शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१०५ - धर्मलोप

भाग: ३२ साल: २०४७ महिना: असार अंक:

निर्णय नं. ४१०५     ने.का.प. २०४७          अङ्क ३

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४४ सालको दे.पु.नं. ६३२

फैसला भएको मिति : २०४७।२।१४।२ मा

पुनरावेदक/वादी : जनकपुर न.पं. वा.नं. १ बस्ने रामचन्द्र साहु व्याहुत सुडी

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने फुलगेन व्याहुत सुडी

मुद्दा : धर्मलोप

(१)   जसले धर्म संस्थान एवं गुठी शर्त बन्देज बमोजिम पूर्ण रुपले चलाउन पाएको छैन भने त्यस्तो व्यक्तिले बन्देज पत्र विपरीत धर्मलोप गर्‍यो भन्ने कुरा न्यायसंगत नदेखिने ।

(प्रकरण नं. १५)

(२)   आफ्नो संयोजकत्व संचालन गर्न पाएजति सम्पत्तिबाट धर्म संस्थानको बन्देजपत्र अनुसार दैनिक कार्य समेतको संचालन भई नै रहेको कुरा साक्षीबाट समेत पुष्ट्याई भएको र धर्म संस्थानको बन्देज पत्र बमोजिम वार्षिक हिसाब रेकर्ड समेत ५ जना आफ्नो वर्गका मानिस राखी तैयार भई नै रहेको देखिँदा वादी दावी नपुग्ने ।

(प्रकरण नं. १५)

पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना

विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास र विद्वान वरिष्ठ अधिवक्ता श्री             मुकुन्द रेग्मी

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी पुनरावेदन गर्न अनुमति पाउँ भनी पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    मेरा पिता राम स्वरुप र कान्छा बाबु रामसागर २ भाइ भई २००१ साल चैत्र १० गतेका बन्देज पत्र अनुसार विभिन्न कार्यको लागि धर्म संस्था धर्म कार्य चलेको थियो । मेरो पिता २००८ सालमा व्यवहार त्यागी रत्न सागरमा बस्नु भएदेखि घरको मुख्य कान्छा बाबु रामसागर हुनु भई घरको जेठा छोरा फुलगेन साहुबाट उक्त संस्थान चलाई आएको थियो । विपक्षीहरुले बन्देज पत्र अनुसार धर्म संस्था नचलाउनु भएकोले मैले निजहरु उपर धर्मलोप मुद्दा दिएको थिएँ, उक्त मुद्दामा रामसागरले धर्मलोप गरेको ठहरी विपक्षी फुलगेनले धर्म संस्थानको काम चलाई आउनु भएकोमा शर्तनामा बमोजिम धर्म संस्थाको सम्पत्ति कायम राख्ने र बढाउने तर्फ हरेक सालको आयस्ताको चार आना हिस्सा बचत राख्नु पर्दछ । सो अनुसारको बचत समेतको साल सालै बासलात फाँटवारी बताई हामीलाई समेत जानकारी दिई संस्था चलाउनु पर्नेमा सो केही नगरी सबै जग्गा र आयस्ता समेत हिनामिना पारी दिएको हुनाले निजलाई धर्मलोप गरेमा गुठीबाट हटाई गुठी धर्म संस्थाको सुरक्षा समेत गरी पाउन मुलुकी ऐन गुठी महलको २।३।४।५।६।१६ र पारित बन्देजपत्र समेतको अधीनमा रही फिराद गर्न आएको छु । प्रमाण बुझी इन्साफ होस भन्ने समेत फिराद दावी ।

३.    धर्मलोप गर्‍यो भन्ने दावा पूर्णतः तथ्यहीन एवं मनगढन्त्य छ । ठूला बाबु राम स्वरुपले नै तुलसी महीजब्दी गुठी पञ्चायत अन्तर्गतको धर्मसंस्था अधीनस्थ जग्गा २०१६ साल फाल्गुण २३ गते जि.ध. मंगलपुरको जग्गा संग सट्टापट्टा गरेकोले सो अवधि पश्चात तुलसी माही जब्दी गुठी पञ्चायत अन्तर्गत जग्गा नै नभएको धर्मलोप मुद्दा लगाई मलाई हैरान गर्ने भावनाबाट प्रेरित भई नालेश दिएको कुरा फिरादपत्रको अनुहारले नै शंकारहित रुपमा प्रमाणित गरेको छ । जमुनी पुल २०३२ सालमै निर्माण पूरा भएको छ । जनकपुरधाममा तुलसी स्मारक भवनको निर्माण, जनकपुरधामस्थित गो सेवाश्रमको सालना खर्च बेहोर्ने सोहनी मजुलियामा बनेको राधाकृष्ण, रामजानकी महावीर मन्दिरमा मन्दिरै पिच्छे देवताको मन्दीर पनि प्रतिस्थापित प्राण प्रतिष्ठा गराई पूजा चलाई आएको, राजघाटको पुल मरम्मत गर्ने गरी आएको तथा जानकी मन्दिर राम मन्दिरमा बिजुली जडान गराई बत्तीको प्रबन्ध गरेको ठूलो खर्च लगाई जानकी अञ्चल अस्पताल भवन निर्माण गरी आएको सो बाहेक विभिन्न ठाउँहरुमा पाठशाला मठ मन्दिर स्थापना गरी खर्च व्यहोरी आएको कुरा विपक्षीलाई जानकारी हुँदा हुँदै पनि नचाहिंदो आरोप लगाई दुःख दिन भावनाबाट मात्र प्रस्तुत नालेश दायर गरिएको हुँदा आरोपित दावीबाट छुटकारा प्रदान गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर नालेश दायर गरिएको हुँदा आरोपित दावाबाट छुटकारा प्रदान गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र जिकिर ।

४.    प्रमाणमा आएको २०३०।१२।१४ मा श्री सर्वोच्च अदालतबाट फैसला भएको प्रमाण मिसिलमा भएको सरजमीन हेर्दा दावी लिएको पुल तथा अन्य जिर्णोद्वार मर्मत समेतको काम प्रतिवादीबाट भएको अधिकांश सरजमीनले भनेको देखिन आएको, यता वादीका बक्ने साक्षीहरुले पनि सो काम भएकै छैन र प्रतिउत्तर झुठ्ठा हो भन्न सकेको छैन तसर्थ धर्मलोप गर्‍यो भन्ने वादी दावी झुठ्ठा ठहर्छ भने समेत धनुषा जिल्ला अदालतको मिति २०३४।११।२७ को फैसला ।

५.    उक्त फैसला उपर वादीको यस म.क्षे.अ. मा पुनरावेदन परेकोमा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१) को खण्ड (क) अनुसार अञ्चल अदालतको क्षेत्राधिकार भित्रको देखिन आयो । यस म.क्षे.अ. को पुनरावेदन सुन्ने अधिकार क्षेत्रभित्रको नहुनाले कानुन बमोजिम कारवाही निर्णय गर्नु भनी मिसिल जनकपुर अञ्चल अदालतमा पठाई दिने भन्ने समेत यस म.क्षे.अ. बाट २०३७।७।१४ को आदेश ।

६.    २०२४।४।१५ मा यिनै प्रत्यर्थी समेत प्रतिवादी भएको धर्मलोप मुद्दामा प्रत्यर्थी फुलगेनका पिता रामसागरले धर्मलोप गरेको ठहर्‍याएको विशेष अदालतको फैसलालाई सर्वोच्च अदालतबाट २०३०।१२।१४ मा अन्तिम भएको प्रत्यर्थी फुलगेनले सो सम्बन्धी कार्य गरेको नदेखिए पछि शुरुले त्यसतर्फ दृष्टि नदिई गरेको फैसला कानुनसंगत मान्न सकिएन तसर्थ प्र.फुलगेन साहुले धर्मलोप गरेको ठहरेकोले फिरादी रामचन्द्र साहुले धर्म सञ्चालन गर्न पाउने गरी शुरु जिल्ला अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत जनकपुर अञ्चल अदालतको मिति २०३९।३।२९ को फैसला।

७.    शुरु इन्साफ उल्टी गरी जनकपुर अञ्चल अदालतबाट भएको उक्त फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीको म.क्षे.अ. मा पर्न आएको निवेदन ।

८.    धर्म संस्था संचालन सम्बन्धी सम्पूर्ण कार्य प्रतिवादीले संचालन गर्न पाएको देखिएन, फिरादपत्रमा गुठी चलाउन पाउँ भन्ने वादी दावी समेत नलिएको यस्तो अवस्थामा ०३३ सालमा नै गुठी धर्मलोप गर्‍यो भन्ने वादीको फिरादमा धर्मलोप ठहर्‍याएको ज.अं.अ.को फैसलामा कानुनी त्रुटि देखिएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) को खण्ड (ग) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत म.क्षे.अ. सिंगलबेञ्चको मिति २०४२।५।९ को आदेश ।

९.    यी वादी प्रतिवादी बीच २०२३ सालदेखि नै धर्म संस्थानको काम संचालन आफ्नो हातमा लिन विभिन्न मुद्दा मामिला परी नै रही विभिन्न मितिमा श्री सर्वोच्च अदालत लगायतबाट अन्तिम फैसला भइरहेको देखिएको भूमिसुधार र यी पक्ष विपक्ष बीचमा चल्दै आएको मुद्दा मामिला समेतको सन्दर्भमा धर्म संस्थानमा २००१ सालमा आर्जित चल अचल सम्पत्ति धर्म संस्थान संचालन गर्नेले संचालन गर्न सक्ने स्थितिमा रहेको देखिन नआएको, संचालन गर्न पाई रहेको सम्पत्तिबाट धर्म संस्थानको बन्देजपत्र अनुसार दैनिक काम समेतको कार्य संचालन भई नै रहेको वार्षिक रेकड हिसाब समेत ५ जना जातिका मानिस राखी तयार भई नै रहेको देखिँदा उपरोक्त उल्लेखित आधार, प्रमाण सम्बद्ध समेतबाट वादी दावी झुठ्ठा देखिँदा जनकपुर अञ्चल अदालतले प्रतिवादी फुलगेन साहुले धर्मलोप समेत गरेको ठहराएको फैसला त्रुटिपूर्ण हुँदा बदर भई उल्टी हुन्छ । शुरु धनुषा जिल्ला अदालतले वादी दावी झुठ्ठा ठहराएको इन्साफ मनासिबै देखिन्छ भन्ने समेत व्यहोराको म.क्षे.अ. बाट मिति २०४४।३।२१।५ मा भएको फैसला ।

१०.    मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसलामा चित्त नबुझी पुनरावेदन गर्न अनुमति पाउँ भनी वादीको यस अदालतमा पर्न आएको निवेदनपत्र ।

११.    यसमा सर्वोच्च अदालतबाट २०३०।१२।१४ मा प्रतिवादी फुलगेनका पिता रामसागरले धर्मलोप गरेको ठहरी निर्णय भएपछि प्रतिवादी फुलगेनले बन्देजपत्र बमोजिम धर्मसंस्था चलाएकोमा धर्म संस्थानको बन्देज बमोजिम कार्य नगरी धर्मलोप गरेको भनी वादीको फिराद परेकोमा बन्देजपत्र बमोजिम प्रतिवादीले काम गरेको देखिँदैन । त्यसरी बन्देजपत्र बमोजिम कार्य नगर्नेलाई धर्मलोप नगरेको भनी म.क्षे.अ. बाट भएको फैसलामा अ.बं. ८२ तथा अ.बं. ७८ को व्याख्या सम्बन्धी त्रुटि देखिएकोबाट न्याय प्रशासन सुधार ऐन, २०३१ (संशोधित समेत) को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०४४।६।६।३ मा भएको आदेश ।

१२.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगानाले प्रतिवादीले दिनुपर्ने हिसाब यसरी दिए भनी भन्न सकेको छैन । हिसाब तयार गरेको र पेश गरेको पनि कही कतैबाट देखिँदैन । भ्रष्टाचार मुद्दाबाट हिसाब किताब देखिँदैन । प्रतिवादीले प्रतिउत्तर फिराउँदा पेश नगरेको प्रमाण अदालतले खोज्ने नखोज्ने र त्यस्तो प्रमाणको कागत सुनाउने नसुनाउने विचारणीय छ त्यस्तो कागत वादीको विरुद्ध प्रमाण होइन । यस्तो प्रमाण अ.बं. ७७ नं. को आधारमा लिन मिल्दैन । त्यस्तो कागज अदालतले लिए पनि वादीको विरुद्ध भएकोले अ.बं. ७८ नं. बमोजिम वादीलाई सुनाउनु पर्ने हो सो सुनाएको छैन । प्रतिवादीले बन्देज शर्त बमोजिम गर्नु पर्ने कामहरु गरेको छु भनी भन्न सकेको छैन । गर्नु पर्ने बाध्यात्मक काम प्रतिवादीले गर्दैन र गरेको छु भनी प्रमाण पुर्‍याउन सक्दैन भने त्यस्तोलाई धर्मलोप गरेको ठहर्दैन भनी भन्न मिल्ने होइन । म.क्षे.अ. ले धर्मलोप गरेको ठहर्दैन भनी गरेको इन्साफ मिलेको नहुँदा उक्त फैसला उल्टी हुनुपर्छ भन्ने र विपक्षी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दाश र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले फिराद हदम्याद नाघी दर्ता भएको छ । प्राड्ड न्यायको सिद्धान्त विपरीत रामचन्द्रले मेरो पक्ष रामसागर र फुलगेन उपर २००८ सालको हिसाब दिएन भनी धर्म लोप मुद्दा दिएकोमा सोमा निर्णय हुँदा फुलगेनले धर्मलोप गरेको ठहर्दैन भनी निर्णय भएको छ । यस्तो विवाद टुड्डी सकेपछि सोही प्रश्नमा यो मुद्दा उठाई नालेश गर्न अ.बं. ८५ नं. ले मिल्दैन । मेरो पक्षले पछि फेला परेको प्रमाण ०४३।३।१५ मा अदालत समक्ष पेश गरेकै छ । रामचन्द्र साहुलाई रामस्वरुपले लेखेको चिठ्ठीबाट पनि मेरो पक्षले काम गर्न नपाएको प्रष्ट छ । रामस्वरुपले धर्म संस्थानको काम गर्ने बहुराम राउतलाई लेखेको अह्राएको पत्र र धर्म संस्थानको म कार्य गरेको भनी पोत बुझाएको रसिदहरुबाट तथा नापी हुँदा ३ नं. नापी गोश्वाराबाट निजको नाउँमा जारी गरेको म्यादका साथै २०१७ सालमा निजले कर कार्यालयमा पेश गरेको आर्थिक विवरणले समेत पूर्ण समर्थित हुन आउँछ । नेपाल बैंक लि. जनकपुरमा रहेको धर्म संस्थाको खाता रामचन्द्रले आफैंले संचालन गरेको छ । ०३० सालको फैसलाले मेरो पक्ष फुलगेनले धर्मलोप गरेका ठहर्दैन भनी सकेपछि त्यो अघिको कुरालाई लिएर मेरो पक्षले धर्मलोप गरेको भन्न मिल्ने होइन । विभिन्न मुद्दाहरुको कारणले मेरो पक्षले बैंकको खाताहरु संचालन गर्न पाएको छैन । मलाई संचालन कायम गरी पाउँ भन्ने दावी छैन तर अं.अ.ले वादीलाई संचालन कायम गरी फैसला गरेको छ । त्यो मिल्ने होइन अतएवं म.क्षे.अ. को इन्साफ सदर होस भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।

१३.   प्रस्तुत मुद्दामा म.क्षे.अ. बाट भएको इन्साफ मिलेको छ छैन हेरी निर्णय दिनुपर्ने हुन आयो ।

१४.   यसमा प्रतिवादीले धर्म संस्थानको हिसाब किताबमा वादीलाई समेत सरिक नगरी धर्म संस्थाको जग्गा आयस्ता हिनामिना गरेको, जमुनी पुल समेत बनाउनु पर्नेमा नबनाई गर्नु पर्ने कार्य धर्म बन्देज अनुसार नगरी धर्मलोप गरेको भन्ने समेत वादी दावीको भूल स्वीकार दावी भएकोमा प्रतिवादी उक्त वादी दावीबाट इन्कार रहँदै आफ्नो संचालकत्वमा भएको धार्मिक एवं सामाजिक कार्यहरु २००१ सालको धर्म बन्देजपत्र अनुसार नै काम गरी आएको छु भन्ने समेत जिकिर लिएको पाइन्छ । २००१ सालको धर्म बन्देजपत्रमा दुवै पक्षको मुख मिलेको र सोमा विवाद देखिन नआएकोले सो २००१।१२।१०।६ को धर्मपत्रमा के कस्तो शर्त बन्देज रहेछ भनी हेर्दा राम स्वरुप साहु र रामसागर साहुले खडा गरेको धर्म संस्थाको नियममा तपसीलका जग्गाको आयस्ताबाट सरकारको मालपोत तिरी सो खेती धर्म संस्थानको काम गर्नेहरुको नोकरान खर्च दिई बाँकी बचेको आयस्ताबाट आठ आना पहिले हामीहरुले प्र.खे.मौजे कुसुमाहा सतोखडमा भएको सतोखरी पोखरीको जिर्णोद्वार गरी निज पोखरीको पूर्वारी डिलमा देवालय पौवा पाटी घाट समेत बनाउन लागेको तैयार गरी निज देवालयमा श्री शिवजीको स्थापना गरी पूजा आजा धर्म सदावर्त र यो धर्म संस्थाको काम गर्ने चलाउने बाँकी आठ आनामा चार आना सदाका लागि जगेडा राखी सो जगेडाबाट धर्म संस्थाको जेथा बढाउँदै चार आना बाँकी पनि सुखा जर्ता अनिकाल पर्न गएका सालमा लेखिएको स्थान धर्मस्थानको काम र बाबुहरुले प्र. को मौजे पिडारी खडोल रत्नसागर पोखरीको उत्तरवारी डिलमा देवालय पौवा पाटी घाट समेत बनाई श्री साताराम लक्ष्मण महावीरजी समेत स्थापना गरी राखेका स्थानको धर्म सदावर्त पूजाआजाको कामलाई जग्गा जमीन नगदी जिन्सी समेत निज बाबुहरु नै बन्देज गरी छुट्याई राखेमा पनि देवागत अनिकाल जर्ता पर्ता गर्न गएका सालमा धर्म खण्डीत हुन नपाउने संग हात उठाई दिई काम चलाउनलाई समेत जगेडा राख्ने गरी काम चलाउने हामीहरुका जिमिदारी छउन्जेल मुख्य म राम स्वरुपले प्रत्येक साल कार्तिक महीना श्री लक्ष्मी पूजाका दिन आम्दानी आयस्ता मुताविक र सो धर्म संस्थाको काम खर्चको नियम रेकर्ड खाता दुवै दाजु भाइको मन्जूरीले खडा गरी नियम मुताविकको काम चलाउने हुनाले हामीहरुको शेषपछि हामी दुवै भाइ सनातन मध्ये जेठा जो हुन्छ मुख्य उसैले र केही गरी जेठा सन्तान लायक नभएमा उ मुनिका सन्तानले मुख्य भई निजले पनि सोही बमोजिम धर्म संस्थाको काम गर्ने भन्ने समेत व्यवस्था गर्दा बन्देजपत्रमा बाँकी बचेको आयस्ताबाट चार भाग लगाई सो¥ह आनामा आठ आना लिई धर्म संस्था समेतको काम गरी चलाई बाँकी आठ आना मध्ये ४ आना जगेडा राखी जेथा बढाई बाँकी चार आना सुखा जर्ती दैवी अनिकाल घटबढ परेका बखत सो धर्म संस्थाको काममा खर्च गर्ने गरी जगेडा राखी साल बसाल कार्तिक महीनाको श्री लक्ष्मी पूजाको दिन पट्टीदार हकवाला बसी साल भरको आम्दानी खर्चको लिष्ट बनाई सोही बमोजिम धर्म संस्थाको काम चलाउने भन्दै धर्म बन्देजपत्रमा निज सन्तान मध्येको कसैले त्यसमा सामेल नरही गोलमाल गरी टंटा गर्न खोज्यो भने धर्म संस्थाको काममा खलल गर्न हक केही नहुनाले निज बेगर काम अडकाउन गर्नलाई निजको सट्टामा आफ्ना जात वर्गका ५ जनालाई देखाई राखी रेकर्ड खडा गरी बाँकी रहेको जम्मै जगेडा र शेष रहेको समेत उतारी निज समेतका सल्लाहले काम गर्ने चलाउने लिष्ट तैयारी गरी यो बन्देज पत्र बमोजिम हाम्रा सन्तानले नै सो धर्म संस्थाको काम कारवाही चलाउने गर्नुभन्ने समेत उल्लेख गर्दै हाम्रा सन्तान बाहेक अरु कसैले गर्न चलाउन र हक दावा समेत गर्न पाउँदैनन् । हाम्रा सन्तानमा कसैले धर्म खण्डीत गरे अथवा यस धर्म संस्थाका शेष खाए सो गर्ने खानेलाई यस कामबाट हटाई सो बाहेक अरु हाम्रै सन्तानमा इमान सम्झी काम गर्नेले काम चलाउनु गर्नुभन्ने समेतको शर्त बन्देज गरेको देखिन्छ ।

१५.   प्रतिवादी फुलगेन व्याहुत सुडीका पिता राम सागरले धर्मलोप गरेको ठहर्ने र फुलगेनले धर्मलोप गरेको नठहरी गुठीको कामबाट निजलाई हटाई जेठा ठहर्ने फुलगेनले गुठीको काम मुख्य भई चलाउन पाउने भई विशेष अदालतबाट मिति २०२४।४।१५ मा निर्णय भएकोमा सो उपर रामचन्द्र साहु व्याहुतको पुनरावेदन परेकोमा पुनरावेदन जिकिर पुग्न नसक्ने गरी सर्वोच्च अदालतबाट २०३०।१२।१४ मा फैसला भएको पाइन्छ । मिति २०३०।१२।१४ मा उक्त फैसला भएपछि उक्त गुठी चलाउने तर्फ यसै मुद्दामा वादी रामचन्द्र साहु व्याहुतले यसै मुद्दाका प्रतिवादी फुलगेन उपर बैंकमा रहेको खाता संचालन गर्न रोकी पाउँ भनी २०३४ सालमा निषेधाज्ञाको मुद्दा दिएकोमा म.क्षे.अ. बाट २०३७।८।२३।२ मा निवेदकको माग बमोजिम निषेधाज्ञा जारी गर्न नमिल्ने भनी फैसला भई सो फैसला उपर रामचन्द्र साहुको सर्वोच्च अदालतमा पुनरावेदन गर्न अनुमतिको निवेदन दिएकोमा पुनरावेदन अनुमति दिन भनी २०३८।४।१ मा अन्तिम आदेश भई सो अन्तिम रहेको देखिन्छ । मिति २०३०।१२।१४ मा प्रतिवादी फुलगेनको पिता रामसागरले धर्मलोप गरेको ठहरी फुलगेनले गुठीको काम चलाउन पाउने गरी सर्वोच्च अदालतबाट फैसला भए पनि यिनै वादी रामचन्द्र व्याहुतले यिनै प्रतिवादी फुलगेन व्याहुत उपर २०३४ सालमा बैंकमा रहेको खाता संचालन गर्न नपाउने गरी निषेधाज्ञा मुद्दा दिएबाट सो मुद्दाको कारवाही भई २०३८।४।१ मा मात्र अन्तिम टुंगो लागेको पाइन्छ । सो निषेधाज्ञा मुद्दा भन्दा अघि यिनै वादी रामचन्द्र व्याहुत सुडीले प्र.फुलगेन व्याहुत सुडी उपर धर्मलोप गर्‍यो भनी मिति २०३३।८।२४ मा प्रस्तुत फिराद दिएको देखिन्छ । यस प्रकार यी वादी रामचन्द्र व्याहुत सुडीले यिनै प्रतिवादी फुलगेन उपर अघि २०२३ सालमा धर्मलोप मुद्दा दिई सो मुद्दा २०३०।१२।१४ मा टुंगिए पछि, पुनः प्रस्तुत धर्मलोप र अनि निषेधाज्ञा मुद्दा समेत दिएको देखिन्छ । यस प्रकार गुठी संचालनमा अनेक बाधा वादी पक्षबाट प्रतिवादी पक्षलाई पुर्‍याइएको पाइन्छ । जसले धर्म संस्थान एवं गुठी मिति २००१।१२।१०।६ को शर्त बन्देज बमोजिम पूर्णरुपले चलाउन पाएको छैन भने त्यस्तो व्यक्तिले उक्त २००१ सालको बन्देजपत्र विपरीत धर्मलोप गर्‍यो भन्ने कुरा न त न्यायसंगत देखिन्छ न त तर्कसंगतै देखिन्छ । गुठी संचालनको अन्य पहेलु तर्फ हेर्दा धर्म संस्थानको नाउँको नेपाल बैंक लि. जनकपुरमा रहेको मुद्दती खाता समेत रामचन्द्र साहु व्याहुत सुडीले संचालन गरी आएको र उक्त धर्म संस्थानको हिस्सा भएको किशोरी राइस मिल्स र घर पसल समेत प्र.फुलगेन व्याहुत सुडीले संचालन गर्न नपाएको तथ्य मिसिलबाट देखिन्छ । यसै प्रकार धर्म संस्थालाई समर्पित सुलेख हाटको आयस्ता समेत यिनै वादीले उठाई लिने गरेको कुरा यिनै वादीले विष्णुबहादुर श्रेष्ठ उपर रकम दिलाई पाउँ भनी दिएको ध.जि.अ. बाट मिति २०३८।३।२८ मा भएको फैसला मुद्दाबाट देखिन्छ । यस प्रकार वादी प्रतिवादी बीच धर्म संस्था संचालन सम्बन्धमा बराबर विवाद उठेको र विभिन्न मितिमा विभिन्न मुद्दाहरु परी आपसी समझदारी समेत नरहेको र मुद्दा माथि मुद्दा दिएको कुरा मिसिल प्रमाणबाट प्रष्टिन्छ । यस्तो अवस्थामा प्र.फुलगेन व्याहुत सुडीले २००१।१२।१०।६ को शर्त बन्देज बमोजिम पूर्णरुपले गुठी संचालन गर्न पाएको रहेछ भन्न मिलेन । अब बाबु रामसागरबाट विरासतको रुपमा आएको धर्म संस्थानको केही कामको सम्बन्धमा के भएको रहेछ भनी हेर्दा धर्म संस्थानको काममा बाधा नआवोस भनी आफ्ना वंश जातका ५ जनाबाट आयस्ता समेत जाँच्ने व्यवस्था भएको र सो व्यवस्था बमोजिम प्रतिवादीसंग भएको हिसाबको रेकर्ड तैयार गरी राखेको कुरा मिसिल संलग्न कागजबाट देखिन्छ । २०२३ साल देखि नै यि प्रतिवादी फुलगेन व्याहुत सुडी उपर विभिन्न मुद्दा परी प्र.फुलगेन व्याहुत सुडीले धर्म संस्थान पूर्णरुपले संचालन गर्न नपाएको देखिन्छ र आफ्नो संयोजकत्वमा जे जति संचालन भएको छ, सोबाट भएको आयस्ताले बन्देजपत्र बमोजिम गर्नु पर्ने कार्य प्रतिवादीले गरेको कुरा बुझिएका साक्षी एवं आफ्नै वर्ग जातबाट खडा भए गरेको लिखतबाट समेत प्रमाणित भएको पाइन्छ । अतः प्रतिवादी फुलगेन व्याहुत सुडीले धर्म बन्देज पत्र बमोजिमको कार्य नगरी धर्मलोप गरेको भन्ने पुनरावेदन तर्फका विद्वान वरिष्ठ अधिवक्ताको बहससंग सहमत हुन सकिएन । आफ्नो संयोजकत्व संचालन गर्न पाए जति सम्पत्तिबाट धर्म संस्थानको बन्देजपत्र अनुसार दैनिक कार्य समेतको कार्य संचालन भई नै रहेको कुरा साक्षीबाट समेत पुष्ट्याई भएको र धर्म संस्थानको बन्देजपत्र बमोजिम वार्षिक हिसाब रेकर्ड समेत ५ जना आफ्नो वर्गका मानिस राखी तैयार भई नै रहेको देखिँदा वादी दावी नपुग्ने ठहराएको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको म.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४७ साल ज्येष्ठ १४ गते रोज २ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु