शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०७० - उत्प्रेषण

भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक:

निर्णय नं. ४०७०    ने.का.प. २०४७      अङ्क २

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४६ सालको रि.नं. ५६१

आदेश भएको मिति : २०४६।१२।१५।४ मा

रिट निवेदक: जि.धनुषा गा.पं. मुद्दामा खजुरीमा स्थापित लक्ष्मीनारायण राइस मिलका प्रो.बौएलाल साह

विरुद्ध

विपक्षी : कर कार्यालय जनकपुरधामसमेत

विषय : उत्प्रेषण

(१)    के कति खूद आय कायम हुने हो अनुमानित आय विवरण समेत खुलाई सूचना दिएको देखिँदैन, सो बमोजिमको सूचना प्राप्त गरेपछि मात्र करदाताले प्रतिवाद गर्ने मौका प्राप्त गरेको मान्न सकिने हुँदा उक्त बमोजिमको विवरण नखुलाई दिएको सूचनाबाट कानुन बमोजिम प्रतिवादको मौका दिएको मान्न नमिल्ने ।

(प्रकरण नं. ७)

विपक्षी तर्फबाट      : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र कोइराला

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह

१.     नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    मेरो प्रोप्राइटरशीपमा लक्ष्मीनारायण राइस मिलका नाउँमा दर्ता भई मैले चलाई आएकोमा मिति २०३१।९।१२ मा होइन कुमार संगटालाई मासिक रु. २०००।का दरले लिखत पारित गरिदिएको र सो अनुसार आ.व. ०३१।२०३२ को जम्मा १० महीना १५ दिनको रु. २०००।का दरले भाडा रु. २१,०००।र म निवेदकको निजी घर जनकपुर धान चामल निर्यात कम्पनीलाई मासिक रु. ४००।का दरले मिति २०३१।१।१२ देखि भाडामा दिएकोले सो बापत प्राप्त रु. ३०००।समेत जम्मा आय रु. २४,०००।मा तलब मजदुरी २००५।समेत गरी जम्मा भएको खर्च रु. १७५०।छुटफुट (डिप्रिसियसन) रु. ११,७८२।३२ अन्य खर्च रु. २०००।समेत गरी जम्मा भएको खर्च रु. १७५३७।३२ कट्टा गरी आफूलाई भएको खूद मुनाफा रु. ६,४६२।६८ देखाई तोकिए अनुसारको आय विवरण भरी मिति २०३३।२।३१ मा विपक्षी कर कार्यालयमा पेश गरेको थिएँ । यसै बीच विपक्षी आय निर्धारण समिति मध्यमाञ्चलको मिति २०४१।३।४ को बैठकले कार्यालयमा प्राप्त भएसम्मको तथ्यांक क.नि. को गोप्य प्रतिवेदन तथा अन्य आधारभूत कुराहरुको समेत विचार गरी आयकर ऐन, २०३१ को दफा ३३(२) बमोजिम खडा भएको निर्णय पर्चा बमोजिम मेरो खूद आय रु. १,०४,४९७।०३ कायम भएको भनी प्रचलित नेपाल कानुन बर्खिलाप हुने गरी खूद आय निर्धारण गरे उपर आयकर ऐनको दफा ३४(२) अन्तर्गत विपक्षी कर महानिर्देशक समक्ष निवेदन गरेकोमा आफ्नो कारोबार सम्बन्धमा केही सबूत प्रमाण र प्रतिक्रिया समेत पेश नगरी बसेको देखिएको र आयकर ऐनको दफा ४०(१) बमोजिम गठित समितिले खूद आय कायम गरी कर कार्यालयबाट मिति २०४१।३।८ मा कर निर्धारण गरेको देखिँदा सो निर्णय मनासिब ठहर्छ भनी मिति २०४५।१०।१९ मा निर्णय गरियो । यसरी मैले मेरो घर र मिल समेत भाडामा दिइसकेको अवस्थामा सो बमोजिम मैले भरेको आयको विवरण र सो सम्बन्धी पेश भएका प्रमाणहरुको समुचित मूल्यांकन नै नगरी हचुवाको भरमा खूद आय कायम गरेको मिलेको छैन । मिति २०४१।३।४ को निर्णयमा आयकर ऐनको दफा ३३(२) उल्लेखित अवस्थाहरु मध्ये के कुन आधारमा खूद आय कायम गरिएको हो खुलाइएको छैन । अतः विपक्षी कर कार्यालयको मिति २०४१।३।८ को निर्णय र सो निर्णयलाई सदर गरेको मिति २०४५।१०।१९ को निर्णय त्रुटिपूर्ण हुँदा उक्त निर्णयहरु उत्प्रेषणको आदेशद्वारा बदर गरी परमादेश वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ भन्ने समेत रिटनिवेदन जिकिर रहेछ ।

३.    यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४६।४।११ को आदेश रहेछ ।

४.    निवेदकले पेश गरेको आय विवरणलाई पुष्ट्याई गर्न बयान दिन नआएको तथा आयकर ऐनको दफा ३३(४) बमोजिम पत्रद्वारा मौका दिंदा समेत कारोबार सम्बन्धी हिसाब किताब पेश गर्न उपस्थित नहुनुको साथै कुनै प्रतिकृया समेत व्यक्त गर्न नआएकोले आयकर ऐन, २०३१ को दफा ४०(१) बमोजिम गठित आय निर्धारण समितिबाट खूद आय रु. १,०४,४९७।०३ कायम गरी ऐ. दफा ३३(२) बमोजिम मिति २०४१।३।८ मा कर निर्धारण गरिएको मिलेकै हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत कर कार्यालय जनकपुरको लिखितजवाफ रहेछ ।

५.    छुट्टा छुट्टै ३ आर्थिक वर्षको सम्बन्धित विवादमा यी रिट निवेदकले दिएको पुनरावेदनबाट निर्णय भएको छ । यो रिटनिवेदन कुन आ.व. को सम्बन्धमा हो प्रष्ट छैन । आयकर ऐनको दफा ४०(१) बमोजिम गठित आय निर्धारण समितिले कर कार्यालयमा प्राप्त भए सम्मको तथ्यांक कर निरीक्षकको प्रतिवेदन तथा अन्य आधारभूत कुराहरुमा समेत विचार गरी निर्णय गरेको छ । रिट निवेदकको खूद आयको निर्धारण दफा ३३(२) अनुसार गरिएको हो र ऐ. दफा ३३(४) अनुसार प्रतिवादको मौका दिंदा पनि कुनै प्रतिवाद नगरी स्वीकारी बसेकोले खूद आय कायम गरी कर निर्धारण गरिएकोमा कुनै त्रुटि नहुँदा प्रस्तुत रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत कर विभागको लिखितजवाफ रहेछ ।

६.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा प्रत्यर्थी कर कार्यालय जनकपुर समेतको तर्फबाट बहसको लागि खटिई उपस्थित हुनु भएको विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइरालाले आयकर ऐन, २०३१ को दफा ४०(१) बमोजिम गठित समितिले सोही ऐनको दफा ३३(२) तथा ३३(४) को प्रकृया समेत अपनाई खूद आय कायम गरी कर निर्धारण गरेको कानुन अनुकूल नै हुँदा प्रस्तुत रिटनिवेदन खारेज हुनुपर्ने भनी बहस गर्नु भयो ।

७.    निर्णयतर्फ हेर्दा यसमा मेरो आय श्रोतको रुपमा रहेको राइस मिल र निजी घर समेत भाडामा दिई त्यसबाट जम्मा रु. २४,०००।भएकोमा ज्याला मजदुरी मर्मत टुटफुट समेत जम्मा खर्च रु. १७,५३७।३२ कट्टा गरी आफूलाई भएको खूद आय रु. ६४६२।६८ देखाई तोकिए अनुसारको आय विवरण भरी मिति २०३३।२।३१ मा विपक्षी कर कार्यालयमा पेश गरेकोमा सो बमोजिम मान्यता नदिई आयकर ऐनको दफा ३३(२) बमोजिम विपक्षी समितिबाट मेरो खूद आय रु. १,०४४९७।०३ कायम भएको भनी प्रचलित नेपाल कानुन विपरीत हुने गरी कर निर्धारण गरेको प्रत्यर्थी कर कार्यालयको निर्णय र सोही निर्णय सदर गरेको कर विभागको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशले बदर गरी परमादेशको आदेश समेत जारी गरी पाउँ भन्ने समेत रिटनिवेदन जिकिर भएको पाइन्छ । करदाताले दाखिल गरेको विवरणलाई मान्यता नदिई कर अधिकृतले कसरी खूद आय कायम गर्न सक्ने हो ? भन्ने सम्बन्धमा विचार गर्दा आयकर ऐन, २०३१ को दफा ३३ को उपदफा २ मा करदाताले आय विवरण दाखिल नगरेमा वा झुठ्ठा विवरण दाखिल गरेमा वा कारोबारको लेखा नराखेकोमा वा राखेको लेखालाई मान्यता दिन नमिल्ने भएमा कर अधिकृतले देहायका आधारमा खूद आय कायम गरी कर निर्धारण गर्न सक्ने छभन्ने उल्लेख गरी आधारहरु समेत तोकि दिई राखेको पाइन्छ । यसरी करदाताले आफैंले पनि खूद आय कायम गरी कर निर्धारण गर्न सक्ने देखिन्छ । तर दफा ३३ को उपदफा (४) मा उपदफा (२) वा (३) बमोजिम खूद आय निर्धारण गर्दा कर अधिकृतले आय निर्धारण गर्नु परेको आधार स्पष्ट खुलाई करदातालाई लिखित सूचना दिई आफ्नो आय सम्बन्धमा केही कुरा भन्न वा सबूत प्रमाण पेश गर्न सात दिनको म्याद दिनु पर्नेछभन्ने उल्लेख भएको पाइन्छ । अर्थात् दफा ३३(२) बमोजिम खूद आय कायम गरी कर निर्धारण गर्दा दफा ३३(४) ले त्यसरी आय निर्धारण गर्नु परेको आधार स्पष्ट खुलाई करदातालाई सूचना दिनु अनिवार्यता गरिराखेको पाइन्छ । कर कार्यालय जनकपुरले यी रिट निवेदकलाई आयकर ऐन, २०३१ को दफा ३३(४) अनुसार सूचना दिएको देखिन्छ । तर उक्त सूचनामा पेश भएका विवरणमा आय व्ययको औचित्य पुष्टिको लागि आवश्यक वहिखाता बील बिजक पेश गर्न नसक्नु भएकोले सो हिसाबलाई मान्यता दिई आय निर्धारण गर्न नमिल्ने हुँदा आयकर ऐन, २०३१ (संशोधन सहित) को दफा ३३(२) को खण्ड (ग) मा उल्लेखित आधार बमोजिम खूद आय कायम गरी कर निर्धारण गर्नु पर्ने भएकोले दफा ३३(४) बमोजिमको यो मौका प्रदान गरिएको छ भन्ने उल्लेख भएको पाइन्छ । उक्त दफा ३३(४) अनुसार के कति खूद आय कायम हुने हो सो अनुमानित आय विवरण समेत खुलाई सूचना दिएको देखिँदैन । सो बमोजिमको सूचना प्राप्त गरेपछि मात्र करदाताले प्रतिवाद गर्ने मौका प्राप्त गरेको मान्न सकिने हुन्छ । उक्त बमोजिमको विवरण नखुलाई दिएको सूचनाबाट कानुन बमोजिम प्रतिवादको मौका दिएको मान्न मिलेन । अतः कानुनमा उल्लेख भए बमोजिम प्रतिवादको मौका नै नदिई खूद आय कायम गरी आ.ब. ०३१।०३२ को लागि कर निर्धारण गरेको कर कार्यालय जनकपुरको मिति २०४१।३।८ को निर्णय र सोही निर्णयलाई सदर गरेको कर विभाग काठमाडौंको मिति २०४५।१०।१९ को निर्णय मिलेको नदेखिँदा उक्त निर्णयहरु उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । अब पुनः कानुन बमोजिम कर निर्धारण गर्नु भन्ने प्रत्यर्थी कर कार्यालय जनकपुरको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । प्रत्यर्थी कार्यालयको जानकारीको लागि निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

 

इति सम्वत् २०४६ साल चैत्र १५ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु