शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१२१ - बन्दीप्रत्यक्षीकरण

भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक:

निर्णय नं. ४१२१     ने.का.प. २०४७          अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४६ सालको रि.नं. १०३६

आदेश भएको मिति : २०४७।४।२८।१ मा

निवेदक      : केन्द्रीय कारगार शाखा काठमाडौं थुनामा रहेका प्रेमबहादुर तामाङको हकमा घ्यूर्मी तामाङ

विरुद्ध

प्रत्यर्थी : रसुवा जिल्ला अदालत, रसुवासमेत

विषय : बन्दीप्रत्यक्षीकरण

(१)    भई आएको सरजमीन मुचुल्का समेतका आधारमा रिट निवेदक अदालतबाट भएको फैसला बमोजिम थुन्नु पर्ने व्यक्ति देखिन नआएकोले निवेदकलाई गैरकानुनी तरीकाले थुनामा राखेको देखिन आयो, अतः रिट निवेदकलाई तुरुन्त थुनाबाट छाडी दिनु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुड्डाना, विद्वान अधिवक्ता श्री       बोर्णबहादुर कार्की

प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको व्यहोरा यस प्रकार छ ।

२.    वादी श्री ५ को सरकार प्रतिवादी मिन्दो सिंगी भएको जीऊ मास्ने बेच्ने मुद्दामा मिति ०३५।७।३ मा रसुवा तथा नुवाकोट जिल्ला अदालतबाट ५ वर्ष कैदको सजायँ पाएका प्रतिवादी मुन्दिसिंङगीले सजायँ छल्न झुठ्ठा विवरण दिई प्रेमबहादुरको नामबाट नागरिकताको प्रमाणपत्र लिएकोले नागरिकता ऐन, २०२० को दफा १५ अनुसार सजायँको लागि श्री ५ को सरकारले नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा शुरुले ३ महीना कैद र रु. १०००।जरिवाना गर्ने गरी ०४५।६।९ मा गरेको फैसलालाई बा.अं.अ. ले ०४६।१।४ मा सदर गरेकोमा सो उपर म.क्षे.अ. बाट पुनरावेदन गर्न अनुमति पाई ०४६।९।१० का दिन प्रतिवादी निन्दू सिङगीले कैदको सजायँ छल्न झुठ्ठा विवरण बनाई प्रेमबहादुर नामबाट नागरिकताको प्रमाणपत्र लिएको भनी नेपाल नागरिकता ऐनको दफा १५ अन्तर्गत सजायँ गरी पाउँ भन्ने समेत वादी दावी पुग्न सक्ने देखिएन भन्दै शुरु र बा.अं.अ. को फैसला उल्टी गरी थुनाको लगत कट्टा राख्नु भनी शुरु जि.अ. मा लेखी पठाउनु भनी लेखिए अनुसार म.क्षे.अ. बाट मिसिल सहित लेखी पठाई मेरा तर्फबाट कैदबाट मुक्त गरी पाउन रसुवा जिल्ला अदालतमा निवेदन गर्दा समेत निवेदकलाई मुक्त गर्न मनासिब एवं उपयुक्त समेत नभएकोले कानुन बमोजिम गर्नु भनी २०४६।१०।२७ मा आदेश भयो ।

३.    शुरु रसुवा जि.अ. ले मलाई मिति ०४४।७।२ मा उक्त नागरिकता प्रमाणपत्र सम्बन्धी मुद्दामा पूर्पक्षको लागि थुनामा राखेको सो मुद्दा ०४५।६।९ मा फैसला भएपछि लागेको ३ महीना कैद भुक्तान भइसकेकोले लगत कट्टा गरी दिने भनी उक्त जीऊ मास्ने बेच्ने मुद्दा तर्फ थुनामा राख्ने गरी अर्को थुनुवा पुर्जी दिई हालसम्म मलाई थुनामा राखिएको छ । म.क्षे.अ. बाट नागरिकता प्रमाणपत्र मुद्दामा शुरु र बा.अं.अ. को फैसला उल्टी गरी फैसला भएपछि शुरु रसुवा जि.अ. बाट नागरिकता मुद्दाबाट मिन्दु सिङगी ठहरिएका भनी मिन्दुसिङगीलाई लागेको कैद मलाई भोगाउने गरेको पनि स्वतः उल्टी भएको मान्नु पर्ने हो । तसर्थ रसुवा जिल्ला अदालतको ०४६।१०।२७ को शुरुमा नै लगतवाला व्यक्ति नै भनी अभिनिश्चय भई निज स्वयंले सजायँ भोगी रहेको कुरामा अहिले नागरिकता मुद्दामा भएको फैसलाबाट कायम रहेका लगतका दायित्वबाट निवेदकलाई मुक्त गर्न सकिने अन्य कुनै ठोस तथ्ययुक्त प्रमाणका अभावमा निवेदकलाई मुक्त गर्न मनासिब एवं उपयुक्त समेत नभएको भनी गरिएको आदेश ठाडै गैरकानुनी छ । मैले प्रेमबहादुरको नामबाट प्राप्त गरेको पासपोर्ट ज.व.प्र.प्र. स्कूलको सर्टिफिकेटका अलावा म.क्षे.अ. को ०४६।९।१० का फैसलाले कायम राखेको नागरिकता प्रमाणपत्र समेतबाट म मिन्दुसिङगी नभई प्रेमबहादुर भएको पुष्टि भएको छँदाछँदै उपरोक्त आदेश भएबाट नेपालको संविधानको धारा १०(१)(२), ११(१) तथा (२) अन्तर्गतको मौलिक हकमा आघात पारेकोले मलाई गैरकानुनी थुनाबाट अविलम्ब मुक्त गर्न विपक्षीहरुका नाउँमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने समेत रिटनिवेदन ।

४.    यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु साथै निवेदनमा उल्लेखित ज्यू मास्ने बेच्ने मुद्दाको मिसिल झिकाउनु भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलासको मिति २०४६।११।११।५ को आदेश ।

५.    निवेदक वादी श्री ५ को सरकार प्रतिवादी मिन्दुसिंगी भएको ज्यू मास्ने बेच्ने मुद्दाका फरारी मानिस भई वादी श्री ५ को सरकार प्रतिवादी मिन्दुसिंगी नै भएको नाम ढाँटी नागरिकता लियो भन्ने मुद्दामा जारी भएको म्यादमा बयान गर्न यस अदालतमा उपस्थित भए अनुसार ०४५।६।९ देखि नै निज निवेदकले सो कैदको सजायँ भोगिरहेको छ । नाम जे बताए पनि सो मुद्दाको प्रतिवादीत्वलाई स्वीकार गरेपछि नामका स्नेहका भरले व्यक्तित्व पृथक हुने स्थिति नै नभएकोले एकाको सजायँ एकाले गैरकानुनी रुपमा भोग्नु पर्‍यो भनी परिकल्पना गर्ने अवस्था छैन । यो कैदको सजायँमा बस्न पूर्व निवेदकले बा.अं.अ. मा सो कैदको सजायँमा पक्राउ गर्नमा निषेधाज्ञा जारी होस भनी ०३९।८।२५।६ मा निवेदन दिएकोमा आदेश जारी नभई खारेज रहेको देखिन्छ । जीउ मास्ने बेच्ने मुद्दाको फैसलाबाट लगत कायम हुनु पूर्व यी निवेदक प्रेमबहादुरको रुपमा अस्तित्व भएको भन्ने देखिने र मिन्दुसिंगी भन्ने नामको पृथक व्यक्ति हो भन्ने प्रमाण छ भनी निवेदकले जिकिर लिन सकेको छैन । म.क्षे.अ. बाट मिति ०४६।९।१० को फैसलाले नागरिकता ऐन, २०२० को दफा १५ अन्तर्गत सजायँ हुनलाई र सो ऐनको अपराध कायम हुनलाई कस्तो पूर्वावस्थाको आवश्यकता हुन्छ भन्ने सम्बन्धमा कानुनी व्याख्या भएको जीउ मास्ने बेच्ने मुद्दामा अदालतबाट भएको कैद सजायँबाट बच्नलाई नाम ढाँटेको प्रसंग भने नागरिकता ऐनको व्यवस्थाको बर्खिलाप कसूर भएको भनी सजायँ गर्न मिल्ने नदेखिने भन्ने तात्पर्य सो फैसलाले लिएको छ । निवेदकले लिएको मनसाय अनुरुप व्यक्तिको विवादको प्रश्नमा फैसला अभिमुख नभएको स्थितिमा फैसलाको बोलीलाई घुमाउरो तवरले आफ्नो पक्षमा प्रतित पार्नेसम्म प्रयास गरेको देखिँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थी रसुवा जिल्ला अदालतको तर्फबाट पर्न आएको लिखितजवाफ ।

६.    प्रत्यर्थी केन्द्रीय कारागारको तर्फबाट लिखितजवाफ पर्न आएको देखिँदैन ।

७.    यसमा निवेदक प्रेमबहादुरको रोहवरमा निवेदक मिन्दोसिंगी तामाङ हो होइन सम्बन्धित गाउँमा सरजमीन बुझी पठाई दिनु भनी रसुवा जिल्ला अदालतमा लेखी पठाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालतको संयुक्त इजलासको मिति ०४६।१२।१९।१ को आदेश बमोजिम रोहवरमा रहेको व्यक्ति प्रेमबहादुर तामाङ हो भन्ने व्यहोराको मिति ०४७।२।१२।७ मा भई आएको सरजमीन मुचुल्का ।

८.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुड्डानाले नागरिकता सम्बन्धमा उजूर परी ०४४।५।२१ मा मुद्दा दर्ता भएकोमा जिल्ला र अञ्चल अदालतबाट सजायँ गरे पनि क्षेत्रीय अदालतबाट ०४६।१०।९ मा वादी दावी नपुग्ने भनी निर्णय गरेको हुनाले अघि ०३५।७।३ मा जीउ मास्ने बेच्ने मुद्दामा ५ वर्ष कैद भएको व्यक्ति म प्रेमबहादुर तामाङ होइन । नागरिकता मुद्दाबाट एउटै व्यक्ति देखिन नआएपछि ०४५।६।९ देखि गैरकानुनी रुपमा थुनामा राखिएको छ । सरजमीनका मानिसहरुले पनि निज मिन्दुसिंगी होइन भनी एकमत सरजमीन लेखाई दिएको समेत देखिएकोले थुनाबाट छुटकारा दिनु पर्ने भन्ने समेत बहस गर्नु भयो । निवेदक तर्फबाट अर्को विद्वान अधिवक्ता श्री कर्णबहादुर कार्कीले मिन्दुसिंगी र प्रेमबहादुर एउटै व्यक्ति भनी कतैबाट प्रमाणित हुन सकेको छैन भन्ने समेत बहस गर्नु भयो । प्रत्यर्थी रसुवा जिल्ला अदालतका तर्फबाट उपस्थित विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले क्षेत्रीय अदालतले कानुनको प्रयोगमा त्रुटि भएको कारणले मात्र सफाई दिएको हो । दुवै जना प्रतिवादीको बाबुको नाम एउटै छ । मिन्दुसिंगीको नाउँमा टाँस भएको म्यादमा प्रेमबहादुरले बयान गर्न आएको छ । अतः रिट निवेदकको माग अनुसारको आदेश जारी हुनु पर्ने होइन भन्ने समेत बहस गर्नु भयो ।

९.    प्रस्तुत रिटनिवेदनमा निवेदकको माग बमोजिम आदेश जारी गर्न पर्ने नपर्ने के हो सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

१०.    यसमा निर्णयतर्फ हेर्दा जीउ मास्ने बेच्ने मुद्दामा प्रतिवादी मिन्दुसिंगी तामाङलाई ५ वर्ष कैद र सजायँ लागेको म कैद लागेको मिन्दुसिंगी होइन प्रेमबहादुर तामाङ हो म.क्षे.अ. बाट नागरिकता सम्बन्धी मुद्दामा शुरु र अञ्चल अदालतबाट सजायँ हुने गरी गरेको फैसला उल्टी गरी फैसला गरेपछि पनि जीउ मास्ने बेच्ने मुद्दामा सजायँ पाएको मिन्दुसिंगी भनी थुनामा राखेको गैरकानुनी हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर छ । क्षेत्रीय अदालतको फैसलाले कानुनको प्रयोगमा त्रुटि भएको हुनाले मात्र सजायँ गर्न नमिल्ने भन्ने फैसला भएको हो । उक्त फैसलाको आधारमा प्रेमबहादुर नै मिन्दुसिंगी होइन भने मिल्दैन । मिन्दुसिंगीको नाममा जारी भएको म्यादमा उपस्थित भई बयान गरी सजायँ समेत भोगी रहेको हुनाले आदेश जारी हुनु पर्ने होइन भन्ने समेत लिखितजवाफ पर्न आएको रहेछ । यसमा जीउ मास्ने बेच्ने मुद्दामा सजायँ पाएको मिन्दुसिंगी तामाङ र रिट निवेदक प्रेमबहादुर तामाङ एकै व्यक्ति हो वा होइन भन्ने नै मुख्य विवाद देखिन्छ । निवेदक प्रेमबहादुर तामाङले मिति ०४१।१।११ मा नागरिकताको प्रमाणपत्र पाएको रहेछ । सो नागरिकता अदालतबाट भएको सजायँ छल्ने उद्देश्यले नाम ढाँटी लिएको भनी मिति ०४४।५।१ मा कैसाङ गर्पु तामाङको जाहेरीबाट मुद्दा चली शुरु रसुवा जिल्ला अदालत र बा.अं.अ. बाट निजलाई सजायँ गरेको म.क्षे.अ. बाट सजायँ गर्न नमिल्ने भनी सफाई दिएको देखिन्छ । निवेदक प्रेमबहादुर तामाङको नागरिकता लिने क्रममा ०४०।५।२ मा जि.पं. सभापति दावा फिन्जा तामाङले बाङटासीको छोरा प्रेमबहादुर तामाङलाई राम्ररी चिन्दछु भनी सिफारिश गरेको तथा प्रहरी चौकी पाच्याङबाट २०४०।१०।११ को पत्र साथ जिल्ला कार्यालय रसुवामा पठाएको मुचुल्कामा बाङटासीका छोरा प्रेमबहादुर यही हो भनी रोहवरमा स्वयं जाहेरवाला कैसाङ नुर्पु तामाङ समेत रहेकै मिसिलबाट देखिन्छ । यस अदालतको आदेश बमोजिम मिति ०४७।२।१२।७ मा भई आएको सरजमीन मुचुल्कामा पनि सम्पूर्ण व्यक्तिहरुले निवेदक प्रेमबहादुर तामाङ नै हो मिन्दुसिंगी होइन भनी सरजमीन गरी दिएको छ । यसमा भई आएको सरजमीन मुचुल्का समेतका आधारमा रिट निवेदक प्रेमबहादुर तामाङ मिन्दुसिंगी भन्ने देखिन नआएकोले निवेदकलाई गैरकानुनी तवरले थुनामा राखेको देखिन आयो । अतः रिट निवेदकलाई तुरुन्त थुनाबाट छाडिदिनु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ । निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४७ साल श्रावण २८ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु