निर्णय नं. ४०६८ - उत्प्रेषण

निर्णय नं. ४०६८ ने.का.प. २०४७ अङ्क २
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको रि.नं. १८७०
आदेश भएको मिति: २०४६।१२।१२।१ मा
रिट निवेदक: वि.न.पं. वा.नं. ८ स्थित नेपसिनो ट्रेडिङ कम्पनी (प्रा.) लि. को अधिकार प्राप्त सत्यनारायण तोदी
विरुद्ध
विपक्षी : विराटनगर भन्सार कार्यालयसमेत
विषय : उत्प्रेषण
(१) भन्सार महसूलको प्रयोजनको लागि श्री ५ को सरकारबाट मूल्य निर्धारण नगरिएको माल वा वस्तुको हकमा त्यस्तो माल वा वस्तुको धनीले पेश गरेको बील बमोजिमको मूल्यलाई नै सबै अवस्थामा मान्यता दिनै पर्दछ भन्न नमिल्ने ।
(प्रकरण नं. १३)
(२) माल वा वस्तुको धनीले पेश गरेको बील बमोजिमको मूल्यमा मान्यता नदिई त्यस्तो माल वा वस्तुको मूल्य निर्धारण गरी भन्सार महसूल लिएको अभिलेख कार्यालयमा भएमा सो बमोजिम मूल्य निर्धारण गर्ने र त्यस्तो पूर्वअभिलेख पनि नभएको स्थितिमा मूल्य निर्धारणको लागि श्री ५ को सरकारमा पठाई श्री ५ को सरकारबाट सो वस्तुमा मूल्य निर्धारण हुन सक्ने ।
(प्रकरण न. १३)
(३) श्री ५ को सरकार भन्सार विभागद्वारा निर्धारित मूल्य भन्दा निवेदकले इन्भ्वाइसमा उल्लेख गरेको मूल्य घटी देखिन आएकोले न्यून बिजकीकरण भएको आधारमा थप भन्सार महसूल लगाइएको कार्य ऐनको दफा १३क. उपदफा (१) को खण्ड (ग) को प्रतिकूल भएको भन्न मिल्ने अवस्था नरहने ।
(प्रकरण नं. १४)
(४) ऐनद्वारा प्रदत्त अधिकार बमोजिम श्री ५ को सरकार भन्सार विभागको निर्णयानुसार निर्धारित मूल्य बमोजिम आयातित वस्तुको मूल्य कायम गरी भन्सार कार्यालयबाट भन्सार महसूल असूल गरेको देखिँदा कानुन बर्खिलाप भएको भन्न नमिल्ने ।
(प्रकरण नं. १४)
प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र कोइराला
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह
१. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. यस कम्पनीले वाणिज्य विभागबाट १५ डिसेसम्बर १९८६ मा चाइनाबाट पेन्सिल सार्पनर आयात गर्न इजाजतपत्र प्राप्त गरी २२ डिसेम्बर १९८६ मा राष्ट्रिय वाणिज्य बैंक विराटनगरबाट लेटर अफ क्रेडिट बनाई पठाउँदा नेशनल लाइट इण्डष्ट्रिज प्रोडक्ट्स ईम्पोर्ट एण्ड एक्सपोर्ट कर्पोरेशनले प्रति गु्रस १०.१४ का दरले जम्मा ११,२५५.४० यु.एस. डलरको इन्भ्वाइस बनाई २० जनवरी १९८७ मा सिप गरी पठाएको तर सो मितिमा लागू रहेका मूल्यसूचीमा श्री ५ को सरकारद्वारा यस प्रकारको पेन्सिल सार्पनरको मूल्य निर्धारण नगरी राखेकोले भन्सार विभागबाट माल नेपाल आउनु अगावै जानकारी गराएका थिए । उक्त मालसामान विराटनगर भन्सार कार्यालयमा आउँदा २०४३।१२।८ मा पेश गरेको प्रज्ञापनपत्रमा मालको इन्भ्वाइस मूल्य प्रति गु्रस १०.१४ यू.एस. डलरले १११० गु्रसको सि.आई.एफ यु.एस. डलर ११२५५।४० को हुने रु. २,४८,७४४।३४ तथा भाडा रु. २८७२।५६ कूल जम्मा रु. २,५१,६१६।९० उल्लेख गरी पेश गरेकोमा मूल्य सूचीमा यस मालको मूल्य निर्धारण भई नरहेकोले भन्सार ऐनको दफा १३(२) बमोजिम इन्भ्वाइस मूल्यमा भन्सार लिई माल छाड्नु पर्नेमा सो नगरी ३ महीनासम्म माल रोकी राख्नु भयो । मिति २०४४।२।११ मा गरेको निर्णयमा भन्सार विभागको मिति २०४४।१।२१ को आदेशानुसार भन्दै हाम्रो इन्भ्वाइस मूल्य यू.एस. डलर १०.१४ भन्दा बढी प्रतिगु्रस सि.आइ.एफ. कलकत्ता यू.एस. डलर १५.३० ले १११० गु्रसको हुने यू.एस.डलर १६,९८३।– कायम गरी सोको हुने रु. ३,६१,७३७।९० र भाडा भरौट रु. २,८७३।१० समेत जम्मा रु. ३,६४,६११।०० कायम गरी सोमा भन्सार महसूल ६ प्रतिशतले रु. १८,२३०।५० लगाउनुको साथै सजायँ स्वरुप शत प्रतिशत अतिरिक्त थप महसूल रु. १८,२३०।५० पनि असूल गर्नु भयो र इन्भ्वाइस मुल्य तथा कायम भएको मूल्यको फरक रकम रु. १,१२,९९४।१० मा प्रिमियम दस्तूर ५ प्रतिशतले रु. ५,६४९।७१ समेत असूल गर्नु भयो । सोही बढी मूल्यमा बिक्री कर पनि असूल गर्नु भयो । त्यसउपर राजश्व न्यायाधीकरण धरानमा पुनरावेदन गरेकोमा भन्सार कार्यालय विराटनगरको प्रज्ञापनपत्र निर्धारण आदेशलाई नै मनासिब ठहर्याई मिति २०४४।८।१६ मा निर्णय गरेकोले यो रिटनिवेदन गर्न आएको छु ।
३. भन्सार ऐन, २०१९ को दफा १३(२) मा श्री ५ को सरकारबाट मूल्य निर्धारण नगरिएको माल वा वस्तुको हकमा साधारणतः माल धनीले दाखिल गरेको बील बमोजिमको मूल्यलाई नै त्यस्तो माल वा वस्तुको मूल्य मानिनेछ भन्ने प्रष्ट व्यवस्था भएकोले निवेदकले बैंक मार्फत इन्भ्वाइस मूल्यलाई विदेशी मुद्रामा भुक्तानी गरेको बैंकको प्रमाण समेत भएकोले प्रज्ञापनपत्र भर्दाको अवस्थामा श्री ५ को सरकारले पेन्सिल सार्पनरको मूल्य निर्धारण नगरेको हुँदा हाम्रो बील मूल्यलाई मान्यता दिई भन्सार र बिक्री कर लिनुपर्ने प्रष्ट छ । माल मूल्यको भुक्तानी निवेदकले बैंक मार्फत गरेको हुँदा न्यून बिजकीकरणको प्रश्न उठ्दैन । साथै नेपाल स्थित चाइनिज राजदूतावासले उक्त बील ठिक साँचो हो भनी प्रमाणित गरिदिएको छ । तसर्थ भन्सार ऐनको दफा १३(२) अनुसार बील मूल्यमा भन्सार लाग्नु पर्नेमा बिना कसूर २० प्रतिशत भन्दा बढी न्यूनबिजकीकरण गरिएको भनी सजायँ स्वरुप शत प्रतिशत अतिरिक्त भन्सार महसूल असूल गरेको कार्यबाट नेपालको संविधानको धारा ११(२)(ङ), धारा ११(३) समेतद्वारा प्रदत्त मौलिक हक अधिकारमा आघात पुगेकोले भन्सार कार्यालय विराटनगरको मिति २०४४।२।११ को प्रज्ञापनपत्र निर्धारण आदेश तथा भन्सार विभागको मिति २०४४।१।२१ को आदेश र राजश्व न्यायाधीकरण धरानको मिति २०४४।८।१६ को फैसला समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी गैरकानुनी रुपले इन्भ्वाइस मूल्य भन्दा बढी मूल्य कायम गरी भन्सार महसूलको साथै नभए नगरेका न्यूनविजकीकरणको कसूरमा थप अतिरिक्त भन्सार महसूल तथा बढी बिक्रीकर असूल भएको रकम निवेदकलाई फिर्ता दिनु भनी विराटनगर भन्सार कार्यालयका नाउँमा परमादेशको आदेश जारी गरी पाउँ भन्ने समेतको रिटनिवेदन ।
४. यसमा के कसो भएको हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस सर्वोच्च अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
५. भन्सार ऐन, ०१९ (संशोधन सहित) को दफा १३(३) मा दाखिल भएको बील भन्सार अधिकृतलाई चित्त नबुझेमा निजले त्यस्तो माल वा वस्तुको मूल्य निर्धारण गर्न सक्नेछ भन्ने व्यवस्था भएकोले निवेदकले पेश गरेको उक्त पेन्सिल सार्पनरको बीलमा चित्त नबुझी कानुन बमोजिम मूल्य निर्धारण भएको हो । मालधनीले दाखिल गरेको बीललाई नै अन्तिम मान्यता दिनुपर्छ भन्ने कुनै कानुनी बाध्यता छैन । न्यूनबिजकीकरण गर्न गराउन पार्टी स्वयं नै विदेश गएको हुनुपर्छ भन्ने छैन । किनकी आधुनिक संचारका साधनद्वारा वा पत्राचारद्वारा पनि मालको मोल घटी राख्न लगाई अण्डरइन्भ्वाइसिङ सजिलैसंग गर्न सक्ने हुन्छ । नेगोसिएट गरेको मालको मोलसंग बैंकको कुनै सरोकार हुँदैन । बैंक त केवल भुक्तानीको माध्यम हो । तसर्थ बैंक मार्फत भुक्तानी गरेकै कारणबाट न्यूनबिजकीकरण गरेको होइन भन्न सकिंदैन । रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेतको भन्सार विभाग काठमाडौंको लिखितजवाफ ।
६. भन्सार ऐन, २०१९ को दफा १३(५) मा पच्चीस हजार रुपैयाँ भन्दा बढीको माल वा वस्तुको मूल्य निर्धारण गर्नु परेमा भन्सार अधिकृतले आफूलाई लागेको अनुमानित मूल्य समेत उल्लेख गरी मूल्य निर्धारणको लागि श्री ५ को सरकार समक्ष पठाउनु पर्नेछ र यस सम्बन्धमा श्री ५ को सरकारबाट मूल्य निर्धारण हुनेछ । यसरी मुल्य निर्धारण भई नआउन्जेल सम्म त्यस्तो माल वा वस्तुमा डिमरेज लाग्ने छैन भन्ने व्यवस्था भएको पाइन्छ । यिनै कानुनी व्यवस्था अनुरुप श्री ५ को सरकारले निवेदकले पैठारी गरेको सामान पेन्सील सार्पनरको निवेदकले पैठारी गरेको अवस्थामा भन्सार महसूलको प्रयोजनको लागि श्री ५ को सरकारबाट मूल्य निर्धारण नगरिएकोले विराटनगर भन्सार कार्यालयबाट मूल्य निर्धारणका लागि भन्सार विभागमा पठाएको र भन्सार विभागबाट निवेदकले पैठारी गरेको उक्त सामानको भन्सार महसूलको प्रयोजनको लागि मूल्य निर्धारण गरिए अनुरुप विराटनगर भन्सार कार्यालयबाट मूल्य कायम गरी भन्सार दरबन्दी अनुसार महसूल निर्धारण गरी असूल गरिएको कानुनसम्मत छ । भन्सार विभागबाट निर्धारित मूल्य भन्दा निवेदकले प्रज्ञापनपत्रमा उल्लेख गरेको मूल्य घटी भई निवेदकले पैठारी गरेको उक्त सामान न्यून बिजकीकरण गरेकोले सो मा लाग्ने भन्सार महसूलको अतिरिक्त शतप्रतिशत महसूल लिएको कार्य समेत भन्सार ऐन, २०१९ (संशोधन सहित) को दफा १३क. (१)(ग) बमोजिम गरिएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेतको अर्थ मन्त्रालयको लिखितजवाफ ।
७. निवेदक कम्पनीले चीनबाट पैठारी गरी ल्याएको पेन्सील सार्पनरमा निवेदकको इन्भ्वाइसमा प्रति गु्रस यु.एस.डलर १०.१४ का दरले जम्मा गु्रस १११० को मूल्य यु.एस.डलर ११२५५।४० उल्लेख भई आएकोमा निवेदकले सो सामान पैठारी गरी ल्याएको समयमा चालु रहेको मूल्यांकनमा सो सामानको मूल्य समावेश नभएको कारणबाट निवेदक स्वयं आफैंले पैठारी गरेको सामानको मूल्यांकन गरी पाउन निवेदन दिएकोमा श्री ५ को सरकार भन्सार विभागबाट निवेदकको इन्भ्वाइसलाई मान्यता प्रदान नगरी प्रतिगु्रस सि.आई. एफ. कलकत्ता यु.एस.डलर १५.३० मूल्य कायम गर्ने र भन्सार ऐन, २०१९ को दफा १३क.(१) बमोजिम लाग्ने भन्सार महसूलको अतिरिक्त शत प्रतिशत भन्सार महसूल लिनुका साथै कायम भएको मूल्य र विजक मूल्य तुलना गरी फरक परे जति रकममा थप आयात इजाजत दस्तूर समेत लिने गरी २०४४।१।१७ मा श्री ५ को सरकारको निर्णय भई मिति २०४४।१।२१ मा उक्त सामानको मूल्यांकन भई आएको थियो सो बमोजिम भन्सार महसूल लिने समेतको कार्य कानुनसम्मत हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेतको भन्सार कार्यालय विराटनगरको लिखितजवाफ ।
८. श्री ५ को सरकारबाट मूल्य निर्धारण नगरिएको माल वा वस्तुको धनीले दाखिल गरेको मूल्यमा भन्सार अधिकृतलाई चित्त नबुझेमा निजले त्यस्तो माल वा वस्तुको मूल्य निर्धारण गरी भन्सार महसूल लिएको भन्सार अड्डामा रहेको अभिलेख भए सोही बमोजिम मूल्य निर्धारण गर्न सक्नेछ र मूल्य निर्धारण गर्न भन्सार अड्डामा मिल्दो अभिलेख नभएमा भन्सार अधिकृतले पच्चीस हजार रुपैयाँ सम्मको र पच्चीस हजार भन्दा बढीको माल वस्तु भए श्री ५ को सरकारबाट मूल्य निर्धारण हुने कानुनी व्यवस्था भएकोले श्री ५ को सरकारबाट प्रतिगु्रस सि.आइ.एफ. कलकत्ता अमेरिकी डलर १५।३० कायम गर्ने र भन्सार ऐन, २०१९ को दफा १३क. को उपदफा १(ग) बमोजिम लाग्ने भन्सार महसूलको अतिरिक्त शत प्रतिशत भन्सार महसूल लिनुको साथै कायम भएको र बिजक मूल्य तुलना गरी फरक परेजति रकममा थप आयात इजाजत दस्तूर लिने गरी श्री ५ को सरकारको निर्णय भई भन्सार अधिकृतले भन्सार महसूल लगाएको कानुन अनुरुप देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भनी यस न्यायाधीकरणबाट भएको निर्णय कानुनसम्मत छ भन्ने समेतको राजश्व न्यायाधीकरण धरानको लिखितजवाफ ।
९. बिक्रीकर ऐन (संशोधन सहित), २०२३ को दफा ८क. ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले बिक्री कर असूल गर्ने प्रयोजनको लागि माल बस्तुहरुको मूल्य कायम गर्ने निर्णय सम्बन्धी नेपाल राजपत्रमा मिति २०४२।३।२५ मा प्रकाशित सूचना अनुसार पैठारीको अवस्थामा बिक्रीकर लाग्ने माल वस्तुको भन्सारले कायम गरेको मूल्यमा दरबन्दी अनुसार लाग्ने भन्सार महसूल र सरचार्ज समेत जोडी हुन आउने रकममा पैठारी गर्दा हुन सक्ने खर्च र मुनाफा बापत सोही सूचनामा उल्लेख भए अनुसारको रकम थप गरी बिक्री मूल्य कायम गर्ने व्यवस्था भए अनुरुप निवेदकले पैठारी गर्नु भएको उक्त सामानमा कायम भएको मूल्यमा भन्सार महसूल र सरचार्ज समेत जोडी हुने रकममा पैठारी गर्दा हुन सक्ने खर्च र मुनाफा बापत उक्त सूचनामा तोकिएको प्रतिशत थप गरी मूल्य कायम गरी आर्थिक ऐन, २०४३ को अनुसूची छ बिक्रीकरको दरबन्दी अनुसार श्री विराटनगर भन्सार कार्यालयबाट बिक्री कर असूल गरिएको कार्य कानुनसम्मत हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेतको कर विभाग काठमाडौंको लिखितजवाफ ।
१०. नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा प्रत्यर्थी कार्यालयहरुको तर्फबाट बहस गर्न खटिई आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र कोइरालाले माल वा वस्तुको धनीले पेश गरेको विल मूल्यमा भन्सार अधिकृतलाई चित्त नबुझेमा निजले मूल्य कायम गर्न सक्ने वा श्री ५ को सरकारले मूल्य निर्धारण गर्न सक्ने कानुनी व्यवस्था भएकोले सो अनुसारको मूल्य कायम गरी भन्सार महसूल असूल गरेको तथा कायम भएको मूल्य र निजले पेश गरेको मूल्यमा अन्तर भई न्यूनबिजकीकरण गरेको देखिँदा सो अनुरुप शत प्रतिशत महसूल लिने गरेको कार्य कानुनसम्मत हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेतको बहस गर्नु भयो ।
११. प्रस्तुत रिटनिवेदनमा निवेदकका माग बमोजिमको आदेश जारी हुने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१२. यसमा निर्णयतर्फ हेर्दा वाणिज्य विभागबाट आयात इजाजतपत्र प्राप्त गरी चीनबाट प्रति गु्रस रु. १०.१४ यु.एस. डलरका दरले १११० ग्रुस पेन्सिल सार्पनर आयात गरी प्रत्यर्थी विराटनगर भन्सार कार्यालयमा आई पुग्दा भन्सार प्रयोजनको लागि उक्त वस्तुको मूल्य निर्धारण नभइसकेको माल धनीले पेश गरेको बील बमोजिमको मूल्यलाई नै कायम गरी भन्सार असूल गर्नु पर्नेमा सो नगरी उक्त वस्तुको प्रति गु्रस १५.३० यु.एस.डलर सि.आई.एफ. कलकत्ता मूल्य कायम गरी सो को हुने रु. ३,६१,७३७।९० र भाडा भरौट रु. २,८७३।१० समेत जम्मा रु. ३,६४,६११।– कायम गरी सो मा ६ प्रतिशतले भन्सार महसूल रु. १८,२३०।५० लगाउनुका साथै सजायँ स्वरुप शतप्रतिशत अतिरिक्त थप भन्सार महसूल र इन्भ्वाइस मूल्य तथा कायम भएको मूल्य तथा कायम भएको मूल्यको फरक रकम रु. १,१२,९९४।१० मा प्रिमियम दस्तूर ५ प्रतिशतले रु. ५,६४९।७१ समेत र सोही बढी मूल्यमा बिक्रीकर पनि असूल गरिएकोले उक्त काम कारवाही बदर गरी पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर रहेको पाइन्छ । निवेदकले आयात गरेको पेन्सील सार्पनर विराटनगर भन्सार कार्यालयमा आइपुग्दाको अवस्थामा उक्त वस्तुको भन्सार महसूलको तात्पर्यको लागि श्री ५ को सरकारबाट मूल्य निर्धारण भइसकेको देखिँदैन । यसरी मूल्य निर्धारण नभइसकेको अवस्थामा माल धनीले पेश गरेको बील बमोजिमको मूल्यलाई नै मान्यता दिनुपर्छ भन्ने निवेदकको कथन रहेको पाइन्छ । तसर्थ प्रस्तुत केशको सन्दर्भमा मूल्य निर्धारण भइनसकेको वस्तुमा माल धनीले पेश गरेको बील मूल्यलाई नै अन्तिम रुपमा मान्यता दिनुपर्ने हो वा श्री ५ को सरकारले मूल्य कायम गर्न सक्ने हो भन्ने कुरा विचारणीय हुन आएको छ । तत्सम्बन्धी कानुनी प्रावधानलाई हेर्दा भन्सार ऐन (संशोधन सहित), २०१९ को दफा १३(२) मा श्री ५ को सरकारबाट मूल्य निर्धारण नगरिएको माल वा वस्तुको हकमा साधारणतः माल वा वस्तुको धनीले दाखिल गरेको बील बमोजिमको मूल्यलाई नै त्यस्तो माल वा वस्तुको मूल्य मानिनेछ भन्ने उल्लेख भएको पाइन्छ । सोही ऐनको दफा १३ को उपदफा (३) मा श्री ५ को सरकाबाट मूल्य निर्धारण नगरिएको माल वा वस्तुको बील माल वा वस्तु धनीले दाखिल गर्न नसकेमा वा दाखिल भएको बील भन्सार अधिकृतलाई चित्त नबुझेमा निजले त्यस्तो माल वा वस्तुको मूल्य निर्धारण गरी भन्सार महसूल लिएको भन्सार अड्डामा रहेको अभिलेख (रेकर्ड) मा भए सोही बमोजिम मूल्य निर्धारण गर्न सक्नेछ भन्ने व्यवस्था भएको पाइन्छ साथै उक्त ऐनको दफा १३(५) ले उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि पच्चीस हजार रुपैयाँ भन्दा बढीको माल वा वस्तुको मूल्य निर्धारण गर्नु परेमा भन्सार अधिकृतले आफूलाई लागेको अनुमानित मूल्य समेत उल्लेख गरी मूल्य निर्धारणको लागि श्री ५ को सरकार समक्ष पठाउनु पर्नेछ र यस सम्बन्धमा श्री ५ को सरकारबाट मूल्य निर्धारण हुनेछ भन्ने प्रावधान रहेको पाइन्छ ।
१३. यस प्रकार उल्लेखित कानुनी प्रावधानबाट निवेदन जिकिर बमोजिम भन्सार महसूलको प्रयोजनको लागि श्री ५ को सरकारबाट मूल्य निर्धारण नगरिएको माल वा वस्तुको हकमा त्यस्तो माल वा वस्तुको धनीले पेश गरेको बील बमोजिमको मूल्यलाई नै सबै अवस्थामा मान्यता दिनै पर्दछ भन्न मिल्ने देखिएन । माल वा वस्तुको धनीले पेश गरेको बील बमोजिमको मूल्यमा मान्यता नदिई त्यस्तो माल वा वस्तुको मूल्य निर्धारण गरी भन्सार महसूल लिएको अभिलेख कार्यालयमा भएमा सो बमोजिम मूल्य निर्धारण गर्ने र त्यस्तो पूर्व अभिलेख पनि नभएको स्थितिमा मूल्य निर्धारणको लागि श्री ५ को सरकारमा पठाई श्री ५ को सरकारबाट सो वस्तुमा मूल्य निर्धारण हुन सक्ने देखियो ।
१४. अब निवेदकको माल वा वस्तुको हकमा श्री ५ को सरकारबाट मूल्य निर्धारण गरियो गरिएन भन्ने तर्फ हेर्दा निवेदकले आयात गरेको वस्तु पेन्सील सार्पनरको प्रतिगु्रस १०.१४ यु.एस.डलरका दरले मूल्य परेको भनी प्रज्ञापनपत्र दाखिल गरेको पाइन्छ । उक्त वस्तु पैठारी हुँदाको अवस्थामा भन्सार महसूलको तात्पर्यका लागि श्री ५ को सरकारबाट मूल्य निर्धारण नभएकोले निवेदक स्वयंले पैठारी गरेको माल वस्तुको मूल्यांकन गरी पाउन निवेदन दिएको भन्ने देखिन्छ । श्री ५ को सरकार अर्थ मन्त्रालयको मिति २०३२।३।२ को राजपत्रमा प्रकाशित सूचनाले श्री ५ को सरकारमा निहित मूल्य निर्धारण सम्बन्धी सबै अधिकार भन्सार विभागको महानिर्देशकलाई सुम्पेको भन्ने देखिन्छ । श्री ५ को सरकार भन्सार विभागको मिति २०४४।१।१७ को निर्णयानुसार निवेदकको इन्भ्वाइसलाई मान्यता प्रदान नगरी प्रति गु्रस १५.३० यु.एस.डलर सि.आई.एफ. कलकत्ता मूल्य कायम गरिएको भन्ने प्रत्यर्थी विराटनगर भन्सार कार्यालयको लिखितजवाफबाट देखिएको छ । भन्सार ऐन (संशोधन सहित), २०१९ को दफा १३क. उपदफा (१) को खण्ड (ग) मा बीस प्रतिशत भन्दा बढी न्यून बिजकीकरण गरिएकोमा माल वा वस्तुमा लाग्ने भन्सार महसूलको अतिरिक्त शतप्रतिशत महसूल लिई माल वस्तु छाडी दिन सक्नेछ भन्ने व्यवस्था भएको पाइन्छ निवेदकले आयातित वस्तुको प्रति गु्रस १०.१४ यु.एस.डलर मूल्य पर्ने भनी प्रज्ञापनपत्रमा देखाएको भए पनि श्री ५ को सरकार भन्सार विभागको मिति २०४४।१।१७ को निर्णयद्वारा उक्त मूल्यलाई मान्यता नदिई प्रति गु्रस १५.३० यु.एस.डलर मूल्य निर्धारण गरिएको देखिन्छ । यसरी श्री ५ को सरकार भन्सार विभागद्वारा निर्धारित मूल्य भन्दा निवेदकले इन्भ्वाइसमा उल्लेख गरेको मूल्य घटी देखिन आएकोले न्यूनबिजकीकरण भएको आधारमा थप भन्सार महसूल लगाइएको कार्य ऐनको दफा १३क. उपदफा (१) को खण्ड (ग) को प्रतिकूल भएको भन्न मिल्ने अवस्था रहेन । यसप्रकार ऐनद्वारा प्रदत्त अधिकार बमोजिम श्री ५ को सरकार भन्सार विभागको निर्णयानुसार निर्धारित मूल्य बमोजिम आयातित वस्तुको मूल्य कायम गरी विराटनगर भन्सार कार्यालयबाट भन्सार महसूल असूल गरेको देखिँदा कानुन बर्खिलाप भएको भन्न मिलेन । तसर्थ यसमा निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल चैत्र १२ गते रोज १ शुभम् ।