शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२९४ - उत्प्रेषण

भाग: ३८ साल: २०५३ महिना: फागुन अंक: ११

निर्णय नं. ६२९४    ने.का.प.०५३ अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

सम्वत् २०५१ सालको रिट नं...........२३५५

फैसला मितिः २०५३।४।१४।२

 

मुद्दाः उत्प्रेषण ।

 

निवेदकः उदयपुर जिल्ला रिस्कु गा.वि.स. वडा नं. ८ हाल परिवर्तित ऐजन कटारी गा.वि.स. वडा      नं. ८ वस्ने काशीराज राई ।

विरुद्ध

प्रत्यर्थीः उदयपुर जिल्ला अदालत समेत ४ ।

 

 

§  विधिवत अंशवण्डा भइसकेकोमा मानु जोडिएकोमा पारीत लिखतको अभावमा तमसुकमा एकासगोलको वावु भन्ने लेखिदैमा निजको सम्पत्तिवाट छुटृी भिन्न भएको छोराले लिएको ऋणको दायित्व पुरा गराउन नमिल्ने ।        

       (प्र.नं. ९)

§  वावु आमासंग अंश लिई भिन्न भई सकेको छोराले लिएको ऋण निजको आमाको नाउंवाट वावुको नाउंमा नामसारी भै गएको जग्गावाट भरी भराउ गर्ने जिल्ला अदालतको कारवाहीलार्ई वदर गरेको पुनरावेदन अदालत राजविराजको आदेश कानून विपरीत भएको नदेखिंदा निवेदकको माग वमोजिम रिट जारी गर्न  नमिल्ने ।                

     (प्र.नं. ९)

 

निवेदक तर्फवाटः विव्दान अधिवक्ता श्री शम्भु थापा               

विपक्षी तर्फवाटः

अबलम्बित नजीरः

फैसला

      न्या. गोविन्द वहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(२) वमोजिम रिट निवेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

      २. प्रत्यर्थी मध्ये लाल वहादुर खड्काले निवेदकसंग मिति २०४१।१२।११ मा निजको एकाघरको वावु शमशेर वहादुर साक्षी वसी रु. १६,०००। तथा मिति २०४१।१२।१२ मा धान मुरी ४८ समेत लिई ०४३ साल माघ महिना सम्ममा सावा रकम वुझाउने र वुझाउन नसकेमा निजको नाउंमा दर्ता रहेको उदयपुर जिल्ला रुपाटार गा.वि.स. वडा नं. ८(ग) कि.नं. १९६ को ज.रो. ७।३।।१ र २ ऐ कि नं. २२८ को ज.रो. ५-३-२.१ र २ जग्गा पारीत गरी दिने शर्त गरी  घरसारमा दुवै लिखत गरी दिनु भएको  थियो । सो दुवै लिखतहरु बमोजिमको सावा व्याज रु.५४,८६२।७६ र कोर्ट फि समेत दिलार्ई भराई पाउन उदयपुर जिल्ला अदालतमा लेनदेन फिराद गर्दाको अवस्थामा सावा रु.१६,०००। धान मुरी ४८ को रु.१९,०००। समेत रु.३५,०००। र कोर्ट फि समेत रु.१३३१। दिलार्ई भराई पाउने ठहरी मिति २०४८।४।२९ मा भएको फैसला अन्तिम भइरहेको छ । सो फैसला वमोजिम विगो भराई पाउने प्रत्यर्थी लाल वहादुर खड्का निजको पिता शमशेर वहादुर खड्का तथा प्रत्यर्थी लाल वहादुर खडकाको आमा मनमाया खड्काको जायजात देखाई दण्ड सजायको ४२ नं. वमोजिम दरखास्त उदयपुर जिल्ला अदालतमा पेश गरी कारवाही भई प्रत्यर्थी लाल वहादुरलार्ई म्याद सूचना पठाउंदा म्यादमा विगो दाखिल नगरेकोले लेनदेनको लिखतमा उल्लेख भएको तथा दरखास्तमा देखाइएको मनमायाको नाउंको सम्पत्तिवाट विगो भराउन जनाउ दिंदाको अवस्थामा निज मनमाया खडकाको मिति २०४८।६।११ मा मृत्यु भएको तथा निजको नाउंका सम्पत्ति मिति २०५०।६।१३ मा शमशेर वहादुरको नाउंमा नामसारी भएको एं प्रत्यर्थी लाल वहादुर खड्का ०४० सालमा नै वण्डा भई अलग वसेको हुनाले रोक्का राख्ने आदेश वदर गरी पाउं भन्ने निवेदनमा उदयपुर जिल्ला अदालतवाट कानून वमोजिम गर्नु भन्ने आदेश  भयो । सो आदेश उपर प्रत्यर्थीको पुनरावेदन अदालत राजविराजमा अ.वं. १७ नं. को निवेदन पर्दा पुनरावेदन अदालत राजविराजले उदयपुर जिल्ला अदालतको आदेश वदर गरी  शमशेर वहादुरवाट अंश पाउने छोरा लाल वहादुरले भाई नर वहादुरको भाग समेत पाउने र आमा मनमायाको अंशमा निजको हक नलाग्ने गरी २०४०।९।१३ मा वण्डापत्र भएको  देखियो । यस्तो जग्गा आमाको मृत्यु पछि वावु शमशेर वहादुरको नाममा नामसारी भएको देखिंदा सो जग्गावाट अंशवण्डा पछि लाल वहादुरले खाएको ऋण वापत वावुको नाउंको जग्गा रोक्का राखी विगो असुली तर्फ कारवाही गरेको सम्म मिलेको नदेखिदा सो कारवाही वदर गरिदिएको छ भन्ने मिति २०५१।३।३ मा आदेश भएको छ । प्रत्यर्थी लाल वहादुरले निवेदकसंग मिति २०४०।१२।११ तथा मिति २०४०।१२।१२ मा ऋण लिंदाको अवस्थामा निजले गरी दिएको तमसुकको किनारामा निजको पिता प्रत्यर्थी शमशेर वहादुर साक्षी वसेको र उक्त लिखतमा एकाघरको वावु भन्ने उल्लेख भएको छ । संगोल वा एकाघरमा रहदाको अवस्थामा सगोलको व्यवहार चलाउनुलार्ई लिएको ऋण रकममा परिवारको सम्पुर्ण सदस्यको समान दायित्व रहने र संगोलको व्यवहार चलाउन छोरा लाल वहादुरले लिएको ऋण पिता शमशेर वहादुरको मंजूरी भएको अवस्थामा यस्तो व्यवहार र गोश्वारा धनवाट चल्ने भन्ने प्रावधान लेनदेन व्यवहारको ८ नं. ले व्यवस्था गरेकोले पुनरावेदन अदालत राजविराजको आदेशमा लेनदेन व्यवहारकोे ८ नं. को त्रुटि भएको छ । विगो भराई पाउन निवेदकले मिति २०४९।९।१ मा लिखत वमोजिमको जेथा देखाई दरखास्त दिएकोमा उक्त दरखास्त वमोजिम कारवाही हुंदाहुंदैको अवस्थामा शमशेर वहादुरले उक्त तथ्यको पूर्ण जानकारी भइरहेको अवस्थामा मालपोत कार्यालयमा निवेदन दिई मनमायाको नामको सम्पत्ति आफ्नो नाउंमा मिति २०५०।९।१३ मा नामसारी दाखिल खारेज गरेको, मुद्दा चल्दाचल्दैको अवस्थामा स्वामित्व परिणत गर्न नपाउने भन्ने सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्तको प्रतिकुल रहन गएको छ । भरिभराउ गराउन पाउने अन्य कुनै सम्पत्ति  छैन । यो मात्र सम्पत्ति भएकोले यसवाट भरी भराउ नभएमा मेरो रकम डुव्न जान्छ अतएवः नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११(१) (१२) (२) (१०) र १७ द्वारा प्रत्याभुत गरिएको मौलिकहक समेतवाट वंचित हुन परेकोले अन्य उपचारको अभावमा धारा ८८(२) वमोजिम उत्प्रेषणको आदेश जारी गरी पुनरावेदन अदालत राजविराजको आदेश वदर गरी कानून वमोजिम कारवाही गर्नु भन्ने परमादेशको आदेश उदयपुर जिल्ला अदालतको नाउंमा जारी गरी पाउं भन्ने समेत रिट निवेदन ।

   ३. यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिमको आदेश जारी हुन नपर्ने कारण भए यो आदेश प्राप्त भएको मितिले वाटाको म्याद वाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भनी विपक्षीहरुको नाउंमा सूचना पठाउनु भन्ने यस अदालतको एक न्यायाधीशको इजलासको आदेश ।

      ४. निवेदकले बिपक्षी प्रतिवादी उपर दिएको लेनदेन मुद्दा मिति २०४८।४।२९ मा फैसला भएको छ, उक्त फैसला अन्तिम भएपछि निवेदकले विगो भरी भराउको लागि निवेदन दिएपछि प्रत्यर्थी मनमायाको मिति २०४८।६।११ मा मृत्यु भई निजको नामको सम्पत्ति २०५०।६।१३ मा शम्शेर वहादुरको नाउंमा नामसारी भई गएको देखिन्छ । लाल वहादुर मनमाया र शम्शेर वहादुर वीच २०४०।९।१३ मा अंशवण्डा भएको देखिएको र २०४०।१२।११ र २०४०।१२।१२ मा लाल वहादुरलार्ई ऋण दिएको देखिन्छ । यसरी वण्डा पत्र भई अलग अलग वसी व्यवहार चलाएको अवस्थामा लिएको ऋणलार्ई सगोलमा छदै लिएको मानी सवै अंशियारलाई सो को दायित्व वहन गराउन समेत कानून संगत नहुने भएकोले शम्शेर वहादुर वाट अंश पाउने छोरा लाल वहादुरले भाई नर वहादुरको भाग पाउने र आमा मनमायाको अंशमा निजको हक नलाग्ने गरी मिति २०४०।९।१३ मा अंशवण्डा भएको देखिंदा यस्तो जग्गामा आमा मनमायाको मृत्युपछि लाल वहादुरले खाएको ऋण वापत वावुको नाउंका जग्गा रोक्का राखी विगो असुली तर्फ कारवाही गरेको सम्म मिलेको नदेखिंदा सो कारवाही मात्र वदर भई यस अदालतवाट मिति २०५१।३।३ मा आदेश भएको देखिन्छ । कानून वमोजिम यस अदालतवाट भए गरेका कार्यले निवेदकको कुनै मौलिकहकमा आघात परेको नहुंदा निवेदकको रिट निवेदन खारेज गरी पाउन सादर अनुरोध छ भन्ने समेत विपक्षी पुनरावेदन अदालत राजविराजको लिखित जवाफ ।

      ५. वादी काशीराज राईले २०४८।४।२९ को फैसला बमोजिम सावांव्याज र कोर्ट फि समेत प्रतिवादी लाल वहादुरकी एकाघर सगोलकी आमा मनमाया खड्का नाउं दर्ताको जग्गाहरुवाट भराई पाउं भनी २०४९।९।१ मा दरखास्त दिएकोमा मनमायालार्ई जनाउ दिई कारवाहीमा रहेको र मनमाया खड्का २०४८।६।११ गते स्वयं भै उक्त जग्गा प्रतिवादीको वावु शम्शेर वहादुर खड्काले नामसारी दा.खा. दर्ता गराएको सम्वन्धमा इजलास समक्ष मिसिल पेश हुंदा वादीलाई जग्गा दर्ता भई गएको व्यहोरा सुनाउने आदेश भई वादीलार्ई कागज गराउन लेनदेनको तमसुकमा ऋणी लाल वहादुर खड्का सगोलकै भनी सनाखत समेत गरेकोले लिखत उपर करकाप मुद्दा पर्दा करकाप नठहरी लिखत सद्दे ठहरी २०४८।४।२९ मा फैसला भएकोले  उक्त जग्गा शम्शेर वहादुरले आफ्नो नाउंमा सकार गरेकोले मेरो विगो सोही जग्गावाट भराई पाउं भनी वादीको  वारेसले २०५०।७।१६ मा कागज गरेकोमा वादी काशीराज राईले मेरी श्रीमती मनमाया खडका नाउं दर्ताको जग्गावाट विगो भराई लिन पाउने होइन, प्रतिवादी लाल वहादुर मिति २०४०।९।१३ मा छुटृी भिन्न भई वण्डापत्र समेत पारीत भएको हुंदा अ.वं. ८२ नं. विपरीत दर्ता गराएको दरखास्त वदर गरी पाउं भनी मिति २०५०।६।१८ मा यस अदालतमा निवेदन पर्न आई इजलास समक्ष पेश हुंदा कानून वमोजिम गर्नु भन्ने आदेश भएपछि वादीले देखाएका जग्गाहरुवाट विगो भरी भराउ गर्न डाक वडावढको घछ दिने सूचना प्रकाशित भइरहेको अवस्थामा विगो भरी भराउ गरि दिने गरी भएको जिल्ला अदालतको आदेश वदर गरी रोक्का रहेको जग्गा समेत फुकुवा गरी पाउं भनी शम्शेर वहादुर खडकाको पुनरावेदन अदालत राजविराजमा निवेदन परी के भएको हो प्रतिवेदन गर्नु भन्ने उक्त अदालवाट आदेश प्राप्त भई निवेदन प्राप्त हुन आएको थियो । पुनरावेदन अदालत राजविराजको आदेशानुसार यस अदालतवाट उक्त मुद्दामा सवै विवरण खुलार्ई कैफियत प्रतिवेदन पठाएकोमा विगो असुली तर्फको कारवाही वदर गरी दिएको छ भनी यस अदालतमा प्राप्त भएपछि सो आदेश सहितको मिसिल जिल्ला न्यायाधीशज्यू समक्ष पेश हुंदा कारवाही वदर भई आएकोले रोक्का रहेको जग्गा कानून वमोजिम फूकुवा गरि दिनु भन्ने आदेश भई वदर भएको कारवाहीमा देखाएको जग्गा वाहेक विपक्षीका नाउंमा अन्य कायमी जायजेथा देखाई कानूनका म्यादमा वादीले दरखास्त दिए कानून वमोजिम कारवाही गरी दिने गरी तामेली पर्चा समेत भई सकेकोले उल्लेखित कारणहरुवाट निवेदकको माग वमोजिम रिट जारी हुन नसक्ने व्यहोरा अनुरोध छ भन्ने विपक्षी उदयपुर जिल्ला अदालतको लिखित जवाफ ।

      ६. २०४०।९।१३ मा वण्डापत्र पारीत भइ म संग छोरा लाल वहादुर छुटृी भिन्न भइसकेको अवस्थामा अंशवण्डाको १८ नं. ले कमाएको धन र लाएको ऋण आ-आफ्नो हुने हुंदा वण्डा भइसके पश्चात लाल वहादुरले खाएको ऋण म तथा मेरी श्रीमतीको नाममा दर्ता भएको सम्पत्तिवाट असुल गर्न नमिल्ने कुरा स्पष्ट छ । मनमायाको नामको सम्पत्ति निजकै नाममा रहनु र मेरो नाममा नामसारी हुनुले विपक्षीले भरी पाउने विगोमा कुनै असर पर्न सक्तैन । छुटृी भिन्न भइसकेको अवस्थामा लेनदेन व्यवहारको ८ नं. आकर्षित हुन सक्दैन । अतः विपक्षीको रिट निवेदन खारेज गरी पाउं भन्ने समेत विपक्षी शम्शेर वहादुर खड्काको लिखित जवाफ ।

      ७. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी निवेदकको तर्फवाट विव्दान अधिवक्ता श्री शम्भु थापाले निवेदकले फैसला वमोजिम लिखत वमोजिमको जेथा देखाई दरखास्त दिएकोमा उक्त दरखास्त वमोजिम कारवाही हुंदा हंदैको अवस्थामा शम्शेर वहादुरले आफ्नो नाउंमा दाखिल खारेज गरेको र भरी भराई गराउन अन्य कुनै सम्पत्ति नभएकोले यसवाट भरी भराउ नभएमा निवेदकको रकम  डुव्ने हुंदा विगो असुली तर्फ कारवाही गरेको मिलेको नदेखिएको भनी सो कारवाही वदर गरेको पुनरावेदन अदालत राजविराजको आदेश उत्प्रेषणको आदेशद्वारा वदर गरी कानून वमोजिम कारवाही गर्नु भन्ने परमादेशको आदेश समेत उदयपुर जिल्ला अदालतको नाउंमा जारी हुनुपर्छ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो । विपक्षी शम्शेर वहादुर खड्काको तर्फवाट विव्दान अधिवक्ता श्री भिम वहादुर ढकालले निवेदक काशीराज राईसंग ऋण लिनु भन्दा अगाडि नै लाल वहादुर खड्का छुटृी भिन्न भईसकेकोले लेनदेन व्यवहारको ८ नं. आकर्षित हुदैंन । वण्डा भईसके पश्चात लाल वहादुरले खाएको ऋण ऋणीको वावु तथा आमाको सम्पत्तिवाट असुल गर्न नमिल्ने हुंदा मनमायाको मृत्यु पछि शमशेर वहादुरको नाममा दाखिल खारेज भएको जग्गावाट विगो असुल गर्ने कारवाही वदर गरेको पुनरावेदन अदालतको आदेश कानूनसंगत हुंदा निवेदकको रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।

      ८. उपरोक्त वहसहरु समेत सुनी निवेदकको माग वमोजिमको आदेश जारी गर्नु पर्ने हो होइन त्यसतर्फ निर्णय दिनु पर्ने हुन आयो ।

      ९. ऋणी लाल वहादुर खड्कावाट फैसला वमोजिम भरी पाउने रकम ऋणीको आमा मनमायाको नामको जग्गा देखाई निवेदकले दरखास्त दिई कारवाही चलिरहेको मनमायाको  मृत्युपछि निजको नामको जग्गा ऋणीको वावु शम्शेर वहादुरको नाउंमा नामसारी भई गएपछि विपक्षी शमशेर वहादुरको निवेदन वमोजिम छुटृी भिन्न भएको छोराले लिएको ऋण निजको वावु आमाको सम्पत्तिवाट भराउने कारवाही वेरितको भनी सो कारवाहीलाई वदर गर्ने गरेको पुनरावेदन अदालत राजविराजको आदेश उत्प्रेषणको आदेशद्वारा वदर गरी पाउं भन्ने समेत रिट निवेदकको माग भएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा लाल वहादुर मनमाया र शमशेर वहादुरको वीचमा २०४०।९।१३ मा अंशवण्डा भई पारीत भएको २०४०।१२।११ र २०४०।१२।१२ मा निवेदक काशीराज राईवाट लाल वहादुरले ऋण लिएको देखिएको छ । ऋणीको आमा  मनमायाको नाउंको जग्गा निजको मृत्यु पछि ऋणीको वावु शमशेर वहादुरको नाउंमा नामसारी भइसकेको देखियो । मानो नछुटिृई संग वसेका अंशियार छन् भने मात्र कुनै अंशियारले लगाएको ऋण लि लिनु दिनु अघि नै सवै अंशियारलाई भाग लाग्ने अंशवण्डा को १८ नं. को कानूनी व्यवस्था भएकोले ऋण लिनु दिनु अघि नै ऋणी लाल वहादुर आफ्नो वावु आमा संग अंश लिई छुटृी भिन्न भई सकेको स्थितिमा ऋणीसंग  लिनु  पर्ने रकम वावु आमाको सम्पत्तिवाट भराउन मिल्ने देखिएन । विधिवत अंशवण्डा भइसकेकोमा मानु जोडिएकोमा पारीत लिखतको अभावमा तमसुकमा एकासगोलको वावु भन्ने लेखिदैंमा निजको सम्पत्तिवाट छुटृी भिन्न भएको छोराले लिएको ऋणको दायित्व पुरा गराउन नमिल्ने हुंदा वावु आमासंग अंश लिई भिन्न भई सकेको छोराले लिएको ऋण निजको आमाको नाउंवाट वावुको नाउंमा नामसारी भै गएको जग्गावाट भरी भराउ गर्ने जिल्ला अदालतको कारवाहीलार्ई वदर गरेको पुनरावेदन अदालत राजविराजको आदेश कानून विपरीत भएको नदेखिंदा निवेदकको माग वमोजिम रिट जारी गर्न मिलेन ।

रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिश्चन्द्र प्रसाद उपाध्याय

 

इति सम्व्त २०५३ साल साउन १४ गते रोज २ शुभम् ..

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु