शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०६० - कर्तव्य ज्यान

भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक:

निर्णय नं. ४०६०     ने.का.प. २०४७ (क) अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४६ सालको फौ.पु.नं. ३३४

फैसला भएको मिति: २०४७।१।५।४ मा

पुनरावेदक/प्रतिवादी: जि.का. कारागार शाखा सोलुखुम्बुमा थुनामा रहेको प्रेमबहादुर राई

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ. बस्ने कालीबहादुर तामाङको जाहेरीले श्री ५ को सरकार

मुद्दा : कर्तव्य ज्यान

(१)    अरु कुनै सबूदबाट समर्थित हुन नसकेको प्रहरी कागजकै आधारमा प्रहरी प्रतिवेदन दावी बमोजिम पुनरावेदकले कुटी मारी फालेको ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ र अञ्चल अदालतले पुनरावेदन सदर गरेकोलाई सदर गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिने ।

(प्रकरण नं. ३२)

पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री हरिशंकर निरौला र विद्वान अधिवक्ता श्री     गुरुप्रसाद बराल

विपक्षी/वादी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

फैसला

न्या.हिरण्येश्वरमान प्रधान

१.     न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(क) अनुसार दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट यस प्रकार छ ।

२.    काकु गा.पं. वार्ड नं. ८ बस्ने पूर्णबहादुर राई, ऐ. वार्ड नं. ४ खाम्दिङ सिक्रे डाँडा भन्ने स्थानमा लागेको ०४३।२।१४ को पञ्चमी बजारमा आएका रहेछन् बजार भरी सकेपछि १५ गते बिहान ७ बजेको समयमा ऐ. वार्ड नं. ४ बस्ने प्रेमबहादुर राई, ऐ. वार्ड नं. ५ बस्ने भीषण राई, वार्ड नं. ४ बस्ने खासवीर राई, वार्ड नं. ८ बस्ने पूर्णबहादुर राई समेत ४ जनाले कुटपिट झै झगडा गरी पूर्णबहादुरलाई बजार लाग्ने नजिकैको भिरबाट फाली दिएछन् गा.पं.स. मर्नेको आमा समेत १०।१२ जना भई लाश सद्गत गरेछन् कर्तव्य गरी मरेकोमा कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने कालीबहादुरको जाहेरी दर्खास्त ।

३.    २०४३।२।१४ गते सिक्रे डाँडामा राती मेला लागेको र सो मेलामा मर्ने पूर्णबहादुरसंग रातको अं. ६:०० बजे भेट भएको थियो । संगै रक्सी खाई छुट्यौं बिहान ७ बजेतिर म संग मृतकको भेट हुँदा हामी गीत गाएर बसेको अवस्थामा पूर्णबहादुरले एक्कासी मुड्कीले निधारमा हिर्काउँदा मलाई पनि रिस उठी उसलाई मुड्कीले हिर्काउन थालें रिस थाम्न नसकी नजिकै भुँइमा रहेको घोचा टिपी निजको टाउकोमा हिर्काएँ पूर्णबहादुर भुँइमा लडे सो पछि भिषण राई र पूर्ण म समेत भई पूर्ण राईलाई भिरबाट खसाली घरतर्फ गयौं मेरो चोटबाट निजको मृत्यु भएको हो अन्य जाहेरीमा लेखिएका व्यक्तिको सहमति मात्र छ भन्ने प्रेमबहादुरले प्रहरीमा गरेको कागज ।

४.    २०४३।२।१४ को मेलामा म पनि गएको थिएँ । रातभर मेलामा नै बसें । १५ गते बिहान ७ बजेको समयमा प्रेमबहादुर र पूर्णबहादुर राईको झगडा भयो प्रेमबहादुरले पूर्णबहादुरलाई मुड्कीले हिर्काउन थाले सो अवस्था छुट्याउन नसक्दा प्रेमबहादुरले घोचो टिपी मर्नेको ढाडमा दुई हातले मच्चाई हिर्काए अर्को पटक टाउकोमा हिर्काए पूर्णबहादुर भुँइमा लडेपछि म पूर्ण राई आशबहादुरलाई प्रेमले बोलाई हामी समेतको मद्दतबाट पूर्ण राईलाई भिरबाट खसाली दियौं । प्रेमबहादुरको चोटबाट पूर्ण राई मरेका हुन् भन्ने भिषण राइले प्रहरीमा गरेको कागज ।

५.    मृतक पूर्णबहादुरको चिहान खोली हेर्दा मासु कुही सडी गली सकेको दुर्गन्ध भएको पोष्टमार्टम गर्न नसकिने चोट छुट्याउन नसकिने भन्ने समेत ०४३।३।५ को लाश प्रकृति  मुचुल्का ।

६.    २०४३ साल ज्येष्ठ १४ गते लाग्ने सिक्रे डाँडाको मेलामा राती आएको २।३ दिनसम्म पनि नआउँदा कहाँ गयो भन्ने मनमा लागी ०४३।२।१६ गते कालुवीर राई सिक्रे भिरमा घाँस काट्न जाँदा मानिस सुतिरहेको देखेछन् बोलाउँदा समेत नबोलेकोले हेर्दा मरेको देखी गाउँमा हल्ला गर्दा मैले सुनी लाश भएको स्थानमा आई हेर्दा मेरो छोरा पूर्णबहादुर हो भनी चिने भिरबाट लडी मरेछ भन्ने लाग्यो गाउँका मानिस समेत आफ्नो रीत अनुसार लाश सद्गत रही हाल लाश सद्गत गरिसकेपछि मात्र मेरो छोरालाई कर्तव्य गरी मारी भिरबाट फाली दिएको रहेछ भन्ने थाहा पाएँ मेरो छोरालाई कर्तव्य गरी मार्ने प्रेमबहादुर राई रहेछन् भन्ने समेत मृतकको आमा चित्तमाया राइनीले प्रहरीमा गरेको कागज ।

७.    २०४३।२।१५ गते बिहान अं. ७ बजे जाहेरीमा लेखिएका मानिसहरु झगडा गर्दै रहेछन् । म छुटाउन जान सकिन प्रेमबहादुर राइले मर्ने पूर्णबहादुर राइलाई घोचा टिपी ढाडमा हिर्काए सोही घोचाले टाउकोमा हिर्काए मृतक भुँइमा लडे प्रेमबहादुर राइले पूर्णबहादुर राईलाई भिर नजिकै हुँदा भिरबाट लडाई दिए मृतकको आमालाई खबर गरी भिरबाट लडी भनी लाश सद्गत गरेछन् पछि सुनेको हुँदा पूर्णबहादुरलाई कर्तव्य गरी मार्नेमा प्रेमबहादुरको चोटबाट मरेका हुन अरु सहमति हुन् भन्ने समेत भुवनसिं राइको प्रहरीमा गरेको कागज ।

८.    २०४३।२।१५ गते बिहान अं. ७ बजेतिर प्रेमबहादुरसंग पूर्णबहादुर राइको झगडा रहेछ । हल्ला खल्ला हुँदा म बाहिर निस्केर हेर्दा प्रेमबहादुर राई र पूर्णबहादुर राई कुटपिट गरिरहेका थिए । म छुट्याउन गइन । प्रेमबहादुर राईले घोचा टिपी ढाडमा हिर्काए सोही घोचाले अर्कोपटक टाउकोमा हिर्काउँदा मृतक लडे प्रेमबहादुरको कर्तव्यबाट पूर्णबहादुर मरेका हुन् भन्ने समेत लिलाबहादुरको प्रहरीमा गरेको कागज ।

९.    २०४३।२।१४ गते बेलुका सिक्रे डाँडामा मेला लागेको र सो मेलामा म पनि गएको थिएँ । रातभर मेलामा रमाइलो गरी बसें ऐ. १५ गते बिहान अं. ७ बजे प्रेमबहादुर मर्ने पूर्णबहादुरको झगडा भयो मर्ने पूर्णबहादुरले मलाई घर जाउँ भन्दा प्रेमबहादुरले पूर्णबहादुरलाई हिर्काउन थाले म समेतले छुटाउन जाँदा छुटाउन नसकेकोले प्रेमबहादुरले नजिकै भएको घोचा टिपी पूर्णबहादुरलाई ढाडमा हिर्काए अर्को पटक सोही घोचाले टाउकोमा हिर्काउँदा पूर्णबहादुर भुँइमा लडे प्रेमबहादुरले म समेतका पूर्ण राई, भिषण राइलाई बोलाएर पूर्णबहादुर मरे भिरबाट फाल्नु पर्छ भनी भनेको हुँदा म समेत भई भिरबाट लडाई दिएका हौं । प्रेमबहादुरको चोटबाट पूर्णबहादुरको मृत्यु हुन गएको भन्ने समेत आसवीर राइले प्रहरीमा गरेको कागज ।

