शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६२३ - नकवजनी चोरी ।

भाग: ४७ साल: २०६२ महिना: फागुन अंक: ११

निर्णय नं.७६२३           ने.का.प. २०६२      अङ्क ११

 

सर्वोच्च अदालत, संयूक्त इजलास

माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

संवत २०५९ सालको स.फौ.पु.नं. २८९६

मुद्दा मितिः २०६२।११।३

 

मुद्दाः नकवजनी चोरी ।

 

पुनरावेदक र  वादीः सीताराम गिरीको जाहेरीले श्री ५ को सरकार

बिरुद्ध

प्रत्यर्थी र प्रतिवादीः चितवन जिल्ला, वछ्यौंली गा.वि.स. वार्ड नं. ३ ओन्द्रा वस्ने सुन्तले       भन्ने टिका गिरी

 

§  एक किसिमको चोरीमा जतिपटक कसुर गरेपनि कसुरको मात्रामा बृद्धि गर्नु नपर्ने र अर्को किसिममा मात्रै पटकै पिच्छे बृद्धि गर्नु पर्ने व्यवस्था गरिएको होला भनी तर्क गर्न मिल्ने कुनै आधार नदेखिने ।

§  साधारण चोरीमा पटक अनुसार सजायँ बृद्धि गर्दे लैजाने र सो भन्दा गम्भिर नकवजनी चोरीमा पनि पटक वापतको सजायँ थपिन्न भन्ने कुनै तर्क गर्ने हो भने सो स्वयंममा हास्यास्पद हुन जाने ।

§  चोरीको ११ नं. ले स्पष्ट रुपमा पटके चोरीका कुरालाई बढी सजायँका साथ रोक्ने उद्देश्य अभिव्यक्त गरेको अवस्थामा त्यसपछिको चोरीको १२, १३ र १४ नं. को समेत समग्रमा अध्ययन गरी चोरीको ११ नं. को उद्देश्यलाई कर्यान्वित गर्ने हिसावले सुसंगत     (Harmonious) व्याख्या गर्नुपर्ने ।

§  चोरीको १२ नं. को मात्र एकांङ्गी अध्ययन गरी साधारण चोरी र डाँकामा मात्रै पटक थपि सजायँ हुने उद्देश्य गरी विधायिकाले व्यवस्था गरेको भनि अर्थ गर्ने हो भने चोरीको ११ नं. फौज्दारी न्यायको उद्देश्य प्रतिकूल व्याख्या गरेको भन्नु पर्ने ।

§  एक पटक नकवजनी चोरी गरेको ठहर भैसकेको प्रतिवादीलाई प्रस्तुत मुद्दामा नकवजनी चोरी गरेको ठहर गर्दा दोश्रो पटक कायम गरी सजाय निर्धारण गर्नुपर्नेमा त्यस्तो कानूनी व्यवस्था छैन भनि पटक कायम नगर्ने व्याख्यासंग सहमत हुन नसकिने ।

(प्रकरण नं.२१)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री ब्रजेश प्याकुरेल

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत हेटौडाको २०५८।११।१ को फैसला उपर वादीको तर्फवाट मुद्दा दोहोर्‍याई पाउन परेको निवेदनमा निस्सा प्रदान भै पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

२.    मिति २०५८।२।११ गते राती जंगल लजवाट माल सामानहरु चोरी भएको हुँदा कानून बमोजिम गरिपाऊँ भन्ने जंगल लजमा कार्यरत सीताराम गिरीको निवेदन ।

३.    जंगल लजको डायनिङ हलको ढोकाको चुकुल तोडिएको झ्यालको सिसाहरु फुटेको भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का ।

४.    सुन्तले भन्ने टिका गिरीको घरवाट सेभन डिस थान, ढुंगा डिस थान, राई स्पीन१५ थान, चक्कु५ थान, काँटा१७ थान, सिसाको गिलास६ थान, रक्सी नाप्ने भाँडो, जाम, टेवलपोस, क्लथ र्‍याप्कीन, ग्याम कट्टु, ग्यास लाईटर, जग, ग्याँस चुलो, प्रेसर कुकर, टेवल पंखा, आईरन, क्याण्डल स्टेन, समेत बरामद भएको भन्ने बरामदी मुचुल्का ।

५.    मिति २०५८।२।११ गते १:०० बजेको समयमा सुन्तले भन्ने टिका गिरीले म कार्यरत जि.चि.गा.वि.स. वछ्यौंली वडा नं. २ स्थित जंगल लजवाट मूल्य रु. २२,२९८।विगो वरावरको चोरी गरेको हुँदा कानून बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको सिताराम गिरीको जाहेरी दर्खास्त ।

६.    मैले मिति २०५८।२।११ गते रातको १:०० बजेको समयमा सिताराम गिरी कार्यरत जंगल लजवाट जाहेरी दर्खास्तमा उल्लेख भए अनुसारको मुल्य रु. २२,२९८।विगो वरावरको मालसामानहरु चोरी गरेको हो भन्ने समेत व्यहोराको प्र. टिका गिरीको प्रहरीमा भएको वयान कागज ।

७.    बरामद भै आएको मालसामानहरु म कार्यरत जंगल लजवाट चोरी भएको तथा वरामद भै आएको सामान यही हो भन्ने समेत व्यहोराको सिताराम गिरीको सनाखत कागज ।

८.    बरामद भै आएको सेमनडिस २ को मूल्य रु.२५००।ढुंगा डिस ८ को मूल्य रु.१०००।राइसस्पोन ११ को रु. ३००।चक्कु ५ को रु.२५०।काटा १७ को रु.६८०।सिसाको गिलास ६ को रु.१२०।रक्सी नाप्ने भाँडोको १ को रु.१५०।जाम १ को रु. ६०।टेवल पोस ४ को रु.८००।क्लथ र्‍याप्कीन १ को ५०।कट्टु १ को रु.२००।ग्यास लाईटर १ को रु.१००।जग १ को रु.२००।ग्यासचुलो थान २ को मूल्य रु.२०००।प्रेशर कुकर १ को रु.५००।टेवल पंखा १ को रु.२५००।आइरन १ को रु. २०००।र क्यान्डीलस्टेन १ को रु..२००।पर्ने भन्ने समेत व्यहोराको मूल्य मुचुल्का ।

९.    उल्लेखित सबुद प्रमाणको आधारवाट प्रतिवादी सुन्तले भन्ने टिका गिरीले मिति २०५८।२।११ गते रातको १:०० बजेको समयमा जंगल लजवाट मूल्य रु.२२,२९८।बराबरको मालसामान चोरी गरेको वारदात सप्रमाण पुष्टि हुन आएवाट प्रतिवादी टिका गिरीको उक्त कार्य मुलुकी ऐन चोरीको महलको १ नं. तथा ३ नं. बमोजिम बिपरीतको कसूर अपराध भएवाट प्रतिवादी टिका गिरीलाई प्रस्तुत मुद्दामा दोश्रो पटक कायम गरी सजाय गरी पाउन प्रस्तुत मिसिल र मानिसलाई यसै अभियोग पत्रसाथ पेश गरिएको व्यहोरा सदर अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

१०.    मैले चोरी गरेको होइन मिति २०५८।२।११ गते म वछ्यौंली गा.वि.स. मैनागाउँमा काम गरी राती १० बजे फर्कन लाग्दा घरनेरको वाटोमा पुग्दा २ जनाले केही सामान वोकी वारीवाट बाटोमा निस्कन लागेका रहेछन् । म आफ्नो सुरमा गुनगुनाउँदै हिंडीरहेको थिएँ । मलाइदेख्ने वित्तिकै दुई जना मानिसहरुले आफूले वोकेको सामान त्यही वाटोमा फाली उनीहरु दक्षिण दिशामा राप्ती नदीतर्फ दौडिएर गए । मैले के हो? को हो? किन दौडिएको भनी सोद्धा उनिहरु बोल्दै नवोली दौडिए । ति मानिसहरुलाई चिन्न सकिन । सामान बरामद भएको कपडा मा कुम्लो पारेको र वोरामा समेत पोको पारेको थियो । मैले तिनीहरु आउँछन कि भनी १० मिनेट हेरी रहे । तिनहरु नआएपछि के रहेछ भनी हेर्दा सबै भाँडा कुँडाहरु रहेछन् । ठूलो चाही मैले वोकी घर लगे, सानो पोका त्यही काँडाको झयाङमा लुकाई दिए । भाँडा देखेपछि मेरो श्रीमतीले यो के हो ? कसको समान हो ? भनी सोधिन । मैले २ जनाले फालेको वाटोमा भेटेको सामान हो भने भोलिपल्ट ५ बजे बिहानै कसैले सामान खोजे मलाई भेट्नु भनी म काम गर्न गएँ । भोली पल्ट २०५८।२।१२ गते दिउँसो ४ बजे म काम गर्ने ठाउँमा होटलका मानिस र प्रहरी समेत गई मलाई प्रहरी चौकीमा ल्याएका हुन् । मैले ति सामान चोरी गरेको होइन । मैले ल्याएको सामान हो । सामान हराएको मानिसले पाउलान भनी घरमा लगी राखेको हुँ, सो ठाउँ देखेका छैन । मैले चोरी गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुन्तले भन्ने टिका गिरीले यस अदालतमा गरेको बयान ।

११.    तत्काल प्राप्त मिसिल संलग्न आधार प्रमाणहरुवाट प्रतिवादी सुन्तले भन्ने टिका गिरीले अभियोग दावी अनुसारको कसूर गरेका हुन् भनी विश्वास गर्नुपर्ने मनासिव आधार विद्यमान रहेको देखिन आएकोले पछि प्रमाण बुझदै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षका लागि प्रतिवादी सुन्तले भन्ने टिका गिरीवाट मुलुकी ऐन अ.वं. ११८ को देहाय ५।१० नं. बमोजिम रु. २३,७९०।– (तेइस हजार सातसय नव्वे) नगद धरौट वा सो वापत जेथा जमानी दिए लिई तारिखमा राख्नु दिन नसके  ख श्रेणीको सिधा खान पाउने गरी अ.वं. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार शाखा चितवनमा पठाईदिनु भन्ने मिति २०५८।३।११ मा भएको आदेश ।

१२.   २०५८ साल जेष्ठ १२ गते राती मेरो होटल जंगल लजको डाइनिङ हलमा रहेको सामान चोर्न झ्यालको सिसा फोरी डाइनिङ हलबाट ग्याँस चुलो, प्रेशर कुकुर, टेवुल पंखाचम्चाकाँटा प्लेट, थालहरु लगायतका मूल्य रु. २२,२७०।बराबरको समान हरायो, मैले सामान हराएको विषयमा जेष्ठ १३।२०५८ मा प्रहरी चौकी वछ्यौंलीमा सामान चोर्ने चोर पक्राउ गरीपाउँ भनी जाहेरी दिएको थिएँ । मेरो होटल चोरी हुनु पहिला ४, ५ दिन अगाडि नजिकैको चितवन रेष्ट हाउसमा पनि उस्तै तरिकाले चोरी भएको थियो । उक्त होटलको पनि जाहेरी परेको, हाम्रो सामान प्रहरीले बरामद गरी देखाउँदा देख्यौ, सामान चिन्यौं सामान चोरी गर्ने चोर सुन्तले भन्ने टिका गिरी नै हो भनी जाहेरवाला सिताराम गिरीले यस अदालतमा उपस्थित भै बकेको बकपत्र ।

१३.   मिसिल संलग्न सबुद प्रमाणको आधारमा यी प्रतिवादीले नकवजनी चोरीको आरोपित कसूर गरेको ठहर्छ । पटक सम्वन्धमा दुवै मुद्दा नकवजनी चोरी हुँदा पटक कायम हुँदैन भन्ने समेत व्यहोराको शुरु चितवन जिल्ला अदालतवाट मिति २०५८।६।४ मा भएको फैसला ।

१४.   यसमा यी प्रतिवादीले मिति २०५८।२।११ गते राती जंगल लजवाट मालसामानहरु चोरी गरेको देखिन्छ भने सो मिति भन्दा पूर्व अर्थात २०५८।२।५ गते राती चितवन रेष्ट हाउसको मालसामान चोरी गरेकोमा छुट्टै जाहेरी परी यी प्रतिवादीलाई उक्त दुवै मुद्दामा सजाय समेत भएको अवस्थामा प्रस्तुत मुद्दामा यी प्रतिवादीलाई पटक समेत कायम हुनु पर्नेमा पटक कायम नहुने भनी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी प्रस्तुत मुद्दामा दोश्रो पटक कायम गरी सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर ।

१५.   यी प्रतिवादीले यस पूर्व पनि नकवजनी चोरीको कसूर गरेकोमा नकवजनी मुद्दा चली उक्त फैसला भै कसूर ठहर समेत भएको हुँदा यी प्रतिवादीलाई  प्रस्तुत मुद्दामा पटक कायम गरी सजाय गर्नुपर्ने भन्ने वहस एवं पुनरावेदन जिकिर रहे भएकोमा मु. ऐनको चोरीको महलको १२ नं. अनुसार साधारण चोरी मुद्दा तथा ऐ. महलको १४(४) नं. बमोजिम डाँका मुद्दामा पटक कायम हुने भन्ने उल्लेख भै सो देखि वाहेक अन्य प्रकारका चोरीमा पटक कायम भै सजाय हुने कानूनी व्यवस्था रहे भएको देखिन आएन । अतः उल्लेखित आधार प्रमाण समेतवाट यसमा प्रतिवादीले नकवजनी चोरीको कसूर गरेको ठहर्ने तर पटक कायम हुन नसक्ने गरी शुरु चितवन जिल्ला अदालतवाट मिति २०५८।५।६ मा भएको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालतको फैसला ।

१६.    यी प्रतिवादीले चितवन रेष्ट हाउसको मालसामान २०५८।२।५ मा नकवजनी चोरी गरेकोमा २०५८ सालको स.फौ.नं. ७०।१७० को मुद्दामा चितवन जिल्ला अदालतवाट २०५८।५।६ मा चोरी ठहरी फैसला भै सकेको अवस्थामा निज प्रतिवादीले २०५८।२।११ मा जंगल लज चितवनवाट नकवजनी चोरी गरेकोमा २०५८ सालको स.फौ.नं. ७१।१७१ को प्रस्तुत मुद्दा चलेको छ । एउटा मुद्दामा चोरी ठहरेपछि त्यसपछिको नकवजनी चोरीमा दोश्रो पटक कायम गर्नु पर्ने पुनरावेदन अदालत हेटौडावाट पटक कायम गरिएन । जो चोरीको ११, १२ र १४ नं. को विपरित भै त्रुटीपूर्ण छ । जहाँसम्म साधारण चोरी र डाकाको सम्वन्धमा ऐनमा स्पष्ट उल्लेख भएको र अन्य प्रकारका चोरीमा ऐनमा उल्लेखित नभएको भन्ने प्रश्न छ मुलुकी ऐन चोरकिो १४(१) को व्यवस्था हेर्दा नै ऐ. १२ नं.ले हुने सजाय भनि मुलत डाका वाहेकको चोरी वारदातमा सजाय गर्दा १२ नं. को सजाय उल्लेखित गरेर तत्पश्चात मात्र १४ को १,२ वा ३ नं. ले हुने सजाय निर्धारण हुने व्यवस्था भएकोले ऐनमा उल्लेखित भएको १२ नं. को व्यवस्था नै सबै प्रकारका चोरीको पटकमा प्रयोग हुने स्पष्ट छ, त्यसतो स्पष्टतालाई गलत व्याख्या गरी पुनरावेदन अदालतवाट भएको फैसला त्रुटीपूर्ण भएकोले वदर गरी प्रतिवादीलाई अभियोग माग दावी बमोजिम पटकमा समेत सजाय गरी पाउन भन्ने पुनरावेदन पत्र ।

१७.   मुलुकी ऐन चोरीको महलको ११ नं. मा जुनसुकै प्रकारको चोरीमा पक्राउ भएकोमा एकै पटक पक्रियको भएपनि जतिपटक जति ठाउँमा चोरी गरेको ठहर्छ उति पटकको सजाय हुन्छ भन्ने उल्लेखित भएको र सोही महलको १४(१) मा नकवजनी गर्नेलाई यसै महलको १२ नं. बमोजिम हुने सजायको डेढो बढाई सजाय गर्नुपर्छ भन्ने देखिन्छ । प्रस्तुत मुद्दाका बिपक्षी प्रतिवादीले २०५८।२।२५ को वारदातमा  नकवजनी नै ठहरेको अवस्थामा दोश्रो पटक कायम गरी चोरीको १२ नं. बमोजिम हुने सजायमा डेढो वढाई सजाय गर्नुपर्नेमा चोरीको महलको १२ नं. अनुसार साधारण चोरी मुद्दा तथा ऐ महलको १४(४) नं. बमोजिम कायम मुद्दामा पटक कायम हुने भन्ने उल्लेखित भै सो देखि वाहेक अन्य प्रकारका चोरीमा पटक कायम भै सजाय हुने कानूनी व्यवस्था रहे भएको देखिन आएन भनि गरेको मिति २०५८।११।१।४ को पुनरावेदन अदालत हेटौडाको फैसला मुलुकी ऐन चोरकिो महलको ११, १२, १३ र १४ नं. समेत व्याख्यात्मक त्रुटी विद्यमान देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ नं. को उपदफा (१) खण्ड क बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतवाट मिति २०५९।४।२७ मा भएको आदेश ।

१८.   नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन समेत शुरु एवं प्रमाण मिसिल समेत अध्ययन गरी पुनरावेदक श्री ५ को सरकारको तर्फवाट उपस्थित विद्वान उप न्यायाधीवक्ता श्री ब्रजेश प्याकुरेलले प्रतिवादीलाई कसूर गरेको ठहर गरेपछि निजले नकवजनी चोरीमा पहिला पनि सजाय पाएको देखिएपछि पटक कायम गरी सजाय गर्नुपर्नेमा पटक कायम नहुने भनि गरेको फैसला चोरीको ११, १२, १४ नं. को व्याख्यात्मक त्रुटी हुँदा उक्त फैसला वदर गरी अभियोग दावीअनुसार पटक कायम गरी सजाय हुनुपर्छ भनि गर्नु भएको वहस समेत सुनि पटक कायम गरी सजाय हुनु पर्ने हो होइन ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन सो सम्वन्धमा निर्णय दिनुपर्ने हुन आएको छ ।

१९.    पुनरावेदन अदालतले चोरीको १२ नं. अनुसार साधारण चोरीमा र ऐ १४(४)  बमोजिम डाका मुद्दामा पटक कायम हुने भनि उल्लेख भै सोदेखि वाहेक अन्य प्रकारका चोरीमा पटक कायम गर्ने कानूनी व्यवस्था नहुँदा पटक कायम नहुने तर कसूर गरेको ठहर गरेको जिल्ला अदालतको फैसला सदर गरेको देखिन्छ । चोरीको ११, १२ र १४ नं. समेतको समग्र अध्ययन गरी पटक कायम गरी सजाय तोक्नु पर्ने भन्ने पुनरावेदकको मुख्य जिकिर भएको देखिन्छ ।

२०.   अव प्रतिवादीलाई पहिलो पटक नकवजनी चोरी गरेको ठहरी निर्णय भै सकेको अवस्थामा पटक कायम गरी सजाय गर्नु पर्ने हो वा पटक कायम गर्नु पर्दैन  भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आएको छ । यस सम्वन्धमा मुलुकी ऐन चोरीको ११, १२ र १४(१), (४) को अध्ययन गरी व्याख्या गर्नु पर्ने अवस्थाको सिर्जना भएको छ । उपरोक्त दफामा गरिएको व्यवस्था निम्न बमोजिम भएको देखिन्छ ।

 

११ नं.:जुनसुकै प्रकारको चोरीमा पक्राउ भएकोमा एकै पटक पक्रियको भए पनि जति पटक जति ठाउँमा चोरी गरेको ठहर्छ उति पटकको सजाय हुन्छ । डाका र अरु प्रकारको चोरी एकै जनाले गरेमा डाका र अरु प्रकारको चोरीको वेग्लै पटक कायम गरी सजाय गर्नुपर्छ । सो गर्दा विदेशमा सजाय पाएको पटक भने खापी सजाय गर्नु हुँदैन ।

१२ नं.:डाका रहजनी, जवर्जजस्ति चोरी र नकवजनी वाहेक अरु साधारण चोरीमा कसुरदार लाई जनही सो चोरीको जम्मा विगो बमोजिम जरिवाना र पहिला पटकको लाई एक महिना, दोश्रो पटककोलाई ३ महिना, तेश्रो पटकलाई ६ महिना, चौथो पटकको लाई एक वर्ष, पाँचौ पटकको लाई २ वर्ष, छैठौ पटकको लागि ४ वर्ष र सो भन्दा बढी जतिसुकै पटक भएपनि ६ वर्ष कैद समेत गर्नुपर्छ ।

१४(१) नं.:नकवजनि गर्नेलाई यसै महलको १२ नं. बमोजिम हुने सजायको डेढी  बढाई सजाय गर्नु पर्छ ।

१४(४) नं.:डाका गर्नेलाई विगोको डेढी  बढाई जरिवाना गरी पहिलो पटकको लाई ६ वर्ष, दोश्रो पटकको लाई ९ वर्ष र तेश्रो पटक देखिएको लाई जतिसुकै पटकको भएपनि १२ वर्ष कैद गर्नुपर्छ।

 

२१.   माथी उल्लेखित कानूनी व्यवस्थाहरुवाट नकवजनी लगाएतका सबै चोरीमा पटकै पिच्छे सजाँय हुने र चोरीको पटकको सजायँको हकमा साधारण चोरीको हकमा चोरीको १२ नं., डाँकाको हकमा चोरीको १४ नं. बमोजिम र नकवजनी चोरीको हकमा चोरीको १२ नं. र १४(१) नं. बमोजिम गर्नु पर्ने व्यवस्था भएको देखिन आउँछ । चोरीको ११ नं. ले सबै प्रकारको चोरीमा पटकै पिच्छे सजायँ गर्नु पर्ने स्पष्ट व्यवस्था गरेको र के कती सजायँ हुने भन्ने सम्बन्धमा सम्म माथि उल्लिखत विभिन्न कानूनी प्रावधानहरु आकर्षित गर्नु पर्ने व्यवस्था भएको स्पष्ट छ । सो विपरीत डाँका र साधारण चोरीमा मात्रै पटक बमोजिम सजायँ गर्ने व्यवस्था भएको हो भनी अर्थ गर्न उपरोक्त प्रावधानवाट मिल्दैन । एक किसिमको चोरीमा जतिपटक कसुर गरेपनि कसुरको मात्रामा बृद्धि गर्नु नपर्ने र अर्को किसिममा मात्रै पटकै पिच्छे बृद्धि गर्नु पर्ने व्यवस्था गरिएको होला भनी तर्क गर्न मिल्ने कुनै आधार देखिन्न । त्यसमा पनि साधारण चोरीमा पटक अनुसार सजायँ बृद्धि गर्दे लैजाने र सो भन्दा गम्भिर नकवजनी चोरीमा पनि पटक वापतको सजायँ थपिन्न भन्ने कुनै तर्क गर्ने हो भने सो स्वयंममा हास्यास्पद हुन जान्छ । फौज्दारी कानूनको एउटा मुख्य उद्देश्य दुरासय र अपचारलाई रोक्न (Mischief) हुन्छ । त्यस्तो अपचारलाई रोक्ने उद्देश्यले गरिएको सजायँको प्रावधान प्रभावकारी बनाउने हिसावले सजायँको बिभिन्न व्यवस्था गरेको हुन्छ । चोरीको ११ नं. ले स्पष्ट रुपमा पटके चोरीका कुरालाई बढी सजायँका साथ रोक्ने उद्देश्य अभिव्यक्त गरेको अवस्थामा त्यसपछिको चोरीको १२, १३ र १४ नं. को समेत समग्रमा अध्ययन गरी चोरीको ११ नं. को उद्देश्यलाई कर्यान्वित गर्ने हिसावले सुसंगत (Harmonious) व्याख्या गर्नु पर्नेमा चोरीको १२ नं. को मात्र एकांङ्गी अध्ययन गरी साधारण चोरी र डाँकामा मात्रै पटक थापि सजायँ हुने उद्देश्य गरी विधायिकाले व्यवस्था गरेको भनि अर्थ गर्ने हो भने चोरीको ११ नं. फौज्दारी न्यायको उद्देश्य प्रतिकूल व्याख्या गरेको भन्नुपर्ने हुन आउँछ । तसर्थ एक पटक नकवजनी चोरी गरेको ठहर भै सकेको प्रतिवादी टिका गिरीलाई प्रस्तुत मुद्दामा नकवजनी चोरी गरेको ठहर गर्दा दोश्रो पटक कायम गरी सजाय निर्धारण गर्नुपर्नेमा त्यस्तो कानूनी व्यवस्था छैन भनि पटक  कायम  नगर्ने व्याख्यासंग सहमत हुन सकिएन । पटक कायम नगर्ने गरी गरेको जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिंदा पटक कायम नगरेको हदसम्म आंशिक उल्टी भै दोश्रो पटक नकवजनी चोरी गरेकोमा प्रतिवादी टिका गिरीलाई चोरीको १२, १४(१) बमोजिम रु. ३३,४४७।०० जरिवाना र ४१/२ महिना कैद हुने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु।

तपसिल

 

प्रतिवादी टिका गिरीलाई नकवजनी चोरीमा दोश्रो पटक कायम गरी सजाय हुने ठहरेकाले जिल्ला अदालतले निजलाई राखेको लगत कट्टा गरी जरिवाना रु. ३३,४४७।०० र कैद ४१÷२  महिनाको लगत राखी असुल उपर गर्नु –––––

दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनु ––––––

 

उक्त रायमा सहमत छु ।

 

न्या.अर्जुनप्रसाद सिंह

 

 

संवत २०६२ साल फागुण १० गते रोज ४ शुभम ––––

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु