शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२९८ - लिखत बदर दर्ता बदर दर्ता कायम

भाग: ३८ साल: २०५३ महिना: चैत्र अंक: १२

निर्णय नं. ६२९८     ने.का.प. ०५३ अङ्क १२

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

संवत् २०५२ सालको दे.पु.ई.नं.  .... ६९

आदेश मितिः २०५३।१२।१४।५

 

विषयः लिखत वदर दर्ता बदर दर्ता कायम ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला सुनसरी पश्चिम कुसाहा गा.पं. वार्ड नं ५ बस्ने विद्यानन्द साहुतेलीको हकमा   आफ्नो हकमा समेत ऐ.ऐ. बस्ने पुहुपलाल साहु तेली ।

विरुद्ध

विपक्षी

वादी : ऐ.ऐ. बस्ने परमेश्वर साहु तेली ।

     

§  छोराको अपुताली वावुमा पनि जान सक्ने कुरा अपुतालीको ४ नं. को अध्ययनबाट देखिन्छ । भिन्न भएका वावु आमा र एकभन्दा बढी छोराहरु भएकोमा एकै छोरा मरी अपुताली परेको अवस्थामा वावु आमामा नै अपुताली जाने भनी स्पष्ट कानूनी व्यवस्थाको अभावमा उल्लेखित दे.पु.इ.नं. १५७ को मुद्दामा व्यक्त भएको रायको आधारमा समेत मर्ने छोरा नभए सरह उस्को अंश अपुताली सबै अंशियारहरुले भाग वण्डा पाउने गरिनु न्याय र विवेकको दृष्टिकोणले उपर्युक्त हुने ।           

(प्र.नं. २२)

§  छुट्टि भिन्न भएका वावु आमा छोराहरुमा सहोदर तथा वेमातृक पट्टिका भाइ भाइ भएको अवस्थामा कुनै भाइ मरी अपुताली परेको अवस्थामा समान अंशियारहरु सबैले वांडी खान पाउंछ भन्दा बेमातृक पट्टिका भाइ पनि अंशियार हुने भएकोले अपुताली पाउने र साथै वावुले पाएको अपुताली निजपछि वा कुनै व्यहोराबाट बेमातृक पट्टिको भाइ छोरामा जान सक्ने अवस्था हुन्छ, जुनकुरा अपुतालीको १२ नं. को उल्लेखित व्यवस्था प्रतिकुल हुने  ।                

(प्र.नं. २२)

§  जुन कुरा प्रत्यक्ष प्राप्त गर्न पाईदैन सो कुरा परोक्ष रुपमा प्राप्त हुन जाने गरी गर्नु न्यायसंगत नहुने ।

                         (प्र.नं. २२)

§  एउटा कानूनको अर्थ गरींदा अर्को कानूनको व्यवस्थाको प्रतिकुल नहुने गरी गर्न वान्छनिय हुने।      

(प्र.नं.२२)

प्रतिवादी तर्फवाटः विव्दान अधिवक्ता श्री अग्नी खरेल

विपक्षी वादी तर्फवाटःविव्दान अधिवक्ता श्री श्याम प्रसाद खरेल

अवलम्बित नजीरः ने.का.प. २०१८ पृष्ठ १५० निर्णय नंवर १५० मा सिद्धान्त प्रतिपादित ।

 

आदेश

      न्या. कृष्णजंग रायमाझीः २०४५।११।८।२ मा श्री ५ महाराजधिराज सरकारका जुनाफमा विन्तिपत्र परी र मिति २०४९।२।१३।३ तथा मिति ०५२।१।१८।३ मा यस अदालतको संयुक्त इजलासको आदेशानुसार पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।

      २. पुहुप लालका २ श्रीमती जेठी स्व. झूनरी देवी तर्फ विद्यानन्दका पिता जागेश्वर एक भाइ मात्र र कान्छी बुधनी पट्टि २ भाइ जेठो म फेरादी कान्छो रामेश्वर हौं । अंश लिइ आफ्नो आफ्नो व्यवहार गरी आएको छौं । कान्छा रामेश्वर अंशको आयस्ताबाट विद्या अध्ययन गर्ने हुंदा म फिरादी दाजुको संरक्षणमा रही विद्या आर्जन गरेको अवस्थामा रामेश्वर र पिता पुहुपलालले वुधनीको अंशको जग्गा विक्री गर्दा यसै अदालतमा लेखत दर्ता हुंदा दायर गरी कारवाही चलिरहेको अवस्थामा रामेश्वरले पिता पुहुप लाल उपर अनागरीक सम्वन्धी जि.का.सुनसरीमा कारवाही चलेकोले विरोधी भैरहेको थिए । मिति ०४१।१०।१९ गते भाइको मृत्यू भएकोले निजको काजकृया मैले गरी निजको अंश हकको सम्पत्ति अपुताली परि म फिरादीले पाउने हुंदा नामसारीका लागी सिफारिश गरी पाउं भनी स्थानीय गा.पं. मा निवेदन दिई कारवाही चलाई मालपोत कार्यालय सुनसरी तर्फ उजुरी परी कारवाही हुंदा मालपोत कार्यालय सुनसरीले मेरो उजुरी तर्फ केही नवोली पिताका नाउंमा नामसारी गरी दिने गरी ०४२।१।१५ गते निर्णय भएकोले सो निर्णय उपर जि.का. सुनसरीमा पुनरावेदन गरी जग्गा चेक गराउन श्रेस्ता हेर्दा जग्गा लिनेमा विद्यानन्द दिनेमा विपक्षी पुहुपलालले मेरो अपुताली हक लाग्ने जग्गा थैली रु.१३००। जि.सु. इनरुवा गा.पं. वडा नं. ९(ख) कि.नं. १६३ को ज.वि. १०-०-१५ र ऐ कुसाहा गा.पं. वा.नं. ८ (क) कि.नं. ७० को ज.वि. ०-६-५ समेत जग्गा ०४२।२।१७ गते रजिष्ट्रेशन पास गराएको ०४२।२।२१ गते प्रष्ट भएकोले ऐनको म्याद भित्र फिरादी गर्न आएको छु । विद्यानन्दको नाउंको दर्ता वदर समेत गरी मेरो नाउंमा दर्ता कायम गरी पाउं भन्ने समेत व्यहोराको वादीको फिराद पत्र ।

      ३. प्रतिवादी मध्येको म पुहुप लालको २ पत्नी जेठीबाट जागेश्वर साहु भन्ने एक छोरा कान्छी पत्नीबाट परमेश्वर र कान्छो स्व. रामेश्वर समेत गरी जम्मा ३ छोराहरु छन् । सौता सौताको छोराहरु भएवाट अंश मुद्दा दायर गरी ०३८।९।१६ गते मिलापत्र समेत भएको छ । स्व. रामेश्वर साहु अविवाहित नै हुंदा आमा वावुकै संरक्षणमा रहि विद्या आर्जन गर्दै गरेको थियो । कुनै भाइ अंश लिई भिन्न बसेको र कुनै भाइसंग बसेकोमा संग बसेका भाइमा कुनै भाइ मरी अपुताली पर्‍यो मर्ने भिन्न भएको भाइले पाउंदैन । भिन्न वसेको भाइ भाइको अपुतालीमा समेत मर्ने भाइको सहोदर भाइहरुले पाउने र अपुताली हक लाग्ने भए अ.वं. ८२ नं. अपुताली २० नं. ज.प.को १७ नं. वमोजिम वादीको उजुर पर्न सकेको छैन । तसर्थ वादी दावी खारेज गरी प्रतिउत्तर जिकिर वमोजिम वादीका झुठृा दावाबाट फुर्सद गराई पाउं भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर।

      ४. वादी दावा पुग्न नसक्ने ठर्हछ भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको मिति २०४३।१०।८।५ को  फैसला ।

      ५. शुरुको फैसलामा चित्त बुझेन सो फैसला वदर गरी हक इन्साफ गरीपाउं भन्ने वादीको पुनरावेदन पत्र ।

      ६. यस्मा यिनै वादी प्रतिवादीको वीच ०३९।९।१६।५ मा सुनसरी जिल्ला अदालतमा भएको मिलापत्रमा अपुताली पर्ने रामेश्वर समेत अलग भै अंशवण्डा गरी आ-आफ्नो भाग छुटर्‍याई बसेको देखिन आएको र अपुतालीको १२ नं. मा संग वसेपनि खानु पिउनु आफ्नो अंशबाट आफ्ना हिस्सा वमोजिम राखी खाएका रहेछन भने संग बसेको भएपनि त्यस्तोमा र भिन्न बसेको भाइ भाइको अपुतालीमा समेत मर्ने भाइको सहोदर भाइहरुले पाउंछन । बिमातृक पट्टिकाले पाउंदैनन भन्ने कानूनी व्यवस्था भएको । त्यस प्रकार मिलापत्रबाट छुट्टि भिन्न भएको छोरा पुनः वावु प्र. पुहुपलालसंग बसेको मानो जोडिएको रीत पुर्वकको लिखत प्रमाणको अभावमा अपुतालीको उक्त व्यवस्था बमोजिम मृतकको सहोदर दाजु यिनै वादीले अपुताली पाउने  नै देखिंदा वादी दावा अनुसारको लेखत  दर्ता वदर भै वादीका नाउंमा दर्ता कायम हुने ठर्हछ भन्ने व्यहोराको कोशी अंचल अदालतको मिति २०४४।८।२२।३ को फैसला ।

      ७. शुरुको फैसला वदर गरी कोशी अंचल अदालतले वादी दावा अनुसारको लेखत दर्ता वदर गरी वादीको नाउंमा दर्ता कायम हुने ठहर्‍याएको फैसलामा चित्त बुझेन । तसर्थ उक्त कोशी अंचल अदालतको फैसला वदर गरी न्याय पाउं भन्ने समेत व्यहोराको प्रतिवादीहरुको तत्कालिन पुर्वान्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

      ८. वादी परमेश्वर र स्व. रामेश्वर दाज्यूभाइ र प्र. पुहुपलाल वावु हुन भन्ने कुरामा वादी प्रतिवादीको मुख मिलेको देखिन्छ । वादी र प्रतिवादी पुहुपलालको समेत को वीचमा चलेको अंश मुद्दामा ०३८।९।१६ मा भैरहेको मिलापत्रबाट वादी परमेश्वर प्र. पुहुपलाल र स्व. रामेश्वर भिन्न भैसकेको देखिन्छ । यसरी वावु छोराहरु भिन्न भै सकेपछी रामेश्वरको मृत्यु भएबाट रामेश्वरको सम्पत्तिमा अपुताली हक वादीको भन्ने वादी दावी र पुनरावेदन प्रतिवादी पुहुपलाल भन्ने प्रतिवादी जिकिर देखिन्छ । उक्त अंश मुद्दाको मिलापत्र पश्चात स्व. रामेश्वर वादीसंग अंश मिसाई बसेको भन्ने वादी दावीको समर्थनमा कुनै पक्का प्रमाण पेश हुन सकेको नदेखिएकोले स्व. रामेश्वरसंग सगोलमा रहे बसेको भन्ने वादी दावी र प्रतिवादी जिकिर मनासिव  देखिंदैन । अतः यसरी छुट्टि भिन्न भैसकेको व्यक्तिको सम्पत्ति दाजु वा वावु कसलाई अपुताली पर्ने भन्ने सम्वन्धमा कानूनी व्यवस्थातर्फ हेर्दा अपुतालीको १२ नं. मा भिन्न बसेको भाइ र भाइको अपुतालीमा समेत मर्ने भाइको सहोदर भाइहरुले पाउंछन भन्ने उल्लेख भैरहेको देखिन्छ । भिन्न भै बसेको  व्यक्तिको अपुताली वावुले पाउंछ भन्ने व्यवस्था भैरहेको देखिंदैन । तर्सथ वादी दावी वमोजिम लिखत तथा प्रतिवादीको नाममा भएको दर्ता वदर भै वादीको नाममा दर्ता कायम हुने ठहर्‍याएको कोशी अन्चल अदालतको इन्साफ मनासिव हुंदा सदर हुने ठर्हछ भन्ने समेत मिति २०४५।२।३ मा पु.क्षे.अ. वाट भएको फैसला ।

      ९. पुर्वान्चल क्षेत्रीय अदालतबाट ०४५।२।३ मा भएको फैसलामा गलत व्याख्या भै त्रुटीपूर्ण इन्साफ समेत भएको हुंदा उक्त इन्साफ जांच गरी पाउं भन्ने समेत विद्यानन्द साहु तेलीको हकमा र आफ्नो हकमा समेत श्री ५ महाराजाधिराज सरकारको जुनाफमा पुहुप लाल साहु तेलीले चढाएको विन्तिपत्र ।

      १०. प्रतिवादी पुहुपलालका कान्छी श्रीमती बुधनी तर्फका २ छोरा यी वादी परमेश्वर तथा रामेश्वर भएको कुरामा विवाद देखिएन । वादी प्रतिवादी तथा रामेश्वर समेत छुट्टि भिन्न भैसकेको अवस्थामा अविवाहित नै रहेका रामेश्वर परलोक हुंदा अपुतालीको २ नं. वमोजिम वावु प्रतिवादी पुहुपलालले निजको हकवालाको नाताले छोराको अपुताली पाउनेमा अपुतालीको १२ नं. वमोजिम वावु जिवित रहेकै अवस्था दाजु (वादी) ले अपुताली पाउने ठहर्‍याएको पुर्वान्चल क्षेत्रीय अदालतको फैसला त्रुटीपूर्ण देखिंदा इन्साफ जांचका लागि निस्सा प्रदान गरिएको छ भन्ने समेत यस अदालतको मिति ०४९।२।१३।३ को संयुक्त इजलासको आदेश ।

      ११. वादी वेलादेवी साहु तेली प्रतिवादी रामेश्वर प्रसाद साहु तेली समेत भएको लेनदेन मुद्दामा सुनसरी जिल्ला अदालतवाट मिति २०५०।५।१० मा भएको फैसला उपर पु.वे.अ. विराटनगरमा पुनरावेदन परेको छ, छैन बुझि आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत २०५१।२।१७।४ को यस अदालत संयुक्त इजलासको आदेश ।

      १२. लगाउको दे.वि.नं. ९९ को रिट निवेदन पूर्ण इजलासमा पेश हुने भएकोले प्रस्तुत मुद्दा साथै राखी पेश गर्नु भन्ने समेत यस अदालतको मिति २०५२।१।१८।२ को आदेश ।

      १३. नियमानुसार दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट वहसको लागी उपस्थित विद्वान अधिवक्ता श्री अग्नी खरेलले ०३८।११।१८ मा रामेश्वर साहु तेलीले वेनो देवी साहुलाई कि.नं.ज्ञण्द्ध को ०-१-० जग्गा राजीनामा गरी दिंदा पुहुपलाल साहु तेली एकासगोलको वावु भन्ने उल्लेख भएको हुंदा सो रामेश्वरको अपुताली निज एकाघरका वावु पुहुपलालले पाउनु पर्ने हुंदा लिखत सदर हुनुपर्छ भनी तथा विपक्षी परमेश्वरको तर्फबाट वहसको लागी उपस्थित विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेलले वावु र छोरा वीच अनागरीक मुद्दा समेत चलिसकेको छ । एकैसाथ रहे बसेको भन्ने कुनै आधार छैन । पुहुपलाल मर्ने रामेश्वरको एका सगोलमा रहेको पिता नहुंदा निजले अपुताली पाउनु पर्ने होईन र अपुतालीको १२ नं. ले वादीले रामेश्वरको अपुताली पाउने हुंदा लिखत वदर हुनुपर्छ भनी गर्नु भएको वहस जिकिर समेत सुनियो ।

      १४. यस्मा दुवै पक्षका विद्वान अधिवक्ताहरुको वहस जिकिर समेतलाई ध्यानमा राखी मिसिल अध्ययन गरी निर्णय सुनाउनका लागी आजको पेशी तारेखमा तोकिएको प्रस्तुत मुद्दामा पुर्वान्चल क्षेत्रीय अदालतबाट मिति २०४५।२।३।२ मा भएको फैसला मिले नमिलेको के रहेछ सो सम्वन्धमा निर्णय दिनु पर्ने हुन  आयो ।

      १५. प्रतिवादी पुहुपलालको कान्छी श्रीमती वुधनी तर्फका २ छोराहरुमा परमेश्वर र र।मेश्वर भएको कुरामा विवाद नभएको । वादी, प्रतिवादी तथा रामेश्वर समेत छुट्टि भिन्नभै सकेको अवस्थामा अविवाहित नै रहेका रामेश्वर परलोक हुंदा अपुतालीको २ नं. वमोजिम वावु प्रतिवादी पुहुपलालले नजिकको हकवालाको नाताले छोराको अपुताली पाउनेमा अपुतालीको १२ नं. वमोजिम दाजु वादीले अपुताली पाउने ठहर्‍याएको फैसला त्रुटीपूर्ण देखिंदा इन्साफ जांचको लागी निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको संयुक्त इजलासको ०४९।२।१३ को आदेश भएपछि लगाउको दे.वि.नं. ९९ (दे.पु.इ.नं.७०) को मुद्दा पूर्ण इजलासमा पेश हुने भएकोले प्रस्तुत मुद्दा साथै राखि पेश गर्नु भन्ने आदेश अनुसार पूर्ण इजलासमा पेश हुन आएको छ ।

      १६. वादी परमेश्वर, रामेश्वर र निजहरुको आमा वुधनीले पुहुपलाल उपर दिएको अंश मुद्दामा ण्घड।९।१६ मा भएको मिलापत्रबाट वुधनी र पुहुपलाल एका सगोलमा रहने पुहुपलालको जेठी श्रीमती झुनरी तर्फका छोरा जागेश्वर तथा कान्छी तर्फका परमेश्वर, रामेश्वर समेतका ३  छोराहरु सवै अंशवण्डा गरी अलग अलग भएको भन्ने कुरा देखिन आएको छ । यसवाट मर्ने रामेश्वर भिन्न भै अलग बसेको देखिने र कुनै अंशियार समेतसंग अंश मिसाई वसेका भन्न सकिने अवस्था मिसिलबाट देखिन आएको छैन । यस्तो अवस्थामा अविवाहित समेत रहेका रामेश्वरको मृत्यू पश्चात उनको अपुतालीमा कस्को हक हुने हो पहिलो निर्णयको विषयवस्तू देखिन आएको  छ ।

      १७. अपुतालीको १ नं. मा हकवाला भनेको सात पुस्तासम्मको पुरुषतर्फको हांगामा सवैभन्दा नजीकको अंशियार हुन्छ । सात पुस्ता नाघेको टाढाको दाजुभाइ हुन्छ । नजीक र टाढाको हकवालामा छुटयाउदा जो मरी अपुताली परेको हो । उस्को आफ्नै पुरुष तर्फको हङ्गामा सन्तान भए मर्नेको मुल पुरुषको अरु हाङ्गाको हकवाला नजीकको ठहर्दैन ।

      १८. त्यस्तै अपुतालीको २ नं. हेर्दा ...... छोरी नभए संग बसेका हकवाला भए त्यस्ता हकवालाले र त्यस्तो हकवाला नभए अरु हकवालाले अपुताली पाउंछ भन्ने व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दामा मर्ने रामेश्वर अविवाहित रहेकै अवस्थामा परलोक भएकोले निजको सन्तानमा नजीक टाढाको भन्ने प्रश्न छैन । अपुतालीको १ नं. अनुसार वादी र प्रतिवादी मर्ने रामेश्वरको ७ पुस्ताभित्रै भएको र अंश हकको कुरामा समान स्तरका अंशियार हुन भन्ने कुरा अंशवण्डा को १ र २ नं. वाट देखिंदा वादी प्रतिवादी पुहुपलाल मर्ने रामेश्वरका हकवाला हुन भन्ने कुरा  देखिन्छ । यी दुई मध्येको नजीकको अंशियार भन्ने स्पष्ट कानूनी आधार  देखिंदैन । वादी भनेको एकै पुस्ताको हो प्र. पुहुपलाल अगाडि पुस्ताको देखिन्छ ।

      १९. पुर्वान्चल क्षेत्रीय अदालतले फैसला गर्दा छुट्टि भिन्न भैसकेको व्यक्तिको संपत्ति दाजु वा वावु कसलाई अपुताली पर्ने भन्ने सम्वन्धमा अपुतालीको १२ नं. ले भिन्न वसेको भाइभाइको अपुतालीमा समेत मर्ने भाइको सहोदर भाइहरुले पाउंछन भन्ने व्यवस्था रहेको भिन्न भै वसेका वावुले अपुताली पाउंछ भन्ने व्यवस्था भएको नदेखिंदा वादी दावी वमोजिम प्रतिवादीको लिखत दर्ता वदर भै वादीका नाउंमा दर्ता हुने ठहर्‍याएको देखिन्छ ।

      २०. अपुतालीको १२ नं. को अध्ययनबाट भिन्न भएका छोराको अपुतालीमा वावु र दाजु वीच कस्ले अपुताली पाउने भन्ने कुरामा व्यवस्था गरेको नदेखिई भाइ भाइको वीचमा एक भाइ मरी अपुतालीका संवन्धमा व्यवस्था गरेको देखिन्छ । तर अपुतालीको १२ नं ले एउटा कुरा स्पष्ट गरेको पाइन्छ त्यो हो भिन्न वसेको भाइ भाइको अपुतालीमा समेत मर्ने भाइको सहोदर भाइहरुले पाउंछन । विमातृक पट्टिकाले पाउंदैनन् । यसवाट प्रस्तुत मुद्दाका मर्ने रामेश्वरको अपुताली भिन्न भएका विमातृक पट्टीका जागेश्वरले पाउन सक्ने अवस्था भने देखिदैन ।

      २१. ने.का.प. २०२८ भाग १३ अंक १२ पृष्ठ ३९५ मा प्रकाशित २०२८ सालको दे.पु.नं. १५० को जग्गा खिचोला मुद्दामा छोरा मरी परेको अपुताली दाजु र वावु आमाको नगिच हुने भन्ने तर्क प्रस्तुत मुद्दामा प्रासंगिक छैन भन्दै १९।१।१९ मा बुहारी मरी परेको अपुतालीमा ससुरा नगिच हो वा मर्नेको लाग्नेको सहोदर दाजु भार्ई जेठाजु देवर भए निजहरु भए  नजिग हुन्छन हुंदैनन् भन्ने हकमा देवर जेठाजु एकै पिढींका हुन जाने ससुरा अघिल्लो पिठीको हुन जाने हुनाले देवर जेठाजु हकै नलाग्ने भन्ने तर्क मिल्दैनु भनी यस अदालतको पूर्ण इजलासबाट ०२८।८।२४ मा सि द्धान्त कायम भई मर्नेको ससुरा जेठाजु देवर ३ जनाले भाग लगाई भोगी आएकोमा ३ भागको आफ्नो १ भाग अपुताली हकमा खिचोला गरेको भन्ने वादी दावी भएकोमा साविक मुलुकी ऐन, अपुतालीको महल अन्तर्गतको कानूनी व्यवस्थाको व्याख्या गरी डिभिजन वेञ्चका मा.न्या. श्री विश्वनाथ उपाध्यायले व्यक्त गर्नु भएको रायमा वादीको समेत हक लाग्ने गरेको सम्म राय सदर गर्दै दावी वमोजिम खिचोला गरेको ठहरी फैसला भएको देखिन्छ । त्यस्तै ने.का.प. ०१८ पृष्ठ १५० मा प्रकाशित नि.नं. १५७ को वक्स जग्गा मुद्दामा तत्कालिन प्रचलित मुलुकी ऐनको अपुतालीको १ नं. ले छोराको अपुतालीमा वावुको हक हुने भनी अंशवण्डाको ३४  र दान दातव्यको ४(क) सन्दर्भमा व्याख्या भै पूर्ण इजलासबाट सिद्धान्त कायम भएको पनि  देखिन्छ।

      २२. प्रस्तुत  मुद्दा  उल्लेखित  दुवै मुद्दाहरु भन्दा वेग्लै प्रकृतिको छ । छोराको अपुताली वावुमा पनि जान सक्ने कुरा अपुतालीको ४ नं.को अध्ययनबाट  देखिन्छ । भिन्न भएका वावु आमा र एकभन्दा वढी छोराहरु भएकोमा एकै छोरा मरी अपुताली परेको अवस्थामा वावु आमामा नै अपुताली जाने भन्ने स्पष्ट कानूनी व्यवस्थाको अभावमा उल्लेखित दे.पु.इ.नं. १५७ को मुद्दामा व्यक्त भएको रायको आधारमा समेत मर्ने छोरा नभए सरह उस्को अंश अपुताली सवै अंशियारहरुले भागवण्डा पाउने गरीनु न्याय र विवेकको  दृष्टिकोणले उपयुक्त हुने देखिन्छ ।  तर छुट्टि भिन्न भएका वावु आमा छोराहरुमा सहोदर तथा वेमातृक पट्टिका भाइ भाइ भएको अवस्थामा कुनै भाइ मरी अपुताली परेको अवस्थामा समान अंशियारहरु सवैले वांडी खान पाउंछ भन्दा वेमातृक पट्टिका भाइ पनि अंशियार पनि हुने भएकोले अपुताली पाउने र साथै वावुले पाएको अपुताली निजपछि वा कुनै वेहोराबाट बेमातृक पट्टिको भाइ छोरामा जान सक्ने अवस्था हुन्छ, जुन कुरा अपुतालीको १२ नं. को उल्लेखित व्यवस्था प्रतिकुल हुने देखिन्छ ।  प्रस्तुत मुद्दामा  यस्तै अवस्था भएकोले अंशियारको नाताले वेमातृक पट्टिका भाइले पनि मर्नेको अपुताली पाउंछ भन्न तथा वावु प्रतिवादी पुहुपलालले मर्ने रामेश्वरको अपुताली हक पाउंछ भन्नलाई सो अपुताली संपत्ति निजको जेठी श्रीमती पट्टिको छोरा विद्यानन्दको वावु जागेश्वरमा समेत निजबाट विभिन्न तरिकाबाट जान सक्ने भएकाले पनि उल्लेखित कानूनको मनसाय विपरित हुन जाने देखिन्छ । जुन कुरा प्रत्यक्ष प्राप्त गर्न पाईदैन सो कुरा परोक्ष रुपमा प्राप्त हुन जाने गरी गर्नु न्याय संगत हुदैन । एउटा कानूनको अर्थ गरींदा अर्को कानूनको व्यवस्थाको प्रतिकुल नहुने गरी गर्न वान्छनिय हुन्छ । तसर्थ प्रस्तुत मुद्दामा अपुतालीको १२ नं. ले भिन्न भई वसेका मर्ने रामेश्वरको अपुताली हक निजको सहोदर दाजु परमेश्वरले पाउने भएकोले वादी दावी अनुसारको लिखत दर्ता वदर भै वादीको नाउंमा दर्ता कायम हुने ठहर्‍याएको कोशी अन्चल अदालतको इन्साफ सदर गरेको पु.क्षे.अ. को इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं

 

न्या. हरि प्रसाद शर्मा

न्या. केदारनाथ आर्चाय

 

ईति संवत् २०५३ साल चैत्र १४ गते रोज छ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु