निर्णय नं. ४०६६ - कर्तव्य ज्यान

निर्णय नं. ४०६६ ने.का.प. २०४७ अङ्क २
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४६ सालको फौ.पु.नं. ३१२
सम्वत् २०४६ सालको फौ.सा.नं. ७०
फैसला भएको मिति: २०४६।१२।२०।२ मा
पुनरावेदक/प्रतिवादी: जि.का.कारागार शाखा काठमाडौंमा थुनामा बस्ने नन्दबहादुर दर्जी
विरुद्ध
विपक्षी/वादी : चन्द्रबहादुर दर्जीको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) प्रहरी समक्ष गरेको साविती बयानको पुष्टि भएको स्थितिमा पुनरावेदक प्रतिवादी निर्दोष रहेछ भन्न सकिने स्थिति नरहने ।
(प्रकरण नं. १३)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री विनोद रोक्का
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह
१. पू.क्षे.अ. को फैसलामा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परी र साधक निकाशाको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :–
२. ०४४।६।३१ गते शनिवार लेटाङ हाटमा आमा विहानको खाना खाई जानु भएको थियो म घरमै थिएँ आमा राती फर्की आउनु भएन आमा बजार जान अघि दाजु नन्दबहादुरले गोरु जोत्न लगेको थियो गोरु पनि लिंदै आउँछु भन्नु भएको थियो, आमा गोरु लिन जानु भयो होला भनी खोजी गरिन चिसो खोला बाढी आइरहेको हुँदा आमाले गोरु तार्न सक्तैनन होला भनी विहान ११ बजे लेटाङ बजार आएँ आमालाई भेटिन घर तर्फ ४।५ बजे फर्की आउँदै गर्दा लेटाङ खोलाको बगरमा एकजना आइमाइको लाश छ भनेकाले गाउँका मानिस संग संगै गई हेर्दा आमाको मृतक लाश पानीमा घोप्टो परी मरिरहेको देखें लाशलाई सुरक्षित साथ रुगालो राखी जाहेर गर्न आएको छु । आमा लेटाङ बजारमा नन्दबहादुर दर्जिसंग ०४४।६।३१ गते दिउँसो संगै हिंड्दै गरेको बजारमा रक्सी खुवाई मताई आमालाई हातमा समातेर हुत्याउँदै खोला तर्फ साँझको बेला दाजु नन्दबहादुरले लिई जाँदै गरेको पदमकुमारी चौहान समेतले देखेको कुरा सुनी चाल पाएको पहिले देखि नै दाजु नन्दबहादुरले आमालाई कुटपिट गर्ने गरेको राम्रो मिलान नभएकोले आमालाई रक्सी खुवाई खोलाको बगरमा लगी ढुंगाले टाउकोमा हिर्काई मारेको पूरा विश्वास लागेको हुँदा दाजुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत चन्द्रबहादुर दर्जीको जाहेरी दर्खास्त ।
३. ०४४।६।३१ गते लेटाङमा हाट भएकोले खाना खाई दिउँसो १२ बजे हाट भर्न भनी आएको थिएँ । १२:३० बजे दिउँसोे गुरुङनी आमाको रक्सी दोकानमा आमा हर्षमाया रक्सी पिउँदै गरेको भेटें रु. २००।– को खाँचो परेकोले दिनु पर्यो भनी आमालाई भन्दा म संग पैसा छैन भन्नु भयो । बजार डुली अं. ४ बजेको समयमा गुरुङनी आमैको दोकानमा आउँदा आमालाई त्यहीं भेटी १ माना रक्सी किनी आमा र मैले बाँडी खायौं फेरि बजार डुल्न आउँदा युवनाथ पौडेललाई भेटी धाने व्याज दिउँला भनी रु. ५०।– लिएँ औषधी किनी बजार बजार चोक आउँदा आमालाई भेटें आमालाई मैले हात समातेर पश्चिम तिर लगें आमासंग धेरै बीलाउना गर्दै अहिले रु. २००।– ले गर्दा जेल पर्ने भए भनी कुरा गर्दै खोला नेर पस्यौं घटनास्थल भन्दा १५.२० फिट उत्तरमा आई पुग्दा आमा ठेस लागी लड्नु भयो । आमा प्रति पहिले देखि रिस उठीरहेको थियो आमा लड्ना साथ मौका पारी ढुंगाले कसेर टाउकोमा हिर्काएँ ऐयानी भनी कराइन फेरि एक चोटी टाउकोमा हिर्काएँ । आमाको बोल्न चल्न बन्द भयो आमालाई घिसारेर खोला किनारामा लगी आमाको फरिया सार्पा पटुका खोली नांगो पारी लाशलाई पानीको धारमा घोप्टो पारी राखी दिएँ र घर गएँ भन्ने समेत नन्दबहादुर दर्जीले प्रहरीमा गरेको बयान ।
४. नन्दबहादुर दर्जीले ज्यानसम्बन्धीको १ नं. विपरीत कसूर गरी आमा हर्षमायाले अंशमा ठगेको र पैसा माग्दा नदिएको एवं प्रतिसोधको भावनाले प्रेरित भई टाउकोमा ढुड्डाले प्रहार गरी कर्तव्य गरी मारेको सिद्ध हुन आएकोले निजलाई ऐ. ऐनको १३ नं. को देहाय ३ अनुसार कारवाही र सजायँ गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।
५. ०४४।६।३१ गते लेटाङमा हटिया लाग्ने हुँदा घर खर्चको लागि माल किन्न गएको थिएँ । हटिया खोला भन्ने ठाउँमा मेरो आमा हर्षमाया आमाको छिमेकी गुरुङनीको रक्सी दोकानमा रक्सी खाई बस्नु भएको रहेछ कति खेर आउनु भयो भन्दा एक छिन भयो भन्नु भयो आमालाई मैले कर्तव्य गरी मारेको होइन आमाको र मेरो बीचमा कुनै रिसइवी थिएन भन्ने समेत प्रतिवादी नन्दबहादुर दर्जीले अदालतमा गरेको बयान ।
६. प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्रतिवादी नन्दबहादुर दर्जीले ज्यानसम्बन्धीको महलको १३(३) बमोजिम कसूर गरेको ठहर्छ भन्ने समेत शुरु मोरङ जिल्ला अदालतको ०४४।१०।२८।५ को फैसला ।
७. मलाई कसूर गरेको ठहराएको इन्साफमा चित्त बुझेन सो इन्साफ उल्टाई मेरो बयान जिकिर बमोजिम सफाई गरिपाउँ भन्ने समेत प्र.नन्दबहादुर दर्जीको ०४५।१।२९ गतेको को.अं.अ. धरानमा परेको पुनरावेदन ।
८. प्र.नन्दबहादुर दर्जीलाई प्रहरी प्रतिवेदन दावी बमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम कसूर गरेको ठहर्याएको शुरु मोरंग जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको ०४५।३।२५।१ को फैसला ।
९. सो फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाई पाउँ भन्ने समेत प्र.नन्दबहादुर दर्जीको पू.क्षे.अ. मा परेको पुनरावेदन ।
१०. हर्षमायालाई नन्दबहादुर दर्जीले कर्तव्य गरी मारेको ठहर गरी निजलाई ज्यानसम्बन्धीको १३(३) अन्तर्गत सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरु इन्साफ सदर गरेको कोशी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पू.क्षे.अ. को २०४६।२।१६ को फैसला ।
११. प्रहरीमा भएको साविती कुटपिट गरी गराएको हो । अरु प्रमाणबाट समर्थित छैन । यस्तोमा प्रहरीमा भएको सावितीलाई आधार बनाई सजायँ गरेकोमा चित्त बुझेन भन्ने समेत नन्दबहादुर दर्जीको यस अदालतमा परेको पुनरावेदन ।
१२. नियम बमोजिम बन्दीलाई समेत राखी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनु भएका विद्वान वैतनिक अधिवक्ता श्री विनोद रोक्काले मर्ने हर्षमायालाई कर्तव्य गरी मारेको देख्ने चस्मदिद कोही छैन । पुनरावेदकको प्रहरीमा भएको साविती बयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको छैन । प्रतिवादीले आफ्नै जन्म दिने आमालाई मार्नु पर्ने अवस्था छैन । तसर्थ अभियोगबाट पुनरावेदकले सफाई पाउनु पर्दछ । पू.क्षे.अ. को इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नु भयो ।
१३. यसमा निर्णयतर्फ हेर्दा नन्दबहादुर दर्जीले हर्षमायालाई अंश ठगेको र पैसा नदिएको रिसमा टाउकामा ढुंगाले प्रहार गरी कर्तव्य गरी मारेको समर्थित हुन आएकोले निजलाई ज्यानसम्बन्धीको १३ को देहाय (३) अनुसार सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदनमा दावी लिएको देखिन्छ । पुनरावेदक प्रतिवादी नन्दबहादुर दर्जीले प्रहरी समक्ष बयान गर्दा अंश नदिएको र पैसा माग्दा दिएन हामी खोलामा पुग्दा आमा ठेस लागी लड्नु भयो आमाले म प्रति अन्याय गरेकोले रिस उठिरहेकोले आमा लड्नासाथ ढुंगा उठाएर टाउकोमा हिर्काएँ निदारमा दायाँतर्फ लाग्यो ऐयानी भनी आमा कराई फेरि एक चोटी टाउकोमा हिर्काएर आमा बोल्न चल्न बन्द भयो खोला किनार लगी फरिया पटुका समेत खोली नांगै पारी लाश पानीको धारमा घोप्टो पारी राखें आमा हर्षमायालाई मैले नै मारेको हुँ भनी घटनाक्रम समेत बताई सावित भएको पाइन्छ । तर अदालतमा बयान गर्दा मलाई प्रहरीले कुटपिट गरी मरणासन्न अवस्थामा पुर्याएपछि कसूर सकारेपछि कुट्न छाडेकोले साविती बयान गरेको हुँ । मैले कसूर नगरेको हुँदा अभियोगबाट रिहाई पाउँ भनी इन्कार रहेको छ । प्रहरीले प्रतिवादीलाई सावित गराई बयान गराउनु पर्ने कारण प्रतिवादीले खुलाउन सकेको छैन । लाश प्रकृति मुचुल्का हेर्दा दायाँ आँखी भौं माथि निधारको हड्डी फुटेको अं. ३ इन्चको चोट र त्यस देखि ३ इन्च माथि टाउकोको हड्डी समेत फुटी गिदी समेत देखिएको भन्ने उल्लेख भएको र पोष्टमार्टम रिपोर्टबाट टाउकोमा लागेको चोटको कारणबाट श्वास अवरुद्ध भई मृत्यु भएको भन्ने देखिन्छ । जाहेरवाला चन्द्रबहादुरले दाजु नन्दबहादुरले आमालाई रक्सी खुवाई मताई खोला बगरमा लगी ढुड्डाले हिर्काई मारेमा विश्वास लाग्छ भनी किटानी जाहेरी दिएको अदालतमा समेत बकपत्र गरेको पाइन्छ । प्रहरीमा कागज गर्ने भक्तबहादुर तामाङ, मोहनकुमार गिरी र पदमकुमारी चौहानको अदालतमा भएको बकपत्र समेतबाट मृतक र अभियुक्त हाट बजारमा संग साथ रहे भएको भन्ने देखिन्छ । सरजमीनका पुष्पलाल भट्टराई समेतले प्रतिवादी उपर शंका व्यक्त गरी अदालतमा बकपत्र गरेको पाइन्छ । मौकामा बुझिएका सुकुमाया गुरुङनीको कागजबाट मर्ने हर्षमाया र प्रतिवादी आमा छोरा संगसंगै रक्सी खाएको भन्ने देखिन्छ । उपर्युक्त प्रमाणहरुबाट पुनरावेदक प्रतिवादी नन्दबहादुर दर्जीले प्रहरी समक्ष गरेको साविती बयानको पुष्टि भएको पाइन्छ । यस स्थितिमा पुनरावेदक प्रतिवादी नन्दबहादुर दर्जी निर्दोष रहेछ भन्न सकिने स्थिति रहेन । उपर्युक्त प्रमाणहरुबाट मर्ने हर्षमायालाई पुनरावेदक प्रतिवादीले ढुड्डाले हिर्काई कर्तव्य गरी मारेको भन्ने देखिन आयो । प्रतिवादीको साक्षीहरुले अदालतमा बकपत्र गर्दा प्रतिवादीले कर्तव्य गरी मारेको होइन भनी किटानी साथ भन्न सकेको छैन । तसर्थ आरोपित कसूरबाट सफाई पाउँ भन्ने पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । हर्षमायालाई पुनरावेदक प्रतिवादी नन्दबहादुर दर्जीले कर्तव्य गरी मारेको ठहर गरी निजलाई ज्यानसम्बन्धीको १३(३) अन्तर्गत सर्वश्वसहित जन्मकैद गर्ने ठहराएको मोरङ जिल्ला अदालतको इन्साफ सदर गरेको कोशी अञ्चल अदालतको इन्साफ मनासिब ठहर गरेको पू.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । पुनरावेदनबाट ठहर भएको हुँदा साधकतर्फबाट ठहर गरी रहन परेन । सर्वश्वसहित जन्मकैदको सजायँ भएको हुँदा पुनरावेदन गरे वापत थप सजायँ गर्न परेन पुनरावेदकलाई पुनरावेदन निर्णयको सूचना दिई मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल चैत्र २० गते रोज २ शुभम् ।