शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४११६ - कर्तव्य ज्यान

भाग: ३२ साल: २०४७ महिना: असार अंक:

निर्णय नं. ४११६     ने.का.प. २०४७          अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४५ सालको फौ.पु.नं. ५८२

फैसला भएको मिति : २०४७।२।२९ मा

पुनरावेदक/वादी : यतिमान सुनुवारको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : जि.उदयपुर सोरुड्ड छविसे गा.पं. वा.नं.२ बस्ने विष्णुबहादुर सुनुवारसमेत

मुद्दा : कर्तव्य ज्यान

(१)   आपसमा कुटाकुट झगडा भई मर्ने भागेबाट कुटपिटकै जोशमा लखेट्दै गई जाहेरवालाको घरबाट पक्री ल्याउँदा मर्नेले खुकुरीले समेत प्रहार गरेबाट तत्काल अरु रीसको बेग उठी लाठा ढुंगाले हाने कुटेको चोटबाट मरेको देखिन आएको हुँदा प्रतिवादीहरुलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिमको अपराध सम्म कायम गरी सोही बमोजिम सजायँ गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने ।

(प्रकरण नं. २५)

पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री शारदाप्रसाद पण्डित

फैसला

न्या.हिरण्येश्वरमान प्रधान

१.     पू.क्षे.अ. को फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    मेरो पत्नीको पहिला लोग्नेतर्फको कान्छी छोरा लेखबहादुरलाई निजको ठूला बाबुको छोरा वेग बहादुर सुनुवार, विष्णुबहादुर सुनुवार १ समेतले अंश नदिई फिराद दिई जिती लेखबहादुरले भोग गरी आएको जग्गाको बाली सालै पिच्छे विपक्षीहरुले लुटपिट गरी खाएका थिएँ यही २०४२।४।२६ गते बिहान ६ बजे म समेत मकै भाँच्न र ढोड काट्न मकै बारीमा गएका थियौं । अं. ८ बजेको समयमा लेखबहादुरलाई प्रतिवादी बेगबहादुर, विष्णुबहादुर, निजको आफ्नो ससुरा रविलाल समेतले लेखबहादुर कै मकैवारीमा ढुंगा लाठीले कुट्न लाग्दा ज्यान बचाउन लेखबहादुर भाग्दै मेरो घर भित्र पसी आग्लो लगाई बसेको अवस्थामा आग्लो भाँची दैलो खोली भित्र पसी घिसार्दै कुट्दै बाटोमा ल्याएछन । सो अवस्था गाउँ कै पञ्चमाया आई मानिसलाई यसरी नकुट भनी मनाही गर्दा हामीलाई पनि कुटेको छ भनी अन्यायी मध्ये वेगबहादुरले भनी सबै भागेछन् । लेखबहादुरको दाहिने खुट्टा भाँचिएको शरीरको विभिन्न भागमा निलडाम थियो । मलाई सीतल ठाउँमा लैजाउ भनी मृतकले भनेपछि पञ्चमाया र निजकै देवर समेत भई मेरो घर दलानमा लगी मलाई खबर गरी म समेत जम्मा भेला भई सोधपुछ गर्दा वेगबहादुर समेतले कुटपिट गरे पैसा खोजी मलाई डाक्टरकहाँ लैजाउ भने दिउँसो लैजानु पर्छ अहिले सुरक्षित साथ राख्नु भनी गा.पं.स. समेतले भनेको हुँदा मेरो मटानमा राखेपछि सिरान लगाई देउ भन्दै पं. ३ बजे पछि निज लेखबहादुरको मृत्यु भएकोले जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको बलिमान सुनुवारको मिति २०४२।४।२९ गतेको जाहेरी दर्खास्त ।

३.    मिति २०४२।४।२६ गते घर मेरा दाजु वेगबहादुर समेतका परिवार मकै भाँची रहेको बारीमा गई लेखबहादुर समेतले मकै भाँच्न लाग्दा हामीले लगाएको मकै गोडमेल समेत मैले गरेको हुँदा हामीले लिनु पर्छ भनी दाजु वेगबहादुरले भन्दा यसमा अदालतमा मुद्दा चल्दा मेरो ठहराई दिएकोले यो मकै मैले पाउनु पर्छ भन्दै मकै भाँच्न लागे त्यस्तैमा झगडा शुरु भयो साधारण मकै वारीमा कुटपिट भयो । बेगबहादुरले लखेट्दै जाहेरवालाको घरमा पुगे मृतकको आफ्नु साथमा रहेको खुकुरीले दाजु बेगबहादुरको खुट्टाको घुँडामनी एकपटक हिर्कायो । रगत बग्न लागेपछि हामीलाई बढी जोश चढ्यो मृतक र हामी बीच कुटपिट हुँदा मृतकले मेरो निधारमा घोची दियो । त्यसपछि काठको घोचाले कुटन थाल्यो हाम्रो कुटाइबाट मृतकको दाहिने खुट्टा भाँचिएको थियो निजको शरीरबाट रगत बगी रहेको थियो । पञ्चमायाले नकुट भनी कराएपछि हामी मृतकलाई छाडी गएका थियौं । मृतकलाई बेगबहादुर मैले मात्र कुटेका हो भन्ने समेत व्यहोराको विष्णुबहादुर सुनुवारको मिति २०४२।५।३ गतेको प्रहरीमा भएको बयान कागज ।

४.    मिति २०४२।४।२६ गते म र मेरा परिवार र भाइ विष्णुबहादुर समेत भई झगडा परेको वारीमा मकै भाँच्न गएको अवस्था भाइ लेखबहादुर निजको श्रीमती र बहिनी समेत ५ जना भई उक्त सबै बारीमा आई मकै भाँच्न लागे हामीले लगाएको उक्त मकै हामी लिनु पर्छ भन्ने म समेतका भाइ विष्णुबहादुरले भन्दा यसमा अदालतले मेरो ठहराई फैसला भएको मैले लिन पाउँछु भनी मकै भाँच्न लागे म समेत दुवै बीच झडा कुटपिट भई भाइ विष्णुबहादुरले लखेट्दै जाहेरवाला बलिमानको घरमा पुगे त्यहाँ पुगेपछि भाइ मृतक लेखबहादुरको आँग जीउबाट रगत बग्न लागेपछि मकै भाँच्न आएको आइमाईहरु भागी गई मृतक लेखबहादुरलाई सडक तिर कुटपिट हुँदा हाम्रो कुटाइबाट निज मृतकको दाहिने खुट्टा भाँचिएको थियो । निजको शरीरबाट रगत बगीरहेको थियो । निजको हात पनि भाँचिएको थियो । गाउँको मानिसहरु आआफ्नु काममा गएकोले कोही छुट्याउन आएन । मृतक लेखबहादुरको मृत्यु भएपछि हामी भागेका हो । त्यस झगडाका रविलाल सुनुवार छन् मारेको पनि होइन जाहेरवालाले किन नाम किटान गरी जाहेर गरेका हुन सो दिन झगडा हुँदा मृतक भाइ लेखबहादुरलाई म र मेरो भाइ विष्णुबहादुरले मात्र कुटपिट गरेको हुँ । यसमा अरुको सहमति छैन भाइले ४५ पटक लाठीले हिर्काएको थियो । मैले पिठ्यूँ ढाड, हात खुट्टामा हिर्काएकोले सो पिडाले घोप्टो परिरहेको अवस्था ढुंगाले काखी करड्डमा हिर्काएकोले बेहोस परी ३ घण्टा पछि मेरै चोटबाट यो मरेको हुनुपर्छ भन्ने व्यहोराको वेगबहादुर सुनुवारको मिति २०४२।५।१७।७ मा प्रहरीमा गरेको बयान कागज ।

५.    हामी वारीमा मकै भाँच्न जाँदा हाम्रो हातमा कुनै लाठी हतियार लिई गएका थिएनौ । वेगबहादुर विष्णुबहादुरको हातमा लाठी थियो र रविलालको हातमा र प्र.हरुको श्रीमतीको हातमा कुनै लाठी हतियार थिएन । मेरो भिनाजु मरेको खबर सोही दिनको अं. ४ बजेतिर थाहा पाएँ । भिनाजुको मृत्यु बेगबहादुर र विष्णुबहादुरले कुटेको चोटबाट मरेको हो रविलाल घटना घटेको दिनदेखि कहाँ छ थाहा छैन भन्ने समेत व्यहोराको चन्द्री सुनुवारको ०४२।५।१५ गते प्रहरीमा भएको कागज ।

६.    मेरो देवरले खुकुरी लिएको थिएन । मकै भाँच्दै गरेको अवस्था बेगबहादुरले लाठीले पिठ्यूँमा हिर्काएको थियो सो जग्गामा २।३ वर्षदेखि झगडा हुँदै आएको थियो । बेगबहादुर, विष्णुबहादुरले लेखबहादुरलाई कुटपिट गरेको चोटबाट मरेको हो हाल रविलाल घटना घटेदेखि गाउँ घरमा छैन कहाँ गएको थाहा छैन भन्ने समेत व्यहोराको नरी सुनुवारनीको मिति ०४२।५।१५ को प्रहरीमा भएको कागज ।

७.    मिति ०४२।४।२६ गते बिहान ६:३० बजेको समयमा मकै भाँच्न म र मेरो पति मृतक लेखबहादुर, नरी सुनुवारनी, निजको बहिनी चन्द्री सुनुवारनी समेत मकै भाँच्न गएका थियौं । हामी जानु भन्दा अघि नै बेगबहादुर निजको श्रीमती निजको ससुरा रविलाल, विष्णुबहादुरको श्रीमती समेत भई मकै भाँच्न लागेको रहेछ । हामी गएर मकै भाँच्न लागेको अवस्था मेरो लोग्नेलाई बेगबहादुरले साथ लिई आएको लाठीले पिंठ्यूमा एक चोट हिर्काए । बेगबहादुर, विष्णुबहादुरको श्रीमतीले मलाई हातले कुटपिट गर्न थाले निज बेगबहादुर र विष्णुबहादुरको श्रीमती घरतर्फ गई विष्णुबहादुर र वेगबहादुरको हातमा लाठी थियो । लाठीले लखेट्दै मेरो लोग्नेलाई बलिमानको घरतर्फ ल्याए डरको कारणले त्यसतर्फ जान सकिन आधा घण्टा पछि गाउँको पञ्चमायाले मेरो लोग्ने मर्नान्त घाइते छन भन्ने खबर दिएपछि बलीमानको घरमा गएँ । लोग्नेको दाहिने खुट्टा भाँचिएको दुवै हात सुनिएर चलाउन नसक्ने थियो । लोग्नेले पानी मागी मैले पानी खुवाई दिएँ लोग्नेलाई काखमा अड्याएर राखें मलाई औषधि गराउन छिटै लैजाउ भन्दै थियो सो अवस्था बलिमानले कसकसले कुटे भनी सोध्दा बेगबहादुर विष्णुबहादुर, रविलालले कुटेको भनेको थिएँ । विष्णुबहादुर, वेगबहादुरको हातमा लाठी थियो । रविलालको हातमा लाठी थिएन । कुटेको पनि देखिन, सोही दिनको अं. ३।४ बजे मेरो लोग्नेको प्राण गएको थियो । लोग्नेको विभिन्न ठाउँमा निलडाम खत घाउ प्रशस्तै थियो भन्ने समेत व्यहोराको नैनकुमारी सुनुवारनीको मिति ०४२।५।१५ मा प्रहरीमा भएको कागज ।

८.    २०४२।४।२६ गते दिउँसो बेगबहादुर, विष्णुबहादुर समेतका ३ जनाले मकैवारीमा झगडा भई कुटपिट गरी मर्नासन्न रुपमा घाइते पारेका छन । अस्पताल जानु पर्‍यो भनी खबर गरेपछि लेखबहादुर भए ठाउँमा आएर सोधपुछ गर्दा मलाई विष्णुबहादुर, बेगबहादुर, रविलाल समेतले कुटपिट गरे म मर्ने भएँ औषधि गर्न लैजाउ भनी जान तरखर गर्दा गर्दै सो दिनको अं. ४ बजेतिर मृतकको मृत्यु भयो । मृतक लेखबहादुरलाई विष्णुबहादुर, बेगबहादुर, रविलाल समेतले कुटपिट गरी मारेका हुन् सो बाहेक अरु माथि शंका छैन । मृतक लेखबहादुरको शरीर हेर्दा दाहिने खुट्टा भाँचिएको रगत बगिरहेको शरीरको विभिन्न ठाउँमा निलडाम घाउ खत थियो । उक्त घाखत लाठी ढुंगाले परेको जस्तो थियो भन्ने समेत व्यहोराको सरजमीनका दफा १ देखि १४ सम्मका सबैले एक मिलानको मिति २०४२।५।१५ समेतको सरजमीन मुचुल्का ।

९.    बलिमानको जाहेरी अनुसार पक्राउ परेका वेगबहादुर तथा विष्णुबहादुरको कागज गराउँदा झगडाको जग्गामा भएको मकै भाँच्न जाँदा आपसमा झगडा भई दुवै भाइ भई लेखबहादुरलाई कुटपिट गर्दै सडकमा पुर्‍याई लाठी ढुंगाले शरीरको विभिन्न भागमा घाइते पारी छाडी दिएका थियौं मृतक लेखबहादुर हाम्रो कुटाइबाट मरेको हो भनी साविती बयानका साथै लाश जाँच हुँदा मृतक लेखबहादुरको खुट्टा र करंग समेत भाँचिएको देखिएकोले लेखबहादुर कर्तव्य परी मिति ०४२।४।२६ गते दिउँसो मरेको प्रमाणित हुन आयो । प्रतिवादी विष्णुबहादुर, वेगबहादुर तथा मृतक बीच पहिला देखि मुद्दा चलिरहेकोले निजहरु बीच बैमनष्यता रहेछ भन्ने पुष्टि भएको छ साथै प्र.विष्णबहादुर वेगबहादुरले कुटपिट गर्नमा आफू २ जना मात्र रहेको भनी साविती बयान दिए तापनि उजूरीमा रविलाल सुनुवार समेत ३ जनाले कुटपिट गरी लेखबहादुरलाई कर्तव्य गरी मारेको भनी किटानी साथ उल्लेख हुनुका साथै समस्त सरजमीनका मानिसहरुले र मृतकको श्रीमती तथा भाउजू समेतले उक्त श्रावण २६ गते विहान मकै भाँच्न निज रविलाल पनि आएको थियो र निज रविलाल समेतका ३ जनाले कुट्दै गएका देखेका थियौं भनेका निज रविलाललाई गाउँलेहरुले पक्राउ गरी राखेकोमा दिसा गराउन लाग्दा भागी गएकोले प्र.विष्णुबहादुर, वेगबहादुर, रविलाल समेतले ज्यानसम्बन्धीको १ नं. विरुद्ध अपराध गरेकोले निजहरुलाई सोही ऐनको १३(३) नं. बमोजिम सजायँ हुन माग दावी छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

१०.    २०४२।४।२६ गते म आफ्नु गाउँ घरमा थिइन लेखबहादुर वादी र म समेत प्रतिवादी भएको अंश दर्ता मुद्दामा यस अदालतबाट हराई श्री सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चमा पुनरावेदन गरेको थिएँ । सो मुद्दा २०४२।४।३० गते पेशीको तारेख भएकोले खोलानालाले थुन्ला भन्ने डरले २०४२।४।२४ गते घरबाट हिंडी नामा खोलामा बास बसी भोलिपल्ट २५ गते जि.सिरहा गा.पं. वा.नं. थाहा नभएको हात्तीढुंगा भन्ने ठाउँमा बास बसी भोलिपल्ट सिरहा गई धनगढी बजारमा र भोलिपल्ट २७ गते तारेख लिएपछि पनि राजविराजकै बजारमा घुमफिर गरी ऐ. भाद्र ५ गते घर फर्की जि.उदयपुरको बेलखास चौकीमा आए पछि प्रहरीले मेरो गाउँ घर सोधे तैले मानिस मारिछस् के गरी मारिस् भनी मलाई कुटपिट गर्न लागे लेखबहादुरलाई कति पटक कुटिस् भन्न थाले मलाई धेरै कुटेकोले कति पटक कुटेकुटे भनी जवाफ दिएँ चौकी मै थुनी राखे भोलिपल्ट कटारी थानामा लगे सो वारदात भएको दिन आफ्नो गाउँ घरमा नहुँदा मृतक लेखबहादुरलाई मैले कर्तव्य गरी मारेको होइन । वेलसोध प्रहरी चौकीमा आएपछि वलीमानको घरमा लेखबहादुर कुटपिट द्वारा मरे भन्ने कुरा सुनें कसले मार्‍यो मलाई थाहा छैन प्रहरीमा भएको कागज मेरो राजीखुसीले गरेको होइन भन्ने प्र.वेगबहादुर सुनुवारले मिति २०४२।५।२५ मा अदालतमा गरेको बयान ।

११.    २०४२।४।२६ गते बिहान म मेरो घरबाट अं. ४ कोश फरक वेकी सोच्याँ खोलामा खेत भएकोले खेतमा पानी लगाउन भनी गई बेलुका ६ बजे तिर घर आएपछि गाउँलेहरुले लेखबहादुरलाई मार्ने तही होस् भनी पक्राउ गरी कुटपिट गरी मार्न लागेकोले प्रहरीमा समेत लेखबहादुरलाई म समेतले मारेको हुँ भनी लेखाई दिएको हुँ । कसले मारे मलाई थाहा छैन मैले मारेको होइन बेगबहादुरले मिति २०४२।५।१५ मा प्रहरी समक्ष किन त्यस्तो व्यहोरा लेखाई दिए म जान्दिन लेखबहादुर र मेरो बाबुको अंश मुद्दा थियो सोही रीसइवीबाट नैनकुमारी, चन्द्रा सुनुवारनी र जाहेरवाला सरजमीनका मानिसहरुले पोल गरेका हुन् । मृतक लेखबहादुर के भई मरे भन्न सक्दिन भन्ने समेत मिति २०४५।५।१५ गते प्र.विष्णुबहादुरले अदालतमा गरेको बयान ।

१२.   प्र.विष्णुबहादुर र वेगबहादुरले मृतक लेखबहादुरलाई कर्तव्य गरी मारेको होइन भनी इन्कारी बयान गरे तापनि प्रहरी र स.अ.अ. समक्ष लेखबहादुरलाई कुटपिट गरी कर्तव्य गरी मारेको भनी दुवै जनाले सावित भई बयान गरेको देखिन आएको र मौकैमा देख्ने नैनकुमारी, नरी सुनुवारनी चन्दी सुनुवारनी समेतले कुटपिट गरी मारेका हुन् भनी कागज गरेकाले समेत पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल निज प्र.वेगबहादुर, विष्णुबहादुर २ जनालाई पूर्पक्षको निमित्त (ख) श्रेणीको सिधा खुवाई थुनामा राख्नु, प्र.रविलालको हकमा म्यादी पुर्जी सहित वारेण्ट जारी गर्नु भन्ने मिति २०४२।५।२५ को उ.जि.अ. को आदेश ।

१३.   मेरो श्रीमतीको लागि एक जोर सुनको माडवारी बनाउन सुन लिई ०४२।४।२५ गते बिहान घरबाट हिंडी बेलुका ७ बजे कटारी बजार बस्ने सुब्बालाल नेवारको दोकान घरमा वास बसी भोलिपल्ट बिहान कटारी बजार बस्ने शिवलाल पोखरेलको सुन बनाउने दोकानमा गई सुन बनाउन शुरु गरी बेलुका साँझमा सुन बनाइसकेकाले त्यही बास बसी ०४२।४।२७ गते मेरो गाउँको पद्मबहादुरको हातमा दिई श्रीमतीलाई दिनु भनी म खसी बिक्री गर्न कटारीबाट हिंडी बेलुका मिरचैया बजारमा बास बसी भोलिपल्ट २८ गते फुवरिया बजारमा पुगी बास बसी २९ गते तही बजारमा खसी खरीद गरी ३० गते लाहान बजार गई खसी बिक्री गरी ३१ गते जि. धनुषाको सखुवा बजारमा गई खसी खरीद बिक्री गरी असोज २१ गतेसम्म ताही बसी ऐ. २२ गतेमा घर फर्की २९ गते मात्र घर पुगेको हुँ । म घर पुगेपछि बेगबहादुर र विष्णुबहादुरसंग कुटाकुट हुँदा कुटपिटको पिरबाट लेखबहादुरको मृत्यु भएको अरे भन्ने कुरा गाउँ घरमा आएपछि थाहा पाएँ बलिमानको बाली मेरो गाईले खाएको सम्बन्धमा झगडा भई हाम्रो बीच बोलचाल थिएन सोही रिसइवीले बलिमानले म समेत उपर जाहेरी दिएका हुन र बलिमानकै भनाइमा लागी सरजमीनले पोलेका हुन म समेतले कुटपिट गरी लेखबहादुरलाई कर्तव्य गरी मारेको छैन होइन भन्ने रविलाल सुनुवारले मिति ०४२।९।२३ गते अदालतमा गरेको बयान ।

१४.   कसूर अपराधमा इन्कार रही बयान गरेको मौकामा बयान गर्ने सह अभियुक्त विष्णुबहादुर र बेगबहादुर सुनुवारले बयान गर्दा अधिकारप्राप्त अधिकारी प्रहरी र जिल्ला न्यायाधीश समक्ष मृतक लेखबहादुरलाई हामीले मात्र कुटपिट गरी मारेका हौं रविलालले कुटपिट गरेको होइन भनी बयान कागज गरेको देखिँदा थुनामा राखी पूर्पक्ष गर्न नमिल्ने देखिँदा प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल रु. २०००।धरौट लिई तारेखमा राख्नु भन्ने मिति ०४२।९।२३ गतेको उ.जि.अ. को आदेश ।

१५.   प्रतिवादी विष्णुबहादुर सुनुवार र वेगबहादुर सुनुवारले वादी श्री ५ को सरकारले निजहरु विरुद्ध लगाएको अभियोग बमोजिम मृतक लेखबहादुरलाई कुटपिट गरी कर्तव्यबाट मारेको ठहर्छ प्रतिवादी रविलालले यस अभियोगबाट सफाई पाउने समेत ठहर्छ भन्ने समेत उदयपुर जिल्ला अदालतको मिति ०४३।५।२४।३ को फैसला ।

१६.    प्र.विष्णुबहादुर र वेगबहादुरको हकमा कुनै जिकिर लिएको छैन । प्र.रविलालको हकमा निज प्रतिवादी समेत भई कुटपिट गरेको कुरा घटना घटेको तत्काल पछि मृतकले आफूलाई भनेको कुरा सरजमीनका व्यक्तिले बकपत्र गर्दा उल्लेख गरेका छन । निज प्रतिवादी समेतले अपराध गरेको कुरा शंका रहित किसिमले स्पष्ट देखिएकोले शुरु प्रहरी प्रतिवेदन माग दावी अनुसार निज अभियुक्त रविलाललाई समेत सजायँ हुन सादर अनुरोध छ भन्ने समेत वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।

१७.   शुरु अदालतको इन्साफ माथि चित्त नबुझेकोले पुनरावेदन गरेको छु । म समेत २ जनालाई कसूरदार ठहराई मु. ऐन ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ बमोजिम जन्मकैदको सजायँ हुने गरी शुरु उ.जि.अ. बाट फैसला भएको तर अज्ञानीलाई ज्ञान हवोस भनी चेताएको कुरामा वेथाले गर्दा लेखबहादुरको मृत्यु हुन गई म समेत कसूरदार हुन गएकोमा जन्मकैदको सजायँ भएकोले सजायँमा हेरफेर गरी ज्यानसम्बन्धीको १४ नं. बमोजिम सम्मको सजायँ हुन पुनरावेदन जिकिर छ पुनरावेदन जिकिर बमोजिम गरी पाउँ भन्ने समेत प्रतिवादी बेगबहादुर सुनुवारको पुनरावेदनपत्र ।

१८.   प्रतिवादी विष्णुबहादुर सुनुवारको हकमा साधकको लागि दायर भई पेश भएका ।

१९.    प्रतिवादी वेगबहादुरको पुनरावेदन जिकिर पुग्न सक्तैन विष्णुबहादुरले पुनरावेदन नै नगरेकोले साधक जाहेर गर्ने र रविलालले सफाई पाउने ठहराएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत ०४५।३।२९ को सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको फैसला ।

२०.   शुरुको इन्साफ सदर गर्ने गरेको फैसलामा चित्त बुझेन हाम्रो पुनरावेदन जिकिर बमोजिम इन्साफ पाउँ भन्ने विष्णुबहादुर, वेगबहादुर तथा रविलाल सुनुवारलाई सफाई दिएको तर्फ चित्त बुझेन प्रहरी प्रतिवेदन बमोजिम इन्साफ पाउँ भन्ने समेत श्री ५ को सरकारको तर्फबाट पू.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।

२१.   प्रतिवादीले आआफ्नो श्रीमती सहित मकै भाँचिरहेको ठाउँमा लेखबहादुर पनि आफ्नो श्रीमती, साली र भाउजू समेतलाई लिई गई मकै भाँच्न लाग्दा झगडा भएकोले सोही झगडाको सिलसिलामा लेखबहादुरलाई प्रतिवादी विष्णुबहादुर र बेगबहादुरले कुटपिट गरेको देखिएको र निज लेखबहादुरलाई मार्ने मनसायले पूर्वयोजना बनाई कुटपिट गरेको भन्ने मिसिलबाट नदेखिएकोले प्रस्तुत मुद्दाको वारदात ज्यानसम्बन्धीको १३ नं. अन्तर्गत परेको नदेखिई ज्यानसम्बन्धीको १४ नं. अन्तर्गत परेको देखिन्छ । अतः प्र.विष्णुबहादुर, वेगबहादुरलाई ज्यानसम्बन्धीको १३(३) अन्तर्गतको कसूरदार ठहर्‍याई जन्मकैद हुने ठहराएको शुरुको इन्साफ मिलेको नदेखिएकोले सो हदसम्म बदर भई निज प्र.विष्णुबहादुर, प्र.वेगबहादुरलाई ज्यानसम्बन्धीको १४ नं. अन्तर्गत १० वर्ष कैद हुन्छ । प्र.रविलालतर्फ हेर्दा निज कसूरमा इन्कार रहेको साक्षीले सफाई दिई बकपत्र गरी दिएका, चन्दी सुनुवारनीले निजले कुटेको देखिन भनी बकपत्र गरी दिएको र मृतक लेखबहादुरले आफू मर्नु अघि प्र.रविलालले पनि कुटपिट गरेको भनी भनेको थियो भन्ने कुरा नै परी पुष्टि भएको नदेखिएको समेतबाट प्र.रविलाललाई सफाई दिने गरेको शुरुको इन्साफ सदर गर्ने गरेको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको इन्साफ मनासिब हुँदा सदर हुने ठहर्छ भन्ने समेत पू.क्षे.अ.को मिति २०४५।१०।१० को फैसला ।

२२.   पू.क्षे.अ. को फैसलामा चित्त बुझेन तीनै जना प्रतिवादीहरुलाई ज्यानसम्बन्धीको १३(३) नं. ले सजायँ गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

२३.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागज प्रमाण हेरी पुनरावेदक वादी श्री ५ को सरकारका तर्फबाट रहनु भएका विद्वान सहन्यायाधिवक्ता श्री शारदाप्रसाद पण्डितले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।

२४.   अब यसमा पू.क्षे.अ. ले गरेको इन्साफ मिले नमिलेको के रहेछ सो को निर्णय दिनु परेको छ ।

२५.   निर्णयतर्फ विचार गर्दा यसमा रविलाललाई समेत सजायँ हुनु पर्ने भन्ने हकमा मर्नेकी श्रीमतीले पनि निज रविलाल मकै भाँच्ने ठाउँमा थिए भनी देखाए पनि कुटपिट भएपछि बेपत्ता भएको भनी देखाएको, निजले मर्नेलाई कुटपिट गरेको जाहेरवालाको घरसम्म लखेट्दै गई पक्री कुटपिट भएको ठाउँमा निज उपस्थित रही कुटपिट गरेको भन्ने कुरा अदालतमा आई बकपत्र गर्ने मर्नेकी श्रीमती साली, सरजमीनका केही व्यक्तिका भनाई बकाइबाट नदेखिई प्र.रविलालले समेत कुटेको भनी भनेको भन्नेसम्म देखिन आएकोबाट रविलाल समेतको कुटपिटबाट मृतक लेखबहादुर मरेको भन्न सकिने अवस्था नदेखिएकोले शुरु उदयपुर जिल्ला अदालत समेतबाट निजले सफाई पाउने ठहर्‍याएको इन्साफ मनासिब ठहर्छ । जहाँसम्म अभियुक्त वेगबहादुर, विष्णुबहादुरलाई दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सजायँ हुन पर्ने भन्ने पुनरावेदन जिकिरको हकमा सो जिकिरको समर्थनमा मर्ने लेखबहादुर र प्रतिवादीहरुको बीच अंश मुद्दा र झगडा भएको ठाउँको जग्गा सम्बन्धमा मुद्दा परी रिसइवी परेको भन्ने सम्म देखिएको छ । तर सो रीसइवी मर्नेको ज्यानै मार्ने सम्मको थियो र सो इवी कार्यान्वयन गर्न प्र.हरुबाट यो यस्तो कार्य गरिएको थियो भनी मिसिलबाट देखिएको कुनै तथ्यबाट पनि प्रमाण पुर्‍याउन सकेको देखिन आउँदैन । यस स्थितिमा झगडा परेको जग्गामा लगाएको मकै आफ्नो दश कर्मको आफूले खान पाउने भनी प्रतिवादीहरुले भाँच्न गएको र अदालतबाट जितेको जग्गाबाट आफ्नो हक हुने भनी मर्ने लेखबहादुरले भाँच्न गएकोबाट आपसमा कुटाकुट झगडा भई मर्ने लेखबहादुर भागेबाट कुटपिटकै जोशमा लखेट्दै गई जाहेरवालाको घरबाट पक्री ल्याउँदा मर्नेले खुकुरीले समेत प्रहार गरेबाट तत्काल अरु रीसको बेग उठी लाठा ढुड्डाले हाने कुटेको चोटबाट मर्ने लेखबहादुर मरेको देखिन आएको हुँदा प्रतिवादीहरुलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिमको अपराधसम्म कायम गरी सोही बमोजिम सजायँ गरेको पू.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४७ साल ज्येष्ठ २९ गते रोज ३ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु