निर्णय नं. ७४८६ - ज्यान मार्ने उद्योग

निर्णय नं.७४८६ ने.का.प.२०६२ अङ्क १
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह
सम्वत् २०५७ सालको फौ.पु.नं. २६३३
फैसला मितिः२०६१।१।१२।२
मुद्दाः– ज्यान मार्ने उद्योग ।
पुनरावेदक/वादीः खगेन्द्र पोखरेलको जाहेरीले वादी श्री ५ को सरकार
बिरुद्ध
प्रत्यर्थी/प्रतिवादीः जिल्ला सुनसरी इटहरी न.पा. वडा नं. ८ मा वस्ने विनोद नेपाल
§ पछाडि तिरवाट पिठ्यूमा हिर्काएको २.५ से.मी लामो काटेको मांसपेशी, पाताको हाड, फोक्सोलाई ढाक्ने पातलो झिल्ली समेतलाई छेडेको छातीको दाहिने खोक्रो ठाउं (Chest cavity right) सम्म चोट परेको देखिन्छ । परीक्षण गर्ने चिकित्सकले धार भएको हतियारले चोट परेको उल्लेख गर्नुको साथै सो चोटवाट पीडित मर्न सम्भव भनी मर्न सक्ने राय समेत दिएको देखिदा घाउको विवरण एवं चिकित्सकको राय समेतवाट पिडितको घाउको स्थिती गम्भीर रहेको रघाउवाट ज्यानसम्वन्धीको १५ नं. बमोजिम मर्ने सम्मको घाउ भएको देखिन आउने ।
(प्रकरण नं.१९)
§ वारदातको प्रत्यक्षदर्शी शंकर भन्ने गणेश के.सी, नारायण साहु समेतको अधिकारप्राप्त अधिकारी समक्ष कागज तथा अदालतको वकपत्र समेतवाट प्रतिवादीले पीडितलाई छुरा प्रहार गरेपछि पुनः प्रहार गर्न खोज्दा गणेशले रोकेको भन्ने उल्लेख गरेका र सोही व्यहोराको किटानी जाहेरी समेत हुंदा प्रतिवादीले मार्ने उद्देश्यले नै छुरी हानी पुनः अर्को पटक हान्न खोज्दा बीचमा अर्को पक्षको अप्रत्याशित हस्तक्षेपवाट सो कार्य रोकिन गई पीडितको ज्यान मर्नवाट वच्न गएको भन्ने देखिन आउने ।
(प्रकरण नं.२०)
§ पीडितको मर्नेसम्मको घाउ परेको, प्रतिवादीले पुनः छुरी प्रहार गर्न खोज्दा तेश्रो पक्षको अप्रत्याशित हस्तक्षेपवाट प्रहार गर्न नपाइ ज्यान नमरेको, प्रतिवादीको ज्यान लिनुपर्नाको सम्मको पूर्व रिसइवि भई अपराधिक मनसाय भएको प्रतिवादीले वारदात दिन समयमा वारदातस्थलमा नभै वाहिर थिए भनि लिएको Alibi जिकिरको सवुदद्वारा पुष्टी गराउन नसकेको, वारदातमा प्रयोग गरेको छुरी आफ्नै हो भनी बरामदी मुचुल्कामा प्रतिवादीले सनाखत गरेको समेतवाट प्रतिवादी कसूरदार देखिंदा प्रतिवादीलाई ज्यानसम्वन्धीको १५ नं. वमोजिम ५ बर्ष कैद हुने ।
(प्रकरण नं.२१)
पुनरावेदक वादी तर्फवाटः विद्धान सह न्यायाधीवक्ता श्री राज नारायण पाठक
प्रत्यर्थी प्रतिवादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.अर्जुनप्रसाद सिंहः पुनरावेदन अदालत विराटनगरको मिति ०५७।३।२२ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) को देहाय (ग) वमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :-
