निर्णय नं. ७५८३ - करार बमोजिम जग्गा पारित गराई पाउं ।

निर्णय नं.७५८३ ने.का.प.२०६२ अङ्क ८
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
सम्वत् २०५८ सालको दे.पु.नं. ६९०८, ७२३८
फैसला मितिः २०६२।८।२०।२
मुद्दा :–करार बमोजिम जग्गा पारित गराई पाउं ।
पुनरावेदक/बादीः ललितपुर जिल्ला हरिसिद्धी गा.वि.स. वडा नं. ९ बस्ने धनमाया महर्जन
बिरुद्ध
प्रत्यर्थी/प्रतिबादीः ललितपुर जिल्ला हरिसिद्धी गा.वि.स. वडा नं. ७ बस्ने तुल्सी महर्जन समेत
पुनराबेदक/प्रतिबादी ललितपुर जिल्ला हरिसिद्धी गा.वि.स. वडा नं. ७ बस्ने तुल्सी महर्जन समेत
बिरुद्ध
प्रत्यर्थी/बादीः ललितपुर जिल्ला हरिसिद्धी गा.वि.स. वडा नं. ९ बस्ने धनमाया महर्जन
§ प्रचलित करार सम्वन्धी ऐन, २०२३ ले करारको स्वरुप यस्तो ढांचामा हुनुपर्ने भनी किटानी व्यवस्था गरेको नपाइने ।
§ विवादित लिखतमा कसले के, कस्तो शर्त कसरी पुरा गर्ने भन्ने सम्वन्धमा स्पष्टरुपमा उल्लेख गरी दुवैपक्षको सहमति स्वरुप ल्याप्चे सहिछाप समेत भएको देखिंदा सो लिखतमा करारको लागि आवश्यक मूलभूत तत्व समावेश भएको देखिन आएबाट लिखतलार्ई करारको लिखत मान्न मिल्ने ।
(प्रकरण नं.१६)
§ करारमा उल्लेख भएको शर्त पालन गर्नुपर्ने दायित्व करारको पक्षहरूको हुने भएकोले वादी र प्रतिविादीहरूवीच भएको करारको शर्तबमोजिम जग्गा पारितको लागि दावी लिएकोमा वादीले पारित गरिलिन नपाउने भन्न नमिल्ने ।
(प्रकरण नं.१७)
§ अदालतले जुन कुरामा दावी पर्छ उसैमा इन्साफ गर्ने हो । दावी नै नलिएको विषयमा अदालतले इन्साफ गर्न नमिल्ने ।
(प्रकरण नं.१८)
पुनरावेदक वादी तर्फवाटः विद्वान् अधिवक्ता श्री ध्रुवनाथ पन्त
प्रत्यर्थी प्रतिवादी तर्फवाटः तर्फबाट विद्वान् अधिवक्ता श्री नारायणप्रसाद भट्टराई
अवलम्वित नजीरः
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५७।१२।२९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) वमोजिम वादी प्रतिवादी दुवै पक्षको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-
२. विपक्षीहरूको जेठा वावु जुजुमान पोपो महर्जनको नाममा दर्ता भएको ललितपुर जिल्ला हरिसिद्धी गा.वि.स. वडा नं. ७(क) कि.नं. २१२ को १–८–० जग्गामा जुजुमान पोपो महर्जन परलोक भएपछि निजको छोरा नारायण पोपो महर्जनको हक लाग्ने भएकोले उक्त जग्गा नारायण पोपो महर्जनको नाममा दर्ता भएको थियो । नारायण पोपो महर्जनलाई औषधि खर्च तथा पालनपोषण समेत गर्दा रु.५०,०००।– खर्च गरिदिए वापत सो जग्गा विपक्षीहरूको नाममा संयुक्त नामसारी भएको १५ दिन भित्र सो जग्गाको क्षेत्रफल १–८–० मध्ये पश्चिमतर्फबाट क्षेत्रफल ०–८–० जग्गा कित्ता काट गरी मलाई पास गरिदिनुपर्ने कुरामा विपक्षीहरू र म फिरादीको वीचमा मिति २०५५।२।६ मा करारनामा भएको छ । संयुक्त नामसारी दर्ता गरिलिएको १५ दिन भित्र करारनामाको शर्त वमोजिम भाखा भित्र पास नगरी दिएमा अदालतमा मुद्दा गरी पारीत गरी लिन पाउने हक करारनामामा प्रष्ट उल्लेख छ । विपक्षीहरूले मिति २०५५।६।८ मा संयुक्त नामसारी दर्ता गरी जग्गाधनी प्रमाणपूर्जा लिएको कुरा मिति २०५५।७।२९ मा नक्कल सारी लिई थाहा हुन आएकोले विपक्षीहरूलाई करार बमोजिम गरिदिन भन्दा आलटाल गरी करार वमोजिम नगरिदिएकोले करारनामा बमोजिम विपक्षीहरूको संयुक्त नामको उक्त जग्गाको क्षेत्रफल १–८–० मध्ये पश्चिम तर्फबाट ०–८–० जग्गा कित्ता काट गराई दायित्व पूरा गराई पाउं भन्ने व्यहोराको फिरादपत्र ।
३. बादी र हाम्रो बीचमा जेठा बाबुको छोरा नारायण पोपोको नामबाट हाम्रो नाममा संयुक्त नामसारी दर्ता भएको मितिले १५ दिन भित्र ०–८–० जग्गा एकलौटी हक गरिदिनुपर्ने व्यहोराको करारनामा भएको होइन । हाम्रो नामको ललितपुर जिल्ला हरिसिद्धी गा.वि.स. वडा नं. ७ (क) कि.नं. २११ को जग्गा मध्ये ०–८–० जग्गा प्रति रोपनी चौध लाख रुपैयाका दरले लिने दिने भनी वैनावट्टाको कागज लेखी ल्याउछु भन्दा हुन्छ भनेका थियौं । २०५५ बैशाख १० गते सोही अनुसारको कागज लेखी ल्याएको छु सहि गरि दिनुहोस रुपैया दिन्छु भनी धनमाया र निजका मानिसले हामीलाई भनेकोले ल्याप्चे सहिछाप गर्दा गर्दै शंका लागी व्यहोरा पढी बाची सुनाउन लगाउंदा त्यसमा बैनाबट्टाको शर्त अनुसार जग्गा किनबेच गर्ने कुरा नलेखी हाम्रो जेठा बाबु जुजुमान पोपोको शेषपछि निजको छोरोको नाममा २०२८ सालमा नामसारी गरिदिएको र निजलाई पालनपोषण गर्दा कम्तिमा रु.५०,०००।– खर्च भएकोले २०३५ साल अगाडि खर्च भएको उक्त रुपैया वापत भनी बिना मूल्य रुपैया नै नदिई झुक्याई हाम्रो नाममा नामसारी दर्ता नै भै नसकेको नारायण पोपोको नामको कि.नं. २१२ को जग्गा मध्ये ०–८–० जग्गा हामीले वादीलाई एकलौटी हक गरिदिनु भन्ने लेखिएको रहेछ । त्यसमा हाम्रो मञ्जुरी थिएन । झुठ्ठा व्यहोराको कागजमा हामीले बन्दमा ल्याप्चे समेत पुरा नगरी लेखात्मक सहि गरेनौ । लेखक समेतको सहिछाप नभएको कागजको कुनै अस्तित्व छैन । बादीले औषधि उपचार गर्न रु. ५००००।– दिएको लिखत प्रमाण छैन । यदि दिएकै भए पनि दाजु नारायण पोपोको पालनपोषण औषधि खर्चमा रु. ५०,०००।– खर्च भएको रकम हामीबाट भराई पाउं भनी लेनदेन व्यवहारको म्यादै भित्र दावी गर्नुपर्नेमा गरिएन । उक्त बिवादित करारनामाको आधारमा गरिएको विपक्षीको फिराद दावी खारेज गरिपाउं भन्ने व्यहोराको प्रतिउत्तरपत्र ।
४. विवादित लिखत एकोहोरो मात्र भएको प्रतिवादीसंग भएको होइन भनी प्रतिवादीको वारेसले अ.वं. ७८ नं. वमोजिम गरेको वयान ।
५. बादी धनमाया महर्जन र प्रतिवादी गोपाल महर्जन समेत भई करारनामामा उल्लेख भएको पक्षको रोहवरमा भएको हो भनी वादीको वारेसले अ.वं. ७८ नं. अनुसार गरेको बयान ।
६. करारको शर्त नं. ४ मा दायित्व निर्वाह नभए वा नगरेको अवस्थामा बादीले हर्जानामा दावी लिई क्षतिपूर्ति भराई लिन सक्ने प्रावधान समेत उल्लेख भै रहेको देखिएको अवस्था र करारको शर्त नं. १ मा सोको विगो रु.५०,०००।– भन्ने उल्लेख भै रहेको देखिंदा र कानून वमोजिम बार्षिक सयकडा १० प्रतिशत भन्दा बढी व्याजको दाबी लिन नसकिने प्रचलित व्यवस्था अनुरुप करार ऐन, २०२३ को दफा १५(१) बमोजिम बादीले प्रतिबादीबाट क्षतिपूर्ति भराई लिन पाउने देखिंदा लिखतमा उल्लेखित रकम रु.५०,०००।– र सोको लिखत भएको मिति देखिको वार्षिक १० प्रतिशतका दरले हुने व्याज समेत वादीले प्रतिबादीबाट करार ऐन, २०२३ को दफा १५(२) बमोजिम भराई लिन पाउने ठहर्छ भन्ने शुरु ललितपुर जिल्ला अदालतको मिति २०५६।१०।११ को फैसला ।
७. करार बमोजिम जग्गा पारीत गराई दायित्व पुरा गराई पाउन करार ऐन, २०२३ को दफा १०(१) बमोजिम प्रस्तुत मुद्दा परेको र करार जालसाजी भनी विपक्षीले दावी गरेकोमा सो प्रमाणित नभएपछि करार बमोजिम जग्गा नै पारीत गर्ने ठहर गर्नुपर्नेमा सो नगरी क्षतिपूर्ति भराई दिने गरी भएको शुरु ललितपुर जिल्ला अदालतको फैसला उल्टी गरी जग्गा पारीत गरिदिनुपर्ने ठहर गरी करारीय दायित्व पुरा गराई पाउं भन्ने व्यहोराको बादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
८. बादीले करारको शर्त नं. ४ मा उल्लेखित हर्जाना क्षतिको दावी नै नलिई रु. ५००००।– मा ०–८–० जग्गा नै खाने मनसायले प्रस्तुत मुद्दा दायर गरेकोमा करार ऐन, २०२३ को दफा १५(२) बमोजिम क्षतिपूर्ति भराउने ठहर गरी भएको फैसला बादीको माग दावी भन्दा वाहिर भएकोले सो फैसला उल्टी गरी प्रतिउत्तर जिकिर बमोजिम बादी दावी नपुग्ने ठहर गरिपाउं भन्ने प्रतिवादीहरूको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
९. करार बमोजिम जग्गा पारीत गराई पाउं भन्ने फिराद दावी भएकोमा फिराद दावी भन्दा बाहिर गै क्षतिपूर्ति बापत सांवा व्याज भराई लिन पाउने ठह¥याई गरेको शुरुको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थीलाई झिकाउनु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।
१०. करार बमोजिम प्रतिबादीले कित्ताकाट गर्न मंजुर नगरी हदम्याद भित्र कित्ताकाट नगरी दिएकोले करारको शर्त नं. ४ आकर्षित हुने भई सो शर्त बमोजिम लिखतमा उल्लिखित रु.५०,०००।– को दोव्वर रु १,०००००।– वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ । ललितपुर जिल्ला अदालतबाट रु.५०,०००।– र लिखतको मिति देखिको वार्षिक १० प्रतिशतका दरले हुने व्याज समेत बादीले प्रतिबादीबाट भराई लिन पाउने ठह¥याएको फैसला सो हदसम्म नमिलेकोले केहि उल्टी हुन्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५७।१२।२९ को फैसला ।
११. दावीमा उल्लिखित जग्गा करार बमोजिम पारीत गर्नको लागि प्रतिबादीहरूले नामसारी गरेको मितिले १५ दिनको भाखा राखेको र सो म्याद भित्र पारीत गरी नदिएमा करार ऐन, २०२३ को हदम्याद भित्र नालिस गरी पारीत गराई लिन पाउने हक म बादीलाई करारनामाले प्रदान गरेको हुंदा सोही बमोजिम पारीत गराई पाउन फिराद गरिएको भन्ने कुरा मेरो फिराद दावीबाट नै प्रष्ट हुन्छ । करार ऐन, २०२३ को हदम्याद भित्र पारीत नहुने अवस्थामा मात्र हर्जानातर्फ दावी गर्न पाउने हो । भाखा नाघेको मितिले करार ऐन, २०२३ को हदम्यादभित्र अदालतमा नालिस गरी पारीत गराई लिन पाउने हक करारनामाको शर्त नं. ३ मा भएको र सोही बमोजिम मेरो नालिस परेको हुंदा मेरो दावी नै भएको हर्जाना बापत दोव्वर रकम भराई दिने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला गैरकानूनी छ । जग्गा पारीत गर्नको लागि इन्कार गर्न पाउने गरी करारमा कुनै शर्त नभए नरहेको हुंदा करारनामा बमोजिम भाखा नाघेको मितिले करार ऐन, २०२३ को हदम्याद भित्रै जग्गा पारीत गरी दायित्व पुरा गराई पाउन फिराद परेकोमा प्रतिबादीले करार भन्दा बाहिर गै इन्कार गरेकोमा सो इन्कारीलाई करारको शर्त नं. ४ भित्र जोडी सोही शर्त नं. ४ बमोजिम हर्जाना वापत दोव्वर रकम भराउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला बदर गरी दावी बमोजिम ललितपुर जिल्ला हरिसिद्धि गा.वि.स. वडा नं. ७(क) कि.नं. २१२ को क्षेत्रफल १–८–० मध्ये पश्चिमतर्फबाट ०–८–० जग्गा म बादीले पारीत गरिलिन पाउने गरी दायित्व पुरा गराई न्याय पाउं भन्ने समेत व्यहोराको बादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१२. बादीले करार ऐन, २०२३ को दफा १०(१) बमोजिम गरेको दावी पुग्न नसक्ने ठहर भई बादी दावी बमोजिम जग्गा पारीत गरिदिनु नपर्ने भएपछि बादीले दावी नै नगरेको करार ऐन, २०२३ को दफा १५(१) बमोजिम रु. ५००००।– को दोव्वर रकम भराई लिन पाउने भनी ठहर गर्न मिल्दैन । बादीले क्षतिपूर्तितर्फ कुनै दावी नै लिएको छैन भनी पुनरावेदनपत्रमा उल्लेख गर्दा गर्दै हर्जाना भराई पाउं भन्ने बादी दावी नै नभएको भन्ने अर्थ गर्न नमिल्ने भनी अवलम्वन गरिएको निर्णयाधार त्रुटिपूर्ण छ । बादीले पेश गरेको करारको लिखतमा करारमा हुनुपर्ने सवै तत्व छैन । विपक्षीले दाजु नारायण पोपोलाई फिरादपत्र तथा करारमा लेखिए बमोजिमको रकम दिएको भन्ने कुरा झुठा हो । यदि बादीले दिएको रकम पाउनु पर्ने थियो भने दाजु जीवित छदै वा २०३५ सालमा मृत्यु भै सके पश्चात लेनदेन व्यवहारको महल बमोजिम दावी गर्न सक्नु पर्ने थियो । करारको दायित्व पालना गराई जग्गा पारीत गराई लिन पाउं भन्ने वादीको झुठ्ठा दावी पुग्न नसकेको अवस्थामा वादीले दावी नै नगरेको करारको शर्त नं. ४ बमोजिम रु.५०,०००।– को दोव्वर रकम बादीले हामीबाट भराई लिन पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको त्रुटिपूर्ण फैसला बदर गरी वादीको सम्पूर्ण दावी खारेज गरी न्याय पाउं भन्ने समेत व्यहोराको प्रतिवादीहरूको यस अदालतमा परेको पुनरावेदनपत्र ।
१३. नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । पुनरावेदक बादी तर्फबाट विद्वान् अधिवक्ता श्री ध्रुवनाथ पन्तले जुजुमान पोपो महर्जन परलोक भएपछि निजको नामको कि.न. २१२ को जग्गा निजको छोरा नारायण पोपो महर्जनको नाममा नामसारी दर्ता भएकोमा नारायण पोपो महर्जनलाई औषधि उपचार तथा पालनपोषण समेत गर्दा रु.५०,०००।– मेरो पक्षले खर्च गरे बापत सो जग्गा विपक्षीहरूको नाममा दर्ता भएपछि सो जग्गाको क्षेत्रफल १–८–० मध्ये ०–८–० मेरो पक्षको नाममा पास गरिदिने भन्ने शर्त राखी मेरो पक्ष र प्रतिबादीहरू वीच करार भएको हो । प्रतिबादीहरूले करार अनुसार मेरो पक्षको नाममा जग्गा पास नगरेपछि करारको शर्त नं. ३ अनुसार जग्गा पास गरिपाउन दावी गरेकोमा करारको शर्त बमोजिम पास गरिदिनुपर्ने ठहर गर्नुपर्नेमा मेरो पक्षले दावी नै नलिएको करारको शर्त नं. ४ अनुसारको उपचार दिन मिल्दैन । करारको शर्त नं ३ अथवा ४ मध्ये कुन शर्त पालन गराउने हो,छनोट गरी दावी गर्ने पक्षको अधिकारको कुरा हो । दावी नै नभएको विषयमा इन्साफ गरेको शुरु ललितपुर जिल्ला अदालत र पुनरावेदन अदालत पाटनको त्रुटिपूर्ण फैसला उल्टी गरी दावी बमोजिम कि.नं. २१२ को जग्गा मध्ये ०–८–० मेरो पक्षले पारीत गरिलिन पाउने गरी फैसला हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१४. पुनरावेदक प्रतिबादीतर्फबाट विद्वान् अधिवक्ता श्री नारायणप्रसाद भट्टराईले करारको शर्त नं. ४ बमोजिम हर्जाना बापत दोव्वर रकम दिलाई पाउं भन्ने बादीको दावी छैन । जग्गापास नगरिदिएमा हर्जाना वापत दोव्वर रकममा दावी गर्न सकिने शर्त भएकोले वादीको नाममा जग्गा नै पास गरिदिन मेरो पक्ष वाध्य छैन । बादीले दावी नै नगरेको करारको शर्त नं. ४ अनुसार मेरो पक्षबाट बादीलाई रकम भराई दिने ठहर गरेको पुनरावेदन अदालत पाटनको त्रुटिपूर्ण फैसला उल्टी गरी बादी दावी पुग्न नसक्ने गरी फैसला हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१५. उपरोक्त बहस समेतलाई विचार गरी लिखतमा उल्लिखित रु.५०,०००।– र सो लिखत भएको मिति देखिको वार्षिक १० प्रतिशतका दरले हुने व्याज समेत वादीले प्रतिवादीबाट भरी पाउने ठहर गरेको शुरु ललितपुर जिल्ला अदालतको फैसलालाई केही उल्टी गरी लिखतमा उल्लिखित रु. ५००००।– को दोव्वर रकम वादीले प्रतिवादीबाट भरी पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको सम्वन्धमा निर्णय दिनुपर्ने भयो ।
१६. निर्णयतर्फ विचार गर्दा विपक्षीहरूको जेठो बाबुको छोरा नारायण पोपो महर्जनलाई औषधि खर्च तथा पालनपोषण गर्दा रु.५०,०००।– मैले खर्च गरे वापत नारायण पोपो महर्जनको नाममा दर्ता रहेको ललितपुर जिल्ला हरिसिद्धि गा.वि.स. वडा नं. ७(क) कि.नं. २१२ को १–८–० जग्गा प्रतिवादीहरूको नाममा नामसारी भएको १५ दिन भित्र सो जग्गाको क्षेत्रफल १–८–० मध्ये पश्चिम तर्फबाट ०–८–० जग्गा कित्ता काट गरी मलाई पास गरिदिनुपर्ने गरी प्रतिवादीहरू र मेरो बीच मिति २०५५।२।६ मा करार भएको छ । प्रतिवादीहरूको नाममा सो जग्गा नामसारी दर्ता भएपछि करारको शर्त बमोजिम मेरो नाममा ०–८–० जग्गा पास नगरिदिएकोले करार बमोजिम प्रतिवादीहरूको नाममा संयुक्त दर्ता रहेको कि.नं. २१२ को १–८–० मध्ये पश्चिमतर्फबाट ०–८–० जग्गा कित्ता काट गराई करारको दायित्व पुरा गराई पाउं भन्ने वादीको फिराद दावी भएको देखियो । बादी र हाम्रो बीचमा नारायण पोपोको नामबाट कि.नं. २१२ को जग्गा हाम्रो नाममा संयुक्त नामसारी दर्ता भएको मितिले १५ दिन भित्र ०–८–० जग्गा वादीलाई पास गरिदिनुपर्ने व्यहोराको करार भएको होइन । हाम्रो नामको कि.नं. २११ को जग्गा बादीले खरिद गर्ने सम्वन्धमा बैनावट्टाको कागज भनी ल्याप्चे सहिछाप गर्दा गर्दै शंका लागी व्यहोरा पढी वाची सुनाउन लगाउंदा बैनावट्टाको शर्त अनुसार जग्गा किनबेच गर्ने कुरा नलेखी नारायण पोपो महर्जनको नामबाट किनं. २१२ को जग्गा हाम्रो नाममा नामसारी दर्ता भएपछि सो जग्गाको क्षेत्रफल १–८–० मध्ये बादीको नाममा ०–८–० जग्गा पास गरिदिने भन्ने झुठ्ठा व्यहोराको कागजमा हामीले बन्दमा ल्याप्चे समेत पुरा नगरी लेखात्मक सहि गरेनौं । लेखक समेतको सहिछाप नभएको कागजको कुनै अस्तित्व नभएकोले त्यस्तो लिखतको आधारमा लिइएको दावी खारेज गरिपाउं भन्ने प्रतिउत्तर जिकिर भएको देखिन्छ । बादी र प्रतिवादीहरूको वीचमा मिति २०५५।२।६ मा भएको करारको लिखतमा आफुले ल्याप्चे सहिछाप गरेको कुरालाई प्रतिबादीहरूले स्वीकार गरेको र सो करार जालसाजपूर्वक खडा गरेको भनी प्रतिबादीहरूले दाबी गर्न सकेको समेत नदेखिएबाट उक्त करार जालसाजपूर्वक तयार भएको भन्न मिल्ने अवस्था भएन । जहांसम्म लिखत लेख्ने लेखकको सहिछाप नभएको कागजको कुनै अस्तित्व नभएको भन्ने प्रतिउत्तर जिकिर र वादीले पेश गरेको करारको लिखतमा करारमा हुनुपर्ने सवै तत्व छैन भनी प्रतिवादीहरूले यस अदालतमा दिएको पुनरावेदन पत्रमा उठाएको प्रश्न छ, तत्काल प्रचलित करार सम्वन्धी ऐन, २०२३ ले करारको स्वरुप तोकेको वा यस्तो ढांचामा करार हुनुपर्ने भनी किटानी व्यवस्था गरेको पाइदैन र करारको लिखतमा लेखकको सहिछाप अनिवार्य रुपमा हुनुपर्ने व्यवस्था समेत गरेको देखिदैन । विवादित मिति २०५५।२।६ को लिखतमा कसले के कस्तो शर्त कसरी पुरा गर्ने भन्ने सम्वन्धमा स्पष्ट रुपमा उल्लेख गरी दुवै पक्षको सहमति स्वरुप ल्याप्चे सहिछाप समेत भएको देखिंदा सो लिखतमा करारको लागि आवश्यक मूलभूत तत्व समावेश भएको देखिन आएबाट मिति २०५५।२।६ को लिखतलार्ई करारको लिखत मान्न नमिल्ने अवस्था भएन ।
१७. बादी र प्रतिबादीहरूको वीचमा मिति २०५५।२।६ मा भएको करारको लिखतमा नारायण पोपो महर्जनलाई वादीले औषधि उपचार र पालनपोषण गरे बापत नारायण पोपो महर्जनको नाममा दर्ता भएको ललितपुर जिल्ला हरिसिद्धि गा.वि.स. वडा नं. ७(क) कि.नं. २१२ को क्षेत्रफल १–८–० जग्गा यी प्रतिवादीहरूको नाममा नामसारी भएपछि सो जग्गाको पश्चिम तर्फबाट कित्ता काट गरी ०–८–० जग्गा यी बादीलाई दिने भन्ने व्यहोराको शर्त उल्लेख भएको देखियो । सो शर्त बमोजिम प्रतिबादीहरूले बादीलाई जग्गा कित्ता काट नगरी दिएमा बादीले करार ऐनको हदम्याद भित्र अदालतमा नालेश गरी पारीत गराई लिन पाउने हक वादीको हुनेछ भन्ने समेत सो करारको शर्त नं. ३ मा उल्लेख भएको देखिन्छ । प्रतिवादीहरूले करारको शर्त वमोजिम भाखाभित्र कित्ता काट गरी वादीलाई जग्गा पारीत गरि नदिएकोले सो करारको शर्त नं. ३ अनुसार करार ऐन, २०२३ को हदम्याद भित्र कि.नं २१२ को जग्गा कित्ता काट गरी ०–८–० जग्गा वादीको नाममा पारीत गराउन करारको दायित्व पुरा गराई पाउं भनी प्रस्तुत मुद्दाको फिराद परको छ । करारमा उल्लेख भएको शर्त पालन गर्नुपर्ने दायित्व करारको पक्षहरूको हुने भएकोले वादी र प्रतिविादीहरू वीच मिति २०५५।२।६ मा भएको करारको शर्त नं. ३ बमोजिम जग्गा पारीतको लागि दावी लिएकोमा करारको शर्त बमोजिमको जग्गा वादीले पारीत गरिलिन नपाउने भन्न मिलेन ।
१८. जहाँसम्म बादी र प्रतिवादीहरूको वीचमा मिति २०५५।२।६ मा भएको करारको शर्त नं. ४ मा प्रतिवादीहरूले वादीलाई करार वमोजिम कित्ताकाट गरी नदिएमा वादीले प्रतिवादीहरूसंग हर्जाना वापत दोव्वर रकमको दावी लिई मुद्दा दायर गर्ने हक वादीमा रहनेछ भन्ने उल्लेख भएको कुराको प्रश्न छ, बादीले उक्त शर्त नं. ४ अनुसार हर्जानाको लागि दावी गरेको देखिदैन । अदालतले जुन कुरामा दावी पर्छ उसैमा इन्साफ गर्ने हो । दावी नै नलिएको विषयमा अदालतले इन्साफ गर्न मिल्दैन । ने.का.प. २०५१ अंक ९ निर्णय नं. ४९७८ पृष्ठ ७१३ मा प्रकाशित रत्नमान सिंह तुलाधर विरुद्ध सिद्धिमान सिंह तुलाधर भएको नामसारी दर्ता वदर समेत मुद्दामा माग दावी नै नभएको विषयमा इन्साफ गर्न नमिल्ने भन्ने सिद्धान्त यस अदालतबाट भएको पाइन्छ । उक्त नजीर समेतको आधारमा वादीले दावी नै नलिएको शर्त नं. ४ देखाई सो अनुसार हुने गरी इन्साफ गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिएन ।
१९. अतः बादी र प्रतिवादीहरू वीच भएको करारको शर्त नं. ३ बमोजिम जग्गा पारीत गराई पाउन दावी गरेको अवस्थामा करारको शर्त अनुसार नारायण पोपो महर्जनको नामबाट प्रतिवादीहरूको नाममा नामसारी दर्ता भएको कि.नं. २१२ को जग्गा मध्ये ०–८–० जग्गा वादीले पारीत गरिलिन नपाउने कुनै आधार नभएकोमा फिराद दावी वमोजिम उक्त जग्गा वादीले पारीत गराई लिन पाउने ठहर गर्नुपर्नेमा वादीले दावी नै नगरेको करारको शर्त नं. ४ अनुसार लिखतमा उल्लिखित रकमको दोव्वर रकम प्रतिवादीहरूबाट बादीले भरी पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी भै वादी दावी वमोजिम वादी र प्रतिवादीहरूको वीचमा मिति २०५५।२।६ मा भएको करारको शर्त अनुसार प्रतिवादीहरूको नाममा संयुक्त दर्ता रहेको ललितपुर जिल्ला हरिसिद्धि गा.वि.स. वडा नं. ७(क) कि.नं. २१२ को १–८–० जग्गा मध्ये पश्चिम तर्फबाट ०–८–० जग्गा कित्ता काट गराई वादीले पारीत गराई लिन पाउने ठहर्छ । अरु तपसिल वमोजिम गरी मिसिल नियमानुसार बुझाई दिनु ।
तपसिल
माथि ठहर खण्डमा लेखिए बमोजिम प्रतिबादीहरूको नाममा संयुक्त दर्ता रहेको ललितपुर जिल्ला हरिसिद्धि गा.वि.स. वडा नं. ७(क) कि.नं. २१२ को १–८–० जग्गामध्ये पश्चिम तर्फबाट ०–८–० जग्गा कित्ता काट गराई वादीले पारीत गराई लिन पाउने ठहरेकोले कानूनको म्याद भित्र उक्त जग्गा कित्ता काट गरी आफ्नो नाममा पारीत गराई पाउं भनी वादीले दरखास्त दिएमा सो कि.नं. २१२ को जग्गा मध्ये पश्चिम तर्फबाट कित्ता काट गरी ०–८–० जग्गा वादीको नाममा पारीत गरिदिनु भनी सम्वन्धित मालपोत कार्यालयलाई लेखी पठाउनु........ १
वादीले शुरु फिराद गर्दा राखेको कोर्टफि रु. १९७०। शुरुको फैसला उपर पुनरावेदन गर्दा राखेको कोर्टफि रु.२,९५।५० र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफि रु. २६५।५० समेत जम्मा कोर्टफि रु. २,५३१। वादीले प्रतिवादीहरूवाट भरी पाउने भएकोले कानूनको म्याद भित्र उक्त कोर्टफि रु. २,५३१। भराई पाउं भनी वादीको दरखास्त परे प्रतिवादीहरूले शुरुको फैसला उपर पुनरावेदन गर्दा पुनरावेदन अदालत पाटनमा मिति २०५७।५।५ मा र.नं. ०५७ वाट धरौटी राखेको रु. १७७०। र पुनरावेदन अदालत पाटनको फैसला उपर यस अदालतमा पुनरावेदन गर्दा मिति २०५८।५।२२ मा र.नं. ३१९८८ बाट धरौटी राखेको रु.१,७७०। गरी जम्मा प्रतिवादीहरूले राखेको धरौटी रु.३,५४०। बाट वादीलाई रु. २५३१। भराई दिन र वाँकी धरौटी रु.१,००९। प्रतिवादीहरूले कानूनको म्याद भित्र फिर्ता माग्न आए प्रतिवादीहरूलाई फिर्ता दिन लगत राख्नु भनी शुरु ललितपुर जिल्ला अदालतमा लेखी पठाउनु........ २
पुनरावेदन अदालत पाटन र शुरु ललितपुर जिल्ला अदालतको फैसला वमोजिमको लगत राखेको भए कट्टा गर्नु भनी शुरु ललितपुर जिल्ला अदालतमा लेखी पठाउनु .........३
उक्त रायमा सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
इति सम्वत् २०६२ साल मंसिर २० गते रोज २ शुभम्......