निर्णय नं. ७५८० - अंश चलन ।

निर्णय नं.७५८० ने.का.प.२०६२ अङ्क ८
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
संवत २०५७ सालको दे.पु.नं.......६८५३
फैसला मितिः २०६२।८।१।४
मुद्दा : अंश चलन ।
पुनरावेदक / बादीः का.जि.पांगा बालकुमारी गा.वि.स. वडा नं. ९ को हाल किर्तिपुर न.पा. वडा नं. १२ बस्ने जुद्दकुमारी विष्ट समेत
बिरुद्ध
प्रत्यर्थी / प्रतिबादीः का.जि.बालकुमारी गा.वि.स. वडा नं. ९ बस्ने रामबहादुर विष्ट समेत
§ बादी र प्रतिबादीहरूको भोगमा रहेको सम्पत्ति समान नदेखिई अस्वभाविक अन्तरको देखिएको हुँदा भाग शान्ति लिए पाएको भन्न सकिने अवस्था नदेखिने ।
§ यो यो पैत्रिक सम्पत्ति बादी प्रतिबादीहरूले दाखिल खारेज गरेको तथा अंशमा पाएको सम्पत्ति यो यसरी अलग अलग भोग विक्री व्यवहार गरेको भन्ने कुराको प्रतिबादी पक्षबाट कुनै प्रमाण दिन गुजार्न सकेको समेत नदेखिंदा ७ नं. फाँटवारी अलग भरेको र फिल्डवूकमा लेखिएको व्यहोराका भरमा मात्र बादी र प्रतिबादीहरू व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको मान्न नसकिने ।
(प्रकरण नं.२९)
§ पुनरावेदक बादीको तायदातीमा उल्लेखित जग्गा बादी मध्येको सिताराम विष्टले शाही नेपाली सेनामा नोकरी गर्दा शान्ती सेनामा गई आर्जन गरेको रकमबाट खरिद गरेको भन्ने जिकिर लिएकोमा प्रतिबादीपक्षबाट सो को खण्डन नआएको हुँदा सो सम्पत्ति निजको निजि आर्जनको देखिने ।
(प्रकरण नं.४२)
पुनरावेदक वादी तर्फवाटः विद्वान् अधिवक्ता श्री नगेन्द्रकुमार राई
प्रत्यर्थी प्रतिबादीका तर्फबाटः विद्वान् अधिवक्ता श्री मातृकाप्रसाद निरौला
अवलम्वित नजीरः
फैसला
न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन,२०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०५५।५।४ को फैसला उपर बादीहरूको यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भनी पर्न आएको निबेदनमा यस अदालतवाट मिति २०५७।२।२ मा मुद्दा दोहोरयाउने निस्सा भइ पुनरावेदनको लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ।
२. विपक्षीहरूका र हामी फिरादीहरूका ससुरा एवं बाजे झपटमान सिह विष्ट हनु हुन्छ । उहाँ १९९० अगाडि नै परलोक भै सक्नु भएको र वहाँका छोराहरू मध्ये जेठा तिलक विक्रम विष्ट पट्टीका विपक्षी राम बहादुर विष्ट र शम्भु भन्ने शम्भुबहादुर विष्ट हुन् । माहिला तिलक वहादुर पट्टिका अंशियार मध्ये श्रीमती जुद्दकुमारी विष्ट, छोराहरू जयराम विष्ट, शिव कुमार विष्ट र सिताराम विष्ट हौं । जेठा जयराम विष्ट २०/२२ बर्ष अगाडि देखि रोजगारको लागि भारत गएका फर्कि आएका छैनन् । हाम्रा बाजे झपटमान सिंहका कान्छा छोरा कान्छा विष्ट र बुहारी कान्छी विष्टका सन्तान छैनन् र वहाँहरूको क्रमशः २०३९ र २०५१ सालमा परलोक भै सकेको छ । विपक्षीहरूका वावा आमा एवं हाम्रा जेठाजु, जेठानी, जेठा वावा आमाको क्रमशः २००७ र २०१० सालमा परलोक भै सकेको छ । हामी फिरादीहरूका पति एवं वावा तिलक बहादुर विष्ट मिति २०२९ सालमा परलोक हुनु भएको छ । अहिले अंशियारहरू मध्येका जेठा तिलक विक्रम पट्टीका विपक्षीहरू हुन् र माहिला तिलक बहादुर तर्फका हामी फिरादीहरू हौं । विपक्षीहरूका वावा र हाम्रा वावा एवं पति २०२१ साल अगाडि देखि नै मानो छुट्टिई अलग चुल्हो गरी आ–आफ्नो कमाई गरी खाई आएको थिए । बाजे झपटमानको मृत्यूपछि जेठाजु एवं जेठा वावा तिलक बिक्रमले सम्पूर्ण अवण्डा पैतृक सम्पत्तिको रेखदेख र हेरचाह गरी आउनु भएकोमा निजको २०१० सालमा स्वर्गे भएपछि पैतृक जग्गा जमिन त्यसै रहेको थियो । २०२१ सालमा सर्भे नापि हुँदा हाम्रा पति एवं वावा तिलक बहादुरको नाउँमा बाजे झपटमानको पालादेखि अवण्डा रहेको जग्गा जमिन काठमाडौं जिल्ला वालकुमारी गा.वि.स. वडा नं. ९ को कि.नं. ३२५ क्षे.फ. २–१–०, ऐ. कि.नं. ३०७ क्षेत्रफल १–४–०, ऐ. वडा नं. ९ ख कि.नं. ५ क्षे.फ. ०–१२–०, ऐ.कि.नं. १७ क्षे.फ. १–९–० समेत जम्मा ५–१०–० जग्गा नापी भै अस्थायी जोतको निस्सा २०२३ सालमा पाई फिरादीहरूले भोग चलन गरी आएका छौं ।
३. विपक्षीहरू हाम्रा ससुरा तथा बाजेका जेठा पट्टीका सन्तान भएका र अंशवण्डा लाग्ने सम्पूर्ण चल अचल जायजेथा विपक्षीहरूकै जिम्मा रहेकाले अंशवण्डाको महलको १, २, ३, २०, २१, २२ र २३ नं. बमोजिम वण्डा गर्नुपर्ने श्री सम्पत्तिको विपक्षीहरूसंग तायदाती लिई २०२१ साल भन्दा अगाडि मानो छुट्टिएको मिति कायम गरी पैतृक सम्पत्ति मध्ये विपक्षीहरू तर्फ १ भाग र हामी फिरादीहरू तर्फ १ भाग गरी अंश दिलाई चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
४. हाम्रा बाजे झपटमान सिंह विष्टको १९९० साल भन्दा पहिले परलोक भएको कुरामा विवाद छैन । वाजेका ३ भाई छोराहरू भएकोमा जेठा हाम्रा वावु तिलक विक्रम, माईला तिलक बहादुर र कान्छा कान्छा विष्ट हुन् । हाम्रा वावु तिलक विक्रम वि.सं. २०१० सालमा नै परलोक हुनु भएको हो । महिला तिलक बहादुर २०२९ सालमा र कान्छा कान्छा विष्ट पनि ०३९ सालमा परलोक हुनु भएको हो । कान्छा विष्ट र निजको श्रीमती कान्छी विष्टको कोही छोरा छोरी नभएको हुँदा वहाँको बृद्ध अवस्थामा हामी राम बहादुर र शम्भु विष्टले हेरचाह पालनपोषण गरी परलोक भएपछि काज क्रिया श्राद्ध समेत गर्दै आएका छौं । माहिला तिलक बहादुरका श्रीमती, छोरा विपक्षीहरू हुन् । विपक्षी बादीले हामीवाट अंश पाउने होइनन् । जेठा हाम्रा वावा जिवित हुँदै माहिला विपक्षीका पति, पिता र कान्छा विष्ट समेत मौकामा जो भएको संपत्ति घर सारमा नरम गरम मिलाई भाग शान्ति बमोजिम लिई छुट्टि भिन्न भई आ–आफ्नो भाग भोग व्यवहार समेत हुँदै आएको छ । अंशवण्डा नभएको भए विपक्षीका पति पिता तिलक बहादुर २०२९ साल र कान्छा विष्ट २०३९ साल सम्म जिवित रहँदा वहाँहरूले दावी लिनु हुने थियो । अनावश्यक दुःख दिन मात्र फिराद दिएको हो । वास्तविक कुरा हाम्रा वावु तिलक विक्रम जिवित छँदै २०१० साल भन्दा पहिला नै ३ जना अंशियार वसी जो भएको चल अचल सम्पत्ति घरसारमा नरम गरम मिलाई वण्डा भईसकेको र कसैलाई खेत कसैलाई पाखो वारी गरी खेत पाउनेलाई केही घटी पाखो पाउनेलाई केही बढी गरी नरम गरम मिलाई भाग वण्डा अलग अलग भएको हो । विपक्षीले फिरादको प्रकरण नं. ३ मा उल्लेख गरेको जग्गा नै विपक्षीका पति पिताले अंश पाएका जग्गा हुन् भन्ने कुरा फिल्डबुक व्यहोराले प्रष्ट गरेको छ । घरसारमा वण्डा भै विपक्षीका पति पिताका नाममा दर्ता दा.खा. भईसकेपछि पुनः विपक्षीलाई हामीले अंश दिनु पर्ने होइन । अंशवण्डाको ३० नं. बमोजिम मान्य हुने गरी भएको वाँडफाँड उपर चित्त बुझाएको अवस्थामा लोभले प्रेरित भै गरेको फिरादवाट अलग फूर्सद गरिपाँउ भन्ने व्यहोराको राम बहादुर विष्ट १, शम्भु विष्ट १, समेत जना २ को संयुक्त प्रतिउत्तर पत्र ।
५. बादी प्रतिबादी बीच अंशवण्डा भएको छैन । पहिले नै बाबु आमा मरी सकेपछि जो जससंग कमाई आएको सम्पत्ति थियो उसले सो सम्पत्ति कमाई अहिले सम्म खाई आएका छन् । सो कमाई आएका सम्पत्ति पनि भाइ भाइमा वरावर नभई घटी बढी भएकोले सो सम्पत्ति दाजु भाईमा वरावर हुनुप¥यो भनी यो अंश मुद्दा दिएको हो भन्ने व्यहोराको बादीका साक्षी शिव कुमारी रिजालको वकपत्र ।
बादीलाई प्रतिबादीहरूले अंश दिनु नपर्ने भन्ने होइन, कान्छाको भागमा ३ रोपनी र जेठोको भागमा ५ रोपनी छरे भन्ने सुनेको छु । अंशवण्डा नरम गरम मिलाएको भए तिनै भाई छोराहरूमा वाँडिएको सम्पत्ति वरावर हुन पर्नेमा कसैलाई बढी र कसैलाई कम हुन नपर्ने हो । सम्पूर्ण सम्पत्ति संगोलमै छ । मुख नमिलेको कान्छा वावुको संपत्तिमा हो । त्यस कारण वादी प्रतिबादी बीच भएको सम्पूर्ण सम्पत्ति पूनः भाग वण्डा लगाउनु पर्छ भन्ने व्यहोराको प्रतिबादीका साक्षी भोलानाथ रिजालको बकपत्र।
६. कान्छा काका पट्टीको भागको सम्पत्ति खान बादीले अंश मागेको हुन सक्छ भन्ने व्यहोराको प्रतिबादीका साक्षी भरत थापाको बकपत्र।
७. अंशवण्डा भइसकेको भनी बादी प्रतिबादीले आ–आफ्नो जग्गा भोग चलन गरी आएका छन् । पहिले अंशवण्डा हुँदा नरम गरम मिलाई अंश भयो तर अहिले जग्गाको भाउ, सुविधा आदि समेतको वृद्धि भएको कारणले आफूलाई कम अंश भयो भनी बादीहरूले मुद्दा दिएको हो भन्ने व्यहोराका प्रतिबादीका साक्षी श्रीकृष्ण विष्टको वकपत्र ।
८. बादी प्रतिबादीहरूले छुट्टै घर र छुट्टा छुट्टै अंश कमाई गरेर वसेका छन् । वण्डा पत्रको कागज भएको छ छैन मलाई थाहा भएन भन्ने व्यहोराको प्रतिबादीका साक्षी भरत भण्डारीको वकपत्र ।
९. २०२१ साल भन्दा अगाडि नै मानो छुट्टिएको भनि बादीले मानो छुट्टिएको मिति अनिश्चित स्वरुपको देखाएको पाइन्छ । प्रतिबादीले २०१० साल भन्दा पहिले घरसारमा वण्डा भै भिन्न वसेको भनी उल्लेख गरेकोमा आफ्नो प्रमाणको रुपमा फिल्डबुक व्यहोरालाई उल्लेख गरेको देखिन्छ । सर्भे नापीवाट तयार भएको वालकुमारी गा.वि.स. वडा नं. ९ क को कि.नं. ३०७ र ३२५ का जग्गाको जग्गाधनी तिलक विक्रम विष्टको नाम जनिएकोमा किसानको व्यहोरामा यि बादीका वावु तिलक वहादुर विष्टले “यो जग्गा मेरो दाजु तिलक विक्रमको नम्वरीवाट मेरो अंश हक भै जोती खाएको छु” भन्ने व्यहोरा जनाएको पाइयो । फिल्डवुकमा उपरोक्त अनुसार अंशहक भनि जनिएको व्यहोरालाई बादीले अन्यथा भन्न सकेको देखिँदैन । उक्त कि.नं. ३०७ र ३२५ को जग्गाको श्रेस्ता तिलक वहादुर विष्टका नाउँमा कायम रहेको देखिनाले सो सम्पत्तिलाई अंश वापतको होइन रहेछ भनि मान्न मिलेन । यसै गरी बादीका पति वावु तिलक बहादुर प्रतिबादीका वावु तिलक विक्रम तथा बादी प्रतिबादीका कान्छा वावु कान्छो विष्ट समेतका तत्कालीन अंशियारका नाउँमा पृथक पृथक जग्गा नापी दर्ता देखिन्छ भने तिलक बहादुर विष्टले २०२१।९।१८ मा भूमिसुधारमा आफ्नो छुट्टै ७ नं. अनुसूची फाँटवारी भनि पेश गरको अवस्था समेत देखियो । यसवाट बादी तथा प्रतिबादीका वावुहरूका बीच नै अंशवण्डा भै सकेको तथ्य समर्थित भएको र अंशवण्डा भएको छैन भन्ने तथ्य बादीले तथ्य युक्त प्रमाण प्रस्तुत गरी दावी प्रमाणित गर्न नसकेको समेत हुँदा अंश पाउँ भन्ने फिराद दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको काठमाण्डौ जिल्ला अदालतको मिति २०५४।८।१९ को फैसला ।
१०. हामी समस्त झपटसिंका परिवारहरू अवण्डा रहेको पैतृक सम्पत्तिमा जेठा तिलक विक्रमको मौखिक खटन पटन बमोजिम अचल जग्गा केही मात्रामा भोग गरी दिन गुजारा गरी आएका छौं । उक्त अवण्डाको सम्पत्ति २०१० सालमा जेठा वावा तिलक विक्रमको देहान्त भएपछि विपक्षीहरूले भोग चलन गरी आएकोमा हामीहरूले अंश भाग छुट्याई देउ भन्दा आल टाल गरी हाम्रो अंश भाग नदिएकोले का.जि.अ. मा फिराद दिएको हो । का.जि.अ.को मिति २०५४।८।१९ को बादी दावी नपुग्ने ठहर गरेको फैसलाबाट हामीहरूलाई अंश पाउने नैसर्गिक हक अधिकारवाट वञ्चित गराइएको छ । उक्त फैसलामा ने.का.प. २०५० भाग ३५, अंक १, नि.नं. ४६७९ पृ. ५ मा प्रतिपादित नजीर समेतको त्रुटीहुँदा विपक्षीहरूसंग तायदाती लिई कानून बमोजिम अंश भाग दिलाई चलन समेत चलाई पाउ भन्ने जुद्द कुमारी विष्ट १, शिव कुमार विष्ट १ र सिताराम विष्ट १ समेत जना ३ को पुनरावेदन अदालत पाटनमा परेको संयुक्त पुनरावेदन पत्र ।
११. यसमा कि.नं. ३०७ र ३२५ को फिल्ड बुकको कितावको व्यहोरावाट बादीको वावु तिलक बहादुर विष्टले अंश पाई सकेको भन्ने देखिएको, तिलक बिक्रम विष्ट र अन्य व्यक्तिहरूको नाउमा समेत छुट्टा छुट्टै नापी भएको र बादी कै वावुले छुट्टै भु.सु.का.मा ७ नं. फाटवारी समेत भरेको स्थितिमा बादी पक्षले प्रतिबादीवाट अंश पाई नसकेको भनि एकिन गर्न नमिल्ने भएको समेत कारण शुरु काठमाडौं जिल्ला अदालतवाट अंश पाउ भन्ने बादी दावी पुग्न नसक्ने ठहर गरेको मिति २०५४।८।१९।५ को इन्साफ मिलेकै देखिदा सदर हुने ठहर्छ । बादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५५।५।४ को फैसला।
१२. हामी निवेदकहरूका पति/पिता तिलक बहादुर विष्ट र विपक्षीहरूका वावु तिलक विक्रम विष्टको अतिरिक्त हाम्रा देवर कान्छा वावु कान्छा विष्ट झपट मान विष्टका तीन छोरा हुन् । मुलुकी ऐन अंशवण्डा महलको ३० नं. अनुसार अंशवण्डा भएको भए कान्छा विष्टलाई पनि पैतृक अचल सम्पत्ति भाग वण्डा हुनु पर्नेमा सो भएको अवस्था छैन । निज कान्छा विष्ट र निजकी पत्नी कान्छी विष्टको क्रमशः २०३९ र २०५१ सालमा परलोक भै सकेको छ । निजहरूको कुनै सन्तान छैन । कान्छा विष्टलाई पनि वण्डा भै अंश भाग दिइएको कुनै प्रमाण विपक्षीले पेश गरको छैन । नापी हुँदा विपक्षी मध्येका शम्भु विष्टले कि.नं. १८ को जग्गाको जोताहा र जग्गाधनीको नाममा पहिले आफू भनेर लेखाई पछि जग्गाधनी कान्छा विष्ट भनी सच्चाएको छ । यसवाट पनि घर सारमा अंशवण्डा नभएको स्पष्ट छ । फैसलामा अंशवण्डाको ३० नं. को त्रुटी हुन गएको छ ।
१३. पुनरावेदन अदालतको फैसलामा बादीको वावुले छुट्टै भूमिसुधार कार्यलयमा ७ नं. फाँटवारी समेत भरेको भन्ने आधार लिइएको छ । भूमिसुधारको ७ नं. को फाँटवारी अंशवण्डाको लागि भरिने कुरा होइन । ७ नं. फाराम भूमि सम्बन्धि ऐनको प्रयोगको लागि भरिने हो । त्यत्तिकै आधारबाट अंश भएको भन्न नमिल्ने र प्रमाणका अभावमा बादी प्रतिबादीका नाउँमा जग्गा रहेकै नातावाट अंशवण्डा भएको भनि अनुमान गर्न नमिल्ने भन्ने कानूनी सिद्धान्त प्रतिपादन भएको छ । (ने.का.प. २०४७ अंक २, पृ. १८५) त्यसै गरी अंशवण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाव भाग शान्ति वमोजिम भोग बिक्री व्यवहार गरेको कुरा व्यवहार प्रमाणवाट प्रमाणित नभए सम्म अंशवण्डा भै भिन्न भएको मान्न नमिल्ने” कानूनी सिद्दान्त र नजिर (स.अ. निर्णय संग्रह भाग १९, पृ. २२६) समतेको विपरीत भएको शुरु तथा पु.वे.अ. को फैसला बदर गरी हामीहरूको फिराद माग दावी बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेरी विपक्षीहरूबाट तायदाती लिई अंश भाग दिलाई चलन चलाई इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीहरूको यस अदालत समक्ष पर्न आएको निवेदन ।
१४. यसमा अंशियार भएको कुरामा विवाद नभएको । वण्डापत्रको लिखत नभएकोले भूमी सुधारको प्रयोजनको लागि भरिने ७ नं. फाँटवारी र नापीको अवस्थामा भरिएको क्षेत्रिय कितावको आधारमा अंशियारहरूका नाममा अलग अलग दर्ता भएको र ७ नं. फाँटवारी अलग अलग भरेकै आधारमा पहिले नै अंश भै सकेको भन्दै दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा अंशवण्डाको ३० नं. को व्याख्यामा गंभीर कानूनी त्रुटी देखिएको तथा ने.का.प. २०४९ अंक ३ पृष्ठ २७१ नि.नं. ४५०० मा यस अदालतवाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल निर्णय भएको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासवाट मिति २०५७।२।२ मा भएको आदेश ।
१५. हाम्रा पिता परलोक हुनु पूर्व देखि नै जेठा हाम्रा पिता, माहिला विपक्षीका पति/पिता र कान्छा, कान्छा विष्टले छुट्टा छुट्टै अंश भोग र व्यवहार चलाउने गर्नु हुन्थ्यो । मौकैमा अंशवण्डा भई आ–आफ्नो छुट्टा छुट्टै व्यवहार गर्दै आएको वास्तविक व्यहोरा विपक्षीका पति/पिता आफै फिल्डमा उपस्थित भई आफ्नो अंशको जग्गा आफ्ना नाममा नपाई कि.नं. ३०७, ३२५ समेतको जग्गाको फिल्डबुकमा “यो जग्गा मेरा दाजु तिलक बिक्रमको नम्वरीबाट मेरो अंश हक भई जोती खाएको छु” भन्ने व्यहोरा लेखि सही छाप गरेको तथ्यवाट स्वयं विपक्षीका पति/पिताले आफ्नो अंश हक भएको स्वीकार गरेको, सोही जग्गा विपक्षीहरूले हालसम्म निरन्तर भोग चलन तिरो तिरान गरेको वास्तविकता हुँदा हुँदै पुनः अंशमा दावी गर्न मिल्दैन । सम्मानीत अदालतवाट भएको आदेशमा उल्लेखित नजिर प्रस्तुत मुद्दामा आकर्षित हुन सक्तैन । शुरु पुनरावेदन अदालतवाट भएको फैसलामा कुनै त्रुटी नभएकाले सदर गरिपाऊँ भन्ने व्यहोराको प्रत्यर्थीहरूको लिखित प्रतिवाद ।
१६. जग्गाधनी प्रमाणपूर्जा बाट शम्भू विष्टको नाममा रहेको जग्गा के–कुन श्रोतवाट कुन मितिमा आएको हो शम्भु विष्टलाई झिकाई अ.वं. १३३ नं. अनुसार खुलाई पेश गर्ने भन्ने यस अदालतवाट भएको आदेश वमोजिम शम्भु विष्टको वा. भरत विष्टले मिति २०६०।१०।६ मा अ.वं. १३३ नं बमोजिम गरेको कागज मिसिल सामेल रहेको ।
१७. यसमा बादी प्रतिबादीहरूका पिता/पति अगाडि नै छुट्टि भिन्न भै सकेको देखिँदा अंशवण्डाको ३० नं. बमोजिम बादी दावी नपुग्ने भनि शुरुले गरको इन्साफ पुनरावेदन अदालत पाटनले सदर गरेको देखिन्छ । बादी प्रतिबादीका पिता/पतिहरू अंशवण्डाको ३० नं. बमोजिम अगाडि नै छुट्टि भिन्न भएको कुरा प्रमाणित हुनलाई वण्डा गर्नुपर्ने चल अचल सम्पत्ति नरम गरम मिलाई वण्डा गरेको र सो बमोजिम दाखिल दर्ता भै बादी प्रतिबादीहरू बीच बिक्री व्यवहार समेत भएको देखिनु पर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा बादी तथा प्रतिबादीहरूका पिताहरूको नाममा रहेको जग्गा समान नभै धेरै फरक रहे भएको देखिदा नरम गरम मिलाई वण्डा भएको नदेखिएको र वण्डा भएको भनेको जग्गाहरू पनि बादी प्रतिबादीहरू बीच एक आपसमा विक्री व्यवहार समेत भएको नदेखिएको अवस्थामा वादी प्रतिवादीहरू अगाडि नै छुट्टि भिन्न भै सकेको भन्न सकिने अवस्था देखिएन । बादीले २०२१ सालमा मानो छुट्टि वसेको भनि जिकिर लिएको कुरालाई प्रतिबादीहरूले अन्यथा भन्न सकेको स्थिति नदेखिएको र बादीहरूका पति/पिता तिलक बहादुर विष्टले ७ नं. फारम भर्दा उल्लेख गरेको मिति २०२१।९।१८ लाई मानो छुट्टिएको मिति कायम गरी सो मितिसंमको आ–आफ्नो जिम्मा रहेको वण्डा गर्नुपर्ने पैतृक श्री सम्पत्तिको अंशवण्डाको २०, २१, २२, २३ नं. बमोजिम तायदाती फाँटवारी पेश गर्न लगाई सो सम्पत्ति मध्येवाट बादी हरूले अंश पाउने सम्पत्तिको नपुग कोर्ट फि समेत पुनरावेदक बादीहरूवाट दाखिल गर्न लगाई नियमानुसार गरी पेश गर्नुभन्ने मिति २०६१।६।१३ को आदेशानुसार पुनरावेदक वादीहरूले विवरण खोली तथा प्रतिवादीहरूले बण्डा गर्नुपर्ने कुनै सम्पत्ति नरहेको भनी तायदाती पेश गरेको ।
१८. प्रतिवादीहरूले तायदाती पेश गर्दा सम्पत्तिको विवरण नखुलाएकोले निजहरूको जिम्मा रहेको बण्डा गर्नुपर्ने अचल सम्पत्तिको विवरण पेश गरेको भन्ने पुनरावेदक वादीको २०६१।१०।१३ को उजुरी पत्र ।
१९. पुनरावेदक बादीले मिति ०६१।१०।१३ मा दिएको निवेदनमा उल्लेखित जग्गा शम्भु विष्ट, तिलक विक्रम विष्ट र कान्छो विष्टको नाममा दर्ता कायम छ छैन भए के कस्तो व्यवहारवाट कहिले दर्ता हुन आएको हो ? मालपोत कार्यालय काठमाण्डौ बुझी जवाफ प्राप्त भएपछि नियम बमोजिम पेश गुर्न भन्ने व्यहोराको मिति२०६२।१।२१।४ मा यस अदालतबाट भएको आदेश ।
२०. यसमा विपक्षि प्रतिबादीले प्रमाण दिएको बालकुमारी गा.वि.स.वडा नं.९(क) को कि.नं.३०७ र ३२५ को जग्गाको सक्कलै फिल्डवुक पेशीका दिन इजलास समक्ष देखाई लैजाने गरी सम्वन्धित नापी शाखावाट झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६२।५।८ को आदेश ।
२१. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक बादीहरूका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री नगेन्द्रकुमार राईले बादी र प्रतिबादीहरू बीच नातामा विवाद छैन । रितपूर्वक अंशवण्डा भएको र व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको अवस्था पनि छैन । कि.नं. ३०७ र ३२५ जग्गाको फिल्डवूकमा उल्लेख भएको व्यहोरा र ७ नं. फाँटवारीलाई मुख्य आधार मानी शुरु र पुनरावेदन अदालतले अंशवण्डा भैसकेको भनी ठहर गरेको अंशवण्डाको ३० नं. विपरीत छ । अंशवण्डाको ३० नं. बमोजिम व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको अर्थ गर्न पैत्रिक सम्पत्ति घरसारमा नरम गरम मिलाई बण्डा गरी दाखिल खारेज भई भोग विक्री व्यवहार समेत अलग अलग भएको अवस्था हुनुपर्दछ । केही जग्गा पुनरावेदक बादीहरूका पिता तथा पति तिलकवहादुरका नाउँमा नापी सम्म गरिएको भए पनि हालसम्म कुनै पनि पैत्रिक सम्पत्ति दा.खा. दर्ता भएको अवस्था छैन । पुनरावेदक बादी तर्फ करिव ५ रोपनी जग्गा नापी भएको छ भने विपक्षीहरू तर्फ १८ रोपनी भन्दा बढी जग्गा नापी भई निजहरूकै भोग चलनमा छ । अंशियारहरू बीच लेनदेन विक्री व्यवहार भएको पनि छैन । फिल्डवूकको कैफियतमा लेखिएको व्यहोराले अंश भएको अर्थ गर्न मिल्दैन । फिल्डवुक जग्गाको रेकर्ड सम्म हो । अंश छुट्टिएको प्रमाण होइन । श्रेस्तालाई मात्र प्रमाणमा लिन मिल्छ । पुनरावेदकहरूका नाउँमा विपक्षीको वावुबाट पैत्रिक सम्पत्ति दा.खा. दर्ता भई आएको श्रेस्ता छैन । ७ नं. फाँटवारी अलग भर्दैमा अंश भएको मान्न नमिल्ने भनी सम्मानित अदालतबाट सिद्धान्त प्रतिपादन भएको हुँदा सोही आधारमा मात्र अंश भएको ठहर गर्नु न्यायोचित हुँदैन । प्रत्यर्थी प्रतिबादीहरूका नाउँमा रहेको सम्पत्ति सवै पैत्रिक हो। पैत्रिक सम्पत्ति वाहेक अन्य स्रोतबाट उक्त सम्पत्ति आएको भन्ने निजहरूको जिकिर नहुँदा सो सम्पत्ति बादीहरूलाई बण्डा लगाइनु पर्दछ । अंश हक जन्मजात प्राप्त हुने नैसर्गिक हक हो । वावुले अंश लिएनन् भन्दैमा छोराहरूले अंशमा दावी लिन नपाउने भन्न मिल्दैन । ३ दाजु भाइ बीच बण्डा भएको तथा पैत्रिक सम्पत्ति दा.खा. दर्ता भएको कुनै प्रमाण नरहेको अवस्थामा अंशवण्डा भै सकेको भन्न मिल्दैन । तसर्थ अंश नपाउने ठहराएको फैसला उल्टी गरी २ भागको १ भाग अंश बादीले पाउने ठहर्याउनु पर्दछ भनी वहस गर्नु भयो ।
२२. प्रत्यर्थी प्रतिबादीहरूका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री मातृकाप्रसाद निरौलाले २०२१ साल अघि नै मानो छुट्टिएको मिति कायम गरी अंश पाउँ भन्ने दावी भएकोमा बादी र प्रतिबादीहरूका पिताहरू २०१० सालमै छुट्टि भिन्न भएकोले अंश बण्डा गर्न वाँकी छैन भन्ने प्रतिउत्तर जिकिर छ । कि.नं. ३०७ र ३२५ को जग्गाको फिल्डवूकमा विपक्षी बादीहरूका पति पिताले मेरो अंश भागको भनी व्यहोरा लेखाउनु भएको छ । सो व्यहोरालाई बिपक्षी बादीहरूले अन्यथा भन्न सकेको अवस्था छैन । सो जग्गा हालसम्म बादीहरूकै नाउँमा दर्ता प्रमाणित छ । बादीहरूको पिता पतिले मौकैमा लेखाएको सो व्यहोराबाट बादीहरू समेत विवन्धित छन् । बादीको पति पिताले आफ्नो मात्र परिवार देखाइ छुट्टै ७ नं. फाँटवारी भरेको समेतबाट प्रतिबादीका पिता तिलक विक्रम र बादीका पति तथा पिता तिलकवहादुर तथा निजहरूका भाइ कान्छा बिष्ट व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको प्रमाणित हुन्छ । अंशवण्डाको ३० नं. को आधारमा दोहोर्याउने निस्सा दिएको मिलेको छैन । अंशवण्डाको ३० नं. ले अंशियारहरू बीच पैत्रिक सम्पत्ति दाखिल खारेज भइ अलग अलग भोग चलन गरेको कुरालाई व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको भनिएको छ । नापीको समयमा तीनै जना अंशियारहरूका नाउँमा अलग अलग जग्गा नापी दर्ता भएको छ । आफ्नो नाउँमा नापी दर्ता भएको जग्गाको जग्गाधनी प्रमाण पूर्जा नलिनु अर्कै कुरा हो । सम्पत्ति घटि बढी परेको भन्ने कुरा प्रासंगिक छैन । तत्काल खेत लिनेलाई कम र पाखो लिनेलाई बढी क्षेत्रफल परेको हुन सक्छ । बादीहरूले २०२१ साल अघि मानो छुट्टिएको भने पनि यो यस मितिमा मानो छुट्टिएको भनी निश्चित दावी लिएको छैन । यस्तोमा अदालतले २०२१।९।१८ लाई मानो छुट्टिएको मिति कायम गर्ने कुनै आधार छैन । तायदाती माग गर्दैमा अंश मुद्दा अन्तिम हुने होइन । तायदाती मागेर पनि अंश नपाउने ठहरी यस अदालतबाट निर्णय भएका उदाहरण छन् । तसर्थ बादी र प्रतिबादीहरूका पति पिताहरूका बीच २०१० साल अगावै अंशवण्डा भई पैत्रिक सम्पत्ति अलग अलग नापी दर्ता भएको अवस्थामा अंश नपाउने ठहराएको पुनरावेदन अदालतको फैसला मनासिव हुँदा सदर गरिनु पर्दछ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
२३. पक्ष विपक्षका कानून व्यवसायिहरूको वहस सुनी पुनरावेदन सहितको सुरु र रेकर्ड मिसिल अध्ययन गरी हेर्दा मूल पुरुष झपटमान सिंह विष्टका ३ भाइ छोरामा जेठा विपक्षीहरूका पिता तिलक विक्रम, माहिला हामी फिरादीका पति पिता तिलकवहादुर र कान्छा कान्छा विष्ट हुनुहुन्थ्यो । निजहरू सवैको मृत्यु भईसकेको छ । पति पिताहरूको पालामा २०२१ साल अगावै मानो छुट्टिएको र सर्भे नापीमा तिलकवहादुरका नाउँमा नापी भएको केही जग्गा हामीले भोग गरी आएको भए पनि हाल सम्म अंशवण्डा भएको छैन । कान्छा विष्ट र निजको श्रीमतीको निसन्तान अवस्थामै मृत्यु भएको र वण्डा गर्नुपर्ने सम्पूर्ण पैत्रिक सम्पत्ति बिपक्षीहरूका जिम्मा भएकोले निजहरूबाट तायदाती लिइ २ भागको १ भाग अंश दिलाइ पाउँ भन्ने समेत बादीको मुख्य फिराद दावी रहेको देखिन्छ । प्रतिबादीहरूको प्रतिउत्तर हेर्दा विपक्षी बादीका पति पिता र हामीहरूका पिताहरूका बीच २०१० साल अगावै अंशवण्डा भै सकेको छ । अंशमा पाएको सम्पत्ति विपक्षीका पति पिताले छुट्टै ७ नं. फाँटवारी भरी नापीको समयमा मेरो अंश हकको भनी नापी दर्ता समेत गराएको अवस्था हुँदा फिराद दावीबाट अलग फुर्सद गरिपाऊँ भन्ने समेत उल्लेख गरेको पाइन्छ ।
२४. शुरुले बादीहरूका पति पिता तथा प्रतिबादीहरूका पिता समेतका बीच अघि नै अंशवण्डा भै सकेको भनी दावी नपुग्ने ठहराएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला उपर बादीहरूको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परी यस अदालतबाट अंशवण्डाको ३० नं. समेतको त्रुटी भएको भन्ने आधारमा दोहोर्याउने निस्सा भएको देखिन्छ । पुनरावेदकले निजहरूको पति पिता तथा प्रत्यर्थीका पिताको बीचमा रितपूर्वक अंशवण्डा नभएको, घरसारमा नरम गरम मिलाइ बण्डा गरी पैत्रिक सम्पत्ति दाखिल खारेज दर्ता गरी भोग विक्री व्यवहार समेत नछुट्टिएको अवस्थामा व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको ठहराएको पुनरावेदन अदालतको फैसलामा अंशवण्डाको ३० नं. को त्रुटी रहेको भन्ने समेत मुख्य जिकिर रहेको पाइन्छ ।
२५. अव पुनरावेदन अदालत, पाटनको उक्त फैसला मिलेको छ, छैन ? र पुनरावेदक बादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने बिषयको निरोपण गर्न मुख्यतः निम्न प्रश्नहरूमा केन्द्रित रही निर्णय दिनु पर्ने देखियो :–
(१) पुनरावेदक बादीहरूका पति पिता तथा प्रत्यर्थी प्रतिबादीहरूका पिता समेतका अंशियार बीच रितपूर्वक अंशवण्डा भएको अवस्था छ, छैन ?
(२) बादी प्रतिबादीहरू समेतका अंशियार बीच व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको मान्न मिल्ने अवस्था देखिन्छ, देखिदैन ।
(३) पुनरावेदक बादीहरूले अंश पाउने अवस्था देखिएमा कुन कुन सम्पत्तिबाट के कस्तो व्यहोराबाट अंश पाउने स्थिति रहन्छ ?
२६. निर्णय दिनु पर्ने हुन आएको पहिलो प्रश्न तर्फ विचार गर्दा, पुनरावेदक बादीले शुरु फिरादपत्रमा उल्लेख गरेको नाता पुस्तेवारीका सम्बन्धमा प्रत्यर्थी प्रतिबादीहरूले विवाद गरेको पाइँदैन । जस अनुसार मूल पुरुष झपटमान सिंह विष्टका ३ भाइ छोरामा जेठा प्रतिबादीहरूका पिता तिलक विक्रम, माहिला बादीहरूका पति पिता तिलक वहादुर र कान्छा, कान्छा विष्ट रहेकोमा निजहरू सवैको मृत्यु भईसकेको तथा कान्छा विष्ट तर्फ कुनै हकवाला सन्तान नभएको भन्ने समेत देखिन्छ । बादीहरूले पति पिताकै पालामा २०२१ साल अघि मानो सम्म छुट्टिए पनि हालसम्म अंशवण्डा नभएको भन्ने दावी लिएकोमा प्रतिबादीहरूले २०१० साल अगावै बादी प्रतिबादीका पिताहरू जिवित छँदै घरसारमा छुट्टि भिन्न भएको भन्ने जिकिर लिएको देखिए पनि यो यस मितिमा रितपूर्वक बण्डापत्र खडा गरी अंशवण्डा भएको भनी जिकिर लिन र सो को प्रमाण दिन सकेको नपाइँदा बादी प्रतिबादी तथा निजहरूका पति पिता समेतका अंशियारहरू बीच रितपूर्वक अंशवण्डा भएको मान्न मिलेन ।
२७. अव वावुहरूकै पालमा २०१० साल अगावै व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको भन्ने प्रतिउत्तर जिकिर र निर्णय दिनु पर्ने देखिएको दोस्रो महत्वपूर्ण प्रश्नका सम्बन्धमा बिचार गर्दा बादीका वावु तिलकवहादुरले छुट्टै ७ नं. फाँटवारी भरेको तथा कि.नं. ३०७ र ३२५ जग्गाको फिल्डवूकमा उल्लेख गरेको व्यहोरालाई प्रतिबादीहरूले व्यवहार प्रमाणको मूल आधारका रुपमा देखाएको पाइन्छ । जग्गाको विवरण पेश गर्ने प्रयोजन सम्मका लागि भरिने ७ नं. फाँटवारीबाट अंशियार वीच अंशवण्डा भएको भनी भन्न मिल्दैन भन्ने सम्बन्धमा यस अदालतबाट ने.का.प. २०५३ अंक ८, पृष्ठ ६६६ नि.नं. ६२५२ मा सिद्धान्त प्रतिपादन भइरहेको र यसप्रकारको सिद्धान्तलाइ स्थापित सिद्धान्तकै रुपमा अन्य मुद्दाहरूमा समेत ग्रहण गरिदै आइ रहेको परिप्रेक्ष्यमा बादीका पति पिताले ७ नं. फाँटवारी भरेकै आधारमा अंशवण्डा भइ सकेको ठहराउनु न्यायोचित हुँदैन ।
२८. जहाँसम्म कि.नं. ३०७ र ३२५ को जग्गाको फिल्डवूकमा उल्लेख भएको व्यहोराको प्रश्न छ, यस अदालतको पूर्वादेश बमोजिम झिकाइएको सक्कलै फिल्डवूक हेर्दा, जग्गाधनीको महलमा तिलक विक्रम विष्टको नाम जनिइ "यो जग्गा दाजु तिलकविक्रमको नम्वरीबाट मेरो अंश हक भई जोति खाएको छु" भनी तिलक वहादुर विष्टले किसानको व्यहोरा भन्ने महलमा उल्लेख गरेको देखिन्छ । यद्यपि सो जग्गाहरू तिलक विक्रम विष्टको नामबाट दा.खा. नामसारी भई तिलकवहादुर विष्ट वा पुनरावेदक बादीहरूका नाउँमा दर्ता भएको अवस्था देखिन आउँदैन । त्यसै गरी कि.नं. १८ को जग्गा नापी सम्म भएको देखिए पनि वादी प्रतिवादीका कान्छा वावु र देवर कान्छा विष्टका नाउँमा समेत कुनै पैत्रिक सम्पत्ति दा.खा. दर्ता भएको भन्ने देखिएको छैन । यसरी पैत्रिक सम्पत्ति मध्येको भनिएको केही जग्गा बादीहरूका पति पिताको नाममा नापीसम्म भएको देखिए तापनि सो जगगहरू दा.खा. नाउसारी भई निजहरूका नाउँमा दर्ता भएको नदेखिएको अवस्थामा फिल्डवूकमा लेखिएको सो व्यहोराबाट मात्र बादीका पति पिताले अंश लिइसकेको भन्न मिल्ने देखिएन । त्यसमा पनि बादीका साक्षी शिव कुमारी रिजालले बादी प्रतिबादी वीच अंश भएको छैन भनी स्पष्ट व्यहोराको वकपत्र गरेकोमा प्रतिबादीका साक्षी भोलानाथ रिजालको वकपत्र हेर्दा सम्पूर्ण सम्पत्ति सगोलमै छ कसै बीच पनि बण्डा भएको छैन, त्यसकारण बादी प्रतिबादी बीच भएको सम्पूर्ण सम्पत्ति पुनः बण्डा लगाउनु पर्छ भनी स.ज. ६ मा व्यहोरा लेखाएको देखिएबाट समेत बादी प्रतिबादीहरू वीच अंशवण्डा भएको मान्न मिल्ने अवस्था छैन ।
२९. मुलुकी ऐन अंशवण्डाको ३० नं. मा ...बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशवण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाव भाग शान्ति बमोजिम लिइ पाइ दाखिल खारेज समेत गराई सकेको वा बण्डा वमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टा छुट्टै भोग विक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भएको ठहरिने समेतको कानूनी व्यवस्था रहेको पाइन्छ । सोही कानूनी व्यवस्थाको ब्याख्या गर्दै यस अदालतको पूर्ण इजलासबाट ‘मुलुकी ऐन (सातौं संशोधन, २०३४।९।२७) द्वारा संशोधित अंशबण्डाको महलको ३० नं. बमोजिम २०३४।९।२७ सम्ममा व्यवहार प्रमाणबाट छुट्टिएको स्थिति देखिनको लागि बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाइ अचल अंशवण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाव भाग शान्ति वमोजिम लिइ पाइ दाखिल खारेज समेत गराई सकेको वा बण्डा वमोजिम आ आफ्नो भागको अचल छुट्टा छुट्टै भोग विक्रि व्यवहार गरेको हुनु पर्ने भन्ने समेत (ने.का.प. २०५२ अंक २ पृष्ठ ११४ नि.नं. ५०४७) सिद्धान्त प्रतिपादित भइरहेको देखिन्छ । बादी र प्रतिबादीहरूको भोगमा रहेको सम्पत्ति समान नदेखिई अस्वभाविक अन्तरको देखिएको हुँदा भाग शान्ति लिए पाएको भन्न सकिने अवस्था नदेखिएको, यो यो पैत्रिक सम्पत्ति बादी प्रतिबादीहरूले दाखिल खारेज गरेको तथा अंशमा पाएको सम्पत्ति यो यसरी अलग अलग भोग विक्री व्यवहार गरेको भन्ने कुराको प्रतिबादी पक्षबाट कुनै प्रमाण दिन गुजार्न सकेको समेत नदेखिंदा ७ नं. फाँटवारी अलग भरेको र फिल्डवूकमा लेखिएको व्यहोराका भरमा मात्र बादी र प्रतिबादीहरू व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको मान्न सकिएन ।
३०. बादी र प्रतिबादीहरू वीच अंश बण्डा भएको नदेखिएको यस स्थितिमा वादीहरूले अंश पाउने नै देखियो । अव कुन मितिलाई मानो छुट्टिएको मिति कायम गरी कुन कुन सम्पत्तिबाट बादीहरूले अंश पाउने हो ? भन्ने निर्णय दिनु पर्ने अन्तिम प्रश्न तर्फ बिचार गर्दा २०२१ साल भन्दा अगाडि मानो छुट्टिएको मिति कायम गरिपाऊँ भन्ने बादीको फिराद दावी भएकोमा प्रतिबादीहरूले सो नभई यो यस मितिमा मानो छुट्टिएको मिति कायम गरिपाऊँ भन्ने जिकिर लिएको पाइँदैन । बादीले २०२१ साल अगाडि मानो छुट्टिएको मिति कायम गरिपाऊँ भनेकोमा अदालतबाट २०२१।९।१८ लाई मानो छुट्टिएको मिति कायम गरेको मिलेको छैन भन्ने प्रत्यर्थी तर्फका विद्वान् कानून व्यवसायीले वहसमा जिकिर लिनु भएको देखिए पनि बादीका पिता पतिले ७ नं. फाँटवारी दाखिल गर्दा उल्लेख गरेको मिति २०२१।९।१८ लाइ मानो छुट्टिएको मिति कायम गरेको यस अदालतको २०६१।६।१३ को आदेशसंग असहमत हुनु पर्ने कुनै आधार कारण देखिदैन । झपटमानका ३ छोरामा कान्छा छोरा कान्छा विष्ट तथा निजको श्रीमतिको निसन्तान अवस्थामा मृत्यु भएको भन्ने हुँदा बादीका पति पिता र प्रतिबादीका पिता २ अंशियार देखिंदा २ भागको १ भाग अंश बादीहरूले प्रतिवादीहरूबाट पाउने देखियो ।
३१. अव के कुन सम्पत्तिबाट बादीहरूले अंश पाउने हो भन्ने सम्बन्धमा बिचार गर्दा यस अदालतको २०६१।६।१३ को आदेश वमोजिम पुनरावेदक बादीहरूले २०६१।९।९ मा पेश गरेको तायदातीमा उल्लेख गरेको का.जि. वालकुमारी गा.वि.स. वडा नं. ९(क) कि.नं. ३०७ को क्षे.फ. १.४.०.०, ऐ. कि.नं. ३२५ को क्षे.फ. २.१.०.०, ऐ. वडा नं. ९(ख) कि.नं. ५, क्षे.फ. ०.१२.०.० र ऐ. कि.नं. १७, क्षे.फ. १.९.०.० जग्गा दर्ता गर्न वाँकी रहेको भन्ने देखिंदा सो जग्गाहरू पछि कानून वमोजिम दर्ता भएका बखत २ भागको १ भाग अंश बादीहरूले छुट्याई लिन पाउने देखिन्छ । प्रतिबादीहरूले मिति २०६१।९।१६ मा पेश गरेको तायदातीमा २०२१।९।१८ भन्दा पहिले प्राप्त भएको बण्डा गर्नुपर्ने सम्पत्ति जिम्मा नरहेको भन्ने व्यहोरा लेखाएको देखिए तापनि बादीहरूले मिति २०६१।१०।१३ मा दिएको उजुरी निवेदनबाट प्रतिबादी शम्भु विष्ट समेतका नाउँमा अचल सम्पत्ति दर्ता रहेको देखिएको र केही जग्गा नापी सम्म भइ दर्ता वाँकी रहेको देखिन्छ । प्रतिबादी मध्येको शम्भु विष्ट समेतका नाउँका सम्पत्तिहरू सवै बण्डा लाग्ने पैत्रिक सम्पत्ति हुन् भन्ने पुनरावेदक बादीहरूको उजुरी रहेकोमा यस अदालतको मिति २०६०।८।१५ को आदेश वमोजिम प्रतिबादी शम्भु विष्टको वारेशले मिति २०६०।१०।६ मा अ.वं. १३३ नं. वमोजिम गरेको कागज हेर्दा मेरा नाउँ हक भोग दर्ताको जग्गा वावु तिलक विक्रमवाट आएको भन्ने व्यहोरा उल्लेख गरेको र उक्त जग्गाहरूको फिल्डवूकबाट समेत सो जग्गाहरू तिलक विक्रम समेतका नाउँबाट आएको पैत्रिक सम्पत्ति नै देखिन आएको हुँदा पुनरावेदक बादीको उजुरीमा उल्लेख भएका जग्गाहरू बाट समेत बादीहरूले २ भागको १ भाग अंश पाउने नै देखियो ।
३२. उक्त उजुरीमा उल्लेखित जग्गा मध्ये प्र. शम्भु विष्टका नाउँमा नापी भएका का.जि. वालकुमारी वडा नं. ९(क) कि.नं. ३१३ क्षे.फ. १.५.३, ऐ.कि.नं. ३२६ क्षे.फ. २.४.१, ऐ.कि.नं. ३२७ क्षे.फ. २.६.३.० तथा कान्छो विष्टका नाउँमा नापी भएको ऐ. वडा नं. ९(ख) कि.नं. १८ क्षे.फ. ३.७.०.० समेत जग्गा दर्ता बाँकी देखिंदा कानून वमोजिम दर्ता भएका बखत बादीहरूले अंश छुट्याई लिन पाउने नै देखिन्छ । प्रतिबादी शम्भु विष्ट नाउँ दर्ताको का.जि. वालकुमारी वडा नं. ९(ख) कि.नं. २ को ०.८.०.०, कि.नं. ३ कि.का. भई कायमी कि.नं. ५१ को क्षे.फ. १.०.३ र कि.नं. ४ को क्षे.फ. ०.१०.३ समेतका जग्गाबाट बादीहरूले प्रतिबादीबाट २ भागको १ भाग अंश पाउने देखियो । पुनरावेदक बादीको तायदातीमा उल्लेखित वालकुमारी गा.वि.स.वडा नं. ९(क) कि.नं. ३१ को ०.७.१.० जग्गा र सो मा वनेको घर तथा ऐ. स्थित कि.नं. १२२ को क्षे.फ. ०.१.०.० जग्गा बादी मध्येको सिताराम विष्टले शाही नेपाली सेनामा नोकरी गर्दा शान्ती सेनामा गई आर्जन गरेको रकमबाट खरिद गरेको भन्ने जिकिर लिएकोमा प्रतिबादीपक्षबाट सो को खण्डन नआएको हुँदा सो सम्पत्ति निजको निजि आर्जनको देखिंदा बण्डा लाग्ने देखिएन ।
३३. तसर्थ उल्लेखित कानूनी व्यवस्था, प्रतिपादित सिद्धान्त र विवेचित आधार कारण समेतबाट बादी दावी वमोजिम २ भागको १ भाग अंश बादीहरूले प्रतिबादीहरूबाट पाउने ठहराउनु पर्नेमा अन्यथा ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५४।८।१९ को फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको मिति २०५५।५।४ को फैसला मिलेको नदेखिंदा उल्टी भई पुनरावेदक बादीहरूले प्रतिबादीहरूबाट २ भागको १ भाग अंश छुट्याई लिन पाउने र अंशमा पाएको सम्पत्ति बादीहरूका नाउँमा दर्ता समेत हुने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम बादी दावी नपुग्ने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला उल्टी भई पुनरावेदक बादीहरूले प्रतिबादीहरूबाट २ भागको १ भाग अंश पाउने ठहरी फैसला भएकोले बादीहरूले शुरु अदालतमा राखेको कोर्टफि रु. २००।, पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्दा राखेको थप कोर्टफी रु. ११५। तथा यस अदालतमा राखेको थप कोर्टफि रु. ११५। समेत जम्मा रु. ४३०। प्रतिबादीहरूबाट भराइ पाउँ भनी ऐनका म्याद भित्र दरखास्त दिए केही दस्तुर नलिई भराई दिनु भनी शुरु अदालतमा लेखि पठाउनु .......... १
पुनरावेदक बादीहरूले बुझाउनु पर्ने नपुग कोर्टफि रु. १७,८०५। तत्काल नलिई पछि ठहरे बमोजिम हुने गरी यस अदालतबाट २०६१।११।३ मा आदेश भएको देखिएको र पुनरावेदक बादीको दावी जिकिर पुग्ने ठहरी फैसला भएकोले उक्त नपुग कोर्टफी रकम रु. १७,८०५। प्रतिबादीहरूबाट कोर्टफि ऐन, २०१७ को दफा १५(३) बमोजिम जरिवाना सरह असुल गरी सदर स्याहा गर्नु भनी शुरुमा लेखि पठाउनु ........ २
पुनरावेदक बादीहरूले पेश गरेको तायदाती र मिति २०६१।१०।१३ मा दिएको उजुरीमा उल्लेखित जग्गाहरू मध्ये कि.नं. ३१ को घर जग्गा र कि.नं. १२२ को जग्गा निजी आर्जन ठहरी अन्य सम्पूर्ण जग्गाबाट बादीहरूले २ भागको १ भाग अंश पाउने ठहरेकाले अंश पाउने ठहरेका देहाय वमोजिमका जग्गाहरूबाट अंश छुट्याई चलन चलाइ पाउँ भनी पुनरावेदक बादीहरूको मुलुकी ऐन दण्ड सजायको महलको ४६ नं. को म्याद भित्र दरखास्त परे अंश छुट्याएको मोल बिगोको सयकडा २।५० का दरले दस्तुर लिई देहाय बमोजिमका घर जग्गावाट अंश बण्डाको २८ नं. वमोजिम अंश छुट्याई दिनु भनी शुरु का.जि.अ.मा लगत दिनु .....३
हालबण्डा छुट्याउनु पर्नेः
प्रतिबादी शम्भु विष्टका नाउँ दर्ताको का.जि. वालकुमारी गा.वि.स. वडा नं. ९ (ख) कि.नं. २ को क्षे.फ. ०.८.०, ऐ. कि.नं. ३ कित्ता काट भई कायमी कि.नं. ५१ को क्षे.फ. १.०.३, ऐ. कि.नं. ४ को क्षे.फ. ०.१०.३, ऐ. कि.नं. ९ क्षे.फ. ०.५.२.० समेत ४ कित्ता जग्गा ........१
कानून बमोजिम दर्ता भएका बखत अंश छुट्याउनु पर्ने प्रतिबादी शम्भु विष्टका नाउँमा नापी भई दर्ता वाँकी भन्ने देखिएको का.जि. वालकुमारी गा.वि.स. वडा नं. ९(क) कि.नं. ३१३ को क्षे.फ. १.५.३.०, ऐ. कि.नं. ३२६ क्षे.फ. २.४.१.०, ऐ. कि.नं. ३२७ क्षे.फ. २.६.३.० समेत ३ कित्ता ...२
कान्छा विष्टका नाउँमा नापी भई दर्ता वाँकी देखिएको ऐ. वडा नं. ९ (ख) कि.नं. १८ को क्षे.फ. ३.७.०.० ...३
तिलक वहादुरका नाउँमा नापी भई दर्ता वाँकी वडा नं. ९ (क) कि.नं. ३०७ को क्षे.फ. १.४.०, ऐ. कि.नं. ३२५ क्षे.फ. २.१.०, ऐ. वडा नं. ९ (ख) कि.नं. ५ क्षे.फ. ०.१२.० र कि.नं. १७ को क्षे.फ. १.९.० समेतका ४ (चार) कित्ता जग्गा र मिसिल नियमानुसार गरी बुझाई दिनु ....४
उक्त रायमा म सहमत छु ।
न्या.कल्याण श्रेष्ठ
इति संबत् २०६२ साल मार्ग १ गते रोज ४ शुभम ............