निर्णय नं. ४११७ - उत्प्रेषणयुक्त परमादेश

निर्णय नं. ४११७ ने.का.प. २०४७ अङ्क ३
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
रि नं. १३०४
आदेश भएको मिति : २०४७।३।३।१ मा
निवेदक : जिल्ला धादिङ भूमेस्थान गाउँ वा.नं. ६ बस्ने अम्बरबहादुर थापा
विरुद्ध
विपक्षी : ऐ.ऐ.वा.नं.७ बस्ने रामप्रसाद दाहालसमेत
विषय : उत्प्रेषणयुक्त परमादेश
(१) विलम्बले समन्यायलाई निरर्थक पार्ने ।
(प्रकरण नं. ३)
आदेश
न्या.हरगोविन्द सिंह प्रधान
१. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य जिकिर एवं निर्णय आदेश यस प्रकार छ ।
२. दाता जितमानबाट राजीनामा प्राप्त गरी मिति २०३४।५।४ देखि मेरो हक हुन आएको खरे बोटे खेतमा अविछिन्न रुपबाट भोग चलन गरी आएको छु । २०३४।५।४ गतेको रु. ९९।– को राजीनामाबाट मेरो हक हुन आएको, सर्भे नापी हुँदा कि.नं. २८ मा जग्गा दर्ता प्रमाणित गरिपाउँ भनी दिएको निवेदनमा महाकाली मा.वि. को नाममा दर्ता गरिपाउँ भनी मिति २०४०।५।३१ को स्कूलको पत्र समेत प्राप्त भएपछि मैले २०३४।५।४ को राजीनामा गरी लिएको जग्गामा विपक्षी रामप्रसाद र उत्तमप्रसाद थचि, जग्गा तेरो मेरो परी रहेको प्रष्ट छ । जग्गामा तेरो मेरो परेको अवस्थामा अदालतबाट निर्णय गराई ल्याउनु भनी सुनाउनु पर्नेमा इन्साफ गरेको मालपोत कार्यालय धादिङको मिति २०४१।८।४ को निर्णय पर्चा बदरभागी छ । विवादित जग्गा स्कूलको नाममा दर्ता गर्न मिल्ने होइन । कि.नं. २८ को जग्गामा विपक्षीहरु र मेरो बीच तेरो मेरो परेको प्रष्ट छ । नापीका बखत स्कूलका नाउँमा नापी भएको सम्बन्धमा मिति २०३५।१।३० को बैठकको निर्णय अनुसार भनी ०३५।२।१ को लिलाम बढाबढको सूचनामा दक्षिण किल्ला जितमाना (दाता) को खेत भनी उल्लेख गरिएको छ । यस्तो अवस्थामा मेरो जग्गा छैन भन्न मिल्ने होइन । मेरो हकको जग्गामा मेरो दावी नै नपुग्ने भनी गरेको मालपोत कार्यालय धादिङको मिति २०४१।८।४ को निर्णय र जिल्ला कार्यालय धादिङको मिति ०४५।५।९ को निर्णय बदर गराउन समयमा नै निवेदन दिन आउन रोग लागि उपचार गराउँदा ज्यादै बढी समय लाग्न गएकाले, उक्त निर्णयहरु उत्प्रेषणको आदेशद्वारा बदर गरी, हक कायम गराई ल्याउनु भनी सुनाउन मालपोत कार्यालय धादिङका नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन ।
३. नियम बमोजिम पेश भई आएकोमा विपक्षीहरुबाट लिखितजवाफ मगाउन उपयुक्त हुने हो होइन भनी हेर्दा, यसमा मालपोत कार्यालय धादिङको मिति २०४१।८।४ को र जिल्ला प्रशासन कार्यालय धादिङको मिति २०४५।५।९ को निर्णय बदर गरिपाउँ भनी मिति २०४७।२।३० गते प्रस्तुत रिटनिवेदन दर्ता हुन आएको देखिन्छ । अमलपित्तको रोग लागेको कारणबाट सो निर्णय बदर गराउन कारवाई चलाउन विलम्ब हुन गएको भन्ने निवेदकको लेखाई रहेको पाइन्छ । तर सो को आधिकारिक प्रमाण पेश दाखेला गर्न सकेको पाइएन । निवेदकले विलम्बको सम्बन्धमा दिएको कारण प्रमाणिक देखिन आएन । विलम्बले समन्यायलाई निरर्थक पार्छ, विलम्बको सिद्धान्त रहेको, २०४५ सालको निर्णय बदर गराउन २०४७ सालमा मात्र निवेदकबाट प्रस्तुत रिटनिवेदन परेको देखिँदा, विलम्बको सिद्धान्त अनुसार विपक्षीहरुबाट लिखितजवाफ मगाई रहन परेन । रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार बुझाई दिनु ।
इति सम्वत् २०४७ साल आषाढ ३ गते रोज १ शुभम् ।