निर्णय नं. ४१२६ - परमादेश

निर्णय नं. ४१२६ ने.का.प २०४७ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४६ सालको रि.नं. ८२०
आदेश भएको मिति : २०४७।४।१०।४ मा
निवेदक : का.न.पं. वा.नं. ४ बस्ने ग्लेनब्राड फोर्ड सिमन्स
विरुद्ध
विपक्षी : गृह मन्त्रालयसमेत
विषय : परमादेश
(१) भिसाको लागि दिएको निवेदन लिन अस्वीकार गर्न कानुनन नमिल्ने भएकोले रीतपूर्वक अड्डामा पर्न आएको निवेदन लिई दर्ता गरी जो जे बुझ्नु पर्छ बुझी कानुन बमोजिम निर्णय गर्नु पर्ने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कटकबहादुर मल्ल
विपक्षी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
आदेश
न्या.बब्बरप्रसाद सिंह
१. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।
२. म निवेदक संयुक्त राज्य अमेरिका म्यासाच्यूसेटसमा १९ अगस्त १९३८ मा जन्म भई सनफ्रान्सिस्को क्यालीफोर्नियामा बसोवास गरी भोकेशनल नर्स एण्ड लाईसेन्सड साईकीयाट्रीक टेक्नीसीयनको पेशा गरी हाल अवकाश प्राप्त अमेरिकी नागरिकले नेपाली नागरिक धादिड्ड, नुलाड्ड गा.पं. वडा नं. ३ बस्ने जुजुभाइकी छोरी विजयालक्ष्मी शाक्यसंग २ नोवेम्वर १९८७ मा सानफ्रान्सिस्को क्यालीफोर्निया मेरीज कमिशनको अफिसबाट विवाह गरी ६ सेटेम्बर १९८९ मा नेपालमा विवाह दर्ता गरी श्रीमान श्रीमतीको हैसियतले बसेका ।
३. मेरो श्रीमती नेपाली नागरिक भएको र जीवन पर्यन्त नेपालमा नै बस्ने इच्छा भएकोले का.जि.का.न.पं. वडा नं. ४ मा स्थायी बसोवास गरी जग्गा समेत खरीद गरी आएको र रमेशकुमार लामालाई श्री ५ को सरकारको इजाजतले धर्मपुत्रको रुपमा ग्रहण गरी आएकोले श्रीमती र छोरा दुवै नेपाली भई नेपालसंग भावनात्मक स्नेह रही श्रीमती पनि नेपालमा नै बस्ने भएबाट बारम्बार नेपाल आउने जाने क्रममा १६ जुलाई १९८९ मा नेपाल प्रवेश गरी श्रीमतीको इच्छा बमोजिम केही वर्ष नेपालमा नै बस्ने विचारले केन्द्रीय अध्यागमन कार्यालयमा भिसा माग्दा पहिले २ महीना पर्यटक भिसा र त्यसपछि २ महीना सामान्य भिसा दिइयो, बारम्बार आवासीय भिसा माग गरी निवेदन समेत दिएकोमा दर्ता समेत गरिएन र सो उपर प्रत्यर्थी गृह मन्त्रालय समक्ष उजूर गर्दा निजले पनि उजूरी सुन्न इन्कार गरेको ।
४. आफू अमेरिकी नागरिक भए तापनि नेपाल प्रति आस्थावान रहेको र आफूले आर्जन गरेको ज्ञानबाट भविष्यमा नेपालको स्वास्थ्य सेवामा सरिक भई स्वयं सेवकको रुपमा कार्य गर्न इच्छुक छु । विवाह दर्ता ऐन अनुसार दर्ता भएको विवाहलाई नेपाल कानुनले संरक्षण प्रदान गरेको र नेपालको संविधानको धारा १० ले कानुनको समान संरक्षणको व्यवस्था गरे अनुसार समान कानुनको प्रयोगमा म निवेदक माथि कुनै भेदभाव गर्न नमिल्ने कुरा प्रष्ट देखिएको छ । श्रीमतीसंग एकसाथ जीवन यापन गर्ने मेरो हकलाई नेपाली कानुनले कदापी इन्कार गरेको छैन र नेपाली स्वास्नी मानिससंग विवाह गर्ने पुरुषले नेपालमा भिसा नपाउने भनी कानुनमा कतै उल्लेख गरिएको छैन । तसर्थ प्रत्यर्थीहरुले मलाई भिसा दिन इन्कार गरेबाट संविधानको धारा १० द्वारा प्रदत्त समानताको हक तथा कानुन प्रदत्त वैवाहिक जीवन यापनको अधिकारको उल्लंघन भएको हुँदा प्रत्यर्थीहरुका नाममा म निवेदकको निवेदन दर्ता गरी नन्टुरिष्ट भिसा जारी गरिदिनु भन्ने आदेश जारी गरी निवेदनमा अन्तिम आदेश नभएसम्म निवेदकलाई नेपालमा बस्न पाउने अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिटनिवेदन जिकिर ।
५. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो । विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
६. विदेशी सम्बन्धी नियमावली, २०३२ (संशोधन) ०४५, समेतको नियम १४(४) ले नेपाली स्वास्नी मानिससंग विदेशीले विवाह गरेमा नेपालमा १ वर्षमा ४ महीना भन्दा बढी बस्न नपाउने व्यवस्था रहे भएको हुँदा प्रचलित कानुन विपरीतको रिटनिवेदन दावी खारेज गरिपाउँ भन्ने समेत केन्द्रीय अध्यागमन कार्यालयको लिखितजवाफ ।
७. नेपाली नारीसंग विवाह गर्ने विदेशी नागरिकलाई चार महीना अवधि भन्दा बढी नेपालमा स्थायी रुपले राख्न पाउने कानुनमा कतै उल्लेख नभएकोले रिटनिवेदन खारेज होस भन्ने समेत गृहमन्त्रालयको काठमाडौंको लिखितजवाफ ।
८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा रिट निवेदकतर्फका विद्वान अधिवक्ता श्री कटकबहादुर मल्ल र विपक्षी तर्फबाट उपस्थित विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले गर्नु भएको बहस समेत सुनियो ।
९. यसमा निर्णयतर्फ विचार गर्दा नेपाली नागरिकले विदेशी स्वास्नी मानिससंग विवाह गरेमा त्यस्तो स्वास्नी मानिसले नन् टुरिष्ट भिसा पाउने कानुनी व्यवस्था भएकोमा मैले नेपाली नारीसंग विधिवत विवाह गरेपछि संविधान प्रदत्त समानताको हकको आधारमा श्रीमतीसंग नेपालमा बस्न नन् टुरिष्ट भिसा पाउनु पर्नेमा विपक्षीहरुले मेरो भिसा मागको निवेदन सम्म पनि लिन दर्ता गर्न इन्कार गरेकोले निवेदन दर्ता गरी नन् टुरिष्ट भिसा जारी गरिदिनु भन्ने आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर भएकोमा विपक्षीहरुको लिखितजवाफ हेर्दा विदेशी सम्बन्धी नियमावली, २०३२ अनुसार नेपाली स्वास्नी मानिससंग विवाह गर्ने विदेशीले १ वर्षमा ४ महीना मात्र गैर पर्यटक भिसा पाउने र सो भन्दा बढी अवधिको भिसाको लागि कानुनमा कतै उल्लेख नभएको हुँदा रिटनिवेदन खारेजीको माग गरेको देखिन्छ ।
१०. रिट निवेदकले आफ्नु निवेदन जिकिरमा गैरपर्यटक भिसा माग गरेको निवेदन नै विपक्षीहरुले दर्ता गर्न इन्कार गरेको कुराको उल्लेख गरेकोमा सो जिकिरलाई विपक्षी अध्यागमन कार्यालयले आफ्नो लिखितजवाफमा इन्कार गर्न नसकी केवल विदेशी सम्बन्धी नियमावली, २०३२ को नियम १४(४) अनुसार नेपाली नागरिक स्वास्नी मानिससंग विवाह गर्ने विदेशी लोग्ने मानिसलाई ४ महीनाको भन्दा बढी अवधिको गैरपर्यटक भिसा दिन नमिल्ने भन्ने आधार मात्र खुलाएको देखिन्छ, भिसाको लागि रिट निवेदकले दिएको निवेदन लिन अस्वीकार गर्न कानुनन नमिल्ने भएकोले रीतपूर्वक अड्डामा पर्न आएको निवेदन लिई दर्ता गरी जो जे बुझ्नु पर्छ बुझी कानुन बमोजिम निर्णय गर्नु पर्ने हुन्छ । प्रस्तुत विषयमा निवेदकको निवेदन लिन नै इन्कार गरेको भन्ने भएकोले यिनी रिट निवेदक ग्लेन ब्राडफोर्ड सिमन्सले रीतपूर्वकको निवेदन दिन आए लिई कानुन बमोजिम निर्णय गरी निवेदकलाई त्यसको जनाउ समेत दिनु भनी विपक्षी केन्द्रीय अध्यागमन कार्यालयका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि म.न्या.का. मार्फत पठाई फाइल नियमबमोजिम गरी बझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४७ साल श्रावण १० गते रोज ४ शुभम् ।