शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१०६ - लागू औषध अफिम बिक्री

भाग: ३२ साल: २०४७ महिना: असार अंक:

निर्णय नं. ४१०६     ने.का.प. २०४७          अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४६ सालको फौ.पु.नं. ६०४

सम्वत् २०४६ सालको फौ.पु.नं. २५९

फैसला भएको मिति : २०४६।११।२३।३ मा

पुनरावेदक/वादी : प्रहरी प्रतिवेदनले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : भ.पु.जि.ईटाछेमा गलैंचा उद्योग गर्ने विष्णुप्रसाद श्रेष्ठसमेत

पुनरावेदक/प्रतिवादी : जि. कारागार शाखा भद्रगोलमा थुनामा रहेको विष्णुप्रसाद श्रेष्ठ

विरुद्ध

विपक्षी/वादी : श्री ५ को सरकार

मुद्दा : लागू औषध अफिम बिक्री

(१)   स्वयं प्रतिवादीले अदालतमा स्वेच्छाले बयान गर्दा बरामद भएको वस्तु अफिम हो भनी स्वीकार गरेकोले सो अफिम बाहेक अन्य वस्तु हो भन्ने स्थिति नरहने ।

(प्रकरण नं. २०)

(२)   प्रतिवादीले नै विवाद नउठाएको कुरामा अदालतले विवाद उठाई रहनु नपर्ने ।

(प्रकरण नं. २०)

(३)   स्वयं प्रहरीमा भएको प्रतिवादीहरुबाट गराइएका कागज र बरामदी मुचुल्का बाझिएकोले त्यस्तो बरामदी मुचुल्काको आधारमा उक्त अफिम बिक्री वितरणको लागि लगिएको रहेछ भन्न नमिल्ने ।

(प्रकरण नं. २०)

पुनरावेदक/वादीतर्फ : विद्वान सहन्यायाधिवक्ता श्री शारदाप्रसाद पण्डित

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सानु बाबु पोखरेल

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन यस अदालतमा दर्ता भई आएको मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।

२.    जि.का.काठमाडौंको मिति २०४३।१०।२७ को पत्रानुसार विष्णुप्रसाद श्रेष्ठ र दिलिपकुमार सुवालको खोजतलास गर्दै जाँदा वसन्तपुरमा भेटी दिलीपकुमार सुवालले बोकेको झोला भित्र टिनको डब्वामा राखेको १००० ग्राम लिक्वीड अफिम भेटिएको र बिक्री गर्न लिई हिंडेको भनी सावित समेत भएकाले निजलाई र बरामद भएको लागू औषध समेत कारवाहीको लागि पेश गरेको भन्ने समेतको प्र.नि. श्री भरतबहादुर जि.सी. समेतको मिति २०४३।१०।२८ को प्रतिवेदन ।

३.    विष्णुप्रसाद श्रेष्ठ र दिलीपकुमार सुवालको तलासी लिंदा विष्णुप्रसादले बोकेको झोलाबाट हामीहरुको रोहवरमा १००० ग्राम लिक्वीड भेटी बरामद भएको र निजहरुलाई प्रहरीले पक्राउ गरेको ठीक साँचो हो भन्ने समेत मिति २०४३।१०।२८ को बरामदी मुचुल्का ।

४.    भक्तपुर वागेश्वरी बस्ने विश्व लामिछानेले १ किलो अफिम बिक्री गर्न भनी मलाई दिनु भएको, मेरो गलैंचा कारखानामा काम गर्ने दिलीपकुमार सुवालले म बिक्री गर्न सक्छु भनी उक्त अफिम लिई गए । निजले बिक्री गर्न नसकेकोले ठमेलको एउटा केटीले किन्ने भनेको हुँदा दिलीपकुमारलाई अफिम बोकाई बसन्तपुर आई पुग्दा प्रहरीले पक्राउ गरी १ किलो अफिम समेत बरामद गरेका हुन् भन्ने समेतको विष्णुप्रसाद श्रेष्ठले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान

५.    विष्णुप्रसाद श्रेष्ठले १ किलो अफिम ल्याई बिक्री गर्न भनी मलाई दिएको हुँदा आफ्नो घरमा लगी राखेको थिएँ । मिति २०४३।१०।२८ का दिन निज विष्णुप्रसादले अफिम किन्ने मानिस मिलेको छ अफिम लिएर जाउ भनी भनेकाले लिई जाँदा बसन्तपुरमा पुग्दा प्रहरीले मैले बोकेको झोलाबाट उक्त १ किलो अफिम बरामद गरी मलाई र विष्णुप्रसादलाई पक्राउ गरेको हो भन्ने समेतको दिलीपकुमार सुवालले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान ।

६.    दिलीपकुमार र विष्णुप्रसादले अफिम बिक्री वितरण गर्दा १ किलो अफिम निजहरुबाट बरामद भई पक्राउमा परेका हुन् भन्ने सुनेको हुँ भन्ने समेतको सरजमीन मुचुल्का ।

७.    दिलीपकुमार र विष्णुप्रसाद श्रेष्ठले लागू औषध अफिम बिक्री वितरण गर्न हिंडेको देखिन आएकोले लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा ४(घ) को कसूर गरेको हुँदा ऐ. ऐनको दफा १४(ग) अनुसार सजायँ हुनु र विश्व लामिछानेले पनि दफा ४(घ) अनुसार कसूर गरेको हुँदा ऐ. ऐनको दफा १४(ग) अनुसार सजायँ हुनु र विश्व लामिछानेले पनि दफा ४(घ) को कसूर गरेको हुँदा निजको नाममा समाव्हान जारी गरी दफा १४(घ) अनुसार सजायँ हुने माग दावी भई आएको प्रहरी प्रतिवेदन ।

८.    प्रहरीमा भएको बयान झुठ्ठा हो । प्रहरीले मलाई कुटपिट गरी आफ्नो व्यहोरा लेखी नसुनाई सहिछाप गराएका हुन । मेरो घरबाट नै प्रहरीले मलाई बोलाई पक्राउ गरेका हुन । उक्त लागू औषध मबाट बरामद भएको होइन । लागू औषध सम्बन्धमा मलाई केही थाहा छैन र बिक्री गर्न विष्णुप्रसादसंग हिंडेको पनि होइन । विष्णुप्रसादले किन त्यस्तो बयान गरे थाहा छैन भन्ने समेतको प्रतिवादी दिलीपकुमारले अदालत समक्ष गरेको बयान ।

९.    प्रहरीको डर त्रासबाट प्रहरीमा भएको बयानमा सही गरिदिएको हुँ । एक महीना अघि विश्व लामिछानेले एउटा झोला ल्याई एकछिन राखी देउ भनी राखी गएको हो । सो झोलामा के छ मलाई थाहा थिएन । धेरै दिनसम्म लिन नआएकोले हेर्दा कालो डल्लो रहेछ । मैले त्यसै राखी दिएँ । प्रहरीले सो झोला मलाई बोकाई बाहिर ल्याई मोटरमा राखी हनुमान ढोकामा ल्याई थुने विश्व लामिछानेको सामान हो भन्दा निजको वतन खुलाउन नसकेकोले वतन थाहा भएको अरु साथी भनेमा मलाई छाडिदिने भनी प्रहरीले भनेकाले दिलीप सुवालको नाम बताएको मात्र हुँ । निजलाई अफिम बारे केही थाहा छैन । मैले कुनै कसूर गरेको छैन । मलाई फसाएका मात्र हुन् भन्ने समेतको प्रतिवादी विष्णुप्रसाद श्रेष्ठले अदालत समक्ष गरेको बयान ।

१०.    विष्णुप्रसाद लागू औषधको कारोबार गर्ने व्यक्ति होइनन् । निजको चाल चलन राम्रो छ । यस मुद्दामा अरु मलाई थाहा छैन भन्ने प्रतिवादी विष्णुप्रसादको साक्षी तेजकुमार झा र प्रतिवादी दिलीप आफैं घरबाट पक्राउमा परेका हुन् भन्ने कुरा केही दिन पछि निजको बाबुबाट थाहा पाएँ । निजबाट अफिम बरामद हुने कुरै छैन । निजको चाल चलन राम्रो छ भन्ने समेतको प्रतिवादी दिलीपकुमारको साक्षी विष्णुप्रसाद प्रजापतिले गरेको बकपत्र ।

११.    प्रतिवादीहरुले अफिम बाँकी बिक्रीको लागि ग्राहक खोज्दै हिंडेकोले खोज तलास गर्दै जाँदा बसन्तपुरमा फेला परेको र विष्णुप्रसादले बोकेको झोलाबाट १ किलो अफिम बरामद हुन आएकोले सो समेत दाखिला गरेको हो । बरामदी मुचुल्कामा भएको सही मेरो हो भन्ने समेतको बरामदी मुचुल्काका व्यक्ति प्र.ना.नि. गोपालप्रसाद श्रेष्ठ र प्र.ना.नि. रामदेव यादवले छुट्टाछुट्टै गरेको बकपत्र ।

१२.   प्रतिवादी विष्णुप्रसादले अरु व्यक्तिबाट बिक्री गर्ने भनी दशीको लागू औषध लिई प्रतिवादी दिलीपकुमारलाई बोकाई बिक्री गर्न हिंडेको रहेछ भन्ने तथ्य प्रमाणित हुन आएको देखिँदा प्रतिवादी विष्णुप्रसाद श्रेष्ठ र प्रतिवादी दिलीपकुमार सुवालले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) को कसूर गरेको ठहर्छ भन्ने समेतको बागमती विशेष अदालतको मिति २०४५।३।६ को फैसला ।

१३.   शंकाको भरमा मलाई सजायँको भागी बनाइएको बागमती विशेष अदालतको फैसलामा चित्त नबुझेको हुँदा सो फैसला बदर गरी पाउँ भन्ने समेतको प्रतिवादी विष्णुप्रसाद श्रेष्ठले म.क्षे.अ. मा दिएको पुनरावेदनपत्र ।

१४.   मलाई सजायँ गर्ने गरेको बागमती विशेष अदालतको फैसला कानुन न्याय तथा प्रमाण सबै दृष्टिकोणबाट बदरभागी हुँदा बदर गरी मलाई निर्दोष ठहर गरी सफाई पाउँ भन्ने समेतको प्रतिवादी दिलीपकुमार सुवालले म.क्षे.अ. मा दिएको पुनरावेदन ।

१५.   प्रतिवादीहरुलाई कसूरदार ठहराएको बागमती विशेष अदालतको फैसला फरक पर्ने देखिँदा छलफलको लागि अ.बं. २०२ नं. बमोजिम र क्षेत्रीय अदालत नियमावली बमोजिम महान्यायाधिवक्ता कार्यालयलाई सूचना दिनु भन्ने समेत म.क्षे.अ. को मिति २०४५।१०।४ को आदेश ।

१६.    प्रतिवादी विष्णुप्रसाद श्रेष्ठले लागू औषध नियन्त्रण, २०३३ को दफा ४(च) बमोजिम लागू औषध अफिम आफ्नो डेरामा राखेको संचय गरेको देखिँदा लागू औषध नियन्त्रण ऐन (संशोधन सहित), २०३३ को दफा १४(ग) बमोजिम कैद वर्ष १० र जरिवाना रु. १०,०००।हुने ठहर्छ । दिलीपकुमारलाई अफिम बारे केही थाहा नभएको र स्वयं पनि आरोपित कसूर गरेमा इन्कार रहेको र साक्षीको बकपत्रले समेत समर्थन गरेकोले लागू औषध (नियन्त्रण) (संशोधन सहित) ऐन, २०३३ को दफा ४(घ) को कसूर गरेको ठहर्‍याई सोही ऐनको दफा १४(ग) अनुसार गरेको सजायँ मिलेको नदेखिँदा उल्टी भई निज प्रतिवादी दिलीपकुमारले सफाई पाउने ठहर्छ भन्ने म.क्षे.अ. को मिति २०४५।११।१२।५ को फैसला ।

१७.   मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ९(२), १०, १८ को प्रतिकूल भएकोले वा.वि.अ. को इन्साफ कायम गरी पाउँ भन्ने श्री ५ को सरकारको तर्फबाट यस अदालतमा मिति ०४६।२।२० मा र म.क्षे.अ. को फैसला त्रुटिपूर्ण प्रमाण विहिन भएको हुँदा झुठ्ठा मुद्दाको आधारमा दोषी ठहराई गरिएको फैसला बदर गरी सफाई पाउँ भन्ने प्रतिवादी विष्णुप्रसाद श्रेष्ठको यस अदालतमा मिति २०४६।४।१५ मा दर्ता हुन आएको पुनरावेदन पत्र ।

१८.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएका प्रस्तुत मुद्दामा पुनरावेदक श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री शारदाप्रसाद पण्डितले विवादको अफिम बसन्तपुरमा बरामद भएको देखिन्छ । प्रतिवादी दिलीपकुमार सुवाल र विष्णुप्रसाद श्रेष्ठ कसूर गरेमा प्रहरीमा साविती छन् । कुटपिटबाट सावित भएको भनेकोमा उक्त कुराको प्रमाण पेश गर्न सकेको छैन । श्री ५ को सरकारले बिक्री वितरणतर्फ लगाएको आरोप निजहरुले गरेको बरामदी मुचुल्का र प्रहरीमा भएका कागजबाट प्रमाणित हुन्छ । दिलीपकुमार अपराध गरेमा प्रहरीमा सावित हुँदा म.क्षे.अ. बाट निजलाई सफाई दिने गरेको फैसला उल्टी हुनुपर्छ भन्ने र पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सानो बाबु पोखरेलले विश्व लामिछानेले झोला ल्याई मेरो घरमा राखिदेउ भन्दा राखी दिएको र झोला खोली हेर्दा त्यसमा कालो डल्लो जस्तो देख्दा त्यसै राखेको भन्छ । बरामदी मुचुल्का समेत प्र.स.नि. कृष्णप्रसादले लेखेको भनी गोपालप्रसादले बयान गरेको छ । जबकी बरामदी मुचुल्कामा प्र.नि. भरतबहादुर वि.सी. देखिन्छ । अतः सो बरामदी मुचुल्का सो बरामद भएको ठाउँको नभई तैयारी टाइप भएको कागजमा भएकोले उक्त कागज कानुनी रुपको नहुँदा मेरो पक्षले सफाई पाउनु पर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।

१९.    प्रस्तुत मुद्दामा म.क्षे.अ. ले गरेको इन्साफ मिले नमिलेको के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।

२०.   यसमा प्रतिवादी विष्णुप्रसादको अदालतमा बयान हुँदा बरामद भएको एक किलो अफिम आफ्नो घर डेरा भक्तपुरबाट बरामद भएको हो भन्दै प्रहरीमा भएको अन्य व्यहोरा झुठ्ठा हो भनी बयान गरेको पाइन्छ । स्वयं प्रतिवादी विष्णुप्रसादले अदालतमा स्वेच्छाले बयान गर्दा उक्त बरामद भएको वस्तु अफिम हो भनी स्वीकार गरेकोले सो अफिम बाहेक अन्य वस्तु हो भन्ने स्थिति रहेन । प्रतिवादीले नै विवाद नउठाएको कुरामा अदालतमा विवाद उठाइरहनु पर्ने देखिएन । उक्त अफिम बिक्री वितरणको लागि ल्याइएको भन्ने श्री ५ को सरकारको पुनरावेदन भएकोमा २०४३।१०।२८ को बरामदी मुचुल्काबाट उक्त अफिम बसन्तपुरमा विष्णुप्रसादको झोलाबाट पक्राउ भएको देखिए पनि प्रहरी समक्ष नै विष्णुप्रसाद श्रेष्ठ र दिलीपकुमार सुवालको कागजबाट सो उक्त अफिम नै दिलीप सुवालबाट बरामद भएको भन्ने देखिँदा स्वयं प्रहरीमा भएको प्रतिवादीहरुबाट गराइएको कागज र बरामदी मुचुल्का बाझिएकोले त्यस्तो बरामदी मुचुल्काको आधारमा उक्त अफिम बिक्री वितरणको लागि बसन्तपुर लगिएको रहेछ भन्न मिलेन । उक्त अफिम प्र.विष्णुप्रसाद श्रेष्ठको घरबाट बरामद भएको कुरा स्वयं प्रतिवादी विष्णुप्रसादले अदालतमा समेत स्वेच्छाले बयान गरेकाले अफिम निज विष्णुप्रसादको घरबाट बरामद भएकोमा अन्य शंका लिई रहनु पर्ने अवस्था देखिएन । अतः मलाई सफाई हुनुपर्छ भन्ने प्र.विष्णुप्रसाद श्रेष्ठको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्र.दिलीप सुवाल प्रहरीमा सावित भए पनि अदालतमा आफू सो अफिम लिएमा प्र.विष्णुप्रसादसंग घुमेमा साफ इन्कार रहेको र प्र.विष्णुप्रसादले अदालतमा बयान गर्दा प्र.दिलीप सुवाललाई सो अफिम बारे केही थाहा छैन भनेकाले प्र.दिलीपलाई र प्र.विष्णुप्रसादलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ होस भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्र.दिलीप सुवाललाई सफाई दिई प्र.विष्णुप्रसाद श्रेष्ठलाई लागू औषधको संचयतर्फ सजायँ गरेको म.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४६ साल फाल्गुण २३ गते रोज ३ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु