निर्णय नं. ४०४७ - कर्तव्य ज्यान

निर्णय नं. ४०४७ ने.का.प. २०४७ (क) अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४६ सालको फौ.पु.नं. २८६
फैसला भएको मिति: २०४६।१२।२८।३ मा
पुनरावेदक/वादी : थमबहादुरको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादी : जि.कपिलवस्तु कौपवा गा.पं. वा.नं. ८ बस्ने सीतादेवी थापा
मुद्दा : कर्तव्य ज्यान
(१) गैरकानुनी रुपबाट कसैले कसैको ज्यान मार्नु भनी दिएको बचन अनुसार, कसैको ज्यान मर्न गएको छ भने मात्र, त्यस्ता बचन दिने व्यक्ति कानुनी व्यवस्था बमोजिम सजायँको भागिदार बन्ने ।
(प्रकरण नं. १७)
(२) बचन दिएको नभई, मारी कतै लगी फाली दिन्छु भनेका सो कुरालाई अन्यथा भन्न नसकेकी, सम्मको स्थिति अवस्थामा दिएको बचनबाट पैदा भएको बच्चा मर्न गएको भन्नु कानुन र न्यायसंगत नहुने ।
(प्रकरण नं. १७)
पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(ग) अनुसार वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर एवं निर्णय फैसला यस प्रकार छ ।
२. विधवा सीतादेवीले प्रेमबहादुर सुवेदीसंगको अवैध गर्भ बोकी २०४२।४।१३ गते राती बच्चा जन्माई आमा वसन्तकुमारी समेत भई बच्चालाई मारी खेतमा लगी गाडेको बुझिएकोले कानुन बमोजिम होस भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।
३. २०४१ साल मार्ग महीनामा प्रेमबहादुरसंग करणी लिनु दिनु भएको कारण गर्भ रहन गएको २०४२।४।१२ को राती छोरा जातक जन्म भएको, सो जातकलाई प्रेमबहादुरले लगी फालेका हुन् भन्ने समेत व्यहोराको सीतादेवी थापाको प्रहरीमा भएको कागज ।
४. छोरा प्रेमबहादुरले सीतादेवीलाई गर्भ बोकाएको थाहा छैन, जातकलाई कर्तव्य गरी मैले मारे मराएको छैन भन्ने समेत व्यहोराको वसन्तकुमारीले प्रहरीमा गरेको बयान ।
५. सीतादेवीले प्रेमबहादुरको गर्भ बोकी बच्चा पैदा गरी मारेको थाहा भएको, वसन्तकुमारी उपर कुनै शंका नरहेको मारे मराएको सम्बन्धमा आँखाले नदेखेको भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
६. जातक मारी फाली दिनु भनी प्रेमबहादुरलाई बचन दिएकोमा सीतादेवी सावित रहेकीले निजलाई ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम र अह्राएको बचन मानी बच्चालाई कर्तव्य गरी मार्ने मुख्य ज्यानमारा देखिएका प्रेमबहादुर उपर ऐ.को १३(३) नं. बमोजिम कारवाही सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको अभियोग प्रतिवेदन रहेछ ।
७. प्रसव वेदनाको कारण जन्मिएको बच्चा को कसले लगे थाहा भएन । मैले पनि सोको खोजी गरिन । बच्चा मृत वा जीवित के थियो जानकारी पाइन । बच्चालाई मैले मारेको होइन । प्रेमबहादुरले मलाई र बच्चालाई पाल्न पर्छ भनेर मारेको हुनुपर्दछ भन्ने समेत व्यहोराको सीतादेवी थापाको अदालतमा गरेको बयान ।
८. प्रेमबहादुरले अदालतबाट जारी भएको म्याद नै गुजारी बसेको देखियो । जन्मेको जातक मार्नलाई सीतादेवीले बचन दिएको देखिँदा निजलाई जन्मकैद हुने र प्र.प्रेमबहादुरको हकमा अ.बं. १९० नं. बमोजिम मुलतवी राखी दिने ठहर्छ भन्ने समेत व्यहोराको कपिलवस्तु जिल्ला अदालतको फैसला ।
९. जिल्ला अदालतको फैसला बदर गरी अभियोगबाट सफाई पाउँ भन्ने समेत व्यहोराको सीतादेवीको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदन ।
१०. जिल्ला अदालतको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ । सीतादेवीको हकमा अ.बं. १८८ नं. बमोजिम (५) वर्ष मात्र कैद हुने राय व्यक्त गरिएको भन्ने समेत व्यहोराको अञ्चल अदालतको जाहेरी फैसला ।
११. सीतादेवीले जातकलाई मार्न प्रेमबहादुरलाई बचन दिएको पुष्टि हुन आएको नदेखिनाले अञ्चल अदालतको फैसला फरक पर्ने हुँदा अ.बं. २०२ नं. बमोजिम वादी पक्षलाई झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको क्षेत्रीय अदालतको आदेश ।
१२. प्रस्तुत मुद्दामा जातकलाई मार्ने कार्य गर्न प्र.सीतादेवीले प्र.प्रेमबहादुरलाई बचन दिएको भन्ने कुरा संकलित सबूद प्रमाणबाट देखिन आएन, यद्यपि सामाजिक प्रतिष्ठा र लोकाचारलाई प्रतिकार गर्न नसकी बच्चालाई मार्ने मतलबमा यस्तो देखिन आउँदा निज प्र.सीतादेवीलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम कैद वर्ष (३) हुने ठहर्छ । सो हदसम्मको अञ्चल अदालतको फैसला उल्टी हुन्छ भन्ने समेत व्यहोराको क्षेत्रीय अदालतको फैसला ।
१३. प्रेमबहादुरसंग अनुचित सम्बन्ध भई करणी लिनुदिनु हुँदा रहेको गर्भ २०४२।४।१२ का राती जीवित छोरा जन्मेको, मारी दिनु भनी निजलाई भनेको भनी प्र.सीतादेवी सहमत छन् । यस अवस्थामा निजलाई ज्यानसम्बन्धी महलको १७(३) नं. अनुसार सजायँ गर्ने गरेको क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट यस अदालतमा परेको पुनरावेदन ।
१४. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइरालाले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो । क्षेत्रीय अदालतको इन्साफ मनासिब छ छैन हेरी निर्णय दिन पर्ने हुन आयो ।
१५. निर्णयतर्फ हेर्दा, यसमा प्रेमबहादुरसंगको अवैध सम्बन्धको परिणाम जन्मेको जातकलाई कर्तव्य गरी मार्न सीतादेवीले बचन दिएकीले निजलाई ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम सजायँ गरी पाउँ भन्ने अभियोग प्रतिवेदन रहेको पाइयो ।
१६. प्रेमबहादुर र सीतादेवी बीच अवैध सम्बन्ध रहेको कारण सीतादेवीको गर्भबाट बच्चा जन्मिएको र सो बच्चालाई कर्तव्य गरी मारी फाली दिएकोमा सम्म सीतादेवीको इन्कारी देखिएन । बच्चा जन्मिदाको अवस्थामा प्रेमबहादुर पनि संग साथ रहे भएको र सो बच्चालाई प्रेमबहादुरले, मारी फाली दिन्छु भन्दा सीतादेवीले असहमति नजनाएको कुरा निजको अधिकारप्राप्त अधिकारी समक्ष भएको बयानमा उल्लेख रहेको पाइन्छ । तर निज सीतादेवीले नै बच्चा मारी फाली दिनु भनी प्रेमबहादुरलाई बचन दिएकी भन्ने कुरा कहीं उल्लेख रहे भएको देखिँदैन ।
१७. यस सम्बन्धमा जुनसुकै कुरा गरिकन पनि ज्यान मार्नमा बचन दिनेलाई जन्मकैदको सजायँ गर्नु पर्छ भनी ज्यानसम्बन्धी महलको १३(४) नं. मा कानुनी व्यवस्था रहेको पाइन्छ । गैरकानुनी रुपबाट कसैले कसैको ज्यान मार्नु भनी दिएको बचन अनुसार, कसैको ज्यान मर्न गएको छ भने मात्र, त्यस्ता बचन दिने व्यक्ति उक्त कानुनी व्यवस्था बमोजिम सजायँको भागिदार बन्ने हुन्छ । तर प्रस्तुत मुद्दामा सीतादेवीले बच्चालाई मारी फाली दिनु भनी प्रेमबहादुरलाई बचन दिएको नभई, प्रेमबहादुरले बच्चालाई मारी कतै लगी फाली दिन्छु भनेका, सो कुरालाई सीतादेवीले अन्यथा भन्न नसकेकी सम्मको स्थिति अवस्थामा, सीतादेवीले दिएको बचनबाट पैदा भएको बच्चा मर्न गएको भन्नु, कानुन र न्यायसंगत हुने होइन, अतः बच्चा पैदा गर्ने सीतादेवी स्वयंले बच्चा मारेको भन्ने वादी दावी नरहेको, निजले बचन दिएको भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट शंकारहित रुपले पुष्टि नभएको तर अवैध सम्बन्धबाट पैदा हुन गएको बालकलाई मार्ने मराउने मत सल्लाहमा निज सीतादेवीको संलग्नता नरहेको भन्न निजको बयान कागजबाट मिल्ने नदेखिएकोले निज सीतादेवीलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम कैद वर्ष (३) तीनको सजायँ गर्ने गरेको प.क्षे.अ. को इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४६ साल चैत्र २८ गते रोज ३ शुभम् ।