शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३०२ - निखनाई पाऊँ

भाग: ३८ साल: २०५३ महिना: चैत्र अंक: १२

निर्णय नं. ६३०२  ने.का.प. ०५३ अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय

संवत् २०५३ सालको दे.पु.नं. ... ३८६२

फैसला मितिः २०५३।१२।१९।३

 

मुद्दा : निखनाई पाउं ।

पुनरावेदक

वादीः का..जि. का.म.न.पा. वडा नं. १३ छाउनी बस्ने वर्ष ५९ को शिव प्रसाद श्रेष्ठ

विरुद्ध

विपक्षी

प्रतिवादीः का.जि. का.म.न.पा. वडा नं. २४ वटु गुच्चा टोल बस्ने शरद श्रेष्ठ

 

§  क्षेत्राधिकार नभएको अदालतद्वारा मुद्दाको औचित्यमा प्रवेश गरी निर्णय दिन क्षेत्राधिकारको अभाव देखाई खारेज गरेको कारणले क्षेत्राधिकार सम्पन्न अदालतलाई सो खारेजी फैसला प्राङन्यायको रुपमा प्रभावी हुन्छ भन्न नमिल्ने ।      

         (प्र.नं. ९)

§  अ.वं. ८५ नं. ले अड्डामा मुद्दा परि फैसला भएपछि भन्ने वाक्यांशमा अडृाको फैसलाको अर्थ र अवधारण अधिकार विहिन अड्डाको फैसलालाई होईन अधिकारयुक्त अड्डाको फैसलालाई जनाउने । 

(प्र.नं. ९)

     

पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा

विपक्षी तर्फवाटः

अवलम्बित नजीरः

 

फैसला

      न्या.केदारनाथ उपाध्याय: पुनरावेदन अदालत, पाटनको मिति ०५३।१।११ गतेको फैसला   उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

      २. का.जि. का.न.पं. वडा नं. २४ कि.नं. १४०५ को ०-०-१-२ जग्गा र सो जग्गामा बनेको पक्की घर र घरले चर्चेको लगापात समेत छ जवानका नाउंमा साझा हक कायम भएको उक्त घरको ५ खण्डको १ खण्ड दर्तावाला मध्येकै ज्ञान प्रसाद श्रेष्ठले ०४४।७।१३ मा र.नं. १६९३ (क) वाट मालपोत कार्यालय काठमाडौंबाट मोल रु.३,४००। मा विपक्षी शरद श्रेष्ठलाई हालैको वक्सपत्र पारित गरी दिएको कुरा थाहापाई रु.३,४००। र रजिष्ट्रेशन दस्तुर रु.५००। समेत धरौटी राखी मालपोत कार्यालय काठमाडौंमा हक निखनाई पाउं भनी उजुरी दिएकोमा अधिकार क्षेत्र भित्र पर्दैन भनी फैसला भएको र सो फैसलालाई वा.अं.अ. र म.क्षे.अ.ले सदर गरेकोले फिराद गर्न आएको छु। सो लिखत वमोजिमको घर दानवक्सको महलको ३ नं. वमोजिम लिखत वमोजिमको थैली विपक्षीलाई बूझाई म फिरादीको नाममा हक निखनाई पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।

      ३. उल्लेखित कि.नं. १४०५ को घर मिति ०४३।१०।१४ मा का.जि.अ. को आदेश मुताविक विपक्षी शिव प्रसाद लगायत दाता ज्ञान प्रसाद, लोक प्रसाद, राजेन्द्र प्रसाद, र नगेन्द्र प्रसाद गरी ५ जवानले संयुक्त चलन पाई संयुक्त ज.ध.प्र.पुर्जा समेत पाएतापनि विपक्षी लगायत ५ जवान दाजूभाइ उक्त घरमा नवसी धेरै अघिदेखि अन्यत्र बसी आएका छन । विपक्षी शिव प्रसाद का.जि. छाउनीमा घर बनाई बसी आएका छन् भने अन्य दाजूभाई कपिलवस्तूमा वसेका छन् । विपक्षी लगायतका पाचै जनाले उक्त घर आफ्नो आफ्नो भागको जति भाडामा दिई आएको हुंदा मैले भाडामा लिई बसी आएकोमा दाता ज्ञान प्रसादले ०४४।७।१३ मा र लोक प्रसादले ०४५।९।२३ मा आ आफ्नो भाग जति हा.व. मा पारित गरी दिएका हुन । विपक्षीका छ दाजुभाइ धेरै पहिले देखि आ आफ्नो अंश भाग लिई अलग वसी आएका हुंदा आफ्नो भाग जति आफ्नो खुशी गर्न पाउने कुरामा विवाद छैन । विपक्षीलाई प्रस्तुत फिराद गर्ने हकदैया छैन । विपक्षीको हचुवा झुठा र गैरकानूनी फिराद खारेज गरी हचूवा गैरकानूनी फिरादबाट अलग फुर्सद दिलाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी शरद श्रेष्ठको प्रतिउत्तर पत्र ।

      ४. प्रतिवादी ज्ञान प्रसाद श्रेष्ठको नाउंमा मिति ०४६।१द्द।५ मा तामेल भएको म्यादमा प्रतिउत्तर पत्र नदिई शुरु म्यादै गुजारी बसेको ।

      ५. वादी दावी अनुसार निखनाई पाउने ठहर्छ भन्ने शुरु काठमाडौं जिल्ला अदालतको मिति ०५०।२।३२।२ को फैसला ।

      ६. शुरु काठमाडौं जिल्ला अदालतले गरेको फैसलामा गम्भीर कानूनी त्रुटी रहेको हुंदा उक्त फैसला उल्टी गरी इन्साफ पाउं भन्ने प्रतिवादीको पुनरावेदन अदालत, पाटनमा परेको मिति २०५०।६।१२।३ को पुनरावेदन ।

      ७. यसमा तह तहको फैसलाबाट वादीको दावी खारेज हुने ठहरी फैसला भएपछि उही वादीले पुनः नालेस गर्न पाउने नपाउने सम्वन्धमा हद म्यादका प्रश्नमा शुरु फैसला विचारणीय हुंदा अ.वं. २०२ नं. वमोजिम झगडीया झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति ०५२।३।२७।३ को आदेश ।

      ८. प्रस्तुत मुद्दा र तत्कालिन म.क्षे.अ.बाट फैसला भएको मुद्दाका पक्ष विपक्ष र मुद्दाको विषय वस्तु एउटै देखिएबाट एक पटक मुद्दा परी अदालतबाट फैसला भैसकेपछि सो उपर पुनरावेदन परेको नभै पुनः फिराद दायर गरेको देखिंदा प्रस्तुत फिराद अ.वं. ८५ नं. वमोजिम लाग्न नसक्नेमा शुरुले फिराद लिर्ई तथ्य भित्र प्रवेश गरी निखनाई पाउने ठहर्‍याएको इन्साफ नमिलेकोले उल्टी भै प्रस्तुत फिराद खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति ०५३।१।११ को फैसला ।

      ९. नियमानुसार पेश हुन आएको प्रस्तुत पुनरावेदन  सहितको मिसिल अध्यन  गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले प्रस्तुत गर्नु भएको वहस समेत सूनियो । यसमा वादी दावी अनुसार निखनाई पाउने ठहर्‍याएको शुरु जिल्ला अदालतको फैसला उल्टी गरी फिराद खारेज  गर्ने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ, छैन ? सो विषयमा निर्णय दिनु पर्ने देखिन आयो । निर्णय तर्फ विचार गर्दा यस्मा साझा हक कायम भएको कि.नं. १४०५ को जग्गा र सो जग्गामा बनेको घर समेत दर्तावाल मध्येका ज्ञान प्रसाद श्रेष्ठले विपक्षी शरद श्रेष्ठलाई हा.व. पारित गरी दिएकोमा हक निखनाई पाउं भनी यीनै पुनरावेदकले मालपोत कार्यालय, काठमाडौंमा उजुरी गर्दा सो कार्यालयले अधिकार क्षेत्र भित्र नपरेको भनी फैसला गरेको र सो फैसलालाई वा.अं.अ. र म.क्षे.अ. ले सदर गरेपछि प्रस्तुत मुद्दाको फिराद का.जि.अ. मा परेको देखिन्छ, का.जि.अ.बाट वादी दावी बमोजिम निखनाई दिने ठहर भएकोमा सो उपर पुनरावेदन परी पुनरावेदन अदालतबाट प्राङन्यायको सिद्धान्तको आधारमा फिराद खारेज गरेको देखिन्छ । प्रस्तुत मुद्दामा हक वेहक गर्नु पर्ने अवस्था देखाई मालपोत कार्यालयले आफ्नो क्षेत्राधिकार नभएको भनी खारेज गरेकोले म.क्षे.अ. बाट समेत सदर गरी अन्तिम भएको मुद्दामा वादी दावी वमोजिम बक्सपत्रको लिखतको घर जग्गा निखनाई पाउने हो होईन मुद्दाको विषय  वस्तूमा  प्रवेश  गरी औचित्य सम्वन्धमा निर्णय गरेको देखिएन । क्षेत्राधिकार नभएको अदालतद्वारा मुद्दाको औचित्यमा प्रवेश गरी निर्णय दिन क्षेत्राधिकारको अभाव देखाई खारेज गरेको कारणले क्षेत्राधिकार सम्पन्न अदालतलाई सो खारेजी फैसला प्राङन्यायको रुपमा प्रभावी हुन्छ भन्न मिल्ने देखिंदैन । तसर्थ अ.वं. ८५ नं. ले अड्डामा मुद्दा परी फैसला भएपछिू भन्ने वाक्यांशमा अडृाको फैसलाको अर्थ र अवधारणा अधिकार विहिन अड्डाको फैसलालाई होईन अधिकारयुक्त अड्डाको फैसलालाई जनाउने कुरा स्पष्ट छ ।

 

      १०. पुनरावेदन अदालत पाटनद्वारा वादीको फिराद नलाग्ने भनी प्राङन्याय र अ.वं. ८५ नं. को आधार लिएको वूंदा नमिलेको देखिएपनि दान बक्सको महलको ३ नं. को सन्दर्भमा हेर्दा मिति ०४४।७।१३ मा पारित बक्सपत्रको लिखतका सम्वन्धमा ०४६।१०।१० मा बक्सपत्र वदरमा परेको वादीको नालेस हदम्याद भित्रको नदेखिएकोले फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिव ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानूसार गरी बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. हरिश्चन्द्र प्रसाद उपाध्याय

 

ईति संवत् २०५३ साल चैत्र १९ गते रोज ३ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु