निर्णय नं. ४०४१ - उत्प्रेषण

निर्णय नं. ४०४१ ने.का.प. २०४७ (क) अङ्क १
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४६ सालको रि.नं. ७३१
आदेश भएको मिति: २०४६।१२।१२।१ मा
रिट निवेदक : प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखामा कार्यरत प्र.स.नि. बसन्तकुमार लामा
विरुद्ध
विपक्षी : श्री ५ को सरकार गृहमन्त्रालय (प्रहरी जनसम्पर्क प्रशासन शाखा) सिंहदरबारसमेत
विषय : उत्प्रेषण
(१) निवेदक उपर लगाइएको आरोप तथा त्यस सम्बन्धमा दिइएको स्पष्टीकरणलाई हेरी सो स्पष्टीकरण सन्तोषजनक भए नभएको भनी निर्णय गर्ने अधिकारीले भन्न सक्ने ।
(प्ररकण नं. ९)
रिट निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश
प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह
१. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. म निवेदक २०२८।१२।१४ देखि प्रहरी सेवामा प्रवेश गरी विभिन्न ठाउँमा सेवा गर्दै २०४३ सालमा रामेछाप जिल्लाको चोप्राङ प्रहरी थानाको इन्चार्ज भई सेवारत थिएँ । सोही जिल्ला डिमी पोखरी गा.पं. अन्तर्गत गाल्फा डाँडा साप्ताहिक बजार लाग्ने ठाउँमा छेउमाया तामाङनीको रक्सीको भट्टी पसल छ । मिति २०४४।१।१ का दिन लागेको बजारमा रक्सी बिक्री बन्द गर्नुपर्यो भनी स्थानीय प्रशासनको निर्देशन अनुसार छेउमाया तामाङनीलाई अनुरोध गर्दा निज पसल छाडी बाहिर गई र निजकी बहिनी १४–१५ वर्षकी कान्छी तामाङनीले रक्सी पसल बन्द गर्न नमानी रक्सी बिक्री जारी नै राखेकोले बाध्य भई निजलाई सो दिन पक्राउ गरी सो दिन निजलाई कार्यालय कोठा भित्र राखी सुत्ने प्रबन्ध गरी भोलिपल्ट मिति २०४४।१।२ का दिन निज कान्छी तामाङनीको सम्बन्धी बागवीर तामाङलाई जिम्मा लगाई हिदायत दिई छाडिएको थियो । यसरी पक्राउ परेको दिन पूरा सुरक्षाका साथ राखी भोलिपल्ट जिम्मा दिई पठाएकी कान्छी तामाङनीलाई घोर वामपन्थीहरुले उचाली २०४४।१।११ मा प्र.प्र.का. मा उजूरी दिन लगाए । साथै डायरी पत्रिकामा मैले कान्छी तामाङनीलाई बलात्कार गरेको निराधार झुठ्ठा समाचार प्रकाशित गराइयो । सोही कुरालाई विवादको विषय बनाई सो ठाउँमा रहेका प्रहरी जवान र प्र.स.नि.समेतलाई बाध्य तुल्याई भए नभएका कुराहरु लेख्न लगाई जनकपुर अञ्चल प्रहरी कार्यालयले म माथि कान्छी तामाङनीलाई मैले मिति २०४४।१।१ को राती बलात्कार गरेको भनी २०४४।२।११ र २०४४।२।१४ मा स्पष्टीकरण सोधिएको । मध्यक्षेत्र प्रहरी कार्यालयले आतड्ढ र त्रास मच्चाएको तथा कान्छी तामाङनीलाई रातभर नाड्डै राखी अनुचित कार्य गरेको आदि आरोप लगाई २०४४।२।२६।३ मा स्पष्टीकरण सोधिएको तथा प्रहरी प्रधान कार्यालयबाट मिति २०४४।३।८ को पत्रबाट रातीको समयमा एक्लैले मात्र सोधपुछ गरेको, थुनुवालाई निर्दिष्ट स्थानमा नथुनेको भनी आरोप लगाई स्पष्टीकरण सोधिएकोमा मैले निर्धारित समयभित्र स्पष्टीकरण दिएपछि मिति २०४४।३।१५।२ मा पर्चा खडा गरी प.सं. २ सा २६।१ मिति २०४४।३।१५।२ को पत्रबाट मलाई एक पद घटुवा गरिएकोले चित्त नबुझी पुनरावेदन गर्दा सोही सजायँलाई कायम राख्ने गरी श्री ५ को सरकारबाट मिति २०४६।५।१२ मा निर्णय भएको व्यहोरा च.नं. २१३ मिति २०४६।५।१३ को बोधार्थ पत्रबाट जानकारी पाएकोले यो रिटनिवेदन गर्न आएको छु ।
३. प्रहरी प्रधान कार्यालयको मिति २०४४।३।१५ को पर्चामा “अनैतिक कार्य गरेको भन्ने कुरा प्रत्यक्ष रुपमा किटान कतैबाट हुन नआई शंका मात्र व्यक्त गरेको देखियो । बलात्कार गरेको भए जुल्मीको पञ्जाबाट उम्कीनासाथ स.मु.स. ऐन, २०१७ अन्तर्गत जाहेरी गर्नु पर्नेमा सो नगरी २०४४।१।१ को घटनाको सम्बन्धमा मिति २०४४।१।११ गते निवेदन परेको र निज कान्छी तामाङनीको दाजु रेवती लामाले बहिनी सानु कान्छीलाई बलात्कार गरे जस्तो लाग्दैन, बहिनीले पनि बताइन भनी २०४४।२।२५ गते बयान गरी दिएको देखिँदा प्र.ना.नि. बसन्तकुमारले बलात्कार गर्यो भन्ने दावी पुग्न सक्दैन” भन्ने ठहर गरिएको छ । यसरी बलात्कार गरेको कुरा ठहर हुन नआए पछि प्रहरी नियमावलीको नियम ९.१ मा उचित र पर्याप्त कारण हुनुपर्ने अनिवार्य तत्वको अभावमा सजायँ गर्न मिल्दैन । नियमावलीको नियम ९.४(ख) र (ग) को अनुशासनहिनता र आचरण सम्बन्धी नियमहरु उल्लंघन गरेको आरोप थपी ऐ.नियम ९.१(घ) अन्तर्गत घटुवा गरिएको छ । मैले ड्युटीको समयमा मादक पदार्थ सेवन गरेको कुरा पुष्टी हुनसकेको छैन । जहाँसम्म रातीको समयमा एक्लैले सोधपुछ गरेको भन्ने आरोप छ, त्यो पनि विषयगत छ र प्रहरी जवानहरुबाट लेखाउन लगाइएको बाहेक अन्य कुनै तथ्यबाट त्यसको पुष्टी हुनसकेको छैन । तसर्थ जुन आरोप लगाइएको छ ती सबै निराधार भएकोले नियमावलीको नियम ९.४(ख) र (ग) का कुराहरु स्थापित नै नभई शंकाको भरमा मात्र सजायँ गरिएको छ । विपक्षीहरुको उक्त निर्णयहरुबाट नेपालको संविधानको धारा १०(१), ११(१) समेतद्वारा प्रदत्त मौलिक हक अधिकारमा आघात पुगेकोले प्रहरी प्रधान कार्यालयबाट मलाई घटुवा गर्ने गरेको मिति २०४४।३।१५ को निर्णय र सोलाई सदर गर्ने गरेको श्री ५ को सरकारको मिति २०४६।५।१२ को निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी मेरो पूर्व पदमा कायम राख्नु भनी प्रहरी प्रधान कार्यालय समेतका नाउँमा परमादेशको आदेश जारी गरी पाउँ भन्ने समेतको रिटनिवेदन ।
४. यसमा के कसो भएको हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस सर्वोच्च अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
५. निवेदक जिल्ला प्रहरी कार्यालय रामेछाप मातहत प्रहरी थाना चोप्राङको प्र.ना.नि. वसन्तकुमार लामा राती मेरो पसलमा आई अपशब्द प्रयोग गरी भाडा कुंडा समेत फाली छेउमाया तामाङनीलाई समात्न आउँदा म आफ्नो सतित्व जोगाउन भागेँ । बहिनी सानुकान्छी तामाङनीलाई निज प्र.ना.नि. ले अन्याय गरी सर्वश्व लुटी ४ दिनसम्म हिंडडुल गर्न नसक्ने पारेकोले निज उपर कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको रामेछाप जिल्ला डिमी पोखरी गा.पं. वडा नं. ४ बस्ने छेउमाया तामाङनी र सानुकान्छी तामाड्डनी समेतको २०४४।२।१० को संयुक्त निवेदन र २०४४।१।१४ को डायरी साप्ताहिक पत्रिकामा प्रकाशित समाचार समेतको आधारमा सो सम्बन्धमा छानवीन तथा अनुसन्धान हुँदा निज बसन्तकुमार लामाले उपरोक्त कसूर अपराध गरेको पुष्ट्याई हुन आएको आधारमा निजलाई अधिकार प्राप्त अधिकारीबाट कानुन बमोजिम मिति २०४४।३।१५ मा निर्णय पर्चा खडा गरी एक तह तल्लो प्र.स.नि. पदमा घटुवा गरिएको निर्णय कानुनसम्मत नै हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेतको प्रत्यर्थी प्रहरी महानिरीक्षकको लिखितजवाफ ।
६. रिट निवेदक भू.पू.प्र.ना.नि.बसन्तकुमार लामाले सानुकान्छी तामाङनीलाई बिना पुर्जी गैरकानुनी तरीकाले पक्राउ गरेको र थुनामा राख्नु पर्ने निर्दिष्ट स्थानमा नराखी कार्यालय कोठा, जहाँ प्र.ना.नि. र प्र.स.नि. सुत्ने गरेको भनिएको छ सोही ठाउँमा राखिएको कुरा सम्बन्धित मिसिलबाट देखिन आउँछ । कान्छी तामाङनीको कसूर भएको भए कसूरको तहकिकात र अनुसन्धान गर्नु पर्नेमा सो नगरी भोलिपल्ट वडाध्यक्ष वागवीर तामाङको जिम्मा लगाई पठाएको कुरा निजले सकारेको र तालुक कार्यालयमा समेत जाहेर नगरी अनुशासनको सीमा नाघी प्रहरीले अनुशरण गर्नु पर्ने आचरण विरुद्ध कार्य गरेको हुँदा निजलाई प्रहरी नियमावली, २०३३ (संशोधन सहित) को नियम ९.४(ख) र (ग) बमोजिमको कसूर गरेबापत ऐ.नियम ९.१०.४(ग) बमोजिम एक तह तल्लो प्र.स.नि. पदमा घटुवा गरिदिने गरी मिति २०४४।३।१५ मा प्रहरी महानिरीक्षकले निर्णय गरेकोमा पुनरावेदन परी कारवाही हुँदा निजलाई प्रहरी प्रधान कार्यालयले गरेको निर्णय नै कायम गरिदिने मिति २०४६।५।१२ मा श्री ५ को सरकारको निर्णय भएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेतको गृहमन्त्रालयको लिखितजवाफ ।
७. नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दाशले निवेदक उपर लगाइएको बलात्कारको आरोप पुष्टी हुनसकेको छैन भन्ने कुरा प्रहरी प्रधान कार्यालयको पर्चा निर्णयबाट नै स्पष्ट छ । जुन आरोप लगाइएको छ† सो नै सावित हुन नसकेपछि सजायँ गर्ने औचित्य बाँकी रहँदैन भन्ने समेत बहस गर्नु भयो । प्रत्यर्थी गृहमन्त्रालय समेतको तर्फबाट बहस गर्न खटिई आउनु भएका विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले निवेदकले कान्छी तामाङनीलाई पक्राउ गरी निज सुत्ने ठाउँमा रातभरी राखेको भन्ने कुरा स्वीकार गरेकै छन् । साथै निजले त्यस सम्बन्धमा कानुन बमोजिम अनुसन्धान कारवाही गर्नु पर्ने भए सोही अनुसार गर्नु पर्नेमा नगरी अनुशासन तथा आचरण सम्बन्धी नियम उल्लंघन गरेको प्रष्ट भएकोले कानुन बमोजिम घटुवा गरेको कार्यमा कुनै त्रुटि छैन भन्ने समेतको बहस गर्नुभयो ।
८. प्रस्तुत रिटनिवेदनमा निवेदकका माग बमोजिमको आदेश जारी हुने हो वा होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा सानुकान्छी तामाङनीलाई पक्राउ गरी अनुचित कार्य गरेको तथा मादक पदार्थ सेवन गरेको भन्ने समेतको आरोप लगाई अनुशासनहीनता र आचरण सम्बन्धी नियमहरु उल्लंघन गरेको कसूरमा एक तह घटुवा गर्ने गरी प्रहरी महानिरीक्षकले निर्णय गरेको र सो उपर पुनरावेदन पर्दा श्री ५ को सरकारबाट पनि सोही निर्णय सदर गरिएकोले उक्त निर्णयहरु बदर गरी साविक पदमा बहाल रहन पाउँ भन्ने मुख्य रिट निवेदन जिकिर रहेको पाइन्छ । रिट निवेदकले सानुकान्छी तामाङनीलाई पक्राउ गरी लगेको तथा थुनुवा राख्ने कोठामा समेत नथुनी आफू सुत्ने कोठामा रातभर थुनामा राखेको भन्ने कुरामा रिटनिवेदनमा समेत विवाद उठाएको देखिएन । निवेदकलाई विभागीय कारवाही किन नगर्ने भनी जनकपुर अञ्चल प्रहरी कार्यालय मध्यक्षेत्र प्रहरी कार्यालय तथा प्रहरी प्रधान कार्यालय समेतले स्पष्टीकरण माग गरी सफाइको मौका प्रदान गरेको देखिन्छ । निजले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नभएको तथा निजले ड्युटीको समयमा मादक पदार्थ सेवन नगरेको पुष्ट्याई समेत दिन नसकेको र तरुणी केटीलाई पक्राउ गरी आफ्नो कोठामा सुताई एक्लैले रातको समयमा सोधपुछ गरेको कुरा सकारेको देखिनुका साथै निजले थाना प्रमुख जस्तो जिम्मेवार अधिकृतले अनुशासनको सीमा नाघी समाजमा प्रहरीको छवी प्रति धक्का लाग्ने खालको कार्य गरेको भन्ने समेतको आधारमा अनुशासनहीनता र आचरण सम्बन्धी नियमहरु उल्लंघन गरेको कसूरमा प्रहरी नियमावलीको नियम ९.१(घ) तथा नियम ९.४ बमोजिम सोही नियमावलीको नियम ९.१०.४(ग) बमोजिम अधिकारप्राप्त अधिकारी अर्थात प्रहरी महानिरीक्षकले एक तह तल्लो पदमा घटुवा गर्ने गरी निर्णय गरेको देखिन्छ । निवेदकले कारवाही हुन नसक्ने तथा प्रहरी महानिरीक्षकले उक्त विभागीय सजायँ दिन नसक्ने भन्ने जिकिर लिन सकेको पनि छैन । निवेदकका विद्वान अधिवक्ताले बलात्कारको आरोप सिद्ध नभएपछि तथ्यको औचित्यलाई हेर्दा उक्त सजायँ दिएको उपयुक्त भएन भन्ने बहस जिकिर लिनु भएको छ । निवेदक उपर सानुकान्छी तामाङनीलाई बलात्कार गरेको भन्ने मात्र आरोप छैन । त्यसको अतिरिक्त ड्युटीको समयमा मादक पदार्थ सेवन गरेको तथा रातको समयमा तरुणी केटीलाई पक्राउ गरी आफ्नो कोठामा रातभरी राख्ने समेतका अनुशासानहीन काम गरेको भन्ने विषयमा समेत स्पष्टीकरण सोधिएको देखिन्छ । प्रहरी महानिरीक्षकले गरेको पर्चा निर्णयमा निवेदकले बलात्कार गरेको कुरा सम्म पुष्टी हुन नसकेको त्यस बाहेक अरु कुरामा स्पष्टीकरण सन्तोषजनक नभएको भन्ने देखिन्छ । निवेदक उपर लगाइएको आरोप तथा त्यस सम्बन्धमा दिइएको स्पष्टीकरणलाई हेरी सो स्पष्टीकरण सन्तोषजनक भए नभएको भनी निर्णय गर्ने अधिकारीले भन्न सक्ने हुन्छ तसर्थ प्रहरी ऐन नियम बमोजिम कारवाही गरी अधिकारप्राप्त अधिकारीबाट विभागीय सजायँ गरेको देखिँदा यसमा निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल चैत्र १२ गते रोज १ शुभम् ।