२. २०५४।७।१५ गतेका दिन अं वेलुका ६ वजेको समय तिहारमा गणेश के.सी. र विनोद नेपाल विचमा तासको निउंमा विवाद हुंदा मेरो भाई शिव पोखरेलले देखि २ झापट दिएर छुट्टाइ घरतर्फ पठाई दिएकोमा विनोदले तिमी मलाई हिर्काउने पर्ख तलाई कुनै दिन मारेर फाली दिन्छु भनि ज्यान मार्ने इविराखी छुरी समेत वोकी हिडने गरी रहेको थिए । यस्तैमा ०४५।११।२५ गते सांझ ७ वजेको समयमा भाई पिडित शिव पोखरेल इटहरी मनोज थापाको पान पसल अगाडी आई पुग्दा त्यहां निजका साथीहरु नारायण साहु समेत संग भेट भई फलैचामा वसी गफगरी रहेका थिए । यसै क्रममा विनोद नेपाल र अन्य नचिनेका ४ जनाकेटाहरु आई चारै तर्फवाट छेकी विनोद नेपालले भाई शिव पोखरेललाई ऐ अस्ती विनोदसंग झगडा हुंदा तैले मलाई झापडले हिर्काएको हैन आज तेरो ज्यान मारी दिन्छु भन्दै आफुले कम्वरमा सिउरेको धारीलो छुरी निकाली पिडित शिव पोखरेलको दाहिने पाता नजिक पिठ्युमा प्रहार गरे त्यसपछि सोही छुरी निकाली पुनः दोश्रो पटक प्रहार गर्न खोज्दा गणेश के.सि.ले रोकेपछि गणेश के.सी. दौडदै हाम्रो घरमा आई उपरोक्त घटना भनेपछि तुरुन्त घटनास्थलमा जांदा भाई वेहोस अवस्थामा देखि निजलाई वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगी आई.सि.यू.मा राखी उपचार भइरहेको हुंदा निज विनोद नेपालले पुर्व रिसइवि राखी भाईलाई मार्ने योजना गरी जोखिमी हतिमयार छुरा प्रहार गरी हाल पनि मर्ने वाच्ने दोसाधमा रहेको हुंदा निजहरुलाई ज्यान सम्वन्धीको १५ नं. वमोजिम सजाय गरिपाउं भन्ने जाहेरी ।
३. २०५५।३।२५ गते सांझ अं. ७ वजे तिर इटहरी वजार घुमी आफ्नो घर तर्फ फर्कदै गर्दा मनोज थापाको पान पसलमा आई पुग्दा पान पसल अगाडी फलैचामा रहेका गणेश के.सी. नारायण साहु, देव श्रेष्ठ, मनोज थापा, गफगरी वसी रहेका भेटाए निजहरु सांझ पनि एकछिन वसी गफ गर्दै थिए, तेति नै खेर विनोद नेपाल सहित मैले नचिनेका ४,५ जना कुन्डलेहरु आई अस्ती गणेश के.सी. संग मेरो झगडा हुंदा छुट्टाई मलाइनै झापट हिर्काउने होइनस आज तलाई नमारी छाडदिन भनी विनोदले पछाडी कम्मरवाट धारीलो छुरी निकाली मैले केही भन्ननै नपाई मेरो दाहिने पाता नजिक पिठ्युमा प्रहार ग¥र्यो मैले आइया भनी भुइमा लडे तेस पछि के भयो थाहा छैन, ०५५।३।२६ गते वेलुकी तिर होस आउदा म अस्पतालको वेडमा भर्ना भै उपचार भै रहेको रहेछ विनोद संग खासै रिस इवि केही थिएन, ०५४ सालको दिपावलीमा गणेश र विनोद विच तासको निहुमा विवाद भै हात हालाहाल भएको मैले थाहा पाइ मैले दुवै थरिलाई भाइ संझी छुट्याई दिएको थिए, निजले सोही विषयलाई लिई पूर्वाग्रह राखेका रहेछन भन्ने समेत व्यहोरोको घाइते शिव पोखरेलको प्रहरीमा भएको कागज ।
४. शिव पोखरेल गाउकै साथी हो, मिति ०५५।११।२५ गते मैले शिव पोखरेललाई छुरी हाने, निजलाई घाइते वनाई म फरार भएको हो । सो छुरी हान्नु पर्ने कारण पूर्व रिसइवि र स्थानिय निर्वाचनमा भनाभन तथा तिहारमा भएको झगडाको रिसइविले तेसरी मैले छुरी हानेको हुं मैले मार्ने उद्देश्यले हानेको होइन रिसको आवेसले हानेको हो भन्ने समेत व्यहोराको प्र. विनोद नेपालको प्रहरीमा भएको वयान ।
५. विनोद नेपालले देखाएको स्थानमा खिया परेको फलामको लम्वाई १ फिट चौडाई एक इन्च भएको काठको विड भएको छुरी हतियार वरामद गरेको ठीक हो भन्ने समेत व्यहोराको ०५५।७।२६ को वरामदी मुचुल्का ।
६. मैले शिव पोखरेललाई प्रहार गरेको छुरी यही हो भन्ने समेत व्यहोराको विनोद नेपालको सनाखत कागज ।
७. २०५४।११।२५ गते घरमै थिए विनोद नेपालले शिव पोखरेललाई छुरी हान्यो भन्ने हल्ला सुनेको दुर्घटनास्थलमा पुग्दा घाइतेलाई उपचारको लागि धरान लगी सकेका थिए भन्ने समेत व्यहोराको दिपक खडकाको प्रहरीमा भएको कागज ।
८. २०५४।११।२५ गते सांझ ७ वजेको समयमा गाउकै विनोद नेपालले शिव पोखरेललाई छुरी प्रहार गरेको हो पुरानो रिसइविको कारणले छुरी हानेको कुरामा विश्वास लाग्छ भन्ने समेत व्यहोराको राजेन्द्र रिजालको प्रहरीमा भएको कागज ।
९. जाहेरीमा उल्लेखित मिति समयमा जाहेरवालाको भाइ तथा म गणेश साहु र अन्य हामीहरु गफ गरी रहेका अवस्थामा विनोद नेपाल र नाम नजानेका ३।४ जना केटाहरु आई शिव पोखरेललाई घेराहाली मलाई कुटने यही शिवे हो भनी छुरी निकाली शिव पोखरेलको पछाडी प्रहार गर्यो तेस अवस्थामा म पनि तेही भएकोले निजलाई समाउनलाग्दा निजहरु भागे विनोदले मार्ने उद्देश्यले छुरी हानेको हो भन्ने समेत व्यहोराको मोहन कार्कीको प्रहरीमा भएको कागज ।
१०. विनोद नेपालले पहिलाको रिसइवि साधनलाई छुरा हानेकोमा विश्वास लाग्छ भन्ने व्यहोरोको मिल्दोजुल्दो वस्तुस्थिति मुचुल्का ।
११. प्रतिवादी विनोद नेपालले छुरी जस्तो घातक हतियारले अति संवेदनशिल अंग छाती पिठ्यूंमा प्रतिवादी विनोद नेपालले छुरी जस्तो घातक हतियारले पिठ्युंमा ज्यान मार्ने मनसायले प्रहार गरी पिडीतको ज्यान मार्ने उद्योग गरी ज्यान सम्वन्धीको १ र १५ नं. को कसूर गरेको ठहर्छ । प्रतिवादीलाई ऐ. को १५ नं. ले ५ बर्ष कैद हुने ठहर्छ भन्ने समेतको शुरु सुनसरी जिल्ला अदालतको ०५६।५।३१ को फैसला ।
१२. सुनसरी जिल्ला अदालतले प्रमाणको उचित विवेचनानै नगरी र सैद्धान्तिक त्रुटी गरी भएको फैसला वदर गरी प्रस्तुत अभियोगवाट सफाई पाउं भन्ने समेतको पुनरावेदक प्रतिवादीको पुनरावेदन पत्र ।
१३. शुरु सुनसरी जिल्ला अदालतको फैसला प्रमाण मुल्यांकन र यस सम्वन्धी सम्मानित श्री सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्त समेतका परिप्रेक्ष्यमा विचारणीय देखीएकोले छलफलमा उपस्थित हुनु भनी अ.वं. २०२ नं. र पुनरावेदन अदालत नियमावली २०४८ वमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय विराटनगरलाई यो आदेशको प्रतिलीपी सहीत पेशीको सूचना दिई नियमानुसार गरी पेश गर्नु भन्ने समेतको आदेश ।
१४. सुनसरी जिल्ला अदालतले प्रतिवादी उपरको अभियोग दावी पुग्ने ठहराई मुलुकी ऐन ज्यान सम्वन्धीको १५ नं. वमोजिम कैद बर्ष ५ गरेको फैसला मिलेको नदेखिंदा उल्टी हुन्छ । वारदातको प्रकृतिवाट प्रस्तुत घटना ज्यान मार्ने उद्योग भित्र पर्न नसक्ने भै कुटपिटको घटना देखिएकोले सरोकारवाला पिडित शिव प्रसाद पोखरेलले सरकारी मुद्दा सम्वन्धी ऐन २०४९ को दफा २७ वमोजिम कारवाही चलाउनु चाहेमा निजलाई झिकाइ वादी कायम गरी कानून वमोजिम कारवाही किनारा गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको ०५७।३।२२ को फैसला ।
१५. जाहेरवालाले प्रतिवादी उपर किटानी जाहेरी दिएको र सोलाई वकपत्रवाट समेत पुष्टी गरेको छ । प्रत्यक्षदर्शी शंकर भन्ने गणेश के.सी.ले अधिकार प्राप्त अधिकारी र अदालत समक्ष गरेको वकपत्रवाट पिडित र प्रतिवादी विचमा रिसइवी रहेको भनी उल्लेख गरेको पाइन्छ । प्रतिवादीले छुरा प्रहार गर्नु अगाडी मलाई तिहारमा पिट्ने शिवेलाई मार्छु भनी प्रहार गरेका र घटना घट्नु अघि कुनै विवाद समेत नभएकोले पुरानो रिसइविले छुरा प्रहार गरेको प्रष्ट हुन्छ । प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष साविती भई वयान गरेको र सो साविती घा चोट समेतवाट पुष्टि भइ रहेको छ । पुनरावेदन अदालत विराटनगरको फैसला वदर गरी पाउं भन्ने समेतको वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन ।
१६. प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष साविती वयान गरेको र सो सावितीलाई घाइतेको वकपत्र घा केश फाराम तथा मुचुल्काले पुष्ट्याई गरेको, शंकर भन्ने गणेश के.सी. समेतका व्यक्तिहरुले वचाएकोले ज्यान बच्न गएको, समेतवाट पुनरावेदन अदालतको फैसला फरक पर्ने हुंदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने यस अदालतको २०६१।४।२८ को आदेश ।
१७. नियमवमोजिम पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट उपस्थित विद्धान सहन्यायाधिवक्ता श्री राज नारायण पाठकले घाइते शिव प्रसादको अदालतको वकपत्रवाट प्रतिवादीले ज्यान मार्ने उद्देश्यले छुरी प्रहार गरेको भनी लेखाइ दिएका छन । प्रतिवादी र घाइते विच २०५४ सालको तिहारमा शिव प्रसाद र गणेश के.सी विच चलेको विवाद मिलाउन दुवै पक्षलाई प्रतिवादीले एक एक झापट हिर्काएकोले सोही कारणवाट रिसइवी रहेको भन्ने कुरा प्रष्ठ भइरहेको छ । घा केश फाराम तथा मुचुल्का, प्रत्यक्षदर्शीहरुको कागज समेतवाट प्रतिवादीको साविती वयान समर्थित भइरहेको छ । पुनरावेदन अदालतको फैसला वदर गरी पाउं भनी वहस प्रस्तुत गर्नु भयो ।
१८. उपरोक्त वहस समेत पुनरावेदन सहितको मिसिल कागजातहरु अध्ययन गरी निर्णय तर्फ विचार गर्दा यसमा निम्न लिखित प्रश्नहरुको जवाफ दिनु पर्ने देखियो ।
(१) घाइते अर्थात पिडीतको घाउवाट ज्यान सम्वन्धीको १५ नं. वमोजिम मर्ने सम्मको अवस्था छ, छैन ?
(२) प्रतिवादीको ज्यान मार्ने मनसाय रहे नरहेको र तेश्रो पक्षको अप्रत्याशित हस्तक्षेपवाट, पिडितको ज्यान वच्न गएको हो, होइन ?
(३) पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ, छैन साथै पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ?
१९. सर्वप्रथम पहिलो प्रश्न तर्फ विचार गर्दा घां जांच विवरणवाट मांसपेशी पिठ्यूको पाता फोक्सोलाई ढाक्ने पातलो झिल्ली समेतलाई छेडेको, २.५ से.मी. लामो ३५ दिन भित्र निको हुने, धार भएको हतियारले काटेको, मर्ने संभावना रहेको तर कडा नभएको भन्ने देखिन्छ । ज्यान मार्ने उद्योगको कसुर हुनको लागी घाइतेलाई चोट मर्का तथा घाउ पर्ने गरी जुनसुकै काम गरी सकेको र सो कार्यवाट पिडित मर्ने तर बीचमा कुनै कारणपरि मर्न नपरेको स्थिति हुनु पर्ने व्यवस्था ज्यान सम्वन्धीको १५ नं. मा उल्लेख भइरहेको पाइन्छ । प्रस्तुत मुद्दाको घाइतेको घा जांच विवरणवाट मर्ने सम्भावना भन्ने उल्लेख भएको पाइन्छ । घाउको अवस्थिती हेर्दा पछाडी तिरवाट पिठ्यूमा हिर्काएको २.५ से.मी लामो काटेको मांसपेशी, पाताको हाड, फोक्सोलाई ढाक्ने पातलो झिल्ली समेतलाई छेडेको छातीको दाहिने खोक्रो ठाउं (Chest cavity right) सम्म चोट परेको देखिन्छ । परिक्षण गर्ने चिकित्सकले धार भएको हतियारले चोट परेको उल्लेख गर्नुको साथै सो चोटवाट पिडित मर्न सम्भव भनी मर्न सक्ने राय समेत दिएको देखिन्छ । तसर्थ, घाउको विवरण एवं चिकित्सकको राय समेतवाट पिडितको घाउको स्थिती गम्भीर रहेको र घाउवाट ज्यान सम्वन्धीको १५ नं. वमोजिम मर्ने सम्मको घाउ भएको देखिन आयो ।
२०. दोश्रो प्रश्न तर्फ विचार गर्दा प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा पिडितलाई छुरी हानी घाइते वनाइ फरार भएको हो । पान दोकान अगाडी पिडित वसी रहेको अवस्थामा मैले पुर्व रिसइवि साध्नलाई एक्कासी निजको दाहिने पाता नजिक पिठ्रयूमा आफुले वोकेको चुच्चे धारिलो छुरी प्रहार गरेको हो । स्थानीय निर्वाचन र तिहारमा भएको झगडाको रिस इविले छुरी हानेको हो । मार्ने उद्देश्यले छुरी प्रहार गरेको होइन भन्ने समेत व्यहोरा उल्लेख गरेको देखिन्छ । अदालत समक्ष वयान गर्दा आरोपित कसुरमा इन्कार रही वारदात समयमा वारदात स्थलमा नभै काठमाडौंमा रहेको भनी Alibi जिकिर समेत लिएको देखिन्छ । वारदातको प्रत्यक्षदर्शी शंकर भन्ने गणेश के.सी, नारायण साहु, मनोज थापा समेतले अधिकार प्राप्त अधिकारी समक्ष तथा अदालतमा समेत आई वकापत्र गर्दा ४।५ जना केटाहरु शिव पोखरेलको ठाउंमा गै घेरा हाली विनोद नेपालले तिहारमा मलाई झापट हान्ने यही हो भन्ने आवाज निकाली आफुले वोकेको छुरीले एक्कासी शिव पोखरेलको पछाडी वायां पाताको नजिक पिठ्यूमा छुरा प्रहार गरे पुनः प्रहार गर्न खोज्दा गणेशले रोकी हल्ला गर्दा विनोद नेपाल भाग्न सफल भए भनि लेखाई दिएको पाइन्छ । पिडितको अधिकार प्राप्त अधिकारी समक्ष कागज तथा अदालतमा समेत वकपत्र गर्दा पान पसल अगाडी फलैचामा वसी गफ गरी रहेको अवस्थामा गणेश के.सी संग मेरो झगडा हुंदा छुटाई मलाई झापट हिर्काउने होइन तलाई नमारी छाडदिन भनी विनोदले पछाडी कम्वरवाट धारिलो छुरी निकाली दाहिने पाता नजिक पिठ्यूमा प्रहार गर्यो, भुइमा लडे त्यसपछि के भयो मलाई थाहा छैन भने लेखाई दिएको देखिन्छ । २०५४।७।१५ को पिडित र प्रतिवादी विचको घटनाको वारेमा प्रतिवादीले इन्कार गर्न सकेको छैन । पिडितलाई प्रहार गर्नु अघि तिहारमा मलाई झापट हान्ने यही हो भन्ने आवाज निकाली छुरी हानेको भनी प्रत्यक्ष दर्शीहरुको कागजवाट समेत पुष्टि भएको हुंदा प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष कागज गर्दा तिहारमा भएको झगडाको रिस इविले छुरी हानेको भनी गरेको वयान समर्थित भइरहेको पाइन्छ । जसवाट यी प्रतिवादीले पिडित उपर पुर्व रिसइविको कारणले ज्यान लिने मनसायले नै छुरी प्रहार गरेको देखिन आउछ । अर्कोतर्फ वारदातको प्रत्यक्षदर्शी शंकर भन्ने गणेश के.सी, नारायण साहु समेतको अधिकार प्राप्त अधिकारी समक्ष कागज तथा अदालतको वकपत्र समेतवाट प्रतिवादीले पिडितलाई छुरा प्रहार गरेपछि पुन प्रहार गर्न खोज्दा गणेशले रोकेको भन्ने उल्लेख गरेका र सोही व्यहोराको किटानी जाहेरी समेत हुंदा प्रतिवादीले मार्ने उद्देश्यले नै छुरी हानी पुन अर्को पटक हान्न खोज्दा विचमा अर्को पक्षको अप्रत्याशित हस्तक्षेपवाट सो कार्य रोकिन गई पिडितको ज्यान मर्नवाट वच्न गएको भन्ने देखिन आयो ।
२१. अव, अन्तिम तथा तेश्रो प्रश्न तर्फ विचार गर्दा माथी उल्लेखीत व्यहोरावाट पिडितको मर्ने सम्मको घाउ परेको, प्रतिवादीले पुनः छुरी प्रहार गर्न खोज्या तेश्रो पक्षको अप्रत्याशित हस्तक्षेपवाट प्रहार गर्न नपाइ ज्यान नमरेको, प्रतिवादीको ज्यान लिनुपर्नाको सम्मको पुर्व रिसइवि भई अपराधिक मनसाय भएको प्रतिवादीले वारदात दिन समयमा वारदातस्थलमा नभै वाहिर थिए भनि लिएको Alibi जिकिरको सवुदद्धारा पुष्टी गराउन नसकेको, वारदातमा प्रयोग गरेको छुरी आफ्नै हो भनी बरामदी मुचुल्कामा प्रतिवादीले सनाखत गरेको समेतवाट प्रतिवादी कसुरदार देखिंदा अभियोग दावी पुग्ने गरेको शुरु फैसला उल्टी गरी कुटपिटमा कारवाही चलाउन चाहेमा कारवाही किनारा गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी हुन्छ । प्रतिवादीलाई ज्यान सम्वन्धीको १५ नं. वमोजिम ५ बर्ष कैद गर्ने गरेको शुरु सुनसरी जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम हुने ठहरेकोले पुनरावेदन अदालत विराटनगरको फैसलाको तपसिल नं. १ र ३ ले कायम गरेको लगत कायम नरहने हुंदा सो लगतहरु कट्टा गर्नु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाई दिनु...१
मिसिल नियमानुसार गरी वुझाई दिनु..... २
उक्त रायमा सहमत छु ।
न्या.मीनवहादुर रायमाझी
इति सम्वत् २०६२ साल वैशाख १२ गते रोज २ शुभम्.......