शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८६० - उत्प्रेषण

भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२

निर्णय नं. १८६०     ने.का.प. २०४० अङ्क १२

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०३९ सालको रि.नं. १३५६

आदेश भएको मिति : २०४०।१०।२।२ मा

निवेदक : का.जि.का.न.पं.वडा नं.२५ शुक्रपथ बस्ने राममाया जोशी

विरूद्ध

विपक्षी : का.न.पं.का प्र.पं.श्री कमल चित्रकार का.न.पं.कार्यालयसमेत

विषय : उत्प्रेषण

(१)                बाटो सार्वजनिक वा निजामती के हो भन्ने विवाद उत्पन्न भएपछि अदालतमा जान सुनाउनुपर्ने ।

(प्रकरण नं. ८)

निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री होराप्रसाद जोशी

आदेश

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषणयुक्त परमादेश लगायत वा उपयुक्त आदेश जारी गरिपाउँ भनी २०३९।११।१९ मा रिट निवेदन पर्नआएको रहेछ ।

२.    संक्षिप्त तथ्य तथा निवेदन जिकिर : राममाया जोशीको हक भोगचलन दर्ता जोतपोतको न.पं.वडा नं.११ अन्तर्गत त्रिपुरेश्वर स्थित जग्गामा घर बनाउन नक्सा दर्खास्त दिएकोमा प्रेममाया तिमला र दानमाया शाक्यको उजूरी निवेदनबाट कारवाही चली का.न.पं.को प्र.पं.कमल चित्रकारले सार्वजनिक बाटो माथि कनेकटीङ बृज हाल्न दिन नमिल्ने हुँदा निवेदीकाको नक्सा खारेज हुने र नक्सामा सिमेण्टेडसेड बनाइसकेको रिमार्क भएको हुँदा भत्काई दिने ठहर्छ २०३०।१०।६ मा फैसला गरेको रहेछ । घर बनाउन नक्सा दर्खास्त गर्ने मेरो हक भोगचलन र दर्ता जोतपोतको जग्गाले खाएको र साझा बाटोमा साझा पानी टंकी रहेको घर बनाउने जग्गा नै एकलौटी र साझा भन्ने विवाद हुन आई तेरो मेरो परी सबूत प्रमाणको मूल्याड्ढन गरी हक बेहक छुट्याउन पर्ने अवस्था विद्यमान रहेभएको स्थितिमा न.पं.ऐनको दफा ४९(२) बमोजिम अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्सा पासको कारवाई गरी सूचना दिनुपर्नेमा सार्वजनिक बाटो माथि कनेकटीङ बृज हाल्न दिन नमिल्ने हुँदा खारेज हुने ठहर्छ भनी गरेको निर्णय उक्त ऐनको प्रतिकूल छ मेरो दर्ता जोतपोतको जग्गाबाट प्रेममाया र दानमायालाई आवत जावत गर्न सम्म दिएको बाटोलाई सार्वजनिक भनी नक्सा खारेज हुने ठहर्‍याएको र २० वर्ष अघि नक्सा पास गराई बनाएको पानी टंकी राख्ने सिमेण्टको खम्बालाई सिमेण्टेड घर भनी फैसला गरेको अनाधिकार तथा गैरकानुनी भएको हुँदा उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।

३.    यसमा के कसो भएको हो ? सम्बन्धित विपक्षीहरूबाट लिखितजवाफ मगई आएपछि नियमबमोजिम गरी पेश गर्नुभन्ने २०३९।११।२० को सिंगलबेञ्चको आदेश रहेछ ।

४.    ११, १५ को बाटो माथि सार्वजनिक बाटो मिची घर बनाउन पाउने विपक्षीलाई घर बनाउनेको ३ नं.ले पनि मिल्ने कुरा होइन सडक विपक्षीको नभई सार्वजनिक सम्पत्ति हो । यस्ता जग्गा माथि नक्सा पास नहुने ठहर भए उपर विपक्षीलाई अ.बं.८२ नं.बमोजिम उजूर गर्न हकदैया छैन वस्तुस्थिति हेरी नक्सा पास गर्न मिल्ने नमिल्ने गर्न अ.बं.४९ नं.बमोजिम यस पञ्चायतलाई अधिकार छ । नक्सा पास गरी नदिएमा जि.पं.मा उजूर गर्ने व्यवस्था समेत भएको हुँदा विपक्षीको अनाधिकृत, आधारहीन, अनुचित रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेत का.न.पं.का प्र.पं.कमल चित्रकारको लिखितजवाफ ।

५.    मेरो जग्गाको साँधसँगै विपक्षी राममाया जोशीले घर बनाउन नक्सा दर्खास्त दिनुभएको रहेछ सो नक्सा दर्खास्त झुठ्ठा व्यहोराको भई नमिल्ने हुँदा मेरो बाधा विरोध उजूरी परेको हो साझा वा सार्वजनिक बाटोको खण्डमा निर्माण शुरू गरी अधुरो अवस्थामा रहेको पानी टंकीलाई कनेकटीङ बृज भनी कानुनी व्यवस्थाको विपरीत भएको नक्सा दर्खास्तलाई मान्यता दिई घर बनाउन दिन नमिली का.न.पं.बाट भएको फैसला न्याय एवं कानुनसंगत नै छ । कनेकटीङ बृज २० वर्ष अघि नक्सा पास गराई बनाएको भन्ने कुराको सबूत विपक्षीले देखाउन सकेको छैन कनेकटीङ बृजलाई भत्काउने निर्णय उपर पुनरावेदनको म्याद प्रदान गरेको अवस्था असाधारण अधिकारक्षेत्र गुहार्न पाइने होइन । सार्वजनिक ढल निकास साविक देखि रहेको र सरोकारवालाहरू आवत जावत गर्ने गरी आएको हुँदा सार्वजनिक ठहर्‍याई गरेको निर्णयमा कुनै त्रुटि नभएको हुँदा निवेदकको माग बमोजिमको आदेश जारी हुने होइन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रेममाया तिमलाको लिखितजवाफ ।

६.    ०३४।१।१० मा मलाई राजीनामा गरी दिएको लिखतबाट समेत सो बाटो सबैको हो निजको एकलौटी होइन विपक्षीले नक्सा पास गरिपाउँ भनी दिएको जग्गामा सार्वजनिक बाटो भन्ने कुरामा विवाद नभएबाट तेरो मेरो प्रश्न नै नभएको बाटो माथिको आकाश मेरो भन्न कानुनले मिल्ने होइन का.न.पं.बाट भएको निर्णय कानुन बमोजिम नै भएको हुँदा निवेदकको माग बमोजिमको आदेश जारी हुने होइन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत दानमाया शाक्यको लिखितजवाफ ।

७.    निवेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले आफूले तिरी हकभोगको जग्गामा घर बनाउन नक्सा पास गरिपाउँ भनी दिएको निवेदनमा विपक्षीले निवेदकले देखाएको बाटो निजी होइन सार्वजनिक हो भनी उजूर गरेकोमा सार्वजनिक ठहराई त्यसमा बनेको टंकी पनि बिना उजूरी भत्काई दिने निर्णय गरेकोबाट हक बेहकको प्रश्न उपस्थित भएकोमा अदालतमा उजूर गर्न सुनाउनुपर्नेमा सो नगरेको न.पं.ऐन, ०१९ को दफा ४९(२) को विपरीत हुँदा बदर गरी कानुन बमोजिम गर्न परमादेश समेत जारी हुनुपर्ने भन्ने बहस प्रस्तुत गर्नुभएको छ ।

८.    यसमा नगरपञ्चायतले गरेको निर्णयतर्फ हेर्दा सार्वजनिक बाटो माथि कनेक्टीङ बृज हाल्न दिन नमिल्ने भएको हुँदा वादीको नक्सा खारेज हुने ठहर्छ भनी निर्णय गरेको देखिँदा भत्काउने सम्बन्धिमा अदालतमा उजूर परी सकेकोले त्यसतर्फ विचार गरिरहनुपर्ने प्रश्नै उठेन । अब बाटो सार्वजनिक वा निजामती के हो भन्ने विवाद उत्पन्न भएपछि अदालतमा जान सुनाउनुपर्नेमा सो बमोजिम नगरी गरेको निर्णयमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) को विपरीत हुँदा सार्वजनिक भनी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ अब कानुन बमोजिम गर्नु भनी परमादेश समेत जारी हुने ठहर्छ । नियमानुसार गरी फाइल बुझाई दिनु ।

 

म सहमत छु ।

 

न्या.सुरेन्द्रप्रसाद सिंह

 

इतिसम्वत् २०४० साल माघ २ गते रोज २ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु