निर्णय नं. ४१२० - लेनदेन जालसाज कीर्ते

निर्णय नं. ४१२० ने.का.प. २०४७ अङ्क ४
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४६ सालको दे.पु.ई.नं. ७१
फैसला भएको मिति : २०४७।४।१६।३ मा
पुनरावेदक/प्रतिवादी : सप्तरी जिल्ला तिलाठी गा.पं. वा.नं. ३ बस्ने शोभाकान्त मिश्र
विरुद्ध
विपक्षी/वादी : सप्तरीजि.बमनगामा कट्टी गा.पं.वा.नं. ३ बस्ने देवकिवतीदेवी मधैनी धनुकाइनसमेत
मुद्दा : लेनदेन जालसाज कीर्ते
(१) दावी नै नलिएको कुरामा अदालतले निर्णय नगर्ने ।
(प्रकरण नं. १७)
(२) विशेषज्ञको रायलाई अदालतले विवादित लिखतको प्रकृतिसंग भिडाई नहेरी त्यसै मान्यता दिन नमिल्ने ।
(प्रकरण नं. १७)
(३) विशेषज्ञको विवाद देखि बाहिरको कुरालाई लिएर दिएको राय अप्राशांगिक भई ग्रहण गर्न नमिल्ने ।
(प्रकरण नं. १७)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश, विद्वान वरिष्ठ अधिवक्ता श्री कुंजविहारीप्रसाद सिंह
विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह
१. पू.क्षे.अ. को मिति २०४४।६।२८।४ को फैसला उपर प्रतिवादी शोभाकान्त मिश्रको निवेदन उपर यस सर्वोच्च अदालतबाट पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ संयुक्त इजलासमा पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णयार्थ यस पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. विपक्षी शोभाकान्तले बन्द व्यापार गर्न मसंग रु. ३५,०००।– लिई निजका नाममा दर्ताको जिल्ला सप्तरी वमनगामा कट्टी गा.पं. वडा नं. १ कि.नं. ४६८, ३४२ र ऐ. गा.पं. तिलाठी वडा नं. ३ कि.नं. १४६, १०७, वडा नं. ७ कि.नं. ७० को समेत जम्मा १–३–१५ जग्गाको मिति २०३९।७।१ मा राजीनामा लेखिदिएको म्यादमा पारीत गरी नदिएको लिखत कपाली भएको र जग्गा पनि भोग गर्न नपाएकोले साँवा ब्याज रुपैयाँ दिनु होस् भन्दा पनि नदिएको हुँदा साँवा र भरी भराउ मिति सम्मको ब्याज समेत दिलाई भराई पाउँ भन्ने वादी देवकी वतीको फिरादपत्र ।
३. वादीलाई मैले चिनेको पनि छैन । एउटा आइमाइसंग त्यतिको रुपैयाँ लिने कुनै प्रयोजन पनि छैन । वादीले कुन लिखतको आधारमा नालेश दिएको रहेछ लिखत हेर्न पाए नामाकरण गर्नेछु । वादी दावी झुठ्ठा हो भन्ने समेत शोभाकान्त मिश्रको प्रतिउत्तरपत्र ।
४. वादीबाट दाखिल भएको सक्कल लिखत देखें सुने सोमा लागेको कारणीको हस्ताक्षर र ल्याप्चे छापहरु मेरै हुन् । तर लिखत सद्दे व्यवहारबाट खडा भएको होइन । वादीका ससुरा बैजु मण्डलले जेठी स्वास्नी पट्टीको छोरालाई जग्गा नदिने विचारले केही जग्गा मेरो नाममा दर्ता गराएकोमा सो जग्गा फिर्ता गर्न कि.नं. ४६९ र ३४२ को जग्गाको मिति २०३९।६।२१ गतेमा लिखत गरी दिन लाग्दा मिति फरक पारी झुक्याई तीन कित्ता जग्गा थपी ३५००।– लाई शुन्य थपी ३५,०००।– बनाई जालसाज र कीर्तेबाट लिखत खडा गराएका हुन् कीर्ते जालसाज गरेमा सजायँ गरिपाउँ भन्ने समेत सोभाकान्त मिश्रको बयान ।
५. प्रतिवादीको बयान अनुसार कीर्ते जालसाज गरेको होइन । लिखत बमोजिम रुपैयाँ बुझी गरी दिएको सद्दे लिखत हुँदा जालसाज कीर्ते भनेमा प्रतिवादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत वादीको वा.भुवनेश्वर मण्डलको बयान ।
६. वादी दावीको लिखत कीर्ते जालसाज गरी खडा गरेको होइन दुवै थरका मन्जूरले लिखत खडा भई रुपैयाँ लिनु दिनु गरी प्रतिवादीले सही गरी सकेपछि हामी साक्षीमा बसी खडा भएको सद्दे लिखत हुँदा झुठ्ठा दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत जालसाज तर्फका प्रतिवादी विद्याप्रसाद दाश कथवनिया, अवधि मण्डल धानुक, इनरदेव मण्डल समेतको वारिस भई आफ्नो हकमा समेत बौवालाल मण्डल मधैया धानुकले गरेको बयान ।
७. प्रतिवादीको बयान र सो साथ पेश भएको पत्र समेत देखें सुने बयान दावी अनुसार मैले कीर्ते जालसाज गरेको होइन म त्यति पढे लेखेको नहुँदा अर्थ नबुझी प्रतिवादीले भने बमोजिम लेखेको छु । साहुको थैली पचाउन झुठ्ठा बहाना गरेका हुन् भन्ने समेत जिराई भन्ने जिरालाल मण्डलको बयान ।
८. विवादित लिखत लिफामा खडा गरेको हो भन्ने विशेषज्ञको रायबाट समेत देखिँदा वादी दावीको लिखत सहिछाप लागी रहेको लिफामा पछिबाट भरी बनाएको ठहर्छ । लिखत नै लिफा ठहरिएपछि कीर्ते कागज भई कच्चा ठहरेकाले लेनदेनका सम्बन्धमा दावी पुग्न नसकी झुठ्ठा ठहर्छ भन्ने समेत सप्तरी जिल्ला अदालतको मिति २०४२।१।९।१ को फैसला ।
९. प्रतिवादीले विवादित लिखतमा लागेको सहिछाप मेरै हो भनी स्वीकार गरी सकेको रु. ३५००।– लाई शुन्य थपी ३५,०००।– बनाई ३ कित्ता जग्गा पछिबाट थपेको भन्ने कुरा विशेषज्ञको रायबाट झुठ्ठा देखिएको हुँदा यसरी सद्दे व्यवहारबाट भएको लिखतलाई कीर्ते ठहराई रुपैयाँ नपाउने ठहराएको शुरुको फैसला त्रुटिपूर्ण हुँदा वादी दावी बमोजिम रुपैयाँ दिलाई पाउँ भन्ने समेत देवकिवति १, अवधि मण्डल १, विद्याप्रसाद १, चन्द्रनारायण १, बौवालाल मण्डल समेत जना ५ को संयुक्त पुनरावेदनपत्र ।
१०. वादी दावीको लिखतको सहिछाप मेरै हो भनी प्रतिवादीले स्वीकार गरेको लिखत हेर्दा सामान्य रुपमा भएको देखिँदा विशेषज्ञले पहिले नै ल्याप्चे सहिछाप लागेको फाराममा पछिबाट व्यहोरा भरेको भन्ने रायको आधारमा लिखत कीर्ते ठहराई दावी पुग्न नसक्ने ठहराएको सप्तरी जिल्ला अदालतको इन्साफ फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत मिति २०४३।१२।८।१ को आदेश ।
११. वादी दावीको लिखत स्वाभाविक नै देखिँदा प्रतिवादीबाट वादीले दावी बमोजिमको साँवा ब्याज भरी पाउने ठहर्छ भन्ने समेतको पू.क्षे.अ. को फैसला ।
१२. पू.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी शोभाकान्तको यस सर्वोच्च अदालतमा निवेदन परी संयुक्त इजलास समक्ष पेश हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश भई पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।
१३. निर्णयार्थ यस सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा यसमा प्रतिवादीले आफ्नो प्रतिउत्तरमा वादीलाई चिनेको छैन भनेका छन् । पछि बयान गर्दा रु. ३५००।– लाई शुन्य थपी रु. ३५,०००।– बनाएको भनेका छन् । नचिनेको व्यक्तिसंग कारोबार गर्ने कुरा आउँदैन । रु. ३५००।– को कारोबार स्वीकार गरेबाट निजले वादीलाई चिनेको छैन, भन्ने निजको प्रतिउत्तर जिकिर पत्यार लायक देखिएन । विशेषज्ञले लिफामा लेखेको भन्ने राय दिएका छन् सो कुरालाई प्रतिवादी स्वयंले व्यक्त गरेका कुराले खण्डन गरेको छ । विशेषज्ञले रु. ३५००।– को लिखतमा समय फरक पारी शुन्य थपेको भन्ने राय दिन सकेको छैन । त्यस्तै ३ कित्ता जग्गा पछि थपेको भन्ने पनि विशेषज्ञको रायमा देखिएन । अतः वादी दावी बमोजिम साँवा ब्याज प्रतिवादीबाट भराई दिने ठहर्याएको समेत पू.क्षे.अ. को इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।
१४. यसमा विशेषज्ञले राय दिंदा अघिबाट बनाई राखेको लिफामा पछिबाट लिखत तयार पारेको भनी सो को आधार समेत उल्लेख गरेको देखिन आएको छ । पक्षको भनाई र विशेषज्ञको रायमा विशेषज्ञको रायको बढी मान्यता हुने हुन्छ । उक्त लिखतमा अक्षरहरु अस्वाभाविक रुपले फरक भएको भन्ने समेत विशेषज्ञको रायमा आधार खोलिएको छ । प्रमाण ऐन, २०३१ ले पनि अदालत समक्ष उपस्थित भई बकपत्र गरी आफ्नो राय समर्थन गर्ने विशेषज्ञको रायलाई प्रमाणको रुपमा स्वीकार्य बनाएको छ । यस्तो प्रमाणलाई बिना आधार बेवास्ता गर्न मिल्दैन । अतः वादी दावी बमोजिम साँवा ब्याज भराउने ठहर्याएको पू.क्षे.अ. को इन्साफ मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्ने समेतको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई पेश हुन आएको रहेछ।
१५. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी शोभाकान्त मिश्रको तर्फबाट बहस गर्न उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दाशले राजीनामाका दुईवटै लिखतहरु एउटैले लेखेको भए पनि एउटामा टेढोमेढो गरी लेखिएकोले सो लिफामा लेखिएको हो जयकान्त मिश्र विरुद्ध रामगुलाम कलवार समेतको मिति २०२८।१।१० सालको स.अ. निर्णय संग्रह २०२८, पृष्ठ ३६० मा प्रकाशित नजीरबाट समेत मेरो पक्षले कीर्तेमा दावी गरेकोले सोही दावी भित्रको लिखत लिफामा खडा गरे नगरेको हेर्न मिल्छ । सो लिखत खडा गर्दाका अवस्थामा लेनदेन भएको भन्ने देखिन्न । मेरो पक्ष ६० वर्ष उमेर पुगी सकेको र घर व्यवहार पनि छोराहरुबाटै संचालन हुने गरेकोमा यदि निजले लेनदेन गरेको भए छोराहरु पनि लिखतमा साक्षी बस्नु पर्ने तर त्यस्तो भएको छैन । वादी पनि त्यतिका रुपैयाँ दिन सक्ने अवस्थाको व्यक्ति होइनन् भन्ने समेतको बहस गर्नु भयो । प्रतिवादी तर्फकै विद्वान वरिष्ठ अधिवक्ता श्री कुंजविहारीप्रसाद सिंहले रुपैयाँ लेनदेन भएको भन्ने कुनै प्रमाण छैन । विशेषज्ञलाई अदालतबाट बुझी निजले आफ्नो बयानद्वारा रायलाई पुष्टि पनि गरेको छ । लिखतको स्वरुप कस्तो छ, भन्ने कुरा सो लिखतबाटै स्पष्ट देखिएको छ । तसर्थ वादी दावा नपुग्ने ठहर्याएको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय सदर होस् भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो । त्यस्तै गरी विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले आफ्नो बहसको सिलसिलामा प्रतिवादीले प्रतिवादी जिकिरमा वादीलाई चिनेकै छैन भनेको छ भन्ने बयान हुँदा लिखतको सहिछाप आफ्नै हो भनी लेनदेनको व्यहोरालाई स्वीकार समेत गरेबाट निजको प्रतिवादी जिकिर समर्थित हुन सकेको छैन । विशेषज्ञले जुन विवादको विषयमा राय मागिएको छ सो भन्दा बाहिर गई राय दिएको छ आदेश भन्दा बढी कुराको राय दिन मिल्दैन । प्रतिवादीतर्फका विद्वान अधिवक्ताले प्रस्तुत गर्नु भएको नजीरमा लिफामा बनेको भन्ने दावी रहेको छ तर प्रस्तुत मुद्दामा त्यसो छैन । प्रतिवादीले लिफामा तयार पारेको भनी जिकिर नै नलिएको कुरामा अदालतले इन्साफ दिन मिल्दैन भन्दै कृष्णप्रसाद श्रेष्ठ समेत विरुद्ध सर्वज्ञमुनि बज्राचार्य, मुद्दा जालसाज, ने.का.प. २०४३, नि.नं. २९००, पेज १०६२ को नजीर समेत पेश गर्नु भयो ।
१६. प्रस्तुत मुद्दामा पू.क्षे.अ. को इन्साफ मिलेको छ, छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१७. यसमा निर्णयतर्फ हेर्दा प्रतिवादी शोभाकान्त मिश्रले बन्द व्यापार गर्न भनी म संग रु. ३५,०००।– लिई निज नाम दर्ताको सप्तरी जिल्ला वमनगामा कट्टी गा.पं. वडा नं. १ कि.नं. ४६८, ३४२ र गा.पं. तिलाठी वडा नं. ३ कि.नं. १४६, १०७ वडा नं. ७ कि.नं. ७० को समेत जम्मा १–३–१५ जग्गाको मिति २०३९।७।१ मा राजीनामा लेखि दिएको म्यादमा पारीत गरी नदिएकोले लिखत कपाली भएको र जग्गा पनि भोग गर्न नपाएकोले साँवा ब्याज दिलाई भराई पाउँ भन्ने समेत मुख्य वादी दावी रहेको पाइन्छ । प्रतिवादी जिकिरतर्फ हेर्दा वादीलाई मैले चिनेको छैन । वादी दावी झुठ्ठा हो वादीले कुन लिखतको आधारमा नालेश दिएको रहेछ हेर्न पाए नामाकरण गर्ने छु भन्ने समेतको जिकिर लिएको पाइन्छ । विवादित २०३९।७।१ को लिखत प्रतिवादीलाई सुनाउँदा सो लिखतमा परेको हस्ताक्षर र ल्याप्चेहरु आफ्नो हो भन्ने स्वीकार गर्दै उक्त लिखतमा रहेको रु. ३५००।– को अंकमा सून्य थपी रु. ३५,०००।– र अक्षरमा “पैंतीस” लेखिएकोमा “हजार रुपैयाँमात्र” भन्ने पछि थपी बनाएको र वादीको नाममा शुरु दुई कित्ता बाहेकको अरु ३ कित्ता थपी जालसाजी कीर्तेबाट लिखत खडा गराएको भन्ने बयान जिकिर लिएको देखिन्छ । प्रतिवादीले वादीलाई चिनेको नै छैन र कारोबार भएको होइन भनी प्रतिवादी जिकिरमा उल्लेख गरेकोमा पछि सद्दे कीर्तेमा बयान हुँदाका बखत वादीसंग रु. ३५००।– र दुई कित्ता जग्गाको विषयमा लेनदेन कारोबार तथा कागज भएको भन्ने कुरालाई प्रतिवादी स्वयंले स्वीकार गरेकोले वादीलाई प्रतिवादीले चिनेको छैन भन्ने निजको प्रतिउत्तर जिकिर मिल्दो देखिएन । वादीको बयान जिकिर बमोजिम थपिएको हो होइन भनी विशेषज्ञको राय लिइएकोमा रु. ३५००।– पैंतीस सयलाई ३५,०००।– पैंतीस हजार बनाएको होइन र पहिलो दुई कित्ता जग्गा पछि थपिएको होइन भनी राय दिएको पाइन्छ । साथै पहिले नै ल्याप्चे सहिछाप लागेको फाराममा पछिबाट व्यहोरा भरिएका हुन् भन्ने पनि विशेषज्ञको राय भएको पाइन्छ । तर उक्त राजीनामा लिखत लिफामा खडा गरेको भनी स्वयं कीर्ते जालसाजीतर्फ बयान जिकिर लिने प्रतिवादीले आफ्नो बयानमा भन्न सकेको पाइँदैन । उक्त राजीनामा लिखत नै भएको होइन भन्ने प्रतिवादीले भन्न नसकी केवल रु. ३५००।– लाई रु. ३५,०००।– बनाइयो र उक्त लिखतमा तीन कित्ताहरु थपियो सम्म भनिएकोमा सो कुरालाई समर्थन गरी विशेषज्ञले राय दिन सकेको पाइन्न । उक्त लिखत लिफामा खडा भएको हो भनी प्रतिवादीले भन्न सकेको छैन । प्रतिवादीले दावी नै नलिएको कुरामा अदालतले निर्णय गर्ने होइन । विवादित लिखतमा परेका हस्ताक्षर तथा सहिछापहरु आफ्नै हुन र त्यसमा भएको रु. ३,५००।– तथा दुई कित्ता जग्गामा क्रमशः शुन्य र अरु तीन कित्ता जग्गा थप सम्म भएको भन्ने प्रतिवादी जिकिर भएकोमा कुन हदसम्म कीर्ते गर्यो भनेको छ सो सन्दर्भमा हेरिनु पर्ने हुन्छ । सोतर्फ विशेषज्ञको रायलाई हेर्दा सो थपिएको होइन भन्ने राय भई आएकोले प्रतिवादीको बयानमा उल्लेखित व्यहोरालाई विशेषज्ञको रायले समर्थन गरेको पाइन्न । विवादित लिखतलाई हेर्दा अंकमा रु. ३५,०००।– लेखिएको मात्र नभई अक्षरमा समेत पैंतीस हजारमात्र भन्ने व्यहोरा जनाइएको समेत पाइन्छ । प्रतिवादीले रु. ३५००।– अंकलाई स्वीकार गरेको र अक्षरमा पैंतीस मात्र भएकोमा “हजारमात्र” भन्ने शब्द भन्ने थपिएको भन्ने जिकिर लिएको छ । प्रतिवादीले भने बमोजिम अगाडि ३५००।– अंक लेखी सकेपछि सोही अंकलाई अक्षरमा लेख्दा पैंतीसमात्र भनी अपूर्ण छोडेको भन्न सकिने अवस्था नभई पैंतीस हजारमात्र भनी स्पष्ट लेखी सोको पछि धर्का लगाएर अरु अक्षर थप्न नमिल्ने गरिएको पाइन्छ । तर पैंतीस शब्दको लगत्तै पछाडि त्यस्तो धर्को लगाएको पनि देखिएको छैन । विशेषज्ञको रायलाई अदालतले विवादित लिखतको प्रकृतिसंग भिडाई नहेरी त्यसै मान्यता दिन मिल्दैन । विशेषज्ञको राय अन्तिम होइन । विवाद देखि बाहिरको कुरालाई लिएर दिएको विशेषज्ञको राय अप्राशांगीक भई ग्रहण गर्न नमिल्ने समेत देखिएको हुँदा प्रस्तुत विवादमा वादी दावी बमोजिम साँवा ब्याज प्रतिवादीबाट वादीलाई भराई दिनु पर्ने ठहर्याएको पू.क्षे.अ. को इन्साफ सदर गर्ने गरेको माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मिलेकै देखिँदा मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रत्यर्थी वादी देवकीवत्ति देवी मधैया धानुकनी के वादी दावी बमोजिम साँवा ब्याज भरी पाउने ठहरेकोले साँवा रु. ३५,०००।– लिखत मिति २०३९।७।१ गतेदेखि आजसम्म ७।९।१५ को हुने दशौंद ब्याज रु. २७२७०।७७ समेत जम्मा रु. ६२,२७०।७७ र भरी भराउ गर्दाको मितिसम्मको हुने ब्याज समेत ऐनका म्यादभित्र भराई पाउँ भनी वादीको दर्खास्त परेमा सयकडा २।५० दस्तूर लिई प्रतिवादी शोभाकान्त मिश्रबाट वादीलाई भराई दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु...१
माथि लेखिए बमोजिम जम्मा साँवा ब्याज रु. ६२,२७०।७७ र भरी भराउ मितिसम्मको ब्याज समेत भरी पाउने भएकोले वादीले फिराद गर्दाका मितिसम्ममा साँवा र ब्याज गरी जम्मा रु. ३७,०१२।४४ को कोर्टफी रु. १३८०।३२ कोर्टफी राखेकोले भरी भराउ हुने बिगो मध्ये रु. ३७,०१२।४४ कटाई भरी भराउ हुँदा बढी हुन आउने बिगोको ऐन बमोजिम लाग्ने कोर्टफी बिगो भरी भराउ हुँदा प्रतिवादीबाट असूल उपर गर्नु प्रतिवादीबाट असूल हुन नसके वादीबाट असूल गर्नु भनी सप्तरी जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु...२, बिगो भरी भराउतर्फ माथि लेखिए बमोजिम हुने भएकोले पू.क्षे.अ. को मिति २०४४।६।२८।४ का फैसलाले भराउने गरेको बिगो साँवा ब्याज जम्मा रु. ५२,४७०।७० को लगत बमोजिम गर्नु परेन सो लगत कट्टा गरी दिनु भनी शुरु सप्तरी जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालत लगत दिनु...३, पू.क्षे.अ. को मिति २०४४।६।२८।४ को फैसलाले प्रतिवादीबाट वादीलाई भराउने गरेको कोर्टफी जम्मा रु. १५८७।३५ प्रतिवादी शोभाकान्त मिश्रले अनुमतिद्वारा पुनरावेदन गर्दा सर्वोच्च अदालत मार्फत काठमाडौं जिल्ला अदालतमा मिति २०४५।६।२५।६ मा धरौट राखेको देखिँदा सो धरौटीबाट भराई पाउँ भनी वादीको ऐनका म्याद भित्र दर्खास्त परे दस्तूर केही नलिई वादीलाई सो धरौटीबाट भराई दिनु र पू.क्षे.अ. को फैसलाले भराउने गरेको कोर्टफीको लगत कट्टा गरी दिनु भनी सप्तरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...४, मिसिल नियमानुसार गरी बुझाई दिनु...५
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या.त्रिलोकप्रताप राणा,
न्या.गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४७ साल साउन १६ गते रोज ३ शुभम् ।