शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८६२२ - शेषपछिको बकसपत्र लिखत बदर ।

भाग: ५३ साल: २०६८ महिना: भाद्र अंक:

ने.का.प. २०६८, अङ्क ५, निर्णय नं. ८६२२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय

संवत् २०६५ सालको दे.पु.नं. ०६५-CI-००८७

मुद्दा :शेषपछिको बकसपत्र लिखत बदर 

पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४, धुम्बाराही बस्ने   शिवकुमार नेपाली

विरुद्ध

प्रत्यर्थी वादीः काठमाड जिल्ला, काठमाडं महानगरपालिका वडा नं. ४ धुम्बाराही बस्ने पम्फा    सार्की

शुरु फैसला गर्ने

मा.जि.न्या.श्री सत्यराज गुरुङ्ग

पुनरावेदन फैसला गर्ने

मा.न्या.श्री हरिप्रसाद घिमिरे

मा.न्या.श्री जनार्दन बहादुर खड्का

 

§  आफ्नो हक पुग्ने सम्पत्ति आफूखुश गर्न पाउने हुँदा आफ्नो सम्पत्तिमात्र वकसपत्र गरी अर्को अंशियारको हकको सम्पत्ति सुरक्षित नै रहेको अवस्थामा वकसपत्रको लिखतमा अर्को अंशियारको मञ्जूरी हुनु नपर्ने 

(प्रकरण नं.२)

§  हातको औला नहुनेले सम्पत्तिको छोडपत्र गर्दा निजलाई मर्का नपरोस् भनी अपुताली खाने व्यक्ति वा संरक्षक रोहबरमा राख्ने कानूनी व्यवस्था छोडपत्र गर्नेको हितलाई दृष्टिगत गरी भएको हो । उक्त सुरक्षार्थ भएको व्यवस्थाले औला नहुनेलाई अंकुश लगाएको भन्न मिल्दैन । औला नहुनेको हित संरक्षण गर्न बनेको कानूनले उसैको प्रतिकूल हुने गरी वाधा व्यवधान गर्छ भन्न नमिल्ने 

§  अपुताली खाने वा संरक्षक हुनुपर्नेले आफू रोहवरमा बस्न इन्कार रहे औला नहुने व्यक्तिको स्थिति साह्रै नाजुक हुन जान्छ । सुरक्षार्थ बनेको कानूनी व्यवस्था देखाई सम्पत्तिसम्बन्धी हक अधिकारलाई कुण्ठित गर्न नमिल्ने 

(प्रकरण नं.३)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्तात्रय श्री श्यमजी प्रधान, श्री प्रभाकर श्रेष्ठ र नरेन्द्र भटृ

प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री वच्चुसिँह खड्का

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  मुलुकी ऐन दान बकस महलको १ नं.

§  कागज जाँचको महलको ७ नं.

 

फैसला

न्या.वैद्यनाथ उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा पुनरावेदन अदालत पाटनको मिति २०६४।९।२९ को फैसलामा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

विपक्षी मेरो छिमेकी हुन् र म फिरादी झ्याउरे सार्कीको कान्छी श्रीमती हुँ । विपक्षीका शेषपछिको वकसपत्र दाता सुन्तली सार्की मेरी सौता हुन् । म फिरादी, सौता सुन्तली तथा पति समेत काठमाडं जिल्ला काठमाडं महानगरपालिका वडा नं. ४ स्थित कि. नं. २२५ को क्षेत्रफल ०० को जग्गामा बनेको घरमा बसेका थियौं । पतिको मृत्युपछि सौता सौता मिली काजक्रिया गरी सौता हातको औंला नभएकी अपाङ्ग भएकोले मैले नै हेरचार गर्दै मिलेर व्यवहार गरी पतिका नाउँको जग्गा समेत हाम्रो नाममा नामसारी गरेका थियौं । यत्तिकैमा सौता सुन्तली सार्कीको मिति २०६१।९।५ गते मृत्यु भएपछि निजको काजक्रिया गर्न विपक्षी मेरो घरमा आउँदा अचम्म परी दिदीको काजक्रिया सकेपछि वास्तविकता बुझ्न मालपोत कार्यालय जाँदा विपक्षीले सौताको साथमा रहेको गरगहना समेत रु.१,५०,०००।बराबरको सम्पत्ति समेत हात पारी मेरो एकलौटी हक लाग्ने घर जग्गा कीर्ते कागजको ३ नं. विपरीत मेरो हक मेटाउने नियतले थाहा जानकारी नदिई विना मञ्जूरी २०६१।१।८ को शेषपछिको वकसपत्रको आधारमा मिति २०६१।९।२९ मा दा. खा. दर्ता गराएकोले अपाङ्ग तथा वृद्ध महिलालाई झुक्याई गराएको र. नं. १३४१९ मिति २०६१।१।८ गतेको शेषपछिको वकसपत्र लिखत बदर गरिपाऊँ भन्ने समेत व्यहोराको पम्फा सार्कीको फिराद दावी 

म विपक्षी वादीको छिमेकी मात्र नभएर भतिजो छोरा हुँ । मैले मेरा दाता सुन्तली सार्कीलाई स्याहार सम्हार गरी रिझाएको तथा झ्याउरे सार्कीको काजक्रिया पिण्ड पानी समेत गरी मिति २०६१।१।८ र. नं. १३४१९ बाट शेषपछिको वकसपत्र पारित गरी लिएकोले विपक्षीको कुनै हक मारेको छैन । कोही समक्ष होस ठेगान भएको मानिसले आफूलाई स्याहार सम्हार गरेको मानिसलाई आफ्नो हक जतिको सम्पत्ति शेषपछिको वकसपत्र लिखत गरी दिन कानूनले रोक लगाएको छैन । मुलुकी ऐन दान वकसको १ नं. को प्रक्रिया अपनाई शेषपछिको वकसपत्र लिएको हुँ । मेरो दाता सुन्तली सार्कीले आफ्नो हक दिन विपक्षीको मञ्जूरीको आवश्यकता पर्दैन । रु.१,५०,०००।हात पारेको भन्ने कुरा झूठा हो । मैले निज सुन्तली सार्कीबाट कुनै रुपैयाँ हात पारेको छैन । अतः दाता मञ्जूर भई कानूनको रीत पुर्‍याई लिएको उक्त शेषपछिको वकसपत्रको लिखत बदर गराउने वादीलाई कुनै हक नभएकोले मिति २०६१।१।८ र. नं. १३४१९ को मालपोत कार्यालय डिल्लीबजारबाट पारित भएको शेषपछिको वकसपत्रको लिखत यथावत् कायम राखी झूठा फिराद दावी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको शिवकुमार नेपालीको प्रतिउत्तर जिकीर 

स्व. सुन्तली कुष्ठरोगी भै हातको औला नभएको व्यक्ति भएकोमा विवाद भएन । त्यस्तो व्यक्तिले लिखत गर्दा मुलुकी ऐन, कागज जाँचको महलको ७ नं. ले एकाघरको जहान सौता यी वादीको सहिछाप गराउनु पर्नेमा सोबमोजिम गरेको नदेखिएकोले कानूनी प्रक्रिया पूरा नगरी लिखत गरेको देखिदा सगोलको सम्पत्ति सगोलको अंशियारको मञ्जूरी वेगर दिने सुन्तली सार्की र लिने शिवकुमार नेपाली भएको मिति २०६१।१।८ को शेषपछिको वकसपत्र लिखत बदर हुने ठहर्छ भन्ने शुरु काठमाडं जिल्ला अदालतको २०६३।५।१९ को फैसला 

कानूनको रितपूर्वक पारित वकसपत्रको लिखतलाई मान्यता दिनुपर्नेमा बदर गरी मलाई हराई वादी दावी पुग्ने गरी गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला कानूनी त्रुटिपूर्ण भएकोले उक्त फैसला बदर गरी मेरो प्रतिउत्तर जिकीर र यो पुनरावेदन पत्रअनुसार मिति २०६१।१।८ र. नं. १३४१९ को शेषपछिको वकसपत्रको लिखत यथावत् कायम हुने ठहर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत पाटनमा दायर भएको पुनरावेदन पत्र 

यिनै वादी प्रतिवादी भएको यसै लगाउको दे. पु. नं. ४९२/२१३८ को मुद्दामा विपक्षी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दामा पनि विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६४।५।३ को आदेश 

विवादित घर जग्गा यी विपक्षी (वादी) र सुन्तली सार्कीका नाममा संयुक्त दर्ता रहे भएको अवस्थामा दानवकसको १ नं. बमोजिम स्व. सुन्तलीको हक पुग्ने सम्पत्ति देखिन नआएकोले यस्तो अवस्थामा एक व्यक्तिले मात्र आफ्नो हकजति भनी हक हस्तान्तरण गर्नसक्ने अवस्था नहुँदा वादी दावीबमोजिम मिति २०६१।१।८ को शेषपछिको वकसपत्र बदर गर्ने गरी गरेको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६३।५।१९ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६४।९।२९ को फैसला 

मेरो दाताको स्वर्गीय पति झ्याउरे सार्की, विपक्षी र मेरो दाताको तर्फबाट कुनै छोरा छोरी जायजन्म नभएकोले निजहरूको नजिकको हकवाला भनेको नै म भतिज भई मेरो दाताको पति झ्याउरे सार्कीको जीवनकालमा निजको हेरविचार, औषधी उपचार र मृत्युपश्चात् पिण्डपानी समेत मैले नै गर्दै आएको छु । मेरो दाता सुन्तली सार्कीको पनि औषधोपचार रेखदेख मैले नै गरेको हुँदा निजले आफ्नो हक हिस्साको घर जग्गा मलाई र. नं. १३४१९ मिति २०६१।१।८ को शेषपछिको वकसपत्रको लिखतमार्फत् दिनु भएको हो । मुलुकी ऐन दानवकसको १ नं. बमोजिम आफूखुश गर्न पाउने आफ्नो हक अंशमा आएको आफ्नो हक हिस्सा दिँदा विपक्षीको मञ्जूरी लिनुपर्ने कानूनी प्रावधान विद्यमान कुनै पनि कानूनमा छैन । प्रचलित कानूनको रितपूर्वक पारित वकसपत्रको लिखतलाई मान्यता दिनुपर्नेमा बदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेको छ । तसर्थ, शुरु एवं पुनरावेदन अदालत पाटनको त्रुटिपूर्ण फैसला बदर गरी मालपोत कार्यालय डिल्लीबजारबाट मिति २०६१।१।८ र. नं. १३४१९ को शेषपछिको वकसपत्रको लिखत यथावत् कायम हुने ठहर गरी फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादीको पुनरावेदन पत्र 

यसमा निवेदक प्रतिवादीका दाता सुन्तली सार्की समेतको संयुक्त दर्ताको कि. नं. २२५ को क्षेत्रफल ०० जग्गामध्ये आफ्नो हकहिस्सा मात्र शेषपछिको वकसपत्र गरिदिएको देखिन्छ । यसरी आफ्नो समेत हक भएको सम्पत्ति आफ्नो हक हिस्सा मात्र शेषपछिको वकसपत्र गरी दिनलाई सौताको मञ्जूरी लिनपर्ने कानूनी वाध्यता देखिदैन । दान वकसको १ नं. ले आफ्नो हक पुग्ने सम्पत्ति दानबकस गर्न पाउने कानूनी व्यवस्थाअनुसार निवेदकका दाताले आफ्नो हक जति वकसपत्र दिएकोमा दान वकसको १ नं. को कानूनी व्यवस्थाविपरीत पुनरावेदन अदालत पाटनको मिति २०६४।९।२९ को फैसलामा उक्त ऐनको गम्भीर कानूनी त्रुटि देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गरिदिएको छ । प्रस्तुत मुद्दाको शुरु, रेकर्ड र भए प्रमाण मिसिल समेत झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६५।४।२९ को आदेश 

नियमबमोजिम आजको दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी तर्फका विद्वान अधिवक्तात्रय श्री श्यामजी प्रधान, श्री प्रभाकर श्रेष्ठ र श्री नरेन्द्र भट्टले मेरो पक्षले दाता सुन्तली सार्कीको औषधोपचार रेखदेख गरेको हुँदा दान वकसको १ नं. ले आफ्नो हक पुग्ने सौताको मञ्जूरी लिन नपर्ने सम्पत्ति सम्पत्ति खुशीराजीले वकसपत्र गरी दिएको अवस्थामा वकसपत्र बदर तर्फको वादी दावी पुग्ने ठहर गरेको शुरु एवं पुनरावेदन अदालत पाटनको त्रुटिपूर्ण फैसला बदर गरी मालपोत कार्यालय डिल्लीबजारबाट पारित मिति २०६१।१।८ र. नं. १३४१९ को शेषपछिको वकसपत्रको लिखत यथावत् कायम हुने ठहर गरी फैसला गरिपाऊँ भनी गर्नुभएको बहस सुनियो 

प्रत्यर्थी वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वच्चुसिंह खड्काले मेरो पक्ष एकासगोलको हकदार छँदाछँदै कुष्ट रोग लागी हातको औला समेत नभएकी सुन्तली सार्कीबाट कागज गराउँदा एकाघर सगोलका व्यक्तिलाई रोहवरमा नराखी संयुक्त दर्ताको सम्पत्ति हक हस्तान्तरण गरेको कार्य मुलुकी ऐन कागज जाँचको महलको ७ नं. प्रतिकूल हुँदा लिखत बदर हुने ठहर गरेको शुरु एवं पुनरावेदन अदालत पाटनको फैसला कानूनसम्मत हुँदा उक्त फैसला सदर गरिपाऊँ भनी गर्नु भएको बहस समेत सुनियो 

उल्लिखित बहस सुनी मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा निम्न विवादित प्रश्नका सम्बन्धमा निरोपण गर्नुपर्ने देखियोः

१) सुन्तली सार्कीले आफ्नो हकको सम्पत्ति प्रतिवादी शिवकुमार नेपालीलाई शेषपछिको वकसपत्र गरीदिदा यी वादीको मञ्जूरी लिनुपर्ने हो वा होइन ? विवादित पारित शेषपछिको वकसपत्रको लिखत कानूनसम्मत छ वा छैन ?

२) विवादित शेषपछिको वकसपत्रको लिखत वादीको दावीबमोजिम बदर हुने हो वा

होइन ?

३) पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्छ वा सक्दैन ?

२. सर्वप्रथम पहिलो निरोपण गर्नुपर्ने प्रश्नका सम्बन्धमा विचार गर्दा प्रस्तुत मुद्दामा वादीले आफ्नो फिरादमा मूलतः दिने सुन्तली सार्की र लिने शिवकुमार नेपाली भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ कि. नं. २२५ को क्षेत्रफल ०० को घर जग्गा र. नं. १३४१९ मिति २०६१।१।८ को शेषपछिको वकसपत्रको लिखत दिने सुन्तली सार्कीको सगोलको अंशियारको मञ्जूरी विना पारित भएको हुँदा बदर गरिपाऊँ भनी माग गरेको देखिन्छ । प्रतिवादीले प्रतिउत्तर पेश गर्दा दाता सुन्तली सार्कीले आफ्नो हकको आफूखुश गर्न पाउने अन्य अंशियारको मञ्जूरी लिइरहन नपर्ने जग्गा शेषपछिको वकसपत्र गरी दिएको हुँदा उक्त वकसपत्रको लिखत बदर हुनुपर्ने होइन भनी उल्लेख गरेको पाइन्छ । वकसपत्र गरी दिने सुन्तली सार्की र वादी पम्फा सार्की एकासगोलका सौता नाताका भएकोमा विवाद छैन । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ कि. नं. २२५ को क्षेत्रफल ०० को जग्गा र सो जग्गामा निर्मित घर झ्याउरे सार्कीको परलोकपश्चात् वादी पम्फा सार्की र प्रतिवादीलाई वकसपत्र गरीदिने सुन्तली सार्कीको नाममा संयुक्त दर्ता रहेको कुरामा समेत विवाद देखिन्न । सुन्तली सार्कीले आफूलाई रेखदेख पालन पोषण स्याहार सम्हार गरी रिझाई आएको र वाचुञ्जेल स्याहार सम्हार औषधोपचार समेत गर्ने भनी कि. नं. २२५ को घर जग्गामध्ये आफ्नो नाउँमा कायम हुने जति मात्र अर्थात् आधा हक हिस्सा यी प्रतिवादी शिवकुमार नेपालीलाई शेषपछिको वकसपत्र गरी दिएको देखियो । प्रतिवादीका दाता सुन्तली सार्कीले आफ्नो समेत हक भएको सम्पत्ति आफ्नो हक हिस्सा मात्र शेषपछिको वकसपत्र गरिदिनलाई सौताको मञ्जूरी लिनुपर्ने कानूनी वाध्यता देखिदैन । मुलुकी ऐन दान वकसको महलको १ नं. मा आफ्नो हक पुग्ने सम्पत्ति दान वा वकस गरिदिन हुन्छ भन्ने कानूनी व्यवस्था रहेको छ । यसरी दान वकसको १ नं. ले आफ्नो हक पुग्ने सम्पत्ति दान वकस गर्न पाउने कानूनी व्यवस्थाअनुसार यी पुनरावेदक प्रतिवादीका दाताले आफ्नो हक जति मात्र वकसपत्र दिएको कार्य कानूनबमोजिम भएको पाइयो । आफ्नो हक पुग्ने सम्पत्ति आफूखुश गर्न पाउने हुँदा आफ्नो सम्पत्ति मात्र वकसपत्र गरी अर्को अंशियारको हकको सम्पत्ति सुरक्षित नै रहेको अवस्थामा वकसपत्रको लिखततमा अर्को अंशियारको मञ्जूरी हुनुपर्ने हुँदैन । यसबाट प्रस्तुत मुद्दामा सुन्तली सार्कीले आफ्नो हकको सम्पत्ति प्रतिवादी शिवकुमार नेपालीलाई शेषपछिको वकसपत्रको लिखत गरी दिदा वादी पम्फा सार्कीको मञ्जूरी लिई रहनु नपर्ने हुँदा उक्त वकसपत्रको लिखत कानूनसम्मत भएको देखियो 

            ३. दोस्रो निरोपण गर्नुपर्ने प्रश्नतर्फ विचार गर्दा, माथि प्रश्न नं. १ उपर गरिएको विवेचनाबाट विवादित र. नं. १३४१९ मिति २०६१।१।८ को शेषपछिको वकसपत्रको लिखत कानूनबमोजिम हक पुग्ने व्यक्तिले आफ्नो हकको सम्पत्ति वकसपत्र गरिदिएको पुष्टि भएको छ । जहाँसम्म कुष्टरोग लागी हातको औला नभएको व्यक्ति सुन्तली सार्कीको कागज गर्दा मुलुकी ऐन कागज जाँचको महलको ७ नं. बमोजिम रीत नपुर्‍याई वकसपत्रको लिखत भएको भन्ने प्रत्यर्थी वादीको दावी रहेको छ, सो सम्बन्धमा विचार गर्दा हातको औला नहुनेले सम्पत्तिको छोडपत्र गर्दा निजलाई मार्का नपरोस् भनी अपुताली खाने व्यक्ति वा संरक्षक रोहबरमा राख्ने कानूनी व्यवस्था छोडपत्र गर्नेको हितलाई दृष्टिगत गरी भएको हो । उक्त सुरक्षार्थ भएको व्यवस्थाले औला नहुनेलाई अंकुश लगाएको भन्न मिल्दैन । औला नहुनेको हित संरक्षण गर्न बनेको कानूनले उसैको प्रतिकूल हुने गरी वाधा व्यवधान गर्छ भन्न मिल्दैन । अपुताली खाने वा संरक्षक हुनुपर्नेले आफू रोहवरमा बस्न इन्कार रहे औला नहुने व्यक्तिको स्थिति साह्रै नाजुक हुन जान्छ । सुरक्षार्थ बनेको कानूनी व्यवस्था देखाई सम्पत्तिसम्बन्धी हक अधिकारलाई कुण्ठित गर्न मिल्दैन । उक्त कागजजाँचको महलको ७ नं. को अन्तिम दोस्रो पंक्ति हेर्दा अपुताली खाने हकदार वा संरक्षक रोहबरमा नभए पनि कैफियत लेखी हाकिमले सहिछाप गर्ने गराउने व्यवस्था गरी दिएको देखिएकै छ । विवादित वकसपत्रको लिखतमा दिने कारणी सुन्तली सार्की कुष्ट रोगी भएकोले निजको हातको औंला नभएकोले गोडाको वुढी औंलाको छाप प्रयोग गरिएको भनी कैफियत व्यहोरामा उल्लेख भएको देखिन्छ । यसरी लिखतमा गोडाको वुढी औंलाको छाप प्रयोग गरिएको भन्ने कैफियत व्यहोरा उल्लेख गरी हाकिमको टिक चिन्ह लागी सनाखत सहिछापमा हाकिमको प्रमाणित भएको अवस्थामा मुलुकी ऐन कागज जाँचको महलको ७ नं. प्रतिकूल लिखत भएको पनि देखिएन । सुन्तली सार्कीले वादीको हकको सम्पत्तिमा कुनै असर नपर्ने गरी आफ्नो हकसम्मको सम्पत्ति मालपोत कार्यालय काठमाडौंमार्फत कानूनी प्रक्रिया पूरा गरी प्रतिवादी शिवकुमार नेपालीलाई शेषपछिको वकसपत्रबाट हक हस्तान्तरण गरेको देखिदा विवादित शेषपछिको वकसपत्रको लिखत बदर नहुने देखियो 

४. अब, तेस्रो तथा अन्तिम प्रश्नतर्फ विचार गर्दा माथि निरोपण गर्नुपर्ने प्रश्न नं. १ र २ उपरको विवेचनाबाट विवादित शेषपछिको वकसपत्रको लिखत बदर नहुने पुष्टि भइसकेको छ । उक्त लिखत यथास्थितिमा सदर कायम राख्नुपर्नेमा शेषपछिको वकसपत्रको लिखत बदर गरेको काठमाडौं जिल्ला अदालतको फैसला सदर कायम गरेको पुनरावेदन अदालत पाटनको मिति २०६४।९।२९ को फैसला मिलेको देखिएन 

५. तसर्थ, माथि विवेचना गरेबमोजिम सुन्तली सार्कीले आफ्नो हकसम्म मात्र शेषपछिको वकसपत्र गरिदिएको देखिदा वादी पम्फा सार्कीको हक हिस्सामा कुनै प्रतिकूल असर परेको नदेखिएकोले विवादित र.नं. १३४१९ मिति २०६१।१।८ को शेषपछिको वकसपत्रको लिखत सदर कायम हुने हुँदा सुन्तली सार्की र पम्फा सार्कीको नाममा रहेको विवादको कि.नं. २२५ मा अब सुन्तली सार्कीको स्थानमा शिवकुमार नेपालीको नाम स्रेस्तामा जनाई वादी पम्फा सार्कीको हक हिस्सा यथास्थितिमा रही परिणामतः कि.नं. २२५ को जग्गा र घर शिवकुमार नेपाली र पम्फा सार्कीको संयुक्त दर्तामा रहने ठहर्छ । सोबमोजिम नगरी वादी दावी पुग्ने ठहर गरेको शुरु काठमाडाँ जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६४।९।२९ को फैसला उल्टी हुने ठहर्छ । अरुमा तपसीलबमोजिम गर्नू 

तपसील

            माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई वादी दावी नपुगी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ कि. नं. २२५ क्षेत्रफल ०० को घर समेतको जग्गा धनी स्रेस्तामा सुन्तली सार्कीको स्थानमा शिवकुमार नेपालीको नाम जनाई शिवकुमार नेपाली र पम्फा सार्कीको संयुक्त नाममा दर्ता कायम रहने ठहर भएकोले कि. नं. २२५ क्षेत्रफल ०० को घर समेतको जग्गा शिवकुमार नेपाली र पम्फा सार्कीको संयुक्त नाममा दर्ता गरी सोहीबमोजिम जग्गा धनी स्रेस्ता संयुक्त नाम जनाउन सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनु भनी शुरु अदालतमा लगत दिनू .. १

            काठमाडं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनको फैसला अव कायम नहुने हुँदा उक्त फैसला बमोजिम राखेको लगत कट्टा गर्नु भनी शुरु अदालतमा लेखी पठाउनु ––––

            पुनरावेदक प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा दायर गरेको कोर्टफी रु ३०।प्रतिवादीबाट भराई पाऊँ भनी ऐनका म्याद भित्र दरखास्त दिन आए कानूनबमोजिम भराई दिनु भनी शुरु अदालतमा लेखी पठाउनु ––––

            प्रस्तुत मुद्दाको दायरीतर्फको लगत काटी मिसिल नियमानुसार बुझाई दिनु ––

उक्त रायमा सहमत छु 

न्या.कृष्णप्रसाद उपाध्याय

इति संवत् २०६८ साल बैशाख १२ गते रोज २ शुभम्

इजलास अधिकृत (उपसचिव) शिबप्रसाद खनाल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु