निर्णय नं. ४०५३ - करार बदर, बहाल भराई घरबाट उठाई पाउँ

निर्णय नं. ४०५३ ने.का.प. २०४७ (क) अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४४ सालको दे.पु.नं. ६८८
फैसला भएको मिति: २०४६।७।६।१ मा
पुनरावेदक/वादी : का.जि.का.न.पं. वा.नं. ३२ बस्ने धर्मनारायण महर्जन
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐऐ.बस्ने केशवप्रसाद श्रेष्ठ
मुद्दा : करार बदर, बहाल भराई घरबाट उठाई पाउँ
(१) वादीले घर बनाई घर बहालमा दिएको नभई मील सञ्चालन हुने गरेबाट भू–वहाल सम्म पाउने शर्त उक्त शर्तनामामा भएको र त्यस्तो शर्तलाई स्वीकार गरी करारनामा भएकोले यस्तो अवस्थामा घर बनाउनेको ८, ९ नं. र ११ नं. लाई अंगाली घरबाट उठाई चलन चलाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ।
(प्रकरण नं. १५)
पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस
विपक्षी/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदन गर्ने अनुमति प्रदान नगर्ने निर्णय आदेश भए उपर वादीको यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. पशुपतिनाथ भण्डार तहविलमा मेरा नाउँमा दर्ता भएको पशुपतिनाथ मूल भट्टका खानगीको भन्ने लगतमा जनिएको का.न.पं. वडा नं. ३२ को कि.नं. ३८६ को ०–०–२–३ जग्गामा भएको घर कि.नं. ८८७ को ०–४–०–३ समेतका जग्गामा मेरो हक भएकोले तिरो बुझाइसकेको छु । करारनामामा २० वर्ष लागू भएपछि पनि घर बनाउनेको ८ नं. बमोजिम धनी आफैंलाई बस्नलाई चाहिने भएमा लिखत भए पनि उठाउन पाउँछ । मैले विपक्षीका नाउँमा घर बनाउनेको ९ नं. बमोजिम मिति ०४२।१।१७ मा दिएकोमा घर छाडी नदिई अटेर गरेकोले यो फिराद गर्न आएको छु । अन्यायवालाले घर छाडी नदिई अटेर गरेकोले कारण परेको ३ महीना भित्र फिराद गर्न आएको छु । मेरै घर जग्गामा उद्योग स्थापित गर्न मलाई नै शर्त बमोजिमको वार्षिक रु. १०००।– ले दिने भनेको बहाल पनि करार भएको मितिबाट अहिले सम्म १ पैसा नदिए नबुझाएकोले र ०३९।३।२६ बाट आज सम्मको २९४३।३३ बहाल समेत मैले भरी पाउने कानुनी हक भएकोले अन्यायवालाबाट बहाल भराई घर टहराबाट उठाई अड्डैबाट चलन चलाई मिति ०३९।३।२६ मा भएको करारनामा बदर गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०४२।३।४।३ को फिरादपत्र ।
३. विपक्षी र मेरा बीच भएको ०३९।३।२६।१ को करारनामाको दफा ३ अनुसार करार लागू भएको मितिले २० वर्ष सम्म कुनै हालतमा पनि उठाई लान भनी पहिलो पार्टी विपक्षीले कर लाउन र दोस्रो पार्टी म प्रतिवादीले पनि अन्त सारी लान नपाउने बन्देज गरिएको छ । अतः २० वर्ष नपुगे सम्म उक्त करारनामा बदर गरिपाउँ भन्ने दावा लिन सक्दैन । विपक्षीले आफ्नो हिस्सा बुझाई मिलमा हिस्सेदार बन्न नचाहेकोले करार बमोजिम मैले सञ्चालन गरी आएको छु । मिल स्थापना हुँदा दोस्रो पार्टी म प्रतिवादीकै खर्चमा भएको छ । कारण परेको मितिबाट करार ऐनको दफा १८(ग) अनुसार ३ महीनाभित्र दावा गर्नु पर्ने नगरी वर्षौ वाद दावा गरेको हुँदा हदम्यादको कारणबाट बहाल तर्फको दावा पनि खारेज हुनु पर्ने साथै भू.सु. ऐन अनुसार जग्गाको बालीमा वर्ष दिन भन्दा बढीको बहाल दावा गरेको सरासर कानुनी विपरीत भएकोले वादी दावा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०४२।५।१२।४ को प्रतिउत्तरपत्र ।
४. मिति ०३९।१०।१७।२ मा भएको प्रमाण मिसिलको साथमा रहेको बयान बमोजिम नै गरिपाउँ भन्ने वादी धर्मनारायणले ०४३।१।१९।६ मा गरेको बयान रहेछ ।
५. सद्दे साँचो व्यवहारबाट भएको करारलाई वादीले कीर्ते भनेकोले वादीलाई सजायँ गरिपाउँ भन्ने प्रतिवादीको वारेशले ०४३।१।१९ मा का.जि.अ.मा गरेको बयान ।
६. करार बदरभागी रहेकोमा बाहेक सोही बमोजिम हुने हुनाले वादी दावी अनुसार घर बनाउनेको ८, ३, ११ नं. बमोजिम प्रतिवादीलाई उठाई चलन चलाई दिन समेत मिल्ने देखिन आएन । बहाल कुरामा वादी दावी मनासिब देखिन्छ । सो बमोजिम प्रतिवादीबाट भरी पाउने देखिन्छ भन्ने समेत व्यहोराको ०४३।१०।२२।५ को का.जि.अ.को फैसला ।
७. काठमाडौं जिल्ला अदालतले लिखत सुनाइसकेपछि त्यस सम्बन्धमा निर्णय नगरी फैसला गरेकोले पुनरावेदन जिकिर अनुसार काठमाडौं जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरी फिराद दावी बमोजिम पुनरावेदकले न्याय पाउँ भन्ने समेत व्यहोराको मिति ०४३।११।२७ को पुनरावेदनपत्र ।
८. यसमा करारनामाका शर्तहरु विपरीत घर बनाउनेको ८ र ११ नं. का आधारमा उठाई चलन चलाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको समेत काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिब देखिँदा पुनरावेदक वादी धर्मनारायणको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको बा.अं.अ. को मिति २०४४।१।१४ को फैसला ।
९. उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत वादीका तर्फबाट परेको निवेदनमा यसमा घर बनाउनेको ८ नं. अनुसार लिखत भए पनि घरबाट उठाई चलन चलाई पाउँ भन्ने पुनरावेदनको जिकिर करार सम्बन्धी कुरामा विधिवत लागू हुन्छ भनी मान्न मिलेन । यसको अतिरिक्त २०३९।३।२६ को सम्झौता अनुसार केशवप्रसादका तर्फबाट टहरा बनाउन खर्च समेत लगाइएको देखिन्छ र वादीको अन्य दावा सम्बन्धमा कुनै तथ्ययुक्त प्रमाण पेश गर्न नसकेको समेत स्थितिमा शुरुको सदर गरेको बा.अं.अ. बाट सबूद प्रमाणको मूल्यांकन गरी भएको फैसलामा कुनै त्रुटि नदेखिँदा पुनरावेदनको अनुमति प्रदान गर्न मिलेन भन्ने समेत व्यहोराको म.क्षे.अ. को मिति २०४४।६।५ को आदेश ।
१०. विवादको घर भएको जग्गाको स्वामित्व मेरो हो, नक्शा पास मेरै नाउँमा छ । त्यस्तोमा केशवप्रसादले घर बनाएको भनी अर्थ गर्न मिल्दैन र यस सम्बन्धमा आफूले खर्च लगाई टहरा घर बने बनाएको भन्ने विपक्षीले सबूद पुर्याउन सकेका छ्रैनन् । सम्मानीत अदालतबाट प्रतिपादन भएको २०२६ सालको दे.पु.नं. १७०९ को सिद्धान्त समेत प्रतिकूल म.क्षे.अ.बाट आदेश भएकोले त्रुटिपूर्ण छ, पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी धर्मनारायणको यस अदालतमा पर्न आएको निवेदन ।
११. यसमा म.क्षे.अ.को आदेशमा घर बनाउनेको ८ नं. को व्याख्या सम्बन्धी त्रुटि देखिनुको साथै यस अदालतबाट दे.नं. १७०९ मिति २०२६।४।३० मा प्रतिपादित सिद्धान्त विपरीत समेत देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।७।३० को आदेश ।
१२. यसमा विवादको टहरामा करार बमोजिम धान कुट्ने मिल रहेको छ छैन देखाई दुवै पक्षको रोहवरमा कानुनको रीत पुर्याई मुचुल्का गराई दिनु भनी पक्ष विपक्षलाई तारेख तोकी मिसिल शुरु का.जि.अ.मा पठाई आएपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४६।४।२५ को आदेश ।
१३. नियम बमोजिम निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी धर्मनारायणका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शिवानन्ददास सरसले र विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले विवादित करार बहालको लागि भएको नभई साझेदारी ९एबचतलभचकजष्उ० को लागि भएको हो र साझेदारी नभए, करारको मतलब समेत रहँदैन । करार ऐन, २०२३ को दफा ८ हेर्दा करार भइसकेपछि करार बमोजिम काम गर्न असम्भव भएको हुँदा साझेदार कायम नभएपछि त्यसरी काम गर्न सम्भव हुने भएन । जग्गा मेरो पक्षको हो र त्यसमा बनेको टहरो निजैले जनाएको हो । सो टहराको बहालतर्फ मात्र अब आउने स्थित छ, साझेदारी लागू हुँदा २० वर्षको लागि करारनामा लागू हुने हो, सो नभएपछि २० वर्षको करारनामा भन्न मिल्दैन । जाँचबुझ गर्दा मील देखिने र सो चालू भए नभएको बिजुलीको महसूलबाट पनि देखिन्छ । बिजुलीको लाइन नै ३ वर्ष अघि काटिएकोमा मील चालू छ भन्न मिल्दैन । मील चलाउने भनी घर टहरा ओगटेर बस्न पाउँदैन भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१४. प्रत्यर्थी केशवप्रसाद श्रेष्ठका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले २०३७।१।१३ गते धर्मनारायणका नाउँमा दर्ता भएको जग्गाको भूबहाल दिने कबूलियत भयो । २०३७।६।१४ मा मेरो पक्षले इजाजत पाउँ जग्गामा टहरा बनाई घर बनाउँछु भन्नु भयो इजाजत पाउनु भयो । टहरा बन्यो । २०३७।८।२६ मा ५ हर्ष पावरको बिजुली जडान भयो । २०३७।१०।१० मा बिजुलीको महसूल बुझाएको र २०३७।९।३० मा अन्तःशुल्क बुझाएको हो । २०३७।८।१७ मा केशवप्रसादको नाउँमा नगर बिकास समितिले सूचना पठाएको र २०३७।१०।१५ मा नक्शा पास भएको छ । २०३९।३।२६ को करारनामाको बोली हेर्दा, दोस्रो पार्टीको खर्चले पहीलो पार्टीको नाउँमा निर्माण भएको छ । अतः घर टहरा मेरो पक्षले बनाएको छ । करारनामा ९एबचतलभचकजष्उ० मा नभएपछि सो मील उठाई लग्ने भनिएको छैन । करारको दफा ८ मा भूबहाल तिरी दोस्रो पार्टीले चलाउन पाउने व्यवस्था छ । अतः पहिलो पार्टी सम्मिलित नभएकोले सो करार मात्र निष्कृय हुँदैन । मील सञ्चालन भएकै अवस्थामा करार ऐनको दफा ८(१)(ज) यहाँ आकर्षित हुँदैन । करार बमोजिम क्षतिपूर्ति दिइसकेकोले समेत करार बदर हुने भन्न मिल्दैन । घर मेरो पक्षले बनाएको हो । घर बनाउनेको ८ नं. आकर्षित हुन घर बनाई बहाल दिएको अवस्था हुनुपर्छ । यहाँ घर बहालमा दिएको नभई जग्गाको भूवहालमा दिएको देखिन्छ । यसमा कबूलियत बमोजिमको म्याद भुक्तान भएको छैन । फिराद मिल संचालन गर्न छाडेको भनी आएको होइन तसर्थ वादी दावी बमोजिम हुनुपर्ने होइन भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१५. विद्वान अधिवक्ताहरुले गर्नु भएको बहस समेत सुनी इन्साफतर्फ विचार गर्दा, यी वादी प्रतिवादीको बीच २०३९।३।२६ मा धान कुट्ने मील चलाउने विषयमा करार भएकोमा विवाद देखिन्न । वादीले मेरो घर जग्गामा उद्योग स्थापना गर्न मलाई नै शर्त बमोजिमको वार्षिक रु. १,०००।– ले दिने भनेको बहाल करार शर्त भएको मितिबाट अहिलेसम्म एक पैसा पनि नदिए नबुझाएकोले २०३९ साल आषाढ २६ बाट २०४२ साल आज सम्मको रु. २९४३।३३ बहाल समेत भराई घर टहराबाट विपक्षीलाई उठाई अड्डैबाट चलन चलाई पाउँ र २०३९।३।२६ को करारनामा बदर गरिपाउँ भनी दावी लिएको पाइन्छ । करारनामामा उल्लेखित कुन शर्त बमोजिम वादी करारनामा बदर गराउन आएको सो कुरा फिरादमा खुलेको पाइन्न । मिति २०३९।३।२६ को करारनामा लिखततर्फ हेर्दा प्रतिवादीले मील सञ्चालन गर्न नचाहेमा दोश्रो पार्टीको हिस्सा पहिलो पार्टीलाई दिई मील सञ्चालन गर्न पाउने अधिकार पहिलो पार्टीको हुनेछ भनी उक्त करारनामाको दफा ८ मा लेखिएको पाइन्छ । पुनरावेदकतर्फका विद्वान अधिवक्ताले मील संचालन भएको छैन भनी बहस जिकिर लिनु भएको छ तापनि उक्त मील संचालन भएको छैन भन्ने वादीको फिराद भनाई छैन । जुन कुरा वादीले फिराद दावी नै लिनु भएको छैन सो कुराको विवादतर्फ विचार गर्ने स्थिति भएन । प्रतिवादीले मील सञ्चालन नगरेमा वादीले उक्त मील संचालन गर्न पाउने अधिकार सोही शर्तनामाको दफा ८ ले बोलेको पाइन्छ । मील सञ्चालन गर्न सोही करारनामाको दफा ३ ले २० वर्षसम्मको लागि दिएको पाइन्छ । मील सञ्चालन भए बापत उक्त मील स्थापना भएको जग्गाको वार्षिक रु. १०००।– भूवहाल दोश्रो पार्टी प्रतिवादीले पहिलो पार्टी वादीलाई दिई आएकोमा उक्त भूवहाल मीलले पहिलो पार्टीलाई दिने बुझाउने भनी उक्त करारनामाको दफा ४ मा उल्लेख भएको देखिन्छ । वादीले घर बनाई घर बहालमा दिएको नभई मील सञ्चालन हुने गरेबाट भू–वहाल सम्म पाउने शर्त उक्त शर्तनामामा भएको र त्यस्तो शर्तलाई स्वीकार गरी २०३९।३।२६ मा करारनामा भएकोले यस्तो अवस्थामा घर बनाउनेको ८, ९ नं. र ११ नं. लाई अंगाली घरबाट उठाई चलन चलाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । पुनरावेदकतर्फका विद्वान अधिवक्ताहरुले बहसको सिलसिलामा उल्लेख गर्नु भएको २०२६ सालको दे.नं. १७०९ मि. बोरिस लिसन वीच विरुद्ध बहादुर शमशेर समेत भएको घरबाट उठाई चलन मुद्दामा प्रतिपादित नजीर समेत प्रस्तुत विवादमा आकर्षित हुने देखिँदैन । अतः बा.अं.अ. को इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान नगर्ने गरेको म.क्षे.अ. को आदेश मनासिब भन्न मिलेन । पुनरावेदनको अनुमति प्रदान गर्ने गरेको यस अदालत संयुक्त इजलासको आदेशसंग यो इजलास सहमत हुन सकेन । काठमाडौं जिल्ला अदालतको इन्साफ सदर गरेको बा.अं.अ. को इन्साफ मनासिब ठहर्छ । कोर्टफी राखी पुनरावेदन गरेको देखिँदा केही गर्नु परेन । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४६ कार्तिक ६ गते रोज १ शुभम् ।