शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८६२३ - फैसला बदर

भाग: ५३ साल: २०६८ महिना: भाद्र अंक:

ने.का.प. २०६८, ,निर्णय नं. ८६२३

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री कमलनारायण दास

संवत् २०६३ सालको दे.पु.नं.०६३-CI-०४३४

                           फैसला मितिः २०६८।१।२७।३         

मुद्दा :फैसला बदर 

पुनरावेदक वादीः जिल्ला सुनसरी, राजगञ्ज सिनवारी गा.वि.स. वडा नं. ५ बस्ने बलदेब महतोको      मुद्दा सकार गर्ने निजको छोरा ऐ. बस्ने मंगल महतो

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः जिल्ला सुनसरी, राजगञ्ज सिनवारी गा.वि.स. वडा नं. ५ बस्ने महादेव महतो

शुरु फैसला गर्ने

मा.न्या.श्री कमलचन्द्र नेपाल

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री विनोदप्रसाद ढुंगेल

मा.न्या.श्री केदारप्रसाद चालिसे

 

§  अ.वं. ८६ नं. को साहारा लिई अदालतमा प्रवेश गर्ने व्यक्ति अघि चलेको मुद्दाको पक्ष विपक्ष नभई कुनै तेस्रो पक्ष रहेको हुनुपर्ने भन्ने कानूनी व्यवस्थाको मूल सार रहेकोमा वादी मुद्दाको पक्ष नभई तेस्रो पक्ष रहेको देखिन आएको र निजले हदम्यादभित्र नै उपचार खोजेको अवस्थामा हदम्यादविहीन तथा प्रचलित कानूनी व्यवस्थाविपरीत फिराद दायर गरेको भन्न नमिल्ने 

(प्रकरण नं.५)

§  दूषित तवरबाट अरुको हक लाग्ने सम्पत्ति एकलौटी हो भनी देखाई भएको फैसला जतिसुकै तहबाट भए पनि बदरभागी हुन्छ, हरेक तहमा मर्का पर्ने व्यक्ति जानु पर्दछ बदर गराउनु पर्दछ भनी ब्याख्या गर्नु र मान्नु आत्मगत हुन जाने 

(प्रकरण नं.६)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ता श्री राजु कटुवाल

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री भीमबहादुर ढकाल र श्री पवनकुमार जयसवाल

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

 

फैसला

            न्या.प्रेम शर्माः पुनरावेदन अदालत विराटनगरको मिति २०६३।१।३१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदक वादीको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः

पिता भाइजीका २ छोरामा जेठो म बलदेव कान्छो महादेव हुन् । महादेवका छोरा रामचरण, सदानन्द हुन् । पिताजीकै पालामा अंशबण्डा भईसकेको छ । पिता भाइजीको अंश जीउनी शेषपछि दुवै छोराले खाने भन्ने सर्त राखी मिति २०२२।७।२ मा बण्डापत्र रजिष्ट्रेशन भएको छ । पिता भाइजीको २०२७ सालमा निधन भयो । पिता भाइजीको अंश भागको माल तथा गुठी मौजाको जग्गा नापीमा राजगञ्ज सिनवारी गा.वि.स. वडा नं. ५(ग) कि. नं. २०२ को ०, ऐ. ७ (क) कि. नं. ८२ को ०१५, ऐ. कि. नं. ८५ को ०१५, ऐ कि. नं. ८७ को ०१२, र ऐ. वडा नं. ८(ख) कि. नं. ३३ को ०१८, ऐ. कि. नं. ५० को ०१६, ऐ. कि. नं. ५४ को ०, ऐ. कि. नं. ६९ को १, ऐ. कि. नं. ७० को ०, ऐ. कि. नं. ८५ को ०, ऐ. वडा नं. ९(ख) कि. नं. ६३ को १, ऐ. वडा नं ७ (ख) कि. नं. १३० को १, ऐ. ९(ख) कि. नं. ६७ को २१४, ऐ. कि. नं. ६९ को ०, ऐ. वडा नं. ९(ग) कि. नं. १२९ को १, सुनसरी जिल्ला अमाहिवेलहा गा.वि.स. वडा नं. ८ (क) कि. नं. ९१ को २१७, ऐ. कि. नं. ९३ को ०१६१२, ऐ. देवानगञ्ज गा.वि.स. वडा नं. ४ कि. नं. ७२ को ११६, राजगञ्ज सिनवारी गा.वि.स. वडा नं. ५(ख) कि. नं. ६७ को ०१८, ऐ. कि. नं. ६९ को ०१७, ऐ. कि. नं. ६८ को ०, ऐ. कि. नं. ७१ को ०१४१७ को जग्गा नापी भै मालतर्फको जग्गाको जग्गाधनी प्रमाणपूर्जा प्राप्त भएको र गुठीतर्फको पूर्जा प्राप्त हुन बाँकि भै आधी आधी भोग गरी आएका छौं । सदानन्दले महादेवउपर अंश मुद्दा गरी अंश मुद्दाको तायदाती फाँटवारी दिदा आफ्नो दर्ताको अतिरिक्त बाबु भाइजी दर्ताको उक्त जग्गा तथा बलदेव र महादेव संयुक्त दर्ताको राजगञ्ज सिनवारी वडा नं. ६(ग) कि. नं. १३ को ०१४, ऐ. वडा नं. ५ग कि. नं. २५ को ०९ तथा देवानगञ्ज गा.वि.स. वडा नं. २ अन्तर्गत कि. नं. ६ को जग्गामा बनेको घर तथा राजगञ्ज सिनवारी वडा नं. ५ को गुठी जग्गामा बनेका घर समेत उल्लेख गरी फाँटवारी दिई पिता भाइजी महतो दर्ताको घर जग्गा समेतबाट महादेवका अविवाहित छोरीको विवाह खर्च पर सारी ५ भागको १ भाग अंश सदानन्दले पाउने ठहराई मिति २०४८।१०।२२ मा फैसला भए उपर पुनरावेदन गर्दा शुरु जिल्ला अदालतको इन्साफ सदर हुने गरी मिति २०५१।१०।२४ मा फैसला भई सो बमोजिम बण्डा छूट्याउन दरखास्त दिई मिति २०५३।२।५ मा बण्डा छूट्याई शुरु जिल्ला अदालतको चलनपूर्जीबमोजिम मालपोत कार्यालय सुनसरीमा दरखास्त दिई उल्लिखित जिल्ला सुनसरी राजगञ्ज सिनुवारी गा.वि.स. वडा नं. ५(ग) कि. नं. २०२ को ०५ मध्ये उत्तरबाट ०, ऐ. कि. नं. ८२ को ०१५ मध्ये उत्तरबाट ०, ऐ. वडा नं. ७क कि. नं. ८५ को ०१५ मध्ये उत्तरबाट ०१९, ऐ. कि. नं. ८७ को ०१२ मध्ये दक्षिणबाट ०१८, ऐ. कि. नं. ७ ख कि. नं. १३० को १६ मध्ये पूर्वबाट ०, ऐ. कि. नं. ८(ख) कि. नं. ३३ को ०१८, मध्ये पश्चिमबाट ०१३, ऐ. कि. नं. ५० को ०१६ मध्ये दक्षिणबाट ०, ऐ. कि. नं. ५४ को ०५ मध्ये दक्षिणबाट ०, ऐ. कि. नं. ६९ को १४ मध्ये पश्चिमबाट ०१६, ऐ. ९ ग कि. नं. १२९ को १०  मध्ये उत्तरबाट ०, ऐ. ८(ख) कि. नं. ७० को ०३ मध्ये उत्तरबाट ०, ऐ. कि. नं. ८५ को ०४ मध्ये उत्तरबाट ०, ऐ. ऐ. ९ ख कि. नं. ६३ को १९ मध्ये उत्तरबाट ०१७, ऐ. वडा नं. ९(ख) कि. नं. ६९ को ०४ मध्ये दक्षिणबाट ०१६, ऐ. कि. नं. ६७ को २१४७ मध्ये दक्षिणबाट ०१०१७, ऐ. अमाहीवेलहा गा.वि.स. वडा नं. ८क कि. नं. ९१ को २१७, मध्ये दक्षिणबाट ०११, ऐ. कि. नं. ९३ को ०१६१६, मध्ये उत्तरबाट ०, ऐ. देवानगञ्ज ४ कि. नं. ७२ को ११६ मध्ये पश्चिमबाट ०१९, ऐ. राजगञ्ज सिनवारी गा.वि.स. वडा नं. ५(ख) कि. नं. ६७ को ०१८ मध्ये पश्चिमबाट ०À, ऐ. कि. नं. ६९ को ०१७ मध्ये पश्चिमबाट ०, ऐ. कि. नं. ६८ को ०, मध्ये पश्चिमबाट ०१३, ऐ. कि. नं. ७१ को ०१४१७ मध्ये पूर्वबाट ०१९, ऐ. वडा नं. ६ग कि.नं. १३ को ०१४ मध्ये उत्तरतर्फबाट ०, ऐ. ५(ग) कि. नं. २५ को ०९ मध्ये दक्षिणबाट ०, ऐ. देवानगञ्ज गा.वि.स. वडा नं. २ कि. नं. ६ को ० मध्ये दक्षिणबाट ०९ र सो जग्गामा बनेको घर थान दुईबाट एक भागमा पर्न आउने घर समेत दर्ता गराएका रहेछन् । मलाई सो विषयमा मिति २०५७।१।१५।५ मा नक्कल लिंदा थाहा हुन आएको हुँदा त्यसतर्फ छुट्टै फिराद गरी सकेको छु । त्यसैगरी महादेवका छोरा महानन्दले रामचरण, वच्चा महतोलाई प्रतिवादी बनाई २०५४ सालको दे.नं. १०४६ को अंश चलन मुद्दा दायर गरी तायदाती फाँटवारी माग हुँदाको अवस्थामा पिता भाइजी दर्ताको मालतर्फको र नापी दर्ता भई जग्गाधनी प्रमाणपूर्जा प्राप्त हुन बाँकी रहेको गुठीतर्फको जग्गाहरू सदानन्दले दा. खा. गराई लिई कित्ता काट भै कायम हुन आएका जग्गा तथा पिता भाइजी महतोको भोग चलनमा रही वहाँको निधन पछि म तथा महादेवको भोग चलनमा रहेको राजगञ्ज सिनवारी गा.वि.स. वडा नं. ५ का घरहरू, देवानगञ्ज २ कि. नं. ६ मा अवस्थित घर तायदाती फाँटवारीमा उल्लेख गरेको कारणबाट सो सबै सम्पत्तिबाट चार भागको एक भाग अंश पाउने ठहराई शुरु अदालतबाट मिति २०५५।१२।२ मा फैसला भएउपर पुनरावेदन परी पुनरावेदन अदालत विराटनगरमा कारवाही चलिरहेको विषयमा मिति २०५६।१२।२९ मा नक्कल सारी लिंदा थाहा हुन आयो । भाइजी दर्ता भोगको घर जग्गामा म तथा महादेवले खान पाउनेमा भाइजीको हक खाने महादेव मात्र देखाई एक आपसमा मिलेमतो गरी गराएको फैसलाबाट मेरो हक मेट्ने कार्य गरेकाले मिति २०५५।१२।२ को शुरु जिल्ला अदालतको फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद दावी 

सम्पूर्ण फिराद दावी झूठा एवं कानूनी व्यवस्थाको प्रतिकूल फिराद दायर भई हदम्यादविहीन समेत भएकाले खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी महादेव महतो र वच्चा महतो समेतको प्रतिउत्तर पत्र 

यसमा प्रतिवादीमध्येका रामचरण महतोले शुरु म्यादै गुजारी प्रतिउत्तर नफिराई बसेका र मुख नमिलेका कुरामा दुवै पक्षका साक्षी बुझी पेश गर्नु भन्ने मिति २०५७।४।२९ को आदेश 

आदेशानुसार वादी प्रतिवादी दुबै पक्षका साक्षीको बकपत्र भै मिसिल सामेल रहेको 

फिरादीले समेत पिता भाइजीको शेषपछि खान पाउने सम्पत्ति एकलौटी आफ्ना नाउँमा दर्ता स्रेस्ता कायम गराई आफ्ना छोरालाई अंश समेत दिएको देखिदा सो हदसम्मको फैसला बदर भै सो बदर भए जतिको प्रतिवादीका नामको दा. खा. दर्ता बदर भई सो मा वादीको हक कायम हुने ठहर्छ भनी शुरु सुनसरी जिल्ला अदालतले गरेको मिति २०५८।१०।१५ को फैसला 

शुरुको फैसलामा चित्त बुझेन । माग दावीभन्दा बाहिर गै मुद्दाको तथ्य प्रतिकूल फैसला भएको छ । साथै म पुनरावेदक प्रतिवादीले हदम्यादको प्रश्न उठाई मुद्दा खारेजीको माग गरी प्रतिवाद गरेकोमा हदम्यादको प्रश्न मुद्दामा पहिलो प्रश्न भएको हदम्यादभित्र फिराद आएपछि मात्र वादीले अदालत प्रवेश गर्न पाउनेमा सोतर्फ बेवास्ता गरी शुरुले गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी न्याय पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको तर्फबाट पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र 

यसमा प्रमाण निमित्त आएको महानन्द वादी रामचरण प्रतिवादी भएको अंश मुद्दामा महानन्द महतोले बाजे भाइजी महतोको नाउँको जग्गाहरू अंश पाएको देखिदा प्रस्तुत फैसला बदर मुद्दामा महानन्द प्रतिवादी नभएको अवस्थामा निजलाई नबुझी भएको शुरुको इन्साफ त्रुटिपूर्ण देखिँदा प्रत्यर्थी झिकाई आए वा अवधि ब्यतीत भएपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०६०।८।१६ को आदेश 

प्रस्तुत विषयमा तहतह मुद्दा परी किनारा भै पुनरावेदन तहबाट अन्तिम भएको फैसलाउपर प्रत्यर्थी वादीको दावी नरही शुरु जिल्ला अदालतबाट भएको मिति २०५५।१२।२ को फैसला सम्म बदरको माग भएको अवस्थामा सो विषयमा भएको पुनरावेदन अदालतको फैसला अन्तिम भइरहेको देखिदा अन्यथा भन्न समेत मिलेन । यसर्थ वादी दावीबमोजिम उक्त मिति २०५५।१२।२ को अंश चलन मुद्दाको फैसला बदर हुने ठहर गरी सोही आधारबाट प्रतिवादीको नाममा भएको दाखिल खारिज दर्ता बदर गरी वादीको नाउँमा हक कायम हुने ठहर गरेको शुरु सुनसरी जिल्ला अदालतको मिति २०५८।१०।१५ को फैसला मिलेको नदेखिदा उक्त फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०६३।१।३१ को फैसला 

पुनरावेदन अदालको फैसलाले एकातिर बण्डापत्रबमोजिम आधा म वादीले पाउने कुरालाई स्वीकार पनि गरिरहेको स्थिति छ भने अर्कोतर्फ शुरु फैसला उल्टी पनि हुन्छ भन्नु आफैमा उक्त फैसला विरोधाभाषयुक्त रहेको छ । त्यस्तो विरोधाभाष अभिव्यक्तिमा कुनलाई मान्ने हो अन्योल रहने गरी फैसला भएबाट पनि पुनरावेदन अदालतको फैसला गम्भीर त्रुटिपूर्ण छ 

शुरु जिल्ला अदालतबाट भएको अंश मुद्दाको फैसलाले यो यो सम्पत्तिमा यसो हुने भनिएको पाइएकोले फैसला बदरमा दावी लिएको अवस्था छ । पुरावेदन अदालतको उक्त अंश मुद्दामा शुरुको फैसलासम्म सदर गरेको हो । अतः जिल्ला अदालतको फैसला बदर भएको अवस्थामा उक्त विवादको अन्त्य हुन्छ । शुरु जिल्ला अदालतको फैसला बदरको लागि दावी परेको अवस्थामा दावी के हुने भन्ने प्रश्न नै अनिर्णयको विषय बनाई राख्नु हुँदैन । दावीको विषयलाई अनिर्णयको विषय बनाई शुरुको फैसला उल्टी गरेको फैसला गम्भीर त्रुटिपूर्ण हुँदा पुनरावेदन अदालत विराटनगरको मिति २०६३।१।३१ को फैसला बदर गरी शुरु जिल्ला अदालतको फैसला कायम राखी पाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक वादीको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र 

यसमा पुनरावेदक वादीका पिता भाइजीको जीवनकालमा नै मिति २०२२।७।२ मा पारित भएको बण्डापत्रमा भाइजीले आफ्नो भागको अंश जीउनी शेषपछि दुवै छोराले बराबर बाँडी खाने भत्रे शर्त राखी अंशियारहरू बीचमा बण्डापत्र भएको देखिएको अवस्थामा शुरु सुनसरी जिल्ला अदालतले वादी दावीबमोजिम फैसला बदर हुने ठहर गरेको मिति २०५८।१०।१५ को फैसला उल्टी हुने ठहर्‍याएको पुनरावेदन अदालत विराटनगरको मिति २०६३।१।३१ को फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि प्रत्यर्थीलाई झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६६।१।१३ को आदेश 

नियमबमोजिम दैनीक पेसी सूचीमा चढी इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल तथा विद्वान अधिवक्ता राजु कटुवालले पुनरावेदन अदालतबाट जिल्ला अदालतले अंश मुद्दामा गरेको फैसलालाई सदरसम्म गरेको हो । शुरु अंश मुद्दाको मिति २०५५।१२।२ को फैसला नै बदर भएपछि सो अंश मुद्दाको फैसला सदर गर्ने गरी भएको फैसला स्वतः शून्य हुन्छ । बाबु भाइजी र पुनरावेदक वादी तथा प्रत्यर्थी प्रतिवादीहरू बीच मिति २०२२।७।२ मा बण्डापत्र लिखत पारित भई उक्त लिखत यथावत् रहेको अवस्थामा उक्त लिखतमा बाबु भाइजीको शेषपछि दुबै छोराहरूले बराबर बाँडी खान पाउने भन्ने उल्लेख भएको देखिन आएको अवस्थामा उक्त बण्डापत्रमा उल्लिखित व्यहोराभन्दा बाहिर गई विपक्षीहरू एक आपसमा मिलोमतो गरी अंश मुद्दा दायर गरी मेरो पक्ष पुनरावेदक वादीको हक मेट्ने उद्देश्यले मिति २०५५।१२।२ मा शुरु सुनसरी जिल्ला अदालतबाट अंश मुद्दा फैसला गराएकोमा सोउपर फैसला बदर मुद्दा परी शुरु जिल्ला अदालतले उक्त फैसला बदर गरेकोमा पुनरावेदन अदालत विराटनगरबाट उक्त फैसला उल्टी हुने गरी फैसला भएको मिलेको छैन । शुरु जिल्ला अदालतको फैसला सदर हुनु पर्छ भनी बहस जिकीर प्रस्तुत गर्नुभयो 

प्रत्यर्थी प्रतिवादीतर्फका विद्वान अधिवक्ताद्वय भीमबहादुर ढकाल र पवनकुमार जयसवालले २०५४ सालको दे. नं. १०४६ को अंश चलन मुद्दा मिति २०५५।१२।२ मा फैसला भई सो फैसलाउपर पुनरावेदन अदालत विराटनगरमा पुनरावेदन परी मिति २०५७।१।६ मा शुरु जिल्ला अदालतको फैसला सदर हुने फैसला भई अन्तिम रुपमा रहेको अवस्थामा शुरुको फैसला बदरको कुनै औचित्य नरहने हुँदा पुनरावेदन अदालत विराटनगरको मिति २०६३।१।३१ को फैसला मिलेको छ । उक्त फैसला सदर हुनुपर्छ भनी बहस जिकीर प्रस्तुत गर्नुभयो 

पुनरावेदक वादी तथा प्रत्यर्थी प्रतिवादी तर्फका विद्वान कानून व्यवसायीहरूको बहस जिकीर तथा मिसिल संलग्न कागजातहरू अध्ययन गरी हेर्दा पिता भाइजी महतोको दर्ता भोगको घर जग्गा म तथा महादेवले खान पाउनेमा पिता भाइजीको हक खाने महादेव मात्र देखाई एक आपसमा मिलोमतो गरी गरे गराएको फैसलाबाट मेरो हक मेट्ने कार्य गरेकोले मिति २०५५।१२।२ को फैसला बदर गरिपाऊँ भन्ने वादीको मुख्य फिराद दावी रहेको र सम्पूर्ण फिराद दावी झूठा एवं बनावटी हो । प्रचलित कानूनी व्यवस्थाको प्रतिकूल हदम्यादविहीन प्रस्तुत फिराद खारेज गरिपाऊँ भन्ने प्रतिउत्तर जिकीर रहेको प्रस्तुत मुद्दामा शुरु सुनसरी जिल्ला अदालतले फैसला बदर हुने ठहर्‍याएको फैसलाउपर प्रतिवादीको तर्फबाट पुनरावेदन गरेकोमा पुनरावेदन अदालत विराटनगरले शुरु जिल्ला अदालतको फैसला उल्टी हुने ठहर फैसला गरेकोले सोउपर पुनरावेदक वादीको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत विराटनगरको मिति २०६३।१।३१ को फैसला मिले नमिलेको के हो ? पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्छ, वा सक्दैन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो 

२. निर्णयतर्फ विचारगर्दा मूल पुर्खा भाइजी महतोको दुई छोरामध्ये बलदेव महतो र महादेव महतो रहेको देखिन्छ । भाइजी महतोको जीवनकालमा नै भाइजी महतो, बलदेव महतो र महादेव महतोबीच मिति २०२२।७।२ मा मोरङ जिल्ला माल विराटनगरबाट र.नं. १९३९ बाट अंशबण्डाको बण्डापत्र लिखत भएको र भाइजी महतोले आफ्नो जीउनी अंश शेषपछि दुबै छोराले बराबर बाँडी खाने शर्तमा छूट्याई सो व्यहोरा समेत उल्लेख भई उक्त मितिमा बण्डापत्रको लिखत रजिष्ट्रेशन भएको र सो बण्डापत्रको लिखतको आधारमा यी वादी प्रतिवादीहरूले आआफ्नो अंशभागको जग्गा दा.खा. दर्ता गराएको र उक्त मिति २०२२।७।२ को बण्डापत्रको लिखत हालसम्म यथावत् नै कायम रहेको देखिदा उक्त लिखतअनुसार बाबु भाइजीको जीउनीबापतको सम्पत्ति वादी प्रतिवादीको बराबर हक पुग्नेमा विवाद देखिएन । दुवैको बराबर भाग लाग्ने नै देखियो 

३. यसरी भाइजीको नाम दर्ताको जग्गाहरू मिति २०२२।७।२ को बण्डापत्र बमोजिमको जीउनी अंश जग्गा उक्त बण्डापत्रमा उल्लिखित शर्तबमोजिम भाइजीका दुवै छोराहरू वलेदेव महतो तथा महादेव महतोसमेत दुवैले वरावरी वाँडी खानुपर्नेमा महादेव महतोको छोरा महानन्द महतो वादी प्रतिवादी महादेव महतो र वच्चा महतो भएको २०५४ सालको दे.नं. १०४६ को अंश चलन मुद्दा सुनसरी जिल्ला अदालतमा दायर गरी सो मुद्दाबाट महानन्द महतोले वलदेव महतोको समेत अंश हक लाग्ने बण्डापत्रबमोजिम बराबर बाँडी खान पाउने भाइजी महतोको जीउनी अंश हकको जग्गाबाट समेत अंश पाउने ठहर फैसला मिति २०५५।१२।२ मा सुनसरी जिल्ला अदालतबाट भएकोमा सो फैसलाबाट यी पुनरावेदक वादी बलदेव महतोको अंश हक लाग्ने जग्गाहरू निजको हक समेत जाने गरी फैसला भएको देखिन आयो 

४. पुनरावेदक बादी बलदेव महतो समेतले बाँडी खानपाउने भाइजी महतोको जीउनी अंश हकको घर जग्गामा सर्वप्रथम मूल अशीयार बलदेव महतो र महादेव महतोबीच बराबर बण्डा गरी आफ्नो अंश हकमा परेको घर जग्गाको हकमा मात्र उक्त अंश मुद्दामा प्रतिवादी महादेव महतोले तायदाती पेश गर्नुपर्नेमा भाइजी महतोको नाममा रहेको सम्पूर्ण जग्गामा मूल अंशियार बीच बण्डा नभएकै अवस्थामा सम्पूर्ण जग्गा पछिल्लो पुस्ताका अंशियार बीचको अंश मुद्दाको तायदातीमा पेश भई उक्त जग्गामा समेत अंशबण्डा हुने गरी मिति २०५५।१२।२ मा फैसला भएको कुरा वादी बलदेव महतोले २०५६।१२।२९ मा नक्कल सारी थाहा पाई मिति २०५७।१।१५ मा सो २०५४ सालको दे. नं. १०४६ को अंशचलन मुद्दाको फैसलाउपर फिराद गरेको देखिन आयो 

५. फैसला बदर सम्बन्धित प्रचलित कानूनी व्यवस्था मुलुकी ऐन, अदालती वन्दोवस्तको ८६ नं. लाई हेर्दा फैसला, डिसमिस, खारेज भएका मुद्दामा सो फैसला, डिसमिस, मिलापत्र, खारेज भएकोले अर्काको हक समेत जाने भएको रहेछ भने जसको हक जानेछ त्यसैले थाहा पाएको पैतीस दिनभित्र यसमा हाम्रो पनि हकलाग्छ यसले मात्र हारी वा डिसमिस खारेज मिलापत्र गराएकोले हाम्रो हक जाने होइन आफ्नो हक जतिमा झगडीयाका नाउँमा नालेस दिए इन्साफ गरीदिनु पर्छभन्ने कानूनी व्यवस्था रहेको परिप्रेक्ष्यमा वादी बलदेव महतोले आफ्नो हक जाने कुरामा सो फैसलाको नक्कल सारी थाहा पाएको मितिले ३५ दिनभित्रै उक्त फैसला बदरमा अदालत प्रवेश गरेको देखिन्छ । मुलुकी ऐन अदालती वन्दोवस्तको ८६ नं. को उक्त कानूनी व्यवस्थाको मकसद दुई पक्षबीच मुद्दा चली फैसला, डिसमिस, मिलापत्र वा खारेज भएको व्यहोराले कुनै अर्को पक्षको हक गएको छ भने त्यस्तो हक जाने व्यक्तिले थाहा पाएको ३५ दिनभित्र फैसला बदरमा आउन पाउने हुन्छ । अर्थात् अ.वं. ८६ नं. को साहारा लिई अदालतमा प्रवेश गर्ने व्यक्ति अघि चलेको मुद्दाको पक्ष विपक्ष नभई कुनै तेस्रो पक्ष रहेको हुनुपर्ने भन्ने सो कानूनी व्यवस्थाको मूल सार रहेको परिप्रेक्ष्यमा यी वादी मुद्दाको पक्ष नभई तेस्रो पक्ष रहेको देखिन आएको र निजले हदम्याद भित्र नै उपचार खोजेको अवस्थामा प्रस्तुत विषयमा हदम्यादविहीन तथा प्रचलित कानूनी व्यवस्थाको विपरीत फिराद दायर गरेको भन्ने प्रतिवादीहरूको प्रतिउत्तर जिकीरसँग यो इजलास सहमत हुन सक्ने अवस्था देखिएन 

६. प्रतिवादीका छोराहरू बीच अंश मुद्दा परी तहतह फैसला भएकोमा अन्तिम फैसलाउपर बदरको दावी नलिई जिल्ला अदालतको फैसला मात्र बदरमा दावी लिएकोले पुनरावेदनको फैसला कायम रहेसम्म शुरुको फैसला मात्र बदर गरी दा.खा. दर्ता गर्ने गरेको फैसला मिलेको देखिएन भनी पुनरावेदन अदालत बिराटनगरले निर्यायाधार लिई फैसला गरेतर्फ हेर्दा प्रतिवादी र निजका छोराबीच चलेको अंश मुद्दामा देखाइएको र बण्डा लाग्ने भनी फैसलामा उल्लेख गरिएका घर जग्गा नै बण्डा नलाग्ने अर्थात् अरुको हक लाग्ने घर जग्गा समेत बण्डा लाग्ने भनी फैसला भएको देखियो । यसरी अरुको समेत हक लाग्ने सम्पत्ति बण्डा लाग्ने भनी शुरु सुनसरी जिल्ला अदालतको मिति २०५५।१२।२ को फैसला नै कानूनबमोजिमको देखिन नआएकोले सोलाई नै सदर गरेको माथिल्लो निकायको फैसला स्वतः बदर हुन्छ । यसरी दूषित तवरबाट अरुको हक लाग्ने सम्पत्ति एकलौटी हो भनी देखाई भएको फैसला जतिसुकै तहबाट भए पनि बदरभागी हुन्छ, हरेक तहमा मर्का पर्ने व्यक्ति जानु पर्दछ बदर गराउनु पर्दछ भनी ब्याख्या गर्नु र मान्नु आत्मगत हुन जान्छ । अतः पुनरावेदन अदालत विराटनगरले निर्णयाधारमा लिएको तर्क युक्तिसंगत देखिन आएन 

७. यसर्थ माथि विवेचित आधार कारण समेतबाट मिति २०२२।७।२ को बण्डापत्रबाट भाइजी महतोको जीउनी अंश भागमा परेको जग्गा बलदेव महतो र महादेव महतोले बराबर बाँडी खानुपर्ने महादेव महतोको छोरा महानन्द महतो वादी महादेव महतो र बच्चा महतो समेत प्रतिवादी भएको २०५४ सालको दे.नं. १०४६ को अंश चलन मुद्दा सुनसरी जिल्ला अदालतमा दायर गरी उक्त अंश मुद्दामा भाइजी महतोको जीउनी अंश भागमा परेको अंश समेतको तायदाती पेश गरी सो जग्गामा समेत अंश पाउने गरी अंश मुद्दाको फैसला भएबाट पुनरावेदक वादीको उक्त जग्गामा रहेको हक समेतमा आघात पुग्न गएको देखिएको र मिति २०२२।७।२ को भाइजी, बलदेव र महादेवबीच भएको बण्डापत्रको लिखत यथावत् नै कायम रहेको र सो बण्डापत्रको लिखत अन्यथा समेत भएको नदेखिदा शुरु सुनसरी जिल्ला अदालतले उक्त दे. नं. १०४६ को अंश चलन मुद्दाको मिति २०५५।१२।२ मा भएको फैसला बदर हुने ठहर्‍याएको फैसला उल्टी हुने गरी पुनरावेदन अदालत विराटनगरबाट मिति २०६३।१।३१ मा भएको फैसला मिलेको नदेखिदा उल्टी हुने ठहर्छ । पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी हुने ठहरेकोले शुरु फिराद दावी तथा पुनरावेदकको पुनरावेदन जिकरीवमोजिम शुरु सुनसरी जिल्ला अदालतको फैसला सदर हने ठहरी भाइजीको अंश जीउनीको जग्गाहरूमा यी वादी आधा अंशको हकदार देखिदा वादी दाविबमोजिम सुनसरी जिल्ला अदालतको २०५४ सालको दे. नं.१०४६ को मिति २०५५।१२।२ को फैसला बदर भई उक्त फैसलाअनुसार भाइजीको जीउनी अंश भागका जग्गा भनी मिति २०२२।७।२ को बण्डापत्रमा उल्लिखित घर जग्गाहरूमा वादीको आधा अंश हकको हदसम्म प्रतिवादीको नाममा भएको दा.खा. दर्ता समेत बदर भई वादीको नाममा हक कायम हुने ठहर्छ । सो ठहर्नाले अरुमा तपसील बमोजिम गर्नू 

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएअनुसार मिति २०२२।७।२ को बण्डापत्रमा भाइजीको जीउनी भागको घर जग्गामा दुई भागको एक भाग वादीको हक पुग्ने भई पुनरावेदन अदालत विराटनगरको मिति २०६३।१।३१ को फैसला उल्टी भई शुरु सुनसरी जिल्ला अदालतको फैसला सदर भई दावीको फैसला बदर हुने ठहरेकोले पुनरावेदन अदालत विराटनगरको फैसलाको तपसील खण्डमा उल्लिखित लगत कायम नरहने हुँदा शुरु जिल्ला अदालतको मिति २०५८।१०।१५ को फैसलाको तपसील खण्डबमोजिमको सो लगत कट्टा गर्नु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाउनू ––––

यसमा हक कायम हुने ठहरी फैसला भएकोले हक कायमतर्फ कोर्टफी ऐन, २०१७ को दफा ५ को खण्ड (श) बमोजिम हककायम ठहरेको घर जग्गाको प्रचलित मूल्यअनुसारको बिगो कायम गरी सोमा लाग्ने कोर्टफी वादीबाट असूल गरी कानूनबमोजिम प्रतिवादीबाट भराई दिनू भनी शुरुमा लेखी पठाई दिनू ––

वादी दावीको फैसला बदर हुने ठहरेकोले शुरु फिराद दावीमा उल्लिखित भाइजी महतोको जीउनी अंश भागमा परी निजको नाममा दर्ता रहेको जग्गाहरू २०५४ सालको दे. नं. १०४६ अंश मुद्दाको फैसलाबाट भाइजीको अंश जीउनीको घर जग्गाहरूमा वादीको आधा अंश हकको हदसम्म प्रतिवादीको नाममा भएको दा.खा. दर्ता बदर भई वादीको हक कायम हुने ठहरेकोले प्रचलित कानूनबमोजिम भाइजीको अंश जीउनीको घर जग्गामा आधा अंश हकको हदसम्म वादीको नाममा दर्ता गर्न सम्बन्धित निकायमा लेखी पठाउनु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाउनू ––

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गर्नू –––

            उक्त रायमा सहमत छु 

न्या.कमलनारायण दास

इति संवत् २०६८ साल बैशाख २७ गते रोज ३ शुभम्

इजलास अधिकृत (उपसचिव)     ध्रुबराज त्रिपाठी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु