निर्णय नं. ४०८६ - जग्गा हक सफा

निर्णय नं. ४०८६ ने.का.प. २०४७ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४५ सालको दे.पु.नं. ८३९
फैसला भएको मिति: २०४७।१।२५।३ मा
पुनरावेदक/प्रतिवादी: पो.न.पं. वा.नं. ९ बस्ने जगतमान माकाजू
विरुद्ध
विपक्षी/वादी: ऐ.ऐ. बस्ने हरिकृष्ण बास्तोला
मुद्दा : जग्गा हक सफा
(१) जग्गा के कति कारणले सन्धीसर्पन पर्दछ भन्ने सम्बन्धमा सबूद प्रमाण बुझी निर्णय गरी ल्याउनु भनी अदालतमा जान सुनाउनु पर्ने ।
(प्रकरण नं. १२)
पुनरावेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री उपेन्द्र केशरी न्यौपाने
फैसला
न्या.पृथ्वीबहादुर सिंह
१. न्या.प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(७) अन्तर्गत पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट यस प्रकार छ ।
२. पिता टिकाराम आमाहरु खिमकुमारी, सीतादेवी, छोराहरु म हरिकृष्ण, श्यामकृष्ण, रामकृष्ण, अनुज, असिम समेतका आठ अंशियार मिति २०३९।४।६ मा छुटी भिन्न भई जग्गा जमीन बण्डा गर्दा पिता टिकारामका नाउँमा दर्ता पूर्जा भएको आवा गा.पं. वार्ड नं. २ को कि.नं. ९५९ को पाटनवेशी भन्ने खेत म समेतका ५ भाइको अंशमा परेको सो कि.नं. ९५९ कित्ताफोड भई मुहान देखि क्रमश कि.नं. १०४१ रामकृष्ण कि.नंं १०४२ हरिकृष्ण, कि.नं. १०४३ श्यामकृष्ण, कि.नं. १०४४ अनुज र कि.नं. १०४५ असीमका बण्डामा ठाडा चिरा मिलाई कित्ताकाट भएका छन् । म हरिकृष्ण बास्तोला सामाजिक सेवा र व्यवसायका कारणले काठमाडौं बाहिर बाहिरै धेरै बस्ने हुँदा पोखरा घरमा नआएको धेरै समय भएको थियो यही ०४४ साल भाद्र महिनामा चाड पर्व परेकोले पोखरा आएको थिएँ भाई रामकृष्णले बाबु आमा र दाजुभाइसंग रिसाई निजको अंशबण्डामा परेको पाटनवेशी भन्ने खेत उक्त कि.नं. १०४१ क्षेत्रफल ३–०–२–० को मुहानैको खेत कित्ता जग्गा विक्री गरे अरे भन्ने कुरा २०४४।५।१० गते दाजु भाइ इष्ट मित्रले भनेकाले हो हैन भनी मिति ०४४।५।११ मा मालपोत कार्यालय कास्कीमा गई बुझी राजीनामाको नक्कल सारी लिएपछि मात्र भाई रामकृष्णले आफ्नो बण्डाको खेत जग्गा जगतमान माकाजुलाई बिक्री गरी रु. १,३००००।– एक लाख तीस हजार समेत अंक राखी ०४४।१।११।६ मा राजीनामा पास गरेको कुरा थाहा हुन आयो । साविक कि.नं. ९५९ को जग्गामा भाइ रामकृष्णको कि.नं. १०४१ को जग्गा र त्यसपछि अरु भाइहरुको जग्गा परेकोले कि.नं. १०४१ को जग्गाबाट हामी सबैले मुहान खोली समुच्चै जग्गा सिंचाई गरी आएका छौं र गर्नु पर्दछ । आजसम्म साझा गोस्वारा खेती गरी आएका छौं र एउटै कम्पाउण्ड पर्खाल भित्र छ र मुहान पनि एउटै छ । मुहानकै खेत तेश्रो अर्को व्यक्तिले लिई दिंदा मेरो खेतमा कुलो पानी लैजान बाधा पर्ने कम्पाउण्ड पर्खाल भत्काई दिएमा खेती लगाउन र वस्तु भाउबाट जोगाउन बाधा पार्ने भई सन्धीसर्पन गरी अत्यन्तै मर्का पर्ने भएकोले २०४४।५।११ गते थाहा पाएपछि जगतमान माकाजुसंग गई भाइ रामकृष्णबाट तपाइले राजीनामा गरी लिनु भएको खेत हकसफा गर्न दिनुहोस भन्दा हक सफा गर्न नसक्ने गरी ३ रोपनी खेतको एकलाख तीस हजार राखी लिखत गरेको छु बुझ्दिन तिमीलाई सन्धीसर्पनमा अप्ठयारो परे पूरै खेत म किनी दिनेछु भनी कुटील कुरा गर्नु भयो । विपक्ष जगतमान माकाजुले घरसारमा थैली बुझी हक सफा गरिरदिन मन्जूर नगर्नु भएकोले मुलुकी ऐन रजिष्ट्रेशनको ३५ नं. बमोजिम रु एकलाख तीस हजारको रजिष्ट्रेशन दस्तूर रु ९,१००।– समेत एकलाख उन्चालीस हजार एकसय रुपैयाँ मालपोत कार्यालय कास्कीको ने.रा. बैंकमा रहेको धरौटी खाता नं. ५०९ मा धरौट राखी दर्खास्त गर्न आएको छु । रामकृष्ण बास्तोला दिने जगतमान माकाजु लिने गरी कास्कीमा मा.पो.का. बाट २०४४।१।११ मा रजिष्ट्रेशन भएको कि.नं. १०४१ को जग्गा थैली बुझ्न लगाई निखनाई पाउँ भन्ने समेत हरिकृष्ण बास्तोलाको दर्खास्त ।
३. दरखास्तवाला हरिकृष्णले मेरा उपर हकसफा गरिपाउँ भनी दिएको उजुरी दर्खास्त सुने मैले विपक्षीको भाइ रामकृष्णबाट निजका भागको कि.नं. १०४१ को पूर्व विपक्षी हरिकृष्णको साँध पश्चिम म अग्नीलाल प्रेमलालको साँध उत्तर कुलो र बाटो दक्षिण कुलो र बन्धनी डाँडा जाने गोरेटो बाटो यति ४ किल्ला भित्रको रोपनी ३–०–२–० को घडेरी जग्गा रु १,३०,०००।– मा मिति २०४४।१।११ मा कास्की मालपोत कार्यालयबाट राजीनामा पारित गरी २०४४।१।१३ मा नामसारी दा.खा. गरी ज.ध.प्र. पुर्जा समेत लिएको हुँ सर सल्लाहद्वारा मौकैमा थाहा पाई घरमा रहे भएको व्यक्तिले झुठ्ठा कुरा लेखी मैले लिएको जग्गाबाट विपक्षी समेतका अंशियारले आ–आफ्नो खेतमा पानी सिंचाई गर्ने गर्दै आई रहेका र हक निखनी लिन नपाएमा निजहरु समेतको जग्गामा पानी सिंचाई नभर्ई सुख्खा लाग्ने भन्ने कुरा झुठ्ठा छ । विपक्षको खेतको पानीको छुट्टै मुहान र छुट्टै बाटो भएको आदि जुनसुकै दृष्टिकोणले पनि सो मैले लिएको जग्गा विपक्षलाई सन्धीसर्पन पर्दैन तसर्थ थैली बुझी मैले राजीनामा लिएको पाटन बेशी भन्ने कि.नं. १०४१ को रोपनी ३–०–२–० घर घडेरी जग्गा निखनाई दिन मन्जूर छैन सबूद प्रमाण बुझी विपक्षको झुठ्ठा दर्खास्त लेख दावीबाट अलग फुर्सद गराई पाउँ भन्ने समेत जगतमान माकाजुको बयान जिकिर ।
४. विवाद परेको कि.नं. १०४१ को जग्गा दर्खास्तवालाको दावी अनुसार कि.नं. १०४२ को जग्गा समेत पानी लैजाने कुलाको मुहान जोडिएको एक चकला मिलानको साँध जोडिएको जग्गा देखिनाले यसै कार्यालयमा रहेको राजीनामा बण्डापत्र, बक्स ट्रेश समेतका कागजबाट दर्खास्तवाला मुलुकी ऐन लेनदेन व्यवहारको ११ नं. बमोजिमको सन्धीसर्पन गर्ने हकवाला व्यक्ति देखिएको र अरु प्रमाण बुझी रहनु पर्ने अवस्थाको नदेखिँदा अड्डामा रहेको श्रेस्ताबाटै निखनाई दिए हुने हुँदा रजिष्ट्रेशनको ३५ नं. बमोजिम उल्लेखित कि.नं. १०४१ पूरै कित्ता जग्गा दर्खास्तवालाका नाउँमा हक निखनाई दिने ठहर्छ भन्ने मालपोत कार्यालय कास्कीको ०४४।९।५ को फैसला ।
५. लेनदेन व्यवहारको ३५ नं. लाई समेत दृष्टिगत गर्दा प्रमाण बुझी इन्साफ दिनु पर्ने कुरा प्रष्ट छ । सो अनुसार अदालतमा जानुस भनी पक्षलाई सुनाउनु पर्नेमा सो नगरी जग्गाको नक्सा एवं अन्य प्रमाण बुझ्ने काम मा.पो.का. लाई नहुँदा नहुँदै निर्णय गर्नु रजिष्ट्रेशनको ३५ नं. को विपरीत छ । लेनदेन व्यवहारको ११ रजिष्ट्रेशनको ३५ नं. जग्गा आवाद गर्नेको ४ नं. तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेत प्रतिकूल भएको हुँदा सो फैसला उल्टी गरी २०४४।१।११ को राजीनामा लिखत सदर गरिपाउँ भन्ने जगतमान माकाजुको ग.अं.अ. मा परेको पुनरावेदन ।
६. हरिकृष्ण बास्तोलालाई सन्धीसर्पन पर्ने हकवालाको हैसियतले कि.नं. १०४१ को जग्गा निखनी लिन पाउने भनी मा.पो.का. कास्कीको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मिति २०४५।३।५ को गण्डकी अञ्चल अदालतको फैसला ।
७. गण्डकी अञ्चल अदालतको फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत क्षेत्रीय अदालतमा परेको अनुमति निवेदनपत्र ।
८. न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(४) को अवस्था विद्यमान नहुँदा पुनरावेदनको अनुमति दिन मिलेन भन्ने समेत प.क्षे.अ. पोखराको एक न्यायाधीशको इजलासको आदेश ।
९. सबूद प्रमाण बुझी न्यायिक निर्णय गर्ने अधिकार मालपोत कार्यालयलाई नभएकोमा ग.अं. अदालतले सदर गर्ने गरी गरेको फैसलामा अनुमति दिन नमिल्ने भनी प.क्षे.अ. बाट भएको आदेश त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत जगतमान माकाजुको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
१०. पश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेशमा मुलुकी ऐन रजिष्ट्रेशनको ३५ नं. को व्याख्यात्मक त्रुटी देखिन आयो । अतः न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत २०४५।११।१९ मा संयुक्त इजलासको आदेश ।
११. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदक तर्फबाट बहसको लागि उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विपक्षी तर्फबाट वहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपानेले गर्नु भएको वहस जिकिर समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी शुरु इन्साफ तथा प.क्षे.अ. ले अनुमतिको आदेश नदिने गरेको आदेश मिले नमिलेकोमा निर्णय दिनु पर्ने देखियो ।
१२. निर्णयतर्फ विचार गर्दा यस्मा भाइ रामकृष्णले पाटन बेसी भन्ने खेत कि.नं. १०४१ क्षेत्रफल ३–०–२–० को मुहान खेत जगतमान माकाजुलाई राजीनामा गरी दिएछन् उक्त जग्गा आजसम्म साझा गोश्वारा खेती गरी आएका छौं । एउटै कम्पाउण्ड पर्खाल भित्र छ र मुहान पनि एउटै छ, मुहानको खेत अर्को व्यक्तिले लिई दिंदा कुलो पानी लैजान बाधा पर्ने र खेती लगाउन र वस्तु भाउबाट जोगाउन समेत बाधा पर्ने भई सन्धीसर्पन भएको हुँदा र घरसारमा निखन्न दिन विपक्षीले इन्कार गरेको हुँदा जगतमान माकाजुलाई कि.नं. १०४१ को जग्गाको थैली बुझ्न लगाई निखनाई पाउँ भन्ने समेत हरिकृष्ण बास्तोलाको दर्खास्त परेकोमा विपक्षीको पानीको मुहानको छुट्टै छ र बाटो भएको हुँदा सन्धीसर्पन पर्ने हैन मैले राजीनामा लिएको घर घडेरी जग्गा निखनाई दिन मन्जूर छैन भन्ने समेत विपक्षीको बयान जिकिर भएकोमा कि.नं. १०४१ को जग्गा दर्खास्तवालाका नाउँमा निखनाई दिने ठहर्छ भन्ने मा.पो.का. कास्कीको फैसलालाई गण्डकी अञ्चल अदालतले सदर गरेको देखिन्छ । मु. ऐन रजिष्ट्रेशनको महलको ३५(२) नं. मा निखन्न दिनुपर्नेले निखन्न दिनु नपर्ने कारण देखाएमा प्रमाण बुझी इन्साफ गर्न दिनु पर्ने कुरा आए ३५ दिनभित्र नालेश गर्नु भनी सुनाई दिनु पर्दछ भन्ने व्यवस्था भैरहेको पाइन्छ । पुनरावेदक प्रतिवादीले मालपोत कार्यालय कास्कीमा उपस्थित भई बयान गर्दा दर्खास्तवालालाई यो जग्गा सन्धीसर्पन पर्दैन हक निखनी लिन नपाएमा निजहरु समेतको जग्गामा पानी सिंचाई नभई सुख्खा लाग्ने भन्ने कुरा झुठ्ठा हो भन्ने समेत बयान भएपछि पुनरावेदक प्रतिवादीको जग्गामा पानी सिंचाई नभई सुख्खा लाग्ने भन्ने कुरा झुठ्ठा हो भन्ने समेत के कति कारणले सन्धीसर्पन पर्दछ भन्ने सम्बन्धमा सबूद प्रमाण बुझी निर्णय गर्नु पर्ने देखिन आउँछ । सबूद प्रमाण बुझी निर्णय गरी ल्याउनु भनी अदालतमा जान सुनाउनु पर्नेमा त्यस्तो नगरी आफैंले सन्धीसर्पन पर्ने भनी निर्णय फैसला गरेको मा.पो. कार्यालय कास्कीको फैसलालाई सदर गर्ने गरेको गण्डकी अंचल अदालतको फैसला र पुनरावेदन गर्ने अनुमति प्रदान नगरेको प.क्षे.अ. पोखराको आदेश समेत गल्ती भई बदर हुने ठहर्छ । अब कानुन बमोजिम गर्नु भनी पक्ष विपक्षीलाई तारेख तोकी मिसिल मालपोत कार्यालय कास्कीमा पठाई नियमानुसार गर्नु ।
उक्त रायमा म सहमत छु ।
न्या हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४७ साल बैशाख २५ गते रोज ३ शुभम् ।