शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०९८ - उत्प्रेषण

भाग: ३२ साल: २०४७ महिना: असार अंक:

निर्णय नं. ४०९८     ने.का.प. २०४७      अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४५ सालको नि.नं. ११०७

आदेश भएको मिति:  २०४७।१०।५।५ मा

निवेदिका:  का.न.पं. वा.नं. २५ बस्ने न्हुच्छेमाया महर्जननी

विरुद्ध

विपक्षी : का.न.पं. वा.नं. १३ बस्ने मुकुन्दभक्त श्रेष्ठसमेत

विषय : उत्प्रेषण

(१)    विवादको जग्गामा निवेदिकाको नाउँमा मोही नामसारी हुने नहुने के हो ? सो तर्फ भू.सु.का. को निर्णय भएपछि मात्र विवादको जग्गामा घर बनाउन नक्शा पास हुने नहुने सोको निर्णय गर्नु पर्ने ।

(प्रकरण नं. १४)

(२)   नक्शा पास हुनुभन्दा अगावै नक्शा पास हुनु नपर्ने आधार देखाई नक्शा पास नहोस् भन्ने निवेदन दिएपछि मोही नामसारी मुद्दा भू.सु.का. मा चलेको छ छैन सो तर्फ बुझी उचित निकायबाट चलेको मोहियानी नामसारी मुद्दाको कारवाही निर्णय पछि कानुन बमोजिम नक्शापासको ठहर गर्नुपर्ने ।

(प्रकरण नं. १४)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे

प्रत्यर्थी तर्फबाट      : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

आदेश

न्या.त्रिलोकप्रताप राणा

१.     नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तर्गत दायर भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.    म निवेदिकाको पति हिरामान महर्जन मोही भएको विपक्षीको का.जि.का.न.पं. वडा नं. ३(ख) कि.नं. ४२ को क्षेत्रफल २१०० जग्गा निजको ०२५ सालमा मृत्यु भएपछि पत्नी म र छोरी मात्र रहेकोले सो जग्गामा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम स्वतः म मोही हुने भई मोहियानी नामसारी गर्न भू.सु. मा कारवाही चल्दैछ । विवादित जग्गा मध्ये ०२ जग्गा सोल्टी बाटो विस्तार गर्दा अधीग्रहणमा परी विपक्षीले सो जग्गाको जग्गा धनीको भाग मुआब्जा लिई मोही हक बापतको मुआब्जा नलिएको तथ्यले मेरो भाग मुआब्जा बाँकी रहेको कुरामा विवाद छैन ।

३.    उल्लेखित जग्गामा विपक्षी मुकुन्द श्रेष्ठले घर बनाउनको लागि मिति २०४५।१।२२ मा नक्शा पासको लागि का.न.पं. मा निवेदन दिएका रहेछन जसमा जग्गा धनी प्रमाण पुर्जाको सक्कल पेश नगरी सोको फोटोकपी पेश गरेका र मोहीको नाम खाली राखी प्रमाणित गराएको थाहा पाई मिति २०४२।२।१७ मा जग्गाको प्रमाणपत्रको फोटोकपी प्रमाणित गरी सो नक्शा पास रोक्का गरिपाउँ भनी निवेदन दिएका थिएँ । विपक्षी न.पं. ले मेरा निवेदनलाई वास्तै नगरी मिति २०४५।२।१८ गते विपक्षी मुकुन्दभक्त श्रेष्ठले नक्शा पास गर्ने निवेदन साथ संलग्न गरेको लालपूर्जाको फोटोकपी प्रमाणित गर्न नापी विभागका शाखा अधिकृत चन्द्रमान श्रेष्ठको निजलाई झुक्याई मुकुन्दभक्त श्रेष्ठले जग्गा धनीको प्रमाणपत्रको फोटोकपीमा मोहीको नाम नराखी प्रमाणित गराएको चाल पाई सो रद्द गरिपाउँ भनी निवेदन परेको थियो ।

४.    विवादित जग्गामा घर बनाउन लागेको थाहा पाई हाम्रो निवेदन परेपछि न.पं. का प्र.पं. को तोक आदेश बमोजिम विपक्षीलाई जग्गा धनी प्रमाण पुर्जाको सक्कलै र पास भएको नक्शा समेत लिई ७ दिन भित्र का.न.पं. मा हाजिर हुन आउनु र निवेदनको टुंगो नलागेसम्म पारित नक्शा बमोजिमको कुनै कार्य नगर्नु भन्ने समेत पत्र गएकोमा सो बमोजिम विपक्षीले कार्य नगरेको र न.पं. बाट मिति २०४५।६।२ मा उल्टै मलाई हराई का.न.पं. ले म्याद भित्र उजूरी नपरेको, न्हुच्छेमायाले आफ्नो हक भएको निस्सा पेश गर्न नसकेको, नक्शा फाँटले जग्गाधनी प्रमाणपत्रको सक्कल नहेरी नक्शा दर्ता गरेकोले सो उपर कारवाही गर्न अनुरोध गर्ने र नक्शा पास भइसकेकोले हाल अरु कारवाही गर्नु परेन, तामेलीमा राखिदिने भनी फैसला भयो ।

५.    न.पं. ले मैले मिति २०४५।२।१७ मा निवेदन साथ प्रमाण पेश गरेको उपर कारवाही नगरेको न.पं. ऐन, २०१९ को दफा ४७ प्रतिकूल छ । भूमिसम्बन्धी ऐनको दफा २६ अनुसार स्वतः मेरो मोहियानी हक हुने जग्गाको प्रमाण पेश गर्दा गर्दै हक अधिकार भएको प्रमाण पेश गर्न नसकेको भनेको कानुनी त्रुटिपूर्ण छ । मुकुन्द श्रेष्ठले नक्शा पासको सन्दर्भमा संलग्न गरेको फोटोकपी झुक्याई सही गराएकोले सो रद्द गरिपाउँ भनी परेको निवेदनमा कारवाही नगरी सम्पत्ति हनन् गर्ने कार्यमा न.पं. ले सहयोग गरेको छ । उजूरीलाई अ.बं. १६ नं. को त्रुटि गरी तामेलीमा राखिएको छ ।

६.    ऐन बमोजिम गर्नु पर्ने कार्य नगरी प्रत्यक्ष रुपबाट का.न.पं. ले विपक्षीलाई सहयोग पुर्‍याई बेरीतपूर्वक नक्शा पास गर्ने कार्य गरेको र सो उपर उजूरी पर्दा समेत त्रुटिपूर्ण गैरकानुनी फैसला गरी संविधानको धारा १०(१), ११(२)(ङ) ले प्रदत्त अधिकार हनन् गरेकोले उत्प्रेषणको आदेश जारी गरिपाउँ । साथै निवेदनको टुंगो नलागेसम्म घर नबनाउनु भन्ने समेत विपक्षी मुकुन्दभक्तका नाउँमा अन्तरिम आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर ।

७.    यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४५।९।४ को आदेश ।

८.    विवादित जग्गाको मोही हिरामान २०२५ सालमा स्वर्गीय भएमा विवाद छैन । भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम हकवाला कोही नभएबाट निज मोहीको भाइ धनबहादुरलाई जग्गा जोत्नसम्म दिई आएको हो । निवेदिका मोहीकी श्रीमती हो होइन थाहा छैन । हक पुग्ने भए मोहीको मृत्युपछि जग्गा जोत भोग चलन गरी जग्गा धनीलाई बाली बुझाई आउनु पर्ने हो, सो समेत केही छैन । रिटनिवेदन समेतमा जग्गा जोती आएको र बाली बुझाई आएको भन्न सक्नु भएको छैन नक्शा पास अगावै ड्यामप्रूफ गर्दा पाले घर बनाउँदा र पर्खालले घेर्दा समेत विपक्षीले विवाद नगरेकोले जग्गासंग सम्बन्ध नरहेको स्पष्ट हुन्छ । फोटोकपी राख्दा मोही खाली राख्ने रखाउने गरेको छैन । नक्शा पास सम्बन्धमा कानुन बमोजिम साँध संधियारका नाउँमा म्याद तामेल गरी स्थलगत सरजमीन समेतको कार्य भई म्यादभित्र कसैको उजूर नपरी मैले दिएको नक्शा पास भइसकेपछि पुनः विपक्षीको उजूरीमा मलाई झिकाउने समेत गरिए पनि एकपटक पास गरिसकेको नक्शा बदर हुन नसक्ने र का.न.पं. को निर्णयमा कुनै कानुनी त्रुटि पनि छैन । घर भत्काई पाउँ भनी यिनै निवेदक वादी भई म उपर काठमाडौं जिल्ला अदालतमा मुद्दा परी कारवाही चलिरहेको हुँदा नक्शा पास सम्बन्धी निर्णय बदरको दावी स्वतः निस्कृय स्थितिमा पुगिराखेको छ । फोटोकपी सम्बन्धमा समेत जालसाजी मुद्दा चलिरहेको हुँदा समेत रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी मुकुन्दभक्त श्रेष्ठको  लिखितजवाफ

९.    प्रत्यर्थी काठमाडौं न.पं. बाट लिखितजवाफ दर्ता हुन आएको देखिएन ।

१०.    नियम बमोजिम निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा रिट निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरेले विवादित जग्गा मोही लागेको र मोही हिरामान भएको भन्ने कुरा निर्विवाद छ । मोही हिरामानको मृत्यु पछि मोही नामसारीमा मुद्दा चलेकोमा पनि विवाद छैन । न.पं. ऐन, २०१९ को दफा ४६ ले नक्शा पास गर्न जग्गाधनी प्रमाण पूर्जा राखी पेश गर्ने र दफा ४७ मा जग्गाधनीको निस्सा दाखिल गर्ने व्यवस्था गरेकोमा सो रीत पुर्‍याई विपक्षी मुकुन्द भक्तको नक्शा पेश भएको छैन । साँध सन्धियारको नाममा सूचना टाँस गर्ने न.पं. ऐनको दफा ४७ मा व्यवस्था छ र न.पं. ले उक्त म्यादभित्र उजूर नपरेको कुरा निर्णयमा उल्लेख गरेको छ । सो कुरा सन्धियारलाई मात्र लागू हुने हो । मोही लागेको जग्गाको नक्शा पास गर्न नहुने ऐनको व्यवस्था प्रतिकूल मेरो पक्षले मोही हुँ भन्ने समेतको दावी लिई न.पं. बाट निर्णय हुनु अगावै निवेदन दिंदा दिंदै नक्शा पास गर्ने निर्णय भयो । मोही नामसारी तर्फ भू.सु.का. काठमाडौंमा २०३९ सालमा निवेदन परेको छ । तसर्थ मोहीको भाग छुट्याई मात्र घर बनाउन पाउने हो । काठमाडौं न.पं. ले यस्तो स्थितिमा गरेको निर्णय त्रुटिपूर्ण छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

११.    प्रत्यर्थी मुकुन्दभक्त श्रेष्ठका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले मिति २०४५।२।१८ मा काठमाडौं न.पं. बाट मेरो पक्षको घर बनाउने नक्शा पास भयो । निवेदकको निवेदन २०४५।६।२ मा तामेलीमा राखियो भन्ने भनाई छ । प्रस्तुत रिटनिवेदन पर्नु भन्दा अगावै घर बनी सकेको भनी निषेधाज्ञा मुद्दा टुंगी सक्यो । रिटनिवेदनमा पनि आशंकाको स्थितिमा निषेधाज्ञा मुद्दा खारेज भएको उल्लेख भएको देखिन्छ । विवादित जग्गामा निर्विवाद हक नभएको निवेदक सफा हातबाट रिट क्षेत्रमा प्रवेश नगरेकोले रिटनिवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१२.   विद्वान अधिवक्ताहरुले गर्नु भएको बहस समेत सुनी प्रस्तुत निवेदनमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो वा होइन सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।

१३.   यसमा निर्णयतर्फ विचार गर्दा विवादको कि.नं. ४२ को क्षेत्रफल २१०० को जग्गाको म निवेदिकाको पति हिरामान महर्जन मोही हो । पतिको २०२५ सालमा मृत्यु भएकोले मोहियानी नामसारी मुद्दा भू.सु.का. काठमाडौंमा कारवाही चल्दैछ । सो जग्गा विपक्षी मुकुन्दभक्त श्रेष्ठले २०४५।१।२२ मा नक्शा पासको लागि निवेदन दिएको कुरा मलाई जानकारी हुन आएको हुनाले मिति २०४५।२।१७ मा उक्त जग्गाको प्रमाणपत्रको फोटोकपी प्रमाणित गरी निवेदन साथै राखी म मोहीको हक मेटाउने उद्देश्यले सो नक्शा पास गर्न लागेको नक्शापास रोक्का गरी पाउँ भनी निवेदन दिएको थिएँ । विपक्षी का.न.पं. ले मेरो मिति २०४५।२।१७ का निवेदनको वास्तै नगरी मिति २०४५।२।१८ मा विपक्षी मुकुन्द श्रेष्ठले पेश गरेको नक्शा स्वीकृति गरेको र विपक्षीले घर बनाउन लागेको थाहा पाई फेरि हाम्रो उजूरी परेकोमा विपक्षीले धमाधम घर निर्माण गरिरहेकोमा कुनै पनि आवश्यक कारवाही नगरी विपक्षी का.न.पं. ले मिति २०४५।६।२ मा मलाई हराई फैसला गर्‍यो, नक्शा पास हुनु भन्दा १ दिन अगाडि का.न.पं. मा नक्शा रद्द गर्नको लागि मेरो उजूरी परिसकेपछि विपक्षीको पक्षमा नक्शा पास गरी दिएको गैरकानुनी छ र सो मेरो उजूरीलाई नै तामेलीमा राख्ने फैसला गर्नुबाट अ.बं. १६ नं. को त्रुटि भएको छ । मोहीको हक मार्नको लागि बेरीतपूर्वक नक्शा पास गर्ने कार्य गरेको र सो उपर उजूरी पर्दा समेत गैरकानुनी त्रुटिपूर्ण फैसला गरी मेरो हक अधिकार हनन् भएकोले उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ भन्ने रिट निवेदकको माग देखिन्छ ।

१४.   विवादको जग्गामा मोही लागेकोमा विवाद देखिन्न । उक्त कुरालाई विपक्षी मुकुन्दभक्त श्रेष्ठले आफ्नो लिखितजवाफमा समेत स्वीकार गरेको पाइन्छ । भू.सु.का. काठमाडौंमा निवेदिकाको मोही नामसारी मुद्दा चलिरहेकोमा पनि विवाद देखिएन । यस्तो स्थितिमा विवादको जग्गामा निवेदिकाको नाममा मोही नामसारी हुने नहुने के हो ? सो तर्फ भू.सु.का. को निर्णय भएपछि मात्र विवादका जग्गामा घर बनाउन नक्शा पास हुने नहुने सो को निर्णय गर्नु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा त्यसरी भू.सु.का. बाट निर्णय नभइकन नक्शा पास गर्ने निर्णय गरेको देखिन्छ । विवादको जग्गामा निवेदिकाको नाममा मोही नामसारी हुने भएमा त्यस्तो विवादका जग्गामा विपक्षी मुकुन्दभक्त श्रेष्ठको नक्शा बमोजिम घर बन्न गई मोहीको हकहितमा समेत प्रतिकूल असर पर्दछ । अतएवः नक्शा पास हुनुभन्दा अगावै निवेदिकाले नक्शा पास हुनु नपर्ने आधार देखाई नक्शा पास नहोस् भन्ने निवेदन दिएपछि मोही नामसारी मुद्दा भू.सु.का. मा चलेको छ छैन सो तर्फ बुझी उचित निकायबाट उक्त चलेको मोहियानी नामसारी मुद्दाको कारवाही निर्णय पछि कानुन बमोजिम नक्शा पासको ठहर गर्नु पर्नेमा सो को विपरीत नक्शा पास गरी निवेदिकाको निवेदन समेत तामेलीमा राख्ने गरेको मिति २०४५।६।२ को काठमाडौं न.पं. को निर्णय समेत त्रुटिपूर्ण हुँदा उक्त निर्णयहरु एवं तत्सम्बन्धी कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी काठमाडौं न.पं. का नाममा परमादेशको आदेश समेत जारी गरिएको छ । आदेशको जानकारी प्रत्यर्थी न.पं. मा दिई फाईल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४६ साल माघ ५ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु