निर्णय नं. ७६३३ - कर्तव्य ज्यान ।

निर्णय नं.७६३३ ने.का.प.२०६३ अङ्क १२
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री वलराम के.सी
माननीय न्यायाधीश श्री परमानन्द झा
सम्वत ०६१ सालको फौ.पु.नं. –– ३३७६
सम्बत २०६१ सालको साधक नं. ––२८९
फैसला मितिः २०६२।१२।१३।१
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक / प्रतिवादीः गुल्मी जिल्ला दिमाग गा.वि.स. वडा नं. ७ घर भई हाल गुल्मी कारागारमा थुनामा रहेका नरेश वस्नेत
बिरुद्ध
प्रत्यर्थी / वादीः अमृता वस्नेतको जाहेरीले श्री ५ को सरकार
वादीः अमृता बस्नेतको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादीः गुल्मी जिल्ला दिमाग गा.वि.स.वडा नं. ७ मा घर भई हाल कारागार शाखा थुनामा रहेका नरेश बस्नेत
§ प्रतिवादीले एक पटक नभई पटक पटक प्रहार गरी मृतकलाई मारेको अवस्थामा डिप्रेशन रोगवाट पीडित भएको भन्ने दावी मनासिव देखिन नआउने ।
§ प्रमाण ऐन, २०३१ अनुसार एक पक्षले लगाएको अभियोग अर्को पक्षले लिखित रुपमा स्वीकार गरेको अवस्थामा थप प्रमाण बुझ्न नपर्ने ।
§ प्रतिवादीको बयानमा नै श्रीमतीसंग रातभर झगडा भएको कारण बिहानपख श्रीमती घर छोडी हिडेकाले सधै भरी झगडा गर्नु भन्दा मार्नु वेस भनी मारेको भनी स्पष्ट रुपमा अभियोग स्वीकार गरेको र सो कुरा किटानी जाहेरी दरखास्त एवं वस्तुस्थिती मुचुल्काका मानिसहरुले गरिदिएको बकपत्रबाट समेत पुष्टी भएको अवस्थामा वारदात घटाउन निज प्रतिवादीको मनसाय थिएन भन्न सक्ने अवस्था नहुने ।
§ अस्पताल जाँचवाट मानसिक अवस्था ठीक छ भन्ने उल्लेख भएको र लखेट्दै गई वन्चरो जस्तो सांघातिक हतियारले तीन चार पटक घाँटी र टाउको जस्तो संवेदनशिल अंगमा प्रहार गरी मारेको स्थितीमा मनसाय तत्वको विद्यमानता थिएन भनी मान्न नमिल्ने हुँदा अ.वं. १८८ नं. को प्रयोग गरी कम सजाय गर्न मिल्ने अवस्था नदेखिने ।
(प्रकरण नं.१९)
पुनरावेदक प्रतिवादी तर्फवाटः
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.वलराम के.सी.: पुनरावेदन अदालत वुटवलको मिति २०६१।२।२६ गतेको फैसला उपर पुनरावेदन अदालत न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन दायरीमा दर्ता भई र ऐ. ऐनको दफा १० बमोजिम साधक जाँचका लागी साधक दायरीमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः–
२. २०५९।८।२९ गते साँझ खाना खाई म समेतका परिवार सुतेका थियौं । राती दाजु नरेश र भाउजु रोमा वीच घरायसी कुरावाट मनमुटाव भएछ र दाजु नरेशले भाउजु रोमालाई कुटपिट गरी भाउजु भाग्दा तरकारी वारीमा धारिलो हतियारले हानी काटी कर्तव्य गरी मारेकोले सजाय कारवाही गरिपाऊँ भन्ने जाहेरी ।
३. लाशको घाँटीमा क्षत बिक्षत अवस्थामा काटिएको भन्ने लाश प्रकृति मुचुल्का । घाँटी तथा नाक मुखमा लागेको घाउको कारणवाट रक्तश्राव भै मृत्यु भएको भन्ने पोष्ट मार्टम रिपोर्ट ।
४. श्रीमती रोमाले तपाईले घरमा काम पनि नगर्ने कतै नोकरी गर्न पनि नगर्ने भनी भनी रहेको र ०५६।८।२९ को राती कोठामा सुत्न गएपछि सधै झै गाली गर्ने कुपिट गर्ने र अव वस्दिन भनी कोठावाट भाग्न लाग्दा मलाई रिस उठी घरको कोठीमा राखेको वन्चरो समाई जाँदा तरकारी वारीमा उतानो परी लडेको अवस्थामा मैले वन्चरोले हानी काटी मारेको हुँ भन्ने प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।
५. नरेश वस्नेतले आफ्नी श्रीमतीलाई वन्चरोले हानी काटी मारेको भन्ने देवीप्रसाद पाण्डे, बिष्णुप्रसाद न्यौपानेको छुट्टा छुट्टै कागज ।
६. नरेश र निजकी श्रीमती आपसमा झगडा गर्दथे । नरेशले श्रीमतीलाई वन्चरोले काटी मारेको भन्ने वस्तुस्थिति मुचुल्का ।
७. प्रतिवादी नरेश वस्नेतले श्रीमती रोमालाई वन्चरोले प्रहार गरी कर्तव्य गरी मारी मु. ऐन ज्यान सम्बन्धीको १, १३(१) नं. को कसूर गरेकोले निजलाई सोही ऐनको १३(१) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोगपत्र ।
८. सधै श्रीमतीसंग झगडा हुने गर्दथ्यो । ०५९ साल पौष १ को साँझ पनि रात भर झगडा भयो । बिहान पख श्रीमती निस्केर हिडेपछि मेरै घरमा रहेको वन्चरो हातमा लिई घर पछाडी पुग्दा श्रीमतीलाई भेट्टाई श्रीमतीको खुट्टामा ४–५ पटक वन्चरोले हानेको हुँ मरे नमरेको थाहा छैन । श्रीमती पल्टिएकी थिईन । कहिले काही रिगटा लाग्ने कसैलाई हानौ जस्तो लाग्ने हुन्थ्यो भन्ने र अन्य जवाफ नदिएको भन्ने प्रतिवादीले अदालतमा गरेको बयान ।
९. आदेशानुसार देवीप्रसाद पाण्डे, देवीप्रसाद पौडेल, गुनवहादुर वाके, जीवलाल शर्मा गुनाखर पौडेल, खडगवहादुर काउछा र जाहेरवाली अमृता वस्नेत समेतको बकपत्र भै मिसिल सामेल रहेछ ।
१०. प्रतिवादी नरेश वस्नेतको मानसिक स्वास्थ्य ठीक रहेको भन्ने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको पत्र मिसिल संलग्न रहेको ।
११. यस्मा प्रतिवादीले ०५९।९।१ गते आफ्नी श्रीमती रोमा वस्नेतलाई वन्चरो प्रहार गरी कर्तव्य गरी मारेको कसूरमा हदै सम्म सजाय गरिपाऊँ भनी अभियोग पत्र दायर भएको र श्रीमती म संग बरावर झगडा गरी रहने मलाई काम गर्दैन घुमी रहन्छ भन्ने गरेकिले रात भरी कलह झगडा गरी रहने मलाई काम गर्दैन घुमी रहन्छ भन्ने गरेकिले रात भरी कलह झगडा भै बिहानी पख तँ संग वस्दिन भनी वाहिर गएकीले वन्चरो प्रहार गरी मारेको भनी अधिकार प्राप्त अधिकारी र अदालत समक्ष वयान गरेको देखिएको सो कुरा बुझीएका जाहेरवाली तथा वस्तुस्थिति मुचुल्काका व्यक्तिको बकपत्रवाट पनि पुष्टी भै रहेको स्थितिमा प्रतिवादीको वयान जिकिर अनुसार डाक्टरद्वारा निजको मानसिक जाँच गराउँदा पनि मानसिक स्वास्थ्य ठिक भएको भनी जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको च.नं. १६०९ मिति ०५९।१२।३० को पत्रद्वारा लेखि आएको अवस्था देखिनाले प्रतिवादीको मानसिक सन्तुलन ठिक नभएको भनी मान्न मिल्ने अवस्था नहुँदा प्रतिवादी उपरको अभियोग स्वयं प्रतिवादीले स्वीकार गरेको अवस्था हुँदा निज प्रतिवादीले अभियोग दावी बमोजिमको कसूर गरेको ठहर्छ । मु. ऐ ज्यान सम्वन्धीको १३(१) नं. बमोजिम प्रतिवादी नरेश वस्नेतलाई सर्वश्व सहित जन्म कैद हुन्छ भन्नेसमेत शुरु गुल्मी जिलला अदालतको मिति २०६०।३।१२।५ को फैसला ।
१२. उक्त फैसलामा चित्त बुझेन । जिल्ला स्वास्थ्य कार्यालयको पत्रानुसार डा. रामप्रसाद खनाल भन्ने व्यक्तिले परिक्षण गर्दा सामान्य डिप्रेशन वाहेक मानसिक अवस्था ठिक रहेको भन्ने राय व्यक्त भएको, डिप्रेश भन्ने कुरा मानसिक बिक्षिप्तता कै संकेत हो । त्यस्मा पनि निज चेक गर्ने डाक्टर कुन स्तरका बिशेषज्ञ हुन् प्रमाण ऐन अनुसार बिशेषज्ञालाई परिक्षण गराए पछि मात्र प्रमाणमा लिनु पर्ने सो अनुसार नगरिएको, घटना घटेको २ महिना पछि परिक्षण भएको कुरालाई कति प्रमाणमा लिन मिल्ने सो तर्फ विचार नगरिएको र मृतकका दाजु देवीप्रसाद र जाहेरवाली अमृताको बकपत्रको निचोडमा कहिले काही मानसिक रुपमा सनक चढे जस्तो गर्नु हुन्थ्यो भनी गरेको बकपत्र समेतवाट पुष्टी भै रहेको अवस्थामा कसूर अपराध गरेमा सावित भए भन्दैमा सो अवस्थाको वातावरण स्थिति परिवेश परिस्थिती मानसिक स्थिति ठिक भए नभएको तर्फ विचारै नगरी ज्यान जस्तो जघन्य अपराधमा सर्वश्व सहित जन्म कैदको सजाय गर्नुवाट अन्याय पर्न गएको छ । आरोपित कसूर गर्ने कुनै नियत मनसाय इवी अदावत केही कुरा स्थापित नभएको, इन्साफको ठहरका लागि लिइएका प्रमाण परिवन्दहरुमा रहेका रिक्तता र घटना घटाउन पर्ने प्रेरक तत्वको अभावका साथै अन्य परिस्थितिलाई समेत मध्यनजर गरी शुरुको फैसला बदर गरी न्याय इन्साफ गरिपाऊँ भन्ने समेत नरेश वस्नेतको अदालतमा परेको पुनरावेदनपत्र ।
१३. यसमा प्रतिवादीको मानसिक स्थिति ठिक नभएको भन्ने आदेश भै गुल्मी अस्पतालको पत्रमा प्रतिवादीको सामान्य डिप्रेसनको अवस्था देखाइएकोमा मानसिक विशेषज्ञ समेतको राय परामर्श लिई एकिन गरी फैसला गर्नु पर्नेमा सो नगरी भएको शुरुको फैसला फरक पर्न सक्ने हुँदा छलफलको लागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय बुटवललाई पेशीको सूचना दिई नियमानुसार गरी पेश गर्नु भन्ने मिति २०६०–१–२१ को आदेश ।
१४. प्रतिवादी नरेश वस्नेतले आफनी श्रीमती रोमा वस्नेतलाई कर्तव्य गरी मारेको भनी अधिकार प्राप्त अधिकार र अदालतमा समेत सावित भै वयान गरेका, सो वयानलाई जाहेरवाला, वस्तुस्थिती मुचुल्काका मानिसको बकपत्र समेतवाट पुष्टी हुन आएकोले निज प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. को कसूरमा ऐ. को १३(१) नं. बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहराएको शुरु गुल्मी जिल्ला अदालतको मिति २०६०।३।१२।५ को फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । सम्मानित श्री सर्वोच्च अदालतमा साधक सदरकालागि मिसिल पठाई दिने ठहर्छ भन्ने पुनरावेदन अदालत बुटवलको फैसला ।
१५. अपराधमा दोषी भागी हुनका लागि मानसिक पक्ष पनि चाहिन्छ । सो को अभावमा दोषी सिद्ध गर्न मिल्दैन भन्ने फौज्दारी न्यायको सर्वमान्य सिद्धान्त हो । यस सिद्धान्तलाई हाम्रै मुलुकी ऐन दण्ड सजाँयको १ न. ले समेत अंगिकार गरेको छ । अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा उक्त सिद्धान्तको सम्वन्धमा जिकिर लिन नसकेको भनी फैसलामा उल्लेख भएको छ । मानसिक बिक्षीप्त अवस्थामा रहेको मानिसलाई सामान्य अवस्थामा रहेको व्यक्तिलाई सरह यो वा उ जिकिर लिन सकेको भन्नु न्यायपूर्ण छैन । अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान समान्य वतावरणमा भएको थिएन । साथै अभियोग पक्षले एक सामान्य डाक्टर संग मेरो मानसिक अवस्थाका सम्वन्धमा जाँच गराई निजवाट डिप्रेशन भएको भन्ने रिपोर्ट आएपछि दक्ष विशेषज्ञवाट जचाउने काम भएको छैन । केवल अनुमान कै भरमा एकपटक हानेको नभई पटक पटक हानेकोले मानसिक बिक्षिप्तता नभएको भनी दोषी करार गरी फैसला भएको छ । मनसाय, नियत वा इवी अदावत इत्यादीको अभावमा आफनै श्रीमतीलाई प्रहार गरेको अवस्थामा अ.वं. १८८ नं. को प्रयोग गर्नुपर्ने सो पनि केही नगरीएको हुँदा शुरु एवं पुनरावेन अदालतवाट भएको फैसला कानून एवं न्याय संगत नहुँदा उल्टी गरी सफाई पाउ भनी प्रतिवादीको यस अदालतमा परेको पुनरावेदनपत्र ।
१६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनपत्र सहितका मिसिल संलग्न प्रमाण कागजातहरु अध्ययन गरी हेर्दा शुरु एवं पुनरावेदन अदालतवाट प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३ नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको फैसला मिलेको छ, छैन ? र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर बमोजिम आरोपित कसूरवाट सफाई पाउनु पर्ने हो होइन ? सोही सम्वन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
१७. निर्णय तर्फ विचार गर्दा प्रतिवादी नरेश वस्नेतले मिति ०५९।९।१ गते बिहान आफनी पत्नी रोमा वस्नेतलाई वन्चरोले काटी कर्तव्य गरी मारेकोले ज्यान सम्वन्धी महलको १ नं. विपरीत कसूर गरेकोले सोही महलको १३ नं. बमोजिम सजाय हुन माग दावी लिई अभियोगपत्र दायर भएकोमा शुरु एवं पुनरावेदन अदालतले अभियोग माग दावी बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहराई भएको फैसलामा चित्त नबुझाई सो फैसला उल्टी भई सफाई पाउँ भनी प्रतिवादीको पुनरावेदन एवं न्याय प्रशासन ऐन २०४८ को दफा १०(१) बमोजिम साधक जाँचको लागि प्रस्तुत मुद्दा यस अदालतमा दायर भई यस इजलास समक्ष पेश हुन आएको देखिन्छ ।
१८. यसमा दाजु नरेशले भाउजु रोमालाई कुटपिट गरी भाउजु भाग्दा तरकारी वारीमा धारीलो हतियारले हानी काटी कर्तव्य गरी मारेकोले सजाँय गरिपाऊँ भन्ने जाहेरी दिएको देखिन्छ । लाश प्रकृति मुचुल्कामा लाशको घाँटीमा क्षत बिक्षत अवस्थामा काटीएको भन्ने उल्लेख भएको र घाँटी तथा नाक मुखमा लागेको घाउको कारणवाट रक्तश्राब भै मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदन वाट देखिएको हुँदा मृतकको मृत्यु कालगतीले नभई कर्तव्यवाट नै भएको भन्ने देखिन्छ । अव मृतक रोमाको मृत्यु निजको लोग्ने नरेशको कर्तव्यवाट भएको हो होइन भन्ने सम्वन्धमा विचार गर्दा प्रतिवादीले मौकामा अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा पहिला पनि झगडा गरीरहने मेरो श्रीमती रोमा वस्नेत मिति ०५९।८।२९ गते राती पनि म संग निहुँ खोजी सधैं भरी काम गर्दैनौ बसी बसी खान्छौ भन्ने कुरामा रातभर झगडा भै बिहानी पख छोरी समेत लाई, छोडी घरमा वस्दिन भनी निस्की गएकाले सधैभरी झगडा गर्नुभन्दा मारी दिन बेस भनी पछी पछी गई तरकारी वारीमा धारीलो हतियार वन्चरोले अगाडि घाँटीमा ३ पटक र वाँया गालामा २ पटक समेत प्रहार गरी मारेको हुँ भनी उल्लेख गरेको र अदालत समक्ष बयान गर्दा समेत श्रीमतीलाई वन्चरोले हानेको हुँ भनी सावित भएको देखिन्छ । बुझीएका जाहेरवाला तथा वस्तुस्थिती मुचुल्का मानिसहरुले समेत प्रतिवादीकै कर्तव्यवाट रोमा वस्नेतको मृत्यु भएको भनी बकपत्र गरिदिएका र सो कुरा लाश प्रकृति मुचुल्का एवं पोष्टमार्टम रिपोर्टवाट समेत पुष्टी भएको स्थिती हुँदा निज प्रतिवादी नरेश वस्नेतको कर्तव्यवाट नै निजको श्रीमती रोमा वस्नेतको मृत्यु भएको भन्ने देखिन्छ ।
१९. अव पुनरावेदकले यस अदालतमा पुनरावेदन गर्दा आफू डिप्रेसन रोगवाट पिडीत भई आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन नसक्ने अवस्थामा भई वारदात घटाउँदा मनसाय तत्वको विद्यमानता नभएकोले अपराधिक दायित्ववाट उन्मुक्ती पाउनु पर्ने, दक्ष विशेषज्ञवाट मानसिक अवस्थाको जाँच गराउनु पर्ने र मनसाय नियत वा इवि अदावतको अभावमा आफनै श्रीमतीलाई मारेको अवस्थामा अ.वं. १८८ नं. को प्रयोग हुनुपर्ने भनी लिएको जिकिर तर्फ विचार गर्दा मानसिक अबस्था ठिक नभएको भन्ने सो जिकिर शुरु तहमा उठाएको देखिदैन । फौजदारी अपराध र अभियोगमा अभियुक्तको Insanity एक महत्वपूर्ण Defense हो । पागल वा आफुले गरेको कामको परिणाम थाहा नपाउने गरी मगज विग्रकाहरुले कुनै अपराध गरीहाले पनि त्यस्तालाई कानुनले सजाय गर्दैन । यो व्यवस्था हाम्रो कानुनमा मात्रै होईन विश्वव्यापी रुपमा प्रचलित व्यवस्था हो । अभियुक्त अपराध गर्दाको अबस्था Insane भन्ने कुरा देखिनु पदर्छ । त्यस्तो देखिएमा त्यसको उचित र आवश्यक जाँच राज्यले आफ्नै खर्चले गराई Insane हो होईन भन्ने कुरा एकिन गरेर मात्र अभियोग लगाउने नलगाउने निर्णय गर्नु पर्दछ तर गरेको अपराधबाट वच्नको लागी मात्र लिएको क्ष्लकबलष्तथ को एभिब मान्य हुदैन । प्रस्तुत मुद्दामा क्ष्लकबलभ वा मानसिक अबस्था ठिक नभएको भन्ने कुराको जिकिर मात्र लिएको तर पुनरावेदकले त्यस्को कहिले उपचार गरे गराएको भन्ने नदेखिनुका साथै जिल्ला स्वास्थ्य कार्यालयबाट जचाउँदा निजको मानसिक अबस्था ठिक भएको भन्ने देखिएको हुँदा पुनरावेदकले सजायबाट वच्न मात्र Insanity/depression को रोगी भन्ने जिकिर लिएको देखियो । निज प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा श्रीमती संग सधै भरी झगडा भईरहेको हुँदा सधैभरी झगडा गर्नु भन्दा मार्नु वेस भनी मारेको भनी उल्लेख गरेको र सो समयमा आफू डिप्रेसन रोगवाट पीडित भएको भन्ने जिकीर लिए पनी सो को औषधी उपचार कुनै डाक्टर एवं विशेषज्ञवाट गराएको र औषधी खाएको भनी खुलाउन नसकेको र मिसिल प्रमाणवाट समेत सो कुराको पुष्टी भएको देखिन आउँदैन । अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा सोधीएको प्रश्नको युक्ती युक्त जवाफ दिने प्रतिवादीले अदालतमा बयान गर्दा टोलाएको र बढी कुरा गर्न नचाही मुन्टो हल्लाएको भन्ने सम्मको कथन कै भरमा निज प्रतिवादीको मानसिक रोगवाट ग्रसित व्यक्ति रहेछन् र सोही कारणवाट कामको प्रकृति र परिणाम थाहा नपाउने भई अपराध घटाएका होलान भनी अनुमान गर्न मिल्ने देखिदैन । साथै प्रतिवादी नरेश वस्नेतको मानसिक स्वास्थ्य ठीक रहेको भन्ने जिल्ला स्वास्थ्य कार्यालयले प्रतिवेदन दिएको र निज प्रतिवादीले एक पटक नभई पटक पटक प्रहार गरी मृतकलाई मारेको अवस्थामा उक्त डिप्रेशन रोगवाट पीडित भएको भन्ने दावी मनासिव देखिन आउँदैन । डिप्रेशन रोगवाट पीडित भएको भन्ने नदेखिएको अवस्थामा दक्ष विशेषज्ञवाट पुनः मानसिक स्थितीको जाँच गराउन पर्ने भन्ने जिकिरसंग सहमत हुन सकिएन । प्रमाण ऐन, २०३१ अनुसार एक पक्षले लगाएको अभियोग अर्को पक्षले लिखित रुपमा स्वीकार गरेको अवस्थामा थप प्रमाण बुझ्नु पर्दैन । प्रतिवादीको बयानमा नै श्रीमतीसंग रातभर झगडा भएको कारण बिहानपख श्रीमती घर छोडी हिडेकोले सधै भरी झगडा गर्नु भन्दा मार्नु वेस भनी मारेको भनी स्पष्ट रुपमा अभियोग स्वीकार गरेको र सो कुरा किटानी जाहेरी दरखास्त एवं वस्तुस्थिती मुचुल्काका मानिसहरुले गरिदिएको बकपत्रबाट समेत पुष्टी भएको अवस्थामा वारदात घटाउन निज प्रतिवादीको मनसाय थिएन भन्न सक्ने अवस्था भएन । यसरी अस्पताल जाँचवाट मानसिक अवस्था ठीक छ भन्ने
उल्लेख भएको र लखेट्दै गई वन्चरो जस्तो सांघातिक हतियारले तीन चार पटक घाँटी र टाउको जस्तो संवेदनशिल अंगमा प्रहार गरी मारेको स्थितीमा मनसाय तत्वको विद्यमानता थिएन भनी मान्न नमिल्ने अवस्था हुँदा अ.वं. १८८ नं. को प्रयोग गरी कम सजाय गर्न मिल्ने अवस्था पनि देखिन आएन ।
२०. अतः प्रतिवादी नरेश वस्नेतलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. को कसूरमा ऐ. को १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरु जिल्ला अदालतको फैसला मनासिव ठहराई भएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन दायरी तथा साधक दायरी समेतको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाईदिनु ।
उक्त रायमा सहमत छु ।
न्या.परमानन्द झा
इति सम्वत २०६२ साल चैत्र १३ गते रोज १ शुभम्––––––––