१०.    २०४३।२।१४ गते बेलुका सिक्रे डाँडामा मेला लागेको र ऐ. १५ गते बिहान अं. ७ बजेको समयमा प्रेमबहादुर राइको पूर्णबहादुर राइसंग झगडा भएछ हल्ला खल्ला हुँदा म पनि झगडा भएको ठाउँमा पुगें छुटाउन सकिन प्रेमबहादुर राइले भुँइमा भएको घोचा टिपी मर्ने पूर्णबहादुर राइको ढाडमा हिर्काए अर्को पटक टाउकोमा हिर्काउँदा पूर्णबहादुर भुँइमा लडे प्रेमबहादुरले आशबहादुर, भिषण समेतलाई बोलाएर म समेत गएँ प्रेमबहादुरले भन्दा हाम्रो सहमति भई भिरबाट फाली दियौं । यसलाई भिरबाट फ्याली दिउँ पूर्णबहादुरको प्रेमबहादुरकै चोटबाट मृत्यु भएको अरु सहमति मात्र हुन् भन्ने समेत पूर्णबहादुर राइले प्रहरीमा गरेको कागज ।

११.    २०४३।२।१६ गते कालुवीर राई घाँस काट्न भनी भिरको फेदमा जाँदा मानिस सुती रहेको देखेछन् । बोलाउँदा नबोलेको हुँदा मरेकै रहेछ हल्ला खल्ला गर्दा मैले पनि थाहा पाई लाश भएको स्थानमा आएँ मृतकको आमा पनि आएको हुँदा मलामी जानेमा म पनि हुँ भन्ने समेत गनबहादुर राइले प्रहरीमा गरेको कागज ।

१२.   २०४३।२।१६ गते कालुवीर घाँस काट्न भिरको फेदमा जाँदा मानिस सुतिरहेको देखेछन् को मानिस हो भनी बोलाउँदा नबोलेकोले हेर्दा मरेकै रहेछ हल्ला गर्दा थाहा पाएँ मृतकको आमा पनि आएकी थिइन भिर बाट लडी मरेछन् भनी निजको आमा समेतले भनेको हुँदा रीत अनुसार लाश सद्गत गरियो मलाई थाहा थिएन कर्तव्य गरेर मरेको रहेछ भन्ने कुरा थाहा भयो भन्ने समेत कुलबहादुर राईले प्रहरीमा गरेको कागज ।

१३.   कालुवीर राई घाँस काट्न भिरको फेदमा जाँदा मानिस सुतिरहेको देखेछन् बोलाउँदा नबोलेकोले मानिस मरेको देखी हल्ला गरेछन् । मृतककी आमा समेत आई छोराको लाश हो भनी चिनेको हुँदा भिरबाट लडी मरेछ भनी सद्गत गरियो हाल मात्र कर्तव्यबाट मरेको कुरा थाहा भयो भन्ने समेत हर्कबहादुरले प्रहरीमा गरेको कागज ।

१४.   २०४३।२।१६ गते कालुवीर घाँस काट्न जाँदा भिरको फेदमा मानिस सुतिरहेको देखेछन् बोलाउँदा नबोलेको हल्ला खल्ला हुँदा म पनि लाश भएको स्थानमा गएँ मृतककी आमाले मेरो छोराको लाश रहेछ भन्ने रीत अनुसार लाश सद्गत गरी को कस्को कर्तव्यबाट मरेको हो खुलाउन सक्तिन जाहेरीमा लेखिएका प्रतिवादीहरुसंग झै झगडा भएको सुनेको हुँ भन्ने समेत मनिराज राइले प्रहरीमा गरेको कागज ।

१५.   मानिस मरेछ भनी हल्ला हुँदा त्यहाँ के भइरहेछ भनी गाउँका मानिस समेत लाश रहेको स्थानतर्फ गयौं । मृतककी आमाले मेरो छोरा मरेको रहेछ भनी चिनेकी हुँदा भिरमा लडी मरेछ भनी सद्गत गरेको हो हाल कर्तव्यबाट मरेको रहेछ । हाल थाहा पाएको हुँ भन्ने समेत पञ्चबहादुरले प्रहरीमा गरेको कागज ।

१६.    २०४३।२।१६ गते कालवीर राई घाँस काट्न सिक्रे भिरमा आएका भिरको फेदमा मानिस सुतिरहेको देखी बोलाउँदा नबोलेकोले को मरेछ भनी हल्ला खल्ला गर्दा म पनि आएँ मृतककी आमाले लाश चिनेपछि पूर्णबहादुर लडी मरेछ रीत अनुसार सद्गत गरौं भन्दा हाम्रो सहमति भई लाश सद्गत ग¥यौं प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरी सकेपछि मात्र कर्तव्य गरी मरेको रहेछ भन्ने कुरा सुनेको हुँ प्रेमबहादुर राईले मारेछ भन्ने थाहा पाएको हुँ भन्ने समेत पर्खिधन राईले प्रहरीमा गरेको कागज ।

१७.   २०४३।२।१६ गते कालुवीर राई घाँस काट्न सिक्रे भिरमा आएका रहेछन् भिरको फेदमा मानिस सुतिरहेको देखिँदा बोलाउँदा नबोलेकोले को मरेछ भनी हल्ला खल्ला गर्दा लाश रहेको स्थानमा म पनि गएँ मृतककी आमाले लाश चिनेपछि निजको आमा समेतले लडी मरेको रहेछ सद्गत गरौं भन्दा पूर्णबहादुरको लाश सद्गत ग¥यौं । प्रतिवादीहरुलाई पक्राउ गरी लगेपछि पूर्णबहादुर कर्तव्य परी मरेको रहेछ भन्ने समेत गोठधने राईको प्रहरीमा गरेको कागज ।

१८.   ०४३।२।१६ गते बिहान सिक्रे भिर फेदमा घाँस काट्न भनी देश वीर, म आएका थियौं घाँस काट्दै गर्दा भिरको फेदमा मरिरहेको लाश देखी मानिस सुतिरहेको रहेछ बोलाउँदा नबोलेकोले गाउँमा हल्ला खल्ला गर्दा पूर्णबहादुरको लाश रहेछ निजकी आमा आएपछि मेरो छोरा भिरबाट लडी मरेछ भनी लाश सद्गत गर्दा म पनि थिएँ । ऐ. १५ गते बिहान कुटपिट झै झगडा भएको सुनेको हुँ प्रेमबहादुर सहित को को भई मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको कालुवीर राईले प्रहरीमा गरेको कागज ।

१९.    २०४३।२।१६ गते कालुवीर राई सिक्रे भिर फेदीमा घाँस काट्न जाँदा मानिस भिरको फेदीमा लडिरहेको देखेछन् । बोलाउँदा नबोलेकोले के भए भनी हेर्दा मानिस मरेको देखी गाउँमा हल्ला गर्दा म पनि लाश भएको स्थानमा आएँ । मेरो सहोदर कान्छो भाई मरेका रहेछन । भिरबाट लडी मरेको जस्तो लागी भिरबाट लडी मरेछ सद्गत गर्नु भनी मेरो आमा सहितले भनेको हुँदा लाश सद्गत ग¥यौं उक्त लाश कर्तव्यबाट मारी भिरबाट फाली दिएको रहेछ हाल थाहा पाएको हुँ । झगडा भएर प्रेमबहादुर समेतले मेरो भाइलाई मारेका रहेछन भन्ने समेत मृतकको दाजु बमबहादुर राईले प्रहरीमा गरेको कागज ।

२०.   ०४३।२।१४ गते लागेको पञ्चमी बजारमा हाल पक्राउ परेका प्रेमबहादुरलाई समेत ऐ. १५ गते अं. ७ बजेको समयमा झै झगडा गरी पूर्णबहादुर राईलाई भिरबाट फाली दिएको कुरा सुनेको हौं भन्ने समेत सरजमीन मुचुल्का ।

२१.   प्रस्तुत मुद्दामा संकलन भई आएका सम्पूर्ण मिसिल कागजातहरु अध्ययन गर्दा पूर्णबहादुर राई कर्तव्य गरी मरेका स्पष्ट हुन आएकोले सजायँ माग दावीतर्फ विचार गर्दा प्र.प्रेमबहादुर राईले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. विपरीत कसूर गरेको देखिएको हुँदा निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको नं. १३ देहाय (३) बमोजिम भिषण राई, पूर्ण भन्ने पूर्णबहादुर, जाहेरीमा खासवीर राई भन्ने लेखेको भए तापनि निज आशबीर राई समेत ३ जनाको हकमा मृतकलाई प्रेमबहादुर राईको चोटबाट मरेकोमा भिरबाट फाल्ने काममा मात्र सहयोग गरी मारेको थाहा पाई जाहेर नगरी चुप लागी बसेका र पूर्णबहादुर मर्ने अवस्थासम्म छुट्याउन नसकेको भनी केही नगरी हेरी रहने, भिषण राई १, पूर्ण भन्ने पूर्णबहादुर १, खासवीर भन्ने आशबहादुर राई १ समेत ३ जनालाई ज्यानसम्बन्धीको १७ देहाय (३) बमोजिम र मारेको देख्ने भनी बयान गर्ने भुवानसिं राई १, लिलाबहादुर राई १, ले कुटपिट भई देखेको भनी कागज गरी सकेको हुँदा अन्य ६ जना फेला नपरेको हुँदा ज्यान मरी सकेको कुरा थाहा पाई जाहेर नगरी कसूरदारलाई भगाउने दबाउने कार्य गरेको स्पष्ट हुन आएको हुँदा ऐ. ऐनको २५ नं. बमोजिम र प्रतिवादी मध्येकै जाहेर नगरी लाश जाँच नभई लाश दवाउने चित्तमाया १, ठूलबहादुर १, हर्कबहादुर १, मणीराज १, पञ्चबहादुर १, पर्खि धन १, गोठ धन १, कालुवीर १, गमबहादुर १, गनबहादुर १ समेत १० जनाका हकमा मुलुकी ऐन ज्यानसम्बन्धीको महलको ४ नं. बमोजिम र हाल फेला नपरेका लाश दबाउने मलामी चरोधन १, आसे राई १, गोठे राई १, बिग वीर १ को हकमा अ.बं. ९४ नं. बमोजिम अदालतबाट म्याद जारी गरी मु. ऐन ज्यानसम्बन्धीको ४ नं. बमोजिम र हाल फेला नपरेको नौमाया राई १, चिनीमाया राई १, छविमाया राई १, टेकमान राई १, पशलकुमार १, दलबहादुर समेत ६ जनालाई अदालतबाटै म्याद जारी गरी निजहरुका हकमा समेतलाई ज्यानसम्बन्धीको २५ नं. बमोजिम सजायँ समेत गरी पाउँ भन्ने जिल्ला न्यायाधिवक्ता तथा प्रहरीको संयुक्त प्रहरी प्रतिवेदन ।

२२.   २०४३।३।१ गते जिल्ला प्रहरी कार्यालयमा मैले गरेको बयान राजीखुसीले गरी दिएको हुँ । मर्ने पूर्णबहादुरलाई मैले कुटपिट गरी मारेको होइन । जिल्ला प्रहरी कार्यालयमा कुटपिट गरेबाट मैले सहन नसकी २०४३।३।१ गते गरेको बयान कागज मैले भनी लेखाएको हुँ । मलाई कुटपिट गर्ने प्रहरी जवान चिन्दिन भन्ने प्र.प्रेमबहादुर राई २०४३।३।६ गते प्रहरीमा गरेको बयान कागज मेरो स्वइच्छाले मेरो खुसीराजीले गरेको हुँ । मृतक पूर्णबहादुरसंग १४ गते राती भेट भयो । म पूर्णबहादुर राई समेत भएर गीत गायौं अनि म मानबहादुर राई तिरसमान राई, भिषण राई समेत भएर जाँड रक्सी खाएर माती बस्यौं । त्यसपछि मलाई साथीहरुले भुवान सिंहको होटल छेउमा लगेर सुताएछन् । मृतक पूर्णबहादुर राई कता गए थाहा छैन भन्ने प्र.पूर्णबहादुरको अदालतमा गरेको बयान कागज जिल्ला प्रहरी कार्यालयमा स्वइच्छाले लेखाई आफ्नो राजीखुसीले सहिछाप गरिदिएको हुँ । प्रहरीमा प्रेमबहादुर राईको बयान देखाएर प्रेमबहादुर राईले यस्तो बयान गरेछ तैले मृतक पूर्णबहादुरको लाश म समेत भएर फालेको लडाएको भनी लेखाउनु पर्दछ भनी मलाई मैले नचिनेको प्रहरीले कुटपिट गरेकोले डरत्रासमा परी त्यस्तो लेखिएको हो मैले मृतक पूर्णबहादुरलाई कुटपिट गरी मारी फालेको होइन । ०४३।२।१४, १५ गते मृतक पूर्णबहादुर राईसंग देखा देखसम्म टाढाबाट भएको थियो भन्न प्र.भिषण राई प्रहरीमा गरेको बयान कागज मैले खुसीले गरी दिएको हुँ । तर पूर्णबहादुर राईलाई म समेत भई भिरमा लगी फालेको होइन । ०४३।२।१५ गते विहान पंचलमी बजारमा भिषण, पूर्ण, प्रेमबहादुर र मर्ने पूर्णबहादुर समेत अं. ६ बजेको समयमा भेट भएको थियो भन्ने प्र.आशबहादुर भनेको आशवीर राई, मृतक पूर्णबहादुर राई र प्रेमबहादुर राई २०४३।२।१५ गते बिहान अं. ७ बजेको समयमा म होटलमा काम गरिरहेको बखत निजहरु २ जना झगडा गरिरहन्थे के के भनी झगडा गरे मलाई थाहा छैन मैले मृतक पूर्णबहादुर राईलाई प्रेमबहादुर राई मारी भिषण राई समेत भई भिरबाट फालेको मैले देखेको होइन त्यस कारण मैले जाहेर नगरेको बापत सजायँ पाउनु पर्ने होइन भन्ने समेत प्र.लिलाबहादुर राई प्रहरीमा भएको बयान कागज मैले राजीखुशीले सही गरिदिएको हुँ । प्रेमबहादुरले पूर्णबहादुरलाई कुटेको खास मेरो आँखाले देखिन भन्ने समेत प्र.भुवान सिं राई । प्र.लिलाबहादुर राईले प्रहरीमा गरेका बयान कागज अनुसार म समेत भएर मृतक पूर्णबहादुर राई, प्रेमबहादुर राई समेत भई झगडा भएको समयमा मैले छुट्याई दिएकी होइन किन छुट्याएको भनी लेखाए मलाई थाहा छैन भन्ने प्र.चिनीमाया राइनी । प्र.प्रेमबहादुर राई मृतक पूर्णबहादुर राईको झगडा भएको बखत म मेरो घरमा थिएँ । निजहरुलाई मैले छुट्याएको होइन किन लिलाबहादुरले म समेतले छुट्याएको भनी लेखाए मलाई केही थाहा छैन भन्ने समेत प्र.नौमान राई, प्र.लिलाबहादुरले प्रहरीमा किन म समेतले छुट्याएको भनी लेखाए मलाई थाहा भएन सो वारदातमा म छुइन र केही थाहा छैन भन्ने छवीमाया राइनी । म बजार गएको भए तापनि झगडा भएको देखिन र सुनिन पनि, पछि मृतक पूर्णबहादुर राईको लाश संस्कार गर्न म गइन पनि, मलाई किन दोषारोपण गरे मलाई थाहा छैन भन्ने प्र.टेकमान राई । प्र.प्रेमबहादुर राईले प्रहरीमा गरेको बयान अनुसार म पूर्णबहादुर राईको र प्र.प्रेमबहादुर राईको झगडा भएको बखतमा मैले छुट्याएको होइन भन्ने प्र.पेशलकुमार वाइवा । प्र.प्रेमबहादुर राईले प्रहरीमा गरेको बयान कागज अनुसार म समेत भएर झगडा भएको अवस्थामा प्रेमबहादुर राईलाई समेत छुट्याएको होइन भन्ने प्र.दलबहादुर वाइवा । मृतक पूर्णबहादुरको लाश २०४३।२।१६ गते विहान ७ बजेको समयमा म समेतले भेटी गाउँमा हल्ला गरी मृतकको आमा र दाजु गमबहादुर राई समेत आएपछि लडी मरेका रहेछ भनी म समेत भई लाश संस्कार ग¥यौं भन्ने समेत प्र.कालुवीर राई, उस अवस्थामा लडी मरेको होला भनी गाउँ घरमा हल्ला गरी सद्गत म समेत भई गरेको हुँ भन्ने समेत प्र.चित्तमाया राइनी । म केही नजान्ने हुँदा सजायँ केही नहोस् भन्ने प्र.गोउधन राई । पूर्णबहादुर राईलाई मारेर भिरबाट खसाएको कुरा केही थाहा नभई सद्गत गरेको हो आफैं मरेको भनी सद्गत गर्न म समेत गएको हुँदा सजायँको भागी बन्न नपरोस भन्ने प्र.ठूलबहादुर राई । पूर्णबहादुर राईको लाश म समेत भई २०४३।२।१६ गते सद्गत गरेका हौं भन्ने प्र.गमबहादुर राई । २०४३।२।१६ गते मृतक पूर्णबहादुर राई आफैं लडी मरेको होला भन्ने ठानी म समेत भएर लाश संस्कार गरेको हुँ भन्ने प्र.हर्कबहादुर राई मृतक पूर्णबहादुर राईको लाश भिरको फेदमा घट्टे खोला भन्ने ठाउँमा रहेछ लडी मरेको लाश संस्कार गर्दा जाहेर गर्नु पर्छ भन्ने कुरा मलाई थाहा थिएन त्यसकारण म समेत भएर लाश संस्कार गरेका हो भन्ने प्र.पर्खिधन राई । लाश संस्कार गर्नु हुँदैन भन्ने मलाई थाहा थिएन म समेत भएर लाश संस्कार गरेको हुँ प्र.प्रेमबहादुर राई समेतले कुटपिट गरी मारेको भन्ने कुरा मलाई थाहा थिएन भन्ने समेत प्र.मनिराम राई । मारेर भिरबाट फालेको भन्ने नभई आफैं भिरबाट खसी मरेछ भनी २०४३।२।१६ गते म समेत भई पूर्णबहादुरको लाश सद्गत गरेका हौं मैले केही नजानेको हुँदा कानुन बमोजिम होस भन्ने प्र.गनबहादुर राई ०४३।२।१६ गते म समेत भई लाश सद्गत गरेका हौं केही थाहा नहुँदा कानुन बमोजिम होस भन्ने प्र.पञ्चबहादुर राई । मानिस मरेछ भनी मलामी जान लाग्दा मलामीहरुलाई बाटामा नै भेटें त्यसपछि मृतकको घरमा आयौं म त्यसतर्फ गएँ भन्ने प्र.दिगवीरे राई । लाश दबाउने अवस्थामा म थिइन मलाई बाटोमा भेटेकोले म समेत मलामी गएको हो भनी लेखाइएन होला भन्ने प्र.चरीधन राई । लाश संस्कार गर्न मलामी गएको होइन किन त्यस्तो लेखाए म जान्दिन भन्ने प्र.गोटे राई भनेको गोठ धन राई । मैले आउँदै गर्दा बाटामा मलामीहरुलाई भेटेको हुँ म लाश छिपाउने ठाउँमा पुगिन भन्ने समेत प्र.आशे राई समेत २६ जनाले अदालतमा गरेको बयान ।

२३.   पूर्णबहादुर राई प्रतिवादी प्रेमबहादुर राईको कुटपिटबाट मरेको देखिँदा प्र.प्रेमबहादुर राईले पूर्णबहादुर राईलाई कुटपिट गरी कर्तव्य गरी मारेको ठहर्छ निजलाई ज्यानसम्बन्धीको १३ नं. ले देहाय ३ बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको सोलुखुम्बु जिल्ला अदालतको ०४४।२।६।४ को जाहेरी फैसला ।

२४.   सोलुखुम्बु जिल्ला अदालतले प्रहरी कार्यालयमा प्रतिवादीहरु सावित भई कागज गरेकै आधारलाई मात्र आधार मानेको पाइन्छ । म प्रतिवादी पुनरावेदकको सम्मानीत अदालत समक्ष पुनरावेदन जिकिर के छ भने श्री ५ को सरकार वादी हुने मुद्दामा घटना भएको देख्ने जान्ने जोसुकैले पनि जाहेर गर्न सक्ने र सो जाहेर गर्ने श्री ५ को सरकारका प्रमुख गवाहा मानिन्छ र निजले अदालतमा आई बकेको कुरालाई महत्वपूर्ण लिइन्छ । प्रस्तुत मुद्दामा जाहेरवाला कालीबहादुर तामाङले अदालतमा मुद्दा दायर गरेपछि अदालतमा आई आफैं मर्‍यो वा कसैले कर्तव्य गरी मारे सो कुरा मलाई थाहा छैन भनी बकपत्र गरेको छ । मलाई सोलुखुम्बु जिल्ला अदालतले सर्वश्वसहित जन्मकैद गर्ने गरेको फैसला उल्टाई वादीका झुठ्ठा अभियोगबाट सफाई पाउँ भन्ने प्रेमबहादुर राईको पुनरावेदनपत्र ।

२५.   शुरुले लिएको तर्क र प्रमाणको आधारमा प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर गरेको फैसला मनासिब छ भन्ने समेत ०४५।१।२४।६ को सगरमाथा अञ्चल अदालत ओखलढुड्डा बेञ्चको फैसला ।

२६.   शुरुको इन्साफ सदर गरेको अञ्चल अदालतको इन्साफमा चित्त बुझेन सो फैसला बदर गरी झुठ्ठा अभियोगबाट सफाई पाउने इन्साफ पाउँ भन्ने समेत प्र.प्रेमबहादुर राईको पू.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।

२७.   प्र.प्रेमबहादुरले ज्यानसम्बन्धीको १३(३) को कसूर गरेको ठहर भएको इन्साफ मनासिब देखिँदा सफाई पाउँ भनी गरेको प्रेमबहादुर राईको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत पू.क्षे.अ. को ०४५।८।२१ को फैसला ।

२८.   जिल्ला अदालतले गरेको कानुनी त्रुटिपूर्ण फैसलालाई सगरमाथा अं.अ., पू.क्षे.अ. बाट सदर गरी भएको फैसला बदर गरी निराधार वादीको झुठ्ठा अभियोगबाट सफाई पाउँ भन्ने समेत प्रेमबहादुर राईको कारागार शाखा मार्फत पठाएको पुनरावेदनपत्र र साधक सदरको लागि फौ.सा.नं. ३२ मा दायर भएको ।

२९.   प्रतिवादी प्रेमबहादुर राईको पुनरावेदन परेको हुँदा साधकको लगत काटी दिनु र पू.क्षे.अ. को इन्साफ मिलेको नदेखिँदा अ.बं. २०२ नं. अनुसार छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिनु भन्ने समेत २०४६।११।२८ मा संयुक्त इजलासको फैसला ।

३०.   नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदनमा पुनरावेदक तर्फबाट बहसको लागि उपस्थित विद्वान द्वय अधिवक्ता श्री हरिशंकर निरौला र गुरुप्रसाद बरालले मेरो पक्षले मृतकलाई कुटपिट गरी मारी फालेको होइन । कुटपिटबाट मरेको भनी पोष्टमार्टम हुन सकेको छैन । प्रतिवादीलाई प्रहरीले कुटपिट गरी करकापबाट साविती बयान गराएको बाहेक अन्य केही सबूद प्रमाण वादी पक्षबाट गुज्रन आएको नदेखिँदा झुठ्ठा अभियोगबाट फुर्सद पाउनु पर्दछ भनी गर्नु भएको बहस जिकिर र विपक्षी तर्फबाट बहसको लागि खटिई आउनु भएका विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले प्रतिवादी आरोपित कसूरमा प्रहरीमा सावित रही बयान गरी सकेको हुँदा शुरु तथा क्षेत्रीय अदालतबाट समेत भएको फैसला सदर होस भनी गर्नु भएको बहस जिकिर समेत सुनियो ।

३१.   अब पुनरावेदन माग दावी अनुसार प्रतिवादीले सफाई पाउनु पर्ने हो होइन । पू.क्षे.अ. समेतको फैसला मिलेको छ छैन निर्णय दिनु परेको छ ।

३२.   निर्णयतर्फ विचार गर्दा यसमा पू.क्षे.अ. बाट ठहर हुँदा निज प्रतिवादीको प्रहरीमा भएको कागजको आधारमा निजकै कुटाईबाट मर्ने पूर्णबहादुरको मृत्यु भएको ठहर्‍याएको देखिन्छ । तर मर्ने पूर्णबहादुरको लाश जाँच हुन नसकेकोबाट निजको मृत्यु ठहर बमोजिम पुनरावेदकको कुटाइकै चोटबाट भएको भन्ने यकीन रुपबाट भन्न सकिने अवस्था देखिन आएन । जहाँसम्म पुनरावेदन दावी बमोजिम मर्ने पूर्णबहादुरलाई कुटी मारी फालेमा प्रहरीमा सावित रहेको भन्ने हकमा निज अदालतमा आई बयान गर्दा सो कुरामा इन्कार रही बयान गरी प्रहरीमा भएको कागज आफूलाई प्रहरीले कुटपिट गरी गराएको भनी देखाई इन्कार रहेको देखिन्छ । प्रहरीमा कागज गर्ने सहअभियुक्तले निजलाई फालेकै भए पनि निजहरु पनि अदालतमा आई बयान गर्दा इन्कार रहेको देखिन्छ । पुनरावेदकको साविती भनिएको कागज व्यहोरा सरजमीनका मानिस अदालतमा आई बकपत्र गर्ने कसैबाट पनि समर्थन नहुनाका साथै जाहेरवालाले पनि सुनेको भरमा जाहेरी दिएको भनी बकपत्र गरेको पाइन्छ । मर्नेकी आमा दाजुले पनि अभियुक्तको प्रहरीमा गरेको कागज समर्थन नगरी भिरबाट लडी मरेको भनी देखाई बकपत्र गरेको देखिन्छ । यस स्थितिमा अरु कुनै सबूदबाट समर्थित हुन नसकेको प्रहरी कागजकै आधारमा प्रहरी प्रतिवेदन दावी बमोजिम पुनरावेदकले कुटी मारी फालेको ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ र अञ्चल अदालतले पुनरावेदन सदर गरेकोलाई सदर गर्ने गरेको पू.क्षे.अ. को इन्साफ मिलेको नदेखिँदा सो फैसला उल्टी भई प्रतिवादीले सफाई पाउने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकाले सोलुखुम्बु जिल्ला अदालतको मिति २०४४।२।६ गतेको फैसलाले राख्ने गरेको पुनरावेदक प्रेमबहादुर राईको हकको लगत राख्नु नपर्ने हुँदा कट्टा गरी दिन लेखी पठाउनु स.अ.ल.न. शाखा मार्फत काठमाडौं जिल्ला अदालतमा लगत दिनु...१, प्रतिवादी प्रेमबहादुर राईले आरोपित कसूरबाट सफाई पाउने ठहरेको हुँदा निजको अंश रोक्का राखेको भए फुकुवा गरिदिनु भनी सोलुखुम्बु जिल्ला अदालतमा लेखी पठाउन स.अ.ल.न. शाखा मार्फत काठमाडौं जिल्ला अदालतमा लगत दिनु...२, मिसिल नियमानुसार गरी बुझाई दिनु...३

 

उक्त रायमा म सहमत छु ।

न्या.पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४७ साल बैशाख ५ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु