निर्णय नं. ४०६२ - म्याद तामेल जालसाजी

निर्णय नं. ४०६२ ने.का.प. २०४७ (क) अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको फौ.पु.नं. ५७१
फैसला भएको मिति: २०४६।३।२२।५ मा
पुनरावेदक/वादी: भारत दुर्गापट्टी बस्ने रामललित महतो कोइरी
विरुद्ध
विपक्षी/प्रतिवादी: जि.ध. नगराइन गा.पं. वा.नं. ५ बस्ने जगन्नाथ यादवसमेत
मुद्दा : म्याद तामेल जालसाजी
(१) आफ्नो नाउँमा परेको मुद्दामा तामेल भएको इतलायनामामा नभए नगरेको व्यहोरा लेखी लेखाई तामेल गरेकोबाट अ.बं. ११०(१) नं. को रीत नपुगेको कुरा आफूलाई जानकारी भएपछि निजले तत्काल सो व्यहोरा देखाई सोही अ.बं. ११०(५) अन्तर्गत उजूरी दिई बदर गराई दिनु पर्ने थियो, सो बमोजिम नगरी आफ्नो उपर मुद्दा परेको कुरा आफूलाई थाहा भइकन पनि चूप लागी बसी जि.अ. बाट र क्षे.अ. बाट मुद्दा किनारा भइसकेपछि क्षे.अ. बाट दावीको लिखत पास हुने ठहरी फैसला भएकोबाट मात्र यिनी वादीले कीर्ते कागजको सहारा लिई गुज्रेको म्याद समेत थमाई यो फिराद दिएकोबाट परेको मुद्दामा भएको फैसलाको रुप विचार गरी मात्र यो फिराद पर्न आएको देखिन आएकोले बेरीतसंग इतलायनामा तामेल भएको सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था उल्लंघन गरी यो फिराद पर्न आएको कानुन अनुरुपको भन्न नमिल्ने ।
(प्रकरण नं. १५)
पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री रामजीप्रसाद मैनाली
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा
फैसला
न्या.हिरण्येश्वरमान प्रधान
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. मेरा बाबुले धेरै वर्ष अघि धनुषा नगराइन मौजाको जग्गा खरीद गरी भारतबाट नेपालमा भित्री आउनु भएको र सर्भे नापीमा वहाँका नाममा दर्ता रहेको नगराइन गा.पं. वार्ड नं. ९(क) कि.नं. १९ को १–१२–५१२, कि.नं. ४४ को ०–५–२, कि.नं. ८६ को ०–१–१५, कि.नं. १४९ को ०–११–१७, कि.नं. १५८ को ०–२–०, कि.नं. २६२ को २–५–०, कि.नं. २२९ को ०–६–१६१२, वार्ड नं. ९(ख) कि.नं. १०२ को ०–१–१७, कि.नं. १४९ को ०–२–१५, कि.नं. २०६ को ०–४–१०, कि.नं. २११ को ०–३–११ समेत जम्मा जग्गा ५–१६–१९ जग्गाहरु पिताजी पश्चात मैले भोग चलन गरी आएको हुँ । मेरा पिता २०३३ माघ १६ गते परलोक हुनु भएकोमा २०३३ पुष १६ गते परलोक भएको देखाई जगन्नाथ यादवले मेरा उपर लिखत पारित मुद्दा दिई अरु विपक्षीलाई प्रलोभन दिई मेरो घरद्वार नै नभएको ठाउँको वतन दिई फेला नपरेको भनी जालसाजी तरीकाबाट इतलायनामा तामेल गराएकोले जालसाजयुक्त इतलायनामा तामेल गर्ने विपक्षीलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. म म्याद तामेल गर्ने व्यक्ति नभई फिरादी हुँदा जालसाजी आरोप लाग्न सक्ने होइन लिखत पास मुद्दाको वतन गलत पनि छैन, तसर्थ उक्त मुद्दा अ.बं. ७३ नं. ले खारेज गरी पाउँ भन्ने समेत व्यहोराको ५ जनाको संयुक्त प्रतिउत्तर जिकिर ।
४. लिखत पारित मुद्दाका लिखत सद्दे साँचो देखिन आएको, त्यस्तो लिखत पारित गराउन म्याद जालसाज गर्नु पर्ने प्रयोजन नरहेको इतलायनामा अ.बं. ११० नं. को रीत पुर्याई तामेल भएको समेत हुँदा वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको २०३७।११।५।२ को धनुषा जिल्ला अदालतको फैसला ।
५. सो फैसलामा चित्त बुझेन भन्ने रामललित महतो कोइरीको जनकपुर अञ्चल अदालतमा परेको पुनरावेदन ।
६. घरद्वार नभई जग्गासम्म भएकोमा सो ठाउँमा म्याद तामेल भएको खण्डमा ऐनको उद्देश्य पूरा भएको सम्झन नमिल्ने, म्याद तामेलीको अर्थ तामेलीको तरीका मात्र पूरा गर्नु नभई सम्बन्धित व्यक्तिलाई प्रतिवादको मौका दिनु हो, सो नहुनु प्राकृतिक न्याय सिद्धान्तको प्रतिकूल हुन्छ, तसर्थः म्याद जालसाजी ठहरी शुरु इन्साफ गल्ती ठहर्छ भन्ने समेत व्यहोराको जनकपुर अञ्चल अदालतको ०४१।४।१८।४ को फैसला ।
७. सो फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको जगन्नाथ यादव समेतको म.क्षे.अ. मा परेको निवेदनमा नि.नं. १४४३ को फैसला बदर मुद्दामा अनुमति प्रदान भएकोले यो पनि सो सम्बन्धित लगाउको हुँदा अनुमति प्रदान गरिएको छ भन्ने समेत म.क्षे.अ. को आदेश ।
८. यसै लगाउको फौ.पु.नं. १०४७ को लिखत जालसाजी मुद्दामा शुरु अदालतको फैसला उपरको पुनरावेदनमा अधिकार क्षेत्र नाघी जनकपुर अञ्चल अदालतले किनारा गरेको फैसला बदर भई जनकपुर अञ्चल अदालतमा परेको पुनरावेदन यस अदालतमा दर्ता गर्ने समेत गरी आजै फैसला भएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(१)(क) बमोजिम प्रस्तुत मुद्दामा समेत जनकपुर अञ्चल अदालतबाट अधिकारक्षेत्र नाघी फैसला गरेको हुँदा जनकपुर अञ्चल अदालतको फैसला बदर गरी दिएको छ । जनकपुर अञ्चल अदालतमा परेको वादी रामललित महतोको पुनरावेदन यस अदालतमा दर्ता गरी निजलाई बाटोको म्याद बोहक १५ दिनभित्र हाजिर हुन आउनु भनी म्याद पठाई निजलाई र हाजिर रहेका अन्य पक्षहरुलाई समेत तारेखमा राखी नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको २०४२।३।१३।५ को म.क्षे.अ. डिभिजनबेञ्चको फैसला ।
९. उक्त फैसला अनुसार म.क्षे.अ. मा दर्ता हुन आएको पुनरावेदनपत्र ।
१०. तामेल भएको म्यादतर्फ मनासिब देखी शुरु र यस अदालतबाट समेत इन्साफ भइसकेको देखिँदा अब आएर मात्र म्याद जालसाजी भयो भन्ने वादी पुनरावेदक रामललित महतोको दावी खम्वीर हुन सक्ने आधार प्रमाण समेत पुग्न आएको नदेखिँदा जालसाज गर्नुपर्ने स्वार्थ निहित रहेको नदेखिएकोले तामेली जालसाजी भनी प्रतिवादीहरु उपर गरिएको वादी दावी मनासिब नहुँदा सो उजूरी झुठ्ठा ठहराई शुरु धनुषा जिल्ला अदालतबाट भएको फैसला मनासिब देखिँदा कुनै परिवर्तन गर्नु नपरी सदर हुन्छ, पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने म.क्षे.अ. को फैसला ।
११. सो फैसलामा अ.बं. ७३ नं., अ.बं. २०८ नं. को गलत व्याख्या गरी अकाट्य प्रमाणहरुलाई पन्छाई भएको फैसला त्रुटिपूर्ण हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको रामललित महतो कोइरीको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
१२. यसमा यसै लगाउको नि.नं. ४४८ को यिनै पक्ष विपक्षी भएको लिखत जालसाज मुद्दामा आज यसै इजलासबाट पुनरावेदन गर्ने अनुमति दिइएको हुँदा यो मुद्दामा पनि पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामजीप्रसाद मैनाली र विपक्षी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गणेशराज शर्माले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१४. यसमा म.क्षे.अ. को इन्साफ मनासिब बेमनासिब के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।
१५. आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा वादीले आफ्नो फिरादबाट २०३३।१०।१५ मा मात्र मरेको बाबुलाई २०३३।९।१६ मा मरेको भनी देखाई भारत देउपट्टि घर भएको मलाई घरै नभएको नगराइन गा.पं. वार्ड नं. ९ को घर वतन देखाई बाबु रामफलले गरिदिएको लिखत पास गराई पाउँ भन्ने मुद्दा दिई विपक्षीहरु समेतलाई प्रलोभनमा पारी मेरो घरै नभएको ठाउँमा घरद्वार देखाई फेला नपरेको भन्ने जालसाजयुक्त व्यहोराको तामेली मुचुल्का खडा गरी गराई इतलायनामा तामेल गर्नु गराउनु गरी प्रतिवाद गर्ने मौकासम्म मलाई केही थाहा नदिई राखिएको कुरा प्रतिवाद गर्ने मौका व्यतित भएपछि मात्र २०३४।१।१९ गते फिरादपत्र सहितको नक्कल लिई हेर्दा मेरो जि.ध. नगराइन गा.पं. वार्ड नं. ९ मा घरद्वारै नभएकोमा मेरो घर डेरा देखाई पूर्व मुखको डेरा घरमा टाँसी दिएको ठीक साँचो हो भन्ने विपक्षीहरुले २०३३।१०।२३ मा जालसाजयुक्त तामेली मुचुल्का लेखी लेखाई तामेल गरेको हुँदा नक्कल लिई थाहा पाएको मितिले २ वर्षभित्र नालेश दिन नसकेको गुज्रेको हदम्याद थमाई नालेश दिन आएको छु, इतलायनामा तामेल गर्न जाने डोरलाई झुक्यानमा पारी जालसाजपूर्वक इतलायनामा तामेल गर्ने विपक्षीहरुलाई सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको २०३६।१।१८ मा प्रस्तुत फिराद दिएको देखिन आयो । प्रमाणको रुपमा साथ रहेको वादीले देखाएको उक्त पास मुद्दा हेरिएमा सो मुद्दा जि.अ. बाट २०३४।३।१२ मा फैसला भएको देखिन आउँछ, यसबाट पुनरावेदकले सो मुद्दा किनारा हुनु अगावै सो मुद्दामा परेको फिराद निजको नाउँमा तामेल भएको भनेको इतलायनामा समेतका कागजहरुको २०३४।१।१९ मै नक्कल लिइसकेको कुरालाई आफ्नो फिरादपत्रबाटै स्वीकार गरेको देखिन आउँछ । यसरी आफ्नो नाउँमा परेको मुद्दामा तामेल भएको इतलायनामामा नभए नगरेको व्यहोरा लेखी लेखाई तामेल गरेकोबाट अ.बं. ११०(१) नं. को रीत नपुगेको कुरा आफूलाई जानकारी भएपछि निजले तत्काल सो व्यहोरा देखाई अ.बं. ११०(५) अन्तर्गत उजूरी दिई बदर गराई दिनु पर्ने थियो, सो बमोजिम नगरी आफ्नो उपर मुद्दा परेको कुरा आफूलाई थाहा भइकन पनि चुप लागी बसी जि.अ. बाट र क्षे.अ. बाट मुद्दा किनारा भइसकेपछि क्षे.अ. बाट दावीको लिखत पास हुने ठहरी फैसला भएकोबाट मात्र यिनी वादीले कीर्ते कागजको सहारा लिई गुज्रेको म्याद समेत थमाई यो फिराद दिएकोबाट परेको मुद्दामा भएको फैसलाको रुप विचार गरी मात्र यो फिराद पर्न आएको देखिन आएकोले बेरीतसंग इतलायनामा तामेल भएको सम्बन्धमा भएको स्पष्ट कानुनी व्यवस्था उल्लंघन गरी यो फिराद पर्न आएको कानुन अनुरुपको भन्न मिल्ने देखिन आएन । दावी बमोजिम जालसाजी गरेको नाताबाट लाग्ने हो कि भन्नलाई पनि नक्कल लिई थाहा पाएको मितिले ३५ दिनभित्रै यो फिराद पर्नु पर्ने सो म्यादभित्र नपरी म्याद तामेल भएको मितिले करिब २ वर्ष ३ महीना पछि मात्र पर्न आएको देखिन आएकोले यो फिरादबाट दावीको कुरामा विचार गर्न नमिल्ने हुँदा खारेज हुने ठहर्छ । खारेज नै गर्नु पर्नेमा दावी नपुग्ने ठहर्याएकोसम्म शुरुको सदर गरेको क्षे.अ.को इन्साफ गल्ती ठहर्छ । पुनरावेदन दस्तूर रही दर्ता भएको देखिँदा केही गर्नु परेन, मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४६ साल आषाढ २२ गते रोज ५ शुभम् ।