शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४११३ - जग्गा खिचोला चलन

भाग: ३२ साल: २०४७ महिना: असार अंक:

निर्णय नं. ४११३     ने.का.प.२०४७             अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४५ सालको दे.पु.नं. ७४५

फैसला भएको मिति : २०४७।२।६।१ मा

पुनरावेदक/वादी : जि.उदयपुर त्रिवेणी गा.पं. वा.नं. ७ बस्ने विष्णुमाया कार्की

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.उदयपुर त्रिवेणी गा.पं. वा.नं. ७ बस्ने भिमप्रसाद गौतमसमेत

मुद्दा : जग्गा खिचोला चलन

(१)   अर्काको हकको जग्गामा हक नै नपुग्ने व्यक्तिले गरेका जोत्ने, बाली लिने जस्ता कार्यलाई खिचोला नै मान्नु पर्ने ।

(प्रकरण नं. १४)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ता श्री हरिशंकर         निरौला

विपक्षी तर्फबाट      : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री शम्भू थापा

फैसला

न्या.हिरेण्यश्वरमान प्रधान

१.     पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।३।१६ को फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ ।

२.    हरिलक्ष्मी श्रेष्ठले म बाट थैली रु.४५,५००।लिई निज नाउँ दर्ताको जि.उ. कटारी गा.पं. वा.नं. ४(ख) कि.नं. २१५ को २१० मध्ये दक्षिण तर्फबाट ११० र कि.नं. २१६ को १, कि.नं. २१७ को ११३१६ मध्ये पूर्वतर्फबाट ०१० समेत ३३ जग्गा २०४१।१२।२६ गते राजीनामा दा.खा. गराई लिई भोगी आएको कित्ता काट हुँदा कि.नं. २५९, २६०, २१६ कायम भएको मैले उक्त जग्गामा बाली लगाई पाकी तयार भएपछि प्रतिवादीहरुले २०४२।३।२४ गते लुटपीट गरी लगेकाले नालेस दिई राखेको २०४२।३।२६ गते वादी प्रतिवादीहरुले नचिनेका समेत भई १६ हल गोरु ल्याई उक्त जग्गा जोती जग्गामा खिचोला गरेकाले खिचोला मेटाई चलन समेत चलाई पाउँ भन्ने फेराद ।

३.    वादी दावीको कि.नं. २१५, २१६, २१७ को जग्गा प्रतिवादी मध्ये भिमप्रसादको हकभोगको जग्गा हो । उक्त कित्ताका जग्गामा विपक्षीले बाली लगाएको तथा हामीले खिचोला गरेको तथ्यपूर्ण रुपले निराधार प्रमाणित हुन्छ । कटारी गा.पं. वा.नं. ४(ख) कि.नं. २१५ को २१० मध्ये ०१०० मात्र बाँकी भई अरु जग्गा २०२० साल देखि नै तावा कमला नदीले कटान गरी हालसम्म खोलो हिंडिरहेको र लालपूर्जा मात्र छ । त्यस्तो जग्गाको बाली लुटे जग्गा जोती खिचोला गरे भन्ने समेत झुठा हो भन्ने व्यहोराको संयुक्त प्रतिउत्तरपत्र ।

४.    आजै किनारा भएको द.नं. १२८ को वादी यिनी भिमप्रसाद प्रतिवादी यिनै हरिलक्ष्मी वादीको दर्ता भएको मुद्दामा फिराद दावी खारेज हुने ठहरी फैसला भएको देखिँदा प्रतिवादीको जग्गामा हक सम्बन्धी प्रश्नै भएको नदेखिएकोले जग्गा नै मेरो हो भन्ने प्रतिवादीको जिकिर मनासिब देखिएन । त्यस्तो जग्गामा प्रतिवादीहरुले अनाधिकार गरेको खिचोला मेटाई वादी दावी बमोजिमको जग्गाको वादीले चलन समेत चलाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको ०४२।११।३ गतेको शुरु उदयपुर जिल्ला अदालतको फैसला ।

५.    शुरु उदयपुर जिल्ला अदालतबाट वादी दावी बमोजिम खिचोला मेटाई चलन समेत चलाई पाउने ठहराई भएको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको पुनरावेदन ।

६.    वादी दावी बमोजिम खिचोला मेटाई वादीले चलन चलाई पाउने समेत ठहराई गरेको शुरु जिल्ला अदालतको फैसला मनासिब देखिँदा सो मा चित्त बुझेन भन्ने समेत व्यहोराको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने श्री सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको मिति २०४३।७।२३ को फैसला ।

७.    श्री सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको इन्साफमा चित्त बुझेन उक्त इन्साफ बदर गरिपाउँ भन्ने वादी भिमप्रसाद गौतमको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्च मार्फत पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परेको ।

८.    श्री सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको फैसला त्रुटिपुर्ण देखिएकोले न्या.प्र.सु. ऐन, २०३१ को संशोधन सहितको दफा १३(४) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने एक न्यायाधीशको इजलासको २०४४।८।११ गतेको आदेश ।

९.    यसमा लगाउको दे.पु.नं. ६०९ को हक कायम निर्णय दर्ता बदर दर्ता मुद्दामा फिराद खारेज गर्ने गरेको शुरु र अञ्चल अदालतको फैसला मिलेको नदेखिँदा बदर भई कानुन बमोजिम निर्णय हुन मिसिल शुरु जिल्ला अदालतमा पठाउने निर्णय भएको हुँदा प्रस्तुत मुद्दामा पनि शुरु र अञ्चलको इन्साफ बदर भई कानुन बमोजिम निर्णयार्थ मिसिल शुरु जिल्ला अदालतमा पठाउने ठहर्छ (साविक पेज न. ३०८) भन्ने समेत पू.क्षे.अ. को मिति २०४५।३।१६।५ को फैसला ।

१०.    प्रस्तुत मुद्दा पुनः निर्णयार्थ उदयपुर जिल्ला अदालतमा पठाउन क्षेत्रीय अदालतबाट कुनै स्वतन्त्र र विश्वसनीय आधार अवलम्बन गरिएको छैन । यसै मुद्दाको लगाउको मुद्दा शुरु जिल्ला अदालतमा पठाउने निर्णय भए अनुसार नै प्रस्तुत मुद्दा पनि पुनः निर्णयार्थ शुरु जिल्ला अदालतमा पठाउने निर्णय भएको छ । पूर्वाञ्चलको उक्त इन्साफ त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत निवेदन पत्र ।

११.    यसमा यसै लगाउको निवेदक प्रतिवादी हरिलक्ष्मी विपक्षी भिमप्रसाद गौतम भएको नि.नं. ४३७ को निवेदनमा पुनरावेदनको अनुमति दिने आजै यसै इजलासबाट आदेश भएकोले यसमा पनि सोही आधारमा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४५।६।२६।४ को आदेश ।

१२.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता द्वय श्री हरिहर दहाल तथा हरिशंकर निरौला तथा विपक्षी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा अधिवक्ता श्री शम्भु थापाले गर्नु भएको वहस समेत सुनियो ।

१३.   प्रस्तुत मुद्दामा पू.क्षे.अ. बाट पुनः निर्णयार्थ शुरु जिल्ला अदालतमा पठाउने गरी गरेको निर्णय मिलेको छ छैन भन्ने निर्णय दिनु पर्ने हुन आयो ।

१४.   यसमा हरिलक्ष्मी श्रेष्ठबाट खरीद गरिलिएको जि.उदयपुर कटारी गा.पं. वार्ड नं. ४(ख) कि.नं. २५९, २६०, २१६ को जग्गा मेरो हकभोगको जग्गा हो उक्त जग्गामा भएको मकै बाली विपक्षी प्रतिवादीहरुले लगी ०४२।३।२६ मा हल गोरु ल्याई उक्त जग्गा जोती जग्गामा खिचोला गरेकोले खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत फिराद दावी भएकोमा वादी दावीका जग्गाहरु प्रतिवादी मध्येको भिमप्रसादको हकभोगको जग्गा भएकोले वादी दावी झुठ्ठा हो भन्ने समेत प्रतिजिकिर देखिन्छ । यसै मुद्दाको लगाउको दे.पु.नं. ७४० पु.प्र.हरिलक्ष्मी तथा विपक्षी भिमप्रसाद भएको हक कायम निर्णय दर्ता बदर दर्ता मुद्दामा आज यसै इजलासबाट वादीको फिराद हदम्याद नाघी दर्ता भएको भनी फिराद खारेज गर्ने ठहरी फैसला भएको छ । उक्त फैसलाको परिणाम स्वरुप प्रस्तुत मुद्दाको पुनरावेदक वादी दाता हरिलक्ष्मीको विवादको जग्गामा हक कायम रहेकै देखिन आयो । साविक दर्तावाला हरिलक्ष्मी उक्त जग्गामा हक पुग्ने व्यक्ति भई त्यस्तो हक पुग्ने व्यक्तिबाट यो वादी पुनरावेदकले कानुन बमोजिमको राजीनामाबाट हक प्राप्त गरेको जग्गामा यो विपक्षी प्रतिवादीको कुनै हक पुग्ने देखिन आएन । अर्काको हकको जग्गामा हक नै नपुग्ने व्यक्तिले गरेका जोत्ने, बाली लिने जस्ता कार्यलाई खिचोला नै मान्नु पर्ने हुँदा वादी दावी बमोजिम प्रतिवादीले जग्गा खिचोला गरेको ठहर्‍याई चलन समेत चलाई दिने ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ र सो सदर गरेको अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । पुनः कारवाही गर्न पठाउने गरी निर्णय गरेको पू.क्षे.अ. को मिति २०४५।३।१६ को इन्साफ गल्ती ठहर्छ । तपसील बमोजिम गर्नु ।

तपसील

पु.वा.विष्णुमाया कार्कीके माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी बमोजिमको जग्गा प्रतिवादीहरुले खिचोला गरेको ठहरेकोले उक्त विवादको जग्गाको चलन चलाई पाउँ भनी कानुनको म्याद भित्र दर्खास्त दिन आए कानुन बमोजिम दस्तूर लिई उक्त जग्गाको चलन चलाई दिनु भनी शुरु जिल्ला अदालतमा लगत दिन का.जि.अ.त. मा लगत दिनु..........१, ऐ. के निजले शुरु जिल्ला अदालतमा फिराद दायर गर्दा कोर्टफी वापत राखेको रु. १,६४५।तथा यस अदालतको मिति ०४५।८।९।५ को आदेशले राखेको कोर्टफी रु.२४६।७५ समेत जम्मा हुन आउने रु. १,८९१।७५ प्रतिवादीहरुको यसै सरहदको जेथा देखाई भराई पाउन ऐनका म्यादभित्र निवेदन दिन आए रु. १,६४५।प्रतिवादीहरुले अञ्चल अदालतमा पुनरावेदन गर्दा उदयपुर जिल्ला अदालतको धरौटी नगदी रसिद नं. ३० बाट मिति २०४३।१।७ मा राखेको धरौटीबाट भराई दिई बाँकी नपुग रकम रु. २४६।७५ को हकमा कानुन बमोजिम गरी भराई दिनु भनी ऐ.ऐ.......२, मिसिल नियम बमोजिम गरी बुझाई दिनु .......३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४७ साल जेष्ठ ६ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु