शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९३६ - ज्यान मार्ने उद्योग

भाग: ५० साल: २०६५ महिना: जेष्ठ अंक:

निर्णय नं.७९३६      ने.का.प. २०६५      अङ्क २

 

सर्बोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला

सम्वत् २०६१ सालको फौ.पु.नं. ३३५८

फैसला मितिः २०६४।७।२६।२

 

मुद्दाः ज्यान मार्ने उद्योग ।

 

पुनरावेदक वादीः प्रेमबहादुर पौडेलको जाहेरीले नेपाल सरकार

बिरुद्ध

प्रत्यर्थी प्रतिवादीः जिल्ला इलाम, आमचोक गा.वि.स. वडा नं. ७ बस्ने रामबहादुर पौडेल

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री प्रेमराज ढकाल

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री भिमेन्द्रबहादुर कार्की

मा.न्या. श्री दुर्गाप्रसाद उप्रेती

 

§  ज्यान मार्ने उद्योगको कसूर हुनका लागि पीडितलाई लागेको चोट वा घाउको मात्रा र परिमाण महत्वपूर्ण र निर्णायक तत्व हुने नभई ज्यान मार्ने मनसायले प्रहार गरिएको र ज्यान मर्न नपाएको वाधक तत्वको विद्यमानता थियो थिएन भन्ने नै महत्वपूर्ण हुन आउने ।

§  प्रहारकर्ताको मनसाय र नियत छुट्याउने आधार उसको कार्य र अपराधिक क्रियावाट नै पत्ता लगाउनु पर्ने ।

§  ज्यान सम्वन्धी महलको १५ नं. को अवस्था कार्य र अपराधिक क्रिया प्रतिवादीवाट देखिन आएको  अवस्थामा प्रतिवादीको ज्यान मार्ने मनसाय थिएन भनी भन्न नसकिने साथै लागेको घाउको परिमाण र मात्रा सानो प्रकृति र मर्न नसक्ने प्रकृतिको छ भन्ने आधारमा प्रतिवादीको ज्यान मार्ने मनसायको तथा अवरोध पुर्याउने तेस्रो तत्वको विद्यमानतामा निजलाई कसूरवाट उन्मुक्ति दिन सकिने अवस्था नदेखिने ।

(प्रकरण नं.६)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता ऋषिकेश वाग्ले

प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता गोविन्दवहादुर आले मगर

अवलम्वित नजीरः

 

फैसला

            न्या.रामकुमारप्रसाद शाहः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः

            मिति २०५९।४।२९ गतेको दिन म छिमेकी काजी राईलाई साथमा लिई जेठा दाजुसंग ठेक्कामा लिएको जग्गामा रहेको अलैचीवारीमा हावापानीले लडाएको रुख काट्न गएको थिए । ऐ दिनको अ. ३० बजेको समयमा मेरो दाजु नाताका रामबहादुर पौडेल हातमा खुर्पा समेत वोकी आई मलाई ज्यानै लिने नियतबाट ढुंगा तथा खुर्पा समेतले प्रहार गरी मेरो टाउको समेतमा काटी चोट पुर्‍याएको काट्दै गर्दा गुहारको आवाज सुनी तत्काल घटनास्थलमा ठालुमान पौडेल आई प्रतिवादीको हातबाट खुर्पा समेत खोसी दिएको कारण मेरो ज्यान बच्न गएको हो भन्ने समेत ब्यहोराको जाहेरी दरखास्त ।

            जिल्ला इलाम आमचोक गा.वि.स. वार्ड नं. ७ स्थित लुङ सुङ दाङ बस्ने ठालुमान पौडेलको अलैचीवारीबाट पश्चिम ऐ मा रहेको नैनबहादुर पौडेलका अलैचीवारीबाट पुर्व ऐमा रहेको नरबहादुर पौडेलको मकैवारीबाट दक्षिण, ऐ मा रहेको डम्बरबहादुर पौडेलको अलैचीवारीबाट उत्तर यति चार किल्ला बीचमा रहेको रहनबहादुर पौडेलको अलैचीवारीबाट बिचमा प्रतिवादीले जाहेरवालाको ज्यानै लिने गरी कुटपिट गरेको घटनास्थल प्रकृति मुचुल्का ।

            जाहेरवालाले जाहेरीमा किटान गर्दा लेखाएका प्रतिवादी रामबहादुर पौडेलले आमालाई झुक्याई १५ रोपनी जग्गा पास गरी लिएको र सो थाहा पाई जाहेरवालाले सो जग्गा सबै भाइहरुलाई फिर्ता गराई दिएको समेत रीस इवीको कारण वारदातको अवस्थामा जाहेरवालाको ज्यान लिने नियतबाट खुर्पा समेत प्रहार गरी काटेको रहेछ । मौकामा ठालुमान पौडेल नपुगेको भए जाहेरवालाको ज्यान बच्ने उपाय थिएन भन्ने समेत ब्यहोराको प्र.ना.नी गंगा कटुवालको प्रतिवेदन ।

            प्रेमबहादुर पौडेलको टाउको समेतमा गहिरो चोट परेको भन्ने समेत व्यहोराको घा जाँच फाराम रिपोर्ट ।

            मिति २०५९।४।२९ गतेका दिन दिउसो अं. ३.३ बजेको समयमा आफ्नो वारी तर्फ गएको अवस्थामा सिमानामा रहेको रुख प्रेम वहादुर पौडेलले काटी रहेको देखि नकाट्न भन्न समेत नमानेको र निज प्रेम वहादुर पौडेलले मलाई पहिलेबाटै ज्यादै सताएको आमाले दिएको जग्गा पनि फिर्ता गराएको मलाई झुठ्ठा मुद्दामा फसाएको समेत रिस इविको कारण मैले हातमा वोकी राखेको खुर्पाले प्रेम वहादुर पौडेलको टाउकोमा प्रहार गरे । निजले छेक्दा छेक्दै निजको निधार नजिक टाउकोमा काटीन गयो ।प्रहार नछेकेको भए गहिरो चोट पर्ने थियो । दोश्रो प्रहार गर्न खोज्दा निजले खुर्पा समाती प्रहार गर्न दिएनन् । केहिवेरपछि गाउले आएकोले आफ्नो उद्देश्य पुरा गर्न सकिन । ठालुमान पौडेल समेत नआएको भए निजको ज्यान बच्ने थिएन भन्ने समेत व्यहोराको प्र. रामबहादुर पौडेलले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।

            मिति २०५९।४।२९ गतेका दिन अं. ३.३० बजेको समयमा प्रेम वहादुर पौडेल र काजी राई अलैचीवारीमा काठ काटी रहेक अवस्थामा प्रतिवादी राम वहादुर पौडेल गई पहिले ढुंगाले हिर्काई केही पर गएपछि लखेट्दै गई हातमा वोकेको खुर्पाले समेत प्रहार गरी टाउको समेतमा काटेको रामबहादुर पौडेलले प्रेम वहादुर पौडेलको ज्यान लिने नियतबाट लडाई टाउको समेतमा काटीरहेको अवस्थामा ठालु मान पौडेल समेतले थाहा पाई तत्कालै घटनास्थलमा पुगी प्रतिवादीको प्रहार छेकेको कारण जाहेरवालाको ज्यान बच्न गएको हो । ठालुमान पौडेल मौकामा नपुगेको भए जाहेरवालाको ज्यान जाने थियो । निज प्रतिवादीले जग्गा विषयको पूर्व रीसइविको कारण ज्यानै लिन लागेको रहेछ भन्ने समेत व्यहोराको बुझिएका डम्बर वहादुर पौडेल, गनबहादुर पौडेल, होमबहादुर पौडेल, भवानीमाया पौडेल, दलबहादुर पौडेल, हेमबहादुर पौडेल समेतको पृथक पृथक कागज ।

            मिति २०५९।४।२९ गतेको दिन म प्रेमबहादुर पौडेलको अलैचीवारीमा गई लडेका रुखहरु काटी रहेको अवस्था दिनको ३.३० बजेको समयमा रामबहादुर पौडेल हातमा खुर्पा समेत लिई आई प्रेमबहादुर पौडेललाई ढुंगाले हिर्काए । निज उठी भागे । भागेको देखि म पनि अर्को दिशा तर्फ भागे केहि पर पुगेपछि रामबहादुरले प्रेम वहादुर पौडेललाई लडाई खुर्पाले काट्न लागे । मैले हार गुहार गरेकाले ठालुमान समेत मौकामा आएको कारण प्रेम वहादुरको ज्यान बच्न गएको हो भन्ने समेत व्यहोराको काजी राईको कागज ।

            मिति २०५९।४।२९ गते ३.३० बजेको समयमा रहरबहादुर पौडेलबाट प्रेम वहादुरले ठेक्कामा लिएको अलैचीवारीमा हार गुहार भनी कराएको सुनिएको र काजी राई समेत चिच्याउदै आएको देखि घटनास्थल तर्फ जाँदा प्रेम वहादुर पौडेललाई राम वहादुर पौडेलले लडाई खुर्पाले काट्न लागेको देखि खुर्पा खोसेको हुँ । म वारदातको अवस्थामा नपुगेको भए प्रतिवादीले जाहेरवालाको ज्यानै लिने थिए । जग्गा विषयको विवाद रीसइविको कराण प्रतिवादीले जाहेरवालाको ज्यान लिन लागेको रहेछ भन्ने समेत व्यहोराको ठालुमान पौडेलको कागज ।

            मिति २०५९।४।२९ गतेको दिन जाहेरीमा किटान गरी हाल पक्राउ परी आएका प्र. रामबहादुर पौडेलले जाहेरवाला प्रेम वहादुर पौडेलको ज्यानै लिने गरी खुर्पा जस्तो धारीलो हतियार प्रहार गरी काटेको हो वारदातको अवस्थामा ठालुमान पौडेल नपुगेको भए जाहेरवालाको ज्यान बच्न पाउँने थिएन । ठालुमान पौडेलक उपस्थितको कारण जाहेरवालाको ज्यान बच्न गएको रहेछ । जग्गा विषयमा रीसइवि लिई मार्ने सम्मको उद्योग गरेको रहेछ भन्ने समेत व्यहोराको बस्तुस्थिति मुचुल्का ।

            लिलामाया पौडेलको नाममा दर्ता रहेको जग्गा राजिनामा पारित भई रामबहादुर पौडेलको नाममा दा.खा. भएको र पछि अंश बण्डाले प्रेम वहादुर पौडेल समेतको नाममा दा.खा. भई गएको श्रेस्तावाट देखिएको भन्ने मालपोत कार्यालय इलामको पत्र ।

            पीडित जाहेरवालाले प्रतिवादीले झुक्याई आफ्नी आमाबाट आफ्नो नाममा पास गराएको जग्गा फिर्ता गराएको साथै जाहेरवाला र प्रतिवादी बीच जग्गाको सिमाना विषयमा विवाद रहेको समेतको कराण र रिसइविबाट प्रतिवादी रामबहादुर पौडेलले ज्यान मार्ने उद्देश्यले ढुगा र खुर्पा जस्ता घातक हतियारले पीडित जाहेरवालालाई प्रहार गरी शख्त घाइते तुल्याई मुलुकी ऐन ज्यान सम्बन्धि महलको १ नं. को कसूर अपराध गरेको प्रमाणित हुन आएकोले निज प्रतिवादी रामबहादुर पौडेललाई ऐ १५ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोगपत्र ।

            मिति २०५९।४।२९ गते म दिन भर आफ्नै घरमा वसेको थिए । सो दिन अलैचीवारीमा गइन । ठालुमान पौडेलको घरमा म समेतले पेल्ट्रीक सेट राखेको र उक्त पेल्ट्रीकसेट समुहगत रुपमा २१ घर मिली राखेकोमा बैंकको रुपैया तिर्न बैठक हुँदा मैले प्रेमवहादुरलाई पैसा निकाल भन्दा जान्दीन भनी विवाद भई हामी बिचमा झगडा भयो, पहिलो काकाको छोरा डम्बरबहादुर पौडेलले मलाई लौराले कुटे त्यसपछि प्रेम वहादुरले खुर्पाले घुडा मुनी काटेकोले वेहोस भए । होस खुल्दा प्रेम वहादुर त्यहाँ थिएनन् । मलाई प्रहरीले कुटपिट गरी मार्ने घर देखाई वयानमा सहि गर्न लगाएका हुन् । वयानको व्यहोरा वनावटी झुठा मात्र हो । मैले प्रेम वहादुरलाई काटे कुटेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी राम वहादुर पौडेलले अदालमा गरेको बयान ।

            आदेशानुसार बुझिएका जाहेरवाला प्रेम वहादुर पौडेल, बुझिएका मानिसहरु काजीराई, ठालुमान पौडेल, होम वहादुर पौडेल, रुपनारायण अधिकारी, दल वहादुर पौडेल, डम्वर वहादुर पौडेल, नैन सिंह पौडेल तथा प्रतिवादीहरुका साक्षी बम वहादुर कार्कीले अदालतमा गरेको बकपत्र मिसिल संलग्न रहेको छ ।

            आदेशानुसार बुझिएका डा. पियुस दाहालले गरेको बकपत्र मिसिल संलग्न रहेको छ ।

            प्रतिवादी राम वहादुर पौडेललाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १५ नं बमोजिम ६ बर्ष कैद हुने ठहराई शुरु इलाम जिल्ला अदालतबाट मिति २०६०।३।२९ मा भएको फैसला ।

            शुरु इलाम जिल्ला अदालतले मलाई हराई अभियोग दावी बमोजिम ६ बर्ष कैद सजाय हुने गरी गरेको फैसला मैले गरेको बयान कागज तथा साक्षी सरजीमनले बकेको कुरालाई वास्ता नगरी गएको फैसला कानूनी त्रुटीपूर्ण हुँदा सो फैसला वदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादी राम वहादुर पौडेलको पुनरावेदन पत्र ।

            अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी समेत झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको मिति २०६०।११।२४ को आदेश ।

            प्रतिवादी राम वहादुर पौडेलले पीडित जाहेरवाला प्रेम वहादुर पौडेल माथि निजकै ज्यानै लिने नियत राखी निजलाई कुटपिट काट गरेको हो भनी ठहर हुन सक्ने अवस्था नरहेकोमा प्रतिवादी राम वहादुर पौडेलले जाहेरवाला प्रेम वहादुर पौडेलको ज्यान मार्ने उद्योग गरेको ठहराई निज राम वहादुरलाई मुलुकी ऐन ज्यान सम्बन्धि महलको १५ नं बमोजिम ६ बर्ष कैद गर्ने गरी इलाम जिल्ला अदालतले मिति २०६०।३।२९ मा गरेको फैसला नमिलेको हुँदा उल्टी भै सो अभियोग कसूरबाट पुनरावेदक प्रतिवादी राम वहादुर पौडेलले सफाई पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत इलामको मिति २०६१।२।२५ को फैसला ।

            पीडित र प्रतिवादीका बीचमा जग्गा सम्बन्धी विवाद भएको कारण प्रतिवादीको आक्रमण ज्याने रिसइबीबाट भएको हो । प्रतिवादीले पहिला ढुंगाले प्रहार गरी पछाडि जोखीमी हतियारले पिछा गरी प्रहार गरेको तथ्य प्रमाणबाट पुष्टी भएको छ । तेश्रो व्यक्तिको अनुपस्थित भएमा पीडितको ज्यान जाने अवस्थामा प्रमाणको मुल्यांकन नै नगरी प्रतिवादीले सफाई पाउने गरी भएको पुनरावेदन अदालत इलामको फैसला कानूनी त्रुटिपूर्ण हुँदा अभियोग दावी अनुसार प्रतिवादीले सजाय पाउने पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्दछ भन्ने नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

            यसमा वारदातमा उपस्थित ठालुमान पौडेलको बकपत्रबाट निजले प्रतिवादीको खुर्पा खोसेको भन्ने उल्लेख भएकाले थप प्रहार हुनबाट रोकिएको भन्ने देखिएको अवस्था र पीडितको खप्परमा काटेको घाउ देखिएको, सो प्रतिबादीकै प्रहारबाट भएको भन्ने हुँदा यस स्थितिमा ज्यान मार्ने उद्योग तर्फ सफाई दिएको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण भै फरक पर्ने हुँदा छलफलका निमित्त अ.बं. २०२ नं. बमोजिम बिपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।

            २.    नियम बमोजिम दैनिक पेशी सुचिमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितका सम्पूर्ण मिसिल अधययन गरियो । पुनरावेदक तर्फबाट उपस्थित बिद्वान उपन्यायाधिवक्ता श्री ऋषिकेश वाग्लेले पीडित र प्रतिवादी दाजुभाई नाताका व्यक्ति भई घरायसी घर जग्गाको विवाद रहेको र सोही कारणबाट प्रतिवादीले रिसइवी राखेको थियो भन्ने तथ्य बकपत्रबाट पुष्टी हुन आएको हुँदा प्रतिवादीको आक्रमण ज्यानै लिने मनसाय साथ भएको तथ्य प्रमाणबाट पुष्टी भएको छ । प्रतिवादीले ढुंगाले हानेपछि पीडित भाग्दा खेद्दै गई खुर्पाले हानेको र तेश्रो पक्षको उपस्थितीले पीडित बाचेको हुँदा प्रतिवादीलाई सफाई दिनेगरी भएको पुनरावेदन अदालत इलामको फैसला उल्टी गरी प्रतिवादीले अभियोग दावी अनुसार सजाय पाउनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

            ३.    त्यसैगरी प्रतिवादीको तर्फबाट उपस्थित बिद्वान अधिवक्ता श्री गौवहादुर आलेमगरले प्रतिवादी दाजु नाताका र पीडित भाई नाताका व्यक्ति हुन । निजहरु बीच घर जग्गाको विवाह रहेकोमा सो विवाद समाधान भइसकेको छ । एकै आँतका दाजुभाई बीच ज्यानै मार्ने उद्योग सम्मको मनसाय प्रतिवादीमा हुन सक्तैन । इलाम अस्पतालको घा जाँच प्रतिवेदनले पीडितमा लागेको घाऊलाई मान्छे नमर्ने बर्गमा राखेको छ । तसर्थ पुनरावेदन अदालत इलामले प्रतिवादीलाई आरोपित अभियोगबाट सफाई दिने गरेको फैसला मिलेकै हुँदा सोही सदर हुनुपर्दछ भनी बहस जिकिर प्रस्तुत गर्नुभयो ।

            ४.    उपर्युक्त बिद्वान कानून व्यवसायीहरुको बहस जिकिर समेत सुनी इन्साफ तर्फ बिचार गर्दा पुनरावेदन अदालत इलामबाट भएको फैसला मिले नमिलेको के रहेछ ? र पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्तैन ? भन्ने सम्बन्धमा नै ठहर निर्णय दिनुपर्ने देखिन आयो ।

            ५.    तत्सम्बन्धमा हेर्दा प्रतिवादी रामबहादुर पौडेलले जाहेरवाला प्रेम वहादुर पौडेललाई ज्यान मार्ने उद्योग गरेकोले प्रतिवादीलाई ज्यान सम्बन्धी महलको १ नं. बिरुद्धको कसूरमा ऐ महलको १५ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको अभियोग दावीमा शुरु इलाम जिल्ला अदालतले अभियोग दावी अनुसार सजाय हुने ठहराई भएको फैसलामा चित्त नबुझी प्रतिवादीको पुनरावेदन पत्र पुनरावेदन अदालत इलाममा पर्दा सो अदालतले प्रतिवादीलाई दिए उपर वादीको चित्त नबुझी यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।

६.    निर्णयतर्फ बिचार गर्दा, जाहेरवाला र प्रतिवादी सहोदर दाजुभाई रहेको र निजहरुकी आमाका नाममा रहेको जग्गा एकलौटी खाने गरी प्रतिवादीले आफ्नो नाउमा गराएकोमा सो जग्गा पीडितले फिर्ता गराएको रिसइवीले मिति २०५९।४।२९ गते खेतमा काम गरी रहेको समयमा प्रतिवादीले जाहेरवालालाई ढुंगाले हान्दा जाहेरवाला भागेकोमा प्रतिवादीले लखेट्दै गई खुर्पा जस्तो जोखिमी धारिलो हतियारले पीडितको टाउकोमा प्रहार गरेको र पुनः प्रहार गर्न खोज्दा खुर्पाको बिंड जाहेरवालाले समातेको र कराएपछि संगै भएका काजी राईले र तत्काल आई पुगेका ठालुमान पौडेलले खुर्पा खोसेको कारण प्रतिवादीको ज्यान बच्न गएको तथ्य जाहेरी दरखास्त, सोही मिलनको पीडितको अदालतमा भएको बकपत्र एवं प्रतिवादीले अनुसंधान अधिकारी समक्ष गरेको बयानवाट समेत देखिन आउँछ ।  जाहेरवालाले पहिले देखिनै आफूलाई सताएकोले ढुंगा टिपी ढाडमा हानेको त्यसपछि खुर्पाले एक पटक हानी अर्को पटक प्रहार गर्न खोज्दा खुर्पा समाती प्रहार गर्न दिएनन भनी कसूरजन्य कुरालाई स्वीकार गरी प्रतिवादीले वयान गरेका छन । साथै घटनास्थलमा संगै रहेका काजी राईको खुर्पा खोस्ने ठालुमानको अदालतमा भएको वकसपत्रवाट जग्गा सम्वन्धी  बिवाद हुँदा ज्यान मार्ने उद्देश्यले प्रतिवादीले जाहेरवालालाई प्रहार गरेको र खुर्पा आफूले समाती दिएको भनी आफ्नो वकपत्रमा उल्लेख गरेका छन । त्यस्तै डम्वरवहादुर लगायतका व्यक्तिले खुर्पा प्रहार गर्न नरोकेको भए ज्यान मर्न सक्थ्यो भनी प्रतिवादीले ज्यान मार्ने उद्योग गरेको भनी आफ्नो वकपत्रमा व्यक्त गरेको पाइन्छ । मिसिल संलग्न पीडितको घा जाँच केश फाराममा An incised wound and two multiple abrasion भनी उल्लेख गरेको समेत देखिन आउँछ । ज्यान सम्वन्धी महलको १५ नं. मा ज्यान मार्ने मनसायले गोली चलाउने वा वम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरु जुनसुकै कुराको उद्योग गरी मर्ने सम्मको काम गरेकामा कुनै कारणले ज्यान मर्न पाएको भने रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गई वचन दिने वा मद्दत गर्नेलाई पाँच वर्ष देखि वाह्र वर्षसम्म कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेको छ । सो व्यवस्थाले ज्यान मार्न उद्योगको कसूर हुनका लागि पीडितलाई लागेको चोट वा घाउको मात्रा र परिमाण महत्वपूर्ण र निर्णायक तत्व हुने नभई ज्यान मार्ने मनसायले प्रहार गरिएको र ज्यान मर्न नपाएको वाधक तत्वको विद्यमानता थियो थिएन भन्ने नै महत्वपूर्ण हुन आउँछ । प्रहारकर्ताको मनसाय र नियत छुट्याउने आधार उसको कार्य र अपराधिक क्रियावाट नै पत्ता लगाउनु पर्दछ । यी प्रतिवादीले पीडितलाई पहिले ढुंगा प्रहार गरेको र निज भागेपछि खुर्पा जस्तो धारिलो हतियार लिई लखट्दै गई टाउकोमा एकपटक प्रहार गरी सकि दोस्रो पटक प्रहार गर्दा पीडित जाहेरवाला स्वयंले आफू वच्न खुर्पाको वीड समाती लात मुक्काले प्रतिवादीलाई हानेको र तेस्रो व्यक्ति ठालुमान पौडलले आई छुट्याएको अवस्था मिसिलवाट देखिदा दोस्रो पटकको प्रकार आफैले छेकेको नभए तथा ठालुमानले घटनास्थलमा पुगी उक्त खुर्पा नखोसेको भए निज उपर पुनः प्रहार भई जाहेरवाला यी पीडितले ज्यान मर्ने नै हुन्थ्यो भन्ने मिसिलको सम्पूर्ण अध्ययनवाट निज प्रतिवादीले मार्ने मनसाय स्पष्ट रहेको देखिन्छ । यस्तो अवस्थामा निज प्रतिवादीले खुर्पा जस्तो जोखिमी धारिलो हतियारको प्रयोग गरी पहिलो प्रकार गरी सकिई दोस्रो प्रहार आफैले छेकेको र ठालुमानले खुर्पा खोसी अवरोध गरेको देखिदा सोही कारणले निज जाहेरवालाको ज्यान मर्न नपाएको देखिदा ज्यान सम्वन्धी महलको १५ नं. को अवस्था कार्य र अपराधिक क्रिया निज प्रतिवादीवाट भएको देखिन आउँछ । यस्तो अवस्थामा निज प्रतिवादीको ज्यान मार्ने मनसाय थिएन भनी भन्न नसकिने हुन्छ । साथै निज जाहेरवालालाई लागेको घाउको परिमाण र मात्रा सानो र मर्न नसक्ने प्रकृतिको छ भन्ने आधारमा निज प्रतिवादीको ज्यान मार्ने मनसायको तथा अवरोध पुर्याउने तेस्रो तत्वको विद्यमानतामा निजलाई कसूरवाट उन्मुक्ति दिन सकिने अवस्था देखिदैन ।

७.    तसर्थ माथि उल्लेखित तथ्य, आधार र काणवाट निज प्रतिवादीले पीडित जाहेरवालालाई ज्यान मार्ने मनसायले खुर्पा जस्तो धारिलो हतियारले टाउकोमा एकपटक प्रकार गरी सकपछि पुनः अर्को पटक प्रहार गर्दा पीडित स्वयंले प्रतिकार र तस्रो पक्षको उपस्थित र व्यवधानको कारण निजको ज्यान मर्नबाट बच्न गएको देखिएकोले निज प्रतिवादीले ज्यान सम्वन्धीको १५ नं. को कसूर गरेको देखिएको अवस्थामा ज्यान मार्ने उद्योग गरेको ठहराउनु पर्नेमा प्रतिवादीलाई अभियोग दावीबाट  सफाई दिनेगरी भएको पुनरावेदन अदालतको फैसला मिलेको   नहुँदा उल्टी हुने र  शुरु जिल्ला  अदालतले अभियोग दावी अनुसार प्रतिवादीलाई कसूरदार ठहराई ६ बर्ष कैद गर्ने गरेको फैसला मनासिव ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

 

प्र.रामवहादुर पौडेल के माथि इन्साफ खण्डमा उल्लेख भए अनुसार निजले जाहेरवालालाई ज्यान मार्ने उद्योग गरेको ठहरी निज प्र.लाई ६ वर्ष कैद हुने समेत ठहरेकोले इलाम जिल्ला अदालतको फैसला अनुसार ६ वर्ष कैद हुने लगत कसी अघि कैदमा वसेको भए सो अवधि अ.वं. १२० नं. वमोजिम मिनाहा दिई वाँकी कैद कानून वमोजिम असुल उपर गर्नु भनी शुरु इलाम जिल्ला अदालतमा लेखी पठाइदिनु –––––

प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनु ––

 

उक्त रायमा सहमत छु ।

 

न्या.राजेन्दप्रसाद कोइराला

 

इति सम्वत् २०६४ साल कर्तिक महिना २६ गते रोज २ शुभम् –––––

शाखा अधिकृतः परशुराम भट्टराई

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु