निर्णय नं. १८६१ - जग्गा नामसारी गरिपाउँ

निर्णय नं. १८६१ ने.का.प. २०४० अङ्क १२
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३८ सालको देवानी पु. ४७०, ४७१
फैसला भएको मिति : २०४०।१२।३०।५ मा
पुनरावेदक/प्रतिवादी : महानन्दको मु.स.गर्ने श्रीमती बैतडी जिल्ला श्रीकोट बस्ने विजुलीदेवी जोशीसमेत
विरूद्ध
विपक्षी/वादी : जि.बैतडी श्रीकोट मौनाकोट आईरी गाउँ बस्ने नन्दराम जोशीसमेत
पुनरावेदक/वादी : ऐ.बस्ने नन्दराम जोशीको मु.स.गने खेमराज जोशीसमेत
विरूद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ बस्ने महान्द जोशीसमेत
मुद्दा : जग्गा नामसारी गरिपाउँ
(१) अंशियारको जग्गा देखिएपछि दर्ताको नाताले मात्र दर्तावालाको हक हुन्छ भन्न मिल्ने देखिँदैन ।
(प्रकरण नं. १८)
पुनरावेदक वादीतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
फैसला
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
१. जग्गा नामसारी गरिपाउँ भन्ने मुद्दामा पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ :
२. डोटी जिल्लामा एक मोहीको नाउँमा दर्ता जग्गा राखी सबै अंशियारले भोगी आउने चलन अनुसार परमानन्दका नाउँमा दर्ता राखी भोग गरी आएको ९५ सालको नापीमा मानदेवका सन्तान नाति हामीहरू समेतको अंशको जग्गा परमानन्दको नाति ४ भाइका नाउँमा दर्ता राखेको जग्गा खोसमोस गर्ने होइन भन्ने व्यहोराको ४ भाइले ९६।१।२ मा कागज गरी दिएकोले निजहरूकै नामबाट भोगी आएको हाम्रा नाउँमा दर्ता नामसारी नगरी दिँदा श्री ५ को सरकारमा निवेदन दिई कारवाही हुँदै जाँदा छुट्टै फिराद गरे हुने भन्ने सर्वोच्च अदालतबाट फैसला भएको सो मुद्दामा हाम्रो हक नदेखाई बयान गरेको साक्षी प्रमाण बुझी निज महानन्द समेतको नाउँमा दर्ता भएको कि.नं.६ पोत रु.१।८० मध्ये ।४५ तिराको खेत समेत लेखिएको खेत पाखा जग्गा मु.महानन्द समेत ४ भाइको नाम कट्टा गरी हामी नन्दराम ईश्वरीदत्त पुने गौरीशंकर बाबु हरिलाई थामी नामसारी गरिपाउँ भन्ने समेत फिरादपत्र रहेछ ।
३. हक नपुग्ने पट्टिका मानदेवका सन्तानले हाम्रो अंंशबण्डाको जग्गा नामसारी गरिपाउँ भन्ने झुठ्ठा उजूर गरेको हो भन्ने समेत मु.महानन्द जयानन्द पूर्णानन्द समेतको प्रतिउत्तरपत्र ।
४. ९५ सालको सर्पट जाँचमा कृष्णानन्दको नाममा दर्ता भएको एकै बाबुको सन्तान भएकोले दाजु महानन्दले उजूर गरे हुने, बाबु बाजेले हारी सकेको जग्गामा छोरा नातिको हक नपुग्ने एकपटक हारी सकेकोमा उजूर दायर नहुने हक लाग्छ भनी झुठ्ठा फिराद गरेमा ९५ सालको सर्पट जाँचमा गोपाल विष्णुभक्त नन्दकिशोर कृष्णानन्दको साझा दर्ताको जग्गा मलाई नै थामी पाउँ भन्ने समेत कृष्णानन्दको प्रतिवादी ।
५. परमानन्द, महानन्दले गरी दिएको बन्धी परमानन्दलाई गरी दिएको दोहरी समेत जालासाजी हो भन्ने समेत वादी नन्दरामको बयान जालसाजी होइन सद्दे साँचो हो भन्ने प्र.कृष्णानन्दको र प्र.महानन्द समेतको वा.समेतको पूर्णानन्दको बयान र पुने जैसी हुँ, साक्षी बसी भएको सद्दे साँचो हो भन्ने धनसिंह समेतको वा पूर्णानन्दको बयान ।
६. म समेतले गरी दिए भनेको १९९६।१।२ को कागज जालसाजी कीर्ते हो भन्ने कृष्णानन्द सद्दे हो भन्ने समेत वादीको वा समेत नन्दरामको बयान ।
७. भोग तिरो दर्ताको सबूत वादीबाट नआएको बाबु बाजेले हारी सकेको भन्ने जिकिर भई फैसला जितापत्रको नक्कल पेश भएकोले समेत नामसारी गरी दिएन गरिपाउँ भन्ने प्रतिवादीबाट पेश भएको लिखत जालसाजी भन्ने झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने बैतडी जिल्ला अदालतको फैसला ।
८. बैतडी जिल्ला अदालतको इन्साफमा चित्त बुझेन भन्ने समेत पुने जोशी समेतको पुनरावेदन ।
९. गजाधर गंगादत्तको नामसारी भइसकेको तिरो रु.।५५ को धोचा खाली खेत तिरो रु.।१।६ का सुनखोला गडो तिरो रु.।३। को बैसम्वाडो बाहेक वादीहरूको हक लाग्ने ठहर्छ प्रतिवादीहरूबाट पेश गरेको बन्धकी दोहरी र शर्तनामा साजलासी ठहर्छ भन्ने समेत महाकाली अञ्चल अदालतको फैसला ।
१०. उक्त इन्साफ माथि चित्त बुझेन भन्ने समेत प्र.महानन्दको पुनरावेदन ।
११. २ वर्ष नाघी यो मुद्दा दायर भएको देखिएको ९६।१।२ को कागज भोगचलन सम्म गर्ने बन्देजमा रहेको देखिएकोले जग्गावालाको हक सृजना गरेको देखिन आएन । उक्त लिखत बमोजिम हक गराई पाउँ भन्ने दावी परेको नदेखिएको हुँदा सद्दे कीर्ते के हो ? निर्णय गर्न आवश्यक देखिएन । ९६ सालको लिखत प्रमाणले भोगचलन सम्म गर्न पाउने हुनसक्छ भोगचलनमा खिचोला परेको र चलन चलाई पाउँ भन्ने फिरादपत्र देखिँदैन । नामसारी गरिपाउँ भनी फिराद दावी गरेकोमा भने जग्गामा चलन गर्न पाउने लिखत पेश गरेको, दावी पूरा गराउन नसक्ने प्रमाण पेश गरेको लिखत भन्दा बढी नामसारी गरिपाउँ भन्ने दावी मनासिव हुँदैन, प्रमाण र दावी मिलेको छैन, बैतडी नापीमा आफ्नो जग्गा आफैंं नापी गराउन पर्ने त्यसको विपरीत छ, जग्गा हक गराई पाउँ भन्ने बारेमा तत्काल जग्गा मिच्नेको २१ नं.उजूर लाग्ने हकको व्यहोरा देखाउन नसकेको बैतडी जि.अ.र महाकाली अञ्चल अदालतको फैसला उल्टी हुन्छ फिराद दायर रहन सक्दैन खारेज हुन्छ पेश भएको कागज सद्दे कीर्तेमा चलाई रहनु नै नपर्ने भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको फैसला ।
१२. सो निर्णय दोहोर्याई पाउँ भनी वादी नन्दरामले चढाएको बिन्तिपत्रमा दोहोर्याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भएको ।
१३. जग्गा मिच्नेको २१ नं.ले उजूर लाग्ने हकको व्यहोरा देखाउन नसकेको भनी फिराद नै खारेज गर्न मिल्ने देखिँदैन । फिराद दायर हुनसक्दैन भनी मुद्दा खारेज गर्ने गरेको डिभिजनबेञ्चको इन्साफ मिलेको देखिएन । डिभिजनबेञ्चको ०२८।१२।४ को फैसला बदर गरी दिएको छ अञ्चल अदालत उपर परेको पुनरावेदनमा कानुन बमोजिम जो बुझ्नुपर्ने बुझी निर्णय गरी दिनु भनी मिसिल सु.प.क्षे.अ.मा पठाई दिनु भन्ने सर्वोच्च अदालत फुलबेञ्चको फैसला ।
१४. अपराध अनुसन्धानबाट १९९६।१।२ को लिखतमा लागेको महानन्द जोशी र कृष्णानन्दको दस्तखत सहीहरू १९९५।११।२४ र १९९२।९।१० को कागजको सहिछापसँग मिल्छ भिडछ भन्ने राय भएबाट लिखत गरी दिएको कुरामा कुनै शंका रहेन अब १९९५।११।२४ को राजीनामा पूर्णानन्दको दस्तखतसँग १९९६।१।२ को लिखतमा भएको दस्तखत फरक देखिएको र १९९५।११।२४ को लिखतमा जयानन्दको दस्तखत सही स्थानाभावको कारणले स्वतन्त्र रूपबाट लेखिएको नदेखिएको अदालतबाट लिएको दस्तखतसँग नभिडने भन्ने राय छ तापनि २ जनाको सहिछाप भिडेको ३० वर्ष अघि गरेको सहिछापसँग हाल गरेको सहिछाप पूर्ण रूपमा भिड्न नआउनु अस्वाभाविक नहुने जयानन्दको नमूना हस्तालिपि सुक्ष्म रूपले अध्ययन गर्दा सक्कल लिखतसँग धेरै मिल्ने विवादग्रस्त १९९६।१।२ को सकल लिखत कीर्ते जालसाजी भन्न सकिँदैन सद्दे लिखत नै ठहर्छ नामसारी हुनालाई रजिष्ट्रेशनको १।३ ले पास हुनुपर्ने बैतडी जिल्लामा १९९० सालमा लागू भइसकेको लिखतको आधारबाट कानुनी हक पुगी सकेको मान्न नमिल्ने नामसारी गरी दिन मिल्छ भन्ने कानुनी व्यवस्था नदेखिँदा नामसारी गरिपाउँ भन्ने दावी पुग्न सक्दैन तसर्थ अञ्चल अदालतको इन्साफ मिलेको देखिएन नामसारी गर्न नमिल्ने भन्ने निर्णय भएको हुँदा सद्दे कीर्ते इत्यादि बोली रहनु नपर्ने जालसाजी ठहराई गरेको अञ्चल अदालतको निर्णय गल्ती हुँदा बदर हुने ठहर्छ भन्ने समेत सु.प.क्षे.अ.को ०३८।७।२७।५ को फैसला रहेछ ।
१५. सो सु.प.क्षे.अ.को फैसला इन्साफ कानुन त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी वादीले १९९६ सालको लिखतलाई सद्दे ठहराएकोमा चित्त बुझेन भन्ने समेत प्रतिवादी समत दुवैपक्षको पुनरावेदनको अनुमति पाउँ भनी परेको पृथक–पृथक निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।
१६. पु.वे.वादीतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले प्रतिवादीहरूले हाम्रो नाउँमा दर्ता रहे भए पनि लाग गर्ने छैनौ भनी १९९६।१।२ मा कागज गरी दिएका र यी विवादित जग्गा नामसारी गरी दिने भनी विशेष अधिकार सम्पन्न दौडाहामा मिलापत्र गर्ने यिनै पक्ष विपक्षको संयुक्त दरखास्त परेकोमा समयले नभ्याई मिलापत्र हुन नसकी रहेकोमा यी प्रतिपादीहरूले जबरजस्ती कागज गराएको बदर गरिपाउँ भनी दिएको मुद्दामा जबरजस्ती गरेको नठहरी फैसला भइरहेको छ र तत्कालिन अंशबण्डाको ६५ नं.र हालको ३५ नं.अनुसारका सगोलको सम्पत्ति जहिलेसुकै पनि बण्डा हुन्छ । हकवाला भन्ने निर्विवाद देखिएपछि उक्त उल्लिखित ९६ सालको लिखत पास गरिरहनुपर्ने अंशबण्डाको ३५ नं.ले पनि नपर्नेमा पास नभएको भन्ने सु.प.क्षे.अ.को फैसला गल्ती हो भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।
१७. पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले जग्गा जालसाजी र नामसारी मुद्दाहरू एक अर्कासँग सम्बन्धित छैन । यो नारद जोशी र ९४ सालको नारद जोशी अलग–अलग भएकोमा शंका छैन । ९५।८।२८ को बैतडी जि.अ.को फैसलाबाट पनि वादी प्रतिवादीका बीच अंश भइसकेको देखिन्छ । वादी महानन्द जोशी प्रतिवादी पुरूषको छोरा नारद जोशी र अहिलेको नारदको बुबा लक्ष्मी जोशीको मुद्दा परी महानन्दको दर्ताको जग्गामा प्र.हरूको हक नहुने भनी १९४३ सालको कोटीलिंग अदालतको फैसलामा उल्लेख भइराखेको छ । तत्कालिन नापीमा समेत लेखाउन देखाउन नसकेकोबाट पनि सो पास नभएको लिखतबाट वादीको हक हुन आउँदैन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१८. डोटी जिल्लामा एक मोहीका नाममा दर्ता जग्गा राखी सबै अंशियारले भोगी आउने चलन अनुसार परमानन्दका नाममा दर्ता राखी भोग गरी आएको सबैमा परमानन्दका नाति ४ भाइका नाममा दर्ता राखी सो जग्गा तिमीहरूकै हो खोसमोस गर्ने छैनौं भनी चारैभाइले १९९६।१।२ मा कागज गरी दिएको जग्गा हामीहरूका नाममा नामसारी दर्ता गरिपाउँ भन्ने समेत वादी दावी भएकोमा घरसारको लिखतका आधारमा नामसारी गरी दिन मिल्ने देखिएन नामसारी गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत सु.प.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ त्यसतर्फ हेर्दा विवादित १९९६।१।२ को बन्देजी लिखतमा उल्लिखित जग्गा वादीको हकभोग भागको सगोल रहेको भन्ने प्रष्ट उल्लेख छ र सो लिखत जाँच गर्दा समेत सद्दे साँचो ठहरे पछि तत्कालिन मुलुकी ऐन अंशबण्डाको ६५ नं.र वर्तमान अंशबण्डाको ३५ नं.अनुसार सगोलको सम्पत्ति जहिलेसुकै पनि बण्डा हुने व्यवस्था भएको पाइन्छ । प्रतिपादित सिद्धान्तमा पनि अंशियारको जग्गा देखिए पछि दर्ताको नाताले मात्र दर्तावालाको हक हुन्छ भन्न पनि मिल्ने देखिँदैन प्रस्तुत लिखत बमोजिमका जग्गा नामसारी गरिपाउँ भन्ने वादीको विशेष अधिकार सम्पन्न दौडाहामा उजूर परी सो बमोजिम नामसारी गरी दिन मञ्जूर भई यिनै वादी प्रतिवादीहरूको संयुक्त दरखास्त परेकोमा मिलापत्र हुन नभ्याएकोमा सो दरखास्तमा करकापसँग सहीछाप गराए बदर गरिपाउँ भन्ने यिनै प्रतिवादीहरूले फिराद गरेकोमा सो लिखत करकाप नठहरी वादीको उजूर खारेज गर्ने गरेको महाकाली अञ्चल अदालतको इन्साफ मनासिव भई सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०२२।१२।१५ मा अन्तिम फैसला भइरहेको पनि देखिन्छ । रजिष्ट्रेशनको १ नं.मा हक छाडी दिएको लिखत र रजिष्ट्रेशन गराउन पर्ने, १९९६।१।२ को लिखत हक छाडी दिएको लिखत नभई उक्त स्वीकार गरेको लिखत भएकोले उक्त सद्दे ठहरेको लिखत बमोजिमको जग्गामा वादीको कानुनी हक नपुग्ने भन्ने सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको देखिन्न । वादी दावी बमोजिमका जग्गाहरू वादीहरूका नाउँमा नामसारी गरी दिनुपर्ने ठहर्छ । अरू तपसीलका कुरामा तपसीलबमोजिम गर्नु ।
तपसील
पुनरावेदक वादी नन्दरामको मु.स.गर्ने खेमराज जोशी १, ईश्वरीदत्त जोशी १, पुने जोशी १, गौरीशंकर जोशी १ समेत जना ४ के निजहरूले शुरू बैतडी जिल्ला अदालतमा फिराद साथ राखेको कोर्टफी रु.२२६।२४ र तिर्नेले यस अदालत पुनरावेदन गर्दा राखेको कोर्टफी रु.३३।९४ समेत जम्मा रु.२६०।१८ भराई पाउँ भनी प्रतिवादी विजुलीदेवी जोशी १, श्रीनन्द जोशी १, जयानन्द जोशी १, पूर्णानन्द जोशी १ समेतको यसै सरहदको जेथा देखाई म्यादमा दरखास्त पर्न आए दस्तूर केही नलिई प्रतिवादीहरूबाट बराबरका दरले वादीहरूलाई भराई दिनु भनी बैतडी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु.................................................................................................................................१
मिसिल नियमानुसार गरी बुझाई दिनु.............................................................................................................................२
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४० साल चैत्र ३० गते रोज ५ शुभम्