मिति २०५०।२।१८ को गृह मन्त्रालयलार्ई लेखेको प्रमाण मिसिल संलग्न पत्र ।

      ३. प्रहरी प्रधान कार्यालयवाट उपरोक्त अनुसारको राय प्राप्त भएपछि गृह मन्त्रालयले मिति २०५०।३।१ मा निर्णय गरी भ्र.नि.ऐ. अन्तर्गत कारवाहीको लागि विशेष प्रहरी विभागमा पठाई सो विभागले नं. १ मा उल्लेख गरे अनुसारको कार्यक्षेत्र भित्र नपरेको भनी अख्तियार दुरुपयोग अनुन्धान आयोगमा पठाएको देखिन्छ ।

      ४. जवान ५८ र जवान ८३ को रासनको लागि प्राप्त ५ टेण्डर हेर्दा विजय कुमार हिराचनको रु.४५,३७,४४२।७५ सुरेन्द्र रोकायाको रु.४६,५१,२५८। टेक वहादुर वुढाथोकीको रु.४८,०६,३२०। प्रेम वहादुर कार्कीको रु.४९,५४,१४५। र वकिल वहादुर के.सी.को रु.४४,७४,५३५ दुवैमा वार्षिक अंक कवोल गरेको देखिई सवै भन्दा घटी अंक वकिल वहादुर के.सी.को नाममा ठेक्का सदर गर्ने भन्ने समेत मिति ०४८।७।२९ को का.मु. प्र.जि.अ. लक्ष्मण कुमार हमालको अध्यक्षतामा वसेको रासन ठेक्का वोर्डको निर्णय ।

      ५. प्रस्तुत विषयको अनुसन्धान गरी प्रतिवेदन पेश गर्न प.सं. २(३) २१।०५०।०५१ च.नं.५४५४१ मिति ०५०।५।२२ मा अ.दु.नि.आ.वाट सह.सचिव श्री योगनाथ उपाध्यायलार्ई अनुसन्धान अधिकृत नियुक्त गरिएको ।

      ६. पहिला रासन ठेक्का लिने विचारले टेण्डर फर्म भरी कुल अंकवाट हुन आउने २।५ प्रतिशतका दरले वैंकमा धरौट समेत जम्मा गरी सकेको थिएं । पछि घरायसी सर सल्लाहवाट रासनको अंक कम वोलिएकाले घाटा हुन जान्छ । प्रहरी संगको संगत गर्नु पर्ने भएकोले धरौटी फिर्ता लिनका लागि टेण्डर फर्मलार्ई सच्याई केरमेट गरि आफ्नै घरमा वसी वाहिरी मानिस कसैको सल्लाह नलिई आफैले सच्याएको हुं । कसैको डर त्रास वा प्रलोभनमा परि  मैले टेण्डर सच्याएको केरमेट गरेको होइन भन्ने समेत अभियुक्त टेण्डरदाता विजय कुमार हिराचनले आयोगमा गरेको मिति २०५०।७।२२ को वयान ।

      ७. ०४८।०४९ को लागि जि.प्र.का. डोल्पा मातहतका सम्पूर्ण प्रहरी इकाइका लागि रासन टेण्डर आव्हान गरिएकोमा टेण्डरदाता विजय कुमार, समेतको लाहाछाप वन्दी खाममा टेण्डर परेकोले ती वन्दी टेण्डरहरु जिल्ला प्रशासन कार्यालय डोल्पामा टेण्डरदाता प्र.जि.अ. र को.ले.नि.का. मालपोत कार्यालयको प्रतिनिधि र म समेतको वोर्डको रोहवरमा टेण्डर खोल्दा सवैभन्दा कम अंक वकिल वहादुर के.सी.को भएकोले निजले ठेक्का पाएका थिए । विजय कुमार हिराचनको अंक दररेटको अनुपातमा डिपोजितको वैंक भौचर र नागरिकता नभएको कुरा निर्णयमै उल्लेख गरिएको थियो । दरभाउ सवै याद भएन, टेण्डर खोलिएपछि कैफियत जनाउन छुट  भएको  हुनुपर्छ । म लगायत वोर्डका अन्य सदस्यहरु समेतवाट लोभ लालचमा कसैलार्ई नपारी नपरी निष्पक्ष ढंगवाट काम भएकोले आफु लगायत वोर्डको अन्य सदस्य समेतले आफुलार्ई फाइदा र श्री ५ को सरकारलार्ई हानिनोक्सानी पुर्‍याउने काम नगरे नगराएको भन्ने समेत जिल्ला प्रहरी कार्यालय डोल्पाका प्र.ना.उ. रासन वोर्डका सदस्य सचिव राम वहादुर खत्रीले आयोगमा २०५०।९।८ र ऐ. ९ मा गरेको वयान ।

      ८. विजय हिराचनले टेण्डर पेश गर्दा नं. अंक अक्षर फरक र टेण्डरदाताको सही नभएको हो र मुचुल्कामा कैफियत लेख्न छुटेको हो वा कसैको खराव नियतले सो टेण्डर केरमेट भएको हो सो कुरा आफुलार्ई थाहा नभएको टेण्डर खोल्दा म आफु प्रतिनिधि भएपनि ककस्को मिलेमतोवाट व्यक्तिलार्ई फाइदा गराएको हो भन्ने कुरामा आफु अनभिज्ञ छु । मैले कुनै किसिमको वदनियत राखी कसैवाट रकम लिनु खानु गरि श्री ५ को सरकारलार्ई हानि नोक्सानी हुने गरी काम गरेको छैन लिए खाएको भए सहन वुझाउन तयार छु भन्ने समेत व्यहोराको को.ले.नि.का. डोल्पाका तत्कालिन नि.कोष नियन्त्रक एवं रासन वोर्डका सदस्य धू्रव प्रसाद लम्सालले ०५०।९।२९ र ०५०।१०।१ मा आयोगमा गरेको वयान ।

      ९. ०४८ माघ १ वाट ०४९ पौष मसान्त सम्मको लागि जिल्ला प्रहरी कार्यालय डोल्पाको रासन ठेक्काको टेण्डर राखेकोमा मेरो ठेक्का जानकारी भएको पत्र पाएपछि मैले सम्झौता गरें । वोर्डमा टेण्डर फाराम पढी सुनाएनन् दररेट सवैले टिपेर मुचुल्कामा सही गर्न लगाएपछि हामी हिड्यौं । विजय कुमारले पेश गरेको टेण्डरको विभिन्न महलमा केरमेट भएको सम्वन्धमा सही टेण्डरदाता स्वयंमले गर्नु पर्ने हो वा वोर्डले गराउनु पर्ने हो । मिलेमतो भई कम अंकलार्ई सदर नगरी वढी अंकलाई सदर गरेको भए विजय कुमारले विरोध गर्नु पर्ने हो कसैसंग मिलेमतो गरि अंक थपघट गरेको गराएको होइन आफुलार्ई फाइदा र श्री ५ को सरकारलार्ई हानिनोक्सानी हुने गरी भ्रष्टाचार गरेको छैन भन्ने समेत ठेकेदार वकिल वहादुर के.सी.ले मिति २०५०।१०।२२,२४,२६,२७ मा आयोगमा गरेको वयान ।

      १०. उल्लेखित अवधिको रासन ठेक्का सम्वन्धी सूचना प्रकाशित गर्ने टेण्डरहरु दर्ता गर्ने काम जिल्ला प्रहरी कार्यालय डोल्पावाटै भएको  हो । मलार्ई वैठक वस्ने दिन नै ज्ञ वजे अध्यक्षता ग्रहणको लागि पत्र प्राप्त भएको थियो । टेण्डर जम्मा ५ वटा प्राप्त भए जस्तो लाग्छ । दरभाउ के के थियो स्वीकृत टेण्डरदाताले के दरमा ठेक्का पाए अहिले खुलाउन सक्तैन ठेक्काको निर्णय हुनु अघि अन्य कार्य व्यस्थताले म आफैले सो सम्वन्धी कागजात हेर्न भ्याएको थिइन वेलूकी तूलनात्मक चार्ट समेतको निर्णयको लागि कागज ल्याएको र उक्त  कागजमा सदस्य सचिव सहित सवैको सहि भै सकेको र मैले सो कागज ल्याउने स.इ. लार्ई राम्ररी हेरी पेश गरेको भनी सोध्दा हो डि.एस.पि. साहेवले पनि जांची वुझी सहि गर्नु भएको छ भनी भने पछि विश्वासका साथ अन्तिम निर्णयका लागि सहि गरेको छु । टेण्डर पाउने पुरानै ठेकेदार थिए । टेण्डर खोल्दा टेण्डरदाता उपस्थित थिए । यस वाहेक टेण्डर केरमेट कस्ले गरे किन गरे उक्त कुरामा पुर्ण रुपेण अनभिज्ञ छु । मैले विजय कुमार हिराचनलार्ई कुनै धम्की दिई काट्न लगाएको होइन । निजले निर्णय पश्चात कुनै दावी विरोध नगरेकोले निजले नै केरमेट गर्ने कर्म गरेका हुन की भन्ने शंका लाग्छ भन्ने समेत रासन वोर्डको अध्यक्ष जिल्ला प्रशासन कार्यालय डोल्पाका तत्कालिन का.मु.प्र.जि.अ. लक्ष्मण कुमार हमालले मिति २०५०।१०।२९ र मिति २०५०।११।१ मा आयोगमा गरेको वयान, अभियुक्त मध्ये रासन वोर्डको सदस्य एवं माल कार्यालय डोल्पाका तत्कालिन का.मु. माल हाकिम दिपकजंग हमाल फरार रहेका छन् ।

      ११. रासन ठेक्काको फाइल सामेल रहेको टेण्डर फारामको अध्ययनवाट टेण्डरदाता विजय कुमार हिराचनले घटी कवोल गरेको अंकलार्ई केरी वकिल वहादुर के.सी., भन्दा वढी अंक कायम गरिएको देखिए पनि थप केर गरिएको विजय कुमार हिराचनको टेण्डरमा अक्षेरेपीमा पुरानै अंक यथावत राखी सोही शुरु अंक अनुसारको धरौटी राखेको साथै कर थपमा टेण्डरदाताको सही पनि नभएको देखिन आएकोले उल्लेखित कार्य अभियुक्त प्रतिवादीहरुको मिलेमतोवाट भई श्री ५ को सरकारलार्ई रु.७,७३,८१८।२५ नोक्सानी पुर्याई व्यक्तिलार्ई फाइदा हुने गरी वदनियतपुर्वक कार्य गरेको देखिन आएकोले प्र.मध्ये राष्ट्रसेवक का.मु. प्र.जि.अ. लक्ष्मण कुमार हमाल, प्र.ना.उ. राम वहादुर खत्री, मा.पो.का. का.मु हाकिम दिपक जंग हमाल, नि.कोष नियन्त्रक (लेखापाल) ध्रूव प्रसाद लम्सालले भ्र.नि.ऐन २०१७ को परिच्छेद २ को दफा ७(१) अनुसार, ठेक्काको टेण्डर दिने विजय कुमार हिराचन र टेण्डर अनुसार ठेक्का पाउने वकिल वहादुर के.सी. ले ऐ. को दफा ८ वमोजिमको कसुर गरेको स्पष्ट हुन आएकोले निजहरुलार्ई सोही ऐनको दफा ७ र ८ वमोजिम सजाय हुन र दफा २९ को उपदफा (१)(२) अनुसार विगो भराई विगो वमोजिम जरिवाना हुनको लागि अभियुक्तहरु उपर अ.दु.नि.आ. ऐन, २०४८ को दफा १८ वमोजिम पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गर्न यस आयोगका सह सचिव योगनाथ उपाध्यायलार्ई तोक्ने भन्ने समेत अ.दु.अ.आ. को मिति ०५१।२।१० को निर्णय ।

      १२. पुनरावेदन अदालतमा दर्ता गर्न पठाएको प्रस्तुत मुद्दा वारदात भएको इलाकावाट दायर गर्नुपर्ने भनी दरपीठ भै आएकोले यस आयोगकै अनुसन्धान अधिकृतवाट अदालत समक्ष मुद्दा दायर गर्ने निर्णय गरिसकेको भए पनि हाल सुर्खेत पु.वे.अ.मा सुर्खेत जिल्ला प्रशासन कार्यालय प्र.जि.अ. ले निजकै प्रतिवेदनवाट वादी श्री ५ को सरकार गरी मुद्दा दायर गर्ने आदेश गरिएको छ भन्ने समेत ०५१।२।२५ को अ.दु.अ. आयोगको निर्णय ।

     

      १३. जिल्ला प्रहरी कार्यालय डोल्पाको आ.व. ०४८।०४९ को लेखा परीक्षणको सिलसिलामा ०४८ साल माघ १ गते देखि ०४९ साल पौष मसान्त तक रासन ठेक्कापटृा गर्दा सवभन्दा घटी दरवाला साविक ठेकेदार विजय हिराचनको दर सो दरले हुने कुल रकमलार्ई केरमेट गरी बढी दर वनाएको र बढी दरवाला साविक ठेकेदार वकिल वहादुर के.सी को वढी दरलार्ई घटी देखाई निजलार्ई सो वर्षको रासन ठेक्का वन्दोवस्त गरेको र यसवाट श्री ५ को सरकारलार्ई रु. ७,७३,८१८।२५ हानी नोक्सानी पारेको देखिएकोले कारवाही गरी जानकारी दिन महालेखा परीक्षकको विभागवाट गृह मन्त्रालयलार्ई लेखि गृह मन्त्रालयवाट विशेष प्रहरी विभाग र सो वि.प्र.वि. वाट कारवाहीको लागि आयोगमा आई अनुसन्धान तहकिकात भएको  प्रस्तुत फाइल साथ रहेको टेण्डर फारामहरु रासन ठेक्का वोर्डको निर्णय र अर्नेष्टमनी वापत वैंकमा जम्मा गरेको भौचर समेतको अध्ययन गरिदा टेण्डरदाता विजय कुमार हिराचनले ५८ जवानको लागि र ८३ जवानको लागि दिएको टेण्डरमा क्रमसः जम्मा रु.१६,८१,७७४। र रु.२०,१८,९४२।७५ को अंकलार्ई काटी २०,६२,६२०। वनाएको देखिएको र सो केरिएको ठाउंमा टेण्डरदाताको सहीछाप पनि नभएको देखियो भन्ने अक्षरमा काटिएकै अंकहरुलार्ई यथावत राखी अक्षरव्दारा उच्चारण गरिएको पाइयो । रासनवोर्डले त्यसरी टेण्डरमा देखिएको कैफियत खुलार्ई मुचुल्का गरेको देखिएन । काटिएकै अंकको नियमानुसारको अनेष्टमनी वापतको रकम वैंकमा जम्मा गरेको भौचरवाट  देखिन्छ । त्यसरी केरमेट गरिएको सहिछाप पनि नगरिएको अंकलार्ई आधार मानी साविक ठेकेदार वकिल वहादुर के.सी.को टेण्डर रकमनै सवैभन्दा कम ठहराई निजसंग ठेक्का वन्दोवस्त गरेको सो कार्यवाट श्री ५ को सरकारलार्ई रु.७,७३,८१८।२५ हानी र व्यक्तिलार्ई फाइदा पुगी भ्रष्टाचार हुन गएको स्पष्ट हुन  आयो । प्रस्तूत केश प्रहरीवाट भएको जांच, वुझेको प्रतिवेदन अनुसार नै रासनवोर्डको लालचवाट कम दर रेटवालालार्ई डरत्रास र लालच देखाई टेण्डर केर्न लगाई साविक ठेकेदार वकील वहादुर के.सी. को टेण्डरलाई कम दरको वनाई निजको टेण्डर स्वीकृत गरेको देखिन आएको र यो काममा टेण्डरदाता मध्ये विजय कुमार हिराचन वकिल वहादुर के.सी. र वोर्डका अध्यक्ष का.मु.प्र.जि.अ. लक्ष्मण कुमार हमाल, सदस्य सचिव प्र.ना.उ. राम वहादुर खत्री मालपोत कार्यालयका का.मु हाकिम दिपकजंग हमाल, नि.कोष नियन्त्रक  (लेखापाल) ध्रूव प्रसाद लम्साल समेतको मिलेमतोवाट श्री ५ को सरकारलार्ई रु.७,७३,८१८।२५ नोक्सानी पुर्याई अभियुक्तहरुले आफुलार्ई फाइदा हुने गरी वदनियतपुर्वकको कार्य गरेको देखिन आएकोले उल्लेखित व्यक्तिहरु मध्ये राष्ट्रसेवकहरुले भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेदको ७(१) अनुसार र ठेक्काको टेण्डर दिने विजय कुमार हिराचन र टेण्डर अनुसार ठेक्का पाउने वकिल वहादुर के.सी. ले ऐ. ऐनको दफा ८ वमोजिमको कसुर गरेको स्पष्ट हुन अएकोले निजहरुलार्ई सोही ऐनको दफा ७ र ८ वमोजिम सजाय हुन र दफा २९ को उपदफा (१) र (२) अनुसार विगो भराई विगो वमोजिम जरिवाना हुन को लागि आयोगवाट यस कार्यालयमा तारेख तोकी आएका प्रतिवादी वकिल वहादुर के.सी. विजय कुमार हिराचन, लक्ष्मण कुमार हमाल, राम वहादुर खत्री र ध्रूव प्रसाद लम्साल समेतका अभियुक्त मध्ये तोकिएको तारेखमा अनुपस्थित विजय कुमार हिराचन वाहेक जना ४ र पंजिका वमोजिम कागजात भएको फाइल थान छ यसै साथ प्रेशित गरिएको छ । आयोगवाट जारी भएको सूचना म्यादमा हाजिर नभै फरार हुने अभियुक्त प्रतिवादी मालपोत कार्यालय डोल्पाका तत्कालिन का.मु हाकिम दिपकजंग हमाल र तारेखमा अनुपस्थित विजयकुमार हिराचनलार्ई सम्मानित अदालतवाट समाह्वान जारी गरी पाउन सादर अनुरोध गर्दछु । सरकारी मुद्दा सम्वन्धी ऐन २०४९ वमोजिम प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकार तर्फवाट प्रतिरक्षा तथा पैरवी नेपाल अधिराज्यका महान्यायाधिवक्ताको कार्यालय र मातहतका पुनरावेदन सरकारी वकिल कार्यालय सुर्खेत विरेन्द्रनगर हुनेछ भन्ने समेत व्यहोराको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्र.जि.अ. नानीकाजी विष्टको मिति ०५१।३।२१ को उजुरी प्रतिवेदन दावी ।

      १४. विजय हिराचन लगायत पांच जना टेण्डरदाताले शिवलवन्दी लाहाछाप भएको खाममा आआफ्नो टेण्डर जिल्ला प्रशासन कार्यालय डोल्पामा रासन वोर्डका अध्यक्ष को.ले.नि.का प्रतिनिधि, मालपोत, म सदस्य सचिव लगायतका वोर्डमा पेश गरेको र वोर्डको सदस्य र टेण्डरदाताको रोहवरमा टेण्डर खोलिएको हो टेण्डर खोलिदा विजय हिराचनको अंक काटी दररेट अंक वढाएको देखिएको टोटल अंक पनि काटी वढाएको देखिएको यस्मा वोर्डका अध्यक्ष लगायतका र अरु कसैले पनि मिली हिराचनको टेण्डर फाराममा अंक काटी थपघट गरे गराएको होइन खोलिदा काटिएकै थियो । निज विजय हिराचनलार्ई सम्मानित अदालतवाटै वुझि पाउं । उक्त वोर्डको म सदस्य सचिव भएको हुंदा मैले रासन ठेक्का सम्वन्धी वोर्डमा सहीछाप गरेको हुं । टेण्डर खोल्दा काटिएकै थियो । टेण्डर खोलेपछि केरमेटमा दस्तखत गराउन नहुने कैफियत मुचुल्का लेखन वोर्डवाट भुलमै छुट हुन गएको हो । विजय हिराचनको दररेट काटी वढाएको अंक र वकिल वहादुर के.सी.को अंक कम भएको हुंदा कम अंकवालालार्ई टेण्डर स्वीकृत गरिएको हो मैले कुनै गल्ती नगरेको हुंदा उक्त भ्रष्टाचार मुद्दामा सजाय पाउनु पर्ने होइन, सफाइ पाउं भन्ने समेत व्यहोराको प्रतिवादी राम वहादुर खत्रीले मिति ०५१।३।२२ मा यस अदालतमा गरेको इन्कारी वयान ।

      १५. मैले कुनै भ्रष्टाचार गरेको छैन, वोर्डको निर्णयले मैले ठेक्का लिएको हुं । टेण्डर खोलेको दिन म पनि रोहवरमा वसेको हुं अर्का ठेकेदार विजय कुमारको टेण्डर फाराममा केरमेट पहिले देखि नै थियो । त्यहां केरमेट गरिएको होइन सो केरमेट गर्ने गराउने वा श्री ५ को सरकारलार्ई हानी पुर्‍याउने कुनै नगरेको हुंदा अभियोग दावी झुटृा हो भन्ने समेत व्यहोराको प्रतिवादी वकिल वहादुर के.सी.ले मिति ०५१।३।२२ मा यस अदालतमा गरेको इन्कारी  वयान ।

      १६. विजय कुमारले भरेको टेण्डर वोर्डमा खोलिंदा निजको टेण्डरमा केरमेट थियो के कति अंक काटी के कति अंक थपेको हो सो विजय कुमारलार्ई थाहा होला मैले केरमेट गरे गराएको होइन, ०४८।७।२९ गते वोर्ड वसेको हो, मैले अध्यक्षको नाताले सहीछाप गरेको हुं । मैले भ्रष्टाचार गरेको छैन असल मनसायले काम गर्दै जांदा काम गरेको हुं, प्रतिवेदन झुटृा हो । मैले कुनै लोभ लालचमा परी कुनै काम गरे गराएको छैन । विजय कुमारले पेश गरेको टेण्डरमा कायम गरेको अंक वढी नै देखिएकोले वोर्डले सोही आधारवाट निर्णय गरेको हो । केरमेट सम्वन्धमा मुचुल्का लेख्न छुट भएको हो । प्र.ना.उ. मोहन सिंहले दिएको प्रतिवेदन एकदम झुटृा हो भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मण हमालले मिति ०५१।३।२२ मा यस अदालतमा गरेको इन्कारी वयान।

      १७. वोर्डमा टेण्डर खोल्दाको समयमा विजय कुमारले भरेको टेण्डरमा केरमेट थियो, कुन कुन अंक केरमेट थियो सो याद छैन, निज विजय कुमारलार्ई नै थाहा हुनु पर्ने हो । मैले भ्रष्टाचार गरे गराएको छैन प्रतिवेदनमा झुटृा दावी लिई म माथि अभियोग लगाएका हुन मैले सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी ध्रूव प्रसाद लम्सालले मिति ०५१।३।२२ मा यस अदालतमा गरेको इन्कारी वयान ।

      १८. अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मैले गरेको वयान सुनाउंदा सुने उक्त व्यहोरा सत्य सांचो हो टेण्डर भर्दा मैले नै केरमेट र अंक समेत थपेको हो अरुले होइन मैले प्रतिवेदन अनुसार कुनै अनुचित काम नगरेको हुंदा सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी विजयकुमार हिराचनले मिति ०५१।३।२८ मा यस अदालतमा गरेको इन्कारी वयान ।

      १९. प्रतिवादी दीपकजंग हमाल यस अदालतवाट जारी भएको ३० दिने समाव्हानको म्याद भित्र हाजिर नभै गूजारी  वसेको ।

      २०. प्रतिवादीहरुको साक्षी प्र.ना.नि.मान वहादुर खड्का, शैलेन्द्र रेग्मी, विक्रम वहादुर चन्द, खड्ग वहादुर के.सी., नर वहादुर वुढाथोकी समेतले पृथक पृथक पुनरावेदन अदालत सुर्खेतमा गरेको वकपत्र ।

      २१. अदालतका आदेशानुसार वुझिएका प्र.स.नि.विष्णू वहादुर कार्की, प्र.ना.उ. मोहन सिंह आले, डि.आईं.जि.पि. शम्भू थापा र प्र.ना.उ. लोक वहादुर कार्की समेतले पुनरावेदन अदालत सुर्खेतमा गरेको पृथक पृथक वकपत्र ।

      २२. प्र.अभियुक्त प्रतिवादीहरु मध्ये  प्रतिव्यक्ति क(कसले आरोपित रकम मध्ये कति कतिले अनुचित लाभको रुपमा लेनदेन गरे भनी निर्विवाद र शंकारहित तवरले तथ्ययुक्त साविति प्रमाण अभियोजन पक्षवाट पेश गरिएको संलग्न मिसिलवाट देखिन आएन । शंका अनुमान र हचुवा आधारमा दिएको प्रतिवेदनको आधारमा मात्र कसुर कायम गर्न नमिल्ने र भ्रष्टाचार जस्तो कसुर ठहराउन पुर्व मनसायको साथै वदनियत तत्व समेत थियो भन्ने अभियोजन पक्षले प्रमाणित गर्न सकेको नदेखिंदा श्री ५ को सरकारको माग दावी पुग्न सक्दैन । प्रतिवादीहरुले सफाइ पाई भ्रष्टाचारको अभियोगवाट फुर्सद पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५२।८।७।छ मा पुनरावेदन अदालत विरेन्द्रनगर सुर्खेतवाट भएको फैसला ।

      २३. प्रतिवादीहरुवाट श्री ५ को सरकारको सम्पति हानी नोक्सानी गराउने वदनियतपुर्ण कार्यवाट भएको भन्ने कुरा वस्तुनिष्ट प्रमाणहरुको समेत मुल्यांकन नगरी सम्मानित पु.वे.अ.वीरेन्द्रनगर, सुर्खेतवाट भएको फैसला वदर गरी शुरु माग दावी वमोजिमको हदैसम्म सजाय गरीपाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।

      २४. नियम वमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फवाट उपस्थित हुनु भएका विद्वान उप सरकारी अधिवक्ता श्री महेश थापाले केरमेट टेण्डर भएको भए सो को  मुचुल्का हुनु पर्ने, न्युन रहेको टेण्डरलार्ई केरमेट गरी वढी गरेको कार्य वदनियतपुर्ण देखिएको दावीको कुरा फैसलामा नवोली सैद्धान्तिक कुरामा मात्र वोलेका छन् । भ्रष्टाचार के कस्ले के कति रकम खाए खुल्न नआए पनि सवैको मिलेमतोवाट भ्रष्टाचार भएको देखिएकोले दामासाहीले खाएको मान्नू पर्ने भन्ने समेतको वहस प्रस्तुत गर्नु भयो।

      २५. आज निर्णय सुनाउन पेश हुन आएको प्रस्तुत मुद्दा ०४८ साल माघ १ गते देखि ०४९ साल पौष मसान्तसम्म रासन ठेक्का पटृा गर्दा सवभन्दा घटी दरवाला साविक ठेकेदार विजय हिराचनको दर र सो दरले हुने कुल रकमलार्ई केरमेट गरि वढी दर वनाएको र वढी दरवाला साविक ठेकेदार वकिल वहादुर के.सी.को वढी दरलार्ई घटी देखाई निजलार्ई सो वर्षको रासन ठेक्का वन्दोवस्त गरेवाट श्री ५ को सरकारलार्ई हानी नोक्सानी पारी आफुलार्ई फाइदा हुने गरी वदनियतपुर्वकको कार्य गरेको देखिन आएकोले भ्रष्टाचार निवारण ऐन अन्तर्गत सजाय गरि पाउं भन्ने वादी श्री ५ को सरकारको मुख्य माग दावी रहेको देखिन्छ ।

      २६. रासन ठेक्का सम्वन्धी परेको विजय कुमार हिराचनको वोलपत्रमा केरमेट गरि सच्याएको भन्ने कुरामा विवाद देखिन आएन । अव के कसले किन केरमेट गरि सच्याइएका हुन? भन्ने तर्फ हेर्दा प्र. विजय कुमार हिराचनले पहिला रासन ठेक्का लिने विचारले टेण्डर भरी कुल अंकको २.५५ वैंकमा धरौट जम्मा गरी सकेपछि रासनको अंक कम वोलिएकोले घाटा पर्छ भनी धरौटी फिर्ता लिन आफ्नै घरमा वसी आफैले वोलपत्र सच्याएको हुं कसैको मिलेमतो नभएको भनी वोलपत्र सच्याएको कुरालाई स्वीकार गरि अधिकार प्राप्त निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालत समेतमा  वयान  गरेको पाइन्छ । रासन वोर्डले केरमेट भएको वोलपत्रमा कैफियत खुलार्ई मुचुल्का गर्न छुट्याएको र सच्चिएको अंक वमोजिमको अर्नेष्टमनी वापतको रकम वैंक दाखिला नभएकै कारणँवाट मात्र भ्रष्टाचार गरेको भन्ने अभियोग दावी मनासिव छ भन्न मिल्दैन । भ्रष्टाचार हुनलार्ई वदनियत साथ कार्य गरेको हुनु पर्दछ र सो कार्यवाट कसैलार्ई फायदा वा नोक्सान भएको देखिनु पर्दछ । प्रस्तुत मुद्दामा वदनियत साथ सच्याउने कार्य गरेको भन्ने कुरा तथ्यगतरुपवाट शंकारहित तवरले पुष्टी हुन सकेको देखिदैन । सच्याउने कार्यवाट के कसले के कति अनुचित लाभ प्राप्त गरेको हो सो कुरा कही कतैवाट खुल्न आउदैन । भ्रष्टाचार जस्तो फौज्दारी अपराधमा केवल शंका र अनुमानको भरमा कसुरदार ठहराउन मिल्दैन । तसर्थ सच्याएको कुरा वोलपत्र दिनेले नै स्वीकार गरेको र अन्य प्रतिवादीहरुको मिलेमतो वा दवाववाट गरेको भन्ने प्रमाणित देखिन नआएको अवस्थामा केवल सच्याएको अंकको अर्नेष्टमनी वापतको रकम वैंक दाखिला नभएकै कारणवाट प्रतिवादीहरु कसुरदार हो भन्न नसकिने हुंदा अभियोग  दावी पुष्टिहुने प्रमाणको अभावमा प्रतिवादीहरुलाई दावी अभियोगवाट सफाइ दिने ठहराएको पुनरावेदन अदालत सुर्खेतको फैसला मिलेकै देखिंदा सदर  हुन्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्ण कुमार वर्मा

 

इति सम्व्त २०५३ साल श्रावण २८ गते रोज २ शुभम्.....................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु