निर्णय नं. ४०३४ - अंश

निर्णय नं. ४०३४ ने.का.प. २०४७ (क) अङ्क १
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको दे.पू.इ.नं. ९२
फैसला भएको मिति: २०४६।१२।१६।५ मा
निवेदक/वादी: जिल्ला कैलाली धनगढी न.पं. वा.नं. १ बस्ने भंगी राना थारु
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ.ऐ.न.पं. वा.नं. ११ बस्ने भंगड राना थारु
मुद्दा : अंश
(१) बुझिएका साक्षीहरु सबैले वादी प्रतिवादी काका भतिजा हुन् अंश पाउनु पर्ने हो भनेको छ तर सबै साक्षीहरुले पुस्तावारी खुलाई बकपत्र गर्न सकेको छैन । यसबाट सो साक्षीको बकाई विश्वसनीय मान्न नमिल्ने ।
(प्रकरण नं. १८)
(२) वादी आफैंले प्रतिवादीको भतिजा भनी स्वीकारेको अवस्थामा ७ नं. फाराममा छोरा भनी लेखिएको कुरालाई मान्यता दिई प्रमाणमा लिन नमिल्ने स्थितिमा नाता कायम गरी अंश दिलाई पाउँ भनी वादीको निवेदन जिकिर पुग्न नसक्ने ।
(प्रकरण नं. १८)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री पीताम्बर सिलवाल
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसाल
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह
१. श्री ५ महाराजाधिराज सरकारका हजुरमा सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४३।३।२३ मा भएको निर्णय दोहोराई पाउँ भनी भंगीराना थारुले न्यायिक समिति मार्फत चढाउनु भएको मिति २०४३।४।२६ गतेको र २०४३।५।२९ गतेको बिन्तिपत्र तथा न्यायिक समितिको मिति २०४४।२।२९ गतेको पत्र तथा संलग्न पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहोराई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरबारबाट मिति २०४४।३।२ मा लेखि आए अनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :–
२. बाजे बन्धा रानाका २ छोरा मध्ये जेठा मेरा बुबा पुन्नाराना थारु आफ्नो कालगतिले २००५ सालमा म नाबालक हुँदा नै परलोक भएका र मेरा अन्यायी काकासंग बसी आएकोमा मलाई खान लाउन नदिई अंश माग्दा अंश समेत नदिई डरधाक देखाई मिति २०३८।१०।१२ गते घरबाट समेत निकाली दिएकाले अन्यायी काका नै घरमा मुख्य मालिक हुँदा अंशबण्डाको २१, २२ र २३ नं. को प्रकृया अपनाई सम्पूर्ण सम्पत्तिको तायदाती लिई दुई अंश मध्ये एक अंश दिलाई पाउँ भन्ने फिराद ।
३. वादी दावी सम्पूर्ण झुठ्ठा हो फिरादी र म एक कूल बंशको होइनांै । निजको बाबु भिखाराना हो बन्धा होइन । भिखा रानाका २ भाइ छोरा हुन् जेठा पून्ना र कान्छा झुनीराना हुन् जेठा पुन्नाका ३ छोराहरुमा जेठा हरिद्वारी माहिलो बाबुराम, कान्छो यी फिरादी भंगीराना र कान्छा झुन्नीका ५ भाइ छोरा हुन् । फिरादीले आफ्नो फिराद दावीमा देखाएका बन्धा रानाका म र मेरो भाइ लाबरी हो लाबरी पहिले नै परलोक भएकोमा निजको कुनै सन्तान छैन फिरादीले नभएको बनावटी कुरा सृजना गरी दावी लिई आएका हुन सो तर्फ पनि कुनै कुरा खुल्न आएमा छुट्टै बयान वा नालेश जो जे गर्नु पर्ने गर्दछु । फिरादी मेरो अंशियार होइन मैले अंश दिनु पर्ने होइन भन्ने प्रतिउत्तरपत्र ।
४. साक्षी प्रमाण बुझ्ने कैलाली जिल्ला अदालतको आदेश ।
५. मेरो बाजेको अरु पूर्खेली पुस्तेवारीको सम्बन्धमा मलाई केही थाहा छैन मेरो बाजेको मेरा बाबु पुन्नाराना एक र विपक्षी भंगडराना दुई छोरा हुन मेरो बुबा पुन्नाराना म सानोमा नै मरेकोले म र काका भंगड सगोलमा नै बसी आएका छौं भन्ने भंगीरानाको बयान ।
६. वादी भंगी भंगड रानाको हकदार होइन, कञ्चनपुर जिल्ला खल्ला गाउँबाट आई बसेका हुन् । निज भंगीरानाको बाजेको भन्दा अघीको पुस्तावारीको नाम थाहा छैन । निजको बाजे बान्धा होइन । भिखा हो, भिखाको छोरा पुन्ना हुन मेरो बाजे भुखै बाबु बांधा हुन बाजे भुखेका ३ छोरा जेठा मेरा बुबा बन्धा माहिलो कनही कान्छो पन्धु हुन फिरादीका बाबु पुन्नाका २ भाइमा कान्छा झुन्नी हुन झुन्नीका ३ छोरा छन् सो मा जेठा हरिद्वारी माइलो बाबुराम कान्छा यी फिरादी भंगी राना हुन् । यिनको र मेरो अंशियार गोतियार हकदार नहुँदा मबाट अंश पाउने होइन भन्ने समेत व्यहोराको प्रतिवादीको वा गोपाल भण्डारीले नाता कायमतर्फ गरेको बयान ।
७. मेरो बाजे भिखाको ३ भाइमा जेठा बमन माहिला पुन्ना र कान्छा झुन्डी राना हुन बुबा पुन्नाका म र बाबुराम दुई भाइ हो भंगीराम भाइ होइन भंगडको गोतियार हो वादी प्रतिवादी जुगे कांडा कै बासिन्दा हुन भंगड कञ्चनपुर गाउँबाट आएको होइन । भगीरानाको बाबु र मंगड दुइभाइ हुन भंगीको बाबु पुन्ना मर्दा भंगी रानाको आमा रमकला भंगड राना काहाँ पोइल गएकी हुन र आजसम्म जीवित भई भंगड राना कहाँ नै बसेकी छिन् । भंगी रानाको र मेरो अंशियार गोतियार केही नाता छैन भन्ने समेत व्यहोराको अदालतबाट बुझिएको हरिद्वारी रानाको बयान ।
८. वादी भंगीरानाको बाजे भिखा रानाका ३ छोरामा जेठा बमन र माहिला पुन्ना र कान्छा झुन्डी ३ भाइमा पुन्ना रानाको जेठी स्वास्नी भिखनी पट्टीमा हरिद्वारी र बाबुराम २ छोरा भएपछि निज भिखनी मर्दा निज पुन्ना रानाले मलाई स्वास्नी बनाई राखेको निज पुन्ना र मेरो सहवासबाट निज वादी भंगी रानाको जन्म भएका २ वर्ष पछि कालगतीले लोग्ने पुन्नाको मृत्यु हुन गयो । मलाई दुःख हुन थालेकोले भंगड रानासाथ पोइला गएको निजबाट २ छोरा २ छोरी छन् निज भंगी भंगडको कुनै अंशियार होइन भन्ने समेत अदालतबाट बुझिएकी श्रीमती रमकल्ला राना थरुनीको बयान ।
९. वादी प्रतिवादी काका भतिजा हुन एकै बाजेका सन्तान हुन वादीको प्रतिवादीसंग काका नाता पर्दछ प्रतिवादीबाट वादीले अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको वादीका साक्षी पेलाड रानाको बकपत्र ।
१०. वादी प्रतिवादीमा पुर्खौली छुट्टा छुट्टै हुन वादी प्रतिवादी अलग अलग भएकोले यिनीहरुको बीच नाता कायम नहुने हो प्रतिवादीले वादीलाई अंश दिनु पर्ने होइन, भन्ने समेत प्रतिवादीको साक्षी कुन्ती नाना समेतको बकपत्र ।
११. फिरादी भंगीराना पुन्नीक छोरा भएकोमा वादी र प्रतिवादी दुबै पक्षको मुख मिलेको देखिएको केवल वादीका बाबु पुन्ना भन्ने व्यक्ति बन्धको छोरा भन्ने वादी र छोरा होइन अर्कै वंशज भिखा भन्ने को छोरा हुन प्रतिवादी देखाई मुख नमिलेकोमा प्रतिवादी जिकिर अनुसार वादी भंगीराना भिखाको हांगा पट्टीको पुन्नाको छोरा भए निजको अरु भाइ पनि देखाएका हरिद्वारी र बाबु रामले पाए सरहको अंश निजले पाउनु पाएको हुनु पर्नेमा सो नदेखिएकोले र साथै मिसिल प्रमाणबाट वादी भंगीराना बन्धाको छोरा पुन्ना भनेको छोरा देखिन आएको हुनाले मेरो अंशियार भाइ होइन भन्ने प्रतिवादीको जिकिर पुग्न सकेन । वादी भंगीराना प्रतिवादी भंगडको अंशियार भतिजा देखिन आएकोले अंश पाइसकेको छ भन्ने प्रमाण प्रतिवादीले दिन नसकेकोले वादीले प्रतिवादीबाट २ खण्डको १ खण्ड अंश पाउने ठहर्छ भन्ने समेत कैलाली जिल्ला अदालतको फैसला ।
१२. कानुन र तथ्ययुक्तका प्रमाणको उपेक्षा गरी मेरा विरुद्ध भएको फैसला अन्यायपूर्ण छ । भिन्न व्यक्तिलाई मेरो वंशको भाइ भनी बिना प्रमाण फैसला भयो । विपक्षीले भिखाका वंशतर्फ नपाएको भनी कानुन विपरीत मेरो सम्पत्तिको अंश गर्न मिल्दैन । स्वयम् वादीकी आमाले वादी प्रतिवादीको अंशियार होइन अंश पाउने होइन भनी अदालतमा बयान गरेको बयान स्पष्टै छ । अतः शुरु जिल्ला अदालतको इन्साफ उल्टाई हक इन्साफ पाउँ भन्ने प्रतिवादीको सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
१३. वादी प्रतिवादी एकै बाजेको सन्तान हुन् भन्ने प्रमाणित हुन नआएको फिरादीको आमा रमकलाले अदालतमा आई पुन्नाको करणीबाट गर्भ रही फिरादी भंगीको जन्म भइसकेपछि निज पुन्नाको मृत्यु हुन गएको कारणले भंगड राना थारुसंग पोइल गएको हुँ भन्ने बयान गरेकी र निजको बयानलाई पुन्नाको छोरा बाबुरामले पुष्टि गरेको हुँदा अंशियार नाता कायम गर्ने गरी अंशबण्डा हुने ठहर गरेको शुरु जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्छ भन्ने समेत सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१४. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीको यस सर्वोच्च अदालतमा निवेदन पर्दा “यसमा प्रतिवादीले २०२० सालमा भरेको भू.सु.का. को १ नं. को फाराममा यी वादीलाई सगोलको परिवारको छोरा भन्ने उल्लेख गरेको देखिन्छ । यस्तो अवस्थामा यी वादीलाई प्रतिवादीको अंशियार देखिन नआएको भनी गरेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटी देखिन आएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ” भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको आदेश ।
१५. वादी पुनरावेदकलाई प्रतिवादीको अंशियार नठहराई अंश दिन नपर्ने गरी गरेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४३।३।२३ गतेको फैसला ।
१६. श्री ५ महाराजाधिराज सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहोराई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयको मिति २०४४।३।२ को पत्र साथ प्राप्त बुंदा दोहराउन सिफारिश जाहेर गरेको न्यायिक समितिको पर्चामा हरिद्वारी, बाबुराम र रामकलीको बयान वादी प्रतिवादीको रोहवरमा भएको छैन । सो बयानलाई प्रमाणको संज्ञा दिन मिल्दैन । वादीका साक्षीहरुले गरी दिएका बकपत्र र प्रतिवादीले ७ नं. फाराममा वादीलाई एकासगोलका छोरा भनी स्वीकार गरेको कुरालाई प्रमाणमा नलिई प्रमाण ऐनको दफा ८ ले प्रमाणमा नलाग्ने व्यक्तिहरु खास गरी रामकलीको बयानलाई आधार बनाई वादीलाई प्रतिवादी भंगइको भतिजा ठहर्दैन भनी अंश नदिने गरेको सर्वोच्च अदालत संयुक्त इजलासको निर्णयमा प्रमाण ऐनको दफा ८, दफा ९(१) र ५४, अंशबण्डा महलको १, २१, २२ र २३ नं. समेतको त्रुटि देखिएको छ, भन्ने उल्लेख भएको रहेछ ।
१७. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले बन्धाको २ छोरा पुन्ना र प्रतिवादी हो । पुन्नाको छोरा भनी वादीले पुस्तावारी लेखेको छ । प्रतिवादीले १ नं. फाराम भर्दा वादीलाई छोरा भनी स्वीकारेको छ । प्रतिवादीको प्रतिउत्तरपत्र र बयानमा लेखिएको पुस्तावारी फरक छ । प्रतिवादीलाई बिवन्धन लाग्ने हो । वादी भंगीराम प्रतिवादीको अंशियार भतिजा नाताको हो । वादीले प्रतिवादीबाट अंश पाउनु पर्छ । सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको छैन, भन्ने समेत बहस गर्नु भयो । विपक्षी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसालले वादी भंगी प्रतिवादी अंशियार होइन । वादीको आमा रमकलीले भंगीराना पुन्ना थारु तर्फबाट जन्मेको हो पुन्ना मरेपछि भंगडराना संग पोइल आएको हुँ । भंगीका अंशियार हरिद्वारी र बाबुराम हो भनी भनेको छ । प्रतिवादीको यो वादी झडकेलो छोरासम्म हो । प्रतिवादीको दाजु पुन्ना थियो भनी वादीले पुष्ट्याई गर्नसकेको छैन । मुडी र हरिद्वारीको अंश मुद्दामा भिखाको छोरा पुन्ना भन्ने देखिन्छ । तसर्थ वादीले अंश नपाउने गरेको सर्वोच्च अदालतको इन्साफ सदर हुनुपर्दछ भनी बहस गर्नु भयो ।
१८. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा बाजे बन्धाको २ छोरा जेठा मेरा बाबु पुन्ना २००५ सालमा परलोक भई अन्यायी काकासंग बसी आएको निकाली दिएकोले दुई भागको एक भाग अंश दिलाई पाउँ भनी वादीले दावी लिएको देखिन्छ । वादी र म एक कूल वंशको होइनौ । भिखाको २ छोरा पुन्ना र झुन्द्री हो पुन्नाको ३ छोरा जेठा हरिद्वारी माहिला बाबुराम र कान्छा यी फिरादी भगी हुन् मैले अंश दिनु पर्ने होइन भनी प्रतिवादीले जिकिर लिएको पाइन्छ । यसबाट वादी भंगी राना थारु पुन्ना थारुको छोरा भन्नेमा विवाद देखिँदैन । वादीका बाबु पुन्ना वादीका भनाई अनुसार बन्धकको छोरा हो वा प्रतिवादी जिकिर अनुसार भिखाको छोरा हो भन्ने कुरामा विवाद देखिन्छ । त्यसतर्फ हेर्दा वादी हरिद्वारी राना थारु प्रतिवादी झुंगी राना थारु भएको मिति २०२७।२।२३ मा कैलाली जिल्ला अदालतबाट डिसमिस फैसला भएको प्रमाणको अंश मुद्दामा बाजे भिखा राना थारुको ३ छोरामा जेठा वमना राना थारु, माहिला मेरा बाबु पुन्ना राना थारु, कान्छा अन्यायी झुण्डी राना थारु भनी फिरादमा उल्लेख गरेको र झुण्डीले प्रतिउत्तर फिराउँदा बाबुका आर्जन जग्गा जमीन ३ भाइको बराबर बण्डा गरी अंश लिई छुट्टिएको जेठा दाजु वमन राना थारु २००४ सालमा परलोक हुनु भएको र फिरादी हरिद्वारी राना थारुको बाबु माइला दाजु पुन्ना राना थारु २००७ सालमा परलोक भएपछि फिरादीको आमाले भड्डण राना थारुलाई आफ्ना घर ल्याई लोग्ने तुल्याई बसेको भनेको देखिन्छ । यसबाट वादी भंगी राना आफूले भने बमोजिमको पुस्तावारी भित्रको देखिँदैन । प्रतिवादी भंगड राना थारुले भने बमोजिमको पुस्तावारी भित्रको देखिन्छ । बुझिएका वादीका साक्षीहरु सबैले वादी प्रतिवादी काका भतिजा हुन् अंश पाउनु पर्ने हो भनेको छ । तर सबै साक्षीहरुले पुस्तावारी खुलाई बकपत्र गर्न सकेको छैन । यसबाट सो साक्षीको बकाई विश्वसनीय मान्न मिलेन । यो वादी भंगीको बाबु पुन्ना थारु, वन्धा थारुको छोरा हो भन्ने कुराको पुष्टि हुने तथ्ययुक्त आधार कुनै देखाउन सकेको छैन । प्रतिवादीहरुका साक्षीहरुले वादी प्रतिवादीका बाबु बाजे अलग अलग हुन । भिखाका ३ छोरा जेठाको नाम थाहा छैन माहिला पुन्ना र कान्छा झुन्डी हुन पुन्नाको ३ छोरामा जेठा हरिद्वारी माहिला बाबुराम कान्छा यी भंगी हुन । नाता कायम हुने होइन भन्दै किटानी बकपत्र गरेको पाइन्छ । अ.बं. १३९ नं. बमोजिम बुझिएका पुन्नाको छोरा हरिद्वारी राना थारुले मेरा बाजे भिखाको छोरामा जेठा बमन माइला मेरा बुबा पुन्ना राना कान्छा झुण्डी हुन पुन्नाको हामी बाबुराम र म मात्र छोरा हुन भंगी हाम्रा भाइ होइन । भंगीको बाबु र हाम्रो बाबु अलग अलग हुन भनी बयान गरेको छ । तर निज हरिद्वारीले भाइ भनेका बाबुराम राना थारुले हाम्रा बुबा पुन्ना रानाको जेठी श्रीमती भिखनीबाट म र हरिद्वार पैदा भएपछि आमा परलोक भई कान्छी आमा र भकलियालाई दोस्रो स्वास्नी बनाएपछि भाइ भंगी पैदा भएको बुबा पुन्ना स्वर्गे भएपछि रमकली भंगड रानाको साथ पोइल गएकी भनी र रमकलिया राना थारुले भिखाको छोरा पुन्ना रानाको जेठी स्वास्नी भिखनीबाट हरद्वारी र बाबुराम २ छोरा भएपछि भिखनी मरी पुन्नाले मलाई स्वास्नी बनाएपछि भंगी राना थारु पैदा भएपछि पुन्ना राना स्वर्गे भई भंगड रानाको साथ पोइल गएको भनी बयान गरेको देखिन्छ । उक्त बकपत्र तथा अ.बं. १३९ नं. बमोजिम बुझिएका वादीका आमा रमकलिया राना थारु र बाबुराम थारुको बयानबाट पनि वादी भंगी राना थारु, भिखाका छोरा पुन्ना राना थारुको छोरा भन्ने देखिन आयो । यस्तोमा वादी भंगीराना थारुलाई प्रतिवादीका अंशियार मान्न मिलेन । प्रतिवादीले भूमिसुधारमा ७ नं. फाराम भर्दा भंगडले छोरा भनी देखाएको भन्ने हकमा वादी भंगी राना थारुले फिराद गर्दा प्रतिवादी भंगड राना थारुलाई काका भनी उल्लेख गरेको पाइन्छ । वादी आफैंले प्रतिवादीको भतिजा भनी स्वीकारेको अवस्थामा ७ नं. फाराममा छोरा भनी लेखिएको कुरालाई मान्यता दिई प्रमाणमा लिन मिलेन । यस स्थितिमा नाता कायम गरी अंश दिलाई पाउँ भनी वादीको निवेदन जिकिर पुग्न सक्दैन । वादी भंगी राना थारुलाई अंशियारा नाता कायम गरी अंश दिलाउने गरेको कैलाली जिल्ला अदालतको इन्साफ बदर गरी वादीलाई अंशियार नाता कायम गरी प्रतिवादीबाट अंश नपाउने ठहराएको म.क्षे.अ. को इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४३।३।२३ गतेको इन्साफ मनासिब ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या. त्रिलोकप्रताप राणा,
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल चैत्र १६ गते रोज ५ शुभम् ।