निर्णय नं. ४११५ - कर्तव्य ज्यान

निर्णय नं. ४११५ ने.का.प. २०४७ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४७ सालको फौ.सा.नं. १०९
फैसला भएको मिति : २०४७।३।२८।५ मा
वादी : ठाइला तामाड्डको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादी : का.जि.थानकोट बस्ने कमला तामाड्ड
मुद्दा : कर्तव्य ज्यान
(१) जाहेरवालाको श्रीमती मृतकसंग प्रतिवादीको लोग्नेको करणी लिनु दिनु हुँदै आएको, वारदातको दिन पनि प्रतिवादीकै सामु सो कृया भइरहेको, सो कार्यबाट असह्य भई तत्काल उठेको रिसको कारण, मृतक उपर फलामे खुर्पाले प्रहार गर्दा मृत्यु हुन गएको देखिन्छ, सो को पुष्टि प्रतिवादीको बयानबाट हुन्छ, यद्यपि मृतकको मृत्यु अन्य कुनै कारणबाट भएको भन्ने कुरा मिसिल संलग्न कागजबाट नखुलेको, मृतकलाई मार्नु नै पर्ने पूर्व नियोजित र मनसाय पूर्ण कार्य प्रतिवादीबाट भए गरेको थियो भन्ने कुरा वादी श्री ५ को सरकारबाट पुष्टि हुन नसकेकोबाट आफ्नो पति परस्त्रीसंग करणी लिइरहेको स्थिति अवस्थामा, नारी असह्य क्रोधित नभई रहन नसक्ने, सोही कारण उठेको रिस थाम्न नसकी, प्रतिवादीले मृतकलाई खुर्पा प्रहार गरी मारेको स्थिति अवस्थामा, दावी बमोजिम नै सजायँ गर्दा न्यायको दृष्टिमा मनासिब पर्न जाने नहुँदा अ.बं. १८८ नं. बमोजिम प्रतिवादीलाई कैद वर्ष ६ को सजायँ हुने ।
(प्रकरण नं. १५)
फैसला
न्या.हिरण्येश्वरमान प्रधान
१. मध्यमाञ्चल क्षेत्रीय अदालतका मिति २०४७।१।२५ को फैसला उपर साधक निकाशाको लागि मिसिल प्राप्त हुन आई साधकको लगतमा दायर भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथ्य एवं निर्णय निम्नानुसार छ ।
२. २०४३।५।२४ गते मेरो श्रीमतीलाई पहिला देखिकै रिसइवीबाट कमला लामाले खुर्पाले काटी मारेकाले अन्य को को भई मारेको हो निजैबाट खुलाई कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको ठाइला तामाड्डको २०४३।५।२५ को जाहेरी दर्खास्त ।
३. मृतकको बाँया हातको माथि पञ्जामा ३” लामो हाड समेत भेट्ने गरी काटेको घाउ दाहिने हातको हत्केलामा भित्री भाग समेत देखिने गरी ४” लामो काटेको घाउ मृतकले लगाएको कपडा खोली हेर्दा घुच्चुकमा ३” लामो १” चौडा २” गहिरो काटेको घाउ समेत देखिएको भन्ने समेतको २०४३।५।२५ को घटनास्थल एवं लाश प्रकृति मुचुल्का ।
४. २०४३।५।२४ गते बिहान ६ बजेको समयमा मेरो श्रीमान कृष्णबहादुर र ठूलीमायाले करणी गर्न ठीक परेको देखी सकेपछि लोग्ने झ्यालबाट हामफाली भाग्नु भयो ठूलीमायालाई भर्याड्डको डिलमा रहेको फलामे खुर्पा टिपी बायाँ हातले टाउको समाती खुर्पाले ३ पटक घाँटीमा बेस्सरी काटे । निज कराउँदै छट्पटाउँदै भर्याड्डबाट तल ओर्लिएको हुँदा मरेकी रहेनछ भनी फेरि ६–७ पटक जता पायो त्यतै हानी काटेपछि निज भुँईमा लडिन भन्ने समेत व्यहोराको कमला तामाड्डनीले प्रहरीमा गरेको बयान ।
५. काठको बिंड भएको १३ इन्च लामो फलामको खुर्पा बरामत भएको मिति ०४३।६।३ को बरामदी मुचुल्का ।
६. टाउको र शरीरका विभिन्न भागमा चोट भएकोले ज्यादा रक्तस्राव समेत भई मृत्यु भएको देखिन्छ भन्ने समेतको लाश जाँच प्रतिवेदन ।
७. कमला तामाड्डनीले ठूलीमाया तामाड्डनीलाई काटी मारेको भन्ने सुनेकोले निजैले मारेको हुनुपर्छ भन्ने समेत व्यहोराको २०४३।६।२२ को सरजमीन मुचुल्का ।
८. जाहेरी दर्खास्त, घटनास्थल एवं लाश प्रकृति मुचुल्का, अभियुक्त कमलाको बयान, बरामदी मुचुल्का एवं सरजमीन मुचुल्का समेतबाट ठूलीमाया तामाड्डनीलाई कमला तामाड्डनीले खुर्पाले काटी मारेको सिद्ध हुन आएकाले निज कमला तामाड्डनीलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम कारवाही सजायँ होस भने समेत व्यहोराको मिति २०४३।७।२२ को संयुक्त प्रहरी प्रतिवेदन ।
९. मिति २०४३।५।२४ गतेका दिन म घाँस काटेर आई बच्चालाई दुध खुवाइसकेपछि मेरो श्रीमान मास्तिर जान लागेको बखत ठूली कान्छीले बोलाई लगेकोले म पनि त्यहाँ जाँदा मेरो श्रीमान र ठूली कान्छी तामाड्डनी करणी गर्न लागेको देखेकीले श्रीमान झ्यालबाट हाम्फाली गए । अनि मर्ने आईमाईले रिसले सहन नसकी खुर्पाले मलाई काट्न भनी आएकीले मैले सोही खुर्पा खोसी हिर्काएकोले ठूली कान्छी आँगनमा आई खैलाबैला गर्न लागेकोले मानिस जम्मा भएकोले म चेकपोष्टमा उजूर गर्न गई प्रहरी समेत भई घटनास्थलमा आउँदा ठूली कान्छी मरिसकेकी रहेछिन त्यसपछि प्रहरीले म र श्रीमान कृष्णबहादुरलाई पक्राउ गरी कारवाही गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी कमला तामाड्डनीले अदालतमा गरेको बयान ।
१०. २०४३।५।२४ गते सबेरै बाहिर गएको थिएँ अं. १ बजेको समयमा घर आउँदा बीच बाटैमा मेरी श्रीमतीलाई कसैले काट्यो भन्ने खबर भतिजोबाट थाहा पाई घर आउँदा श्रीमतीको धुकधुकी मात्र बाँकी रहेछ । मैले पानी खुवाएपछि मृत्यु भयो । यो कस्ले गर्यो भनी ५ वर्षकी छोरीलाई भन्दा तल्लो घरको भाउजुले खुर्पाले काटेको भनेकीले मैले जाहेर गरेको हुँ भन्ने समेत व्यहोराको जाहेरवाला ठाईला तामाड्डले अदालतमा गरेको बकपत्र ।
११. कमला तामाड्डनीको बयान, बरामद भएको खुर्पा समेतबाट ठूलीमाया तामाड्डनीलाई कर्तव्य गरी मारेको प्रमाणित हुँदा प्रतिवादी कमला तामाड्डनीलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । सो सजायँ गर्दा चर्को पर्ने चित्तमा लागेकाले कमला तामाड्डनीलाई कैद वर्ष ६ मात्र हुनु पर्ने राय व्यक्त गरी जाहेर गरेको छु भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतबाट भएको २०४५।२।२३ को फैसला ।
१२. यसमा शुरु अदालतको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ । साधक सदरको लागि म.क्षे.अ. मा जाहेर गर्ने भन्ने समेत व्यहोराको बा.अं.अ. बाट भएको मिति २०४६।३।१२ को फैसला ।
१३. काठमाडौं जिल्ला अदालतको इन्साफ सदर गरेको बा.अं.अ. को जाहेरी फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । साधक निकासाको लागि शुरु मिसिल साथै राखी सर्वोच्च अदालतमा जाहेर गर्ने भन्ने समेत व्यहोराको म.क्षे.अ. को २०४७।१।२५ को फैसला ।
१४. साधक निकासाको लागि यस अदालतमा प्राप्त हुन आई साधकको लगतमा दर्ता भई निर्णय भई नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतको इन्साफ मनासिब छ छैन भन्ने विषयमा नै निर्णय दिनु पर्ने हुन आयो ।
१५. निर्णयतर्फ हेर्दा, यसमा लाश जाँच प्रतिवेदन, लाश प्रकृति मुचुल्का निज प्रतिवादीको बयान समेतबाट, मृतक ठूलीमाया तामाड्डनीको मृत्यु कर्तव्यबाट भएकोमा विवाद देखिएन । लोग्नेले मृतक संग करणी लिइरहेको अवस्थामा देखेको, तत्काल उठेको रीस थाम्न नसकी खुर्पाले निज मृतकलाई हिर्काउँदा मृत्यु हुन गएको भन्ने कुरा कमला तामाड्डनीले अदालत समक्ष गरेको बयानमा उल्लेख गरेको देखिन्छ । टाउको र शरीरको विभिन्न भागमा चोट परेको हुँदा ज्यादा रक्तस्राव भएको कारण मृत्यु भएको भन्ने कुरा लाश जाँच प्रतिवेदनमा उल्लेख भएकोबाट प्रतिवादी कमला तामाड्डनीको अदालत समक्षको साविती बयान पुष्टि हुन गएको पाइन्छ । मृतक ठूलीमायाको मृत्युको सम्बन्धमा अन्य व्यक्ति उपर शंका समेत देखिन नआएको, निज कमला तामाड्डनीले वारदात गर्दा कसैको सहयोग लिएको भन्ने कुरा समेत व्यक्त नगरेकोबाट प्रस्तुत वारदात, निजको साविती बयान अनुरुप नै भए गरेको कुरा शंकारहित रुपबाट प्रमाणित हुन गएको देखिँदा, संकलित सबूद प्रमाणको आधारमा निज प्रतिवादी कमला तामाड्डनीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ हुने ठहराएको शुरु इन्साफलाई सदर गरेको म.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । जहाँसम्म घटनाको स्थिति अवस्थालाई दृष्टिगत गर्दा, प्रहरी प्रतिवेदन दावी बमोजिम नै सजायँ ठेकिंदा न्यायको दृष्टिमा चर्को पर्ने भनी (६) वर्ष कैद हुनु पर्ने भनी क्षेत्रीय अदालतबाट राय व्यक्त भई आएकोमा त्यसतर्फ विचार गर्दा जाहेरवालाको श्रीमती मृतक ठूलीमायासंग प्रतिवादीको लोग्नेको करणी लिनु दिनु हुँदै आएको, वारदातको दिन पनि प्रतिवादीकै सामू सो कृया भइरहेको, सो कार्यबाट असह्य भई तत्काल उठेको रीसको कारण, मृतक उपर फलामे खुर्पाले मृतकलाई प्रहार गर्दा, ठूलीमायाको मृत्यु हुन गएको देखिन्छ । सो को पुष्टि प्रतिवादीको बयानबाट हुन्छ । यद्यपि मृतकको मृत्यु अन्य कुनै कारणबाट भएको भन्ने कुरा मिसिल संलग्न कागजबाट नखुलेको, मृतकलाई मार्नु नै पर्ने पूर्व नियोजित र मनसाय पूर्ण कार्य प्रतिवादीबाट भए गरेको थियो भन्ने कुरा वादी श्री ५ को सरकारबाट पुष्टि हुन नसकेकोबाट आफ्नो पति परस्त्रीसंग करणी लिइरहेको स्थिति अवस्थामा, नारी असह्य क्रोधित नभई रहन नसक्ने, सोही कारण, उठेको रिस थाम्न नसकी, प्रतिवादीले मृतकलाई खुर्पा प्रहार गरी मारेको स्थिति अवस्थामा, दावी बमोजिम नै सजायँ गर्दा न्यायको दृष्टिमा मनासिब पर्न जाने नहुँदा, अ.बं. १८८ नं. बमोजिम प्रतिवादीलाई कैद वर्ष (६) को सजायँ हुने भनी म.क्षे.अ. ले व्यक्त गरेको साधक जाहेरी फैसला समेत मनासिब ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी कमला तामाड्डनीके ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको सजायँ हुने ठहरेकोमा अ.बं. १८८ नं. बमोजिम कैद वर्ष (६) हुने ठहर भएकाले, सो बमोजिम लगत दिनु भनी लगत कसी राख्न का.जि.अ. मा लगत दिनु...१, मिसिल नियमानुसार बुझाई दिनु...१
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०४७ साल आषाढ २८ गते रोज ५ शुभम् ।