शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०३९ - उत्प्रेषण

भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक:

निर्णय नं. ४०३९     ने.का.प. २०४७ (क) अङ्क १

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४६ सालको रि.नं. १३३६

आदेश भएको मिति: २०४६।११।२४।४ मा

रिट निवेदक: वीरगन्ज न.पं. स्थित मेघा उलन्स प्रा.लि.को तर्फबाट अधिकार प्राप्त विनोदकुमार   चौधरी

विरुद्ध

विपक्षी : श्री ५ को सरकार अन्तःशुल्क कार्यालय, वीरगन्ज

विषय : उत्प्रेषण

(१)    निवेदकको उद्योगले उत्पादन गर्ने कृत्रिम उन पनि फाइवर अवस्थाको कच्चा पदार्थ प्रशोधन गरी टप्स बनेपछि सोबाट एक्रेलिक यार्न (कृत्रिम उन) बनाउने भन्ने देखिएकोले निवेदकको उद्योगलाई अन्तःशुल्क नलाग्ने भन्न नमिल्ने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

प्रत्यर्थी तर्फबाट      : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह

१.     नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    निवेदक कम्पनीले श्री ५ को सरकार उद्योग विभागबाट २०४४।११।१८ मा फाइवर अवस्थाको कच्चा पदार्थबाट नै एक्रेलिक यार्न उत्पादन गर्नुपर्ने शर्तमा उद्योगको इजाजतपत्र प्राप्त गरी २०४५।१।१५ मा कम्पनी ऐन, २०२१ बमोजिम प्रा.लि. अन्तर्गत दर्ता भएको थियो । तत्पश्चात निवेदक कम्पनीले उद्योग सञ्चालन गरी २०४५।९।२२ देखि नै उल्लेखित इजाजतपत्रमा तोकिएका शर्तहरुको अधीनमा रही एक्रेलिक यार्न उत्पादन गर्दै आएको छ । निवेदक कम्पनीले उत्पादन गर्ने एक्रेलिक यार्नमा अन्तःशुल्क लाग्ने कुरा कुनै ऐनमा उल्लेख नभएको स्पष्ट हुँदा हुँदै प्रत्यर्थीले मिति २०४५।१२।११ को च.नं. १६१२ को पत्रबाट निवेदक कम्पनीले उत्पादन गरेको एक्रेलिक यार्नमा अन्तःशुल्क दरबन्दी संकेत नं. १६२ अनुसार अन्तःशुल्क असूल गर्ने भन्ने एकतर्फी निर्णय भएको जानकारी दिंदै धरौटीमा रहेको रुपैयाँ रु. १,४२,४८४।३० समेत सदर स्याहा गरेको जानकारी दिएको छ ।

३.    प्रत्यर्थीले कुन ऐन वा नियम बमोजिम अन्तःशुल्क लगाएको हो सो सम्म पनि नखुलाई अन्तःशुल्क दरबन्दी संकेत नं. १६२ अनुसार भनी अन्तःशुल्क लगाई धरौटी रकम समेत सदर स्याहा गरिदिएको छ । आर्थिक ऐन, २०४० को अन्तःशुल्क दरबन्दी संकेत नं. १६२ मा आर्टिफिसियल टप्सबाट उत्पादन हुने धागोमा मात्र अन्तःशुल्क लाग्ने स्पष्ट व्यवस्था छ । जबकी निवेदकले फाइवर अवस्थाको कच्चा पदार्थको प्रयोग गरी एक्रेलिक यार्न उत्पादन गर्ने गरेको छ । टप्स र फाइवर भिन्ना भिन्नै अवस्थाको पदार्थ भएको तथ्यलाई वास्तै गरिएको छैन । फाइवर पूर्णतः कच्चा पदार्थ हो भने टप्स फाइवरलाई प्रशोधन गरेपछि तयार हुने पदार्थ हो । फाइवरबाट यार्न उत्पादन गर्दा र टप्सबाट उत्पादन गर्दा उद्योगले पूरा गर्नुपर्ने प्रशोधन प्रकृयालाई र सो मा लाग्ने अतिरिक्त लागतलाई मध्यनजर गरेर नै आर्थिक ऐन, २०४५ को अन्तःशुल्क दरबन्दी संकेत नं. १६२ मा आर्टिफिसियल टप्सबाट यार्न उत्पादन गर्ने उद्योगले मात्र अन्तःशुल्क तिर्नुपर्ने व्यवस्था गरिएको हो । उल्लेखित अन्तःशुल्क दरबन्दी निवेदक कम्पनी माथि लागू हुने होइन । त्यसैले गर्दा नै निवेदक उद्योगलाई इजाजत प्रदान गरिंदा फाइवर अवस्थाको कच्चा पदार्थबाट नै एक्रेलिक यार्न उत्पादन गर्नु पर्नेछ भन्ने विशेष शर्त तोकिएको छ । विपक्षीको उक्त गैरकानुनी काम कारवाहीबाट नेपालको संविधानको धारा १०(१), ११(२)(ङ) तथा धारा १५ समेतद्वारा प्रदत्त मौलिक हक अधिकारमा आघात पुगेकोले उत्प्रेषणको आदेशद्वारा प्रत्यर्थीको निर्णय कारवाही बदर गरी पाउँ साथै रिटनिवेदनको अन्तिम टुड्डो नलागेसम्म प्रत्यर्थीको उक्त निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने समेतको रिटनिवेदन ।

४.    यसमा के कसो भएको हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु । साथै यो रिटनिवेदनको अन्तिम निर्णय नभएसम्म विपक्षी अन्तःशुल्क कार्यालय पर्साको मिति २०४५।१२।११ को निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी विपक्षी अन्तःशुल्क कार्यालयका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ भन्ने समेतको यस सर्वोच्च अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।

५.    आर्थिक ऐन, २०४५ को अन्तःशुल्क दरबन्दी संकेत नं. १६२ मा कृत्रिम उनी (आर्टिफिसियल टप्सबाट तयार भएको) धागोमा अन्तःशुल्क दरबन्दीको व्यवस्था भएको स्पष्टै छ कृत्रिम रेशाको परिधिभित्र एक्रेलिक यार्न समेत पर्दछ । तसर्थ कृत्रिम रेशाबाट उत्पादित उनी धागोमा अन्तःशुल्क दरबन्दीको स्पष्ट व्यवस्था छ । रिट निवेदकले आर्थिक ऐन, नियम अनुसार अन्तःशुल्क राजश्व बुझाउने मनसायले नै यस कार्यालयमा आई एक्रेलिक धागोको उत्पादन अनुज्ञापत्र मिति २०४५।९।२१ मा लिएको र अन्तःशुल्क ऐन, २०१५ तथा नियम, २०१९ बमोजिम अनुज्ञापत्र लिएपछि ऐन नियमानुसार अन्तःशुल्क बुझाउनु नै पर्छ । विपक्षीले फाइवर अवस्थाको कच्चा पदार्थको प्रयोग गरी एक्रेलिक यार्न उत्पादन गरेको भन्ने दावी लिएको छ । फाइवरबाट सोझै एक्रेलिक यार्न नबनाई फाइवरबाट टप्स र टप्सबाट कृत्रिम उनी धागो बनाउने गरेको छ । टप्सबाट उनी धागो उत्पादन गरिएकोमा आर्थिक ऐनमा समेत टप्सबाट तयार भएको कृत्रिम उनी धागोमा अन्तःशुल्क लाग्ने व्यवस्था भएकोले उक्त पदार्थमा अन्तःशल्क ऐन नियम र आर्थिक ऐनको परिधिभित्र रही अन्तःशुल्क असूल गरिएकोले यस कार्यालयबाट भएको काम कारवाही कानुन अनुरुप छ भन्ने समेतको अन्तःशुल्क कार्यालय पर्साको लिखितजवाफ ।

६.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले निवेदक उद्योगले फाइवरबाट एक्रेलिक यार्न उत्पादन गर्ने हुँदा अन्तःशुल्क लाग्ने कानुनी व्यवस्था छैन । आर्थिक ऐन, २०४५ मा निवेदकको उद्योगबाट उत्पादित वस्तुमा अन्तःशुल्क लाग्न सक्ने व्यवस्था छैन भन्ने समेतको बहस गर्नु भयो । प्रत्यर्थी अन्तःशुल्क कार्यालयको तर्फबाट बहस गर्न खटिई आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यातले निवेदक उद्योगले फाइवरबाट सिधै एक्रेलिक यार्न उत्पादन गर्ने नभई फाइवरबाट टप्स र टप्सबाट एक्रेलिक यार्न उत्पादन गर्ने गर्दछ । तसर्थ आर्थिक ऐन, २०४५ को अन्तःशुल्क दरबन्दी संकेत नं. १६२ अनुसार अन्तःशुल्क लाग्ने स्पष्ट व्यवस्था हुँदा रिटनिवेदन खारेजभागी छ भन्ने समेतको बहस गर्नु भयो ।

७.    प्रस्तुत रिटनिवेदनमा निवेदकका माग बमोजिमको आदेश जारी हुने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

८.    यसमा निर्णयतर्फ हेर्दा निवेदक कम्पनीले फाइवर अवस्थाको कच्चा पदार्थ प्रयोग गरी एक्रेलिक यार्न उत्पादन गर्न गरेको र आर्टिफिसियल टप्सबाट उत्पादन हुने धागोमा मात्र अन्तःशुल्क लाग्ने भनी आर्थिक ऐन, २०४५ को अन्तःशुल्क दरबन्दी संकेत नं. १६२ मा लेखिएकोले रिट निवेदकको कम्पनीलाई अन्तःशुल्क नलाग्ने हुँदा अन्तःशुल्क लिने गरी गरेको प्रत्यर्थी कार्यालयको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर रहेको पाइन्छ । प्रत्यर्थी कार्यालयको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यातले फाइवर कच्चा पदार्थ हो र टप्स सो कच्चा पदार्थलाई प्रशोधन गर्ने एक प्रकृया हो । फाइवरबाट टप्स उत्पादन हुन सामान्यतया ४ किसिमको प्रशोधन प्रकृया अपनाउनु पर्दछ (१) ब्लेडिङ र फाइवर ओषनिङ (२) कटिङ (३) गिलिङ (४) टप मेकिङ । फाइवर प्रशोधनबाट टप्स उत्पादन भएपछि नै सो टप्सबाट कृत्रिम एक्रेलिक यार्न उत्पादन हुने हो भन्ने बहस जिकिर लिनु भएको छ । श्री ५ को सरकारले टप्सबाट तयार भएको कृत्रिम धागो भनी अन्तःशुल्क दरबन्दीमा उल्लेख गरेकोमा शुरु देखिको प्रकृया खोलिएन भन्दैमा अन्तःशुल्क नलाग्ने होइन भन्ने पनि विद्वान सहन्यायाधिवक्ताको बहस जिकिर रहेको छ । रिट निवेदकले पनि फाइवरबाट टप्स तयार पार्नमा विभिन्न प्रकृया अपनाउनु पर्ने तथा फाइवरबाट टप्स तयार पारी सकेपछि सोही टप्सबाट एक्रेलिक यार्न तयार गरिने कुरालाई स्वीकार गरेकै देखिन्छ । आर्थिक ऐन, २०४५ को अन्तःशुल्क दरबन्दी संकेत नं. १६२ मा कृत्रिम उनी (आर्टिफिसियल टप्सबाट तयार भएको) भन्ने उल्लेख भएको देखिन्छ । निवेदकको उद्योगले उत्पादन गर्ने कृत्रिम उनी पनि फाइवर अवस्थाको कच्चा पदार्थ प्रशोधन गरी टप्स बनेपछि सोबाट एक्रेलिक यार्न (कृत्रिम उन) बनाउने भन्ने देखिएकोले निवेदकको उद्योगलाई अन्तःशुल्क नलाग्ने भन्न मिल्ने देखिएन । तसर्थ आर्थिक ऐन, २०४५ को अन्तःशुल्क दरबन्दी संकेत नं. १६२ अनुसार अन्तःशुल्क माग गरेको देखिँदा निवेदकको हकमा गैरकानुनी रुपले आघात पुगेको भन्ने देखिन नआएकोले यसमा निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल फाल्गुण २४ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु