निर्णय नं. ४१११ - लिखत दर्ता बदर

निर्णय नं. ४१११ ने.का.प. २०४७ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४५ सालको दे.विविध नं. ५९
फैसला भएको मिति : २०४६।१२।२८।३ मा
निवेदक/वादी : खोटाङ जिल्ला बतासे गा.पं. वा.नं. १ बस्ने लक्ष्मीदेवी भुजेलसमेत
विरुद्ध
विपक्षी/प्रतिवादी : खोटाङ जिल्ला बतासे गा.पं. वा.नं. ४ बस्ने श्यामलाल श्रेष्ठसमेत
मुद्दा : लिखत दर्ता बदर
(१) अंशबण्डाको १९(२) ले सो दफाको व्यवस्था भित्र परेमा बाबुले एकासगोलका एक भन्दा बढी स्वास्नी भएकै भए पनि सो व्यवस्थाले बन्देज लगाए बमोजिम गरी दान बकस गरी दिन बाहेक अरु किसिमले दान बकसको १ नं. बमोजिम दान बकस गरी दिन हक दिएकै देखिने ।
(प्रकरण नं. १५)
पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
फैसला
न्या.हिरण्येश्वरमान प्रधान
१. पू.क्षे.अ. को मिति ०४४।१२।२।३ को इन्साफ जाँच गरी दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भनी वादी पक्षले श्री ५ महाराजाधिराज सरकारका हजूरमा दिएको बिन्तिपत्रमा यो बिन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए पू.क्षे.अ. बाट छिनिएको बिन्तिपत्रमा लेखिएको लिखत दर्ता बदर भन्ने मुद्दाको मिसिल झिकाई त्यस अदालतबाट इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने हु.प्र. भए बमोजिम यस अदालतको मिति ०४५।६।८।३ को आदेशले दर्ता हुन आएका प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ ।
२. म लक्ष्मीदेवीका पति तथा हामी नरेन्द्रबहादुर, मानबहादुर, कुशकुमार समेतका पिता विपक्ष पहलमान भुजेल र निजकी जेठी श्रीमती उर्मिला भुजेल निज उर्मिला भुजेलपट्टिका छोरा कृष्णकुमार भुजेल –१ समेत ७ जना अंशी अहिलेसम्म छुट्टी भिन्न नभई सगोलमा रहे बसेका अंशी हौं । थुम दिपरुङ माने समेतका मौजाका जि.पदमबहादुर जिम्मा सनमान कार्की नाउँमा दर्ता भई निजबाट डम्बरप्रसाद रेग्मीले राजीनामा गरी लिई निजबाट ०३०।३।२६ मा सो हाम्रा पति पिता विपक्षी पहलमानले हाम्रा सगोलको सम्पत्तिबाट राजीनामा गरी लिई हामी समेत सगोलमा बसी खाए भोगेको श्यामबहादुरको साँध पश्चिम तपाई भनेको हाम्रै साँध पूर्व अर्जुनबहादुर साँध दक्षिण, वायुयान कुलो उत्तर यति ४ किल्ला भित्र माटो मुरी ।४७।७।७ मध्ये माटो मुरी ।२२ को ६४ गरी भन्ने दोभान ६४ खेत निज विपक्षी पति पहलमान भुजेलले अंश नभएका सगोलका हामी र निजकी अर्की श्रीमती उर्मिला भुजेल समेत कसैलाई थाहा नदिई हाम्रो मन्जूरी नलिई सिर्फ हामी सौता तथा सौतेनी आमा पट्टिको छोरा कृष्णकुमार भुजेललाई मात्र साक्षी राखी विपक्षी श्यामलाल श्रेष्ठलाई ०४०।१२।२० मा सोही मिति देखि खाने गरी बक्सपत्र गरी दिए लिएछन । सो बकसपत्र गरी लिएको जग्गा विपक्षी श्यामलाल श्रेष्ठले १ नं. नापी गोश्वारामा सर्भे नापी टोलीमा साविक बतासे गा.पं. वार्ड नं. ३ को कि.नं. २४९ मा ०४२।१०।२२ मा फिल्डबुक क्षेत्रीय किताबमा दर्ता समेत गरेपछि सो जग्गा हामीले खानु भोग्नु गरी रहेकोले हामीलाई कुनै कुरा थाहा थिएन । सो माथि लेखिएको जग्गा बक्सपत्र गरी लिए दिएको र विपक्षी श्यामलालले नापीमा दर्ता समेत गराइसकेछन् । हाम्रा तपसीलका साक्षीले हामीलाई ०४२।४।१८ गते बताएकाले नापी गोश्वारामा उक्त माथि लेखियानुसार जग्गा विपक्षी श्यामलालको नाउँमा ०४०।१०।२२ मा दर्ता गराइसकेको बुझी विपक्षीहरुले बकसपत्र लिनु दिनु गरेको लिखत ०४२।५।१७ मा खोटाङ माल कार्यालयबाट सारी सो माथि लेखिएका जम्मा ७ अंशी मध्ये पहलमान भुजेलको १ भाग, कृष्णकुमारको १ भाग, उर्मिला भुजेलका हकमा निजले उजूर गर्ने वा छोड्ने हुँदा बाँकी ४ अंशी हामी भई हामीहरुको हकमा छोरा मानबहादुर–१, कुशकुमार –१ समेत नाबालख हुँदा निज २ जनाको हकमा र मेरा हकमा समेत म एकाघरकी संरक्षक आमा लक्ष्मीदेवी भुजेल र नरेन्द्रबहादुर भुजेल समेतले यो फिराद गर्न आएका छौं । विपक्षीहरुलाई झिकी उक्त दावी बमोजिम सबूद प्रमाण बुझी बकसपत्र लिनु दिनु गरेको माटो मुरी ।.।२२ को जग्गामा हामी समेत ७ अंशीको ७ भाग लाग्ने भई सो ७ भागमा हामी ४ जनाको चार भागको लेखत बदर गरी सो जग्गा विपक्षी श्यामलाल ले कि.नं. २४९ मा गराएको दर्ता बदर गरी हाम्रो सदर गरी हाम्रा नाममा दर्ता गराई पाउँ भन्ने समेत फिरादपत्र ।
३. फिराद दावीमा प्रतिवादी गराइएका पहलमान भुजेल वादीहरुको बाबु लोग्ने हुँदा प्रतिवादी दिन्छन् वा दिंदैनन् निज जानुन् मेरो व्यहोरा सनमान नाउँ दर्ता भई निजबाट डम्बरप्रसादले लिई निजबाट ०३०।३।२६ मा पहलमान घर्तीले राजीनामा लिई निजको आफ्नो पालाको निजी आर्जनको खोटाङ जिल्ला राम्चे गा.पं. वार्ड ३ मा पर्ने श्यामबहादुर राई पश्चिम आसामीकै साँध भनेको हाल गंगाबहादुर साँध पूर्व अर्जुनबहादुर साँध दक्षिण, वायुयान कुलो उत्तर यति ४ किल्ला भित्रको ६४ गैरी भन्ने दोभान ६४ भन्ने खेत पहलमानले मलाई रिझ गुण वापत ०४०।१२।२० मा बकसपत्र गरी दिनु भई सो सालदेखि भोग चलन गरी आएको १ नं. टोलीबाट लिच्की राम्चे गा.पं. वार्ड नं. ३ मा पर्ने उक्त जग्गा मेरो नाममा दर्ता गराएको हो । पहलमानको निजी आर्जनको जग्गा मलाई बकसपत्र गरी दिएको आफ्नो खुश गर्न पाउने जग्गा हो । त्यस्तो जग्गामा वादीको हकै नपुग्ने हुँदा अ.बं. ८२ नं. ले वादीले उजूर गर्न हक पुग्न नसक्ने बकसपत्र बदर हुन पनि नसक्ने हुँदा मेरो लिखत सदर हुने मेरा नाउँमा भएको दर्ता बदर हुने होइन, लेनदेन व्यवहारको १० नं. अंशबण्डाको १९ नं. को २ दफा दानबकसको १ नं. बमोजिम पहलमानको आफ्नो आर्जनको सम्पत्ति मलाई बकसपत्र गरी दिएको हुँदा सो बकसपत्र सदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. ७ भागमा ४ भाग जग्गाको दर्ता समेत बदर भई वादीहरुको नाउँमा सो ४ भाग जग्गा दर्ता हुने ठहर्छ भन्ने समेत खोटाङ जिल्ला अदालतको ०४४।२।१२।२ को फैसला ।
५. शुरु फैसलामा चित्त बुझेन । प्रमाणको मूल्यांकन गरी इन्साफ गरी पाउँ भन्ने समेत प्रतिवादीको सगरमाथा अञ्चल अदालत ओखलढुड्डा बेञ्चमा परेको पुनरावेदनपत्र ।
६. अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि पेश गर्नु भन्ने सगरमाथा अञ्चल अदालत ओखलढुड्डा बेञ्चको आदेश ।
७. प्रस्तुत फिराद दावीको जग्गा प्रतिवादी पहलमान भुजेलको आफ्ना पालाको आर्जनको आफूखुस गर्न पाउने जग्गा देखिन आएकोले यसमा लेनदेन व्यवहारको १० नं. अनुसार वादीहरुको मन्जूरी लिनु पर्ने अवस्था देखिन नआएकोले फिराद दावी अनुसार ७ भागको ४ भाग लिखत र दर्ता बदर गर्ने गरी भएको शुरु खोटाङ जिल्ला अदालतको फैसला नमिलेको हुँदा लिखत दर्ता बदर गरी पाउँ भन्ने वादी दावी नपुग्ने समेत ठहर्छ भन्ने सगरमाथा अञ्चल अदालत ओखलढुड्डा बेञ्चको मिति ०४४।८।२०।१ को फैसला ।
८. सगरमाथा अञ्चल अदालत ओखलढुड्डा बेञ्चबाट ०४४।८।२० गते खोटाङ जिल्ला अदालतको फैसला उल्टाई सो फैसला बदर गरी हामीलाई हराएकाले चित्त बुझेन । उक्त गल्ती फैसला बदर गरी हाम्रो वादी दावी बमोजिम खोटाङ जिल्ला अदालतको फैसला सदर गरी पाउँ भन्ने समेत व्यहोराको लक्ष्मीदेवी भुजेल समेतको पुनरावेदनपत्र ।
९. दावीको लिखतको जग्गा पहलमान भुजेलले २०३० सालमा खरीद गरेको पाइन्छ । सो जग्गा २०४० सालमा श्यामलाल श्रेष्ठलाई बक्स गरिदिएको देखिन्छ । अंशबण्डाको १२(२) र लेनदेनको १० नं. ले मन्जूर नहुने जतिको हक बदर हुने व्यवस्था देखिन्छ । पितापूर्खाको आर्जनबाट खरीद गरेको भन्ने कुनै प्रमाण पेश नहुँदा वादी दावी बमोजिम लिखत बदर हुने ठहर्याई खोटाङ जिल्ला अदालतले गरेको फैसला उल्टाई वादी दावी पुग्न नसक्ने ठहर्याएको सगरमाथा अं. ओखलढुंगा बेञ्चको फैसला सदर हुन्छ भन्ने समेत पू.क्षे.अ. को मिति ०४४।१२।२।३ को फैसला ।
१०. हाम्रो दावी दान बकसको १ नं. १८ अन्तर्गत भएको र सो दान बकसको १ नम्बरमा आफूले आर्जेको वा पिता पुर्खाले आर्जेको समेतको भिन्ना भिन्नै श्रोतबाट आएको सम्पत्तिको कुरा उल्लेख नभएको भई आफ्नो हक पुग्ने सम्पत्ति दान बकस गरी दिनु हुन्छ आफ्नु खुस गर्न पाउने बाहेकमा अंशियार हक पुग्नेहरुको मन्जूरको लिखत नलिई वा साक्षी नराखी दान बकस गरी दिनु हुँदैन भनी प्रष्ट तवरले अंशियारले मन्जूरी लिनै पर्ने उल्लेख भएको र प्रतिवादी पहलमान भूजेलका हामी अंशियार होइनौं भन्ने कुरा कहींबाट प्रमाणित नभई हामी खास निजका एकासगोलको अंशियार भएको मिसिलबाट देखिन्छ । दान बकसको १ नम्बरमा अंशियारको मन्जूरी वा साक्षी राख्नु पर्ने प्रष्ट व्यवस्था हुँदा हुँदै लेनदेन व्यवहारको १० नम्बर अंशबण्डाको १९ नम्बरको व्याख्या गरी आफैं खरीद गरी आफैंले बकसपत्र दिन पाउने भनी उक्त अञ्चल र क्षेत्रीय अदालतले प्रत्यक्ष कानुनी त्रुटिपूर्ण फैसला गरेको र घरको व्यवहार चलाउने बाहेक हुने पुग्ने मानिसले दान वा बकस दिने हुनाले जुनसुकै श्रोतबाट आएको सम्पत्ति भए तापनि अंशियारको मञ्जुरी लिनै पर्ने दान बकसको १ नम्बरमा बाध्यात्मक व्यवस्था भएकोमा पनि सो विवादित सम्पत्ति प्र.पहलमानले नै आर्जेको नभई हाम्रो बुढा बाबु तथा ससुरा दुर्गाबहादुरले आर्जेको सम्पत्ति जग्गा रणबहादुर राय समेतलाई बिक्री गरी आएको सम्पत्तिले विपक्षी पहलमानका नाउँमा खरीद भएको सम्पत्ति हुँदा उक्त उल्लेखित कुराको हाम्रो दावीलाई पू.क्षे.अ. धनकुटाले बेवास्ता गरी गल्ती फैसला गरेको हुँदा अन्यायमा परेको छु । उक्त पू.क्षे.अ. को इन्साफ एकपटक हेरी इन्साफ गरी दिनु भनी सर्वोच्च अदालतलाई हु.प्र.बक्स गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ महाराजाधिराज सरकारमा चढाएको बिन्तिपत्र ।
११. सो बिन्तिपत्रमा पू.क्षे.अ. धनकुटाबाट छिनिएको लिखत दर्ता बदर भन्ने मुद्दाको मिसिल झिकाई सर्वोच्च अदालतबाट इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने हु.प्र. बक्स भए बमोजिम यस अदालत एक न्यायाधीशको इजलासबाट भएको मिति ०४५।६।१८।३ को आदेशले दर्ता हुन आएको रहेछ ।
१२. यसमा वादी प्रतिवादीको बीच अंशबण्डा नभई सगोलमा रहेकोमा विवाद छैन । २०३०।३।२६ मा पहलमान भूजेलले खरीद गरी लिएको जग्गा २०४०।१२।२० मा श्यामलाल श्रेष्ठलाई बकसपत्र गरी दिएको देखिन्छ । मु.ऐन दान बकसको १ नं. मा हेर्दा आफ्नो हक पुग्ने सम्पत्ति दान बकस गरी दिन हुन्छ । आफ्नो खुस गर्न पाउने बाहेक अरुमा अंशियार र हक पुग्नेहरुको मन्जूरीको लिखत नलिई वा साक्षी नराखी दान बकस गरी दिन हुँदैन भन्ने व्याख्या भएको पाइन्छ । प्रमाण ऐन, २०३१ को दफा ६(क) मा एकाघर संगका अंशियारहरु मध्ये जुनसुकै अंशियारका नाउँमा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने देखिन्छ । यस्तो सगोलमा रहेको सम्पत्तिलाई आफुखुशी गर्न पाउने भनी वादी दावी पुग्न नसक्ने ठहराएको पू.क्षे.अ. को निर्णय फरक पर्न जाने हुँदा अ.बं. २०२ नं. बमोजिम छलफलका लागि विपक्षीलाई म्याद दिई झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्नेसमेत संयुक्त इजलासबाट मिति ०४६।५।५।२ को आदेश ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पू.क्षे.अ. ले सगरमाथा अञ्चल अदालतको इन्साफ सदर गर्ने गरी गरेको निर्णय मिलेको छ छैन भन्ने कुराको निर्णय दिनु पर्ने हुन आयो ।
१४. प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट रहनु भएको कानुन व्यवसायी विद्वान अधिवक्ता श्री शम्भु थापाले गर्नु भएको वहस समेत सुनियो ।
१५. यसमा वादी निवेदकले आफ्नो पिता पुर्खाका पालाको सम्पत्तिको आर्जनबाट २०३०।३।२६ मा विपक्षी पिता पतिले डम्बर प्रसादबाट राजीनामा गरी लिई हामी समेतले भोगी आएको जग्गा २०४०।१२।२९ मा श्यामलाललाई सोही मितिदेखि खान पाउने गरी बकस पत्र गरी दिई नापीमा समेत आफ्नो नाउँमा नापी गराई लिएको ०४२।५।१२ मा नक्कल सारी लिई थाहा भएकोले हाम्रो समेत हक ४ भाग बदर गरी पाउँ भनी दान बकस गरी दिएको हाम्रो हक ४ भाग बदर गरिपाउँ भनी दान बकसको १ नं. को आधारमा यो फिराद दिएको देखिन आउँछ । फिरादको यस व्यहोराबाट यो वादीहरु जग्गा दान बकस गरी दिने विपक्षी मध्येका पहलमान भुजेलका एकासगोलका छोरा स्वास्नी हुन र दान बकस गर्दा दिएको जग्गा आफ्ना बाबु पति पहलमानले २०३०।३।२६ मा राजीनामा लिई आर्जेको भन्ने कुरा स्वीकारेकै देखिन आउँछ दान बकसको १ नं. मा भएको व्यवस्थाबाट आफ्नो हक पुग्ने सम्पत्ति दान बकस गरी दिन हुन्छ भन्ने व्यवस्था भएको र अंशबण्डाको १९ नम्बरमा अंश नलिएका स्वास्नी छोरा वा विधवा बुहारी हुने मानिसको चल अचल सम्पत्तिमा देहायमा लेखिए बमोजिम हुन्छ भन्ने व्यवस्था गरी देहाय २ मा आफ्ना पालामा आर्जेको चल अचल सबै एकैै स्वास्नी वा एक स्वास्नी पट्टिका छोरा मात्र भएकाले वा अरु छोरा स्वास्नी मरी त्यस्तो अवस्था हुन आएकाले पनि आफ्ना खुस गर्न पाउँछ । एक देखि बढ्ता स्वास्नी पट्टिका छोरा वा एउटा स्वास्नी र अर्को स्वास्नी पट्टिका छोरा भएकाले सो भएका अवस्थामा भने मन परेका स्वास्नी छोरालाई दिन बाहेक आफुखुशी गर्न पाउँछ । मन परेका स्वास्नी छोरालाई मात्र बक्स समेत केही व्यहोरा गरी दिन भने हुँदैन भन्ने समेत व्यवस्था भएकोबाट एक मात्र स्वास्नी भएका वा अर्को स्वास्नी र त्यस तर्फका सन्तान सबै मरी त्यस्तो अवस्था हुन आएका बाबुले र एक भन्दा बढी स्वास्नी र तीनितर्फबाट छोरा बुहारी समेत भएका बाबुले एकापट्टीका स्वास्नी छोरालाई मात्र दान बकस समेत कुनै व्यहोराले दिन बाहेक आफूले आफ्ना पालामा आर्जेको सम्पत्ति दान बकस समेत आफ्नु खुश गर्न पाउने हक दिएको स्पष्ट देखिन आएको छ । यसबाट अंशबण्डाको १९(२) ले सो दफाको व्यवस्था भित्र परेमा बाबुले एकासगोलका एकभन्दा बढी स्वास्नी भएको भए पनि सो व्यवस्थाले बन्देज लगाए बमोजिम गरी दान बकस गरी दिन बाहेक अरु किसिमले दान बकसको १ नं. बमोजिम दान बकस गरी दिन हक दिएकै देखिन आयो यस व्यवस्थाले फिराद दावीमा देखाइए बमोजिम सगोलको सम्पत्तिले आर्जेको भए दिन नपाउने भनी कुनै बन्देज लगाएको पनि देखिन आउँदैन र विपक्षी दान बकस गरी दिने पहलमानको दुई स्वास्नी तर्फका छोरा स्वास्नी भए पनि एक तर्फकालाई मात्र दान बकस गरी दिएको भन्ने दावी नभई अरु नै व्यक्ति श्यामलाललाई दान बकस गरी दिएको भन्ने देखिएकोले वादी दावी नपुग्ने ठहराएको सगरमाथा अञ्चल अदालतको इन्साफ सदर गरेको पू.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४६ साल चैत्र २८ गते रोज ३ शुभम ।