निर्णय नं. ४०६७ - उत्प्रेषण

निर्णय नं. ४०६७ ने.का.प. २०४७ अङ्क २
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४६ सालको रि.नं. ७७१
आदेश भएको मिति: २०४६।१२।१९।१ मा
निवेदक : जि.धनुषा रमदैया गा.पं. वा.नं. ९ बस्ने वलदेव साहु सुडी
विरुद्ध
विपक्षी : ज.न.पं. वा.नं. ११ बस्ने बच्चु साहु कलवारसमेत
विषय : उत्प्रेषण
(१) दैवी परी बाली नास भएको वा उब्जा हुन नसकेको अवस्थामा बाहेक अन्य अवस्थामा कूत नबुझाएकोमा मोहीबाट निष्काशन गर्न आदेश दिन सक्ने अधिकार भू.सु.अ. लाई रहे भएको देखिने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री भक्त भडेल
प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ र विद्वान अधिवक्ता श्री प्रकाशवस्ती
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह
१. नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. विपक्षी बच्चु साहु कलवारले म निवेदक उपर जि.धनुषा रमदैया भवारी गा.पं. वार्ड नं. ६(क) कि.नं. २ को ज.वि. ०–१५–१ जग्गा २०४२ साल चैत्र देखि आवाद नगरी पर्ति राखेको २०४३ सालको कूत दिलाई मोही निष्काशन समेत गरी पाउँ भनी भू.सु.का. धनुषामा फिराद दायर गरेकोमा भू.सु. नियम, २०२१ को नियम ४६ अनुसार ज्येष्ठ सम्ममा बाली बुझाउने म्याद भएकोमा सो म्याद अगावै फिराद दिएकोले कूत बुझाई फुर्सद पाउँ भन्ने प्रतिवाद भएको थियो । कूत नबुझाएकोमा प्रतिवादी सावित भएकोले भू.सं. ऐन, २०२१ को दफा २९(१) बमोजिम मोही निष्काशन हुने र कूत भरी नपाउने ठहर्छ भन्ने समेत भू.सु.का. धनुषाको मिति २०४४।४।१९ को फैसला । त्यस उपर जनकपुर अञ्चल अदालतमा पुनरावेदन गरेकोमा उक्त अदालतबाट शुरुको इन्साफ मनासिब ठहर्याई मिति २०४६।२।१ मा फैसला भयो । त्यस उपर पुनरावेदनको अनुमति पाउँ भनी म.क्षे.अ. मा निवेदन दिएकोमा पुनरावेदनको अनुमति नदिने भनी २०४६।५।१३ मा आदेश भयो भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ अनुसार मोहीले कूतबाली नबुझाएमा वा १ वर्षसम्म खेती नगरी जग्गा बाँझो राखेको अवस्थामा मात्र मोही निष्काशन गर्न सकिन्छ । यस्तो विवाद अर्थात् भू.सं. ऐन, २०२१ को दफा २९(२) को परिस्थितिको विद्यमानतामा न्या.प्र.सु. ऐन, २०३१ को दफा ९ अनुसार जिल्ला अदालतको क्षेत्राधिकार भित्र पर्नेमा त्यस्तो मुद्दामा भू.सु.का. धनुषाले गरेको निर्णयमा क्षेत्राधिकारको समेत त्रुटि भएकोले भू.सु.का. धनुषाको निर्णय सदर गरेको ज.अं.अ. को निर्णय मनासिब ठहर्याई म.क्षे.अ. बाट भएको मिति २०४६।५।१३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ भन्ने समेत रिटनिवेदन जिकिर रहेछ ।
३. यसमा के कसो भएको विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने समेतको यस सर्वोच्च अदालत एकन्यायाधीशको इजलासबाट भएको आदेश ।
४. रिट निवेदकले आफूले गर्नु पर्ने कर्तव्य पालना नगरी ज.ध. लाई हैरान दिने गरेको युक्तिसंगत नहुने हुँदा मोही बलदेव साहु सुडी भू.सं. ऐन, २०२१ को दफा २९ को उपदफा १ बमोजिम मोही निष्काशन हुने ठहर्छ भनी यस कार्यालयबाट भएको निर्णयमा कुनै त्रुटि नहुँदा प्रस्तुत रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत भू.सु.का. धनुषाको लिखितजवाफ रहेछ ।
५. मिसिल संलग्न प्रमाणहरुबाट रिट निवेदकले पटक पटक बाली नबुझाई बसेको देखिन आएकोले विपक्षीलाई मोही हकबाट निष्काशन हुने ठहर्याएको भू.स.का. धनुषाको निर्णय सदर गरेको यस अदालतको फैसलामा कुनै त्रुटि नहुँदा प्रस्तुत रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत ज.अं.अ. को लिखितजवाफ ।
६. भू.सु.का. धनुषाबाट शुरु कारवाही भई ज.अं.अ. बाट सो निर्णय सदर भएकोमा मुद्दाको तथ्य र कानुनी व्यवस्थाको आधारमा अनुमति प्रदान गर्न नमिल्ने भनी यस अदालतबाट भएको निर्णयमा कुनै त्रुटि छैन । विपक्षीले विभिन्न तहबाट मुद्दाको कानुनी उपरचारको बाटो अवलम्बन गरी सकेपछि दिएको रिटनिवेदनबाट असाधारण अधिकार क्षेत्रको प्रयोग गर्न नमिल्ने हुँदा प्रस्तुत रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत म.क्षे. को लिखितजवाफ रहेछ ।
७. कूत बुझाउनु पर्ने शर्तमा जग्गा कमाउने मोहीले कूत नबुझाएको आधारमा सक्षम कार्यमा उजूर परी प्रमाणको मूल्यांकन भई न्यायिक विवेक प्रयोग गरी गरेको फैसला तह तहबाट सदर भएको अवस्थामा विपक्षीको कुनै संवैधानिक हकको हनन् नभएकोले प्रस्तुत रिटनिवेदन खारेज गरी पाउँ भन्ने बच्चु साह कलवारको लिखितजवाफ रहेछ ।
८. नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा रिट निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री भक्त भडेलले भू.सं. ऐन, २०२१ को दफा २९(२) को अवस्थामा मोहीबाट निष्काशन गर्ने गरी निर्णय गर्ने अधिकार भू.सु.का. लाई नभई जिल्ला अदालतलाई रहे भएकोमा क्षेत्राधिकारको त्रुटि गरी गरेको भू.सु.का. धनुषाको निर्णय र सोही निर्णय सदर गरी गरेको ज.अं.अ. को फैसला त्यसउपर पुनरावेदनको अनुमति नदिने गरेको म.क्षे.अ. को आदेश समेत त्रुटिपूर्ण हुँदा माग बमोजिमको आदेश जारी हुनु पर्ने भन्ने र प्रत्यर्थी म.क्षे.अ. समेतको तर्फबाट बहसको लागि खटिई उपस्थित विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ र प्रत्यर्थी बच्चु साह कलवारको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले साधारण उपचार क्षेत्र अन्तर्गत अधिकार प्राप्त निकायबाट प्रमाणको मूल्यांकन गरी तह तहबाट निर्णय भइसकेको अवस्थामा दिएको यो रिटनिवेदनबाट असाधारण अधिकार क्षेत्रको प्रयोग गर्न नमिल्ने हुँदा प्रस्तुत रिटनिवेदन खारेज हुनुपर्ने भनी बहस गर्नुभयो ।
९. निर्णयतर्फ हेर्दा यसमा भू.सु.का. धनुषामा बच्चु साहु कलवारले दिएको फिरादको अध्ययन गर्दा उक्त फिरादको प्रकरण २ मा कूत बाली नबुझाएको सम्बन्धित निकायमा धरौटी समेत नराखेको हुँदा मोहियानी हकबाट निष्काशन गरी पाउँ भन्ने माग भएको पाइन्छ । सो फिरादमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(क) को देहाय (ग) अन्तर्गतको म्याद भित्र फिराद दिएको भन्ने देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) मा “दैवी परी बाली नास भएमा वा उब्जा हुन नसकेमा बाहेक मोहीले कूत बुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निष्काशन गर्ने आदेश दिन सक्नेछ” भन्ने उल्लेख भएको पाइन्छ । यसबाट दैवी परी बाली नास भएको वा उब्जा हुन नसकेको अवस्थामा बाहेक अन्य अवस्थामा कूत नबुझाएकोमा मोहीबाट निष्काशन गर्न आदेश दिन सक्ने अधिकार भू.सु.अ. लाई रहे भएकै देखिन्छ । यस्तोमा सोही ऐनको दफा २९(क) को उपदफा (ग) अनुसार कूत बुझाउने सम्बन्धमा कानुनमा तोकिएको म्याद नाघेको ३० दिनभित्र फिराद दिन सकिने स्पष्ट छ । तसर्थ मोही निष्काशन सम्बन्धमा नालेश सुनी निर्णय गर्ने अधिकार भू.सु.अ. लाई नभएको भन्ने रिट निवेदकतर्फका विद्वान अधिवक्ताको बहस जिकिर मिल्ने देखिएन । निवेदकतर्फका विद्वान अधिवक्ताले बच्चु साह कलवारले भू.सु.का. धनुषामा निवेदन दिंदा जग्गा पर्ति राखेको भन्ने दावी लिएको भनी बहसमा जिकिर लिनु भएकोले त्यसतर्फ विचार गर्दा जग्गा पर्ति राखेको भन्ने आधारमा मोही निष्काशनको दावी भएको देखिन्छ । मोहीले गरेको क्रियाको सम्बन्धमा उल्लेख गर्ने क्रममा जग्गा पर्ति रहेको भन्ने समेत उल्लेख भएको पाइन्छ । मोही निष्काशनको मुख्य दावी बाली नबुझाएको भन्ने व्यहोरा उल्लेख भएको प्रष्ट देखिन्छ । तसर्थ आफ्नो अधिकार क्षेत्र भित्र रही प्रमाणको मूल्यांकन गरी मोही निष्काशन हुने ठहर्याएको भू.सु.का. धनुषाको निर्णय र सोही निर्णयलाई सदर गर्ने गरेको जनकपुर अञ्चल अदालतको निर्णय तथा त्यसउपर पुनरावेदनको अनुमति नदिने गरेको म.क्षे.अ. को मिति २०४६।५।१३ को आदेश मिलेकै देखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फायल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल चैत्र १९ गते रोज १ शुभम् ।