निर्णय नं. ४१२७ - अंश दपोट

निर्णय नं. ४१२७ ने.का.प.२०४७ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०४६ सालको दे.पु.नं. ४३८
आदेश भएको मिति : २०४७।३।२०।४ मा
पुनरावेदक/वादी : वीरगंज न.पं.वा.नं. १६ बस्ने मुन्नीलाल साहुकानू
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने सुन्दर साह कानूसमेत
मुद्दा : अंश दपोट
(१) अंशको तायदाती नदिने व्यक्तिले पनि अंश दपोट गरेको भनी मान्नु अंशबण्डाको २७ नं. को आशय विपरीत हुने ।
(प्रकरण नं. ११)
पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास
विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा
फैसला
न्या.बब्बरप्रसाद सिंह
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।९।५।२ को फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि पर्न आएको वादीको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. हनुमान साहका चारजना छोरामा क्रमशः रामफल साह १, सिवगोविन साह १, रामगोविन साह १ तथा रामवरण हुनु भएकोमा सिव गोविन र गणेश साहको परलोक भई गणेश साहकी श्रीमती विपक्षी देवकलीदेवी हुनुहुन्छ । रामवरण साह सन्यासी भई हिंड्नु भएकोले वहाँबाट कुनै सन्तान छ्रैनन् । पिता रामधनी साहको दुई श्रीमतीमा जेठी बुधिया कान्छी म समेतको आमा भगवतीदेवी हुनु भएको र जेठी आमा बुधिया परलोक भई निज आमाका तर्फबाट एकमात्र छोरा विपक्षी देवसुन्दर हुनुहुन्छ । आमा भावगती तर्फबाट म मुनीलाल माहिला विपक्षी रामजी तथा कान्छो विपक्षी लक्ष्मण साह हुनुहुन्छ । जिजुबाजेहरु सबै आफ्नो कालगतिले परलोक भई सक्नु भएको छ । जिजु बाजेको पालादेखि नै उक्त सम्पूर्ण अंशियारहरु एकासगोलमै बसी धनसम्पत्ति आर्जन गरी आएकोमा परिवारको बढ्दो संख्याले गृह कलह भई २०२५।१।५ गते आ–आफ्नो चुल्हामानो अलग अलग गरी बसी आएकोमा मलाई विपक्षी पिता समेतले खान लाउन नदिएकोले विपक्षीहरु उपर दे.नं. १६९८ को अंश मुद्दा दायर गरेकोमा उक्त मुद्दामा २०२५।१।५ को मानो छुट्टिएको मिति कायम गरी घरको मुख्य व्यक्ति रामधनी साहसंग तायदाती माग भई तायदाती बमोजिमको अंश पाउने ठहरी २०३८।१२।९ मा सम्मानीत अदालतबाट फैसला भएकोमा उक्त तायदातीको नक्कल २०३८।१२।५ मा र फैसलाको नक्कल २०३८।१२।१८ मा सारी हेर्दा विपक्षीले बदनियत चिताई मानो छुट्टिएको मिति भन्दा अगावैको हाम्रो बारमा रहेको बीरगंज न.पं. अन्तर्गतको कि.नं. ११ क्षेत्रफल ०–०–४ को जग्गा समेतका ५ कित्ता जग्गाहरु मेरो अंश हक मार्ने नियतले तायदातीमा नदेखाई लुकाउनु भएकोले बाध्य भई अंश दपोटमा नालेश गर्न आएको छु । सो जग्गाहरु दपोट गरेकोले मेरो एकलौटी हक कायम गरी लागेको कोर्टफी समेत भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. वादी दावी बमोजिम हामीले दपोट गरेको होइन वादी दावी बमोजिमको पोत नलाग्ने ऐलानी मुडली गा.पं. वार्ड नं. ५ कि.नं. ११ को ज.वि. ०–०–४ को जग्गा कोलाबारी गरी भोगचलन गरी आएको ऐ. वार्ड नं. ५ कि.नं. १२ को ज.वि. ०–०–१० मध्ये पश्चिमतर्फबाट आधिको अंश हकवाला गणेश साहकी पत्नी देवकलिया कनुइनलाई र पूर्वतर्फबाट आधी प्र.रामधनीलाई भागमा परी २०२७ साल बैशाख महीनामा घरको दुःख परी देबकलिया र देवसुन्दर समेत मिली ०–०–५ मा पक्की घर र खपडाको घर समेत बनाई भोग चलन गरी आएको र मानो छुट्टिएको पछि बनाएकाले दपोट गरी लुकाएको भन्ने प्रमाणबाट समेत वादी दावी नपुग्ने र कि.नं. २७ र कि.नं. ६९ को जग्गा गणेश साहकी श्रीमती मनुरी कानुनीले निजको टहल गरे बापत म देवसुन्दरलाई २०१९।१२।४ मा बकसपत्र लेखी मालपोत कार्यालय पर्साबाट रजिष्ट्रेशन पास भएकोले सो जग्गा बिक्री भइसकेका र बाँकी जग्गाहरु मैले बकस पाएको हुँदा कसैको हक नलाग्ने भएकोले दपोट गरेको भन्न मिल्दैन भन्ने समेत व्यहोराको देवकलिया समेतको वारेस भई आफ्नो हकमा समेत प्र.देवसुन्दरप्रसाद कानूको प्रतिउत्तर पत्र ।
४. अंश मुद्दामा मुख्य भई तायदाती दिने वादीको पिता रामधनीले आफ्ना नाममा नाप नक्शा भएको जग्गा वादीले बण्डा पाउन नसक्ने कुनै लिखत सबूद दिन नसकेको त्यस्तो सगोलको वादी समेतका अंशियारको अंश लाग्ने सम्पत्ति तायदातीमा दिनु पर्नेमा नदिएको समेतले कि.नं. १,११,२७०।– को जग्गा प्रतिवादी रामधनी साहले तायदातीमा नदेखाई दपोट गरेको ठहर्छ । कि.नं. २७, ६९ को हकमा सो जग्गा बकसपत्र भित्रको जग्गा होइन भन्ने भनाइकै आधारले मात्र उक्त जग्गा दपोट गरेको हो भन्न नमिल्ने भएकोले समेत उक्त जग्गा दपोट गरेको ठहर्दैन र रामधनीले तायदातीमा नदेखाई दपोट गरेको जग्गामा आधा देवकीको अंश हक बाहेक आधी बाँकीमा दपोट गर्ने रामधनी बाहेक वादी समेतका अंशियारले अंशबण्डाको २७ नं. बमोजिम बण्डा गरी खान पाउने ठहर्छ भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको मिति २०४१।२।४ को फैसला ।
५. पर्सा जिल्ला अदालतबाट मेरो दावी मध्ये केही सम्पत्तिमा दपोट ठहर्याई तथा केही सम्पत्तिमा दपोट नठहर्याई दपोट ठहरेको कुरामा समेत अंश बण्डा गरी भएको फैसलामा चित्त बुझेन तसर्थ दपोट ठहरेको सम्पत्तिमा बण्डा हुने र कि.नं. २७ र ६९ दपोट नठहरेकोे भनी भएको फैसलाको हदसम्म बदर गरी पाउँ भन्ने समेत व्यहोराबाट मुनिलाल साहले ना.अं.अ. मा दिएको पुनरावेदन ।
६. कि.नं. २७ र ६९ दपोट गरेको नठहराई र कि.नं. ११, १२, ७० को जग्गा दपोट गरेको ठहराई रामहारी बाहेकका अंशियारले बण्डा गरी खान पाउने गरी गरेको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको नारायणी अं.अ. को २०४३।२।२५ को फैसला ।
७. नारायणी अञ्चल अदालतबाट २०४३।२।२५ मा भएको फैसलामा प्रत्यक्ष कानुनको गम्भीर त्रुटि हुनुका साथै बुझ्नु पर्ने प्रमाण नबुझी र नबुझ्नु पर्ने प्रमाण बुझी इन्साफमा तलमाथि पर्न गई कानुन व्याख्याको प्रश्न समेत समावेश हुन गएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) बमोजिम पुनरावेदनको लागि अनुमति पाउँ भन्ने समेत मुन्निलाल साह कानूले म.क्षे.अ. मा दिएको निवेदनमा कसैले कसैलाई हक छाडी गरी दिएको लिखतको सम्पत्ति त्यसरी हक छाडी दिनेका नाउँमा के कस्तो आधारबाट आएको सोको सबै प्रमाणको अभावमा २०३४ सालको संशोधित अंश बण्डाको १८ नं. को व्यवस्था लागू हुनु अघि पाएको बकसपत्रको सम्पत्तिमा अन्य अंशियारहरुका हक नलाग्ने भन्न सकिने अवस्था नहुँदा दावीका कि.नं. २७ र ६९ को जग्गा प्रतिवादी देवसुन्दरले दपोट नगरेको भनी ठहराएको ना.अं.अ. को फैसलामा न्या.प्र.सु. ऐन संशोधन सहितको दफा १३(४)(क)(घ) को प्रश्नमा त्रुटि देखिन आएकोले पुनरावेदनको अनुमति दिने भन्ने समेत म.क्षे.अ. को २०४४।३।१ को आदेश ।
८. रामधनीसंगबाट मात्र अंश बण्डा गर्नु पर्ने आफ्नो आफ्नो परिवारका नाउँमा रहेको अचल सम्पत्तिको तायदाती माग गरिएकोमा मेरो परिवारको नाममा कुनै सम्पत्ति नभएको हुनाले भनी तायदाती दिएको र अंशबण्डाको २७ नं. मा दबाए छपाएको छैन भनी कागज गरी दिएपछि दबाए छपाएको ठहर्यो भने त्यो धनमाल दबाउनेले पाउँदैन भन्ने प्रष्ट व्यवस्था भएको र प्र.देवसुन्दरले दबाए छपाएको छैन भन्ने कागज गरी दिएको नदेखिँदा निजले विवादित कि.नं. को जग्गा दबाए छपाएको भन्न मिलेन तसर्थ विवादित कि.नं. २७ र ६९ दपोट गरेको नठहराई र कि.नं. ११, १२, ७० का जग्गा दपोट गरेको ठहर्याएको शुरु पर्सा जिल्ला अदालतको फैसला सदर गरेको ना.अं.अ.को फैसलामा त्रुटि देखिन नआएकोले इन्साफ मनासिब ठहर्छ नारायणी अञ्चल अदालतको फैसलामा म रामधनी भनी उल्लेख गर्नु पर्नेमा रामधारी भन्ने उल्लेख भएकोसम्म गल्ती गरेको देखिन्छ र त्यस्तो उल्लेखबाट फैसलाको ठहर खण्डमा कुनै असर नपर्ने भएकोले केही गरी रहनु परेन पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.क्षे.अ. को २०४५।९।२ को फैसला ।
९. म.क्षे.अ. को फैसलामा कानुनको व्याख्या सम्बन्धी त्रुटि हुँदा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीको यस अदालत समक्ष पर्न आएको निवेदनमा संशोधित न्या.प्र.सु. ऐन, ०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको २०४६।२।१३ को आदेश ।
१०. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दासले शुरु अंश मुद्दामा तायदाती दिने बाबु रामधारीले दबाए छपाएको ठहरे पछि अंशबण्डाको २७ नं. ले पत्ता लगाउनेले खान पाउने व्यवस्था हुँदा हुँदै वादी प्रतिवादीहरुले एक एक भाग खान पाउने भनी २७ नं. को गलत व्याख्या गरी फैसला भएको फिरादीको दपोट तर्फको दावीबाट विपक्षीहरुलाई समेत एक भाग छुट्याई दिने गरेको अ.बं. १८४क. नं. को विपरीत भएको प्रतिवादी बनाएका विपक्षी देवसुन्दर साह कानूबाट तायदाती नलिई गरेको फैसला अंशबण्डाको २० नं. को मनसाय प्रतिकूल देखिन्छ अतः सो फैसला बदर गरी दपोट गरेको सम्पत्तिमा वादीको एकलौटी हक कायम गरी पाउँ भनी प्रस्तुत गर्नु भएको बहस जिकिर र विपक्षी देवसुन्दर साह कानूका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्माले प्रतिवादी देवसुन्दर साह कानूले प्रतिवादी दिंदा दपोट गरे भनेको कि.नं. २७ र ६९ को जग्गा बकसपत्रबाट पाएको भन्ने लेखेका हुन वादीको सो कुरामा उजूरी छैन अंश मुद्दामा बाबु रामधारीबाट मात्र तायदाती मागिएको अवस्थामा प्र.देवसुन्दरले दपोट गरेको कसरी ठहर्छ अतः म.क्षे.अ. ले गरेको फैसला सदर हुनुपर्छ भन्दै गर्नु भएको बहस जिकिर समेत सुनी मिसिल कागजात अध्ययन गरी हेर्दा नारायणी अञ्चल अदालतले कि.नं. २७ र ६९ को जग्गा दपोट गरेको नठहर्ने गरी गरेका फैसला सदर गरेको म.क्षे.अ. को फैसला मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने देखिन आयो ।
११. निर्णयतर्फ विचार गरी हेर्दा बाबु रामधनी र देवसुन्दर साह कानू समेतले बण्डा गर्नु पर्ने सम्पत्ति तायदातीमा नदेखिएकोले दपोट गरेको फिरादमा उल्लेखित घरजग्गा मलाई दिलाई पाउँ भन्ने फिराद दावी रहेछ । शुरु अंश मुद्दामा मिति ०३८।११।२८ मा प्रतिवादी रामधनीले आफ्नो परिवारको तर्फबाट दिएको अंश तायदाती फाँटवारीमा आफ्ना नाउँका केही कित्ता जग्गा नदेखाई फाँटवारी पेश गरेको र यी वादीले दिएको अंश दपोट मुद्दामा रामधनीले फाँटवारीमा उल्लेख नगरेका वादी दावी बमोजिमका केही कित्ता जग्गा अंश दपोट गरेको ठहर गरी फैसला भएकोमा सो फैसला उपर चित्त बुझाई पुनरावेदन नगरी बसेको देखिन आएकोले सो कुरामा यहाँ केही बोली रहनु परेन । देवसुन्दर साह कानूले कि.नं. २७ र ६९ को जग्गा दपोट गरेको भन्ने फिराद दावी भएकोमा प्रतिवादी देवसुन्दरले प्रतिउत्तर पत्रमा उक्त कि.नं. २७ र ६९ का जग्गा गणेश कानूकी जेठी पत्नी मुनरी कानुनीबाट २०१९।१२।४ मा बकसपत्र पाई दर्ता हुन आएको जग्गा हो भनी दावी लिएको र मिसिलबाट समेत सो कुरा देखिन आएकोमा वादीले उक्त बकसपत्र लिखत उपर उजूरी गरी बदर गराउन सकेको देखिन आएन । प्रतिवादी रामधनीलाई मुख्य मानी वादी प्रतिवादीमा उल्लेखित मानो छुट्टिएको मिति २०२५।१।५ लाई नै कायम गरी प्रतिवादी रामधनीबाट मात्र अंशबण्डा गर्नु पर्ने सम्पत्तिको अंशबण्डाको २०, २१, २२, २३ नं. बमोजिम फाँटवारी लिनु भन्ने शुरु पर्सा जिल्ला अदालतबाट मिति २०३८।११।२० मा आदेश भएको र सो आदेश उपर वादीले कुनै उजूरी नगरी बसेको देखिन्छ । देवसुन्दर कानूबाट अंशको फाँटवारी माग्ने आदेश नभएकोले परिवारको मुख्य व्यक्तिको हैसियतले रामधनीले नै आफ्नो परिवारको तर्फबाट अंशको फाँटवारी दिएको र प्रतिवादी देवसुन्दर साह कानूलाई मुद्दाको कारवाहीको सिलसिलामा अंश बण्डा गर्नुपर्ने सम्पत्ति दबाए छपाएको छैन भनी कागज गराएको पनि देखिन आएन । अंशबण्डा गर्नु पर्ने सम्पत्ति दबाए छपाएकोमा के हुने भन्ने सम्बन्धमा अंशबण्डाको २० नं. ले गरेको व्यवस्थालाई हेर्दा सो नं. मा “दबाए छपाएको छैन भनी कागज गरी सकेपछि दबाए छपाएको ठहर्यो भने त्यो धनमाल दबाउनेले पाउँदैन नदबाउने अरु अंशियारले ऐन बमोजिम अंश गरी खान पाउँछन्” भन्ने उल्लेख भएको पाइन्छ । प्रतिवादी देवसुन्दर साह कानूबाट शुरु अंश मुद्दामा तायदाती (फाँटवारी) मागिएको र दबाए छपाएको छैन भनी कागज गराएको भन्ने कुरा प्रमाणको लागि आएको अंश मुद्दाको मिसिलबाट देखिन नआएको अवस्थामा प्रस्तुत अंश दपोट मुद्दामा अंशबण्डाको २७ नं. विशेष आकर्षित हुने देखिन्छ । अंशबण्डाको २७ नं. बमोजिम बण्डा गर्नु पर्ने सम्पत्ति दबाए छपाएको छैन भनी फाँटवारी लिने व्यक्तिबाट कागज गराउनु पर्ने अनिवार्यता भएको अवस्थामा अंशको फाँटवारी नै नमागिएको र त्यस्तो व्यहोराको कागज नगराइएको व्यक्तिका नाउँमा रहेको सम्पत्ति दपोट गरेको भनी भन्न सकिने स्थिति नदेखिँदा म.क्षे.अ. को फैसला अंश बण्डाको २७ नं. को त्रुटि भयो भन्ने पुनरावेदक वादीको कानुन व्यवसायीको बहस जिकिरसंग सहमत हुन सकिएन वादी प्रतिवादीका बाबु रामधनीबाट पेश भएको अंश फाँटवारीमा नपरेको कारणले प्रतिवादी देवसुन्दर साह कानूका नाउँमा रहेको कि.नं. २७ र ६९ को जग्गा दपोट गरेको भन्ने वादीको जिकिरलाई हेर्दा घरको मुख्य व्यक्तिले मात्र फाँटवारी दिएको र परिवारको अन्य सदस्यसंग फाँटवारी नमागिएको र दबाए छपाएमा कागज नगराएको अवस्थामा परिवारको अन्य व्यक्तिले दिएको फाँटवारीमा नदेखिइएको कारणले अंशको तायदाती नदिने व्यक्तिले पनि अंश दपोट गरेको भनी मान्नु अंशबण्डाको २७ नं. को आशय विपरीत हुने हुँदा वादी जिकिरलाई कानुनसंगत मान्न सकिएन । अतः प्रतिवादी देवसुन्दर साह कानूको नाउँको कि.नं. २७ र ६९ को जग्गा अंश दपोट गरेको नठहर्याएको म.क्षे.अ. को इन्साफमा कुनै कानुनी त्रुटि देखिन नआएकोले इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी राखी पुनरावेदन दायर भएको देखिँदा केही गरिरहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.त्रिलोकप्रताप राणा
इति सम्वत् २०४७ साल असार २० गते रोज ४ शुभम् ।