शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६२८ - भ्रष्टाचार ।

भाग: ४७ साल: २०६२ महिना: चैत्र अंक: १२

निर्णय नं.७६२८           ने.का.प.२०६२        अङ्क १२

 

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

सम्वत् २०५९ सालको निस्सा प्रदान नं......... २६, २७

फैसला मितिः २०६२।१२।१०।५

 

मुद्दा :भ्रष्टाचार ।

 

निवेदक/प्रतिवादी नुवाकोट जिल्ला थानसिङ गा.वि.स.वडा नं. ३ थानसिङ बस्ने वैकुण्ठप्रसाद भण्डारी

विरुद्ध

विपक्षी / वादी श्री ५ को सरकार, विशेष प्रहरी विभाग

 

निवेदक / प्रतिवादी का.जि.का.म.न. पा.वडा नं. ५ मालिगाउं बस्ने धर्ममान स्थापित

विरुद्ध

विपक्षी / वादीः श्री ५ को सरकार, विशेष प्रहरी विभाग 

 

§  निस्सा प्रदान गर्दा कुन न्यायिक तथ्य वा नजीरको आधारमा मुद्दामा छलफल खुला गर्नु परेको हो भन्ने कुरामा बढी सचेत हुनु जरुरी हुन्छ । वस्तुतः पुनरावलोकन गरी हेर्ने भनी दिइएको निस्सा प्रदानको आदेश नै यथार्थमा मुद्दा पुनरावलोकन गरी हेर्ने कार्यादेश     (Term of Reference) हुनाले पुनरावलोकन गरी हेर्ने निस्सा दिने इजलासले विशेष जवाफदेहीका साथ निस्सा दिनुपर्ने ।

§  निस्साको आदेश र सोसंग सम्वद्ध विषयको परिधिलाई औचित्यपूर्ण ढंगले प्रयोग गरिनु पर्दछ र तदनुरुप प्रयोग भएको छ वा छैन ? भनी निरन्तर प्रमाणित समेत गरिरहनु पर्ने।

§  पुनरावलोकनको आधारमा विचार गर्दा पुनरावलोकनको निस्सामा उल्लेख गरिएको मूल आधार कै औचित्य हेरिएपछि मात्र सम्बद्ध अन्य तथ्यमा प्रवेश गरी पूर्ण न्याय गर्न सकिने ।

§  निस्सा दिंदाको मूल आधार नै मुद्दामा तात्विक महत्व राख्ने नभई सान्दर्भिक देखिन नआएमा तत्पश्चात् सम्वद्ध अन्य तथ्यहरु के थिए ? भनी हेरिरहनुको कुनै औचित्य रहन नसक्ने।

(प्रकरण नं.४४)

 

निवेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल, श्री शम्भु थापा तथा श्री कृष्ण सापकोटा

निवेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री नारायण बल्लभ पन्त

विपक्षी वादी तर्फवाटः विद्वान सहन्याधिवक्ता श्री सरोजप्रसाद गौतम

अवलम्वित नजीरःने.का.प. २०५८, नि.नं. ६९८८, पृष्ठ १५५

 

फैसला

न्या.कल्याण श्रेष्ठः यस अदालतको संयुक्त इजलासबाट मिति २०५६।६।११ मा भएको फैसला पुनरावलोकन गरिपाऊँ भनी प्रतिवादीहरुको तर्फबाट निवेदन पर्न आएकोमा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६ को उपनियम (१) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यसप्रकार छ :

२.    मिति २०४२।१२।२८ गतेका दिन थाई एयरवेजको विमानबाट बैंकक जाने यात्रुहरुको सामान जाँचको सिलसिलामा शंकास्पद देखिएको एउटा सुटकेश खोली हेर्दा मुचुल्कामा उल्लेखित विदेशी मुद्रा, ट्राभल्स चेक, मनि अडर फेला परेकोले प्रारम्भिक कारवाहिमा उक्त सुटकेश यस महाशाखाका ना.सु. लेखापाल धर्ममान स्थापितले बुझि लिई निज समेत भई उक्त बन्दि सुटकेश नेपाल राष्ट्र बैंकमा बुझाउने, नबुझे जति फिर्ता ल्याई राख्ने तोक आदेश भएकोमा भारतीय रुपैयाँ सहितको विदेशी मुद्राहरु पनि नेपाल राष्ट्र बैंकमा बुझाएको ट्राभल्स चेकहरु फिर्ता ल्याई राखिएको, ०४३।१।३ का दिन त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रतिनिधि ना.सु. कृष्णप्रसाद समेतको रोहवरमा उक्त ट्राभल्स चेकहरु गन्ती गर्दा मुचुल्कामा उल्लेखित भन्दा ११ हजार नपुग भयो भनियो । पछि ९ हजार बढी भयो भनियो । त्यसमा १०० दरका ट्राभल्स चेक थान ५ सद्दे, १९४ थान १०० दरको, एक थान ५० दरको ट्राभल्स चेकमा क्यान्सिल र एल.एस.छाप लागेको भन्ने मुचुल्का ।

३.    यस महाशाखाका कर्मचारी समेतको मिलोमतोबाट सक्कली ट्राभल्स चेक झिकी नक्कली ट्राभल्स चेक हालेको विषयमा बुझ्दा तत्काल ट्राभल्स चेक प्राप्त हुंदा एल.एस. छाप नलागेको देखिएकोले आवश्यक कारवाही गरि पाउं भन्ने समेत व्यहेराको राजश्व अनुसन्धान महाशाखाको मिति २०४३।२।१८ को पत्र ।

४.    मिति २०४२।१२।२८ गतेका दिन थाई इण्टरनेशनल एयरवेजको काठमाण्डौं बैंकक उडानबाट बैंकक जान लागेका यात्रुहरुको व्यागेज भन्सार चेक जाँचको सिलसिलामा डिपार्चर काउण्टरमा यौटा सुटकेश थियो । निगरानी राख्दा उक्त सुटकेशको दावी कसैले नगरेकोले सो सुटकेश खोली हेर्दा विभिन्न मुलुकका विभिन्न नगद विदेशी मुद्रा तथा ट्राभल्स चेकहरु फेला परेको बरामदी मुचुल्का ।

५.    यु.एस.डलर ४४१९, क्यानेडियन डलर १८८८, स्ट्रलिंग पौण्ड २४१९२, पश्चिम जर्मन मार्क ४००४०, स्ट्रलिंग पौण्ड ६०, जापानी येन १६८५०००।अष्ट्रेलियन डलर १४१०८।–, स्वीस फ्रेंक ३२१०।फ्रेन्च फ्रेंक ५७३७०।–, सिंगापुर डलर ४४०।निदरल्याण्ड गिल्डर २५०, वेल्जियम फ्रेंक १०००।स्वीडिस क्रोनर ५५०।–, अष्ट्रेलियन सिलिङ ११००।इटालियन लिरा ६०,२८,०००।समेतका विदेशी मुद्राहरु ०४३।१।२।३ मा नेपाल राष्ट्र बैंकमा बुझाएको भन्ने विवरण पत्र ।

६.    त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ०४२।१२।३१ को पत्रसाथ यस महाशाखामा बुझाउन ल्याएको शिलबन्दी सुटकेशमा राखिएको विदेशी मुद्राहरु नेपाल राष्ट्र बैंकमा खोली बुझाउने, नबुझि बाँकी रहेमा ल्याई राख्ने भन्ने आदेशानुसार नेपाल राष्ट्र बैंकको ०४३।१।२ को भौचरमा उल्लेख भए अनुसारको रकम जम्मा भई ना.सु. धर्ममान स्थापित समेत भई फिर्ता ल्याई राखिएको मुद्राहरु थान गन्ति गरी नम्बर समेत उल्लेख गरी भन्सार कार्यालयका कर्मचारी समेतको रोहवरमा पुनः गन्ति गर्दा विभिन्न दरका यु.एस.डलर ट्राभलचेक जम्मा ९४०६०।स्ट्रलिंग पौण्ड १३१८०।–, क्यानेडियन डलर ३६००।जर्मन मार्क ६१००।फ्रेन्च फ्रेंक ११७००। अष्टेलियन डलर ३३६०।स्वीस प्रेंmक ११५०।जापानी ऐन ५०००।विभिन्न दरका यु.यस.डलर र स्ट्रलिंग पौंण्डका चेक र ड्राफ्टको हुने क्रमशः २,८४०।८७, ९०१।५० क्यानेडियन डलर ड्राफ्टको हुने रु. १३०।डि.एम.चेक थान १ को हुने डि.एम. ७७।११ देखिएकोमा यु.एस.डलरको ट्राभल चेक मध्ये १०० दरको १९४ थानमा र ५० दरको एक थानमा क्यान्सिल (एल.एस.) छाप लागेको यी एल.एस. क्यान्सिल ट्राभल्स चेकहरु निज धर्मले सेफमा रहेछ भनी गन्ती भइरहेको ठाउंमा पछि ल्याएको भन्ने समेत व्यहोराको उप सचिव तेजबहादुर बज्राचार्य समेतले मिति २०४३।१।३ मा गरिदिएको मुचुल्का ।

७.    त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बेवारिस रुपमा फेला पारेको विदेशी मुद्रा र ट्राभल्स चेकहरु मध्ये भन्सार तथा राजस्व अनुसन्धान महाशाखाका कर्मचारी समेतको मिलोमतोबाट सक्कली ट्राभल्स चेक झिकि नक्कली ट्राभल्स चेक हाली आफूहरुलाई गैरकानूनी फाइदा पुर्‍याएको भन्ने बुझिएकोले आवश्यक कानूनी कारवाही होस् भनी देशभक्तको नामबाट राजस्व अनुसन्धान महाशाखामा मिति २०४३।१।४ मा परेको निवेदन ।

८.    २०४३ साल वैशाख ३ गते म राजश्व अनुसन्धान महाशाखामा नै थिएं । उक्त दिन त्रिभुवन विभानस्थल भन्सार कार्यालयबाट बरामद भएका विदेशी मुद्रा भएको सिलबन्दी बाकस बुझि लिएको थिएं । उक्त शिलबन्दी बाकसमा रहेको विदेशी मुद्रा भन्सार कार्यालयको पत्र र मुचुल्का अनुसार गन्ती गर्दा ११,२०० यु.एस. डलरको ट्राभल्स चेक कम भएको देखियो । ०४३।१।२ गतेका दिन भन्सारबाट खटी आएका कर्मचारीहरु र म समेत भई नेपाल राष्ट्र बैंकमा रु. ३,६०,०००।जति विदेशी मुद्रा बुझाई बांकी बुझाउन नसकिएको ट्राभल्स चेक अफिसमा ल्याई सेफमा राखेको थिएं । ०४३।१।१ गतेका दिन राजस्व अनुसन्धान महाशाखाका अस्थायी खरिदार वैकुण्ठप्रसाद भण्डारी मेरो घरमा आएका थिए । निजले आफूसंग १०० दरका १००।१०० थानका २ वण्डल एल.एस.छाप लागेका क्यान्सिल भएका अमेरिकी डलरका ट्राभल्स चेकहरु मलाई देखाई भन्सारबाट बरामद भएका विदेशी मुद्राहरु समेतको ट्राभल्स चेकहरु मध्येबाट यी (देखाएका) बण्डलहरु साट्नु पर्छ । कसैले थाहा पाउंदैन, हामीलाई पनि फाइदा हुन्छ भनेका थिए । मैले हुन्न भन्न सकेको थिइन् । निजले मौका मिल्यो भने जसरी भएपनि साट्नु पर्छ समेत भनेका थिए । ०४३।१।३ का दिन बिहान म अफिस आउंदा निज बैकुण्ठ र दामोदर अग्रवाल आई गेटमा कुरा गरिरहेका रहेछन् । निजले कौेशीमा जाउं भनि जाँदा पहिलेका कुरा दोहर्‍याएर ती एल.एस. छाप लागेका ट्राभल्स चेक पनि देखाएका थिए । त्यसपछि भन्सारबाट खटी आएका कृष्णप्रसाद खनाल समेत भई सेफ खोली गन्ती गर्न लाग्दा हाकिम साहेव समेत आई फर्किनु भयो । त्यसपछि बैकुण्ठ पनि भित्र आई आफूसंग भएको एल.एस.छाप लागेको ट्राभल्स चेकको मुठ्ठा सेफभित्र फुत्त फालि दियो र मैले झिकेको झोला मध्ये च्यातिएको झोलाबाट २ वण्डल सक्कली ट्राभल्स चेकहरु झिकेर बाहिर लिई गई हाल्यो । त्यसपछि उक्त ट्राभल्स चेक कसलाई दियौं त भनी सोध्दा का.जि.का.न.पं. ५ टंगाल वस्ने कालु गुरुंगलाई दिए भन्थ्यो । निज बाहिर गएर आएपछि ११ हजार मात्र लिएछु, ९ हजार पुगेन भनी माथि आएर भन्न लाग्यो । निजले राखिदिएको नक्कली चेकमाथि नलगी त्यसै तल राखिदिएको थिएं । ट्राभल्स चेक भएको झोला माथिल्लो तल्लाको मुद्दा शाखाको टेबुलमा राखिदिएको थिएं । कृष्णप्रसाद, वासुदेव, हरिनारायण ढकाल समेत भई उक्त रुपैया गन्दा ११ हजार डलर नपुग भयो भनियो र म तल गई सेफवाट उक्त एल.एस.छाप लागेको ट्राभल्स चेक नै लिएर पाइयो भनी आएपछि यो त काम नलाग्ने भयो भनी कृष्णप्रसाद र माधवले मुचुल्कामा सही गरेनन् । पछि वैकुण्ठ संग डिल्लीवजार सदरखोरमा भेट हुँदा उक्त लगेका चेक कालुलाई दिएं । ६,६००।लियो, बाँकी फर्काई दियो, फर्काए मध्ये केहि साटेर राखें भन्थे । रुपैया राखेको सेफको साँचो म जिम्मा थियो । ०४३।१।२ गते राष्ट्र बैंकवाट फिर्ता ल्याएको सुटकेशको एक पोकामा यु.एस.डलर, अर्को पोकामा बिभिन्न मुद्धा ट्राभल्स चेकहरु थिए । जुन दुवैको पोका प्लाष्टिकको थियो । वैकुण्ठप्रसादले सेफ भित्र फाली  दिएको उक्त एल.एस. छाप लागेको ट्राभल्स चेक २०० थान छ भन्थ्यो, निजले गन्दाखेरी १०० दरको १०० थान १० दरको १०० थान गरि जम्मा ११००० को ट्राभल्स चेक झिकेर लगेको थाहा पाएँ । उक्त ट्राभल्स चेकहरु वैकुण्ठले ०४३।१।१ गते मेरो घरमा आई सल्लाह भए मुताविक ०४३।१।३ गते निजले सेफमा राखिदिएको हो । त्यसरी त्रिभूवन विमानस्थल भन्सार कार्यालयवाट राजश्व अनुसन्धान महाशाखामा पठाएको अमेरिकी डलरका ट्राभल्स चेकहरु ८५८१०।मध्येवाट १९५ थान क्यान्सिल भएको नचल्ने ट्राभल्स चेकहरु राख्ने काम गरेकोमा जम्मा ७४,६१०।यु.एस.डलरका ट्राभल्स चेकहरु राजश्व अनुसन्धान महाशाखावाटै कलेक्सनको लागि पठाउन सकेकोमा ११,२००।ट्राभल्स चेकहरुको रकम म समेतको मिलोमतोवाट श्री ५ को सरकारलाई हानी नोक्सानी पुग्न गएको तथ्यलाई स्विकार गर्दछु भन्ने समेत व्यहोराको धर्ममान स्थापितले ततिम्वा सहित विशेष प्रहरी विभागमा गरेको वयान ।

९.    मिति ०४३।१।३ गतेका दिन यस महाशाखाको दोश्रो तल्लाको मुद्दा फांटको कोठामा भन्सारबाट वरामद भई आएको विदेशी मुद्धाको ट्राभल्सचेक समेत गन्ति गर्ने यस महाशाखाका लेखापाल धर्ममान स्थापित समेतका अन्य प्रतिनिधि भई गन्ति गर्दा २ ठेली यु.एस.डलर ट्राभल्स चेक ११०००।नपुग भयो भनी निज धर्ममानले भन्दै निज तल गएपछि सेफवाट १०० दरका २ ठेली ट्राभल्स चेक सेफमा छुटेको र खसेको रहेछ भनि ल्याए । तर उक्त ट्राभल्स चेकमा ५ थान बाहेक १९५ थानमा एल.एस.छाप लागेको थियो भन्ने समेत व्यहोराको राजश्व अनुसन्धान महाशाखाका उप सचिव तेजबहादुर बज्राचार्य समेतले गरि दिएको ०४३।१।७ को कागज ।

१०.    ०४३।१।२ का दिन राष्ट्र बैंकवाट फर्केपछि विदेशी मुद्रा राखिएको सुटकेश नै शिलमार्ने कुरा गर्दा सुटकेश अट्ने ठाउं छैन, त्यसभित्र राखिएको प्लाष्टिकको झोलामा रहेको मुद्धाहरु सेफ भित्र राखी सिल मार्नुपर्छ भनी धर्ममानले भनेपछि म विशेष अधिकृतको कोठामा बसेको अवस्थामा एउटा कागजमा धर्ममानले सहिछाप गरेर ल्याए मैले सहिछाप गरें । धर्ममानले सेफमा सिल मारे । मैले वगलमा वसेर हेरेको सम्म हुँ । सिल मारेपछि म र कृष्णप्रसाद खनालसंगै बाहिर निस्क्यौं । म त्रिभूवन विमानस्थल तिर लागें । ०४३।१।३ का दिन म अफिसमा पुगी हाजिर भएं,तर सो दिन मलाई पेट दुःखी रहेकाले काम गर्न सक्ने मेरो अवस्था थिएन र प्रमुख भन्सार अधिकृतलाई आफ्नो अवस्था अवगत गराएपछि ना.सु.कृष्णप्रसाद खनाललाई राजश्व अनुसन्धान महाशाखा पठाउने भन्नु भयो । त्यसपछि म तुरुन्त घर गएं । घरमा आराम गरेर बसेको अवस्थामा राजश्व अनुसन्धान महाशाखाका कामदेव भन्ने कर्मचारी र कृष्ण खनाल करिव १२.३० बजेतिर म कहाँ आई भन्सारवाट वुझाएको उक्त बरामद भएको विदेशी मुद्रा ११०००।डलर पुगेन के भयो भनी विशेष अधिकृतले वोलाउन पठाएको कुरा मलाई अवगत गराउंदा मैले सोहि कुरा प्रमुख भन्सार अधिकृतलाई त्यसैवखत फोनवाट अवगत गराएको थिएं । १५,२० मिनेट पछि हामी राजश्व अनुसन्धान महाशाखामा पुग्यौं । हामी पुग्ने वित्तिकै नपुग ट्राभल्स चेक भेटियो भनियो । यत्तिकैमा के कति नपुगेको भनि खनालजीलाई सोध्दा १० डलरको र १०० डलरको १००।१०० थान नपुगेको भने । यत्तिकैमा नेपाल राष्ट्र बैंकवाट काजमा आएका हरि नारायणले भेटिन त भेटियो, तर ९००० डलर बेसी पो देखिन आयो भने । तर सबै एल.एस. छाप लागेको थाहा पाएं । यस्तो लष्ट एण्ड स्टोलन चेकहरु नचल्ने भन्ने थाहा पाएपछि म तुरुन्त त्यहांबाट बाहिर निस्कि प्रमुख भन्सार अधिकृत र महानिर्देशकलाई अवगत गराएर म घरतिर लागें । पछि मलाई पुनः बोलाई मुचुल्कामा सहि गर्न भनियो । मैले सहि गरिन र प्रमुख भन्सार अधिकृत र महानिर्देशक समेत आए पश्चात राजस्व अनुसन्धान महाशाखा कै कर्मचारीको कैफियत हुनु पर्छ भनी भन्नु भयो । उक्त ट्राभल्स चेकहरु सेफबाटै झिकेपछि माथिल्लो कोठामा पुर्‍याई गन्न बस्दाको बिचको प्रकृयाहरु सुन्दा त्यसै बिचमा साटफेर भएकी हुन सक्छ । पछि भेटिएका ट्राभल्स चेकहरु एल.एस. लेखिएको हुनु, रोखिएको झोलाबाट नभेटिई अन्यत्रबाट भेटिनु, दुईवण्डल हराएकोमा २ वण्डल नै भेटिई हराएका चेकहरुसंग दर नमिल्नु, प्लाष्टिकको झोला च्यातिनुबाट समेत चेकहरु साटिएको हुनुपर्छ भन्ने व्यहोराको माधवराज पोखरेलले विशेष प्रहरी विभागमा ततिम्बा सहित गरेको बयान ।

११.    मिति २०४३।१।३ गतेका दिन प्रमुख भन्सार अधिकृतको आदेशानुसार राजस्व अनुसन्धान महाशाखामा गएको थिएं । त्यस महाशाखाको माथिल्लो कोठामा लगी ट्राभल्स चेकहरु गन्दा ११,००० डलरको ट्राभल्स चेक पुगेन र म माधवराजलाई लिन गई निजलाई लिई आउंदा रकम पुग्यो तर करिव ९ हजार बढी निस्क्यो भनियो, उल्लेखित ट्राभल्स चेकहरु गन्दा म अगाडि नै थिएं । पोकावाट सबै झिकी गनिसकेपछि कम भयो भन्ने जानकारी पाएपछि म नहुंदा पुनः पाईयो र बढी पनि भयो भन्ने कुरा सुन्दा उक्त मुचुल्कामा सहि नगरेको हुं । पछि फेला परेको ट्राभल्स चेकहरुमा एल.एस. छाप लागेको भन्ने सुनेको हुँ । विशेष अधिकृतले मलाई शिल हेर्नु भनेपछि शिल हेर्दा ठिक छ भने । रुपैया र ट्राभल्स चेकहरु गन्ने कोठामा भिड भएकोले भिड नगर्ने है भनी धर्ममानले भनेकोले म कोठावाट वाहिर निस्केको हुँ । मलाई स्मरण रहेसम्म वैकुण्ठ भण्डारी र कामदेव, शंभु (पियन) म भित्र पस्दा संगसंगै पसे जस्तो लाग्दछ । उक्त विदेशी मुद्रा भएको वाकस समेत धर्ममानले सिलवन्दी वाकस वुझि लिएँ भनी भरपाई गरेको  छ । उक्त विदेशी मुद्राहरु (चेकहरु) रुजु गरेको हुं । रुजु गर्दा शुरुमा गनिएको डलरको चेक कमी भयो र धर्ममानजीले अर्को झोला हातमा लिएर आउनु भयो । करिव ११ हजार डलर अर्थात १०० मूल्यको १०० वटा र १० मुल्यको १०० वटा कम भयो भन्ने समेत व्यहोराको कृष्णप्रसाद खनालले विशेष प्रहरी विभागमा ततिम्वा सहित गरेको वयान ।

            १२.   २०४२ चैत्र ३१ गते भन्सारका २ जना ना.सु. र धर्ममानले विदेशी मुद्धा रहेको सुटकेश नेपाल राष्ट्र बैंकमा  वुझाउने कोशिश गर्दा समयभावले नवुझेकोले सुरक्षाको दृष्टिकोणले राष्ट्र बैंकको ढुकुटीमा राख्न अनुरोध गर्दा सिलको सट्टा कागज टाँसेर ल्याएकोले वुझ्दैंनौं भनेकाले राजश्व अनुसन्धान महाशाखाको सिलछाप लगाई बैंकलाई वुझाई भरपाई लिई आयौं । ०४३।१।२ गतेका दिन म समेतका अन्य व्यक्तिहरु नगद वुझाउन नेपाल राष्ट्र बैंक गयौं । बांकी ट्राभल्स चेकहरु सुरक्षित साथ सेफमा राख्ने भन्ने भयो र सहिछाप गरियो । ०४३।१।३ का दिन करिव ११.४५ बजेतिर धर्ममानले अब गन्ने काममा सहयोग गर्नुपर्‍यो भन्दा कार्यालयको दोश्रो तल्लाको पश्चिम उत्तरको कोठामा भन्सारका प्रतिनिधि ना.सु. कृष्णप्रसाद खनालले पोका फुकाई कामदेव आचार्य, बासुदेव शर्मा समेत भै गन्ने काम गर्दा ट्राभल्स चेक नपुग हुन आयो भनियो । पछि सेफमा छुटेको रहेछ भनी धर्ममानले १०० दरका दुई प्याकेट जसभित्र एकथान पचास दरको समावेश भएको) ट्राभल्स चेकलिई आएकोले सो समते गन्ती गरि फेहरिस्त बनाई निज धर्ममानलाई जिम्मा दिईयो । पछि फेलापारी ल्याइएको ट्राभल्स चेकहरु दुई मुठ्ठाको सयदरको १९९ र पचास दरको एकथान समेत जम्मा १९९५० मूल्यको प्राप्त भयो । सो मध्ये १९५ थानमा क्यान्सिल छाप लागेको पाइयो । उक्त दिन वैकुण्ठ भण्डारीलाई अफिसमा नै देखेको थिएं भन्ने समेत व्यहोराको सहायक नियन्त्रण हरिनारायण ढकालले विशेष प्रहरी विभागमा ततिम्बा सहित गरेको बयान ।

१३.   २०४२।१२।२८ का दिन म कार्यालय मै उपस्थित थिएं । उक्त दिन विदेशी  मुद्रा पक्राउ पर्‍यो भन्ने सुनेको थिएं र मलाई करिव ४.३० बजेतिर प्रमुख भन्सार अधिकृतले टिपोट गर्न बोलाएपछि केहि टिपोट गरेको थिएं । गन्ती गर्ने काम मैले गरेको होइन । विदेशी मुद्राहरु गन्ति गर्ने काम मुचुल्कामा उल्लेखित व्यक्तिले नै गरेका थिए । उक्त टिपोट हेरि सनाखत गर्दछु । मलाई गन्ती गर्ने व्यक्तिहरुले जुन दरको जति पिस लेख्नु भन्थे सोही अनुसार मात्र लेखेको हुँ । किन फरक पर्‍यो ? भन्ने कुरा गन्ती गर्नेहरुलाई नै थाहा होला भन्ने समेत व्यहोराको भरतप्रसाद गुरागाईले राजस्व सनुसन्धान महाशाखामा गरेको बयान ।

१४.   ०४२।१२।२८ का दिन मेरो डिउटी २ बजेदेखि थियो । म आफ्नो डिउटीमा २ बजे एयरपोर्ट पुग्दा थाई एयरलाइन्सको जहाज उड्न तयार भइकसेको थियो । त्यही बेलामा डिपार्चर हलमा भन्सारका कर्मचारीहरुले एउटा निलो रंगको सुटकेश सामान चेक गर्ने ठाउंमा राखी राखेको देख्दा किन राखेको भनी मैले सोधनी गर्दा भन्सारका जाँचकीहरुले यसको मालिक आएको छैन । त्यसो भएर बसी राखेको छ भने । त्यतिकैमा डिउटी अधिकृत डिल्लीराम रिजाल आएपछि अफिसमा लगी सबैको सामुन्ने खोल्नुपर्छ भन्ने आपसमा कुरा भयो । सो अनुसार खोली हेर्दा मुचुल्का अनुसारका विदेशी मुद्रा समेत भेटियो । त्यसपछि मुद्रा गन्ती गरी शिलछाप लगाई राखियो । ०४२।१२।३१ का दिन उक्त सुटकेश म समेत भई भन्सार कार्यालयको पत्रसाथ राजस्व अनुसन्धान महाशाखामा ल्याई पुनः ना.सु. धर्ममान समेत भई ने.रा.बैंक थापाथलीमा राख्ने काम भयो । एल.एस.क्यान्सिल छाप लागेको भन्ने सम्बन्धमा उक्त सुटकेश भित्रका विदेशी मुद्रा र ट्राभल्स चेक घटी बढी र छाप समेत लगाएको नभेटिनु पर्ने हो, कसरी त्यस्तो हुन गयो थाहा छैन भन्ने समेत व्यहोराको गस्ति निरिक्षक दानबहादुर चन्दले राजस्व अनुसन्धान महाशाखामा ०४३।१।२१ मा गरेको बयान ।

१५.   ०४२।१२।२८ का दिन मेरो दोश्रो सिफ्टको ड्यूटी भएकोले आगमन काउण्टरमा २.३० बजेतिर पुगेपछि सो विदेशी मुद्रा सम्बन्धी आवश्यक कारवाही भईरहेको रहेछ । तत्पश्चात यात्रुहरुको भिड भईरहेकोले म यात्रुहरुलाई क्लियर गर्ने कार्यमा व्यस्त रहो । विदेशी मुद्रा सम्बन्धी गर्नु पर्ने कारवाही सकिएपछि मुचुल्का र प्रतिवेदनमा भएका सबैको रोहवरमा उक्त विदेशी मुद्राहरु बाकसमा राखी शिलबन्द गरी राखिएको हो भन्ने समेत व्यहोराको भन्सार अधिकृत प्रकाश मोहन जोशीले राजस्व अनुसन्धान महाशाखामा ०४३।१।२२ मा गेको बयान ।

१६.    ०४२।१२।२८ का दिन यस महाशाखाको कर्मचारीको नाताले त्रिभुवन विमानस्थलमा उपस्थित थिएं । उक्त दिन फेला परेका विदेशी मुद्रा समेत गन्ने काम गरेको थिएँ । गन्ने काम गर्दा त्यस्तो कुनै किसिमको एल.एस.छाप लागेको नदेखेको व्यहोरा अवगत गराउंछु । राजस्व अनुसन्धान महाशाखामा गन्ती गर्दा एल.एस.छाप लागेका विदेशी ट्राभल्स चेकहरु कसरी प्राप्त भयो ? मलाई थाहा छैन । बरामद गर्दा एल.एस.छाप लागेको ट्राभल्स चेक थिएन भन्ने समेत व्यहोराको सरोज चन्द्र तिवारीले ततिम्बा सहित विशेष प्रधान विभागमा गरेको बयान ।

१७.   मिति ०४२।१२।३१ को सक्कल पत्र हेरें । पत्रमा उल्लेख भए अनुसार उक्त बन्दी सुटकेश डिपार्चर काउण्टरमा थाई एयरलाइन्सको विमानबाट बैंकक हुंदै हंगकंग जाने डेस्कमा आएको थियो । चेक जाँच गर्ने सिलसिलामा निगरानी राखिरहेकोमा अन्तिम समयसम्म पनि सो सुटकेश चेक जाँच गराउन कोहि नआएकोले वेवारिस भै शंका लागी एराईभल काउण्टरको एक्सरे कोठामा ल्याई विभिन्न प्रतिनिधिहरुको रोहवरमा खोली हेर्दा विभिन्न देशका मुद्राहरु फेला परेकोले गन्ती गरी मौका मुचुल्का समेत तयार गरी सुटकेशमा नै राखी सिलछाप गरिएको थियो । मुद्राहरु गन्ती गर्दा एल.एस.छाप र क्यान्सिल छाप लागेको देखिएको थिएन । देखाइएका १९५ थान ट्राभल्स चेकहरु हेरें । उक्त चेकहरु ०४२।१२।२८ का दिन बरामद भए मध्येका होईन भन्ने समेत व्यहोराको डिल्लीराज रिजालले विशेष प्रहरी विभागमा ततिम्बा सहित गरेको बयान र सोही व्यहोरा मिलान हुने गरी गंगाप्रसाद सुवेदी ना.सु. जयप्रसाद जोशी ख.रत्नप्रसाद प्रधान, दिनेश पौड्याल गोबिन्द राज विष्टले विशेष प्रहरी विभागमा गरेको बयान ।

१८.   दामोदर अग्रवाललाई चिन्दछु । निजसंग मेरो कुनै नाता सम्बन्ध कारोवार छैन । ०४३।१।३ गतेका दिन मेरो रातो रंगको १८९४ नम्बरको गाडी कसैले मागेको पनि छैन र कसैलाई मैले दिएको पनि छैन । उक्त दिनमा म राजस्व अनुसन्धान महाशाखामा गई लेखापाल धर्ममान स्थापितसंग कुरा मिलाई विदेशी मुद्रा ट्राभल्स चेकहरु साट्ने काम समेत गरेको छैन भन्ने समेत व्यहोराको पुरुषोत्तम लाल अग्रवालले विशेष प्रहरी विभागमा गरेको बयान ।

१९.    २०३२ साल देखि २०३९ साल सम्म यस विभागमा कार्यरत रही २०३९ सालदेखि २०४३ साल जेष्ठ ८ गतेसम्म राजस्व अनुसन्धान महाशाखामा समेत कार्यरत रही कामकाज गरेको थिएं । हाल अवकाश पाई सकेको छु । ०४३।१।३ गतेका दिन म राजस्व अनुसन्धान महाशाखामा हाजिर थिएं । उक्त महाशाखाका लेखापाल धर्ममान स्थापितलाई चिन्दछु । ०४२।१२।२८ मा पक्राउ भएको सुटकेश ०४२।१२।३१ गते हो या २ गते हो सिलबन्दि बुझि लिएं भनी धर्ममानले बुझे भन्ने थाहा छ । भन्सारले बुझाउन ल्याएको उक्त सुटकेश माधवराज पोखरेल र कृष्णप्रसाद खनालको रोहवरमा खेलिएको हुनुपर्छ । सुटकेश भित्र रहेको मुद्रा गन्ने कामको लागि बासुदेव शर्मा कामदेव आचार्य, कृष्णप्रसाद खनाल, हरि नारायण ढकाल, माधवराज पोखरेल गन्ती गर्ने टेवल अगाडि रहेका थिए । गन्ति गर्दा पहिला यु.एस.डलर ११२००।बराबरको ट्राभल्स चेक घटि भएको र पछि एल.एस.छाप लागेको जम्मा २००००।बराबरको यु.एस.डलरका ट्राभल्स चेक लेखापाल धर्ममान जिम्माकै सेफबाट भेटिएको हो । निज धर्ममानको घर समेत मैले देखेको छु । २०४२।१२।२८ मा म अफिसमा नै बसेको थिएं । उक्त मितिमा करिव रु. ६१ लाखका विदेशी मुद्राहरु पक्राउ भएको भन्ने थाहा छ । ०४३।१।२ का दिन म १० बजे देखि ५ बजेसम्म नै अफिसमा थिएं । उक्त दिन राष्ट्र बैंकबाट फिर्ता ल्याएका विदेशी मुद्राहरु समेत सेलमा राख्ने कार्यमा म थिइन । मिति ०४३।१।३ गतेका दिन अन्दाजी ११:३० बजेतिर धर्ममान स्थापितले मलाई १ वण्डल कागजमा वेरेको पोका दिएर हाम्रो अफिसको पश्चिमपटृी कमलादी जाने बाटोमा रोकि राखेको रातो कार देखाई यो बण्डल त्यसै रातो मोटरमा बसेको मानिसलाई दिन जानु्होस् भने अनुसार म बाहिर गएको हुँ । निजको नाम दामोदर अग्रवाल हो भनी निजले नै ट्राभल्स चेकको पोका मैले लिई दामोदर अग्रवाललाई दिई बाहिर गएं । बाहिरबाट फर्कि आउंदा मेरो शाखामा विदेशी मुद्रा गन्ने काम भई सकेको र पहिला ११ हजार नपुग भएको पछि ९ हजार बढी फेला परेको भन्ने कुरा माधवराजबाट थाहा पाएं । भन्सारका कर्मचारीले सहि गरेनन् । मलाई उक्त सक्कली ट्राभल्स चेक धर्ममानले अफिसमा सेफबाट झिकी मलाई दिएको हो । मैले पनि निजले भने अनुसारकै कुरा गरि दामोदर अग्रवाललाई दिएका हुं । सो वापत पछि हिसाव किताव मिलाउंला भनेको थिएँ । सकली ट्राभल्स चेक मात्र धर्ममानबाट लिई दामोदरलाई दिएकोसम्म हुँ । निजको प्रलोभनमा परि मैले दिएको हुँ । कानूनले नमिल्ने हो । एल.एस.छाप लागेको ट्राभल्स चेक दामोदर अग्रवालले मलाई दिएका हुन् । सो एल.एस. छाप लागेको ट्राभल्स चेक मैले धर्ममानलाई दिएपछि निजले सक्कली चेक मलाई दिएकाले अफिसको गेट बाहिर करिव ११.१५ बजेतिर दामोदरलाई दिएका हुं । उक्त विदेशी मुद्रा गन्ने रुजु गर्ने काम हुंदा धर्ममान र मेरो सल्लाह अनुसार २ मुठा ट्राभल्स चेक झिकी लिएकोले सोही २ मुठ्ठाको ११,०००।मुद्रा बराबरको ट्राभल्स चेक घटी हुन गएको हो । म समेतको मिलोमतोबाट श्री ५ को सरकारलाई हानी नोक्सानी हुन गएको तथ्यलाई स्वीकार गर्दछु । कानूनले जो ठहर्छ भन्ने समेत व्यहोराको वैकुण्ठप्रसाद भण्डारीले विशेष प्रहरी विभागमा गरेको ततिम्बा सहितको बयान ।

२०.   २०३६ सालदेखि अर्थ मन्त्रालयको खरिदार पदमा कार्यरत रही आएको छु । २०४२।१२।३१ का दिन मा मेरै फांटमा काम गरि रहेको थिएं । ०४३।१।२ गतेका दिन लेखापाल, धर्ममान स्थापित र भन्सारका कृष्णप्रसाद मेरो कोठामा आई खाली टेबुलमा बसी विदेशी मुद्राको ट्राभल्स चेक भएको झोला ल्याई गन्ति गरेका थिए । गन्ति गर्दा घटी भएपनि विशेष अधिकृतज्यू आई म समेतका कर्मचारीलाई दोहर्‍याई  गन्न आदेश दिनु भयो । गन्ति गर्दा ११ हजार घटी भयो र पछि भेटियो भनी धर्ममानले ल्याएको २ मुठ्ठा ट्राभल्स चेकमा सय दरको १९९ थान र ५० दरको १ थान समेत गरि १९९५० यू.एस.डलरको ट्राभल्स चेक थियो । धर्ममानले पछि ल्याएका ट्राभल्स चेकहरु निजले सेफवाटै ल्याएका हुन । उक्त ट्राभल्स चेकमा एल. एस. (क्यान्सिल) छाप लागेको थियो भन्ने समेत व्यहोराको राजश्व अनुसन्धान महाशाखाका खरिदार वासुदेव शर्मले विशेष प्रहरी विभागमा ततिम्वा सहित गरेको वयान र सोहि मिलानको गोपाल मान सिंह वस्नेतले गरि दिएको वयान ।

२१.   ०४३।१।३ का दिन वैकुण्ठप्रसाद भण्डारी सर्वोच्च अदालत जानु पर्ने भएकोले जान आदेश दिएको थिएँ । करिव ४५।५० मिनेट पछि फर्कि आएका थिए । विदेशी मुद्धाहरु गन्ति गर्दा उक्त दिन करिव साढे बाह्र एक वजेतिर धर्ममान मेरो कोठामा आई ११ हजार ट्राभल्स चेक नपुग भयो भन्यो । त्यसपछि मैले खोल्दा मुचुल्का गरेको छ छैन भनी सोध्दा पछि एकै चोटी मुचुल्का गर्ने कुरा भएको थियो भन्यो । माधव पोखरेललाई लिन कृष्णप्रसाद र कामदेवलाई पठाएको २०।२५ मिनेट पछि नै धर्ममानले सेफमा राखेको प्लाष्टिकको झोला फुटेर दुई मुठ्ठा राखेको रहेछ पाएं भन्यो । माधव पोखरेल आएपछि ९,००० बढी भएको र पछि फेला परेको २ मुठ्ठा तल माथि सवै ट्राभल्स चेक राखी विचमा एल.एस. छाप लागेको नचल्ने ट्राभल्स चेकहरु राखेको थाहा भयो । कामदेव आचार्यले उक्त नचल्ने ट्राभल्स चेकहरु साट्ने काम धर्ममान र वैकुण्ठप्रसाद भण्डारीवाट भएको हुन सक्छ भनी मलाई मौखिक रुपमा भनेका थिए भन्ने समेत व्यहोराको राजश्व अनुसन्धान महाशाखाका विशेष अधिकृत टेकवहादुर रायमाझीले विशेष प्रहरी विभागमा ०४३।३।१ मा गरेको वयान ।

२२.   म त्रिभूवन विमानस्थल भन्सार कार्यालयमा हवाई जहाजवाट आउने जाने स्वदेशी तथा बिदेशी यात्रीहरुको सामानहरु नियम अनुसार चेक जाँच गरी जाँचपास समेत गर्ने काम गर्दछु । ०४२।१२।२८ का दिन मेरो डिउटी ७ बजे देखि २ बजे सम्म एराइभल काउण्टरमा थियो । डिपार्चर  काउण्टरमा उक्त दिन अर्कैको डिउटी थियो । चेक जाँच गर्ने भनी ल्याएको सुटकेश सुटकेशवालाले टिकट क्यान्सिल गरेको छ, सुटकेश फिर्ता गर्नु पर्‍यो भनी सुटकेश लिन मानिस आएको हुँदा सो खोली हेरि फिर्ता गर्नु पर्ने भए गरिन्छ भनी त्यहाँ कार्यरत अफिसर तथा कर्मचारीले जवाफ दिएका थिए भन्ने सुनेको हुँ । वेवारिस विदेशी मुद्धाको मुचुल्कामा भएको सही मेरो हो । के कस्तो अवस्थामा फेला परेको भन्ने सम्बन्धमा मलाई थाहा छैन । त्यस ठाउँमा फेला पारी अधिकृत कर्मचारीले एराइभल काउण्टरमा ल्याएपछि अन्य प्रतिनिधि समेतका रोहवरमा गन्ती शुरु गरियो । उक्त मितिमा वरामद भएका मुद्रा तथा ट्राभल्स चेकमा एल.एस.छाप लागेको थिएन भन्ने समेत व्यहोराको हिमवहादुर वुढाथोकीले विशेष प्रहरी विभागमा ०४३।४।२० मा गरेको वयान ।

२३.   ०४२।१२।२८ का दिन म सदा झैं कार्यालयमा हाजिर गरि सिनामंगल कार्यालयमा गएं । साढे एघार बाह्र बजेको समयमा आवश्यक कामले एक नम्वर कार्यालयमा आउंदै थिए । वाटामा भन्सार अधिकृत डिल्लीराज रिजाल भेटिनु भयो र उहांले उक्त दिन डिपाचर काउण्टरमा एउटा शंकास्पद अवस्थामा सुटकेश फेला परेको छ भन्ने कुरा भन्नु भयो । आफ्नो काम सिध्याएर १ नम्वर कार्यालयमा जांदा धमाधम नोटहरु गन्ने काम भएको रहेछ । गन्ने काम समाप्त भएपछि मुचुल्का तयार गरी नोटहरु सोहि सुटकेशमा बन्द गरी सिल गरेर गोदाममा राखियो । ट्राभल्स चेकमा एल.एस.वा क्यान्सिल भन्ने कुनै छाप लागेको थिएन भन्ने समेत व्यहोराको जनार्दन शर्माले विशेष प्रहरी विभागमा ततिम्बा सहित गरेको बयान ।

२४.   वैकुण्ठप्रसाद भण्डारीलाई ०४२।२।८ देखि नै अवकाश दिइसकेको हुँदा निज उपर विभागीय कारवाही गरि रहनु नपर्ने । धर्ममान स्थापित उपरको विभागीय कारवाहि यस विभागबाट ०४३।५।३० मा भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरि नोकरीबाट दर्खास्त गर्ने गरि गरिएको निर्णय उपर प्रशासकीय अदालतमा निजले पुनरावेदन दिएकोमा उक्त अदालतबाट मुलुकी ऐन अदालती बन्दोवस्तको १२ नं. बमोजिम मुल्तवी राख्ने भन्ने भएको आदेशको प्रतिलिपि सहितको जानकारी वि.प्र.वि.मा प्राप्त भएको ।

२५.   प्रतिवादी धर्ममान स्थापित उपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) र १३ तथा प्रतिवादि वैकुण्ठप्रसाद भण्डारी उपर सोही ऐनको दफा ७(१) र १६क को प्रतिवन्धात्मक वाक्यांश अन्तर्गत कारवाही भई सोहि ऐनको दफा २९(१) बमोजिम धर्ममान स्थापितले आफ्नो जिम्मा रहेको सक्कली यु.एस.डलर तथा ट्राभल्स चेक झिकी प्रतिवादी वैकुण्ठप्रसाद भण्डारीलाई दिई सो स्थानमा नक्कली ट्राभल्स चेक राखी ११२००। यु.एस.डलर बराबरको हुन आउने रु. २,३८,०००।हिनामिना गीर भ्रष्टाचार गरेकोले उक्त रकम निजबाट सर्व संचित कोषमा दाखिल गर्न समेत माग गरिएको विशेष प्रहरी विभागको आरोप पत्र ।

२६.   विशेष प्रहरी विभागमा भएको बयान मेरो स्वेच्छाले दिएको होईन । बयान गराउँदा कुटपिट गरि खेश्रा गरी दिएकोले सोही व्यहोरा आफ्नो हस्ताक्षरले सारी सही गरि दिएको हुँ । सिलवन्दी बाकस मैले राजश्व अनुसन्धान महाशाखाबाट बुझेको होइन । भन्सारका कर्मचारीले नै सुटकेश बांकी राष्ट्र बैंकमा गएकोमा ढिला भएको कारण सो दिन रुपैया नगनी भोलि आउनु भनि वाकस नै बुझि राखे त्यसमा मैले भन्सारका कर्मचारीलाई सिलबन्दि वाकस बुझे भनि भरपाई गरि दिएको हुँ । बैंकले मलाई गरि दिएको भरपाई अफिसमा छ । मिसिल संलग्न १०० दरका ट्राभल्स चेकको विवरण पहिले बुझाउन ल्याउंदा थिएन । मेरो ठाउंमा आएका लेखापाललाई मेरो जिम्मामा रहेको विदेशी मुद्रा बुझाउंदा भन्सारमा पक्राउ पर्दा प्राप्त भएको भनी लेखाउन लगाएको हो । विदेशी मुद्रा राखेको थैलो फुटी सेफमा रहेको अरु रकममा मिसिएकोले पहिले राखेको विदेशी मुद्राको विवरण थियो सो मा रुजु गरिन भिडे जति यस मुद्दाको ट्राभल्स चेक संगको हो भनि हाकिम टेकबहादुर र म भई छुट्याएका हौं । मिसिल  सामेल रहेको १९५ अमेरिकी ट्राभल्स चेक पहिला पक्राउ भएका चेकहरु हुन् । यो मैले साटेको होइन । ट्राभल्स चेक रुजु गर्दा कुनै घटी कुनै बढी देखिन आएकोले रुजु गर्दा नै झिकेको हो । वैकुण्ठप्रसादसंग कुनै रुपैया लिनु दिनु गरेको समेत होइन । ट्राभल्स चेक भोलिपल्ट अफिसमा गन्दा मौका मुचुल्कामा उल्लेखित भन्दा बढी निस्केको छ । तसर्थः उक्त मुचुल्का नै ठिक छैन भन्ने समेत व्यहोराको प्रतिवादी धर्ममान स्थापितले वागमती विशेष अदालतमा गरेको बयान ।

२७.   मिति २०४३।१२।३ का दिन काम विशेषले सर्वोच्च अदालत तथा महान्यायाधिवक्ता कार्यालयमा गई ३ बजेतिर अफिस पुग्दा माधवराज पोखरेलबाट धर्ममानले पहिले रुपैया हरायो भनी पछि फेला परि भेटियो भनेकाले झण्डै मलाई अप्ठ्यारो पारेको थियो भनेपछि घटनाको विषयमा थाहा पाएँ । वारदात भएको समयमा म घटनास्थल मै नभएको कारण म उपर लगाइएको अभियोग झुठ्ठा हो । विशेष प्रहरी समक्ष गरेको बयान स्वेच्छाले गरेको नभई कुटपिट गरि यातना दिई गरि दिएको खेश्रा बमोजिम लेखी सहिछाप गरि दिएको हुँ । मैले ट्राभल्स चेक धर्ममानबाट लिई दामोदर अग्रवाललाई दिएको होइन । ट्राभल्स चेक  अफिस सेफमा सिलबन्दी गरि राख्दा र भन्सार प्रतिनिधिको रोहवरमा खोल्दा समेत म रोहवरमा बसेको छैन । ०४१।४२ साल तिर राजस्व अनुसन्धान महाशाखाबाट पासाङ गुरुङबाट बरामद भएको ट्राभल्स चेक  पुनः निजलाई नै फिर्ता दिएको विषयमा मैले थाहा पाएको साँचो कुरा छानविन आयोग समक्ष भनेको रिस इविबाट मलाई यो झुठ्ठा मुद्दामा फसाउने प्रयत्न गरिएको हो । मिसिल संलग्न रहेको १९५ अमेरिकी ट्राभल्स चेकको वारेमा मलाई केहि थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी वैकुण्ठप्रसाद भण्डारीले वागमती विशेष अदालतमा गरेको बयान ।

२८.   प्रतिवादीहरुको साक्षी तथा सरकारी गवाहहरुले गरेको बकपत्र मिसिल सामेल रहेको।

२९.   प्रतिवादी धर्ममान स्थापितले ०४२।१२।२८ मा फेला परेको आफ्नो जिम्मा नियन्त्रणमा रहेको ११,२०० यु.एस.डलर ट्राभल्स चेकहरु हिनामिना गर्ने बदनियतले प्रतिवादी वैकुण्ठप्रसाद भण्डारीसंग मिलोमतो गरि उक्त सक्कली यु.एस. डलरका ट्राभल्स चेकहरु वैकुण्ठप्रसाद भण्डारीलाई दिइै बैकुण्ठप्रसाद भण्डारीबाट नक्कली (एल.एस.छाप लागेको) ट्राभल्स चेकहरु लिई सक्कली ट्राभल्स चेकको ठाउंमा नक्कली ट्राभल्स चेक राखि ११,२०० यु.एस.डलर हिनामिना गरि प्रतिवादीहरुले भ्रष्टाचार गरेको देखिंदा प्रतिवादी धर्ममानले भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १३ अनुसार र प्रतिवादी वैकुण्ठप्रसादले सोही ऐनको दफा १६क अनुसार कसुर गरेको ठहर्छ । प्रतिवादी धर्ममानलाई सोही ऐनको दफा १३ अनुसार कैद वर्ष २ र प्रतिवादी वैकुण्ठप्रसादलाई सोही ऐनको दफा १६क अनुसार कैद वर्ष १ हुने र सोही.ऐनको दफा १३ र २९(१) बमोजिम हिनामिना गरेको ११,२०० यु.एस. डलर बरावरको हुन आउने रु. २,३८,०००।निज धर्ममान स्थापितबाट असुल गरी श्री ५ को सरकारको संर्वसंचित कोषमा दाखिला गर्ने समेत ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०४९।९।२३।५ को फैसला ।

३०.   प्रस्तुत मुद्दामा विवादित ट्राभल्स चेकहरु वेवारिसी अवस्थामा भेटिएको कुरामा विवाद   छैन । यस्ता चेकहरुको भुक्तानी नहुन्जेलसम्म नगद परिणत भएको मान्न समेत मिल्दैन । उल्लेखित वेवारिसी ट्राभल्स चेकहरु भ्रष्टाचार गरेको, अनियमितता गरेको भन्ने प्रश्न उठ्न सक्तैन । पुनरावेदन अदालतको फैसलामा अ.वं. १८४ क, १८९ र प्रमाण ऐनको दफा ५४ को समेत त्रुटी गरि फैसला भएको छ । मैले कुनै पनि अपराध नगरेको अवस्थामा २ वर्ष कैद र २,३८,०००।असुल गर्ने गरी गरिएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाई पाउं भन्ने समेत व्यहोराका प्रतिवादी धर्ममान स्थापितको र म बाट विगो भराई पाउं भन्ने आरोप पत्र पनि   छैन । बुझ्नु पर्ने प्रमाण नबुझिएको र मेरो पक्षमा रहेका सबुद प्रमाणको कुनै विवेचना नै नगरी केवल हचुवाका भरमा निर्णयमा पुगेको पुनरावेदन अदालतको फैसलामा अ.वं.१८४क १८५ तथा प्रमाण ऐनको दफा ५४ समेतको गंभिर त्रुटिहुंदा उक्त फैसला बदर गरी आरोपबाट पूर्ण सफाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी वैकुण्ठप्रसाद भण्डारीको यस अदालतमा पर्न आएको छुट्टा छुट्टै पुनरावेदन पत्र ।

३१.   पुनरावेदन अदालतले प्रतिवादीहरुलाई मगादावी बमोजिम सजायं नगरेको हुँदा माग दावी बमेजिम सजायं गरिपाऊँ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

३२.   मिसिल संलग्न सबूद प्रमाण एवं तथ्यको आधारमा प्रतिवादी धर्ममान स्थापितले मिति ०४२।१२।२८ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा वेवारिसी रुपमा फेला परी मुचुल्का भई आफ्नो जिम्मा नियन्त्रणमा रहेको सेफबाट ११,२०० यु.एस.डलर ट्राभल्स चेकहरु प्रतिवादी वेकुण्ठप्रसाद भण्डारीसंग मिलेमतो गरी सक्कली यू.एस.डलर ११,२०० चेक वैकुण्ठ भण्डारीलाई दिई निजबाट नक्कली ट्राभल्स चेक लिई सक्कली ट्राभल्स चेक प्रतिवादीहरुले राखी ११,२०० यू.एस.डलर बराबरको ट्राभल्स चेक हिनामिना गरी भ्रष्टाचार जन्य कसूर गरेको हुँदा प्रतिवादी धर्ममान स्थापितलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ अनुसारको कसुर अपराधमा सोहि दफामा उल्लेख भए बमोजिम सजायं गरी र प्रतिवादी वैकुण्ठप्रसाद भण्डारीलाई सोही ऐनको दफा १६क अनुसारको कसुर सजायं ठहर गरी यू.एस.डलर ११,२०० बराबरको रकम सोही ऐनको दफा १३ एवं २९(१) अनुसार प्रतिवादी धर्ममान स्थापितबाट असूल उपर गरी श्री ५ को सरकारको सर्वसंचित कोषमा दाखिला गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०४८।९।२३।५ मा भएको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदक वादी र प्रतिवादी दुवैको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५६।६।११ को फैसला ।

३३.   अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएसम्म प्रमाणमा लिन नमिल्ने, हिरासतमा राखी ततिम्बा बयान गराई कसूरमा सावित गराएकोलाई प्रमाणमा लिन नमिल्ने, वारदात भएको समयमा अन्यत्र रहेको देखिए कसूरदार ठहर गर्न नमिल्ने, अभियुक्तको पोलको आधारमा कसूरदार ठहर गर्न नमिल्ने तथा भ्रष्टाचार निवारण ऐन २०१७ अन्तर्गत दायर भएको मुद्दामा विशेष प्रहरी विभागले पुनरावेदन गर्न नपाउनेमा विशेष प्रहरी विभागबाट गरिएको पुनरावेदनको आधारमा गरिएको निर्णय त्रुटीपूर्ण हुने भन्ने सम्बन्धमा यस अदालतबाट प्रतिपादित नजिर सिद्धान्तको त्रुटी गरी भएको यस अदालत संयुक्त इजलासको फैसला पुनरावलोकन गरी उक्त फैसला उल्टीगरी आरोपित कसूरबाट सफाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी बैकुण्ठप्रसाद भण्डारीको निवेदन पत्र ।

३४.   प्रस्तुत मुद्दामा विभागीय कारवाही समाप्त भएको मितिले ६ महिनाको हदम्याद समाप्त भएपछि अभियोग दायर गरिएको छ । वेवारिसे विदेशी मुद्रा एवं ट्राभलर्स चेकलाई सरकारी सम्पत्ति मानी त्यस्तोमा हदम्याद नलाग्ने व्याख्या कानूनसम्मत छैन । प्रहरी हिरासतमा पटक पटक ततिम्बा बयान गराई कसूरमा सावित बनाइएको छ । सह अभियुक्तको पोललाई प्रमाणमा लिई कसूरदार ठहर गर्न मिल्दैन । वादी तर्फबाट मेरो कसूर प्रमाणित हुन सकेको अवस्था छैन । शंकास्पद मौका मुचुल्काको आधारमा सजायं गर्न मिल्दैन । भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत दायर भएको मुद्दामा सरकारी वकीलले पुनरावेदन गर्नु पर्नेमा विशेष प्रहरी विभागबाट दायर गरिएको पुनरावेदन पत्रको आधारमा गरिएको इन्साफमा सर्वोच्च अदालतबाट प्रतिपादित नजीरको त्रुटी भएको हुंदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) (ख) बमोजिम पुनरावलोकन गरी हेरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी धर्ममान स्थापितको निवेदन पत्र ।

३५.   साविक भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम दायर भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पुनरावेदन गर्ने अधिकार सरकारी वकिललाई भएकोमा अधिकार नै नभएको विशेष प्रहरी  विभागबाट दायर भएको पुनरावेदनको तथ्यमा प्रवेश गरी भएको यस अदालत संयुक्त इजलासको मिति २०५६।६।११ को फैसलामा ने.का.प. २०५२ नि.नं. ६०६४ पृष्ठ ७५९ मा प्रतिपादित नजिरको त्रुटी देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५९।८।६ को आदेश ।

३६.   मुद्दामा पक्षले आफूलाई अन्याय पर्ने गरी भएको फैसलामा रहेको त्रुटिहरु समेत सम्पूर्ण रुपमा उल्लेख गरी पुनरावलोकन वा मुद्दा दोहोर्‍याई हेरी पाउं भनी निवेदन दिएकोमा अदालतले निवेदन पत्रमा उल्लेख भएका मध्ये कुनै खास बिषयको आधारमा मात्र पुनरावलोकन वा मुद्दा दोहोर्‍याउने आदेश दिएको अवस्थामा सो आदेशमा मात्र सीमित रही इन्साफ गर्नु पर्ने भनी पछाडिको इजलासको अधिकार क्षेत्रलाई साघुरों बनाउने हो भने पक्षले वास्तविक रुपमा न्याय पाउन सक्दैन । त्यसवाट न्याय सम्बन्धी अभिभारा बोकेको यो माथिल्लो अदालतको भूमिका सानातिना प्राविधिक कारणले गर्दा प्रभावहीन हुन जाने हुंदा यस अदालतको संयुक्त इजलासबाट भएको फैसलामा नजीरको त्रुटी रहेको स्वीकार गरी पुनरावलोकन गरी हेर्ने आदेश भई मुद्दामा पुनः सुनुवाई शुरु भइसकेको अवस्थामा न्याय प्रशासन ऐन, २०४८ को दफा १३ मा भएको व्यवस्थाको संकुचित अर्थगरी निस्सा प्रदान हुंदाको आदेशमा मात्र सीमित रही निर्णय गरिनु पर्छ भन्नु मनासिव नहुने यस बेन्चको ठहर रहेको छ । यस्तै विषयवस्तु समावेश भएको सम्वत् २०५६ सालको दे.पू.ई.नं. ६९ पुनरावेदक वादी रुद्रलाल मुल्मी विरुद्ध प्रत्यर्थी प्रतिवादी बयान बयानबहादुर मुल्मी भएको खिचोला मुद्दा (ने.का.प. २०५८ नि.नं. ६९८८ पृष्ठ १५५) मा  न्याय प्रशासन ऐन २०४८ को दफा ११ बमोजिम मुद्दा पुनरावलोकन गरी हेर्ने वा दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने आदेश भई निर्णयार्थ पेश हुँदा पुनरावलोकन वा दोहोर्‍याई हेर्ने आदेशमा मात्र सीमित रही निर्णय गरिनु पर्ने भन्ने पूर्व पूर्ण इजलासको राय संग यो बेन्च सहमत हुन नसकेकोले न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड(ख) बमोजिम नजीरको त्रुटी भएको भनी पुनरावलोकन गर्ने निस्सा प्रदान भई निर्णयको लागि पेश हुन आएको मुद्दामा निस्सा प्रदान हुंदाको आदेशमा मात्र सीमित रही निर्णय गर्नु पर्ने हो वा मुद्दाको सम्पूर्ण विषयवस्तुमा प्रवेश गरी निर्णय हुनुपर्ने हो भन्ने सम्बन्धमा एउटा निश्चित नजीर कायम भएपछि मात्र मुद्दाको विषयवस्तु भित्र प्रवेश गरी निर्णय हुन सक्ने अवस्था रहेको देखिन आएकोले त्यस प्रयोजनको लागि प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(२) बमोजिम बढी न्यायाधीशहरुको पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत पूर्ण इजलासवाट मिति २०६१।८।२४ मा भएको आदेश ।

३७.   नेपाल अधिराज्यको संविधान,२०४७ को धारा ८८(४) मा सर्वोच्च अदालतले कानूनद्वारा तोकिएको अवस्था र शर्तमा आफ्नो फैसला वा अन्तिम आदेशको पुनरावलोकन गर्न सक्नेछ भन्ने संवैधानीक व्यवस्था गरेको देखिन्छ । न्याय प्रशासन ऐन, २०४८ को दफा १३ मा रहेको व्यवस्था पुनरावलोकन गर्ने निस्सा प्रदान भई सकेपछि मुद्दा सुनवाई गरी किनारा गर्दा अदालतलाई विधायिकी निर्देशन अर्थात् कुन अवस्था र शर्तको परिधि भित्र रही मुद्दा किनारा गर्नु पर्छ भन्ने कानूनले निर्दिष्ट गरेको वा तोकेको परिधि हो । उक्त कानूनी निर्देशनलाई यस अदालतले नाघ्न वा नजरअन्दाज गर्न सक्दैन । यदि पुनरावलोकन गर्ने निस्सा प्रदान भइसकेपछि मुद्दा किनारा गर्दा निस्सा प्रदान गर्दाको आधारलाई गौण मानी पुनरावेदन परेको मुद्दा सुनवाई र किनारा गरे सरह हेरी किनारा गर्न मिल्छ भन्ने हो भने न्याय प्रशासन ऐन, २०४८ मा दफा १३ को व्यवस्था गर्नुको औचित्य र तात्पर्य रहँदैन । उक्त दफामा प्रयुक्त सोही आधार पछिको र अक्षरले सोही आधार र संवद्ध विषयलाई एक अर्कासंग आवद्ध बनाई दिएको छ । संवद्ध विषय आफैमा पूर्ण र स्वतन्त्र छैन । सोही आधार प्रयुक्त र कृयाशील भएमात्र संबद्ध विषयको प्रयोजन हुन्छ र त्यो पनि कृयाशील हुन्छ । निस्सा प्रदान गरेपछि मिसिलबाट विवादको निरोपण गर्न पर्ने र गर्न सकिने सबै विषयमा प्रवेश गरि निर्णय दिनु न्यायिक र विवेक सम्मत कुरा हो । ऐनमा प्रयुक्त संवद्ध विषयको अर्थ व्यापकता यही उद्देश्य र सार्थकतामा लिनु पनि पर्दछ । परन्तु निस्साको आधारलाई एकातिर पन्छाएर सम्बद्ध विषयको कुरालाई मात्र पक्री मुद्दा किनारा गर्नु उक्त ऐनको दफा १३ को कानूनी व्यवस्थाले दिंदैन । निस्सा दिंदाको आधार सहित मुद्दाका अन्य संवद्ध पक्षमा समेत प्रवेश गरी मुद्दाको सम्पूर्ण विषयवस्तुलाई समेट्ने गरी न्याय निरोपण गर्न सकिने हुन्छ । सम्बद्ध विषयको सार्थकता तव मात्रै पूरा हुन्छ जव समग्र मिसिलको विविध विषयमा प्रवेश गरिन्छ । निस्सा दिंदाको आधारलाई सापेक्षतामा हेरिएमा नै उक्त कानूनी व्यवस्थाको सही प्रयोग र सामञ्जस्यपूर्ण एवं उद्देश्यमूलक व्याख्या हुन जाने देखिन्छ । निस्सा दिंदाको आधारलाई पन्छाएर स्वतन्त्र रुपमा संवद्ध विषय मात्र रहिरहन सक्ने होइन । अतःएव पुनरावलोकनको निस्सा भएको मुद्दामा निस्सा दिंदाको आधार नै निराधार असंगत एवं असंवद्ध छ वा वेरीतको छ, छैन पछि मुद्दा सुनवाई गर्ने इजलासले सो हेरीकन मात्र निष्कर्षमा पुग्न पर्ने हुन्छ। यदि पुनरावलोकनको निस्सा दिंदाको आधार नै कानून विपरीत छ वा गलत छ भने मुद्दाको सुनवाई अगाडि बढ्न सक्दैन, मुद्दाको अन्य विषयवस्तु उपर प्रवेश गरी मुद्दामा निरोपण हुन सक्दैन । न्याय प्रशासन ऐन, २०४८ को दफा १३ ले व्यवस्थित गर्न खोजेको न्यायिक प्रकृया र कार्यविधिको निचोड पनि यही हो भन्ने देखिन आउंछ । त्यसैले निस्सा दिएको आधार वेरीत नभई मिलेको देखिएमा मात्र निस्सा दिंदाको आधार सहित मुद्दाको अन्य संवद्ध पक्षमा प्रवेश गरी मुद्दाको संन्दर्भ र विषयवस्तुलाई समेट्ने गरी न्याय निरोपण गर्न न्यायको दृष्टिले उपयुक्त देखिन आउंछ । तसर्थ प्रस्तुत मुद्दा कानून बमोजिम निर्णयका लागि ३ सदस्यीय पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको ५ सदस्यीय पूर्ण इजलासवाट मिति २०६२।३।३० मा भएको आदेश ।

३८.   नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी वैकुण्ठप्रसाद भण्डारीका तर्फबाट विद्वान अधिवक्ता श्री हरिहर दाहाल, श्री शम्भु थापा तथा श्री कृष्ण सापकोटाले यस अदालतवाट भएको फैसला पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गर्ने गरी भएको आदेश बेरितको नभई कानूनसम्मत भएको अवस्थामा मुद्दामा न्याय निरोपण गर्न आवश्यक पर्ने देखिएका सम्वद्ध विषयमा समेत विवेचना गरी निर्णय हुन सक्छ भनी बृहत पूर्ण इजलासवाट आदेश भइसकेको छ । प्रस्तुत मुद्दामा पनि संयुक्त इजलासवाट भएको फैसला नजीरको आधारमा त्रुटीपूर्ण रहेको भनी पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भएको छ । निवेदन पत्रमा बेबारिसे अवस्थामा फेला परेको विदेशी मुद्रा सरकारी सम्पत्ति हुन नसक्ने भएकोले त्यस्तो विदेशी मुद्रालाई सरकारी सम्पत्ति मानी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४ क मा व्यवस्थित हदम्याद नघाई मुद्दा दायर गरिएको, ततिम्बा बयान गराईसावित गराइएको आधारमा  कसूरदार कायम गर्न नमिल्ने, त्रुटीपूर्ण बरामदी मुचुल्काको आधारमा कसूरदार कायम गर्न नमिल्ने र भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गतको मुद्दा सरकारवादी मुद्दा हुने भएकोले त्यस्तो मुद्दामा सरकारी वकीलवाट पुनरावेदन दायर गरिनु पर्ने भएकोले  विशेष प्रहरी विभागवाट दायर गरिएको पुनरावेदनको आाधारमा निर्णय गर्न नमिल्ने भन्ने समेतका विषयमा यस अदालतवाट प्रतिपादित नजीर सिद्धान्तहरुको त्रुटी भएको भनी पुनरावलोकनको लागि निवेदन गरिएकोमा त्यस मध्ये पुनरावेदन सम्वन्धी नजीरको त्रुटी भएको भनी निस्सा प्रदान गरिएको छ । मुद्दा दोहोर्‍याई हेर्ने वा पुनरावलोकन गरी हेर्ने भनी निस्सा प्रदान गरिनु भनेको विवादित फैसलामा त्रुटी भएको भनी स्वीकार गरिनु हो । जब फैसलामा त्रुटी भएको स्वीकार गरिन्छ भने निस्सा प्रदान भएपछि मुद्दामा छलफल खुला गर्दा फैसलामा रहेका सम्पूर्ण त्रुटीहरुलाई सच्याउने गरी निर्णय हुन सक्दछ । न्याय प्रशासन ऐन, २०४८ को दफा १३ को कानूनी व्यवस्था र उक्त कानूनी व्यवस्थाका सम्वन्धमा बृहत पूर्ण इजलासवाट भएको व्याख्या समेतबाट नजीरको आधारमा पुनरावलोकनको निस्सा प्रदान भएकोमा नयाँ प्रमाण फेला परेको आधारमा निर्णय हुन सक्दैन तर नजीरको आधारमा पुनरावलोकनको निस्सा प्रदान भएकोमा निस्सा प्रदान हुँदाको आदेशमा उल्लेख गरिएको नजीर सोसंग सम्बद्ध भएका निवेदन पत्रमा उल्लेख गरिएका सम्पूर्ण नजीरहरुको विवेचना गरी संयुक्त इजलासको फैसला पुनरावलोकन गरी न्याय निरोपण हुनु पर्दछ भन्ने समेत व्यहोराको बहस जिकिर प्रस्तुत गर्नु भयो ।

३९.   निवेदक प्रतिवादी प्रतिवादी धर्ममान स्थापितका तर्फबाट विद्वान अधिवक्ता श्री नारायण बल्लभ पन्तले वेवारिसे सुटकेशमा फेला परेको विदेशी मुद्रा तथा ट्राभलर्स चेकलाई सरकारी वा सार्वजनिक सम्पत्ति मान्न नमिल्ने हुंदा प्रस्तुत मुद्दामा दायर भएको अभियोग पत्र भ्रष्टाचार निवारण ऐन २०१७ को दफा २४(क) को हदम्याद नाघी दायर भएको छ । हदम्याद विहिन अभियोग पत्रको आधारमा इन्साफ हुन नसक्ने, प्रतिवादीलाई पटक पटक ततिम्बा बयान गराई कसूरमा सावित गराइएकोले त्यस्तो सावितिको आधारमा कसूरदार ठहर गर्न नमिल्ने, बरामदी मुचुल्कामा उल्लेख गरिएको विदेशी मुद्रा र ट्राभलर्स चेकको विवरणमा एकरुपता नभएकोले त्रुटीपूर्ण रुपमा तयार गरिएको मुचुल्कालाई प्रमाण लिन नमिल्ने भन्ने सम्वन्धमा यस अदालतवाट प्रतिपादित नजीर सिद्धान्तको त्रुटी गरि फैसला भएकोले संयुक्त इजलासवाट भएको फैसला पुनरावलोकन गरी हेरी पाऊँ भनी निवेदन गरिएको हो । न्याय प्रशासन ऐन, २०४८ को दफा ११ मा मुद्दा फैसला भएपछि नयाँ प्रमाण फेला परेको वा नजीरको त्रुटी भएको भन्ने आधारमा यस अदलतवाट भएको फैसला पुनरावलोकन हुन सक्ने व्यवस्था रहेको छ । उक्त ऐनको दफा १३ को व्याख्या गरी पाँच जना माननीय न्यायाधीशहरुको पूर्ण इजलासवाट पुनरावलोकन गर्ने भनी भएको आदेश कानूनसम्मत भएमा मुद्दाको समग्र विषयवस्तुमा प्रवेश गरी हेर्न सक्ने भनी आदेश भइसकेको छ । प्रस्तुत मुद्दामा नजीरको त्रुटी भएको भनी संयुक्त इजलासवाट पुनरावलोकन गरी हेर्ने आदेश भएको हो । यसैले बृहत पूर्ण इजलासवाट भएको आदेश समेतको आधारमा निस्सा दिंदा उल्लेख गरिएको नजीरको सान्दर्भिकतालाई मात्र आधार मानी निर्णय गरिनु पर्छ भन्ने नभएकोले मुद्दाको तथ्य भित्र प्रवेश गरी निवेदन पत्रमा उल्लेख गरिएको सम्पूर्ण नजीरहरुको विवेचना गरी इन्साफ गरिनु पर्छ । त्यसो गर्दा प्रतिवादीले आरोपित कसूर गरेको भन्ने निर्विवाद रुपमा पुष्टि हुन नसक्ने भएकोले आरोपित कसूरबाट सफाई पाउनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।

४०.   विपक्षी विशेष प्रहरी विभागका तर्फबाट विद्वान सह न्यायाधिवक्ता श्री सरोजप्रसाद गौतमले न्याय प्रशासन ऐन, २०४८ को दफा ११ (१) (ख) अनुसार पुनरावलोकन गर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दामा सोही ऐनको दफा १३ अनुसार निस्सा प्रदान हुंदाको आदेश र सो आदेशसंग सम्बद्ध कुरामा मात्र सीमित रही निर्णय गरिनु पर्दछ । यस सम्बन्धमा यस अदालत पूर्ण इजलासबाट रुद्रलाल मुल्मीको मुद्दामा सिद्धान्त प्रतिपादन भइसकेको छ । उक्त सिद्धान्तसंग असहमती राख्दै प्रस्तुत मुद्दा बृहत् पूर्ण इजलासमा पेश भएकोमा उक्त इजलासवाट रुद्रलाल मुल्मीमा भएको निर्णय अमान्य गरिएको छैन । बृहत पूर्ण इजलासले उक्त निर्णयमा सहमती राख्दै पुनरावलोकनको निस्सा रितपूर्बक वा कानूनसम्मत भएमात्र निस्सा दिंदाको आदेश र सोसंग सम्वद्ध बिषयमा निर्णय दिन सकिने अवस्था हुन्छ भनी प्रारम्भिक रुपमा निस्सा दिंदाको आधारका सम्वन्धमा विचार गर्नु पर्ने भनी निर्णय भएको छ । प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट फैसला हुंदा विशेष प्रहरी विभागबाट पर्न आएको पुनरावेदन पत्रको आधारमा मात्र फैसला भएको होइन । दुवै जना प्रतिवादीहरुले आफूलाई कसूरदार ठहर गरेको फैसलामा चित्त नबुझाई यस अदालतमा पुनरावेदन गरेकोमा निजहरुको पुनरावेदन जिकिर तथा सबुद प्रमाण समेतको मूल्याङ्कन गरी निजहरुको पुनरावेदन जिकिर पुग्न नसक्ने गरी इन्साफ भएको हो । यसैले पुनरावलोकनको निस्सा प्रदान हुंदाको आदेशमा उल्लेख गरिएको दिलबहादुर लामाको नजीरको तथ्यगत विषयवस्तु र प्रस्तुत मुद्दाको विषय वस्तु नै अलग अलग भएकोले उक्त नजीर प्रस्तुत मुद्दामा सान्दर्भिक छैन । यसैले यस अदालत संयुक्त इजलासको फैसलामा कुनै त्रुटी नभएकोले उक्त फैसला कायम हुनुपर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नु भयो ।

४१.   विद्वान कानून व्यवसायीहरुको बहस जिकिर समेत सुनी निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादी धर्ममान स्थापितले आफ्नो जिम्मा नियन्त्रणमा रहेको सक्कली यू.एस. ट्राभल्स चेक निकाली सो को सट्टामा नक्कली ट्राभल्स चेक राखेकोले निज उपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) र १३ अनुसार सजायँ भै दफा २९(१) अनुसार विगो रु. २,३८,०००।असूल गरी सर्व संचित कोषमा दाखिल गरी पाउन र प्रतिवादी वैकुण्ठप्रसाद भण्डारीले धर्ममानबाट सक्कली ट्राभल्स चेक लगी नक्कली ट्राभल्स चेक ल्याई दिएकोले सोही ऐनको दफा ७(१) र १६क को प्रतिबन्धात्मक वाक्यांश अनुसार सजायँ हुन मागदावी लिइएकोमा प्रतिवादी धर्ममान स्थापितलाई भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १३ अनुसार सजायं गरी निजबाट सोही ऐनको दफा २९(१) बमोजिम विगो समेत असूल उपर गर्ने र प्रतिवादी बैकुण्ठप्रसाद भण्डारीलाई उक्त ऐनको दफा १६क अनुसार सजायँ गर्ने गरी मिति २०४९।९।२३।५ मा भएको पुनरावेदन अदालत, पाटनको फैसला सदर हुने ठहरी यस अदालतको संयुक्त इजलासबाट मिति २०५६।६।११ मा फैसला भएको र उक्त फैसला पुनरावलोकन गरी हेरी पाउँ भनी प्रतिवादीहरुबाट निवेदन पर्न आएकोमा न्याय प्रशासन ऐन २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) को आधारमा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भएको देखिन्छ ।

४२.   यस अदालतको ३ सदस्यीय पूर्ण इजलासवाट भएको आदेश अनुसार न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम फैसला वा अन्तिम आदेश पुनरावलोकन गर्ने निस्सा प्रदान भएकोमा निर्णय गर्दा पुनरावलोकनको निस्सा प्रदान हुँदा भएको आदेशमा सीमित रही निर्णय हुनुपर्ने हो वा त्यस्तो मुद्दाको तथ्य (Merit) भित्र प्रवेश गरी सम्बन्धित सवुद प्रमाणको आधारमा मुद्दाको समग्र पक्षमा विचार र विश्लेषण गरी इन्साफ गर्नु पर्ने हो ? भन्ने सम्बन्धमा निश्चित नजीर सिद्धान्त कायम हुनको लागि बृहत पूर्ण इजलासमा पेश भएकोमा बृहत पूर्ण इजलासवाट पुनरावलोकनको निस्सा भएको मुद्दामा निस्सा दिंदाको आधार नै निराधार असंगत एवं असंवद्ध छ वा वेरीतको छ, छैन पछि मुद्दा सुनवाई गर्ने इजलासले सो हेरीकन मात्र निष्कर्षमा पुग्न पर्ने हुन्छ । यदि पुनरावलोकनको निस्सा दिंदाको आधार नै कानून विपरीत छ वा गलत छ भने मुद्दाको सुनवाई अगाडि बढ्न सक्दैन, मुद्दाको अन्य विषयवस्तु उपर प्रवेश गरी मुद्दामा निरोपण हुन सक्दैन । न्याय प्रशासन ऐन, २०४८ को दफा १३ ले व्यवस्थित गर्न खोजेको न्यायिक प्रकृया र कार्यविधिको निचोड पनि यही हो भन्ने देखिन आउंछ । त्यसैले निस्सा दिएको आधार वेरीत नभई मिलेको देखिएमा मात्र निस्सा दिंदाको आधार सहित मुद्दाको अन्य संवद्ध पक्षमा प्रवेश गरी मुद्दाको संन्दर्भ र विषयवस्तुलाई समेट्ने गरी न्याय निरोपण गर्न न्यायको दृष्टिले उपयुक्त देखिन आउंछ भन्ने राय सहित मुद्दाको विषयवस्तु भित्र प्रवेश गरी निर्णय गर्ने प्रयोजनको लागि प्रस्तुत मुद्दा ३ सदस्यीय पूर्ण इजलासमा पेश गर्नु भनी मिति २०६२।३।३० मा भएको आदेश अनुसार प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखियो।

४३.   संयुक्त इजलासबाट भएको फैसलामा नजीरको त्रुटी रहेको स्वीकार गरी पुनरावलोकन गरी हेर्ने आदेश भई मुद्दामा पुनः सुनुवाई शुरु भइसकेको अवस्थामा न्याय प्रशासन ऐन, २०४८ को दफा १३ मा भएको व्यवस्थाको संकुचित अर्थ गरी निस्सा प्रदान हुंदाको आदेशमा मात्र सीमित रही निर्णय गरिनु पर्छ भन्नु मनासिव नहुने भनी सम्वत् २०५६ सालको दे.पू.ई.नं. ६९ पुनरावेदक वादी रुद्रलाल मुल्मी विरुद्ध प्रत्यर्थी प्रतिवादी बयान बयानबहादुर मुल्मी भएको खिचोला मुद्दा (ने.का.प. २०५८ नि.नं. ६९८८ पृष्ठ १५५) मा पूर्ण इजलासवाट भएको निर्णयसंग असहमती व्यक्त गरी न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम नजीरको त्रुटी भएको भनी पुनरावलोकन गर्ने निस्सा प्रदान भई निर्णयको लागि पेश हुन आएको मुद्दामा निस्सा प्रदान हुंदाको आदेशमा मात्र सीमित रही निर्णय गर्नु पर्ने हो वा मुद्दाको सम्पूर्ण विषयवस्तुमा प्रवेश गरी निर्णय हुनुपर्ने हो भन्ने सम्बन्धमा एउटा निश्चित नजीर कायम गर्नको लागि बृहत पूर्ण इजलासमा पेश गर्ने आदेश भएकोमा बृहत पूर्ण इजलासवाट निर्णय हुँदा रुद्रलाल मूल्मीको मुद्दामा पूर्ण इजलासवाट भएको निर्णय अमान्य भएको भन्ने देखिंदैन । बृहत पूर्ण इजलासवाट रुद्रलाल मूल्मीको मुद्दामा भएको निर्णय यथावत रुपमा कायमै राखी पुनरावलोकन गरी हेर्ने गरी निस्सा प्रदान हुँदाको आधार नै निराधार असंगत एवं असंवद्ध छ वा वेरीतको छ, छैन पछि मुद्दा सुनवाई गर्ने इजलासले हेर्दा पुनरावलोकनको निस्सा दिंदाको आधार नै कानून विपरीत छ वा गलत छ भने मुद्दाको सुनवाई अगाडि बढ्न सक्दैन, मुद्दाको अन्य विषयवस्तु उपर प्रवेश गरी मुद्दामा निरोपण हुन सक्दैन । निस्सा दिएको आधार वेरीत नभई मिलेको देखिएमा मात्र निस्सा दिंदाको आधार सहित मुद्दाको अन्य संवद्ध पक्षमा प्रवेश गरी मुद्दाको संन्दर्भ र विषयवस्तुलाई समेट्ने गरी न्याय निरोपण गर्न न्यायको दृष्टिले उपयुक्त देखिन्छ भनी स्पष्ट राय व्यक्त गरेको देखिन आउँछ ।

४४.   बृहत पूर्ण इजलासबाट भएको निर्णयको आधारमा पुनरावलोकनको निस्सा प्रदान गर्दाको आदेशमा उल्लेख भएको नजीरको सान्दर्भिकता नै नदेखिएको वा त्यसले मुद्दामा भएकोे इन्साफमा तात्विक असर नै नपारेको अवस्थामा त्यस्तो नजीरको उल्लेख गरी दिइएको निस्सा नै उपयुक्त आधार सहितको निस्सा हो भन्न मिल्ने हुँदैन । पुनरावलोकनको निस्सा दिने व्यवस्थालाई न्याय प्रशासन ऐन, २०४८ को दफा ११ ले विशेष महत्व दिएको छ । निस्सा प्रदान गर्दा कुन न्यायिक तथ्य वा नजीरको आधारमा मुद्दामा छलफल खुला गर्नु परेको हो भन्ने कुरामा बढी सचेत हुनु जरुरी हुन्छ । वस्तुतः पुनरावलोकन गरी हेर्ने भनी दिइएको निस्सा प्रदानको आदेश नै यथार्थमा मुद्दा पुनरावलोकन गरी हेर्ने कार्यादेश (Term of Reference) हो । त्यसैले पुनरावलोकन गरी हेर्ने निस्सा दिने इजलासले विशेष जवाफदेहीका साथ निस्सा दिनु पर्ने देखिन आउँछ । निस्सा दिंदाको आदेश कानूनसम्मत छ भने मात्र निस्सा दिंदाको आदेश र सम्वन्धित प्रश्नमा न्याय निरोपण गर्न सोसंग सरोकार राख्ने सम्वद्ध विषयमा प्रवेश गरी निर्णय गर्न सकिने अवस्था रहन्छ । त्यसैले निस्साको आदेश र सोसंग सम्वद्ध विषयको परिधिलाई औचित्यपूर्ण ढंगले प्रयोग गरिनु पर्दछ र तदनुरुप प्रयोग भएको छ वा छैन ? भनी निरन्तर प्रमाणित समेत गरिरहनु पर्ने हुन्छ । यसरी पुनरावलोकनको आधारमा विचार गर्दा पुनरावलोकनको निस्सामा उल्लेख गरिएको मूल आधार कै औचित्य हेरिए पछि मात्र सम्बद्ध अन्य तथ्यमा प्रवेश गरी पूर्ण न्याय गर्न सकिने देखिन्छ । पुनरावलोकनको निस्सामा उल्लेख गरिएको मूल आधार नै मुद्दामा तात्विक महत्व राख्ने वा सान्दर्भिक देखिन नआएमा सम्वद्ध तथ्यहरु के थिए भनी हेरिरहनुको कुनै औचित्य रहन सक्ने देखिंदैन ।

४५.   बृहत पूर्ण इजलासवाट भएको उल्लेखित मार्ग निर्देशन समेतको आधारमा सर्वप्रथम प्रस्तुत मुद्दामा यस अदालत संयुक्त इजलासवाट मिति २०५६।६।११ मा भएको फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम मुद्दा पुनरावलोकन गरी हेर्ने भनी मिति २०५९।८।६ मा भएको आदेश कानूनसम्मत रहेको छ वा छैन ? भन्ने सम्वन्धमा विचार गरेपछि मात्र मुद्दाको विषयवस्तु भित्र प्रवेश गरी संयुक्त इजलासवाट भएको फैसला पुनरावलोकन गरी हेर्नु पर्ने नपर्ने तर्फ निरोपण हुन सक्ने अवस्था रहेको देखिन आयो । यस प्रयोजनको लागि प्रस्तुत मुद्दामा संयुक्त इजलासवाट मुद्दा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान हुँदा भएको आदेश अवलोकन गर्दा उक्त आदेश यसप्रकार रहेको देखिन्छ :

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम दायर भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पुनरावेदन गर्ने अधिकार सरकारी वकिललाई भएकोमा अधिकार नै नभएको विशेष प्रहरी  विभागबाट दायर भएको पुनरावेदनको तथ्यमा प्रवेश गरी भएको यस अदालत संयुक्त इजलासको मिति २०५६।६।११ को फैसलामा ने.का.प.२०५२ नि.नं. ६०६४ पृष्ठ ७५९ मा प्रतिपादित नजीरको त्रुटी देखिंदा न्याय प्रशासन ऐन २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिएको छ ।

४६.   निस्सा प्रदान हुँदाको आदेशमा उल्लेख गरिएको पुनरावेदक वादी श्री ५ को सरकार प्रत्यर्थी प्रतिवादी दिलबहादुर लामा समेत भएको  भ्रष्टाचार मुद्दा (ने.का.प. २०५२ नि.नं. ६०६४ पृष्ठ ७५९) मा प्रतिपादित सिद्धान्त अध्ययन गर्दा तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार सजाय हुने मुद्दा सरकार वादी मुद्दा हुने भएकोले त्यस्ता मुद्दामा पुनरावेदन, पुनरावलोकन वा तत्सम्वन्धी कुनै निवेदन गर्नु पर्दा सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा २४ अनुसार सम्वन्धित सरकारी वकिलले दिनु पर्नेमा विशेष प्रहरी विभागवाट परेको पुनरावेदनवाट कारवाही गर्न नमिल्ने भएकोले पुनरावेदन खारेज हुने ठहरी निर्णय भएको देखिन्छ । प्रस्तुत मुद्दामा भने पुनरावेदन अदालत, पाटनवाट भएको निर्णय उपर प्रतिवादीहरुलाई अभियोग मागदावी बमोजिम सजाय गरिपाऊँ भनी वादी श्री ५ को सरकारको तर्फवाट विशेष प्रहरी विभागको र अभियोग मागदावीवाट सफाई पाऊँ भनी प्रतिवादीहरुको तर्फवाट छुट्टा छुट्टै पुनरावेदन पर्न आएकोमा यस अदालत संयुक्त इजलासवाट पुनरावेदन अदालत, पाटनको फैसला सदर भएको देखिन्छ । विशेष प्रहरी विभागको पुनरावेदन जिकिर अनुसार प्रतिवादीहरुलाई अभियोग मागदावी बमोजिम सजाय गरेको वा कसूरको दायित्व थप गरेको भन्ने देखिंदैन । पुनरावलोकन गरी हेर्ने गरी निस्सा प्रदान हुँदाको आदेशमा उल्लेख गरिएको नजीर सिद्धान्तको आधारमा भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार सजाय हुने मुद्दामा विशेष प्रहरी विभागवाट पुनरावेदन गरिएको भए त्यस्तो पुनरावेदन खारेज हुनु पर्नेमा सो नगरेको सम्म देखिन्छ तर त्यत्ति कारणले मुद्दाको निष्कर्शमा तात्विक असर परेको देखिन आउँदैन । विशेष प्रहरी विभागको पुनरावेदन जिकिर अनुसार प्रतिवादीहरुलाई कसूरदार कायम गरेको वा सजाय वढाएको वा त्यस्तै अन्य कुनै कुरामा तात्विक परिवर्तन भए निस्सामा उल्लेखित नजीरको आधारमा पुनरावलोकनको रोहमा न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) अन्तर्गत प्रदान गरिएको पुनरावलोकनको निस्सा र सोसंग सम्वद्ध तथ्यमा प्रवेश गरी निर्णय गर्नु पर्ने अवस्था आउन सक्थ्यो तर पुनरावलोकनको निस्सामा उल्लेखित नजीरको प्रतिकूल निर्णय नै नभएको तथा निवेदकको हकमा प्रतिकूल असर पर्ने अवस्था नै श्रृजना नभएको स्थितिमा उक्त नजीरको प्रयोग सही रुपमा भए नभएको भनी समीक्षा गर्नु पर्ने स्थिति नै प्रस्तुत मुद्दामा आइपरेको देखिन आएन ।

४७.   न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) मा यस अदालतवाट स्थापित नजिर वा कानूनी सिध्दान्तको प्रतिकूल निर्णय भएको देखिएको अवस्थामा यस अदालतले आफ्नो फैसला वा अन्तिम आदेश पुनरावलोकन गर्न सक्ने कानूनी व्यवस्था रहेको र  उक्त ऐनको दफा १३ मा ‘‘दफा ११ बमोजिम मुद्दा पुनरावलोकन गर्दा वा दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेर्दा सर्वोच्च अदालतले जुन आधारमा मुद्दा पुनरावलोकन गर्ने वा दोहोर्‍याई हेर्ने आदेश गरेको हो सोही आधार र सम्बद्ध विषयमा मात्र सीमित रही मुद्दा किनारा गर्नु पर्छ भन्ने व्यवस्था गरिएको पाइन्छ । उक्त कानूनी व्यवस्थालाई व्याख्या गर्ने क्रममा रुद्रलाल मूल्मी विरुद्ध बयानबहादुर मुल्मीको मुद्दामा भएको निर्णय तथा प्रस्तुत मुद्दामा बृहत पूर्ण इजलासवाट भएको व्याख्या समेतवाट पुनरावलोकनको आधारका सम्वन्धमा विचार गर्दा निस्सामा लेखिएको मूल आधार कै औचित्य हेरिनु पर्ने र त्यसपछि मात्र सम्वद्ध अन्य तथ्यगत विषयमा प्रवेश गरी पूर्ण न्याय गर्न सकिने हुन्छ । यस विपरीत निस्सा दिंदाको मूल आधार नै मुद्दामा तात्विक महत्व राख्ने नभई सान्दर्भिक देखिन नआएमा तत्पश्चात् सम्वद्ध अन्य तथ्यहरु के थिए ? भनी हेरिरहनुको कुनै औचित्य रहन सक्ने देखिंदैन । निवेदक प्रतिवादीहरु तर्फवाट उपस्थित विद्वान कानून व्यवसायीहरुले निवेदकहरुले आफ्नो निवेदनमा विभिन्न कानूनी एवं नजीरको उल्लेख गरी निवेदन दिएको हुँदा पुनरावलोकनको निस्सा प्रदान भएपछि मुद्दाको सुनुवाई गर्दा निस्सा प्रदान गर्दा ग्रहण गरिएको सीमित आधारमा मात्र सीमित नरही निवेदनमा उल्लेख गरिएको विभिन्न आधारहरुको समग्रतामा विचार गर्न सकिने जिकिर लिनु भएको छ तर न्याय प्रशासन ऐन, २०४८ को दफा ११ र १३ मा भएको कानूनी व्यवस्था तथा त्यस सम्वन्धमा रुद्रलाल मूल्मीको मुद्दामा पूर्ण इजलासवाट भएको निर्णय तथा यसै मुद्दामा बृहत पूर्ण इजलासवाट भएको आदेश समेतको आधारमा मुद्दा पुनरावलोकन गरी हेर्दा यस अदालतवाट भएको निर्णय वा आदेश कुन आधारमा पुनरावलोकन गरी हेर्न लागिएको हो ? भन्ने प्रश्न पुनरावलोकन गरी हेर्नु पर्ने भई प्रत्येक मुद्दामा प्रारम्भिक रुपमा निरुपण गरिनु पर्ने देखिन आउँछ । पुनरावलोकन गरी हेर्ने यस अदालतको अधिकार क्षेत्र र त्यसको विस्तारको निर्धारणको लागि के कस्तो आधारमा पुनरावलोकनको निस्सा प्रदान गरिएको छ ? भन्ने प्रश्न नै मूल रुपमा विचार गर्नु पर्ने हुन्छ । यसर्थ पुनरावलोकनको निस्सा प्रदान भइसकेपछि पुनरावलोकनको निस्सा प्रदान हुँदाको आदेशमा उल्लेख गरिएदेखि बाहेक निवेदनपत्रमा उल्लेख गरिएका अन्य आधारहरुलाई समेत सम्वद्ध विषय भनी सम्पूर्ण विषयहरुमा प्रवेश गरी निर्णय गरिनु पर्दछ भन्ने निवेदक प्रतिवादीहरु तर्फका विद्वान कानून व्यवसायीहरुको बहस जिकिरसंग सहमत हुन सकिएन ।

४८.   माथि गरिएको विवेचना समेतको आधारमा प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीहरुलाई सजाय गर्ने गरी पुनरावेदन अदालत, पाटनवाट मिति २०४९।९।२३।५ मा भएको फैसला सदर गर्ने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०५६।६।११ मा भएको फैसला पुनरावलोकन गरी हेर्ने गरी निस्सा प्रदान गर्ने गरी मिति २०५९।८।६ को आदेशमा उल्लेख गरिएको नजीर प्रस्तुत मुद्दामा आकर्षित हुन सक्ने प्रकृतिको नदेखिएको र त्यसले प्रस्तुत मुद्दामा संयुक्त इजलासवाट भएको फैसलामा तात्विक असर पार्न सक्ने अवस्था समेत विद्यमान रहेको नदेखिएकोले निस्सा प्रदान गरिंदाको आदेशलाई कानूनसम्मतको आदेश मान्न मिल्ने देखिन आएन । पुनरावलोकन गरी हेर्ने भनी उल्लेख गरिएको आधार नै कानूनसम्मत नदेखिएको हुँदा निस्सा प्रदान गर्दाको आदेशमा उल्लेख गरिएदेखि बाहेक निवेदनमा उल्लेख गरिएका अन्य विषयहरुमा समेत विवेचना गरी यस अदालत संयुक्त इजलासवाट मिति २०५६।६।११ मा भएको फैसला पुनरावलोकन गरिहेरिरहनु पर्ने अवस्था देखिएन । निवेदनको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।

 

उपरोक्त रायमा सहमत छौं ।

 

न्या.केदारप्रसाद गिरी

न्या.शारदा श्रेष्ठ

 

 

इति संवत् २०६२ साल चैत्र १० गते रोज ५ शभम् ....................      

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु